नाडा अटो शो २०२५ ले तोड्यो रेकर्ड, ४ दिनमै एक लाखभन्दा बढी अवलोकनकर्ता

काठमाडौं । नाडा अटो शो २०२५ ले ऐतिहासिक उपलब्धि हासिल गरेको छ । शो सुरु भएको चार दिनमै १ लाख ४ हजार ३४७ दर्शकले अवलोकन गरिसकेका छन् । यसले नेपाली जनतामा अटोमोबाइल प्रविधिप्रतिको चासो र उत्सुकता उच्च रहेको प्रष्ट पारेको छ । यसपटकको अटो शो अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत उच्च राजनीतिक नेतृत्व उपस्थित भएका थिए । यस्तै, विभिन्न मन्त्रालयका सचिव, नेपाली सेना र नेपाल प्रहरीका उच्च अधिकारी, पूर्व गभर्नर, बैंक तथा वित्तीय संस्थाका शीर्ष व्यक्तिहरू, उद्योगी–व्यवसायी, खेलकुद क्षेत्रका प्रतिनिधि तथा महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सबित्रा भण्डारीसम्मले समेत अटो शोको अवलोकन गरेका छन् । अन्तर्राष्ट्रिय स्तरबाट पनि सोसाइटी अफ इण्डियन अटोमोबाइल म्यानुफ्याक्चर्स (सियाम) र अटोमोटिभ कम्पोनेन्ट म्यानुफ्याक्चर्स एसोसिएशनका प्रतिनिधिहरूले अवलोकन गरेका छन् । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्षले यस सफलतालाई नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख मोबिलिटी समाधानको केन्द्र बनाउनको लागि नयाँ प्रेरणा भएको बताए । नाडाले यो अटो शो अब केवल प्रदर्शनी मात्र नभई नवप्रवर्तन, उद्यमशीलता र भविष्य–तयारीको राष्ट्रिय उत्सव बनेको जनाएको छ ।

साउनमा भित्रिए आधा अर्ब बढीका विद्युतीय गाडी, सरकारले कमायो ३० करोड राजस्व

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो महिनामै विद्युतीय सवारी साधनको आयात उत्साहजनक देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन महिनामा मात्रै नेपालमा ५२ करोड ४० लाखरुपैयाँभन्दा बढीका विद्युतीय कार, जीप, भ्यान र माइक्रो बस भित्रिएका छन् । विभागका अनुसार साउनमा कुल १९७ वटा विद्युतीय सवारी साधन आयात भएका छन् । यी सवारीको आयातबाट सरकारले ३० करोड ५५ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जसले विद्युतीय सवारी साधन सरकारी राजस्वको पनि महत्त्वपूर्ण स्रोत बन्दै गएको देखाउँछ । कुन क्षमताका कति भित्रिए गाडी ? साउन महिनामा आयात भएका विद्युतीय सवारीमध्ये सबैभन्दा धेरै ५१ देखि १०० किलोवाट क्षमताका रहेका छन् । विभागको तथ्यांकअनुसार ५० किलोवाटसम्मका २१ वटा कार, जीप र भ्यान छन्  भने ५१ देखि १०० किलोवाटसम्मका १०७ वटा कार, जीप र भ्यान रहेका विभागले जनाएको छ ।  यस्तै, १०१ देखि २०० किलोवाटसम्मका ३१ वटा तथा ११ देखि १४ सिटे माइक्रोबस ३८ वटा आयात भएका छन् ।  पछिल्लो समय सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन र वातावरणमैत्री यातायातलाई प्रवर्द्धन गर्न विद्युतीय सवारीमा कर छुट तथा विभिन्न सहुलियत दिँदै आएको छ । यसैको प्रभावस्वरूप नेपाली बजारमा विद्युतीय सवारीप्रति उपभोक्ताको आकर्षण तीव्र गतिमा बढिरहेको छ । आर्थिक वर्षको सुरुवातमा देखिएको यो तथ्यांकले आगामी दिनमा विद्युतीय सवारीको आयात थप बढ्ने संकेत गरेको छ ।

वीरगञ्जमा टाटा ईभी अटो शो सुरु

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले प्राइम अटो ट्रेडर्सको सहकार्यमा शुक्रबारदेखि वीरगञ्जमा टाटा ईभी अटो शो सुरु गरेको छ ।  आइतबारसम्म होटल विशुवा, बाइपास रोडमा सञ्चालन हुने यो अटो शो बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म खुल्ला रहने सिप्रदी ट्रेडिङले जनाएको छ ।  अटो शोमा टाटा मोटर्सका नवीनतम विद्युतीय मोडलहरूको प्रदर्शनीसँगै ग्राहकका लागि विभिन्न अफरहरू उपलब्ध छ ।  अफरमा फ्री लाइफटाइम डीसी फास्ट चार्जिङ, आकर्षक छुट, उच्चतम एक्सचेन्ज भ्यालुएसन, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ, निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स, निःशुल्क एसेसोरिज, निःशुल्क वार्षिक सवारी कर, निःशुल्क होम चार्जिङ इन्स्टलेसन र निःशुल्क एम्बोस्ड नम्बर प्लेटजस्ता सुविधाहरू समावेश छन् । यस अटो शोमा राखिएका ईभी मोडलहरूमा कर्भ ईभी, नेक्सन केथ्री ईभी, पञ्च ईभी र टियागो ईभी रहेका छन् ।  यससँगै अटो शोमा फूड स्टल, रमाइलो खेल गतिविधि र मनोरञ्जनात्मक कार्यक्रमहरू समेतको व्यवस्था गरिएको छ । यो अटो शोले वीरगञ्ज र आसपासका ग्राहकहरूलाई विद्युतीय मोबिलिटीबारे प्रत्यक्ष अनुभव दिने र टाटा ईभी मोडलहरूबारे जानकारी लिन उत्कृष्ट अवसर प्रदान गर्ने सिप्रदी ट्रेडिङले जनाएको छ।