एनआईबिएल ग्रोथ फण्डले बिजनेस ग्रोथ हेरेर लगानी गर्छ, लगानीकर्तालाई डबल फिर्ता दिन्छ : डीसीईओ थापा
एनआईबिएल एस क्यापिटलले पुस ७ गते बिहीबारदेखि हालसम्मकै ठूलो म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ । क्यापिटलले एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईबिएल ग्रोथ फण्ड नामक म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो । लगानीकर्ताहरुले यो फण्डमा छिटोमा पुस १२ गते र ढिलोमा पुस २१ गतेसम्म आवेदन दिन सक्नेछन् । एनआईबिएल एस क्यापिटलले ल्याउन लागेको ग्रोथ फण्ड कस्तो हो, के छ योजना, लगानीकर्तालाई कति प्रतिफल दिने लक्ष्य राखेको छ ? यिनै विषयमा केन्द्रित भएर एनआईबिएल एस क्यापिटलका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मेख बहादुर थापासँग विकासन्युजका सीआर भण्डारीले कुराकानी गरेका छन् । एनआईबिएल ग्रोथ फण्ड ल्याउँदै हुनुहुन्छ । यो कस्तो प्रकारको फण्ड हो ? एनआईबिएल ग्रोथ फण्ड बन्दमूखी प्रकारको फण्ड हो । यसकोआकार १ अर्ब ६० करोड रुपैयाँको हो । ओभर सब्स्क्राइब भयो भने वा बढी आवेदन पर्याे भने २५ प्रतिशतसम्म बढाउन पाउने व्यवस्था छ । ओभर सब्स्क्राइब्ड भयो भने २ अर्बसम्मको आकार हुन सक्छ । यसैले यसलाई हालसम्म कै ठूलो योजना भनिएको हो । एनआईबिएल ग्रोथ फण्ड अन्य फण्डको नेचरमा कुनै फरक छैन । एनआईबिएल एस क्यापिटलले एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत एनआईबिएल समृद्धि फण्ड-१ (परिपक्व), एनआईबिएल प्रगति फण्ड (अर्काे वर्ष परिपक्व हुने), एनआईबिएल समृद्धि फण्ड-२ र एनआईबिएल सहभागिता फण्ड निष्काशन गरिसकेको छ । ग्रोथ फण्डले मुख्य लगानी इक्विटीमा गर्ने हो । ग्रोथ फण्ड भएकाले पनि यसको ग्रोथ गर्नुपर्छ । फण्डको डिभिडेण्ड पे आउट पनि बजारको माग अनुसार नै वितरण गर्ने हो । ग्रोथ फण्डमा धेरै लाभांश वितरण नगर्ने निती लिएको हुन्छ । लगानीकर्ताहरुले ऋणपत्र, मुद्दती निक्षेपमा लगानीमा रकम होल्ड गरिरहेका हुन्छन् । एनआईबिएल ग्रोथ फण्डका विशेषता के-के हुन् ? एनआईबिएल ग्रोथ फण्ड बजारमा आइरहेका फण्ड जस्तै हो । यसको साइज ठूलो भएको हुँदा फ्लेक्जिबिलिटी हुन्छ । ग्रोथ फण्ड भएको हुँदा सकेसम्म इक्विटीहरु छनोट गर्दा दीर्घकालमा राम्रो ग्रोथ गर्न सक्ने कम्पनी, रेभिन्यू गर्न सक्ने, बिजनेश ग्रोथ राम्रो भएको इक्विटीलाई विशेष प्राथमिकतामा राखिएको छ । जसले गर्दा अल्पकालमा कम पर्फमेन्स गरेर दीर्घकालमा राम्रो ग्रोथ गर्ने यो फण्डको उद्देश्य हुन्छ । ठूलो साइजको भएको हुनाले पनि धेरै नाफा उठाउन सजिलो हुन्छ । एभरेजिङ गर्नुपर्याे भनेपनि बजारको उतारचढावमा प्ले गर्न सकिन्छ । सेयर बजार घटेर तल्लो तहमा पुगेको छ । म्युचुअल फण्डमा पनि आकर्षण कम देखिन्छ । लगानीकर्ताको मनोबल पनि घट्दो छ, यो बेला फण्ड बिक्री हुन सक्छ अहिले बजारमा लो लागेको छ । लो लागेको लामो समय भइसकेको छ । बजार वियरिस ट्रेण्डिङमा छ । कम्पनीहरुको सेयर मूल्य दयनीय छ । बैंकहरुको सेयर मूल्य डेढदुई सयको हाराहारीमा झरेको छ । बीमा लगायत अन्य सेक्टरको पनि धेरै कम मूल्यमा कारोबार भइरहेको छ । सेयर बजारको स्थिति हेर्ने हो भने म्युचुअल फण्ड किन्ने अवसर उपयुक्त समय हो । किनभने बजारको सुन्दरता भनेको हाई पछि लो आउनु र लो पछि हाई हुनु हो । अहिले हेर्दा यहि नै उपयुक्त समय हो । लगानी सुरु गर्नका लागि ज्यादै नै उपयुक्त समय छ । ठूलो फण्ड भएको हुनाले फर्दर बजार घटेपनि एभरेज गर्दै किन्न सक्ने यो फण्डको क्षमता हुन्छ । भोलिका दिनमा बढ्यो भने फाइदा लिन अवश्य नै सकिन्छ । यो फण्डबाट छानि छानि सेयर किन्ने मौका हुन्छ । मज्जाले विश्लेषण गरेर हरेक सेक्टरको कुन राम्रो सेयर हो, कति मूल्यमा किन्ने हो र अझै नेगोसेसन गरेरै किन्न सक्ने क्षमता छ । अर्काे साइटमा हेर्दा लगानीकर्तामा नैराश्यता छ । सेयर बजार घटेर मात्रै होइन समग्र आर्थिक अवस्थाले गर्दा निराशजनक स्थिति देखिन्छ । अलिकति फण्ड उठाउन गाह्रो हुन्छ की भन्ने लागेको छ । तर, आईपीओको ट्रेण्ड हेर्ने हो भने १२/१३ लाखभन्दा बढी नै आवेदन परेको छ । फण्डमा यति धेरै आउँदैन तरपनि अहिले फण्ड जारी गर्दा विदेशमा पनि रिचआउट गर्ने कोशिस भइरहेको छ । सर्वसाधारणमा सहभागिता कसरी बढाउने भनेर जोड दिइरहेको छौं । साथै, सर्वसाधारणलाई म्युचुअल फण्ड कस्तो लगानीको माध्यम हो भनेर बुझाउन सचेतनामुलक काम पनि भइरहेको छ । बजारको यस्तो स्थिति भएपनि सर्वसाधारणको सहभागीता उल्लेख्य हुन्छ भन्ने अपेक्षा छ । कतिपय संस्थाहरुसँग कुरा पनि भइसकेको छ । संस्थाहरुले दीर्घकाल फण्ड हो भनेर बुझेका छन् । लगानी गर्न राम्रो मौका भएकाले फण्ड बिक्री हुन्छ । म्युचुअल फण्डको सेयर मूल्य घटेको बेला असर गर्छ की ? यसले पनि प्रभाव पार्छ । यसले सर्टटर्म ट्रेडरलाई प्रभाव पार्ने हो । जसले लङ्टर्म होल्ड गर्छु भनेर मनस्थिति बनाएर खरिद गर्नुभएको हुन्छ उहाँहरुलाई यसले ठूलो असर पार्दैन । बजारमा रिफ्लेक्ट हुन्छ । मेरो लगानीको मूल्य घट्छ की वा वर्थ नै घट्छ की भन्ने महशुस हुन्छ । तर, बजार यहाँभन्दा धेरै तल झर्ने ठाउँ छैन । राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क हेर्ने हो भने अर्थतन्त्र सुधारोन्मुख छ । विस्तारै सुधार हुँदै जाँदा सेयर बजार पनि सुधार हुँदै जाने देखिन्छ । जसलाई तत्काल पैसा चाहिएको छ उसलाई मात्रै सेयर मूल्यले असर गर्ने हो । दीर्घकाल लगानी गर्नेलाई केही फरक पर्दैन । कसैले बढेको बेला म्युचुअल फण्ड खरिद गर्ने भन्नुहुन्छ भने कसैले घटेको बेला । यसले लगानीकर्तामा दुविधा पार्दैन ? म्युचुअल फण्ड दीर्घकाल इन्स्ट्रुमेन्ट हो । म्युचुअल फण्ड खरिद गर्न सधैं उपयुक्त समय हो । घटेको बेला पनि किन्ने हो । बढेको बेला पनि किन्दा उपयुक्त हुन्छ । म्युचुअल फण्ड खरिद गरेर दीर्घकालका लागि होल्ड गर्याे भने जहिले पनि किन्दा पनि हुन्छ । घटेको बेला होस् वा बढेको होस् । किनभने म्युचुअल फण्डले आ-आफ्नो रणनीति बनाएको हुन्छ । जहिले पनि बजार घट्दा म्युचुअल फण्ड बजारभन्दा कम घट्छ । बढ्दा खेरि पनि बजारभन्दा कम बढ्छ । म्युचुअल फण्ड जोखिम कम गर्ने किसिमको लगानी हो । बैंकको मुद्दती निक्षेपमा जोखिम हुँदैन । त्यसमा पनि अलिअलि रिस्क त हुन्छ । कुनै-कुनै बैंक डुबेको देखिएकै छ । तर, सामान्यतया बैंकहरुको मुद्दतीमा जोखिम हुँदैन । सर्टेन ब्याजदर पाइन्छ, त्यो फिक्स हो । जस्तो, अहिले मुद्दती निक्षेपमा १२ प्रतिशत ब्याजदर पाइन्छ । जस्तोसुकै संकट आएपनि १२ प्रतिशत नै पाइने हो । घटेर १० प्रतिशत वा बढेको बेला १५ प्रतिशत पनि पाइँदैन । बचतबाट माथि उक्लिएर लगानी गर्ने हो भने सबैभन्दा पहिलो खुड्किलो म्युचुअल फण्ड हो । ३२ सय अंकमाथि गएको बजार अहिले १८ सय अंकको हाराहारीमा छ । झण्डै १४ सय त गुमाइसकेको छ । लगानीकर्ताले ४० प्रतिशत लगानी गुमाइसकेका छन् । तर म्युचुअल फण्ड धेरै घटेको छैन । १०/१५ प्रतिशत मात्रै घटेको छ । योभन्दा धेरै घटेको छैन । म्युचुअल फण्डमा लगानी गर्दा केही हदसम्म जोखिम कम हुन्छ । त्यसैले म्युचुअल फण्डले बजारको घटबढलाई व्यवस्थापन गरेर कसरी जोखिम गरेर रिटर्न बढी जेनेरेट गर्ने हो । म्युचुअल फण्ड दीर्घकालका लागि जहिले किने पनि राम्रो हो तर सर्टटर्म ट्रेड गर्ने हो भने बियरिस बजारमा गाह्रो हुन्छ । म्युचुअल फण्ड किन्ने नै हो भने लो लागेको बेला हो । अहिले किन्नुभयो भने घट्ने ठाउँ छैन, अब बढ्ने हो । पुरानो म्युचुअल फण्ड वा आईपीओ नै किने पनि अहिलेको समय उचित हो । अहिले किन्दा सस्तो मूल्यमा सेयर पाइन्छ । एनआईबिएल ग्रोथ फण्डले कुन-कुन क्षेत्रमा लगानी गर्छ ? इक्विटीमा ६५/७० प्रतिशत लगानी गर्ने योजना छ । हरेक सेक्टरमा ग्रोथ फ्याक्टर भएको, विजनेश ग्रोथ राम्रो भएका, भविष्यमा राम्रो गर्न सक्ने इक्विटीमा बढी लगानी गर्ने योजना छ । बैंकिङ्ग क्षेत्रमा राम्रोसँग अध्ययन गरेर लगानी गर्ने हो । नाम नै ग्रोथ फण्ड भएकाले विजनेश ग्रोथ बढी गर्न सक्ने कम्पनीलाई बढी प्राथमिकता दिइनेछ । फण्डले कमाएको नाफाबाट इकाईधनीहरुलाई कतिसम्म प्रतिफल दिन सक्छ ? हरेक वर्ष प्रतिफल दिने प्रक्षेपण छ । फण्डको वर्थ बढाएर मध्यम लाभांशमा जाने योजना छ । मुद्दती निक्षेपको हाराहारीमा रिटर्न (१२÷१५ प्रतिशत) रिटर्न दिने प्रक्षेपण गरिएको छ । कम्तिमा पनि मुद्दती निक्षेपको रिटर्न बिड गर्नुपर्ने अन्तर्राष्ट्रिय अभ्यास छ । किनकी इकाईधनीहरुले स्ट्याण्डर्ड फिक्स्ड छोडेर आएका हुन्छन् । सकेसम्म ग्रोथ मै न्याभ बढाएर एकैचोटी दिने प्रक्षेपण छ । न्याभ अन्तिममा २० रुपैयाँ फर्काउने छ । शतप्रतिशत रिटर्न अन्तिममा दिने हाम्रो प्रक्षेपण हो । १० रुपैयाँ लगानी गरेर २० रुपैयाँ फिर्ता दिने प्रक्षेपण गरिएको छ । यसअघि जारी गरेका म्युचुअल फण्डबाट कस्तो अनुभव छ ? यसअघिका म्युचुअल फण्डबाट राम्रो अनुभव छ । एनआईबिएल एस क्यापिटलले पहिलोपटक एनआईबिएल समृद्धि वान फण्ड जारी गरेको थियो । ७ वर्षे अवधिमा एभरेज वार्षिक १८ प्रतिशत प्रतिफल दिन सफल भएका छौं । यसले राम्रो अनुभव भएको छ । एनआईबिएल प्रगति फण्डका इकाईधनीहरुलाई भने सुरुका वर्षहरुमा प्रतिफल दिन सकिएन । तर, पछिल्लो समय भने इकाईधनीहरुलाई राम्रो प्रतिफल बाँडको छौं । ओपन इण्डेड सहभागीता फण्डका इकाईधनीहरुलाई ३ वर्षमा ६४ प्रतिशत रिटर्न दिइसकेका छौं । एफडीलाई बिड गर्ने हाम्रो सिद्धान्त हो । अहिलेका जस्तो खराब समय आएन भने एनआईबिएल ग्रोथ फण्डका इकाईधनीहरुलाई एभरेजमा १५/२० प्रतिशत रिटर्न दिन सकिन्छ । म्युचुअल फण्डको लाभांशदर घटेको छ, कुनै वर्ष ह्वात्तै लाभांश बढाउने कुनै वर्ष स्वाट्टै किन घटाउनु हुन्छ ? म्युचुअल फण्डको लाभांश दर घटेको छ । डिभिडेण्ड पोलीसी (लाभांश नीति) मेन्टेन गर्ने अभ्यास छैन । भएको बेला झ्याप्पै दिने नहुँदा चुप लागेर बस्ने प्रवृत्ति छ । हरेक वर्ष यति डिभिडेण्ड मेन्टेन गर्छु भन्ने परिपाटि छैन । म्युचुअल फण्डको लाभांश दर एउटै रेसियोमा देखिँदैन । बजारमा हेर्ने हो भने कुनै वर्ष ५० प्रतिशत दिएको छ भने कुनै वर्ष ५/७ प्रतिशतमा पनि झरेका छन् । म्युचुअल फण्डले ठ्याक्कै डिभिडेण्ड पोलीसी फ्लो गर्न सकेका छैनन् । एनआईबिएलले जारी गरेका फण्डको पनि एकनाश छैन । कुनै-कुनै स्थापित कम्पनीले फ्लो गरेको भएपनि अन्य सेक्टरमा नी डिभिडेण्ड पोलीसी पर्पल्ली फ्लो गरेको देखिँदैन । म्युचुअल फण्डमा एकनाश दिन पनि गाह्रो हुन्छ । म्युचुअल फण्डको लगानी बजारमा हुन्छ । बजार राम्रो भएको बेलामा डिभिडेण्ड दिनुपर्छ भन्ने हुन्छ । फण्डको नाफा आफैसँग राखिराख्यो भने बजार घटेको बेला डबल असर पार्ने होकी भन्ने हुन्छ । म्युचुअल फण्डहरुले डिभिडेण्ड पोलिसी अनुसार मेन्टेन गर्ने की नगर्ने विषयमा बहस हुन जरुरी छ । नेपाली बजारमा के गर्दा उपयुक्त हुन्छ भन्ने कुरामा छलफल गर्न आवश्यक छ । स्थिर अर्थतन्त्रमा स्थिर लाभांश स्वभाविक हो । नेपालमा फ्लेक्च्युसन धेरै हुने भएकाले स्थिर राख्न गाह्रो भएको हुन सक्छ । म्युचुअल फण्डको प्रकृतिमा पनि भर पर्छ । लाभांशमा ग्रोथ फण्डको प्रकृति फरक हुन्छ । ब्यालेन्सड फण्ड र इनकम फण्डको सिद्धान्त एउटा रेञ्जमा दिनु पर्छ भन्ने हुन्छ । तर, ग्रोथ फण्डको अन्तर्राष्ट्रिय अभ्यास डिभिडेण्ड नै नदिने हुन्छ । ग्रोथ फण्डले भ्याल्यू बढाएर अन्तिममा एकैचोटी दिने अभ्यास छ । एनआईबिएल ग्रोथ फण्ड ४ दिनमा सबै बिक्री होला ? कस्तो प्रतिक्रिया आएको छ ? ४ दिनमा बिक्री गर्ने कोशिस गर्ने हो । गाह्रो पनि हुन सक्छ । अहिलेसम्म प्रतिक्रिया राम्रो आएको छ । हाम्रो फण्ड नआएको धेरै ग्याप भएको छ । जसले गर्दा त्यति धेरै गाह्रो हुँदैन की भन्ने छ । इकाईधनीहरुले ४ दिनमा नै सबै फण्ड खरिद गर्नुहुन्छ भन्ने अपेक्षा छ । यसअघिका फण्डबाट पनि उहाँहरु उत्साहित हुनु भएको छ । यसअघिका म्युचुअल फण्डको अवस्था के छ ? सबै फण्डको राम्रो छ । विभिन्न कारणले समृद्धि मुचुअल फण्ड २ मा राम्रो गर्न सकिएन । त्यो फण्ड बजार माथि जाने बेला ल्याएका थियौं । हामीले खरिद गर्दा गर्दै बजार घट्यो । त्यसमा राम्रो गर्न नसकेर लाभांश पनि दिन सकिएको छैन । हुन त २ वर्ष मात्र भयो । बजार घटेदेखि नै स्टक अकुमेलेट भइरहेको छ । अब बजार बढेपछि उक्त फण्डका इकाईधनीहरुलाई राम्रो लाभांश दिन्छौं । ग्रोथ फण्डका इकाईधनीहरुलाई कति प्रतिशत सन्तुष्टि बनाउनु हुन्छ ? इकाईधनीहरुलाई शतप्रतिशत सन्तुष्ट बनाउने प्रयास हामी गर्छाैं । विगतका फण्डहरुमा त्यो गरेर पनि देखाउन सफल भएका छौं । हामीसँग स्थापित टिम छ । हाम्रोमा मुभमेन्ट पनि त्यति धेरै छैन । फण्ड स्पोन्सरका रुपमा प्यारेन्ट कम्पनी एनआईबिएल पनि छ । पर्फमिङ फण्डको हिसावमा शतप्रतिशत नै सन्तुष्ट बनाउने लक्ष्य छ । म्युचुअल फण्डमा आईपीओमा जस्तो आकर्षण हुँदैन नि, किन ? नेपाल मात्रै यस्तो देश हो, जहाँ १ सय रुपैयाँ वा पार भ्यालुमा आईपीओ पाइन्छ । अन्य मुलुकमा हेर्ने हो भने आईपीओको मूल्य १० रुपैयाँ भइसकेको छ । अझै कुनै देशमा १ रुपैयाँ भइसकेको छ । कतिपय देशमा सेयर स्प्लिट पनि भएका छन् । अमेरिकातिर सेन्टमा आईपीओ पाइन्छ । पार भ्यालु वा जतिको त्यतिमा इस्यू हुने नेपालमा मात्रै हो । यसकारण १ सय रुपैयाँ सूचीकृत हुँदा जस्तो कम्पनी पनि २र३ सय रुपैयाँ हुन्छ । त्यो आकर्षण छ । आईपीओ पर्याे भने २/३ गुणा त फाइदा हुन्छ भन्ने हिसावले आकर्षण बढेको हो । यदि भोलिका दिनमा प्रिमियम मूल्यमा इस्यू भयो आकर्षण घट्छ । १ सय रुपैयाँमा पाइने भएर आकर्षण बढेको हो । म्युचुअल फण्डलाई त्यो सुविधा छैन । म्युचुअल फण्ड त फ्रेस हो । कसैले कम्पनी स्थापना गर्याे भने आईपीओ जारी गर्नका लागि ३ वर्ष कुर्नु पर्ने हुन्छ । त्यसमा समय खर्च भएको छ, लगानी बढेको छ, कामहरु धेरै भएर एउटा भ्यालु आइसकेको हुन्छ । त्यो भ्यालु कम्पनीले १ सय रुपैयाँमा दिएको हुन्छ । यसकारण मात्रै त्यसको आकर्षण बढेको हो । भोलिका दिनमा १५० रुपैयाँभन्दा बढी मूल्यमा बिक्री हुने हो भने आकर्षण अटोमेटिक घट्छ । म्युचुअल फण्डको भविष्य कस्तो छ ? म्युचुअल फण्ड अझै आउँछन् । म्युचुअल फण्ड सुरु भएको १० वर्ष पुरा भयो । म आफै नेपाल धितोपत्र बोर्ड छोडेर सिद्धार्थमा जाँदा इन्भेष्टमेन्ट ग्रोथ स्किम वान भनेर पहिलो फण्ड ल्याएको थिए । म्युचुअल फण्डको इण्डष्ट्रि ११ औं वर्षमा प्रवेश भएको छ । ११ वर्षमा म्युचुअल फण्ड के हो, कस्तो लगानी हो भन्ने सचेतना सर्वसाधारणमा पुगेको छ । हाल म्युचुअल फण्डमा २८/३० अर्ब लगानी छ । पहिलो म्युचुअल फण्ड ल्याउँदा ५० करोड आकार थियो । बजारमा म्युचुअल फण्डको पुगेको छ । १० वर्षअघि म्युचुअल फण्डका बारेमा कर कार्यालय, नेपाल राष्ट्र बैंक, बीमा समितिलाई पनि थाहा थिएन । प्रोभिजनको व्यवस्था थिएन । हामीले सबै ठाउँमा गएर लबिङ गर्याै । बीमा समितिमा म आफैले प्रस्तुती गरेको थिए । राष्ट्र बैंक, कर लगायतसँग पनि धेरै बहस भयो । अहिले एउटा फेजमा म्युचुअल फण्ड आइपुगेको छ । अहिले ओपन इण्डेड म्युचुअल फण्ड पनि आइसकेको छ । हामीले नै पहिलो पटक ल्याएको हो । त्यो पनि २० करोडबाट सुरु गरेको हो । अहिले १ अर्ब पुगेको छ । त्यसलाई बढाएर २ अर्ब पुर्याउने योजना छ । लगानीकर्तामा फण्डका बारेमा ज्ञान बढ्दै गएकाले म्युचुअल फण्डको आकार अझै बढ्छ । अझै पनि गर्व गर्न लायकको आकारमा पुगेको छैन । ४/५ वर्ष अघिको तथ्याङ हेरेको थिए, भारतमा म्युचुअल फण्डको आकारा १० लाख करोड थियो । तर, नेपालमा ३० अर्ब मात्रै छ । हाम्रो जस्तो देशमा अझै पनि म्युचुअल फण्डको स्कोप छ । म्युचुअल फण्डमा सहुलियतको व्यवस्था हुनु पर्छ । भारतमा म्युचुअल फण्डमा कर योग्य आयबाट घटाउन पाउने सुविधा छ । नेपालमा त्यो सुविधा छैन । त्यो लबिङ गरेको थुप्रै वर्ष भइसक्यो । क्लोजिङमा त्यो व्यवस्था नभएपनि ओपनिङमा दिनुपर्छ भनेर माग गरेको वर्षाै भइसक्यो अहिलेसम्म हुन सकेको छैन । लाइफ इन्स्योरेन्सको प्रिमियम, कर्मचारी सञ्चाय कोष र नागरिक लगानी कोषलाई छुट दिन्छ । म्युचुअल फण्डमा छुटको व्यवस्था गर्याे भने इण्डष्ट्रि अझै ठूलो हुन्थ्यो । नियामकले पनि विस्तार गर्ने उद्देश्यले सोचेको छैन । इण्डष्ट्रि ठूलो होस् भन्दा पनि अल्झाइराख्ने प्रवृत्ति नियामक निकायको छ । यस्तो मनस्थिति हटेर सहजीकरण गर्याे भने मुचुअल फण्डको विकास हुन्छ ।
अहिले साना ऋणीको डिफल्ट बढी छ, भविष्यमा ठूलाको बढ्न सक्छ : सुमन शर्मा
सुमन शर्मा, प्रमुख कार्यकारी अधिकृत-सनराईज बैंक लिमिटेड पटक पटक अर्थतन्त्र संकटमा पर्दा पनि बैंकहरुको अवस्था विगत २ दशकमा राम्रो देखिन्थ्यो । तसर्थ लगानीकर्तादेखि जागिर खानेहरु सबैको पहिलो छनौटको क्षेत्रमा बैंकिङ क्षेत्र रह्यो । तर पछिल्लो समय बैंकिङ क्षेत्र तनावमा छ । कर्मचारी पनि तनावमा देखिन्छन् भने सेयरधनीको हात पनि खाली हुन थालेको छ । यसपालिको आर्थिक संकटले बैंकहरुलाई पनि नराम्ररी सताएको छ । त्यतिमात्र होइन, ऋणीहरु सडकमा ओर्लेर बैंकर्सको आलोचना गरिरहेका छन् । किन यस्तो अवस्था आयो र अबको विकास कसरी होला ? प्रस्तुत छ यहि विषयमा केन्द्रित भएर सनराईज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मासँग विकासन्युजका लागि प्रधान सम्पादक रामकृष्ण पौडेलले गरेको विकास वहस यस पटक । सनराईज बैंकले गत वर्षको नाफाबाट लाभांश नदिने निणर्य गर्यो, किन त्यस्तो भयो ? पहिला बैंकमा पुँजी धेरै, बिजनेश थोरै थियो । अहिले पुँजी र बिजनेशको सन्तुलन मिलेको छ । माघ २०७७ देखि पुस २०७८ सम्मको अवधिमा हामीले करिब ४० प्रतिशतले बिजनेश ग्रोथ गर्यौ । त्यसको परिणाम चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गत वर्षको पहिलो त्रैमासमा तुलनामा ५४ प्रतिशतले व्याज आम्दानी बढेको छ । गत वर्ष हामीले २२ प्रतिशतले निक्षेप बढायौं, जबकी बैंकहरुको निक्षेप औसत ग्रोथ ८ प्रतिशतभन्दा कम छ । सो कारणले गत वर्ष बैंकको कुल व्याज आम्दानी उच्चदरले बढेको छ । यस आर्थिक वर्षको पहिलो त्रैमासमा कर्जा डिफल्ट बढेकोले, इन्ट्रेस्ट सस्पेन्स तथा एनबीए (नन बैंकिङ एसेट) बढेको छ । त्यसको नकारात्मक असर वितरणयोग्य नाफामा परेको छ । सनराईज बैंकको मात्र डिफल्ट बढेको होइन । सबै बैंकको बढेको छ । किनकी अर्थतन्त्र संकटमा छ । कर्जा असुलीमा ठूलो समस्या छ । व्यापारीहरुले बिजनेस ३०/४० प्रतिशत घटेको बेलामा बैंकको कर्जा डिफिल्ट हुनु स्वाभाविक हो । गत वर्षकै कुरा गर्ने हो भने इन्ट्रेस्ट सस्पेन्ड पनि बढ्यो । कर्जा डिफल्ट पनि बढ्यो । लोन लस प्रोभिजन पनि बढ्यो । र, हामी जस्तो सानो बैंकको डिबेन्चर रिटेन्सन रिर्जभ ठूलो भयो । गत वर्ष ७५ करोड रुपैयाँ डिबेञ्चर रिडेम्सन रिर्जभमा राखेका छौं । यो रकम अन्तिममा सेयरधनीकै हो । डिबेञ्चरको अवधि सकिएपछि त्यो सेयरधनीले बोनस सेयरमा पाउनेछन् । गत वर्षको नाफाबाट सेयरधनीले जम्मा २ प्रतिशत मात्र लाभांश पाउने अवस्था रह्यो । त्यो कारणले हामीले लाभांश नबाँड्ने निणर्य गरेका हौं । वाह्य वातावरण राम्रो हुने वित्तिकै बैंकको अवस्थामा धेरै सुधार आउनेछ । बैंकिङ क्षेत्रमा यति ठूलो समस्या कसरी आयो ? कोरोना महामारी, विभिन्न देशमा कोरोनाका कारणले भएका लकडाउन, इन्धनको मूल्यवृद्धि लगायतको समस्याले विश्वभर मूल्य वृद्धि भयो । त्यसमाथि रसिया युक्रेन युद्धले विश्वभर नै बस्तु तथा सेवाको मूल्य ह्वात्तै बढ्यो । त्यसको असर नेपालको अर्थतन्त्रमा पनि पर्यो । बैदेशिक व्यापार घाटा बढ्यो । विदेशी मुद्रा संचिति घट्यो । डलर विदेशमा धेरै गएपछि नेपालको बैकिङ क्षेत्रमा तरलता कमी भयो । बैंकहरुले निक्षेपको व्याज बढाए । निक्षेपको व्याज बढेको कारण बेसरेट बढ्यो । त्यसपछि कर्जाको व्याज पनि बढ्न थाल्यो । ८ प्रतिशतमा गएको होमलोनको व्याज १२ प्रतिशत पुग्यो । ९ प्रतिशतमा गएको बिजनेश लोनको व्याज १३/१४ प्रतिशत पुग्यो । कर्जाको व्याज ५० प्रतिशतसम्म बढ्दा ऋणीको आम्दानी सोही अनुसार बढेन । बरु कोरोना महामारीकै कारण कति ऋणि बेरोजगार भए होलान् । कतिको बिजनेश ठप्प भयो होला । यहि बेला नेपाल राष्ट्र बैंकले कोरोना महामारीको समयमा दिएको कर्जा सुविधाहरु हटायो । सबै किसिमले ऋणीहरुलाई नराम्ररी असर गर्यो र ऋण तिर्ने क्षमतामा ह्रास हुन गयो । मूल्यवृद्धिसँगै उपभोगमा गिरावट आएको छ । बजारमा मन्दी छाएको छ । बस्तु तथा सेवा बिक्री ज्यादै कम भएको छ । त्यसैले बैंकको कर्जा असुली पनि हुन सकिरहेको छैन । बैंकहरुको खराब कर्जा बढेको छ । कर्जा असुलीको सूचना, सम्पत्ति लिलामीको सूचना धेरै नै बढेको छ । सबै बैंकमा यो समस्या हुनुपर्छ । चालु आर्थिक वर्षको अन्त्य कस्तो होला ? सीडी रेसियो टाइट नै भैराख्यो, ऋणीहरुको नगद प्रवाह रोकियो र बैंकहरुले व्याज असुल गर्न थप कर्जा दिन्छन् भने बैंकहरुको डिफल्ट पक्कै पनि बढ्छ । पहिलो त्रैमासमा जे अवस्था देखियो चालु आर्थिक वर्षको अन्त्यसम्ममा पनि खास सुधार हुने सम्भावना धेरै कम छ । पहिलो त्रैमासमा कर्जा डिफल्ट भएको छ र यो समस्या क्षणिक होइन भने दोस्रो वा तेस्रो त्रैमासमा उसले भुक्तानी गर्छ भनेर विश्वास गर्न गाह्रो छ । किनकी बैंकको कर्जा किस्ता नियमित गर्न व्यवसायीले अधिकतम प्रयास गरेका हुन्छन् । जसको कर्जा डिफल्ट हुन्छ, उ संकटमा परिसकेको हुन्छ । पहिलो त्रैमासमा संकटमा परेको ऋणिले दोस्रो वा तेस्रो त्रैमासमा किस्ता तिर्छन भन्ने सम्भावना कम हुन्छ । यदि बैंकले कर्जा मिलाउन ऋणीलाई थप कर्जा दिन्छ भने त्यसको असर पछि वृहत भएर आउँछ र सो कार्य गर्नु हुँदैन । अहिले घर जग्गाको किनबेच पनि ज्यादै कम भएकोले ऋणीले धितो बेचेर पनि बैंकको कर्जा तिर्न कठिन छ । अहिले पनि केही बैंकहरुले राम्रो गरेका छन् । देशको अर्थतन्त्र संकटमा छ । गत एक आर्थिक वर्षमा २८० अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा संचिति घट्यो । त्यसले अर्थतन्त्रमा बहुआयामिक असर गर्यो । बाध्य भएर सरकारले विभिन्न वस्तु आयातमा रोक लगायो । राष्ट्र बैंकले विभिन्न वस्तुको आयातलाई निरुत्साहित गर्यो । सरकारको राजश्व समेत घट्दो ट्रेण्डमा गयो । उद्योग वाणिज्य महासंघ लगायत व्यवसायिक संघ संस्थाहरु सडकमा ओर्लेर आन्दोलन गर्ने अवस्था आयो । यस्तो अवस्थामा पनि बैंकहरुले राम्रो नतिजा ल्याउँछन् भने त्यस बैंकको धेरै नै तारिफ गर्नुपर्छ । थोरै बैंकले राम्रो नतिजा ल्याए पनि धेरै बैंकहरुको नतिजा पहिला भन्दा बिग्रिएको नै छ । कर्जा डिफल्ट व्यवसायिकबाट बढी छ कि व्यक्तिगतबाट बढी ? दुबैतिरबाट छ । व्यवसायिक क्षेत्रमध्ये पनि कुन क्षेत्रबाट बढी डिफल्ट आएको छ ? समग्रमा साना ऋणी समस्यामा छन् । एसएमई र रिटेलको क्षेत्रबाट कर्जा उठ्न सकेको छैन । कर्पोरेट लोनभन्दा एसएमई लोन सुरक्षित भन्दै बैंकहरुले गएको दशकमा साना व्यवसायीहरुलाई प्राथमिकताका साथ कर्जा प्रवाह गरेका थिए । के अहिले त्यहि साना कर्जा बढी जोखिमपूर्ण भएका हुन् ? स्वाभाविक रुपमा साना व्यवसायी कमजोर हुन्छन् । किनकी उनीहरुसँग एउटा मात्र व्यवसाय हुन्छ । त्यो संकटमा पर्दा उनीहरुसँग विकल्प हुँदैन । कर्पोरेट हाउसका ४/५ वटा यूनिट हुन्छन् । १/२ वटा यूनिट घाटामा जाँदै गर्दा अर्को १/२ वटा यूनिटले राम्रो नाफा गरिरहेको हुन्छ । यसका साथै पहिला कमाएको संचित नाफा पनि ऋणि कम्पनीसँग हुन्छ । त्यसकारण कर्जा तिर्ने क्षमताको हिसावले साना व्यवसायीसँग भन्दा ठूला व्यवसायीसँग नै बढी क्षमता हुन्छ । तर आर्थिक संकट लम्बिदै गयो भने ठूलो व्यवसायी पनि संकटमा पर्छन् । त्यतिबेला बैंकहरुले लागि साना ऋणीभन्दा ठूला ऋणी जोखिमपूणर् हुन्छन् । किनकी साना ऋणीसँग बैंकले जग्गा धितो पनि लिएको हुन्छ । कर्जा उठेन भने जग्गा धितो बेचेर पनि आफ्ना लगानी केही हदसम्म उठाउँछ । तर ठूला ऋणीले पर्याप्त धितो राखेका हुँदैन् । उनीहरुको कर्जा डिफल्ट भयो भने जग्गा धितो बेचेर धेरै कर्जा असुल नहुने सम्भावना बढी हुन्छ । व्यक्तिगत कर्जाको कुरा गर्नु हुन्छ भने कर्मचारीको तलब १० प्रतिशत बढेको होला । तर घर कर्जा वा गाडी कर्जाको व्याज ५० प्रतिशतसम्म बढेको छ भने उसले कहाँबाट पैसा ल्याएर कर्जा तिर्ने भन्ने समस्या हुन्छ । अहिले डिफल्ट भएका कर्जा भविष्यमा असुली हुने सम्भावना कति हुन्छ ? उनीहरुको धितोले धान्छ कि धान्दैन ? मैले बैंकमा काम गर्न थालेको २५ वर्ष भयो । यस अवधिमा सन् २०११ ताका केही जग्गाको मूल्य केही घट्यो । अघिपछि कहिल्यै जग्गाको मूल्य घटेन, बढ्यो मात्र । कुनै वर्ष दोब्बर मूल्य वृद्धि पनि भएको छ । जग्गाको मूल्य कहिल्यै घट्दैन भन्ने मनोविज्ञान समाजमा स्थापित भएको छ । बैंकहरुले पनि जग्गा धितो राखेर नै कर्जा लगानी गरेका छन् । ठूला ऋणी डिफल्ट भए भने बैंकलाई बढी जोखिम हुन्छ । साना ऋणीको कर्जा अहिले डिफल्ट भए पनि केही जाग्गा धितो हुन्छ । तर अहिले जोखिम के छ भने ऋणको व्याज उच्च छ । यो अवस्था लामो समय रह्यो भने घर जग्गाको मूल्य पनि घट्न सक्छ । अहिले बैंकहरुले धेरै जग्गा लिलामीमा राखेका छन् तर जग्गा बिक्री भएका छैनन् । दुई वर्षअघि ५० लाखको जग्गा अहिले एक करोड मूल्य पर्ने भएको हो फेरी ५० लाखमा झरि हाल्छ नि भन्ने मनोविज्ञान पनि पाइन्छ । त्यस्तै भयो उच्च मूल्य भएको बेला जग्गाधितोको आधारमा कर्जा प्रवाह भएको छ भने ती कर्जा बढी जोखिममा पर्छ । पेट्रोलियम पदार्थको मूल्य घट्न थालेको छ । विदेशी मुद्रा संचितिमा सुधार छ । विप्रेषण आयमा सुधार छ । पर्यटन क्षेत्रमा उत्साह बढ्दै गएको छ । सरकारले आयातमा गरिएको प्रतिवन्ध पनि खुलाएको छ । बैंकहरुमा तरलता पनि केही सहज भएको देखिन्छ । यी तथ्यहरुले आगामी दिनमा सुधारको संकेत गर्दैनन् ? चिसो बढेको कारण भाइरल भयो, ज्वरो आएको हो भने छिटो निको हुन्छ । तर अल्सर भएको कारण ज्वरो आएको छ भने निको हुन कठिन पनि हुन्छ, बढी समय पनि लाग्छ । व्यवसायिक समूदायको कुरा सुन्दा अहिले अर्थतन्त्रमा सामान्य ज्वरो मात्र आएको छैन । यसको उपचार लामो विधिबाट हुनुपर्छ । सरकारको आर्थिक नीति र मौद्रिक नीतिको तहबाट समस्याको समाधान खोजिनुपर्छ । मौद्रिक नीतिले समस्या सम्बोधन गर्न प्रयास गरेको छ तर आर्थिक नीतिले समस्याको समाधान खोजेको छैन । अहिले निक्षेपको व्याज बढेको छ । मानिसहरु उपभोगमा भन्दा बचतमा आकर्षित भएका छन् । व्याज बढेकोले कर्जाको माग छैन । पहिलो ७/८ प्रतिशत व्याजमा कर्जा पाइन्थ्यो भने अहिले १४/१५ प्रतिशत पर्छ, त्यो पनि पाइँदैन । कर्जा प्रवाह नहुँदा लगानी बढ्दैन, नयाँ रोजगारी सिर्जना हुँदैन । लगानी बढाउने, रोजगारी सिर्जना र माग वृद्धि गर्ने गरी नीतिगत रुपमा काम गर्न जरुरी छ । चालु पुँजी कर्जा सम्बन्धि कर्जाविधिको ऋणीहरुले खुबै विरोध गरेका छन् । बैंकहरुको नजरमा यो कार्यविधि राम्रो हो कि खराब ? बैंकहरुबीचको प्रतिस्पर्धा र केही उद्योगी व्यवसायीहरुको उच्च महत्वकांक्षाको कारणले चालु पुँजी कर्जा प्रवाह र उपयोग दुबैमा बेथितिहरु भेटिन्छन् । सबैले गलत काम गरेका थिएनन्, तर केहीले कर्जाको गलत प्रयोग गरको पाइएको छ । त्यसलाई रोक्न जरुरी थियो । राष्ट्र बैंकले पनि कर्जाको दुरुपयोग नहोस् भनेर नयाँ कार्यविधि जारी गरेको छ । वर्किङ क्यापिटल गाइडलाइन्सप्रति बैंकहरुको धेरै गुनासो छैन । किनकी बैंकमा काम गर्ने कर्मचारीहरु पारदर्शिता चाहान्छन् र सुरक्षित कारोबार चाहान्छन् । त्यसकारण समग्रमा बैंकर्सहरुले वर्किङ क्यापिटल गाइडलाइन्सलाई ठिकै मानेका छन् । केही केही सुधार जरुरी छ । जुन विषयमा बैंकर्सहरुले राष्ट्र बैंकलाई सुझाव दिएका पनि छन् । व्यवसायीहरुले त चालु पुँजी कर्जा कार्यविधि २ वर्षको लागि स्थगित गर्न माग गरेका छन् नि ? समस्या पालेर राख्नु हुँदैन । कसैले यो नियम २ वर्षअघि आउनु पर्दथ्यो पनि भन्न सक्छन् । कसैले २ वर्षपछि लागू गरेको भए हुन्थ्यो पनि भन्नसक्छन, जतिबेला देशमा धेरै लिक्विडिटी थियो । समयबारे विवाद जायज होइन । समस्या छ, सुधार पनि आवश्यक छ भन्ने सबैको बुझाई हो भने समस्या घटाउँदै जाने बाटो नै उपयुक्त हो । केही बुँदामा परिमार्जन आवश्यक छ, राष्ट्र बैंकले पनि संशोधनको संकेत गरेको छ । बैंकर्सहरु प्रति बिजनेशम्यानहरु निकै आक्रोशित देखिन्छन् । बैंकर्स र बिजनेशम्यानबीच यो तहको तिक्तता किन आयो ? बैंकहरु हेभिली रेगुलेटेड छन् । हामीहरु राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेर काम गरिरहेका छौं । हामी पब्लिक फोरममा जे पायो त्यो बोल्दैनौं । तरलता छैन, बैंकले कर्जा दिएनन् भनेर गाली गरिन्छ । व्याजदर वृद्धि भयो, बैंकर्सको आलोचना भयो । आयात बढ्यो, बैंकर्सलाई गाली गरेका छन् । तरलता अभाव हुनुमा पनि बैंकर्स दोषी छैनन्, व्याजदर बढ्नुमा पनि बैंकर्स दोषी छैनन्, आयात बढ्नुमा पनि बैंकर्स दोषी छैनन् । यो सब माग र आपूर्तिको परिणाम हो । माटोको मोल र हिराको मोल किन फरक छ ? जुन वस्तु सजिलै पाइन्छ, माग थोरै छ, त्यो सस्तो हुन्छ । जुन वस्तु बिरलै पाइन्छ, माग धेरै छ, त्यो महँगो हुन्छ । यो त बजारको नियम हो । बैंकहरुले निक्षेपको व्याज योभन्दा बढ्नु राम्रो होइन भनेर अडान नलिएको भए अहिले के हालत हुन्थ्यो ? निक्षेपको व्याज १५ प्रतिशत नाघ्थ्यो होला, कर्जाको व्याज १८ प्रतिशत नाघ्थ्यो होला । त्यो अवस्था आउन नदिन बैंकर्सले खेलेको भूमिकाबारे न व्यवसायीहरु बोले, न पत्रकारहरुले नै लेखे । बैंकर्सहरु बोल्दैन भनेर उनीहरुमाथि चौतर्फी आक्रमण भएको छ । र वाणिज्य बैंकहरुलाई सफ्ट टार्गेटको रुपमा व्यवहार गरिएको छ । हिजो बेसरेट ७ प्रतिशत हुँदा बैंकहरुले ९ प्रतिशतमा कर्जा लगानी गरे । अहिले १० प्रतिशत बेसरेट हुँदा कर्जाको व्याज १४ प्रतिशत बनाए भन्ने व्यवसायीको गुनासो छ । यो प्रुडेन्ट बैकिङ भएन नि ? हिजो ७ प्रतिशत बेसरेट हुँदा ९ प्रतिशतमा कर्जा दिन्थ्यौं । अर्को बैंकले ८ प्रतिशत मै कर्जा दिने भयो, कि ८ प्रतिशत बनाउनु पर्यो कि अर्को बैंकमा जान्छौं भनेर वार्गेनिङ गर्थे । बेसरेटभन्दा कम व्याजदरका कर्जा लगे भनेर राष्ट्र बैंकले कतिलाई सचेत पनि गरायो । के त्यतिबेला व्यवसायीले म ९ प्रतिशत व्याजमा कर्जा लिन्छु भनेका थिए ? ? यो सबै डिमाण्ड एण्ड सप्लाईले निर्धारण गर्ने कुरा हुन् । केही बैंकहरुले पुराना ऋणीलाई एक/डेढ प्रतिशत मात्र व्याज बढाएका छन् । कुनै बैंकले पुराना ऋणीलाई ४/५ प्रतिशत नै व्याज बढाईदिएका छन् । यस्तो हुनुमा माग र आपूर्ति असर मात्र नभई व्यवस्थापकीय कौसलता, ऋणीप्रति बैंकर्सको सोचले पनि काम गरेको देखिन्छ नि ? समग्रमा बैंकहरुको स्प्रेडदरको सीमा ४.४ प्रतिशत मात्र हो । कसैलाई बेसरेटमा ५ प्रतिशत प्रिमियम लिएका पनि होलान् र कसैलाई बेसरेट प्लस २ प्रतिशत पनि होला । औषतमा हुने ४.४ प्रतिशतभन्दा माथि कुनै पनि बैंकले लिएका छैनन् । कुनै कर्जामा १७/१८ प्रतिशत व्याज पनि होला । त्यसको जोखिम पनि बढी छ भनेर होला । कसैले अहिले पनि ११/१२ प्रतिशत व्याजमा कर्जा पाएका होलान्, जसको जोखिम कम छ भनेर होला । राष्ट्र बैंकले पर्सनल ओडी, अटो लोन र सेयर लोनमा बढी क्यापिटल चार्ज तोकेकोले पनि यी कर्जाको व्याज महाँगो भएको हो । अन्त्यमा, धेरै बैंकहरु मर्जमा गए । अब त वाणिज्य बैंकमध्ये सबैभन्दा सानो बैंकमा सनराईज बैंक देखिन थाल्यो । मर्जबारे बैंकले के सोचिरहेको छ ? उहाँहरुले लगानीको प्रतिफल रेट र लगानीको सरक्षणलाई प्राथमिकता दिनुहुन्छ जस्तो लाग्छ, बैंकको साइज कत्रो भन्दा पनि । यो सामानय आर्थिक सिद्धान्त हो । यस बैंकले व्यापार निकै बढाएकोले गर्दा देशको आर्थिक अवस्था राम्रो भएमा अर्थात ऋणिको आर्थिक स्थिति सुध्रिएमा यस बैंकको प्रतिफल दिने क्षमता ह्वात्तै बढेको पाउनुहुनेछ । यो बैंक पारदर्शि र सुरक्षित छ । उचित पार्टनर पाएमा हामी मर्जमा जानेछौं । बैंकको साधारणसभा र सञ्चालक समितिले पनि उचित पार्टनर पाए मर्जमा जाने निणर्य गरेको छ ।
व्यवसायीहरुले ब्याज बढी दिए भने बैंकहरु जति पनि ऋण दिन तयार छन् : बैंकर न्यौपानेसँगको कुराकानी
विवेक बन्दु न्यौपाने मेगा बैंक प्रदेश १ का प्रमुख र नेपाल बैंकर्स संघका प्रदेश १ अध्यक्ष हुन् । वि.स २०६२ सालदेखि बैंकिङ्ग करियर सुरु गरेका न्यौपानेले बैंकिङ जबको सुरुवात नेपाल बैंकबाट गरेका हुन् । प्रदेश नम्बर १ उद्योगी व्यवसायीहरुको बाहुल्यता भएको प्रदेश हो । बैंकहरुको ध्यान पनि तिनै उद्योग व्यवसायीसँगै रहेर बिजनेस गर्नु पर्ने हुन्छ । प्रदेश प्रमुखको हैसियतमा काम गर्दा भोग्नु परेका समस्या र अनुभवहरु, प्रदेश १ मा बैंकिङ अभ्यास र दुरदराजमा काम गर्दाका चुनौतिहरु लगायतको विषयमा उनै न्यौपानेसँग विकासन्युजका लागि सीआर भण्डारीले कुराकानी गरेका छन् । लगानीयोग्य पुँजीको अभावका कारण अहिले बैंकिङ्ग इण्ड्रस्टी शिथिल छ, प्रदेश नम्बर १ मा के-कसरी काम गरिरहनु भएको छ ? प्रदेश नम्बर १ मा पनि लोनेबल फण्डको अभाव छ । प्रदेश १ मा पनि तरलताको प्रभाव परेको छ । विशेषगरी निक्षेपको ब्याजदर नघट्दा बजारमा उच्च प्रतिस्पर्धा छ । निक्षेपकर्ताको बार्गेनिङ पावर बढेको छ । निक्षेपको ब्याजदर बढेको हुँदा कर्जाको रेट घटाउन सकिएको छैन । प्रदेश १ मा कर्जाको माग कम छ । ‘एक्जिस्टिङ’ ग्राहकहरुलाई कर्जा चाहिने आफ्नो ठाउँमा छँदै छ । तर, नयाँ कर्जाको माग भने एकदमै न्यून छ । नयाँ ऋणीहरु जसलाई नयाँ ऋण र नयाँ काम गर्नेहरु थोरै छन् । बैंकहरु नयाँ ऋणी आए वा कर्जाको माग भयो भने ऋण दिन तयार छन् ? बैंकहरु कर्जा दिन तयार छन् । ब्याजदर मात्रै बढी हो । किनभने इण्डष्ट्रि एभरेज बेसरेट नै १० प्लसको हाराहारीमा पुगेको छ । राष्ट्र बैंकको नियम अनुसार ३/४ प्रतिशत प्रिमियम जोड्दा पनि १४ प्रतिशतमा यदि भायबल प्राजेक्ट आउँछ र १४/१५ प्रतिशत ब्याजदर तिरेर विजनेशलाई सस्टेन गर्न सक्छ भन्ने बैंकलाई विश्वास लाग्यो भने आजको दिनमा कर्जा दिन तयार छन् । नयाँ ऋणीहरु र व्यवसायीहरुले त ऋण नै पाएनौं भनेर गुनासो गरिरहन्छन् नी ? ठूला ऋणीहरुलाई समस्या होला । तर, साना ऋणीहरु जसले २/४ करोड ऋण चहियो भन्छ भने उनीहरुलाई ऋण दिन कुनै समस्या छैन । ब्याजदर महँगो छ । महँगो ब्याजदरमा पैसा उठाउन नचाहेको हुँदा समस्या भएको हुन सक्छ । तर, तरलताको ठूलो समस्या भएर ऋण नै दिन नसक्ने अवस्था भने छैन । ग्राहकहरुलाई कर्जा दिएन भन्दा पनि माग नै कम छ । अधिकांश बैंकहरुले रिकोभरिमा जोड दिएकाले पनि समस्या आएको हुन सक्छ । कोभिडदेखिको असर अहिले देखिँदैछ । विशेषगरी रिकोभरिको प्रभाव परेको छ । ऋणलाई सही ढंगले विजनेशमा प्रयोग गरेर क्यास फ्लो जेनेरेट हुन सक्यो भने विजनेशले प्रोग्रेस गर्न सक्छ भन्ने विश्वास भयो भने आजको दिनमा पनि कर्जा दिन बैंकलाई समस्या छैन । यो समस्याका बीचमा काम गर्न कत्तिको चुनौति छ ? जुन उद्देश्यको लागि पैसा लगिएको हुन्छ, त्यो उद्देश्यमा नै त्यो पैसा प्रयोग भयो भने चुनौति केही पनि छैन । त्यसले आकर्षित पनि हुन्छ । तर, उद्देश्य एउटा लिएर लगानी अर्कै ठाउँमा गर्याे भने चुनौति हुन्छ । एकचोटि क्यास फ्लो भएर त्यो पैसा बैंकमा नआइकन अन्त डाइभर्ट गर्ने व्यापारीहरुको प्रवृत्ति चाँहि धेरै ठाउँमा देखिन्छ । त्यसले गर्दा चुनौति छ । प्रदेश १ उद्योगी व्यवसायीहरु भएको क्षेत्र पनि हो, त्यहाँका उद्योगी व्यवसायीहरु पछिल्लो समय आन्दोलित छन्, उहाँहरुसँग कसरी सहकार्य गरिरहनु भएको छ ? ओभरल इण्डष्ट्रिमा निक्षेपको ब्याजदर घटायो भने कर्जाको ब्याजदर घट्ने हो । बेलाबेला व्यपारीहरुसँग छलफल, कुराकानी भइरहेको छ । उहाँहरुलाई वित्तीय साक्षरताको खाँचो छ । राष्ट्र बैंकले अर्थतन्त्र जोगाउन निर्देशन वा सर्कुलर जारी गर्छ । उद्योगी-व्यवसायीहरु त्यो डाइरेक्टिभ्सलाई आफ्नै पारामा ब्याख्या विश्लेषण गरिदिन्छन् । सबैले आ-आफ्नै ब्याख्या विश्लेषण गर्दा समस्या आउँछ । त्यसको वास्तविक प्रभाव के हुन्छ भन्ने कुरा ग्राहक (ब्यापारी/उद्योगी) हरुलाई सिकाउन सक्यौ भने सहज हुने थियो । चार्टर्ड एकाउण्टेट एशोसियसन र नेपाल बैंकर्स संघले विभिन्न कार्यक्रम वा विभिन्न फोरम सञ्चालन गरेर छलफल गरिरहेका छौं । प्रदेश १ का व्यवसायी उद्योगीहरुका माग सम्बोधन हुने खालका छन् ? ब्याजदर घटाउने सबैको माग हो । बैंकर्सहरु पनि ब्याजदर घटोस् भन्ने नै चाहन्छ । हामीलाई पनि बढी ब्याज लिने रहर छैन । ब्याजदर घटाउने माग जायज हो । जहिले पजि जायज हुन्छ । तर, त्यो मार्केटको आवश्यकता हुनु पर्याे । बजारले नै त्यो निर्धारण गर्नुपर्छ । ऋण माथि ऋण थप्ने की नथप्ने भन्ने कुरा हो । उहाँहरुले भनेजति ऋण दिने हो की बैंकले विश्लेषण गरेर यति ऋण ठिक छ, यो भन्दा बढी दिनु हुँदैन भन्ने हो । उसको प्रोजेक्टमा यो भन्दा बढी ऋण चाँहिदैन भन्ने कुराको एसुरेन्स उहाँहरुले गर्ने होइन, त्यो बैंकले गर्ने हो । किनभने उहाँहरुले दिनु भएको फाइनान्सियल रिपोर्ट र प्राजेक्ट रिपोर्ट अध्ययन गरेर बैंकले उहाँलाई यति कर्जा दिँदा ठिक हुन्छ भनेर मूल्याङ्कन गर्ने हो । पहुँचको आधारमा सर्वसाधारणलाई महँगो गरेर उद्योगी व्यवसायीलाई सस्तो वा कम गर्ने परिपाटी कस्तो छ ? पहुँचको आधारमा ब्याजदर निर्धारण गर्ने भन्ने अहिलेसम्म थाहा छैन । किनभने सबै ग्राहकलाई ब्याजदर दिनु पर्दैन वा पर्छ भन्ने बाध्यता कुनै पनि वाणिज्य बैंकलाई छैन । कुनै पनि संस्थालाई हुँदैन पनि । जसले रोजगारी श्रृजना गर्न सक्यो र म्यानुफ्याक्चरिङ काम गरेको छ भने उनीहरुको ब्याजदर कम हुन्छ । जसले ट्रेडिङ बेस नेचर र आयातलाई बढावा दिने व्यवसाय गरेको छ भने उनीहरुको ब्याजदर अटोमेटिक बढी हुन्छ । किनभने बैंकले सबैलाई एउटै रेटमा राखेर वा एउटै पुलमा राखेर ब्याजदर निर्धारण गर्दा बैंकको प्रोफिटाबिलिटी पनि हुन्छ । पहाडी जिल्लामा जाँदाखेरि पनि त्यसरी ब्याजदर घटबढ भएको वा कसैले बार्गेनिङ गरेर बढी र कम गरेको भन्ने छैन । प्रिमियम ग्राहकले चाहेर वा ग्राहकले हस्ताक्षर नगरिकन पहिला सम्झौता गरेको प्रिमियम बढाउन पाउँदैन भनेर राष्ट्र बैंकले स्पष्ट रुपमा भनेको छ । हामीले पनि त्यहि गरिरहेका छौं । त्यसैले यहाँनेर बार्गेनिङ हुन्छ जस्तो लाग्दैन । प्रदेश १ मा कुन क्षेत्रमा बढी कर्जा प्रवाह हुन्छ ? तराइतिरका जिल्लामा हेर्ने हो भने उद्योगधन्दामा नै बढी कर्जा जान्छ । धेरै उद्योगहरु छन् । यहाँको उद्योगहरुमा खर्बाै लगानी छ । पहाडी जिल्लाहरुमा सानासाना उद्योगहरु छन् । पहाडमा स-साना उद्योग र ट्रेडिङ नेचरमा बढी कर्जा जान्छ । धनकुटा, भोजपुर, झापा लगायत जिल्लाहरुमा पछिल्लो एक/डेढ वर्षदेखि कृषिमा लगानी बढेको छ । केन्द्रमा ठूल्ठूला कर्पाेरेट हाउसहरुमा कर्जा प्रवाह हुन्छ, प्रदेश वा जिल्लाहरुमा स-साना व्यवसायी भएकाले त्यहाँका अधिकांश मानिस वा ऋणीहरु त्यहाँका सहकारी, लघुवित्त, फाइनान्स वा विकास बैंकसँग आवद्ध छन्, यो अवस्थामा वाणिज्य बैंकलाई काम गर्न कति सहज वा चुनौति छ ? वाणिज्य बैंकहरुलाई चुनौति भन्दा पनि सहज छ । किनभने वाणिज्य बैंक लघुवित्त र विकास बैंकको भन्दा तुलनात्मक रुपमा कम ब्याजदरमा कर्जा दिन्छन् । ऋणीहरुलाई डकुमेन्टेसनमा समस्या हुन सक्छ । लघुवित्त वा अन्य संस्थाले कम डकुमेन्ट वा पर्पर एनालाइसिस कम गरेर लोन दिने भएकाले ऋणीहरुलाई सहज हुन सक्छ । अहिले वाणिज्य बैंकको प्रत्येक पालिकामा पहुँच पुगिसकेको छ । हामी त्यो ठाउँमा जाँदा थप अवसर (एडिसनल अपरच्युनिटि) श्रृजना भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामार्फत् पनि विभिन्न ठाउँमा वित्तीय साक्षरता दिइरहेको हुन्छ, शाखाको पहुँच पुर्याउन पनि जोड दिइरहेको हुन्छ, विभिन्न जिल्ला तथा पालिकाहरुमा शाखा विस्तार गर्न कत्तिको समस्या छ ? बैंकहरुले एउटा पालिका वा दूरदराजको पालिकामा काम गरिरहेका छन् । जब की सदरमुकामबाट पुग्नको लागि घण्टौ समय लाग्छ । त्यो ठाउँमा काम गर्दा सीमित बजार छन् । तर, त्यही सिमित बजारमा पनि काम गर्दा अझै रमाइलो र त्यहाँको मान्छेलाई शिक्षित गर्न पाउँदा बैंकरहरु अझै खुसी छन् । सहरी क्षेत्रका मान्छेहरुले हामीलाई बैंक भनेको यस्तो उस्तो हो भन्ने गरेका हुन्छन् । तर, हामी गाउँ-गाउँ वा घरघरमा गएर बचत किन गर्नु पर्छ, सानासाना लगानी किन लिनुपर्छ, बैंकबाट थोरै पैसा लिएर काम गर्दा विजनेशलाई कसरी विस्तार गर्न सकिन्छ भन्ने कुरा सिकाउँदा गर्व लाग्छ । त्यस्ता पालिका वा साना गाउँमा पनि बैंकहरुले जीवन स्तरमा परिवर्तन ल्याउन सफल भएका छन् । परिवर्तन ल्याइरहेका पनि छन् । मेगा बैंकले ओखलढुंगाको खिज्दीमा शाखा विस्तार गरेको छ । जुन ओखलढुंगा सदरमुकामबाट गाडीमा मात्रै ५ घण्टाको यात्रा गर्नुपर्छ । यस्ता ठाउँमा बैंकको उपस्थिती भएपछि त्यो ठाउँको रहनसहनमा परिवर्तन आएको छ । गाउँका मान्छेहरुले हाम्रो ठाउँमा बैंक आयो, हामीले पनि विजनेश गर्न पाउने भयौं, विजनेश वृद्धि हुने भयो, थोरै थोरै ऋण लिएर साना पसल, चिया पसल, कृषिमा लगानी बढाउन पाउने भयौ भन्ने कुराहरु गर्नुहुन्छ । उहाँहरुले आफ्नो स्तर उकास्दै लैजाँदा खुसी र गर्व लाग्छ । ती ठाउँहरुमा कर्जा लगानीका केही नयाँ क्षेत्रहरु छन्, केही सम्भावनाहरु देखिन्छन् वा छैनन् ? अहिले बैंकहरुले सबै क्षेत्रलाई कभर गरिसकेको छ । प्रदेश १ मात्रै नभएर देशभरि नै सानो परिवारमा लगानी गर्नुपर्छ । सानो परिवारले कमाएर बैंकलाई पनि तिर्ने र आफ्नो पनि जीवनस्तर उकास्न सक्नुपर्छ । जीवनस्तर उकास्ने किसिमका कर्जामा बैंकहरुले जोड दिनुपर्छ । सहरी क्षेत्रमा रोजगारी श्रृजना गर्न सक्ने र आयातलाई सहज गर्ने ठूला इण्ड्रष्टी वा म्यानुफ्याक्चरिङ प्रडक्सन गरिराखेका कम्पनीलाई बढी कर्जा प्रवाह गर्नुपर्छ । नयाँ उद्योगी वा नयाँ स्टार्टअप जन्माउन बैंकले के कस्ता काम गरिरहेका छन् ? नयाँ उद्यमीहरु आइरहनु भएको छ । तर, अहिले आएका उद्यमीहरु पनि रोजगारी श्रृजना गर्ने भन्दा पनि डेभलप समुदायलाई मात्र सुहाउने खालका छन । जस्तो रेष्टुरेन्ट खोल्ने । नयाँ उद्यमी भनेको रेष्टुरेन्ट खोलेर हुँदैन । त्यो विराटनगर, काठमाडौं, पोखरा, नेपालगञ्जको बजारलाई फिट हुन्छ । त्यो उद्यमीले के गर्दैछ भन्ने कुरा हामीले हेर्नुपर्छ । नयाँ उद्यमीहरुलाई बैंकहरुले फाइनान्सिङ पनि गरिरहेको छ । राष्ट्र बैंकको निर्देशनभित्र रहेर राम्रो-राम्रो प्रोजेक्ट आउँछ भने नयाँ उद्यमीहरुको जन्म भइरहेको छ । उहाँहरु सुरुमा ठूलो आवश्यकता वा अवसर देखेर आउनु हुन्छ । आफ्नो पार्टको लगानी सुरक्षित गरेको हुन्छ । पछि त्यो लगानी गर्न नसक्दा समस्या उत्पन्न हुने हो की भन्ने हामीलाई महसुस हुन्छ । पूर्वमा जन्मिरहेका नयाँ उद्यमीहरुलाई बैंकहरुले सहयोग गरिरहेका छन् । वित्तीय साक्षरताको सवमालमा प्रदेश १ को स्थिति के छ ? वित्तीय साक्षरतामा अन्य प्रदेशको तुलनमा बागमति प्रदेशपछि प्रदेश १ नै हो । किनभने सबै ठाउँहरुमा सडक सञ्जाल, विद्युत पहुँच, इन्टरनेट पहुँच पुगेको छ । सबै गाउँपालिकाहरुमा सबै वाणिज्य बैंकहरुको विजनेश भइसकेको हुनाले बागमति प्रदेश पछि वित्तीय साक्षरता र वित्तीय पहुँचमा प्रदेश १ पर्छ । विजनेश साइजको हिसावमा हेर्ने हो भने बागमति प्रदेश र लुम्बिनी (प्रदेश ५) पछि प्रदेश १ हो । अहिले बैंकिङ प्रणालीमा देखिएको संकटको सुधार कहिलेसम्म होला ? अहिले संकटभन्दा पनि सर्टटर्म समस्या आएको हो । यो चाँडै नै सुधारोन्मुख देखिएको छ । चुनावपछि केही सुधारका संकेत देखिएका छन् । सुधार हुँदै गएकाले ६ महिनासम्म पूर्ण सुधार हुन सक्ने अनुमान छ । अबको सरकार कस्तो बन्छ र सरकारले ल्याउने नीतिमा भर पर्छ । सरकार परिवर्तनको समय पनि छ । चालू आर्थिक वर्षको ६ महिना पनि सकिन लागेको छ । स्थानीय तहको चुनाव, संघ र प्रदेशको चुनाव पनि भयो । यो बीचमा सक्रिय भएर काम हुन सकेको छैन । जसले गर्दा विकास निर्माणमा खासै खर्च हुन सकेको छैन । यी सबै विषयमा स्थिर भएपछि चालु आर्थिक वर्षको अन्तिमसम्म सुधारको अपेक्षा गरिएको छ । तपाईं सुविधा सम्पन्न बागमति प्रदेशमा जन्मिनु भएको व्यक्ति अहिले प्रदेश एक मा गएर काम गरिरहनु भएको छ, एउटा बैंकरको हिसावले कतिको चुनौति भोग्नु पर्छ ? यस्ता चुनौति धेरै भोग्नुपर्छ । सबैभन्दा ठूलो चुनौति मान्छेहरुलाई सिकाउनु हो । सिकाउन र सिकाएको मान्छेले बुझ्न सक्यो भने सहज हुन्छ । ३५ किलोमिटर यात्रा गर्न ५ घण्टा समय लाग्ने ठाउँ छ । यस्तो ठाउँमा गएर काम गर्नुपर्ने हुन्छ । कुनै-कुनै गाउँपालिकामा विजुली मात्रै भर्खरै पुगेको छ । यस्तो ठाउँमा गएर काम गर्नुपर्ने हुन्छ । कतिपय मान्छेहरुले बैंक आयो अब बैंकको ब्याज सस्तोमा पाइन्छ, बैंकले सस्तोमा कर्जा दिनुपर्छ भन्ने खालको बुझाइ छ । यस्तो बुझाइलाई हामीले स्पष्ट रुपमा सिकाउन पनि कठिन छ । काठमाडौंको तुलनामा दूरदराजको ठाउँमा समस्या छ । अझै गरिबीको रेखामुनी छन् । जीवनस्तर उकास्नको लागि सबै बैंकहरुले गाउँपालिकामा जानुपर्छ । यी सबै काम गर्न कठिन भएपनि मलाई अझै खुसी लाग्छ । म काठमाडौंमा बसेर केही ठूला ब्यापारीलाई खुसी बनाउनेभन्दा पनि एउटा गाउँपालिकामा पुगेर समग्र गाउँको मुहार फेर्न सक्यो भने अझ धेरै खुसी हुन्छु । नेपाल राष्ट्र बैंकले जारी गर्ने विभिन्न निर्देशिका वा सर्कुलरमा बैंकरहरुले अपडेट हुनु पर्छ तर बैंकका ग्राहकहरुलाई बुझाउन कति सकस छ ? हामीले कार्यक्रमको आयोजना गरेर उहाँहरुलाई जानकारी गराइरहेका हुन्छौं । तर, जानकारी मुलक कार्यक्रममा उपस्थिती एकदमै न्यून हुन्छ । हामी एक हप्ता अघिदेखि नै तपाइँहरुलाई वित्तीय साक्षरता दिन्छौ भनेका हुन्छौ तर उपस्थिती कम हुन्छ । बैंकबाट पैसा लिइसकेपछि आफूले भनेको काम भन्दा अरु कुरामा लगानी गर्न पाए हुन्थ्यो भन्ने मनस्थिती छ । ब्यापार भनेर ऋण लैजाने तर एक टुक्रा जग्गा किन्ने पो हो की, वा छोराछोरीको विवाह गर्ने हो की भन्ने कतिपय ग्राहकहरुको मनस्थिती छ । यसलाई सच्याउन सकियो भने च्यालेन्जलाई लिएर अगाडि बढ्न सकिन्छ । हाम्रो काम भनेको उहाँहरुलाई सिकाउने हो जस्तो लाग्छ । अहिले बैंकरको सबैभन्दा ठूलो काम भनेको तपाइलाइ जुन उद्देश्यको लागि पैसा चाहिएको हो बैंकलाई नढाँटिकन भन्न लगाउनुपर्ने हुन्छ । त्यो उद्देश्यमा पैसा लिएपछि त्यसैमा खर्च गर्नुपर्छ भनेर सिकाउन सक्यो भने आफै लाइनमा आउँछ । एउटा उद्देश्यका लागि कर्जा लिने तर अर्कै ठाउँमा खर्च गर्ने परिपाटी प्रदेश एकमा कस्तो छ ? कहिँकतै यस्तो देखिन्छ । दुई/चार जनामा यस्तो देखिएर सबैलाई भन्न मिल्दैन । दुई/चार जनामा त्यो अवश्य नै हुन्छ । तर, सुरुमा लगानी गर्ने बेलामा नै त्यो डाइभर्ट हुन्छ भन्ने होइन । एकचोटी व्यवसायमा लगानी गर्छ । जस्तो होलसेलरबाट सामान किनेर ल्याएर बेच्यो भने त्यो पैसा बैंकमा आउनुपर्ने हो । तर, त्यो पैसा बैंकमा आउँदैन । त्यो पैसा उसले डाइभर्ट गरिदिन्छ । त्यो भनेको बैंकले डाइरेक्टली व्यवसायमा दिएको पैसा जग्गा वा सेयरमा लगानी गर्नुपर्छ भनेर दिएको होइन । उहाँहरुलाई विजनेश गर भनेर दिएको हो । तर, उहाँहरुको एकदुई चोटी पैसा टर्नओभर भइसकेपछि ब्यापार भनेको यस्तै रहेछ जग्गा किनेर ६ महिनापछि फाइदा हुन्छ भन्ने केही ग्राहकहरुमा देखिन्छ । तर, यस्तो प्रवृत्ति धेरै हुँदैन । बाँठा ग्राहकले यस्तो गर्ने गरेका छन् । बजारमा उनीहरुको स्वर ठूलो हुने भएकाले हँगामा मच्चिएको हो की जस्तो लाग्छ । जिल्ला तथा पालिकाहरुमा पहुँच भएकाहरुसँग बैंकहरुले बचेर बस्नु पर्छ भन्ने सुनिन्छ नी तपाईंले कत्तिको अनुभव गर्नु भएको छ ? यस्तो हुँदैन । एक जनाले गरेर बैंकहरुलाई त्रसित हुनुपर्ने अवस्था अहिलेसम्म छैन । हामीले सुनेको पनि छैन । कर्जा डिफल्टको समस्या कतिको छ ? डिफल्ट अवश्य हुन्छ । शतप्रतिशत रिकोभरि हुँदैन । एनपीएल वृद्धिदरले पनि यस्तो भएको देखाइ रहेको छ । सबै बैंकको आफ्नै एनपीएल रेट छ । तर, त्यो डिफल्ट दीर्घकाल उठिहाल्छ । अहिले पनि जग्गा धितो राखेर कर्जा दिने भएकाले उहाँहरुलाई आफ्नो सम्पत्तिको माया पनि लाग्छ । अन्तत्वतः उहाँहरुले त्यो सम्पत्ति बिक्री गरेर होस् वा अन्य काँहीबाट भएपनि लोन तिरिहाल्नु हुन्छ । डिफल्ट भएपनि धेरै छैन । मेगा बैंकले प्रदेश १ मा कसरी काम गरिरहेको छ ? मेगा बैंकले प्रदेश १ मा २५ वटा शाखामार्फत सेवा प्रदान गरिरहेको छ । जसमा ६ वटा शाखा स्थानीय तहमा छन् । समग्र बैंकिङ्ग इण्डष्ट्रिले दिने सबै सेवा सुविधाहरु हामीले दिइरहेका छौं । चाँडै नै मर्जर पनि हुँदै छौ । मर्जरपश्चात् अझै ठूलो बैंक भएर काम गर्ने तयारी छ । अहिले २५ वटा शाखा छन् । मर्जरपश्चात् अरु शाखा थप हुँदा ४० वटा शाखा पुग्छन् । जसले गर्दा अझै प्रभावकारी सेवा दिन्छौं ।