लोकप्रिय कारको उपाधि टाटाको पोल्टामा, क्रेटाले लियो दोस्रो स्थान
काठमाडौं । भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीले अहिले सबैभन्दा लोकप्रिय कारको उपाधि गुमाएको छ । यो दौड टाटा मोटर्सले जितेको छ । भारतीय कार उद्योगमा सबैभन्दा ठूलो अपसेटहरूमध्ये एकमा टाटाको मिनी एसयूभी पन्च देशको सबैभन्दा धेरै बिक्री हुने मोडेल बनेको छ । यसले मारुतीका लोकप्रिय मोडल वागनआर, स्विफ्ट र ब्रेजालाई पछि पारेको छ । पन्चले मार्च २०२४ मा पहिलोपटक यो उपाधि हासिल गरेको छ। मार्चमा कुल १७ हजार ५ सय ४७ पन्च बिक्री भएको थियो भने वागनआर १६ हजार ३ सय ६८ यूनिटका साथ तेस्रो स्थानमा रह्यो । उद्योग विश्लेषकहरूका अनुसार हुन्डाईको एसयूभी क्रेटा मार्चमा बिक्रीको हिसाबले दोस्रो स्थानमा रह्यो । यसको बिक्री कुल १६ हजार ४ सय ५८ यूनिट रह्यो । पन्चले अप्रिलमा उही उपलब्धि दोहोर्यायो । वागनआरको १७ हजार ८ सय ५० यूनिटको तुलनामा यसको बिक्री १९ हजार १ सय ५८ यूनिट रह्यो । मारुतीको ब्रेजा एसयूभी १७ हजार १ सय १३ युनिटका साथ तेस्रो स्थानमा रह्यो । मारुती कार देशको सबैभन्दा बढी बिक्री हुने कारमा नपरेको विरलै देखिने गरेको छ । जसरी पन्चले लगातार दुई महिना शीर्ष स्थान हासिल गरेको छ, त्यसले आगामी दिनमा पनि यो क्रम जारी राख्ने देखिन्छ । यी तथ्यांकले भारतीय कार उद्योगको बदलिँदै गरेको चित्र झल्काउँछ । टाटा मोटर्सले पछिल्ला केही वर्षहरूमा धेरै परिवर्तन गरेको छ । आज यो मारुती र हुन्डाईपछि बिक्रीको हिसाबले देशको तेस्रो ठूलो कम्पनी बनेको छ । कम्पनीले पन्च, नेक्सन, टियागो र अल्ट्रोज जस्ता मोडलहरूसँग उत्कृष्ट पुनरागमन गरेको छ । कति छ मूल्य ? २०२४ मा टाटाले हुन्डाईलाई उछिनेर दोस्रो स्थान हासिल गर्यो । विश्लेषकहरूका अनुसार यो देशकै दोस्रो ठूलो कम्पनी बन्न सक्छ । यसको कारण कम्पनीले द्रुत गतिमा नयाँ मोडेल ल्याउने र विद्युतीय कार बजारमा आफ्नो प्रभुत्व कायम गर्ने रहेको छ । पन्चको पेट्रोल, सीएनजी र इलेक्ट्रिक संस्करणहरू उपलब्ध छन् । यसको पेट्रोल संस्करण ६.१ लाख (एक्स-शोरूम दिल्ली) बाट सुरु हुन्छ जबकि इलेक्ट्रिक संस्करणको मूल्य ११ लाख भारुभन्दा बढी छ । तर, भारतीय बजारमा मारुतीको प्रभुत्व कायम छ । मार्चमा सबैभन्दा बढी बिक्री हुने १० मोडेलमध्ये ६ मारुतीका थिए भने अप्रिलमा सातवटा मोडल थिए । मारुतीले खुद्रा बजारमा बलियो पकड बनाएको विज्ञहरू बताउँछन् । कम्पनीले वेटिङ पिरियड अनुसार मोडेलको उत्पादन समायोजन गर्दछ । यसले कतिपय सवारीसाधनको बिक्रीमा असर गरेको छ । तर, टाटाको कार्यसम्पादन निकै राम्रो छ र यसका मोडेलहरू बजारमा बढ्दै गएकाले कम्पनीको आत्मविश्वास पनि बढ्दै गएको छ । कम्पनीले विद्यमान मोडेलहरूमा विद्युतीय संस्करणहरू थप्दैछ । यसले विद्युतीय वा ग्रिन कार ल्याउने काम पनि गरिरहेको छ । एजेन्सी
यामाहाको अफरसहितको महाएक्सचेन्ज मेला सुरु
काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले आफ्नो यस वर्षको सबैभन्दा ठूलो एक्सचेन्ज इभेन्ट-यामाहा महाएक्सचेन्ज मेला २०८१ को सुरूवात भएको घोषणा गरेको छ । कार्यक्रमको औपचारिक शुभारम्भ आईतबार काठमाडौंको भृकुटीमण्डपमा भएको छ । एक हप्तासम्म जारी रहने मेलाले मोटरसाइकल उत्साहीहरूका लागि मोटरसाइकल एक्सचेन्जको अनुपम अनुभव प्रदान गर्नेछ । एमएडब्लू इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले भने, ‘फेरि पनि यामाहा महाएक्सचेन्ज मेलाको आयोजना गर्न पाउँदा हामी हर्षित छौं। यसले मोटरसाइकल उत्साहीहरूलाई आश्चर्यजनक मूल्यमा आफ्नो सवारी अपग्रेड गर्ने अविश्वसनीय अवसर प्रदान गर्दछ।’ मेलाको विषयमा थप स्पष्ट पार्दै अग्रवालले भने, ‘हामीलाई विश्वास छ यो कार्यक्रम मोटरसाइकल प्रेमीहरूका लागि आफ्नो सवारीलाई अपग्रेड गर्ने अवसर मात्र नभई जीवन्त र रोमाञ्चक वातावरणमा दुई पाङ्ग्रे सवारीप्रतिको आफ्नो जोश मनाउनको लागि उत्तम मन्च पनि हो।’ यामाहा महाएक्सचेन्ज मेलाले ग्राहकहरूलाई सुपथ मूल्यमा आफ्ना मोटरसाइकल अपग्रेड गर्ने एउटा असाधारण अवसर प्रदान गर्दछ। सहभागीहरूले आफ्नो ब्राण्ड-न्यु यामाहा बाइकको खरिदमा एक लाख रूपैयाँसम्मको ग्यारेन्टी नगद छुट प्राप्त गर्न सक्नेछन् । साथै, एमएडब्लू राइड्सले जुनसुकै ब्राण्ड्सका पुराना मोटरसाइकलहरूको ट्रेड-इनको लागि अधिकतम मूल्य सुनिश्चित गर्दै एक लाख रुपैयाँसम्मको अतिरिक्त मूल्याङ्कन पनि प्रदान गर्नेछ। यो सुविधाजनक एक्सचेन्ज प्रोग्रामले तपाईलाई आफ्नो जुनसुकै ब्राण्डको पुरानो बाइक वा स्कुटरलाई ब्रान्ड न्यु यामाहासँग विनिमय गर्ने सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यामाहा महाएक्सचेन्ज मेलाका आकर्षणका रूपमा सहभागीहरूले नि:शुल्क बाइक हेल्थ कार्डबाट आफ्नो नयाँ सवारी राम्रो अवस्थामा रहेको सुनिश्चित गर्नका लागि नि:शुल्क बाइक चेक-अप र स्पार्कलिंग क्लिन स्टार्टको लागि वाश गर्ने सुविधा लिन सक्नेछन् । यस कार्यक्रमले स्टाइलिश अपग्रेडको साथमा सुरक्षा बढाउन डुअर प्राइजका रूपमा स्मार्ट हेल्मेट जित्ने अवसर पनि प्रदान गर्नेछ । थप रोमाञ्चकताका लागि मेलामा नि:शुल्क खेल र उपहारहरू, टेस्ट राइड र विन अफरहरू रहने छन् भने नि:शुल्क एसेसरिज प्राप्त गर्नाले आगन्तुकहरूको समग्र अनुभवलाई थप बढाउने निश्चित छ। मेला वेशाख २३ गतेदेखि २९ सम्म काठमाडौंको भृकुटीमण्डपमा चल्नेछ ।
गरिमा विकास बैंकले टोयोटा गाडी खरिद गर्न आधार दरमा कर्जा दिने
काठमाडौं । गरिमा विकास बैंकले टोयोटा गाडी खरिद गर्न आधार दरमा कर्जा दिने भएको छ । यस सम्बन्धमा नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट र बैंकबीच मंगलबार सम्झौता भएको छ । उक्त सम्झौतामा गरिमा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र युनाइटेड ट्रेडर्स सिन्डिकेटको तर्फबाट वरिष्ठ निर्देशक कैलाश बि राजभण्डारीले हस्ताक्षर गरे । सम्झौता पत्रमा युनाइटेड ट्रेडर्स सिन्डिकेटबाट ग्राहकहरुले नयाँ टोयोटा गाडी खरिद गर्दा गरिमा विकासबाट आधार दरमा नै अधिकतमा १२ वर्षसम्मको अवधिका लागि सवारी कर्जा लिन सक्नेछन् । ग्राहकहरूले व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनका लागि टोयोटा ब्राण्डको सवारीसाधन खरिद गर्दा यो कर्जा सुविधा प्राप्त गर्नेछन । सम्झौतापश्चात युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले गरिमा विकास बैंक लिमिटेडलाई बैंकिङ पार्टनरका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । काठमाडौं लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।