विकासन्युज

‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

काठमाडौं । नेपाल आयल निगमले इन्धन खपतप्रति सचेत हुन उपभोक्तालाई आग्रह गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सोमबारदेखि शनिबार र आइतबार बिदा दिने निर्णयलाई उपभोक्ताले सहयोग गर्नुपर्ने निगमका प्रवक्ता मनोज ठाकुरले बताए । ‘बिदा पायौँ भनेर गाडी निकालेर घुम्न जानु भएन । जसरी भए पनि इन्धन खपत कम गर्नुपर्छ । यसमा जनताको पनि योगदान चाहिन्छ,’ प्रवक्ता ठाकुरले भने, ‘अहिले निगमलाई प्रतिलिटरमा १२० रुपैयाँ घाटा भइरहेको छ । सरकारको इन्धन खपत कम गर्न बिदा दिने निर्णय सकारात्मक छ । उपभोक्ताले पनि खपतमा सचेत हुँदै अति आवश्यकबाहेकका क्रियाकलापमा इन्धन प्रयोग गर्नु हुँदैन ।’ पेट्रोलियम पदार्थको आपूर्ति सङ्कट दिनप्रतिदिन बढ्दै गएपछि आजको मन्त्रिपरिषद् बैठकले सोमबारदेखि लागू हुने गरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थालाई दुई दिन बिदा दिने निर्णय गरेको हो । इन्धन खपत कम गर्न डिजेल तथा पेट्रोल प्रयोग गर्ने सवारी साधनलाई विद्युतीय सवारी साधनमा परिवर्तन गर्न कानुनी सुधार गर्ने सरकारको निर्णयबारे सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए । निगमको तथ्याङ्कअनुसार देशभर हरेक दिन २५ लाख लिटर पेट्रोल र ५० लाख लिटर डिजेल खपत हुँदै आएको छ । निगमका प्रवक्ता ठाकुरका अनुसार सरकारको यो निर्णयले इन्धन सङ्कट कम गर्न कति योगदान पुग्छ भन्ने यकिन गर्न आगामी एक हप्ता कुर्नुपर्नेछ । ‘बजारको माग बुझ्न केही समय लाग्छ, तर यसको प्रभाव पक्कै देखिन्छ । धेरै विद्यालय निजी छन् । तिनले सवारीसाधनमार्फत ठूलो मात्रामा इन्धन खपत गरिरहेका छन् । साथै एसईई परीक्षा जारी रहेकाले सवारी साधनको प्रयोग अझै उच्च छ । परीक्षा सकिएपछि खपतको यकिन तथ्याङ्क आउँछ,’ उनले भने । तत्कालका लागि सरकारको निर्णय ठीक छ, पर्याप्त छैन: अर्थशास्त्री सरकारको यो निर्णय तत्कालका लागि आवश्यक भएको अर्थशास्त्रीहरूको राय छ । तर दीर्घकालीन समाधान छिट्टै खोज्नुपर्ने उनीहरूको सुझाव छ । अर्थशास्त्री इसान खरेलले यो निर्णयलाई अपरिहार्य मानेका छन् । उनले तत्काल थप अन्य उपाय अपनाउन आवश्यक रहेको औंल्याए । ‘अहिलेको अवस्थामा गर्नै पर्ने हो, अन्य विकल्प छैन । सरकारले इन्धनमा लिने कर केही प्रतिशत घटाउनुपर्छ । यसले उपभोक्तालाई राहत दिन्छ । तात्विक भिन्नता नदेखिन पनि सक्छ, तर थोरबहुत सहयोगी हुन्छ । केही भए पनि बचत हुन्छ,’ उनले भने । अर्थशास्त्री खरेलले सार्वजनिक यातायातलाई प्रोत्साहन, विद्युतीय सवारी साधनको विस्तार र भारतसँगको सीमा मूल्य मिल्ने गरी अतिरिक्त लागत कटौती गर्नुपर्ने सुझाव दिएका छन् । अर्का अर्थशास्त्री डा। सन्तोष अधिकारीले यो निर्णय तत्कालका लागि उचित भएको प्रतिक्रिया दिए । ‘अहिलेको अभावको सन्दर्भमा यो ठिकै छ । यसले इन्धनमा केही सहजता ल्याउँछ,’ उनले भने, ‘नेपालमा सरकारी बिदा पहिले नै धेरै छ । थप विदाले अध्यापन र उत्पादकत्वमा नकारात्मक असर पार्न सक्छ ।’

प्राडा मानन्धरको आविष्कार: ‘काचाल्का’ अर्थात् थोरै पानीले धेरै सिँचाइ गर्ने

सनद अधिकारी काठमाडौं । कृषिलाई व्यावसायिक बनाइ कम लागतमा बढी उत्पादन सुनिश्चित गर्नु अहिलेको आवश्यकता हो । नेपालका विभिन्न कृषि विश्वविद्यालय र अनुसन्धान केन्द्रले कृषिमा अध्ययन अनुसन्धान गर्दै आएका छन् । तर अधिकांश अनुसन्धानका परिणाम व्यवहारमा लागु नहुँदा ती अनुसन्धानमै सीमित भएका पनि छन् । कृषि उत्पादनका लागि मल र बिउ उपलब्ध भएपनि सिँचाइ प्रणालीको उपयुक्त प्रयोग बिना उत्पादन सम्भव छैन । यसका लागि पानीको मात्रा, माटोको प्रकार, र बालीअनुसार सिँचाइ गर्ने तरिका निर्धारण गर्नु आवश्यक हुन्छ । कृषिलाई व्यावसायिक बनाउने उद्देश्यले, उपलब्ध प्रविधि र उपकरणलाई स्थानीय स्तरमा प्रयोगयोग्य र व्यवहारमै आधारित बनाउनु जरुरी छ । विकास भएको तर व्यापक रूपमा प्रयोगमा नआएको प्रविधि जसले उत्पादन क्षमता र लाभ दुवै बढाउँछ । त्यसको उदाहरण हो काचाल्का सिँचाइ प्रविधि (डिस्क्रेट इरिगेट सिस्टम) । सामान्यतया ट्याङ्की वा ड्रममा पानी राखेर सतह सिँचाइ गर्दा धेरै पानी खेर जान्छ । प्रभावकारी सिँचाइ गर्न कठिन हुन्छ । तर चितवनको भरतपुर-१६, विजयनगरका प्रा.डा ई भगवानदास मानन्धरले विकास गरेको काचाल्का प्रविधिले बिरुवालाई आवश्यक मात्रामा पानी पुर्याउँदै, थोपा-थोपा सिँचाइ गरी पानी बचत गर्न सफल भएको छ । यो प्रविधिको प्रभावकारितामा मानन्धर लामो समयदेखि जुट्दै आउनुभएको छ । उहाँले देश विदेशका विभिन्न क्याम्पसमा अध्ययन अध्यापन गर्दै प्राप्त अनुभवलाई अवकाश जीवनमा कृषि क्षेत्रमा व्यावहारिक रुपमा प्रयोग गरेका हुन् ।  प्रविधिको विकास गरे पनि लामो समयसम्म व्यवहारमा लागू नहुँदा मानन्धर आफैँ प्रत्यक्ष रूपमा यसको प्रयोगमा जुटेका हुन् । उनले अब आफैंले गरेर देखाउँदै किसान समक्ष यो प्रविधि पु¥याउने लक्ष्य राखेका छन् । झट्ट हेर्दा यहाँको प्रणाली सामान्य सतह सिँचाइ जस्तो देखिन्छ, तर वास्तवमा यसमा लामो अनुसन्धान र परीक्षणबाट प्रमाणित प्रभावकारी सिँचाइ प्रविधि प्रयोग गरिएको छ । प्रा.डा मानन्धरले आफ्नो जीवनको लामो समय खर्चेर यो प्रविधि विकास गरेका हुन् । जसले किसानलाई पानीको खपत कम गर्दै उत्पादन र सिँचाइ दक्षता बढाउने अवसर प्रदान गर्दछ । उनले आफ्नै जग्गामा सुन कागती खेती गरी यही प्रविधिबाट सिँचाइ गर्दै आएका छन् । त्यसबाट काचाल्काको कार्यक्षमता प्रमाणित भएको छ । सुक्खा मौसममा लगाइने तरकारीबाली तथा अन्य बाली होस् वा बागवानीका लागि सिँचाइ सहज बनाउन उनले काचाल्का र क्यापिलरी सिँचाइ प्रविधि प्रयोग गरेका छन् ।  कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, रामपुर पक्लिहवा कृषि क्याम्पसलगायतका क्याम्पसमा २३ वर्ष लामो प्राध्यापन गरेका मानन्धरले आफ्नो अध्ययनको विषयलाई व्यवहारमा ल्याउन जागिर छाडेर यो प्रविधि प्रयोगमा ल्याएका हुन् । उनले यस प्रविधिबाट सिँचाइ गर्न पहिला ट्याङ्कीलाई जमिनमाथि उचाइमा राखेर, त्यहाँबाट मुल पाइप र भल्भको प्रयोग गर्दै पाइपको पानीलाई सिधा वितरण गरेका छन् । ५ कट्ठा जमिनको सिधा भागमा हरेक स्थानमा दुइवटा पानीका डब्बा बनाइएको छ ।  ५ लिटर, ४ लिटर र ३ लिटर क्षमताका जम्मा १३ स्थानमा डब्बा राखिएका छन् । जसले दायाँ र बायाँ ढल्केर पानी पोखाएर सिँचाई गर्छ। सिँचाइका क्रममा एउटा डब्बामा पानी भरिएपछि, अर्को डब्बामा पानी भर्ने गरिन्छ । यसरी सिँचाइ गर्दा बिरुवामा कुनै असर नपर्ने र पानीको खपत कम हुन्छ । काचाल्का प्रविधिमा, ट्याङ्कीको प्रयोग गरेर पानीलाई थोपा-थोपा जस्तो नियन्त्रण गरी बिरुवालाई आवश्यक मात्रामा उपलब्ध गराइन्छ । ‘यसमा पानी खेर जाँदैन र खेतमा जम्दैन पनि । यो प्रविधि अन्य सिँचाइ प्रणालीभन्दा बढी उपयुक्त र प्रभावकारी छ,’ प्रा.डा मानन्धरले भने । उनका अनुसार काचाल्का रूसी शब्द हो, जसको अर्थ पानी व्यवस्थापनमा प्रयोग हुने एउटा सानो ट्याङ्की वा चेम्बर ढिकिच्याउ प्रकारको संरचना हो । यसले मुख्य मुहान वा ठूलो ट्याङ्कीबाट आएको पानी पाइपमार्फत काचाल्कामा जम्मा गर्छ । काचाल्का भरिएपछि पानी अर्को दिशामा बग्ने गरी व्यवस्था गरिएको हुन्छ । यो टिन, धातु, माटो, ढुङ्गा वा कंक्रिटबाट बनेको हुन्छ । सानो पोखरी वा भाँडो जस्तो देखिने काचाल्कामा पानी जम्मा हुने र बाहिर निस्कने दुईवटा भाग हुन्छन् । विशेष गरी सिँचाइ व्यवस्थामा पानीको दबाब र वितरण नियन्त्रण गर्न यसले महत्वपूर्ण भूमिका खेल्छ । ट्याङ्कीबाट गएको मुख्य पाइपमा जडान गरिएको सानो धारामा पानी खोल्ने र बन्द गर्ने सुविधा हुन्छ । सरल भाषामा भन्नुपर्दा, काचाल्का भनेको पानी जम्मा गर्ने र आवश्यकताअनुसार अर्को ठाउँमा पठाउने सानो नियन्त्रण ट्याङ्की हो । प्रा.डा मानन्धरले सन् १९९३ मा विद्यावारिधि गर्ने क्रममा यो प्रविधि विकास गरेका थिए । त्यसको दुई वर्षपछि औपचारिक रूपमा यो प्रविधि प्रस्तुत गरिएको थियो । त्यतिबेला इटालीको मान्तोभामा यसको सफल परीक्षण पनि गरिएको थियो । नेपाल फर्किएपछि अध्यापनका क्रममा विद्यार्थीहरूलाई उनले यो प्रविधि सिकाए । तर व्यवहारमा कसैले लागू गरेनन् । ‘कर्तव्य पूरा गर्न अब म आफैँ फिल्डमा आएको छु । मैले जागिर नै छोडेर अहिले कृषिमा लागेको छु,’ उनले भने, ‘यो प्रविधि किसानहरूसम्म व्यावहारिक रूपमा पुर्याउनु नै मेरो उद्देश्य र कर्तव्य पनि हो ।’ विश्वमै काचाल्का सिँचाइ प्रविधि प्रभावकारी र उपयोगी प्रविधिका रूपमा विकसित हुने प्राडा मानन्धरको दाबी छ । विश्वका अधिकांश स्थानमा खेतमा कुलोबाट सिँचाइ गर्ने प्रचलन छ । जसले बढी श्रम, खर्च र पानीको खपत गराउँछ । काचाल्का सतहमा आधारित, सिँचाइ प्रविधि हो । उनले भने, ‘काचाल्का सतहमा आधारित, मेकनाइज गरिएको सेमि(अटोमेटिक इरिगेसन सिस्टम हो, जसले बिरुवा वा खेतलाई आवश्यक मात्र पानी मात्र उपलब्ध गराउन सक्छ । खेतको आकार अनुसार पानी वितरण गर्न सकिन्छ । यो प्रविधि थोपा–स्प्रिङकलिङ प्रणालीभन्दा सस्तो छ । किसानले आफैँ निरीक्षण गरेर बिग्रिएको भाग देख्न र आवश्यक परे आफैँ बनाउन पनि सक्छन् ।’ उनका अनुसार यस प्रविधिमा पानी नियन्त्रण गर्ने उपकरणहरू जडान गरिएको हुँदा खेतको क्षेत्रफल, माटोको बनावट अनुसार पानी वितरण गर्न सकिन्छ । काचाल्का सिँचाइ प्रविधिको सिँचाइ दक्षता करिब ९३ प्रतिशत र पानी वितरणको समानता ९५ प्रतिशत छ । इच्छुक किसानले यो प्रविधि प्रयोग गर्न चाहेमा उनले आवश्यक सहयोग उपलब्ध गराउने बताए । साथै, चितवनको कृषि विकास कार्यालयमार्फत पनि इच्छुक किसानहरूले सम्पर्क गर्न सक्ने जानकारी दिए । रासस

लुम्बिनी, बागमती र कोशीमा हल्का वर्षा हुँदै, यस्तो छ दिउँसोको मौसम

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थान तथा लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र हिमपात भइरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ, पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ तथा तराई भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका केही स्थान तथा बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ ।

श्रवण क्षमता नभएका दुई उद्यमीको प्रेरणादायी कथा

काठमाडौं । म्याग्दीको बेनी नगरपालिका-४ सिंगाको पौडेल चोकमा श्रवण क्षमता नभएका अमृत र हेमराज शर्मा ‘रेष्टुरेण्ट’ व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर बनेका छन् । बागलुङका ३५ वर्षीय अमृत र ४२ वर्षीय हेमराजले शारीरिक अशक्तताले रोजगारी, व्यवसाय र अवसरलाई छेक्न सक्दैन भन्ने उदाहरण प्रस्तुत गरेका हुन् ।  नाताले आफन्त पर्ने अमृत र हेमराजले सिंगाको पौडेल चोकमा संयुक्त रुपमा सञ्चालन गरेको ‘सांकेतिक भाषा खाजा घर’ले उनीहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाएको हो । जन्मजात श्रवण क्षमता नभएका शर्माद्धय सांकेतिक भाषा र शब्द लेखेर उपभोक्ताहरुसँग सम्बाद गर्छन् । चिया, खाजा, जेरी, तरकारी, याममा अरिंगाल, माछा, मासु र खानाका परिकार उनीहरू आफै तयार पार्छन् । स्थानीयबासी, वडा कार्यालय, विद्यालय, बेनी-दरवाङ सडकको यात्रा गर्ने सर्वसाधारण, व्यवसायीहरू उक्त रेष्टुरेण्टका ग्राहक हुन् । टाढाबाट आउने ग्राहकहरूले मोबाइलमा सन्देश पठाएर खाना, खाजाका परिकार ‘अर्डर’ गर्छन् । सामाजिक सञ्जालमा भिडियो कल गरेर पनि सांकेतिक भाषामा ग्राहकले कुराकानी गर्छन् ।  फोन आयो भने छिमेकीलाई उठाउन लगाएर उनीहरू मार्फत सूचना लिने गरेको अमृतले लेखेर जानकारी गराए । म्याग्दीका जलविद्युत आयोजनाहरुमा परामर्शदाताको रुपमा काम गर्दै आएका शंकर बस्यालले सरसफाइ र आत्मीय ब्यबहारका कारण सांकेतिक भाषा खाजा घरलाई रोजेको बताए । ‘उहाँहरू नबोलेपनि ग्राहकको भावना बुझेर नम्र ब्यबहार गर्नुहुन्छ । ठाउँको सरसफाइ र परिकार हाइजेनिक हुने भएकाले राम्रो लाग्छ,’ उनले भने । दैनिक ५ हजारको हाराहारीमा व्यापार गर्ने शर्माद्धयले उक्त आम्दानीबाट व्यवसायलाई निरन्तरताका साथै घरव्यवहार चलाएको बताए । दसैँ तिहार र चाडपर्वको समयमा व्यापार अली बढी हुन्छ ।  हेमराजको घरमा श्रीमती र एक छोरी छन् । अमृतकी श्रीमतीको पनि श्रवण क्षमता छैन । अमृतका घरमा श्रीमती र एक छोरा छन् । हेमराजले कक्षा ५ सम्मको अध्ययन गर्नुभएको छ भने अमृतले १२ कक्षा उत्तीर्ण गरेका छन् । उनीहरुका परिवार बागलुङमै बस्छन् ।  धवलागिरि माविको बहिरा स्रोत कक्षाका शिक्षक शंकर पाण्डेको सहयोगमा हेमराज र अमृत १० वर्षअघि सिंगा आएका थिए । शर्माद्धयको सानैदेखि खानाका परिकार बनाउन रुची थियो । घारबाट ३ लाख रुपैयाँ ल्याएर घर भाडामा लिएर व्यवसाय शुरु गरेको अमृत सम्झन्छन् । हाल उनीहरुको व्यवसायमा करिब १० लाख रुपैयाँको लगानी छ । सीप र व्यवसायमा आबद्ध भएकाले घरव्यवहार चलाउन सहज भएको शर्माद्धयको अनुभव छ । पौडेलचोकका यादवप्रसाद पौडेलले अमृत र हेमराजले हातमा सीप र व्यावसायिक कला तथा साहस हुने हो भने शारीरिक प्रतिकूलताका बाबजुद आत्मनिर्भर र स्वरोजगार बन्न सकिने सन्देश दिएका बताए । ‘अमृत र हेमराजले हातमा भएको सीपको सदुपयोग गर्न जान्ने हो भने जीवन चलाउन अरूमा निर्भर हुनुपर्दैन भन्ने सन्देश दिनुभएको छ । उनीहरुले व्यवसायबाट हासिल गरेको सफलताबाट धेरैका लागि उदाहरणीय बन्न सक्छ,’ उनले भने ।   हाल भाडाको घरमा व्यवसाय गर्दै आएका उनीहरुले व्यवसाय विस्तार गर्दै लैजाने योजना बनाएका छन् । पुँजीको अभाव र सबै ग्राहकहरूले सांकेतिक भाषा नबुझ्नु उनीहरुको लागि व्यवसायमा चुनौती बनेको छ । 

४ वटा मार्टलाई विभागको कारबाही, ३ दिनभित्र कागजात पेश गर्न निर्देशन

काठमाडौं । बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार ठूला मार्टलाई कारबाहीको दायरामा ल्याएको छ । आइतबार स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि विभागले चार वटा मार्टलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ । विभागले मेट्रो मार्केट प्रालि इमाडोल, सेलवेज क्यास एण्ड क्यारी प्रालि महाराजगञ्ज, मेगा मार्ट प्रालि विशालनगर र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालि चक्रपथलाई तीन दिन भित्र कागजातसहित उपस्थित हुन निर्देशन दिएको हो । त्यसैगरी मुना कृषि लिमिटेडलाई पनि उस्तै किसिमको निर्देशन दिएको विभागले जनाएको छ । थप १० वटा अन्य फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको छ । स्थानीय सरोकारवाला उपभोक्ता अधिकारकर्मीको उपस्थितिमा विभागले कालोबजारी नियन्त्रण, अखाद्य वस्तुको बिक्री वितरणमा रोक लगाउने उद्देश्यका साथ अनुगमन गर्दै आएको छ ।

आज सङ्घीय संसदको दुवै सदनको बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिनको १ बजे बस्नेछ । सो बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।  सङ्घीय संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन), अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ । त्यसैगरी, राष्ट्रिय सभाको बैठक आजै अपरान्ह १२:१५ बजे सिंहदरबारमा बस्दैछ । सो बैठकमा ‘राष्ट्रिय सभा सदस्य प्रेमप्रसाद दंगालले लिलाकुमारी भण्डारीलाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने छन् ।  बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय मानवअधिकार आयोगको गत आर्थिक वर्ष २०८०/८१ को २४औँ वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची तय गरिएको छ । 

भौतिक पूर्वाधारमन्त्री लम्सालसँग निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वको भेट

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले निर्माण क्षेत्रमा देखिएका विद्यमान समस्याहरू समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार मन्त्रालयमा नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष निकोलस पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलसँग भएको छलफलमा उनले यस्तो बताएका हुन् । छलफलका क्रममा मन्त्री लम्सालले निर्माण क्षेत्रलाई पारदर्शी र मर्यादित बनाउन सूचना प्रविधिको उच्चतम प्रयोग गरिने बताए । ‘निर्माण क्षेत्रमा हुने ढिलासुस्ती र अनियमितता रोक्न प्रविधिको प्रयोग अपरिहार्य छ’, उनले भने, ‘हामी यस क्षेत्रलाई भ्रष्टाचार शून्य बनाउने लक्ष्यका साथ अघि बढ्दै छौं ।’  मध्यपूर्वमा बढ्दै गएको तनावका कारण इन्धन अभाव र निर्माण सामग्रीको मूल्यमा भएको वृद्धिलाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको मन्त्री लम्सालले उल्लेख गरे । इन्धन र कच्चा पदार्थको मूल्य बढेकाले निर्माण आयोजनाहरूको लागत बढेको व्यवसायीहरूको गुनासो छ । यो समस्यालाई सम्बोधन गर्न मन्त्रालयले आगामी दुई हप्ताभित्र विशेष निर्देशिका जारी गर्ने तयारी गरेको छ । मन्त्री लम्सालले महासंघका नवनिर्वाचित अध्यक्ष पाण्डेसहितको टोलीलाई सफल कार्यकालको शुभकामना दिँदै सरकार र निजी क्षेत्र मिलेर मात्रै भौतिक पूर्वाधारको विकास सम्भव हुने बताए । जवाफमा अध्यक्ष पाण्डेले व्यवसायीहरूका समस्या समाधानमा सरकारको तर्फबाट ठोस पहल हुने अपेक्षा राखेका थिए । 

सरकारले करिब २८ अर्ब ऋण लिने भएपछि रिसाए हर्क साम्पाङ

काठमाडौं । सांसद हर्क साम्पाङले सरकारले करिब २८ अर्ब रुपैयाँ वैदेशिक ऋण लिन लागेको विषयमा कडा आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै साम्पाङले सरकारले जनता र संसदलाई छलेर मनोमानी ढंगले ऋण लिन नहुने तर्क गरे ।  विभिन्न न्युज पोर्टल र सञ्चार माध्यमहरूमा सरकारले करिब २८ अर्ब ऋण लिन लागेको समाचार आएको उल्लेख गर्दै उनले भने,  ‘नेपाल सरकारले बहुमतको आडमा चार-पाँच जना मन्त्रीहरू मिलेर खुसी खुसी निर्णय गर्दैमा देश चल्दैन । सरकार त्यसरी चल्नु हुँदैन ।’ साम्पाङले ऋण लिने प्रक्रिया पारदर्शी हुनुपर्ने र यसको अनुमोदन सार्वभौम जनताको प्रतिनिधि संस्था सदनबाटै हुनुपर्नेमा जोड दिए ।  उनले अर्थमन्त्रीलाई लक्षित गर्दै भने, ‘त्यो ऋण केका लागि लिने हो, किन लिने हो, कुन प्रयोजनका लागि हो र कुन शीर्षकमा कसरी र कहिलेसम्म खर्च हुने हो ? यसको सबै चित्तबुझ्दो ब्रेकडाउन लिएर अर्थमन्त्रीज्यू सदनमा आउनुपर्छ ।’