दक्षिण अफ्रिकाको ईभी बजारमा प्रवेश गर्दै टोयोटा
काठमाडौं । टोयोटाले सन् २०२६ मा दक्षिण अफ्रिकामा तीनवटा पूर्णतया विद्युतीय मोडल प्रस्तुत गर्ने योजना बनाएको छ । कम्पनीका एक वरिष्ठ कार्यकारीले बिहीबार यो जानकारी दिएका हुन् । यससँगै टोयोटा त्यहाँको प्रारम्भिक चरणको ईभी बजारमा प्रवेश गर्नेछ, जहाँ चिनियाँ प्रतिद्वन्द्वीहरू जस्तै बीवाईडी पहिले नै युरोपेली गाडी निर्माताहरूसँग प्रतिस्पर्धामा छन्। हाल दक्षिण अफ्रिकाको ईभी बिक्रीमा भोल्भो अगाडि छ र त्यसपछि बीएमडब्ल्यू र मर्सिडिज-बेन्ज छन् । यता चिनियाँ ईभी निर्माताहरूले पनि अमेरिका र युरोपमा निर्यात प्रतिबन्धको बीचमा नयाँ बजार खोज्दै दक्षिण अफ्रिकामा प्रवेश तीव्र पारेका छन् । टोयोटाले हाल दक्षिण अफ्रिकामा केवल हाइब्रिड विद्युतीय गाडीहरू मात्र बेच्दै आएको छ तर २०२४ मा हाइब्रिड र प्लग-इन हाइब्रिड बजारमा ६७ प्रतिशतको अग्रणी हिस्सा ओगटेको छ, जसमध्ये कोरोला क्रसजस्ता मोडल प्रमुख छन् । टोयोटा साउथ अफ्रिकाका सीईओ एन्ड्र्यु किर्बीले रोयटर्ससँगको अन्तर्वार्तामा भने, ‘हामी २०२६ को सुरुवातमै ब्याट्री विद्युतीय गाडी ल्याउँदैछौं, जसमा तीन नयाँ मोडल हुनेछन् ।’ ‘हामीलाई विश्वास छैन कि भविष्यमा कुनै एक मात्र पावरट्रेनले बजार कब्जा गर्छ । त्यसैले हामीसँग आन्तरिक दहन इन्जिन, हाइब्रिड, प्लग-इन हाइब्रिड, ब्याट्री विद्युतीय गाडी, फ्युल सेल विद्युतीय गाडी र सम्भवतः कार्बन न्यूट्रल आन्तरिक दहन इन्जिन पनि रहनेछन्,’ उनले थपे । दक्षिण अफ्रिकामा कम आम्दानी, उच्च आयात शुल्क, अनिश्चित विद्युत आपूर्ति र पर्याप्त चार्जिङ पूर्वाधारको अभावका कारण लामो समयदेखि ईभी बिक्रीमा चुनौती रहँदै आएको छ । हालसम्म कुल गाडी बिक्रीमा ईभीको हिस्सा निकै कम छ । चिनियाँ प्रतिस्पर्धाबारे किर्बी भन्छन्, ‘हामी प्रतिस्पर्धालाई स्वागत गर्छौं, तर यो हाम्रो लागि निकै रणनीतिक चिन्ता हो र हामीले छिटो र सही तरिकाले प्रतिक्रिया दिनुपर्छ। यो ठूलो चुनौती हो ।’ उनका अनुसार दक्षिण अफ्रिकाको अटोमोबाइल क्षेत्र अहिले यस्तो मोडमा पुगेको छ, जहाँ उत्पादन मात्रा स्थिर छ, स्थानीय सामग्रीको हिस्सा घटेको छ र आयातित गाडी बिक्री बढेको छ । यसै कारण टोयोटा, बीएमडब्ल्यू, इसुजु र फक्सवागनसहित सात प्रमुख गाडी निर्माताहरूले व्यापार तथा उद्योगमन्त्रीलाई स्थानीय उद्योगलाई सहयोग र संरक्षण गर्नका लागि नीतिगत सिफारिस पत्र पठाएका छन् । किर्बी भन्छन्, ‘हामीसँग केही कर संरचना छन्, जुन अलि प्रतिकूल छन्, त्यसैले हामीले आर्थिक रूपमा तटस्थ हुनेगरी नीतिगत प्रस्तावहरू गरेका छौं । यसमा रिबेट प्रणाली पुनः संरचना गर्ने सुझाव पनि छ ।’ ‘हामीलाई आशा छ कि आगामी ६ महिनामा केही छोटो अवधि प्रभाव पार्ने कदम घोषणा हुनेछन्,’ उनी थप्छन् । हाल टोयोटाको उत्पादन संयन्त्र दक्षिण अफ्रिकामै छ, तर सुरुवाती चरणमा पूर्ण ईभी मोडलहरू आयात गरिनेछन् र पछि केही मोडल स्थानीय रूपमा उत्पादन गर्ने लक्ष्य राखिएको छ । ईभी सपना साकार पार्न भिनफास्ट संस्थापकको १.५ अर्ब डलरको लगानी चिनियाँ ईभीको दबाबसँग जुध्न जीएम र हुन्डाई एकजुट
ईभी सपना साकार पार्न भिनफास्ट संस्थापकको १.५ अर्ब डलरको लगानी
काठमाडौं । भिनफास्टका संस्थापक फाम न्हाट भुङले कम्पनीको अनुसन्धान तथा विकास (आरएन्डडी) शाखा १.५२ अर्ब डलरमा किन्ने भएका छन् । यो उनको घाटामा चलिरहेको भियतनामी कम्पनीमा हालसम्मको पछिल्लो नगद लगानी हो । भिनफास्टले २०२६ अन्त्यसम्ममा घाटा बराबरी गर्ने लक्ष्य लिएको छ । यस सम्झौताअनुसार भियतनाममा दर्ता भएको नोभाटेक रिसर्च एण्ड डेभलपमेन्ट (जेएससी) लाई भिनफास्ट ट्रेडिङ एण्ड प्रोडक्सन जेएससी (भीएफटीपी) — जसलाई कम्पनीको घरेलु उत्पादन शाखा मानिन्छबाट अलग गरिनेछ । नोभाटेकले सम्पन्न आरएन्डडी परियोजनासँग सम्बन्धित लगानी लागत सम्हाल्नेछ भने भीएफटीपीले भियतनाममै ईभी उत्पादन र भविष्यका अनुसन्धानलाई अगाडि बढाउनेछ। भिनफास्टका संस्थापक फाम न्हाट भुङ भिनफास्ट जसले २०२३ मा नास्डाकमा डेब्यू गरेको थियो । उसले कमजोर उपभोक्ता माग र कडा प्रतिस्पर्धाजस्ता चुनौतीहरू भोगिरहेको छ । कम्पनीले पहिलो त्रैमासिकमा ७१२.४ मिलियन डलरको शुद्ध घाटा बेहोरे पनि राजस्व १५० प्रतिशतले बढेर ६५६.५ मिलियन डलर पुगेको छ । भिनफास्टको सेयर प्रि-मार्केट कारोबारमा १.४ प्रतिशत बढेर ३.५९ डलर पुगेको छ। २०१७ मा स्थापना भएदेखि कम्पनी संस्थापक भुङको सहयोगमा धेरै हदसम्म भर परेको छ । उनी भिनफास्ट र यसको मूल कम्पनी भिनग्रुपका करिब ९८ प्रतिशत सेयरका मालिक हुन् र भिनग्रुपका अध्यक्षका रूपमा कार्यरत छन् । नोभाटेकका सेयरहरू भुङलाई सुम्पिने मूल्य करिब ४० ट्रिलियन डङ ९१।५२ अर्ब डलर० छ, जसमा १७.२५ ट्रिलियन डङको वास्तविक मूल्याङ्कन र थप प्रिमियम समावेश छ । नोभाटेकका सम्पत्तिसँग सम्बन्धित बौद्धिक सम्पत्ति आवश्यक परेमा उत्पादनका लागि भिनफास्टलाई पुनः भाडामा दिइनेछ । भिनफास्टले आफ्नो पहिलो पुस्ताको ईभी विकास सम्पन्न भएको जनाएको छ । अनुसन्धान तथा विकास लागत २०२५ को पहिलो त्रैमासिकमा ८१.२ मिलियन डलर भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२.३ प्रतिशत कम हो । ईभी निर्माताले २०२५ मा २ लाख कार डेलिभरी गर्ने लक्ष्य राखेको छ, जुन २०२४ को तुलनामा दोब्बरभन्दा बढी हो । भिनफास्टको अधिकांश डेलिभरी भियतनामी बजारमै हुने गरेका छन् । भिनफास्टले भारतबाटै अन्तर्राष्ट्रिय बजारमा गाडी पठाउने, २ अर्ब डलरको लगानी योजना चिनियाँ ईभीको दबाबसँग जुध्न जीएम र हुन्डाई एकजुट
नेपाली बजारमा दीपलको नयाँ इलेक्ट्रिक एसयूभी एस-०५ सार्वजनिक, यस्तो छ मूल्य र विशेषता
काठमाडौं । नेपालका लागि चांगान अटोमोबाइलको आधिकारिक वितरक, एमएडब्लु ग्रुपले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी दीपल एस-०५ एक समारोहबीच सार्वजनिक गरेको छ । दीपल एस-०७ को सफलतापछि बजारमा ल्याइएको यो नयाँ मोडलले नेपाली ईभी बजारमा नयाँ प्रतिस्पर्धा सिर्जना गर्ने अपेक्षा गरिएको छ । काठमाडौंमा आयोजित भव्य कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छेन सोङ, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकारिया, चंगन अटो साउथइस्ट एसियाका प्रबन्ध निर्देशक झाङ जियानहुआ लगायतको उपस्थिति थियो । कार्यक्रममा दीपलका ब्रान्ड एम्बेसडर तथा पूर्व क्रिकेटर पारस खड्का पनि उपस्थित थिए । एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवालले एमएडब्लुले ६० वर्षभन्दा बढी समयदेखि नेपाली बजारमा विश्वास कमाएको बताए । उनले भने, ‘नेपालमा कार किन्नु भनेको विश्वासको सम्बन्ध गाँस्नु हो । चंगनको १६३ वर्षको गौरवशाली इतिहास र एमएडब्लुको ६ दशकको विरासतले यो सहकार्यलाई अझ बलियो बनाएको छ ।’ उनले नेपालको ९० प्रतिशतभन्दा बढी बिजुली स्वच्छ जलविद्युतबाट उत्पादन हुने भएकाले ईभी प्रयोग गर्नु वातावरण र उपभोक्ताको खल्ती दुवैका लागि फाइदाजनक रहेकोमा जोड दिए । एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले दीपल एस-०५ का अत्याधुनिक विशेषताहरूबारे विस्तृत प्रस्तुति दिएका थिए । यसमा ’क्वीन को-पाइलट प्यासेन्जर सिट’ र ’वेलकम सिट’ जस्ता सुविधा छन्, जसले गाडीभित्र पस्ने बित्तिकै आरामदायी र प्रिमियम अनुभव प्रदान गर्छ । रिमोट इन एन्ड आउट पार्किङः साँघुरो ठाउँमा पार्किङ गर्दा गाडी बाहिरैबाट रिमोटको सहायताले अगाडि-पछाडि सार्न सकिने सुविधा रहेको छ भने गाडीको गति, नेभिगेसन जस्ता जानकारी सिधै चालकको आँखा अगाडि विन्डस्क्रिनमा देखिने प्रविधि रहेको छ । यस्तै गाडी बाहिर रहेका व्यक्तिसँग गाडी भित्रबाटै कुरा गर्न सकिने अनौठो सुविधा छ । १८ वटा उच्च गुणस्तरका स्पिकर र स्पोटिफाई, युट्युब जस्ता एप चलाउन मिल्ने कनेक्टेड फिचर रहेका छन् । यसमा एडीएएस २.० प्रणाली अन्तर्गत १९ वटा उन्नत सुरक्षा फिचरहरू समावेश छन्, जुन यो सेग्मेन्टमा सबैभन्दा बढी हो । यसमा सीएटीएल कम्पनीको ’गोल्डेन सिल्ड ब्याट्री सिस्टम २.०’ प्रयोग गरिएको छ, जसको लाइफ ५,००० साइकलसम्म रहेको दाबी गरिएको छ । यो रियल-ह्विल ड्राइभ गाडीले १५ मिनेटमै फास्ट चार्ज हुन सक्छ । यसको स्लिक र प्रिमियम फ्रेमलेस डिजाइनले २०२५ को प्रतिष्ठित ’आईएफ डिजाइन अवार्ड’ जितिसकेको छ । कम्पनीले दीपल एस-०५ दुई भेरियन्टमा सार्वजनिक गरेको छ । जसको लाइट भेरियन्टको मूल्य ४८ लाख ९९ हजार र म्याक्स भेरियन्टको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो । कार्यक्रमका प्रमुख अतिथि, चिनियाँ राजदूत महामहिम छेन सोङले सफल लन्चको लागि चंगन र एमएडब्लु ग्रुपलाई बधाई दिए । उनले भने, ‘चिनियाँ ईभी प्रविधि विश्वमै अग्रणी छ र नेपाली उपभोक्ताले सबैभन्दा नयाँ र उन्नत प्रविधि प्रयोग गर्न पाउनु खुसीको कुरा हो ।’ उनले एमएडब्लु ग्रुपले चिनियाँ प्रविधिलाई अँगालेर दूरदर्शी निर्णय लिएको र यसले नेपालको आर्थिक र सामाजिक संरचनामा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।