प्याराग्लाइडिङले रङ्गिँदै सुर्खेतको आकाश, सबै वर्गका मानिस आकर्षित
रुपनी जि एम सुर्खेत । सुर्खेतको आकाश केही वर्ष प्याराग्लाइडिङका कारण रङ्गिन थालेका छन् । कर्णाली प्रदेशको राजधानीसमेत रहेको यो सहर पछिल्लो समय साहसिक पर्यटनको नयाँ केन्द्रका रूपमा विस्तार भएको हो । चुरे पहाडको काखबाट उडान भर्दा तल देखिने हरियाली वन, फैलिएका बस्ती र टाढासम्म फैलिएको भू दृश्यले जो कोहीलाई केही क्षण भए पनि आनन्द दिलाउँछ । खुला आकाशमा स्वतन्त्र रूपमा उड्ने अनुभूति लिन पनि पर्यटकहरु केही वर्षयता यहाँ आउन थालेका छन् । शिक्षण पेसामा आबद्ध रमेश विष्ट यस परिवर्तनका साक्षी मात्र होइनन्, सक्रिय सहभागी पनि रहेका छन् । उनी भन्छन्, 'छोटो समयमै यहाँको प्याराग्लाइडिङले सबै वर्गका मानिसलाई आकर्षित गरेको छ ।' सुर्खेतमा प्याराग्लाइडिङ विस्तार हुँदै जाँदा यसको दायरा विस्तार हुँदै गएको छ । व्यवसायी, विद्यार्थी, शिक्षक, डाक्टर, इन्जिनियर सबै पेसाका मानिस प्याराग्लाइडिङमा सहभागी हुन थालेका छन् । अब यो खेल सीमित समुदायका लागि मात्र नभएर सर्वसाधारणको पहुँचमा आएको छ । व्यवस्थापनमा गरिएको सुधार, सुरक्षा मापदण्डको पालना र प्रशिक्षित पाइलटको उपलब्धताले यो व्यवसायप्रति थप विश्वास बढाएको छ । पाँच वर्ष जापान बसाइ सकेर फर्किएका ‘सेन्से’ उपनामले परिचित स्थानीय एक युवाले जीवनमै पहिलोपटक प्याराग्लाइडिङ अनुभव लिन सुर्खेत आइपुगेको बताए । उनका लागि यो केवल मनोरञ्जन होइन, स्वदेशको प्रकृति र पर्यटनको सम्भावनासँग पुनः जोडिने अवसर पनि हो । उनले भने, 'उडानअघि हल्का डर भए पनि पछि मज्जा भयो ।' जीवन र रमेशझैँ प्याराग्लाइडिङ अनुभव बटुल्न पहिलोपटक आएकी निरु चौधरीको अनुभव पनि खासै फरक छैन । 'मैले प्याराग्लाइडिङ गरेको धेरै भिडियोहरु देखेकी थिएँ । पोखरा गएर गर्नलाई आर्थिक रुपले र समयको व्यस्तताले सम्भव थिएन । तर यहाँ दूरीले पनि नजिक भएकाले आएकी हुँ', उनले भनिन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ स्थित बयलकाँडा क्षेत्रमा निमार्ण गरिएको प्याराग्लाइडिङ गर्ने स्थान विस्तारै व्यवस्थित र योजनाबद्ध रूपमा विकास गर्दै लगेको वेलकम प्याराग्लाइडिङ कम्पनीका सञ्चालकको भनाइ छ । ‘कर्णाली समृद्धि २०८२’ को सन्दर्भसँगै यहाँ सस्तो र सुलभ दरमा प्याराग्लाइडिङ उडान सञ्चालन गरिएको सञ्चालक कम्पनीले जनाएको छ । जसले आन्तरिक पर्यटनलाई चलायमान बनाएको छ । यस अभियानको नेतृत्व अनुभवी प्रशिक्षक देशवीर जिमीले गरिरहेका छन् । जसले करिब १६ वर्षदेखि यस क्षेत्रमा निरन्तर काम गर्दै आएका छन् । उनको नेतृत्वमा सञ्चालन भइरहेको ‘वेलकम प्याराग्लाइडिङ’ कम्पनीमार्फत चार जना दक्ष पाइलटले दैनिक रूपमा व्यावसायिक उडान गरिरहेका छन् । समुद्र सतहदेखि करिब एक हजार ५०० मिटर उचाइमा रहेको बयलकाँडा प्राकृतिक रूपमा प्याराग्लाइडिङका लागि उपयुक्तस्थल मानिन्छ । यहाँको हावाको सन्तुलित बहावले उडानलाई सुरक्षित र सहज बनाउने गरेको जिमीको भनाइ छ । जीमीका अनुसार बयलकाँडाबाट उडान भरेपछि वीरेन्द्रनगर–१ स्थित रेडियो नेपाल अगाडिको खुला फाँटमा सुरक्षित अवतरणको व्यवस्था गरिएको छ । प्याराग्लाइडिङको सम्पूर्ण अनुभव तीन चरणमा विभाजित हुने उनी बताउँछन् । टेकअफ, फ्लाइङ र ल्यान्डिङ । केही मिनेटको यो उडानले सहभागीलाई जीवनभर सम्झिने अनुभव दिन्छ । प्याराग्लाइडिङ फस्टाउँदै एपछि स्थानीय व्यवसायमा पनि यसको सकारात्मक प्रभाव देखिन थालेको छ । होटल, रेष्टुराँ, यातायात र गाइड सेवामा संलग्न व्यक्तिहरूको आम्दानी बढ्न थालेको छ । यसै सन्दर्भमा आन्तरिक राजस्व कार्यालय सुर्खेतका प्रमुख चक्रप्रसाद ढुङ्गानाले कर्णाली प्रदेशको आर्थिक विकास र पर्यटन प्रवर्द्धनमा सुर्खेतमा सञ्चालन हुँदै आएको प्याराग्लाइडिङ गतिविधिले महत्त्वपूर्ण योगदान पुर्याएको बताए । उनका अनुसार प्याराग्लाइडिङले प्रदेशको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गरेको छ । सुर्खेतको आकाशमा उडिरहेका प्याराग्लाइडिङ केवल साहसिक खेलको विस्तार मात्र होइन, यो त कर्णालीको पर्यटन विकासमा सम्भावनाको सङ्केत पनि हो । रासस
सानो लोकल गोलभेँडा किलोको ३६ रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३६, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४४, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४८, आलु रातो प्रतिकिलो रु २४, आलु रातो (भारतीय) प्रतिकिलो रु २४ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३७ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ३५, बन्दा (लोकल) प्रतिकिलो रु ६०, काउली स्थानीय प्रतिकिलो रु ५०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ७०, काउली स्थानीय (तराई) प्रतिकिलो रु ६०, रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ५० र भन्टा डल्लो प्रतिकिलो रु ७० कायम भएको छ । त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु १००, मटरकोसा प्रतिकिलो रु ९०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ४०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १२०, टाटेसिमी प्रतिकिलो रु १२०, भटमास कोसा प्रतिकिलो रु २५०, तीते करेला प्रतिकिलो रु ६०, लौका प्रतिकिलो रु ४०, परवर (लोकल) प्रतिकिलो रु १००, चिचिन्डो प्रतिकिलो रु ६०, घिरौँला प्रतिकिलो रु ५०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४५, भिन्डी प्रतिकिलो ७०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ७०, पिँडालु प्रतिकिलो रु ५० र स्कुस प्रतिकिलो रु ६० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ६०, पालुङ्गो प्रतिकेजी रु १२०, चमसुर प्रतिकिलो रु ११०, तोरीसाग प्रतिकिलो रु ४०, मेथी प्रतिकिलो रु ११०, हरियो प्याज प्रतिकिलो रु १२०, बकुला प्रतिकिलो रु ५०, च्याउ (कन्य) प्रतिकिलो रु १६०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । कुरिलो प्रतिकिलो रु ४५०, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु ८०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकेजी रु १२०, कोइरालो प्रतिकिलो रु ३७०, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु १६०, ग्याठकोभी प्रतिकिलो रु ५०, सेलरी प्रतिकिलो रु २००, सौफको साग प्रतिकेजी रु ११०, पुदिना प्रतिकिलो रु १३०, गान्टेमुला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १४०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु २५० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३२०, केरा प्रतिकेजी २६०, कागती प्रतिकेजी ३५०, अनार प्रतिकिलो रु ३८०, अङ्गुर (हरियो) प्रतिकिलो रु २३०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १६०, तरबुजा हरियो प्रतिकिलो रु ४५, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २५, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ५०, रुखकटहर प्रतिकिलो रु ११०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ९० र किबी प्रतिकिलो रु ४०० निर्धारण गरिएको छ । यसैगरी, एभोकाडो प्रतिकिलो रु ८००, अदुवा प्रतिकिलो रु १००, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी (हरियो) प्रतिकिलो रु १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ७०, माछे खुर्सानी प्रतिकिलो रु १००, खुर्सानी अकबरे प्रतिकिलो रु ४००, भेडे खुर्सानी प्रतिकिलो रु १२०, हरियो लसुन प्रतिकिलो रु १५०, हरियो धनियाँ प्रतिकिलो रु १५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १४०, छ्यापी सुकेको प्रतिकिलो रु १२०, छ्यापी हरियो प्रतिकिलो रु ९०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३१० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।
आजदेखि हरेक शनिबार सवारीसाधन मुक्त असन
काठमाडौं । काठमाडौं महानगरपालिकाले प्राचीन सहरी बस्ती असनको मौलिकता जोगाउन आजदेखि ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ । कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले उक्त कार्यक्रम कःमिलाछी (कमलाक्षी) चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा सञ्चालन हुने जानकारी दिइन् । अब हरेक शनिबार सञ्चालन हुने यो कार्यक्रम अवधिमा सवारीसाधन प्रवेश निषेध गरिनेछ । आफ्नो भौगोलिक तथा प्रशासनिक क्षेत्रभित्रका मूर्त, अमूर्त, प्राकृतिक तथा अभिलेख सम्पदाको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनका लागि कामपाले निरन्तर काम गरिरहेको छ । यसरी गरिने कामले काठमाडौंको सांस्कृतिक पहिचान, सहरभित्रका परम्परागत जीवनशैली, जात्रा पर्व, संस्कार संस्कृति पुस्तान्तरण हुँदै जाने अपेक्षा गरिएको छ । मानवीय तथा सवारी आवागमन चापका कारण पछिल्लो समय काठमाडौंका भित्री सहरी क्षेत्रमा व्यवस्थापकीय चुनौती थपिएका छन् । सांस्कृतिक तथा सामाजिक चलनलाई मौलिक स्वरूपमा निरन्तरता दिन कठिन हुन थालेको र काठमाडौँको पहिचानमा नकारात्मक प्रभाव पारेकाले कामपाले उक्त कार्यक्रम सञ्चालन गरेको कामपाको प्रवक्ता नवीन मानन्धरले बताए । शनिबार असन क्षेत्रमा सामाजिक तथा सांस्कृतिक, रैथाने ज्ञान तथा सीपको प्रदर्शनी, गायन, वादन तथा नृत्यलगायत क्रियाकलाप सञ्चालन हुनेछन् । त्यस क्षेत्रमा भएका जीवन्त मूर्त अमूर्त सम्पदा बचावट गर्ने, संरक्षण र प्रवर्द्धन गर्ने, परम्परागत धार्मिक, सांस्कृतिक, सामाजिक तथा परम्परागत व्यापारिक क्रियाकलापको प्रदर्शन र प्रवर्द्धनात्मक क्रियाकलाप सञ्चालन गरिने प्रवक्ता मानन्धरले जानकारी दिए । कार्यक्रम सञ्चालन अवधिमा जमलतर्फ कःमिलाछी (कमलाछी) सिंह ढोकाबाट असनतर्फ सवारी प्रवेश गर्न पाइने छैन । यस्तै भोटाहिटी कलश ढोकाबाट असनतर्फ प्रवेश पाइने छैन । वीर अस्पतालबाट महाबौद्ध स्तुपातर्फ सवारी प्रवेश निषेध हुनेछ । वटु गणेश र भोँसीको स्थित गणेश मन्दिरबाट महाबौद्ध स्तूपतर्फ प्रवेश पाइने छैन । इन्द्रचोकबाट सवारी प्रवेश रोकिनेछ । मच्छिन्द्र वहाल, मांस गल्लीबाट मोटरसाइकलसमेत प्रवेश रोकिनेछ । गोसिफबाट इनबहाल इनबहाल गणेश मन्दिर जान सकिनेछ । गणेश मन्दिरबाट पिलांतु गल्लीतर्फ प्रवेश निषेध हुनेछ । न्हकेटलाबाट असनतर्फ जान पाइने छैन । कान्तिपथतर्फ ज्याठा अन्नपूर्ण स्कुलबाट भमुलु गल्लीतर्फ प्रवेश रोकिनेछ । यो क्षेत्र भएर सवारी धनीहरुले वैकल्पिक मार्गको प्रयोग गर्नुपर्नेछ । शनिबारका दिन असन आउने आगन्तुकहरुले धरहरा भूमिगत पार्किङ, जमल वहाल, दरबार हाइस्कुल तथा अन्य तोकिएका स्थानमा सवारीसाधन राखेर पैदलयात्राबाट असन प्रवेश गर्नुपर्ने जनाइएको छ ।
चिया बजारमा 'जस्बिरे' ब्राण्डको उदय
काठमाडौं । वि.सं २०४२ मा पत्रकार तथा लेखक स्वर्गीय भैरव रिसाल स्विस सरकारको सहयोगमा सञ्चालित एक आलु खेतीसम्बन्धी परियोजनामा काम गर्न हालको इलाम नगरपालिका-४ जस्बिरे गाउँ पुगे। रिसालले इलाममा आलु खेती मात्रै सिकाएनन्, चिया रोप्न पनि सिकाए । त्यति खेर चिया खेतीबारे ज्ञान आर्जन गरेका स्थानीय सूर्य सुब्बालाई कुनै दिन आफ्ना छोराहरूले चिया उद्योग नै सञ्चालन गर्लान् भन्ने लागेको थिएन । तर अहिले उनका छोराहरूले सञ्चालन गरेको ‘जस्बिरे चिया प्रशोधन उद्योग’ चिया उद्योगका क्षेत्रमा ‘ब्रान्ड’ बनेको छ । सूर्यका चार भाइ छोरा हुन् । त्यसमध्येका जेठो र माइलो शरद र गृष्मले १० वर्षअघि जम्मा १४ लाख रुपैयाँ लगानीमा उद्योग सुरु गरेका थिए । हाल सो उद्योगको लगानी ८ करोड रुपैयाँ पुगिसकेको छ । उनीहरुले आफ्नो ६० रोपनी जमिनमा चिया खेती गरेका छन् । साथै, ४ सय रोपनी जमिन भाडामा लिएर चिया खेती गरेका छन् । गाउँका १८५ घरपरिवारले उत्पादन गर्ने चिया यही उद्योगमा आउँछ । वार्षिक ३० हजार केजी तयारी अर्थोडक्स चिया उत्पादन गर्दै आएको यस उद्योगले यस वर्षदेखि १ लाख केजी तयारी चिया उत्पादन गर्ने लक्ष्य लिएको छ । यहाँ उत्पादित चियाको मुख्य बजार नेपालसहित अमेरिका, जापान, फ्रान्स, चीन, नेदरल्याण्ड, डेनमार्क, र जर्मनीलगायतका देश हुन् । जस्बिरे चिया प्रशोधन उद्योग ब्रान्डका रुपमा स्थापित हुनुका पछाडि सुब्बा परिवारको अथक मेहनत उदाहरणीय छ । सूर्यका जेठा छोरा गृष्म उद्योगको बजार व्यवस्थापन गर्छन् । माइला शरद नेपालकै ‘बेस्ट टी मेकर’ हुन् । उनले काठमाडौंमा आयोजित ‘नेपाल टी च्यालेन्ज-२०२४’ मा ‘बेस्ट टि मेकर’को अवार्डसमेत प्राप्त गरेका थिए । उनले चिया बनाउन थालेको २० वर्ष भइसकेको छ । उद्योगमा उत्पादन हुने सबै किसिमका चिया शरदले बनाउने गर्छन् । साहिँला छोरा निर्विकल्पको काम उद्योगको प्राविधिक पाटो हेर्ने हो । मेसिन फेर्ने, बनाउने वा हटाउने सहितका काम उनको जिम्मामा छ । कान्छा छोरा विकल्प अष्ट्रेलियामा मार्केटिङ बारे अध्ययनरत छन् । गृष्मका छोरा कर्म पनि भर्खरै पढाइ सकेर उद्योगमा काम गर्न आएका छन् । उनको काम विदेशी पाहुनालाई चियाको बारेमा जानकारी दिनु हो । यहाँ सुनकेसरी, रेडपान्डा, कोठीडाँडा ब्युटीलगायत नामका ३५ भन्दा बढी प्रकारका अर्गानिक अर्थोडक्स चिया उत्पादन हुने गरेको छ । ‘उद्योगमा हामी परिवारका सदस्य सबै खटिएका छौँ,’ गृष्मले भने । हाल ७ हजार केजी ‘स्पेशल टी’ र अन्य सबै किसिमका गरी ३० हजार केजी तयारी चिया उत्पादन हुने गरेको गृष्म बताउँछन् । जस्बिरे चिया उद्योगको पहिचान ‘स्पेशल टी’ हो । यस उद्योगमा ‘स्पेशल टी’ मात्र वार्षिक ७ हजार केजी उत्पादन हुँदै आएको छ । ‘एक वर्षमा स्पेशल टी मोटामोटी ७ हजार केजी उत्पादन हुन्छ । सुइरोबाट मात्र उत्पादित २ हजार केजी हुन्छ । किनकी त्यसलाई धेरै मेहनत पर्छ,’ माइला छोरा शरदले भने, ‘अरु ‘स्पेशल टी’ एक पात एक सुइरो, दुई पात एक सुइरो, तीन वा चार पात एक सुइरोको फरक स्वाद हुन्छ । फरक सिजन, मौसम र उचाइअनुसार उत्पादन हुने चियाको स्वाद फरक हुन्छ । मूल्य पनि फरक हुन्छ ।’ उनका अनुसार विश्व बजारमा ‘स्पेशल टी’ को माग धेरै छ । यहाँ उत्पादन भएको ‘स्पेशल टी’ उद्योगले प्रतिकेजी १५ हजार रुपैयाँमा बिक्री गर्छ । दराज अनलाइनमा त्यही चियाको मूल्य ३५ हजार रुपैयाँ प्रतिकेजी रहेको छ । उनका अनुसार विदेशमा सोही चियाको प्रतिकेजी मूल्य १ लाख रुपैयाँ नेपालीसम्म पर्छ । गत वर्षसम्म उद्योगको क्षमताले माग धान्न सकेको थिएन । तर, यसवर्ष उद्योगमा पूर्वाधार र प्रविधि थपिएको छ । अब २५ हजार केजी तयारी चिया उत्पादन गर्दै आएको उद्योगले वार्षिक एक लाख केजी तयारी चिया उत्पादन गर्ने तयारी थालेको छ । ‘यसअघि ८ करोड रुपैयाँसम्मको कारोबार थियो, यस वर्षदेखि बढ्छ । वार्षिक एक लाख केजी तयारी चिया उत्पादन गर्न उद्योगको क्षमता बढाएका छौँ,’ गृष्मले भने, ‘उद्योगमा नियमित काम गर्ने २६ जना हुनुहुन्छ । स्पेशल टी भएकाले मेसिनभन्दा बढी हातकै काम हुन्छ । टिप्ने, केलाउने जस्ता काम भएकाले महिला कामदार बढी हुनुहुन्छ ।’ त्यसो त यो सफलताको कथामा छैन । दुई वर्षअघि उद्योग जलेर ध्वस्त भएको तीतो कथा पनि शरदले सुनाए । २०८१ फागुन १३ गते उद्योगमा आगलागी हुँदा ८ करोड रुपैयाँ मूल्य बराबरको क्षति भएको थियो । उनका अनुसार ४ करोड बराबरको अर्गानिक अर्थोडक्स तयारी चिया र त्यति नै मूल्यको भौतिक संरचना जलेर नष्ट भएको थियो । विद्युत् सर्ट भई आगो लाग्दा उद्योग पूर्ण रूपमा जलेको थियो । ‘पुनः शून्यबाट उठ्नुपर्ने अवस्था भएकाले हाल बैंकको ऋण ४ करोड रुपैयाँ छ,’ उनले भने । जस्बिरे गाउँका सबै घरपरिवारको मुख्य आयस्रोत चियाखेती नै हो । ‘गाउँमै उद्योग छ । नबिक्ला की भन्ने पीर छैन । अन्य खेती छोडेर गाउँ नै चियामय बनाइयो,’ स्थानीय किसान मिलन मुखियाले भने, ‘सुब्बा परिवारको उद्योगले हामी गाउँलेलाई झन् सजिलो भएको छ ।’ जस्बिरेमा चिया रोप्नुपर्छ भन्ने सुरुआत लेखक तथा पत्रकार स्व भैरव रिसालले गरेका हुन् । उनी पहिलोपटक विसं २०४२ मा जस्बिरे आएका थिए । ‘भैरव सरले हामीलाई आलु रोप्ने उन्नत विधि सिकाउनुभयो । उहाँकै सक्रियतामा यहाँ चिया विस्तार आयोजनाको अवधारणा सुरु भयो,’ सूर्य सुब्बाले भने, ‘त्यसपछि जस्बिरेमा चिया विस्तार आयोजना कार्यालय हुँदै देशमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड स्थापना भयो । भैरव सरले यहाँ आएर आलु, चिया खेती गर्न मात्र होइन, गाउँमा विकासको लहर भित्र्याएर जानुभएको थियो ।’ त्यसो त जस्बिरे गाउँ र चियाको इतिहास सुब्बा परिवारसँग जोडिएको छ । राणाकालमा जस्बिर सिंह सुब्बाको नामबाट जस्बिरे गाउँ रहेको बताइन्छ । तिनै जस्बिर सिंह, सूर्य सुब्बाका हजुरबुबा हुन् । तत्कालीन राणाहरू सदरमुकाम स्थापनाका लागि विभिन्न ठाउँ हुँदै कुटीडाँडासम्म आइपुगेका थिए । उनीहरूसँगै आएका विभिन्न जातजातिका मानिसमध्ये जस्बिर सुब्बा पनि एक थिए । अरू सबै फर्किए, तर जस्बिर सुब्बा भने त्यहीँ बसिरहे । समय बित्दै जाँदा उनको बसोबास रहेको ठाउँ ‘जस्बिरे’ नामले चिनिन थालेको इतिहासमा पाइने पत्रकार महासङ्घ इलामका पूर्वअध्यक्ष सटेन्द्र जबेगुले बताए । उद्यमी गृष्मका अनुसार, चिया तीन प्रकारको हुन्छन् । सिटिसी, अर्थोडक्स र स्पेशल । सिटिसी मधेसमा उत्पादन मात्र हुन्छ । अर्थोडक्स पहाडमा हुन्छ । अन्तर्राष्ट्रिय बजारमा बढी माग हुने अर्गानिक स्पेशल टी हो । ‘जस्बिरेमा चिया बुझ्न देश, विदेशका पाहुना आउँछन् । हामी उत्पादन, प्रशोधन र मार्केटिङसम्मका कुरा सिकाएर पठाउँछौँ,’ उनले भने । उनीहरू जिल्लाकै सफल र उदाहरणीय उद्यमी रहेको इलाम नगरपालिकाका नगर प्रमुख केदार थापाले बताए । ‘हामीले धेरै अनुदान दिएर होइन । आफ्नै बलबुता र अध्ययनले स्थापित हुनुभएको हो,’ प्रमुख थापाले भने । सरकारको अनुदानभन्दा पनि आफैँ गर्नुपर्छ भन्ने हिम्मत आवश्यक रहेको गृष्मको भनाइ छ । ‘हामीले यस्तो चिया उत्पादन गर्छौं भन्ने कुरा संसारका मान्छेलाई थाहा छैन । त्यो काम हाम्रो पहुँचले भ्याउँदैन । यस्तो कुराचाहिँ सरकारले मार्केटिङ गरिदिए हुन्थ्यो जस्तो लाग्छ,’ उनले भने, ‘अनुदानका नाममा एक बेला उन्नती परियोजनाले हामीलाई ५० प्रतिशत अनुदान दियो । त्यो बेला हाम्रो उद्योग सानो थियो । हामीलाई सतप्रतिशत अनुदान पाए जस्तै भयो । हामीलाई ७० लाख रुपैयाँ जति अनुदान दिइएको थियो ।’
महिलालाई आत्मनिर्भर बनाउँदै सहकारी, १० लाखको दुग्धजन्य उत्पादन
काठमाडौं । तनहुँको देवघाट गाउँपालिका-५ चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाले दुग्धजन्य उत्पादन बिक्री गर्न प्रत्येक साताको एक दिन मेला सञ्चालन गर्न थालेको छ । गाउँपालिकाको एकमात्र महिला सहकारी संस्थाको रुपमा रहेको उक्त सहकारीले सदस्य महिलाहरूको आयआर्जन र आर्थिक समृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोहीअनुसार सदस्यहरूद्वारा उत्पादित दुग्धजन्य वस्तु तथा कृषि उपज प्रवर्द्धन र बिक्री गर्न प्रत्येक साताको शुक्रबार मेला सञ्चालन गर्न थालेको हो । मेलामार्फत दुग्धजन्य पदार्थ बिक्री गरिने सहकारीका अध्यक्ष सावित्री न्यौपानेले बताइन् । सहकारी संस्थाकी व्यवस्थापक सङ्गीता ओझा भुर्तेलले मेलाका दिन दुग्धजन्य वस्तुको बिक्रीमा विशेष छुट दिइने जानकारी दिइन् । उनका अनुसार मेलामा दूध, दही, पनिर, कुल्फी, घ्यु, मोही, लस्सी, पनिर मःम, पनिर पकौडा, घ्यूमा पकाएको सेलरोटी, दही पुरी तथा स्थानीय अर्गानिक कृषिउपज वस्तुहरु बिक्री गरिन्छ । देवघाटका महिलाहरूले सञ्चालन गरेको उक्त सहकारीले बचत तथा ऋणको कारोबारसँगै दूध सङ्कलन, दुग्धजन्य वस्तुको उत्पादन, डेरी सञ्चालन, पशुपालन, तरकारी खेती तथा सामूहिक नगदेबाली खेतीजस्ता आयआर्जनमा सदस्यहरूलाई आबद्ध गराउँदै आएको छ । सहकारीमा हाल दैनिक ६०० लिटरभन्दा बढी दूध सङ्कलन हुँदै आएको छ । सङ्कलित दूधलाई आफ्नै उद्योगबाट विभिन्न वस्तु बनाई बिक्री गर्दै आइरहेको छ । सहकारीमा हाल ८१९ जना शेयर सदस्य छन् । सहकारीमा देवघाटको वडा नम्बर ५ तथा वडा नम्बर ४ र १ का महिलाहरू सदस्य छन् । सेयर सदस्यमध्ये अधिकांश पशुपालनमा संलग्न छन् । सेयर सदस्यहरूले उत्पादन गरेको दूध सहकारीले खरिद गरी दुग्धजन्य वस्तुहरू उत्पादन गरी बिक्री गर्दै आएको छ । सहकारीको आफ्नै चक्रवर्ती डेरी उद्योगबाट उत्पादित दुग्धजन्य वस्तुहरू चितवनको नारायणगढ, भरतपुर, मुग्लिङ, हेटौंडा, कावासोती, गैँडाकोटलगायतका बजारहरूमा डेरी पसलमार्फत बिक्री हुँदै आएको छ भने सहकारीको भवनबाट पनि उल्लेख्य मात्रामा बिक्री हुँदै आएको व्यवस्थापक ओझाले बताइन् । उनका अनुसार हाल उक्त डेरी उद्योगमार्फत मासिक १० लाख रुपैयाँको दुग्धजन्य उत्पादनको कारोबार हुँदै आएको छ । सहकारीलाई देवघाट गाउँपालिकाले दूधमा प्रोत्साहन रकम उपलब्ध गराएको छ भने उत्पादित वस्तुहरूको बजारीकरणमा हेफर इन्टरनेशनल नेपालले सहयोग गर्दै आएको छ ।
कसैको हार वा जित होइन, एकताबद्ध भएर १५औं महाधिवेशन सम्पन्न गर्छौं : महामन्त्रीद्वय
काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धि विवादमा दिएको निर्णयलाई महामन्त्री गुरुराज घिमिरेले न्यायपूर्ण भएको टिप्पणी गरेका छन् । कांग्रेसका सदस्यले आजसम्म देशमा विधि र पद्धतिका लागि अनवरत गरेको संघर्षको प्रतिफल भएको उनको भनाइ छ । ‘यस निर्णयले सबैको आत्मसम्मान र योगदानको कदर गरेको छ । यो कसैको हार वा जित होइन । अब हामी नेपाली कांग्रेसका सबै साथी एकताबद्ध भई पार्टीको १५औं महाधिवेशनलाई उत्साह र एकताका साथ सम्पन्न गर्न केन्द्रित हुनुपर्छ,’ उनले भने । विगतका सम्पूर्ण वादविवादलाई विस्मृतिमा राखेर कांग्रेसको आन्तरिक एकतालाई सुदृढ पार्दै अघि बढ्नुपर्ने उनले बताए । महामन्त्री प्रदीप पौडेलले कांग्रेसको आधिकारिकता सम्बन्धमा सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने बताए । उनले भने, ‘यस फैसला कसैका लागि पनि हार वा जितको विषय हुनुहुँदैन । एउटाको जीत वा अर्काको हारका रूपमा व्याख्या गरेर पार्टी एकता खल्बलिने वातावरण आउन नदिन हामी सबै सचेत र सजग हुनु अहिलेको अवस्थामा अनिवार्य आवश्यकता हो ।’
आँखा स्वास्थ्य सेवामा ‘डिजिटल’ युगको सुरुवात
काठमाडौं । नेपालको आँखा स्वास्थ्य क्षेत्रमा नवप्रवर्तन, गुणस्तर र पहुँच विस्तारमा नयाँ मानक स्थापित गर्ने ध्येयले विराटनगर आँखा अस्पतालमा अत्याधुनिक ‘डिजिटल ट्रेनिङ हब’ सञ्चालन ल्याइएको छ । नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित सो अस्पतालमा अर्बिस इन्टरनेशनलसँगको सहकार्यमा लहान आँखा तथा कान स्वास्थ्य सेवा प्रणाली (लिक्स) अन्तर्गत पहिलो पटक ‘डिजिटल ट्रेनिङ हब’ थालनी गरिएको हो । नेपालमै पहिलो पटक स्थापना गरिएको सो ‘हब’ले विशेष गरेर आँखा स्वास्थ्य सेवामा परम्परागत शिक्षण पद्धतिबाट प्रविधिमा आधारित आधुनिक चिकित्सा तालिमतर्फ ऐतिहासिक फड्को मार्ने अपेक्षा गरिएको छ । अत्याधुनिक ‘सर्जिकल सिमुलेटर’, ‘वेट ल्याब’, ‘भर्चुअल लर्निङ सिस्टम’ तथा ‘साइबर साइट’ मार्फत उपलब्ध विश्वव्यापी टेलि-मेन्टोरिङ सुविधासहित चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले अझ सुरक्षित, भरपर्दो र आत्मविश्वासका साथ सो तालिम केन्द्रबाट सीप विकास गर्न सक्ने जनाइएको छ । लिक्स परियोजनाअन्तर्गत सञ्चालन हुने तालिममा नेपालभरिका आँखा अस्पताल, मेडिकल कलेज, निजी तथा सरकारी स्वास्थ्य संस्थामा कार्यरत जनशक्तिका साथै अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाका पेशाकर्मीहरूकाे समेत सहभागिता रहनेछ । तालिमहरू विश्वस्तरका अनुभवी विशेषज्ञहरूद्वारा सहजीकरण गरिने नेपाल नेत्र ज्योति संघले जनाएको छ । यस केन्द्रले स्वास्थ्य सेवा सुदृढीकरणसँगै अन्तर्राष्ट्रिय प्रशिक्षार्थी आकर्षित गरी चिकित्सा शिक्षा पर्यटन प्रवर्द्धन गर्ने तथा महँगो विदेश तालिममा निर्भरता घटाउने अपेक्षा गरिएको छ । साथै यससँगै विराटनगर आँखा अस्पताल एक अग्रणी क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तालिम केन्द्रका रूपमा स्थापित हुने विश्वास गरिएको छ । लहान आँखा तथा कान स्वास्थ्य सेवा प्रणालीका (लिक्स) प्रमुख प्रशासक सुधीर ठाकुरका अनुसार लिक्स अन्तर्गत सञ्चालित यस सञ्जालले दुई अस्पताल तथा ४० भन्दा बढी आँखा उपचार केन्द्रमार्फत शहरदेखि दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्दै आएको छ । सन् २०२५ मा मात्र १४ लाखभन्दा बढी आँखा सेवा प्रदान गरिएको छ, यसमा १ लाख ३२ हजारभन्दा बढी दृष्टि पुनःस्थापना शल्यक्रिया तथा ७ लाख ६४ हजारभन्दा बढी सामुदायिक सेवा समावेश छन् । स्थापना कालदेखि हालसम्म १ करोड ६६ लाखभन्दा बढी सेवा र झण्डै २५ लाख शल्यक्रिया भइसकेका छन् । नेपालको आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धि हासिल हुने अपेक्षा गरिएको सो ‘हब’को कोशी प्रदेशका स्वास्थ्य मानबहादुर लिम्बू तथा अर्बिस इन्टरनेशनलकी अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत क्याथलिन ए. शेरविनले हालै संयुक्त रूपमा शुभारम्भ गरे । सो अवसरमा नेपाल नेत्र ज्योति सङ्घका अध्यक्ष प्राडा चेतराज पन्त, महासचिव भरतबहादुर चन्द, कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्र, विराटनगर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पद्मनारायण चौधरी तथा अर्बिस इन्टरनेशनल भारतका देशीय निर्देशक डा ऋषिराज बोहरा लगायतको उपस्थिति थियो । ‘डिजिटल ट्रेनिङ हब’ले नेपालको आँखा स्वास्थ्य क्षेत्रमा नवप्रवर्तन, गुणस्तर र पहुँच विस्तारमा नयाँ मापदण्ड स्थापित गर्दै रोकथामयोग्य अन्धोपन न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
तीन पटक म्याद थप्दा पनि पूरा हुन सकेन अस्पताल भवन
काठमाडौं । तनहुँको व्यास नगरपालिका-३ दमौलीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र परिसरमा नमूना अस्पतालको भवन निर्माण निर्माणाधीन अवस्थामा छ । पटक-पटक म्याद थपे पनि गण्डकी प्रदेशको गौरवको योजनाको रूपमा निर्माणाधीन नमूना पशु अस्पतालको भवन निर्माण पूरा हुन सकेको छैन । प्रदेश सरकारको प्राथमिकताको योजनाका रूपमा रहेको नमूना पशु अस्पताल भवन निर्माण पूरा गर्ने उद्देश्यले चौंथो पटक निर्माण अवधि थपिएको छ । अस्पतालको केही निर्माण भइरहेकाले निर्माण अवधि चौंथो पटक थप गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख रविनसन अधिकारीले बताए । उनका अनुसार चौंथो पटक वि.सं २०८३ जेठ १० गतेसम्मका लागि अवधि थप गरिएको छ । हालसम्म ७७ प्रतिशत भौतिक प्रगति भएको छ भने ५४.३४ प्रतिशत आर्थिक प्रगति भएको विज्ञ केन्द्रले जनाएको छ । वि.सं २०७८ साउन १२ गते निर्माण कम्पनीले वि.सं २०७९ पुस १२ मा नमूना अस्पतालको भवन निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । सम्झौता अवधिमा निर्माण सम्पन्न हुन नसकेपछि तेस्रो पटक वि.सं २०८२ जेठ २१ को निर्णयअनुसार वि.सं २०८२ कात्तिक मसान्तसम्मका लागि म्याद थप गरिएको थियो । सो अवधिमा पनि पशु अस्पतालको भवन निर्माण पुरा हुन नसकेपछि वि.सं २०८३ जेठ १० गतेसम्मका लागि म्याद थप गरिएको हो । तीन पटक समयावधि थपिँदा पनि पूरा हुन नसक्दा पशुपालक किसानले पाउनुपर्ने सेवा प्रवाहमा सकस भएको अधिकारीले बताए । पटकपटक म्याद थपिँदा पनि उल्लेख्य प्रगति हुन नसक्दा आयोजना नै अलपत्र अवस्थामा पुगेको हो । म्याद थप गरिएपछि चालु आर्थिक वर्षमा २० लाख रूपैयाँ निर्माण कम्पनीलाई भुक्तान गरिएको प्रमुख अधिकारीले जानकारी दिए । उनका अनुसार भवन अभावले गर्दा अस्पताललाई आवश्यक पर्ने उपकरण जडान र सेवा विस्तारको प्रक्रिया अगाडि बढिरहेको छ । तनहुँ र कास्की जिल्लामा एकैसाथ नमूना पशु अस्पताल निर्माण सुरू गरिएको थियो । कास्कीमा भने भवन निर्माण सम्पन्न भई सेवा प्रवाह भइरहेको केन्द्रले जनाएको छ । गण्डकी प्रदेश सरकारले भ्याट बाहेक रु चार करोड ९० लाखको लागतमा ठेक्का सम्झौता गरेको थियो । बहुवर्षीय योजनाअन्तर्गत अस्पतालको भौतिक संरचना क्रमशः विस्तार गर्दै लैजाने लक्ष्य राखिएको भएपनि आवश्यक संरचनासमेत निर्माण हुन सकेको छैन । पूर्वाधारसहित पूर्ण सञ्चालनका लागि करिब १० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । साढे दुई तले भवनमा आकस्मिक, शल्यक्रिया, रेडियोलोजी र प्याथोलोजीसहित २३ वटा कोठा रहनेछ । गुणस्तरीय पशु चिकित्सा सेवा उपलब्ध गराउने उद्देश्यले प्रदेशको मध्यभागमा पशु अस्पतालको भवन निर्माण थालिएको हो । पछिल्लो पटक थपिएको निर्माण अवधिमा अस्पताल भवन निर्माण भएमा तनहुँलगायत लमजुङ, गोर्खा, मनाङ, कास्की, नवलपुर, स्याङ्जा जिल्लाका सेवाग्राहीले पशु सेवा सहज रूपमा पाउनेछन् ।