स्टेलान्टिसले टर्मोली प्लान्टमा हाइब्रिड गाडीका पार्ट्स उत्पादन गर्ने
काठमाडौं । विश्वको चौथो ठूलो अटोमेकर स्टेलान्टिसले दक्षिणी इटालीको टर्मोली प्लान्टमा हाइब्रिड गाडीहरूको लागि डुअल–क्लच ट्रान्समिसन (ईडीसीटी) उत्पादन गर्ने सोमबार घोषणा गरेको छ । तर सोही प्लान्टलाई स्टेलान्टिसको संयुक्त उद्यम अटोमोटिभ्स सेल्स कम्पनी (एसीसी)ले ईभी ब्याट्री उत्पादन केन्द्र बनाउन छुट्याएको थियो । टर्मोली प्लान्टले हाल इन्जिन उत्पादन गर्छ र यो स्टेलान्टिसको नेतृत्वमा रहेको एसीसीले युरोपमा ईभी ब्याट्री गिगाफ्याक्ट्री बनाउने तीन साइटहरूमध्ये एक हो । फ्रान्समा रहेको एसीसीको गिगाफ्याक्ट्रीले सञ्चालन सुरु गरिसकेको छ, तर इटाली र जर्मनीमा बनाउने योजनाहरू गत वर्ष औपचारिक रूपमा रोकिएका थिए । ईभीहरूको मागमा गिरावट आएपछि एसीसीले सस्तो ब्याट्री प्रविधिमा स्विच गर्दै थियो। एसीसीको लगानी योजना अझै अन्योलमा एसीसीका प्रवक्ताले सोमबार इटाली र जर्मनीका लागि लगानी योजना पुनः मूल्यांकन भइरहेको र निर्णय जुन महिनाभन्दा अघि नआउने बताएका छन् । स्टेलान्टिसको टर्मोलीसम्बन्धी घोषणाले एसीसीको योजना परिवर्तन नगर्ने एसीसी प्रवक्ताले जानकारी दिए । यसै महिनाको सुरुमा टोटलइनर्जिस (एसीसीमा २५ प्रतिशत हिस्सेदार) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले एसीसीलाई केवल फ्रान्सको प्लान्टमा केन्द्रित गर्नुपर्ने संकेत दिएका थिए । यसले सम्भावित रूपमा इटाली र जर्मनीका गिगाफ्याक्ट्री योजनाहरू रद्द हुनसक्ने संकेत गरेको छ । टर्मोली प्लान्टमा हाइब्रिड गाडीका पाट्र्स उत्पादन स्टेलान्टिसले सोमबार दिएको बयानमा टर्मोलीमा इलेक्ट्रिफाइड डुअल–क्लच ट्रान्समिसन (ईडीसीटी) उत्पादन गरिने बताएको छ । तर, एसीसीको ईभी ब्याट्री निर्माण योजनाबारे केही उल्लेख गरिएको छैन । स्टेलान्टिसले भनेको छ, ‘तीन लाख युनिट प्रति वर्ष उत्पादन लक्ष्यसहित टर्मोली स्टेलान्टिसको तेस्रो ईडीसीटी उत्पादन केन्द्र बन्दैछ ।’ यसअघि स्टेलान्टिसले इटालीको मीराफीओरी र फ्रान्सको मेट्जमा ईडीसीटी उत्पादन गर्दै आएको छ । स्टेलान्टिसको अन्य उत्पादन वृद्धि योजनाहरू स्टेलान्टिसले सोमबार बेल्जियमको सिन्ट ट्रुइडेन र फ्रान्सको मेट्ज प्लान्टमा ईडीसीटी उत्पादन बढाइने घोषणा गरेको छ । साथै मेट्ज प्लान्टमा नयाँ असेम्बली लाइन पनि जडान गरिनेछ । स्टेलान्टिस अहिले चिनियाँ ब्याट्री निर्माता सीएटीएलसँग मिलेर स्पेनमा ४.१ अर्ब युरो (४.३ अर्ब डलर) को गिगाफ्याक्ट्री बनाउने योजना बनाइरहेको छ । साइबरट्रक दुर्घटनाले तनावमा टेस्ला, सेल्फ-ड्राइभिङ सफ्टवेयरबारे चिन्ता बढ्यो स्टेलान्टिसमा सीईओको खोजी जारी, व्यवस्थापन र संरचनामा परिवर्तन स्टेलान्टिस र सीएटीएलले स्पेनमा ईभी ब्याट्री प्लान्ट निर्माण गर्ने, ४.३ बिलियन डलरको लगानी
तौलिहवामा ‘बजाज प्लाटिनाको माइलेज च्याम्पियन’ हुने
फाइल तस्बिर । काठमाडौं । तौलिहवामा फागुन ७ गते ‘बजाज माइलेज च्याम्पियन’ हुने भएको छ । बजाजको प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न माइलेज च्याम्पियनको आयोजना गरिएको हो । तौलिहवाको बुद्ध पद्म माविको खेलमैदानस्थित केदारनाथ अटोमोवाइल्सले यो कार्यक्रम आयोजना गर्ने भएको हो । यो कार्यक्रमले बजाज प्लाटिनाको इन्धन बचत र भरपर्दो विशेषताहरूलाई झल्काउनुका साथै चालकहरूबीच मैत्रीपूर्ण प्रतिस्पर्धाको भावना प्रवर्द्धन गर्ने विश्वास आयोजकको रहेको छ । कार्यक्रममा जो कोही मोटरसाइकल चालकहरूले सहभागीता जनाउन सक्ने आयोजकले जनाएको छ । माइलेज च्याम्पियनमा सहभागी चालकहरूले न्यूनतम लागतमा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्य सहित प्रतिस्पर्धा गर्नेछन् । कार्यक्रमले बजाज प्लाटिनाको इन्धन दक्षता र विश्वासनीयतालाई उजागर गर्दै नेपालका बजाजप्रेमीहरू बीचको एकताको भावना बिकाश गर्ने कम्पनीको दाबी छ । बजाजका मोटरसाइकलहरु मध्यमा पनि प्लाटिना मोटरसाइकल अधिकतम माइलेज दिने मोटरसाइकलमा पर्दछ । पछिल्लो समय पेट्रोलियम पदार्थको मुल्यवृद्धि भएसँगै आम ग्राहकवर्गमा यो मोटरसाइकल अत्यधिक लोकप्रिय छ । यो मोटरसाइकलको विशेषता, माइलेजबारे जानकारी दिन यस माइलेज च्याम्पियनको आयोजना गरिएको हो । नयाँ पुस्ताले बढी पेट्रोल खर्च गर्ने मोटरसाइकल चलाउने ट्रेण्ड चलिरहेको बेलामा प्लाटिना मोटरसाइकलको किफायती बारेमा उक्त कार्यक्रमबाट आम जनमानसमा जानकारी हुने कम्पनीको विश्वास रहेको छ । माइलेज च्याम्पियनमा आम ग्राहकवर्गलाई पनि सहभागी हुनका लागि अनुरोध गरिएको छ । माइलेज च्याम्पियनमा सहभागी उत्कृष्टलाई पुरस्कृत पनि गरिने कम्पनीले जनाएको छ ।
नाडा र नाडाका प्रादेशिक एशोसिएशनबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपाल तथा नाडाका संस्थागत (प्रादेशिक) एशोसिएशनका अध्यक्षहरूबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो, जसमा अटोमोबाइल क्षेत्रका समसामयिक विषयहरूमा विस्तृत छलफल गरिएको नाडाले जनाएको छ । कार्यक्रममा उपस्थित पदाधिकारी तथा सदस्यहरूले विभिन्न समस्याहरू उठाउँदै समाधानको लागि आग्रह गरेका थिए । कर तिर्ने व्यवसायीहरूले सरकारी तहमै उचित सम्मान नपाएको, सीमापारीबाट अटोमोबाइल प्राविधिज्ञहरू आउने कारण साना व्यवसायीहरू प्रभावित भएको, बैंकहरूले ऋण दिन अप्ठेरो बनाएको, यातायात व्यवस्था कार्यालयहरूमा लाइसेन्स वितरणको समस्या रहेको लगायतका मुद्दाहरू छलफलका केन्द्रविन्दु थिए । नाडाका अध्यक्ष करण चौधरीले विभिन्न प्रश्नहरूको जवाफ दिँदै, सरकारले हालै अध्यादेशमार्फत ल्याएको ऐनले नाडाका धेरै मागहरू सम्बोधन गरेको जानकारी गराए । उनले सन्दर्भ मूल्यसूची समयानुकूल बनाउन सरकारलाई निरन्तर आग्रह गरिरहेको तथा प्रधानमन्त्री कार्यालयसहित विभिन्न मन्त्रालयहरूसँग छलफल भइरहेको बताए । साथै, बीबीआईएन (बङ्गलादेश, भुटान, भारत, नेपाल) सहमतिको सन्दर्भमा नेपालका अटोमोबाइल व्यवसायीहरूलाई पर्ने असरबारे सरकारसमक्ष धारणा राखिएको जानकारी गराए । लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष गणेश भट्टराईले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले गरेका थिए । भर्चुअल माध्यमबाट समेत गरिएको कार्यक्रममा नाडाका विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो । सो कार्यक्रममा हेटौंडा अटोमोवाइल्स एशोसिएशन, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएशन, कर्णाली अटोमोबाइल्स एशोसिएशन लगायतका प्रतिनिधिहरू पनि सहभागी थिए । कार्यक्रमको अन्त्यमा लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष गणेश भट्टराईले नाडाका अध्यक्ष करण चौधरीलाई मायाको चिनो प्रदान गरेका थिए । नाडाले यस्ता अन्तरक्रिया कार्यक्रमहरू विगतमा गर्दै आएको र भविष्यमा पनि निरन्तर आयोजना गरिने बताइएको छ । आउँदो फागुन ३ गते बुटवलमा लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपालको चौथो वार्षिक साधारण सभा आयोजना हुने अवसर पारेर यो कार्यक्रम राखिएको थियो ।