नाडा अटो शोजस्तै पोखरामा पनि वाडा अटो शो, ३० ब्राण्डले राखे स्टल
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) ले बिहीबारबाट पोखरामा ‘वाडा अटो शो‘ को आयोजना गरेका छन् । अमरसिंह मैदानमा आयोजना गरिएको वाडा अटो शोमा ३० वटा अटो ब्राण्डहरू राखिएको वाडाका उपाध्यक्ष एवं अटो शो संयोजक निरन केसीले विकासन्युजलाई जानकारी दिए । राजधानीको भृकुटीमण्डपमा हुने अटो शोमा जस्तै गरी पोखरामा पनि विद्युतीय गाडीहरूकै बाहुल्यता रहेको उनको दावी छ । संयोजक केसीले भने, ‘पोखरामा पहिलोपटक ‘वाडा अटो शो’ को आयोजना गरेका छौं । स्टलमा नयाँ नयाँ ब्राण्डका गाडीहरू राखेका छौं । यसअघि काठमाडौंमा मात्रै नाडा अटो शो हुने गरेको थियो । अब पोखरामै आयोजना भएपछि हामी निकै खुसी छौं । दर्शकहरू उत्साहित देखिन्छन् ।’ मन्दीले डिलरहरू मर्कामा परेको भए पनि अटो शोले यसमा उत्साह थप्ने विश्वास व्यक्त गर्दै अटोमोबाइल उद्योगमा हुने नयाँ प्रविधिको बारेमा यसबाट जानकारी लिन सकिने ‘अटो शो’ उनले बताए । उनले विभिन्न गाडीमा अफरैअफर रहेको पनि जानकारी दिए । यस्तै, नाडाका अध्यक्ष करण चौधरीले नाडाको पहलमा पहिलो पटक काठमाडौं बाहिर यो स्तरको अटो शो गर्न पाउँदा आफूलाई निकै खुसी लागेको बताए । उनले अटोमोबाइल व्यवसायीका लागि अटो शो ठूलो पर्वका रूपमा विकास हुँदै गएको दाबी गरे । अध्यक्ष चौधरीले भने, ‘यो नाडा अटो शो स्तरकै शो बाहिर गर्न पाउँदा हामी खुसी छौं । यो वाडा अटो शोले अब हुने नाडा अटो शोलाई ठूलो सहयोग पुग्नेछ । यस्ता शोहरू हामी आयोजना गरिराख्नुपर्छ ।’ उनले राजस्वमा २३ प्रतिशतको योगदान पु¥याउँदै आएको यो क्षेत्र उत्पादक क्षेत्र भएकाले सशक्त बनाउँदै जानुपर्ने आवश्यकता औंल्याए । पोखरामा अटो शोका लागि नाडाले ढोका खोलेको र आगामी दिनमा समेत यसलाई निरन्तरता दिनका लागि भने वाडा जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ । यस्तै, पोखरामा पहिले पटक वाडा अटो शो हुदाँ आफूहरू निकै उत्साहित भएको बारही अस्पतालका प्रबन्ध निर्देशक भैरव पौडेल बताउँछन् । उनले भने, ‘हामी पोखरेलीहरू निकै उत्साहित छौं । चहलपल बढेको छ । नयाँ नयाँ ब्राण्डका गाडीहरू स्टलमा छन् । म पनि कुन ब्राण्ड राम्रो छ भने बुझ्दैछु जुन राम्रो लाग्यो त्यही किन्ने तयारीमा छु । ’ पोखरामा पहिलो पटक आयोजना गरिएको ‘वाडा अटो शो’ मा विद्युतीय चार पाँग्रेतर्फ बीवाईडी, एक्स्पेङ्ग, दीपल, हुन्डाई, टाटा, एमजी, स्काइवेल, रिडारा, सेरेस, ओमोडा एन्ड जेको, सिट्रोन, जीकर, किया लगायतका ब्रान्डका गाडी राखिएका छन् भने आईसतर्फ टोयोटा, सुजुकी, किया, इसुजु, निशान, महिन्द्रा, हुन्डाई, टाटा, कियाले इभीसँगै आइस गाडी पनि स्टलमा राखिएका छन् । यस्तै, दुईपाँग्रेतर्फ एथर, टीभीएस, यामाहा, बजाज, ट्राइम्प, रोयलइन्फिल्ड लगायतका ब्राण्डले दर्शकलाई आकर्षित गराएको जनाइएको छ । त्यसैगरी स्काइवर्थ, हाइगर र डङफेङ लगायतका लाइट कमर्सियल गाडीहरुको स्टल पनि अटो शोमा राखिएको वाडा अटो शो संयोजक केसीले बताए । अटो सोमा दुई पाङग्रे, चार पाङग्रेसहित लाइट कमर्शियल, वित्तीय संस्था, इन्स्योरेन्स, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरण, फुटकोट लगायत कम्पनीहरुको स्टल पनि राखिएको बताइएको छ। गाडी खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी स्पट एक्स्चेन्ज तथा फाइनान्सिङको सुविधा पनि उपलब्ध गराएको वाडाले जनाएको छ । कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज गुरुङले गरेका थिए । गाडी खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी स्पट एक्स्चेन्ज तथा फाइनान्सिङको सुविधा पनि उपलब्ध रहेको छ । गाडी बुकिङ गर्ने पहिलो ग्राहकलाई सलिको इन्स्योरेन्सले गाडीको इन्स्योरेन्स बापत १० लाख रुपैयाँ इन्स्योरेन्समा छुट दिने समेत बताएको छ । अटो शोलाई बी एण्ड बी ग्रुपले सहप्रायोजन गरेको छ भने सपोर्टिङ पार्टनर अटोमेकानिका, बैंकिङ पार्टनरमा ग्लोबल आइएमई बैंक, इन्सुरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनी लिमिटेड, टिकेटिङ पार्टनरमा खल्ती, डोर प्राइज स्पोन्सरमा बन्दीपुर केबलकार, हस्पिटालिटी पार्टनरमा होटल शारा, इन्टरनेट पार्टनरमा पोखरा इन्टरनेट, फायर सेफ्टी पार्टनरमा हिट्को प्रालि, ट्राभल पार्टनरमा स्विफ्ट होलिडेज, हस्पिटल पार्टनरमा मनिपाल हस्पिटलले सहयोग गरिरहेका छन् । यसैगरी प्रदर्शनी अवलोकन गर्न आउने ग्राहकहरुलाई टिकटमा गोला प्रथाद्वारा बन्दीपुर केबुलकारको टिकट प्राप्त गर्न सकिने जनाइएको छ । आज पहिलो दिन तीन हजारले अवलोकन गरेको वाडा अटो शो ले जनाएको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले प्रबर्द्दक रहेर साथ दिएको छ । चार दिनसम्म चल्ने ‘वाडा अटो शो’ लाई ३५ हजार आगन्तुकहरूले अवलोकन गर्ने आयोजकले विश्वास लिएको छ । पहिलो दिनमै उत्साहित रुपमा स्टल बुकिंग गरिएको आयोजकले जनाएको छ ।
वाडा अटो शोमा बीवाईडी, यस्ता छन् अफरहरू
काठमाडौं । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले पोखरामा जारी वाडा अटो शो २०२५ मा सहभागिता जनाएको छ । पोखरा प्रदर्शनी केन्द्रमा फागुन १४ देखि सुरु भएको वाडा अटो शो आगामी फागुन १७ सम्म चल्नेछ । उक्त अटो शोमा बीवाईडी डल्फिन, एट्टो ३ र एम ६ गरी विभिन्न तीन मोडलका सवारी साधन प्रदर्शन गरेको छ । आकर्षक ईभी मोडल प्रदर्शन गर्नुका साथै अटो शोमा सवारीसाधन किन्ने ग्राहकका लागि बीवाईडीले सीमित समयका लागि एक्सक्लुसिभ अफरसमेत ल्याएको छ । २० प्रतिशत डाउन पेमेन्टमा वीवाईडीका गाडी किन्न सकिने साइमेक्स इंकले जनाएको छ । यसैगरी, १० वर्ष वा २ लाख किलोमिटर वारेन्टी पनि पाइनेछ । १ वर्ष फ्री इन्स्योरेन्स, १ वर्ष रोड ट्याक्स कभरेज, आकर्षक नगद छुट, फ्री एसेसरिज र फ्री होम चार्जरको पनि सुविधा रहेको छ । बीवाईडी विश्वकै नम्बर १ इलेक्ट्रिक भेहिकल सेल्स च्याम्पियनको रूपमा परिचित छ ।
ट्रम्पको ट्यारिफ घोषणा असर : एसियाली अटोमोबाइल कम्पनीको सेयरमा गिरावट
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देश बाहिर बनेका कारहरूमा शुल्क लगाउने घोषणा गरेसँगै एसियाली अटोमोबाइल कम्पनीहरूको सेयरमा गिरावट आएको छ । जापानी अटोमोबाइल निर्माता टोयोटा र होन्डाको सेयर क्रमशः ३.६९ र २.९१ प्रतिशतले गिरावट आयो । मेक्सिकोमा दुईवटा प्लान्ट रहेको निसानको सेयर २.९२ प्रतिशतले घट्यो भने माज्डा मोटरको सेयरमा ६ प्रतिशतभन्दा बढी गिरावट आयो । मित्सुबिसी मोटरको सेयर ४.९ प्रतिशतले झर्यो । दक्षिण कोरियाली अटोमोबाइल कम्पनी किया मोटर्सको पनि सेयर २.७६ प्रतिशतले घटेको छ । यसको मेक्सिकोमा उत्पादन प्लान्ट छ । चिनियाँ अटोमोबाइल कम्पनीहरू नियो र एक्सपेङ्गको सेयर क्रमशः ३.९४ र १.९७ प्रतिशतले घट्यो । यी नयाँ शुल्कहरू अप्रिल २ देखि लागू हुनेछन् । ह्वाइट हाउसका सल्लाहकार विल शार्फका अनुसार यी शुल्कहरू ‘विदेशमा बनेका कार र हल्का ट्रकहरू’ मा लागू हुनेछन्, जुन पहिलेका शुल्कहरूका अतिरिक्त हुनेछ । यस घोषणाको सम्पूर्ण विवरण अझै स्पष्ट छैन किनभने अधिकांश कारहरू विभिन्न देशमा बनेका पार्ट्सहरू मिलेर बनेका हुन्छन् । शार्फले अनुमान गरेअनुसार यी शुल्कहरूबाट अमेरिकालाई वार्षिक १०० अर्ब डलरभन्दा बढी नयाँ राजस्व प्राप्त हुने अपेक्षा गरिएको छ । ‘अमेरिकामा गाडी बिक्री गर्ने हरेक अटोमोबाइल कम्पनी आफ्नो उत्पादन आपूर्ति शृंखलामा विश्वव्यापी रूपमा निर्भर छन्, जसमा धेरैजसो भागहरू चीनबाट आउँछन्,’ आईसीकार्सका कार्यकारी विश्लेषक कार्ल ब्रुअरले भने । ‘यसको अर्थ यदि होन्डा वा टोयोटाले अमेरिका भित्रै कुनै मोडेल असेम्बल गरे पनि चीनबाट आउने भागहरूले ती गाडीहरू उत्पादन गर्नको लागत बढाउनेछ,’ उनले थपे । विश्लेषकका अनुसार अमेरिकाभित्रै एसेम्बल गरिएका गाडीहरू पनि यस शुल्कको प्रभावमा पर्नेछन् तर तिनीहरूलाई असर थोरै हुनेछ । ट्रम्पको अर्को घोषणा : अमेरिकामा निर्माण नभएका गाडीमा २५ प्रतिशत ट्यारिफ लगाउने ट्रम्पको ट्यारिफ असर : क्यानडामा टेस्लाका लागि सबै छुट भुक्तानीहरू रोक्का मस्कलाई ट्रम्प प्रशासन घाँडो, वाशिंगटन प्रवेशसँगै टेस्लाका सेयर घट्दै