चार जनाको शव भेटियो, निम्स पुर्जासहित ६ जना अझै बेपत्ता
काठमाडौं । पाकिस्तानस्थित ८ हजार ०४७ मिटर अग्लो ब्रड पिक हिमालमा गएको हिमपहिरोमा परेका आरोहीमध्ये चार जनाको शव फेला परेको छ भने नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित ६ जना अझै बेपत्ता रहेका छन् । जुलाई ३० (बिहीबार) ब्रड पिकमा गएको हिमपहिरोपछि पाकिस्तानको अल्पाइन क्लबले सरकारी निकाय तथा सम्बन्धित एजेन्सीसँग समन्वय गरी खोज तथा उद्धार अभियान जारी रहेको जनाएको छ । क्लबका अनुसार हालसम्म चार जनाको शव फेला परिसकेको छ भने बाँकी ६ जनाको खोजी भइरहेको छ । अल्पाइन क्लब अफ पाकिस्तानले हिमपहिरोमा परेका सबै आरोही, उनीहरूका परिवार तथा विश्वभरका पर्वतारोहण समुदायप्रति गहिरो समवेदना व्यक्त गर्दै सम्बन्धित निकायबाट आधिकारिक पुष्टि हुनासाथ थप विवरण सार्वजनिक गरिने जनाएको छ । हिमपहिरोमा परेका आरोहीहरूमा ओमानकी नाधिरा अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ, संयुक्त राज्य अमेरिकाकी म्यालोरी गाइस तथा नेपालका निर्मल पुर्जा ‘निम्स दाइ’, पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नावाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा रहेका छन् । उद्धार टोलीले प्रतिकूल मौसमका बीच बेपत्ता आरोहीहरूको खोजीलाई निरन्तरता दिएको जनाएको छ ।
सामाजिक सद्भावका लागि धार्मिक अगुवासँग रवि लामिछानेको छलफल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले विभिन्न धार्मिक समुदायका अगुवासँग छलफल सुरु गरेका छन् । शुक्रबार पार्टीको संसदीय दल कार्यालयमा लामिछानेले मुस्लिम समुदायका मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग भेटवार्ता गरेका हुन् । त्यसैगरी उनले विश्व हिन्दु महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयालसँग पनि छलफल गरेका छन् । छलफलका क्रममा सुनसरी, सिराहालगायत देशका विभिन्न स्थानमा भइरहेका प्रदर्शन र तनावपूर्ण अवस्थाबारे कुराकानी भएको र सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न दुवै समुदायका अगुवाले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिइएको रास्वपाले जनाएको छ । सभापति लामिछानेले धार्मिक अगुवाहरूलाई प्रदर्शन रोक्न तथा शान्ति, संयमता र आपसी सद्भाव कायम राख्न सार्वजनिक अपिल गर्न आग्रह गरेका छन् । पछिल्ला घटनाक्रमका कारण विभिन्न जिल्लामा उत्पन्न तनावलाई संवाद र सहकार्यमार्फत समाधान गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् ।
ब्रड पिक हिमपहिरोः नेपालीसहित दुई आरोहीको मृत्यु पुष्टि
काठमाडौं । ब्रड पिकको हिमपहिरोमा पुरेर एक नेपालीसहित दुई जनाको मृत्युको पुष्टि भएको छ । ओमानकी नाधिरा अल हार्थी र पुरबहादुर गुरुङ युक्ताको मृत्यु भएको हो । अल्पाइन क्लबका अनुसार हार्थीको शव फेला परेकाले हेलिकोप्टरमार्फत स्कर्दु ल्याउने प्रक्रिया भइरहेको छ। गुरुङ ‘युक्ता’ को शव ढुवानी गर्ने व्यवस्था भइरहेको छ। अन्य वेपत्ता आरोहीहरूको आधिकारिक रूपमा पुष्टि भएपछि मात्र सार्वजनिक गरिने क्लबले जनाएको छ। वेपत्ता रहेका आरोहीहरूको खोज तथा उद्धार अभियान जारी रहेको क्लबले जनाएको छ ।
मधेशका ११ परीक्षा केन्द्रमा एमबीएस परीक्षा स्थगित
काठमाडौं । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्काय, परीक्षा नियन्त्रण महाशाखा मधेश प्रदेशका ११ वटा परीक्षा केन्द्रमा सञ्चालन हुने एमबीएस दोस्रो सेमेस्टरको परीक्षा स्थगित गरेको छ । त्यहाँ देखिएको असहज परिस्थतीका कारण परीक्षा स्थगीत गर्नुपरेको जनाएको छ । शुक्रबार सूचना जारी गर्दै आज सञ्चालन हुने मार्केटिङ म्यानेजमेन्ट विषयको परीक्षा ती केन्द्रहरूमा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जनाएको हो । महाशाखाका अनुसार स्थगित गरिएको विषयबाहेक अन्य सबै विषयको परीक्षा पूर्वनिर्धारित तालिकाअनुसार नै सञ्चालन हुनेछ । साथै, स्थगित गरिएका परीक्षा केन्द्रबाहेक अन्य सबै केन्द्रमा पनि परीक्षा यथावत् सञ्चालन गरिने जनाइएको छ । स्थगित गरिएका परीक्षा केन्द्रहरूमा रामस्वरूप रामसागर बहुमुखी क्याम्पस (जनकपुर), सर्लाही क्याम्पस (मलंगवा), जनज्योति बहुमुखी क्याम्पस (लालबन्दी), सूर्यनारायण सत्यनारायण मोरबैता यादव क्याम्पस (सिरहा) रहेका छन् । यस्तै जेएस मुरारका बहुमुखी क्याम्पस (लहान), श्री महेन्द्रनारायण निधि बहुमुखी क्याम्पस (राजविराज), नेसनल पिपुल कलेज (कञ्चनपुर–८, सप्तरी), जनज्योति बहुमुखी क्याम्पस (चन्द्रनिगाहपुर), गोरीशंकर यादव रौतहट क्याम्पस (गौर), सिमरा कलेज (बारा) र ठाकुरराम बहुमुखी क्याम्पस (वीरगञ्ज) रहेका छन् ।
पाँचबुँदे मागसहित माईतीघरमा लघुवित्त पीडितको सामुहिक आमरण अनसन जारी
काठमाडौं । विभिन्न पाँचबुँदे माग राख्दै लघुवित्त पीडितहरूले काठमाडौंको माईतीघर मण्डलामा शुरु गरेको सामुहिक आमरण अनसन शुक्रबार पनि जारी रहेको छ । ‘लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति’को नेतृत्वमा मङ्गलबारदेखि उक्त अनसन शुरु भएको हो । आन्दोलनरत पक्षले वित्तीय शोषणको अन्त्य र सामाजिक न्यायको प्रत्याभुति हुनुपर्ने भन्दै सरकारसमक्ष विभिन्न मागहरू अघि सारेका छन् । उनीहरूले सर्वोच्च अदालतको परमादेश बमोजिम लघुवित्त पीडितका तीनबुँदे असहमतिसहितको प्रतिवेदन तत्काल कार्यान्वयन गर्नुपर्ने मागलाई मुख्य प्राथमिकतामा राखेका छन् । संघर्ष समितिले जारी गरेको मागपत्रमा विद्यमान विशेष वित्तीय ऐन खारेज गरी मुलुकी देवानी संहितामा आधारित वित्तीय प्रणाली लागू गर्नुपर्ने उल्लेख छ । त्यसैगरी, गरिब, मजदुर, सुकुम्बासी र किसानलाई ब्याज छुटसहित निःशुल्क ऋणको व्यवस्था गर्नुपर्ने तथा नागरिकको आवश्यकता र क्षमताका आधारमा रोजगारी एवं उचित पारिश्रमिक सुनिश्चित गर्नुपर्ने माग समेत गरिएको छ । आन्दोलनकारीहरूले निजी बैंक तथा वित्तीय संस्थाहरूको अन्त्य गरी मुलुकमा समाजवादी अर्थ व्यवस्था कायम गर्नुपर्ने दीर्घकालीन माग समेत प्रश्तुत गरेका छन् । आफ्ना मागहरू पूरा नभएसम्म अनसन र आन्दोलनका कार्यक्रमहरूलाई निरन्तरता दिने संघर्ष समितिले जनाएको छ ।
अत्यधिक लो बिडिङ गरेर ठेक्का नलिन महासंघको आग्रह
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना सदस्य निर्माण व्यवसायीहरूलाई अत्यधिक न्यून अङ्क (लोबिडङ) मा बोलपत्र (टेन्डर) पेस नगर्न र आफूले काम सम्पन्न गर्न सक्ने उपयुक्त दररेटमा मात्र बोलपत्र हाल्न निर्देशन दिएको छ । मध्यपूर्वमा जारी युद्धका कारण गत फेब्रुअरी २८ देखि इन्धन, बिटुमिन लगायतका निर्माण सामग्रीहरूमा अप्रत्याशित एवम् अत्यधिक मूल्यवृद्धि भई समग्र पूर्वाधार निर्माण क्षेत्र धराशायी हुने अवस्था बनेको भन्दै महासंघले आफ्ना सदस्यहरूलाई ध्यानाकर्षण गराएको हो । महासंघका महासचिव शिवहरि घिमिरेद्वारा जारी ध्यानाकर्षण पत्रमा प्रचलित ऐन, नियम तथा नेपाल राष्ट्र बैंकको सूचकाङ्क अनुसार व्यवसायीहरूले पाउनुपर्ने मूल्य समायोजन नपाउँदा निर्माण व्यवसायीहरू थप आर्थिक मारमा परेको उल्लेख छ । पत्रमा हाल आह्वान भइरहेका ठेक्काहरू पुरानै जिल्ला दररेटमा इस्टिमेट गरिएको र बजारमा निर्माण सामग्रीहरूसमेत सहज रूपमा उपलब्ध नभएको वर्तमान स्थितिमा न्यून अङ्कमा बोलपत्र पेस गर्दा भविष्यमा गम्भीर आर्थिक जोखिमका साथै कानुनी र प्राविधिक जटिलताहरू आउन सक्ने चेतावनी दिइएको छ । महासंघले निर्माण कार्यलाई समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्नका लागि सम्पूर्ण व्यवसायीहरूलाई आयोजनाको अनिवार्य रूपमा स्थलगत भ्रमण गर्न, बोलपत्र कागजातहरूको गहन अध्ययन गर्न तथा सम्पूर्ण जोखिमको विश्लेषण गरेर मात्रै आफ्नो क्षमता अनुसारको उपयुक्त दररेटमा बोलपत्र पेस गर्न आग्रह गरेको छ ।
साउदीले बनायो १४ देशको सुरक्षा गठबन्धन
काठमाडौं । साउदी अरबले लाल सागरको सुरक्षाका लागि रियादमा १४ देश सम्मिलित नयाँ गठबन्धन गठन गरेको छ । साउदी अरबसहित १३ अन्य देशले संयुक्त वक्तव्यमा हस्ताक्षर गर्दै बाब अल–मन्देब जलडमरूमध्य, लाल सागर र अदनको खाडीको सुरक्षा सुनिश्चित गर्ने उद्देश्य व्यक्त गरेका छन् । इरान समर्थित हूती विद्रोहीहरूले साउदी अरबविरुद्ध समुद्री नाकाबन्दी जारी राखेको र हर्मुज जलडमरूमध्य पहिले नै बन्द रहेको अवस्थामा साउदीले यो कदम चालेको हो । गठबन्धनमा साउदी अरब, कुवेत, बहराइन, कतार, पाकिस्तान, टर्की, इजिप्ट, जोर्डन, यमन, बंगलादेश, नाइजेरिया, सुडान, जिबुटी र सोमालिया सदस्य छन्। गठबन्धनको प्रारम्भिक चार्टरको समीक्षा गर्न रियादमा बैठक आयोजना गरिएको थियो। बैठकमा ४३ देशका सैन्य प्रमुख तथा प्रतिनिधिहरू सहभागी भएका थिए । साथै युरोपेली संघ (ईयू) को प्रतिनिधिमण्डलले पनि प्रत्यक्ष वा भिडियो माध्यमबाट सहभागिता जनाएको थियो । साउदी रक्षा मन्त्रालयका अनुसार साउदी अरब यस गठबन्धनको संस्थापक राष्ट्र हुनेछ र यसको मुख्यालय रियादमा रहनेछ । गठबन्धनको संरचनामा संयुक्त कमाण्ड तथा नेतृत्व प्रणाली, संयुक्त सञ्चालन नियन्त्रण केन्द्र (जेओसीसी) र महासचिवालय रहनेछ । मन्त्रालयले आवश्यक आन्तरिक प्रक्रिया पूरा गर्ने अन्य देशका लागि पनि सदस्यता खुला रहने जनाएको छ । समुद्री आवागमनको स्वतन्त्रताको रक्षा गर्ने, बाब अल–मन्देब हुँदै सञ्चालन हुने अन्तर्राष्ट्रिय व्यापारिक मार्ग र ऊर्जा ढुवानीको सुरक्षा गर्ने, सदस्य राष्ट्रबीच गुप्तचर सूचना आदानप्रदान बढाउने, संयुक्त नौसैनिक अभ्यासमार्फत समन्वय सुदृढ गर्ने लगायतका गठबन्धनको मुख्य उद्देश्यहरू रहेको जनाइएको छ । साउदीका रक्षा मन्त्री राजकुमार खालिद बिन सलमानको अमेरिका भ्रमणपछि यो पहल अघि बढाइएको हो । वाशिङ्टनमा भएको भेटवार्तामा साउदीमाथि हूती विद्रोहीका आक्रमण तथा इरान समर्थित समूहहरूबाट इराक हुँदै हुन सक्ने सम्भावित आक्रमणबारे छलफल भएको थियो । इरान समर्थित हूती विद्रोहीहरूले जुलाई २० देखि साउदी अरबमाथि समुद्री नाकाबन्दी लागू गरेका छन् । त्यसयता उनीहरूले लाल सागरमा साउदीसँग सम्बन्धित जहाजहरूलाई लक्षित गर्दै आक्रमण गरिरहेका छन् । यसको प्रत्युत्तरमा साउदी अरबले यमनको होदेइदाह बन्दरगाहस्थित हूती अड्डाहरूमा हवाई आक्रमण गरेको छ । साउदीका अनुसार ती अड्डाहरू व्यावसायिक जहाजमाथि आक्रमण गर्न प्रयोग हुँदै आएका छन् । साउदी अरबको अर्थतन्त्र ठूलो मात्रामा तेल निर्यातमा निर्भर छ । हूतीहरूको नाकाबन्दीले ऊर्जा निर्यातमा गम्भीर असर पारेको छ, किनभने साउदीको अधिकांश तेल तथा ऊर्जा कारोबार बाब अल–मन्देब जलडमरूमध्य हुँदै हुन्छ । यो समुद्री मार्गबाट विश्व व्यापारको करिब १२ प्रतिशत हिस्सा ओसारपसार हुन्छ। मूल्यका हिसाबले पनि विश्व व्यापारको यति नै हिस्सा लाल सागरको उत्तरी किनारमा रहेको स्वेज नहर हुँदै आवतजावत गर्छ, जहाँ बाब अल–मन्देब जलडमरूमध्य जोडिन्छ । यदि जहाजहरूले यो मार्ग सुरक्षित रूपमा प्रयोग गर्न नसकेमा उनीहरूलाई अफ्रिकाको केप अफ गुड होप हुँदै लामो मार्ग अपनाउनुपर्छ । शिपिङ उद्योगका अनुसार यसले एशिया–युरोपबीच माल ढुवानीमा १० देखि १४ दिनसम्म अतिरिक्त समय लाग्ने र केही मार्गमा ढुवानी खर्च १५ देखि २५ प्रतिशतसम्म बढ्ने गरेको छ । यसैको प्रभावस्वरूप कच्चा तेलको मूल्य पनि बढेर प्रतिव्यारेल ९० अमेरिकी डलर नाघेको छ । (अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा तयार पारिएको सामग्री) अन्य पठनीय सामग्रीहरू : युद्धपछि रित्तिँदै अमेरिकी हतियार, ५८.६ अर्ब डलरको रेकर्ड मिसाइल सम्झौता ‘मोस्ट वान्टेड’ सूचीमा टेलिग्रामका संस्थापक पाभेल डुरोभ साउदीको परमाणु डिलपछि किन चर्चामा आयो पाकिस्तान ?
माइतीघरको डुबान अन्त्य गर्न छुट्टै ढल र पानी निकास प्रणाली बनाइने
काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले माइतीघरमण्डला क्षेत्रमा वर्षायाममा दोहोरिने डुबान समस्याको दीर्घकालीन समाधानका लागि ढल र आकाशेपानी निकासका लागि छुट्टाछुट्टै पाइप प्रणाली निर्माण गरिने बताएकी छन् । उनले अहिले अधिकांश स्थानमा ढल र वर्षाको पानी एउटै प्रणालीबाट बगाइने भएकाले सामान्यभन्दा बढी वर्षा हुनासाथ निकास प्रणालीले भार धान्न नसक्ने अवस्था सिर्जना भएको बताइन् । त्यस्ता समस्या हटाउन तत्कालीन र दीर्घकालीन समस्या समाधानका लागि महानगरले पहल गरिरहेको बताउँदै उनले त्यस्ता स्थानमा गुरूयोजना बनाएर काम गर्नुपर्ने आवश्यकता औँल्याइन् । कार्यवाहक उपप्रमुख डङ्गोलले दीर्घकालीन समाधानका लागि ढल र वर्षाको पानी व्यवस्थापनलाई छुट्टाछुट्टै प्रणालीमा रूपान्तरण आवश्यक रहेको बताउँदै सरोकारवाला निकायबीच समन्वय गरी यस्ता पूर्वाधार विकासमा लगानी बढाउनुपर्ने उनको भनाइ छ । सहरीकरणको तीव्र विस्तारसँगै पुरानो ढल प्रणालीले अहिलेको आवश्यकता धान्न नसकेको उल्लेख गर्दै कार्यवाहक प्रमुख डङ्गोलले दीर्घकालीन सोचका साथ आधुनिक वर्षा पानी व्यवस्थापन प्रणाली (स्टर्म वाटर ड्रेनेज) विकास गर्नुपर्नेमा जोड दिइन् । अतिक्रमणका कारण पनि यस्ता समस्या उत्पन्न हुने गरेको उनको तर्क थियो ।