सिभिल बैंकको नाफा पाँच गुणा बढ्यो
९ माघ । गत त्रैमाशमा नोक्सानमा देखिएको सिभिल बैंकले नाफामा गुणात्मक वृद्धि गरेको छ । बैंकको गत आवको दोस्रो त्रैमाशको तुलनामा चालु आवको यो अवधिमा नाफा ५.२ गुणा अर्थात् ४२० प्रतिशतले बढेको छ । बैंकको खुद व्याज आम्दानी वृद्धिभएपछि नाफा बढेको हो । गत आवको दोस्रो त्रैमासमा तीन करोड ३९ लाख नाफा कमाएको बैंकले चालु आवको यो अवधिमा भने १७ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको खुद व्याज आम्दानी पनि ७८ प्रतिशतले बढेर ४२ करोड ३५ लाख पुगेको छ । बैंकले बैदेशिक बिनिमयबाट तीन करोड १२ लाख, फि कमिसनबाट दुई करोड ९४ लाख र अन्य आम्दानी तीन करोड २१ लाख गरेको छ । बैंकले राइट व्याक गरेको छैन । यसपाली बैंकको कुल कर्जामा खराब कर्जाको अनुपात केही बढेर १.९३ मा भएको छ । तर बैंकले गत बर्षको भन्दा यो पटक ७२ प्रतिशतले घटाएर सम्भावित जोखिम बापतको व्यवस्थामा तीन करोड २२ लाख रुपैयाँ राखेको छ । बैंकले कुल खराब कर्जाको लागि यो पटक रकम केही घटाएरु एक सय आठ प्रतिशत रकम व्यवस्था गरेको हो । बैंकको कर्मचारी खर्च र अन्य सञ्चालन खर्च बढेको छ । यी दुवै खर्च गरेर प्रशासनिक खर्च ४१ प्रतिशतले बढेर २१ करोड पुगेको छ । तरपनि बैंकको कोषको लागत घटेर ५.८५ मा सिमित भएको छ । बैंकसंग ५४ करोड ६३ लाख रुपैयाँ सञ्चिती छ । बैंकले प्रोभिजन अघि ५१ करोड सञ्चालन नाफा गरेको छ । बैंकको कुल सञ्चालन नाफा भने ४२० प्रतिशतले बढेर २७ करोड ८१ लाख भएको छ । बैंकको यो अवधिमा कर्जा लगानी ३८ प्रतिशतले बढेर २१ अर्ब १० करोड रुपैयाँ रहेको छ । बैंकको निक्षेप भने करिब २७ प्रतिशतले बढेर २३ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । निक्षेप वृद्धिको आधारमा बैंकले कर्जा लगानी बढाउन सकेको देखिन्छ । बैंकको कर्जा निक्षेप अनुपात बढेर ७९.७ प्रतिशत छ । बैंकको बेस रेट (व्याजको आधार दर) घटेर ८.६७ भएको छ । बैंकले कर्जा र निक्षेपको व्याज अन्तर (स्प्रेड दर) ४.२७ कायम गरेको छ । बैंकले रियल इस्टेट कर्जा १५ प्रतिशतले घटाएर एक अर्ब ५२ करोड रुपैयामा सिमति पारेको छ । तर कुल कर्जामा यो कर्जाको अनुपात बढि नै छ । यो अनुपात करिब ७.२१ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी १३.१५ रुपैयाँ, मूल्य आम्दानी अनुपात २१.२२, प्रतिसेयर नेटवर्थ एक सय २० रुपैयाँ रहेको छ । बैंकको पुँजीकोष पर्याप्तता अनुपात ५.८५ रहेको छ ।
गोर्खा विकास बैंक सुधार मोडल,समस्याग्रस्त अन्य वित्तीय संस्थामा पनि
६ माघ । समस्याग्रस्त घोषणापछि नेपाल विकास बैंक, सम्झना फाइनान्स, युनाइटेड विकास, क्रिष्टल फाइनान्स, हिमालय फाइनान्स, खारेजी नै भए । कुवेर मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई खारेजीमा लैजाने तयारी भएको केही समयअघि राष्ट्र बैंकले बताएको थियो । खारेजी भएका कुनै पनि वित्तीय संस्थामा निक्षेपकर्ताको सावा गुमेको छैन । तर सेयरधनीको लगानी गुम्दै आएको छ । अब राष्ट्र बैंकले सेयरधनीको पनि लगानी सुरक्षीत गर्ने र कुनै पनि वित्तीय संस्था खारेजी गर्नु नपर्ने विकल्प खोज्दैछ । गोर्खा विकास बैंकमा यो मोडेल विकास गरिदैछ र अन्य समस्याग्रस्त वित्तीय संस्थामा यस मोडललाई अपनाईदैछ । ‘हामीले गोर्खा विकास बैंकको चुक्तापूँजी ३० प्रतिशतमा झारेर मर्जरमा जान भनेका छौं, मर्जर प्रक्रियाको लागि कुराकानी भइरहेको बुझेका छौं,’ राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले भने । २०६७ चैतमा समस्याग्रस्त घोषणा भएको गोर्खा विकास बैंकको सञ्चालन राष्ट्र बैंकबाट गएको समूहले समेत गरेको थियो । गोर्खा विकास बैंकको डयु डेलिजेन्स अडिट रिपोर्ट अनुसार चुक्तापूँजी ३० प्रतिशतले झारेर १९ करोड ८३ लाख रुपैयाँ कायम गरिएको छ । यसअघि बैंकको चुक्तापूँजी ६६ करोड आठ लाख रुपैयाँ रहेको थियो । अहिले चुक्ता पुँजी घटाए पनि संस्था मर्ज गरेर सेयरधनीको लगानी बताउन सकिने राष्ट्र बैंकको भनाई छ । निक्षेपकर्ताको बचतको रक्षा गर्न तथा लगानीकर्ताको लगानी नडुबोस भन्ने उदेश्यले राष्ट्र बैंकले नयाँ तरिका अवलम्बन गरेको हो । २०६७ चैतमा गोर्खा विकास बैंक समस्याग्रस्त घोषणा भयो । प्रोफेशन टिम आएर चलाए, सफल भएन । बैंककै नयाँ सञ्चालक समिति आए, नयाँ व्यवस्थापन आए, चलाए । उनीहरु पनि असफल भए । त्यसपछि धेरैले अनुमान गरेका थिए, गोर्खा विकास बैंक पनि नेपाल विकास बैंक झै खारेजी हुनेछ । तर अहिले यो बैंक खारेजी नहुने, अरु कुनै बैंकले यसलाई खरिद गर्ने वा राम्रो संस्थामा मर्ज हुने बाटोमा छ । यो बैंकको सञ्चालन राष्ट्र बैंकको डेपुटी डाईरेक्टर विषरुट थापा नेतृत्वमा भईरहेको छ । यो बैंक सुधारको क्रममा नयाँ मोडेल सिर्जना गरिदैछ । समस्याग्रस्त घोषणाा गरिदा बैंकको चुक्तापूँजी ६६ करोड आठ लाख रुपैयाँ रहेको थियो । अहिले चुक्तापूँजी ७० प्रतिशतले झारेर १९ करोड ८३ लाख रुपैयाँ कायम गरिएको छ । राष्ट्र बैंकले गराएको डयु डेलिजेन्स अडिट रिपोर्टका आधारमा चुक्ता पुँजीलाई न्युन मूल्याङकन गरिएको हो । ‘हामीले गोर्खा बिकास बैंकको चुक्तापूँजी ३० प्रतिशतमा झारेर मर्जरमा जान भनेका छौं, मर्जर प्रक्रियाको लागि कुराकानी भइरहेको बुझेका छौं,’ राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारी देशविकासलाई भने । निक्षेपकर्ताको बचतको रक्षा गर्न तथा लगानीकर्ताको लगानी नडुबोस भन्ने उदेश्यले राष्ट्र बैंकले नयाँ तरिका अवलम्बन गरेको उनको भनाई छ । पूँजी कटौती (हेयर कट) पछि मर्जरमा लैजाने गोर्खा विकास बैंकको जस्तै अभ्यास अन्य समस्याग्रस्त वित्तीय संस्थामा लागू गर्न राष्ट्र बैंकले गृहकार्य गर्दैछ । समस्याग्रस्त घोषणा गरिएका नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स, क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स र जनरल फाइनान्सलाई पनि यहि मोडलमा सुधार गर्ने तयारी भईरहेको बताईएको छ । यसरी पुनः सञ्चालनमा ल्याउन नसकेको अवस्थामा मात्र संस्था खारेजी गरिने भएको छ । २०६९ माघ ९ गते समस्याग्रत घोषणा गरिएको क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स सुधारको चरणमा रहेको छ । त्यस्तै २०६८ माघमा समस्याग्रस्त घोषणा भएको नेपाल सेयर मार्केट्स एण्ड फाइनान्सको गत बर्ष माघबाट राष्ट्र बैंक आफैले व्यवस्थापन सम्हाली रहेको छ । यो कम्पनी पनि सुधारको क्रममा रहेको छ । २०७० सालमा समस्याग्रस्त घोषणा भएका जनरल फाइनान्स र वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स अहिले सुधारकै चरणमा रहेको छ । राष्ट्र बैंकले यो नयाँ रणनीति अपनाउनु अगाडी भने ५ संस्थालाई खारेजीमा पठाइसकेको छ ।
प्रविधि विकासले ल्याएको बैकिङ्ग सहजता र बढ्दो जोखिम
[tabs type=”horizontal”][tabs_head][tab_title][/tab_title][/tabs_head][tab]प्रविधिमा विशेष दख्खल भएका कर्मचारीलाई बिशेषज्ञ कर्मचारीका रुपमा प्रबिधि संचालनका लागि खटाइने गरिन्छ । तर, तीनै कर्मचारीलाई सुपरिवेक्षण गर्ने अधिकारी, अनुपालना विभाग र लेखापरिक्षण विभागका कर्मचारीलाई प्रविधिका सम्बन्धमा गहिरो र बिस्तृत जानकारी नहुन सक्छ । त्यसैको फाइदा उठाउदै केहि खराब कर्मचारीहरुबाट ठगीका घटना घटाउन सफल हुन्छन् ।[/tab][/tabs] २०५४ सालमा एनबी बैंकले जनकपुरमा प्राइभेट बैंकहरुमध्येकै पहिलो शाखा खोल्यो । चिटिक्क परेको र टलक्क टल्किने अफिसबाट टाइसुटमा सजिएका कर्मचारीले कम्प्युटराइज्ड प्रणालीको प्रयोगगरी क्षणभरमा सेवा प्रदान गर्दथे । म पनि ती कर्मचारी मध्येको एक थिएँ । आक्कल झुक्कल मात्र ग्राहक आउथे । आए पनि कार्यालय भित्र पस्न गाह्रो मान्थे । कतिपयलाई सम्झाउदा पनि नमाननेर जुत्ता चप्पल खोलेर मात्र कार्यालय भित्र पस्दथे । अर्कातिर राष्ट्रिय बाणिज्य बैंक र नेपाल बैंक हस्तलिखित लेखा प्रणालीका साथ संचालित थिए । त्यसैले सेवा सम्पादन गर्नका लागि घण्टौं लाग्दथ्यो । नगद काउन्टर र विप्रेषण शाखामा त भिडभाडले गर्दा पाइला राख्न पनि मुस्किल हुन्थ्यो । एउटा डिमाण्ड ड्राफ्ट बनाउन करिब ३ घण्टा कुर्नुपर्दथ्यो । त्यसैले ग्राहकहरु बिहान १० । ११ बजेतिर रकम जम्मा गरी निवेदन दिन्थे । दिउसो २ बजे पछि गएर ड्राफ्ट लिएर फर्कन्थे । एनबी बैंकले बढीमा १५ मिनेटमा सबै काम सकेर ड्राफ्ट दिन सक्दथ्यो । नेपालमा आधुनिक बैकिङ्गको शुरुवात भएको १२ वर्षपछि जनकपुरबासीले पहिलो पटक प्रविधियुक्त बैकिङ सेवाको स्वाद चाख्न पाएका थिए । आधुनिकै बैकिङ सेवा सञ्चालन गरेर मात्र पुगेन । मानिसहरुलाई उक्त सेवा लिन प्रेरित गर्नु थियो । हामी ग्राहकको घरघरमा जान थाल्यौं । धेरै मानिसहरु हामीलाई अविश्वास प्रकट गर्दथे । ‘कारोवार गर्नु पर्दैन, मात्र बैंक हेर्न आउनुस, शाखा प्रबन्धकसँग बसेर चिया पिउँंला’ भन्थ्यौं । त्यसपछि भने बिस्तारै केहि व्यक्तिहरु आउन थाले । किनकि त्यति बेला शाखा प्रबन्धकसँग सम्बन्ध हुनुलाई गौरवको रुपमा लिइन्थ्यो । उनीहरु आइसकेपछि हामीले कारोबार छिटो छरितो रुपमा सम्पन्न भएको देखाउथ्यौं । जसले उनीहरुमा केही प्रभाव पर्दथ्यो र कारोवार गर्न शुरु गर्थे । बिस्तारै बिस्तारै हामीले मार्केटिङ्ग क्रियाकलाप पनि बढाउदै लग्यौं । ग्राहकको भिडभाड पनि बढ्दै जान थाल्यो । नभन्दै, १ बर्ष मै निक्षेप मात्रै करिव रु ३० करोड पुग्यो । त्यस समयमा उक्त निक्षेपलाई उल्लेख्य मानिन्थ्यो । १७ वर्षको अवधिमा जनकपुरमा १९ वटा प्राइभेट बैंकका शाखा थपिए । सबैले आधुनिक प्रविधियुक्त सेवा दिन प्रतिस्प्रर्धा गरिरहेका छन् । त्यतिबेला प्राइभेट बैंकहरुसंग प्रविधिको प्रयोगको रुपमा कम्प्युटराइज्ड लेखाप्रणाली भन्दा कुनै अन्वेश्णात्मक प्रडक्ट तथा सर्भिसेस थिएनन् । तथापि शुरुमा जोइन्ट भेन्चरका र त्यसपछि अन्य प्राइभेट बैंकहरुका स्थापनाले बैकिङ्ग क्षेत्रले लामो फड्को मा¥यो र बैकिङ्ग सेवालाई सहज बनायो । तैपनि ग्राहकहरुलाई बैंकतर्फ आकर्षित गर्न गाह्रो थियो । त्यतिबेला ग्राहकहरुको बैकिङ्ग बानी झल्काउन माथिको “रियल स्टोरी” उल्लेख गरिएको हो । जबकि अहिले परिस्थिति पूर्णतया फेरिएको छ । बैकिङ्ग सहजता र बढ्दो प्रयोगकर्ता आज प्रविधिको विकाससंगै बैंकहरुले नयां प्रडक्ट तथा सर्भिसेस बजारमा ल्याएका छन् । जसले बैकिङ्गलाई सहज बनाएको छ । पुराना सरकारी बैंकहरुले मात्र होइन सहकारीहरुसम्मले आधुनिक बैंकिङ्ग सेवा पस्किदै आएका छन् । इन्टरनेट बैंकिङ्ग र मोवाइल बैकिङ्ग सेवाले आफु जहां पुग्यो त्यहिबाट बैकिङ्ग सेवा लिन सकिने गराएकोछ । साना साना रकमको भुक्तानि गर्न र लिनका लागि बैंक धाउन पर्दैन । घर वा कार्यालयमा बसेर वा आफु जहां गयो त्यहिबाट बैंकलाई निर्देशन दिन सकिन्छ, रकम ट्रान्सफर गर्न सकिन्छ । स्टेटमेण्ट प्रिन्ट गर्न सकिन्छ । व्यालेन्स हेर्न सकिन्छ । २०६५ सालसम्म इन्टरनेट बैंकिङ्ग सेवा करिव ८० हजारले मात्र लिएका थिए जुन संख्या अहिले ३ लाख ३४ पुगिसकेको छ । त्यतिबेला करिव १ लाख ११ हजार मात्र मोवाइल बैंकिङ्ग सेवा प्रयोगकर्ता भएकोमा अहिले यो संख्या ६ लाख ९० हजार भन्दा बढी भैसकेको छ । हिजोसम्म बैंकहरुलाई व्यवसाय विस्तारका लागि शाखा नै खोल्नु पर्दथ्यो । तर, प्रविधिको बिकासले ब्रान्चलेस बैंकिङ्गको माध्यमबाट भौगोलिक दृष्टिकोणबाट विकट ठाउँमा पनि बैंकहरुले आफ्नो उपस्थिति जनाउन पाएका छन् । अहिले देशभरी ब्रान्चलेस बैंकिङ्गसेवा दिने केन्द्रहरु झण्डै ५०० पुगिसकेका छन् भने २०६५ सालसम्म करिव १५० वटा एटिएम जडान भएकोमा अहिले यो संख्या करिब १,७०० पुगिसकेको छ । डेबिट र क्रेडिट कार्डको प्रयोगले नगद आफुसंगै बोकेर हिड्नुपर्ने झण्झटलाई कम गराएकोछ र सुरक्षा पनि बढाएको छ । अहिले बैंकहरुले ४१ लाख डेबिट कार्ड र करिब ६० हजार क्रेडिट कार्ड जारी गरिसकेका छन् । साना साना कामलाई बैंक जान नपर्ने भएपछि समयको पनि बचत भएको छ । बैंकहरुलाई पनि यस्ता सेवाले आम्दानीको दायरा फराकिलो पार्न र ग्राहक संख्या बढाउन सहयोग पु¥याएको छ । केही वर्ष अघिसम्म बैंकहरुसँग करिव ३० लाखमात्र निक्षेप खाता थियो, अहिले यो संख्याले १ करोड ५० लाख छुनै आंटिसकेकोछ । यसबाट पनि ग्राहक संख्यामा उल्लेख्य वृद्धि भएको कुरालाई पुष्टि गर्दछ । त्यस्तैगरी प्रविधिमूलक प्रडक्ट तथा सेवाले बैंकमा लाग्ने भिडलाई कम गरेको छ । र, केहि हदसम्म कर्मचारी र स्टेस्नरी खर्च जस्ता संचालन खर्चमा समेत कमि ल्याएकोछ । बढ्दो जोखिम प्रविधिको विकाससंगै नयाँ बैकिङ्ग प्रडक्ट र सेवा बजारमा आइसकेपछि यसले जोखिम पनि बढाउदै लगिरहेको छ । नाम चलेका २ वटा ठूला जोइन्ट भेन्चर बैंकमै कार्डसँग सम्बन्धित ठूला घटना घटे । एउटामा रु ५ करोड ६७ लाख र अर्कोमा रु ४८ लाख दुरुपयोग भएको घटना बाहिर आएको थियो । बिदेशी ठगहरुले पनि कार्डको माध्यमबाट धेरै घटना घटाएका छन् । त्यस्तैगरी बैंकहरुमा प्रत्येक दिन जसो कार्डसंग सम्बन्धित गुनासाहरु आइरहेका हुन्छन् । प्रयोगकर्तामा प्रबिधि संचालन र यसको सुरक्षाविधिबारे गहिरो जानकारी नभएर पनि यस्ता घटना घट्ने गरेका छन् । बैंकको संचालन गरिने ‘कोर बैकिङ्ग सफ्टवेयर’ मा भएका बिशेषताहरुको दुरुपयोग गरेर पनि थुप्रै घटना भएका छन् । प्रविधिमा विशेष दख्खल भएका कर्मचारीलाई बिशेषज्ञ कर्मचारीका रुपमा प्रबिधि संचालनका लागि खटाइने गरिन्छ । तर, तीनै कर्मचारीलाई सुपरिवेक्षण गर्ने अधिकारी, अनुपालना विभाग र लेखापरिक्षण विभागका कर्मचारीलाई प्रविधिका सम्बन्धमा गहिरो र बिस्तृत जानकारी नहुन सक्छ । त्यसैको फाइदा उठाउदै केहि खराब कर्मचारीहरुबाट ठगीका घटना घटाउन सफल हुन्छन् । नेपाल राष्ट्र बैंकका गर्भनर डा. युवराज खतिवडाले करिव २ वर्ष अगाडि एउटा कार्यक्रममा बोल्दै ‘अबौं निक्षेप संकलन गरेका बैंकका सफ्टवेयर क्रयास भए पुरानो अवस्थामा फर्काउन गाह्रो छ’ भनेर भनेका थिए । हुन पनि संचालनमा रहेका २०४ बैंक तथा वित्तिय संस्था मध्ये दुई चार वटाले मात्र ‘फेल ओभर सिस्टम’ (प्राइमरी सर्भर फेल भए अर्को ठाउंमा राखिएको सेकेण्ड्री सर्भरले स्वचालितरुपमा काम गर्ने व्यवस्था) जडान गरेका छन् । केही बैंकहरुले मात्रै छुट्टै ‘डिजास्टर रिकभरी साइट’ बनाएर रेकर्ड राख्ने व्यवस्था मिलाएका छन् । बाँकी अरुले त हार्ड डिस्क वा टेपमा कारोवारको व्याकअप राख्ने गरेका छन् । त्यसकारण गर्भनरले डरलाग्दो अवस्था सृजना हुन सक्ने बिचार व्यक्त गरेका हुन् । प्रविधिको बिकासले व्यवसायमा बिबिधता र सहजता त ल्याएको छ । तर, कर्मचारीबाट भएका ठगीका घटना र ‘सिस्टम फेलियर’ भए ‘रिकभर’ गर्न गाह्रो हुन सक्ने अवस्था तर्फ केन्द्रिय बैंकका गभर्नर समेत चिन्तित रहेको यथार्थताले उच्च संचालन जोखिम तर्फ प्रष्ट संकेत गरेकोछ । ‘नो योर कस्टमर’का अतिरिक्त ‘नो योर इम्प्लोइज्’लाई पनि उत्तिकै ससक्तताका साथ लागू गर्नुपर्ने तर्फ पनि यसले औंल्याएकोछ । किनकि मानव संशाधन जोखिम न्यूनिकरण गर्नु भनेको नै अन्य जोखिम स्वतः न्यूनिकरण गर्ने बाटोमा लम्किनु हो । त्यसैले व्यवसाय जोखिम व्यवस्थापन गर्नुका अतिरिक्त संचालन जोखिम न्यूनिकरण गर्ने तर्फ बैंकहरुले थप महत्व दिनु पर्ने समय आइसकेकोछ ।