४५६ मेगावाट विद्युत् क्षमता भएको माथिल्लो तामाकोसीको ८० प्रतिशत कार्य पूरा
दोलखा, ३१ जेठ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिइएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ७९ प्रतिशत कार्य सम्पन्न भएको छ । विसं २०७३ सालमै सम्पन्न गर्ने लक्ष्य लिइएको तामाकोसी आयोजना भूकम्प र नाकाबन्दीका कारण काम रोकिएपछि एक वर्ष पछि धकेलिएको हो । लामाबगर गाविसमा निर्माण भइरहेको ४५६ मेगावाट विद्युत् क्षमता भएको सो आयोजना २०७३ सालभित्र सम्पन्न गर्ने बताइएको थियो । आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले २०७३ पुसमा काम सम्पन्न गरी उत्पादन गर्ने योजनाको साथ अघि बढिरहेका अवस्थामा भूकम्प र नाकाबन्दीका कारण एक वर्ष ढिलाइ भएको बताए । “निर्धारित समयमै काम सम्पन्न हुन्छ,” उनले भने । करिब रु ३५ अर्बमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि निर्माण सम्पन्न हुँदासम्म रु ५० अर्ब पुग्ने अनुमान गरिएको छ । प्रवक्ता न्यौपानेले हाल लामाबगरमा विद्युत् गृहको कामबाहेक अरु सबै काम सञ्चालन भइरहेको बताए। लामाबगर पुुग्ने बाटोमा भूकम्पसँगै आएको पहिरो नरोकिएका कारण काभ्रे भिरबाट लामाबगरको मौरेखोलासम्म ३६० मिटर लामो सुरुङ निर्माण भइरहेको छ । सुरुङ निर्माणको काम आयोजनाको मुख्य ठेकेदार कम्पन्नी सिनोहाइड्रोले गरिरहेको छ । रासस
नक्कली शैक्षिक प्रमाण पत्र धारी शिक्षक विरुद्ध मुद्धा
काठमाडौं, ३१ जेठ । अख्त्यिार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाण पत्र धारी एक जना शिक्षक विरुद्ध मुद्धा दायर गरेको छ । आयोगले ललितपुरस्थित शंखु गाविस(५ मा रहेको मगर गाउँ उच्च माध्यमिक विद्यालयमा कार्यरत नक्क्ली शैक्षिक प्रमाण पत्रकारी शिक्षक शिक्षक चन्द्रकान्त चौधरी विरुद्ध बिशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको हो । मावी शिक्षकका रुपमा कार्यरत चौधरीले पेश गरेको विहार ईन्टरमिडीयट एजुकेशन काउन्सिल पटनाको सर्टिफिकेट नक्कली रहेको फेला परेपछि आयोगले मुद्धा दायर गरेको हो ।
महालक्ष्मी फाइनान्सद्धारा चितवनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं, ३१ जेठ । महालक्ष्मी फाइनान्सद्धारा वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत चितवनको वसन्तपुरमा शनिबार अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा महालक्ष्मी फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले “समृद्ध माडीको निर्माणमा वित्तीय सँस्थाको भूमिका” विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा माडीको आर्थिक गतिविधी वृद्धिमा वित्तीय सँस्थाबाट प्रवाह गर्नु पर्ने कर्जा सुविधा, तिनका प्रक्रिया, उद्यमी छनोट, उद्यमीलाई तालिम, बजारीकरण लगायत विविध विषयमा अन्तरक्रिया गरिएको थियो । कार्यपत्र र बैकिङ्ग गतिविधिमा माडी उद्योग वाणिज्य सँघका अध्यक्ष रेशम आचार्य, माडी भरतपुर सम्पर्क मंचका अध्यक्ष जितेन्द« भण्डारी, एनजिओ फेडेरेशनका प्रसाद दुवाडी, महालक्ष्मी फाइनान्स, नारायणगढका शाखा प्रबन्धक गणेश बजगाई, माडी क्याम्पस प्रमुख कुलानन्द भुषालले टिप्पणी गरेका थिए । अन्तरक्रियाको खुला सत्र अन्तर्गत सहभागिहरुको तर्फबाट गरिएको विविध प्रश्न र जिज्ञासाको प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले जवाफ दिएका थिए । कार्यक्रममा साविक गर्दी, वघौडा, कल्याणपुरी र अयोध्यापुरी क्षेत्रका उद्योगपति व्यापारी तथा वसन्तपुर बजारका स्थानियको सहभागिता रहेको फाइनान्सले जनाएको छ ।
बिचौलियामाथिको कारबाहीपछि अस्पतालको आम्दानी २५ प्रतिशत बढ्यो
चितवन, ३१ जेठ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा स्थानीय प्रशासनले कर्मचारीसहित बाहिरी बिचौलियालाई पक्राउ गरी निगरानी बढाएपछि अस्पतालको आन्तरिक आम्दानी बढेको छ । यसका कारण बिरामीसमेत लाभान्वित भएका छन् । करिब एक महिनाअघिदेखि स्थानीय प्रशासनले अस्पतालका बिचौलियामाथि निगरानी र कारबाही प्रक्रिया अगाडि बढाएको थियो । यस अवधिमा पाँच जना कर्मचारीसहित २० जना बिचौलियालाई प्रहरीले पक्राउ गरी सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाएको थियो । यससँगै कार्यालय समयमा समेत लुकिछिपी निजी क्लिनिक तथा अस्पताल धाउने काम चिकित्सक र प्रविधिज्ञले छाडेका छन् भने बिरामीलाई छिटो हुन्छ भन्दै निजी क्लिनिक र अस्पताल पठाउने क्रमसमेत घटेको छ । अस्पतालभित्र औषधि, केमो, लज, ल्याब र डाक्टरका लागि बिरामी तान्न पुग्ने बिचौलिया अस्पतालमा देखिन छाडेको स्थानीयवासीले बताएका छन् । अस्पतालआसपास रहेका फार्मेसी र ल्याब मात्रै होइन, चौबीसकोठीमा लस्करै रहेका धेरै अस्पतालको व्यापार खस्किएको सञ्चालकले बताएका छन् । प्रशासनको कदमपछि क्यान्सर अस्पतालमा दैनिक सङ्कलन हुने राजस्वमा २५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । अस्पतालको राजस्व उपशाखाका प्रमुख शिव पौडेलका अनुसार दैनिक दुई लाख ७५ हजार रुपैयाँको हाराहारीमा सङ्कलन हुने राजस्व तीन लाख ५० हजार रुपैयाँ पुगेको छ । यद्यपि अस्पतालमा बढी चल्ने सिटी स्क्यान, मेमोग्राफी, एमआरआई र केही महत्वपूर्ण परीक्षण अझै हुन सकेका छैनन् । आइतबारदेखि मङ्गलबारसम्म अस्पतालमा बिरामी बढी आउने हुँदा अस्पतालको आम्दानी बढी हुने गर्दछ । अस्पतालका उपनिर्देशक डा देजकुमार गौतमका अनुसार सिटी स्क्यान र मेमोग्राफी पुराना बिग्रिएर चीन सरकारले उपलब्ध गराएपछि जडानको क्रममा रहेका छन् भने विद्युत् आपूर्तिमा गडबड भएर र युपिएस बिग्रिएर एमआरआई सञ्चालनमा आउन सकेको छैन । आपूर्तिकर्तालाई भुक्तानी हुन नसक्दा परीक्षण गर्ने केमिकलको अभावमा केही परीक्षण नभएको उनले बताए । अस्पतालमा युरिया, गिलुभिन टोटल, गिलुभिन डाइरेक्ट, एसटी, एलटीजस्ता सामान्य परीक्षणसमेत केमिकलको अभावमा हुन सकेका छैनन् । सबै उपकरण सञ्चालनमा आएर ल्याब परीक्षण नियमित हुन सके राजस्व दोब्बर हुने स्वयम् गौतम बताए । सबै उपकरण चले अस्पतालका अधिकांश चिकित्सक, प्रविधिज्ञ र कर्मचारीको लगानी रहेका निजी अस्पताल, क्लिनिक, ल्याब नचल्ने हुँदा छिट्टै उपकरण बिगार्ने र रिएजेन्ट अभाव देखाइरहने काम कर्मचारीबाटै हुने गरेको आरोप छ । अस्पतालका लेखा प्रमुख पिताम्बर उपाध्यायका अनुसार अस्पतालबाट भर्ना, परीक्षण, डिस्चार्ज लगायतबाट वार्षिक १० करोड रुपैयाँको हाराहारीमा आम्दानी हुन्छ भने अन्य फार्मेसी, फलफूल बिक्री, सटर भाडा, चमेनागृह लगायतबाट एक करोड रुपैयाँभन्दा बढी आम्दानी हुन्छ । भित्री र बाहिरी दुवै बिचौलिया रोक्न सके आम्दानी दोब्बर हुने प्रस्ट देखिन्छ । बिचौलिया नियन्त्रणसँगै २५ प्रतिशत आम्दानी बढिसकेको यस अस्पतालमा हुन नसकेका सबै परीक्षण हुन सके अहिले नै आम्दानी दोब्बर हुने देखिन्छ तर त्यसका लागि स्थानीय प्रशासनको अनुगमन निरन्तर हुनुपर्ने स्थानीयवासीको भनाइ छ । अस्पताल बनाउन त्यहाँ कार्यरत चिकित्सक र प्रविधिज्ञको तलब बढाएर अस्पतालभित्रै पेइङ क्लिनिक सञ्चालन गर्ने र निजीमा काम गर्न रोक्ने काम हुन सके बिरामीले सस्तो शुल्कमा सहज उपचार पाउने क्यान्सर सेवा समाजका अध्यक्ष श्यामप्रसाद लामिछाने बताउछन् । प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह चिकित्सक र प्रविधिज्ञसमेत बिचौलियाको भूमिकामा रहने र आफ्नो निजी अस्पताल र क्लिनिकमा लगेर बिरामी जाँच्ने गरेको भन्ने गुनासो आएपछि उनीहरुमाथि समेत निगरानी भइरहेको बताउछन् । अस्पताललाई हानि हुने र बिरामीलाई अप्ठ्यारो पार्ने जो सुकै भएपनि प्रशासनले नछाड्ने उनले बताए । प्रशासनको निगरानीसँगै अस्पतालका चिकित्सक र कर्मचारीसमेत दिनभर कार्यालयमा रहेर काम गर्न थालेका छन् । रासस
चिनियाँ विज्ञको रिपोर्ट कुर्दै नेपालका पेट्रोलियम खानी, संयुक्त कम्पनी बनाएर उत्खनन गर्ने तयारी
काठमाडौं, ३१ जेठ । नेपालमा रहेका तीन वटा पेट्रोलियम खानीहरुको स्थलगत अवलोकन गर्न गत अप्रिल ३० तारिखका दिन ६ सदस्यीय चिनियाँ टोली नेपाल प्रवेश गर्यो । चाइना जियोलोजीकल सर्भेका विज्ञ सम्मिलित टोलीले सुर्खेत–दैलेख, बुटवल–पाल्पा र चतरा–बराह क्षेत्रमा रहेका पेट्रोलियम खानीहरुको अध्ययन गरेर मे २६ तारिखका दिन चीन फर्कियो । उनीहरुले यी तीन क्षेत्रमा रहेका श्रोत चट्टान र पेट्रोलियम अन्वेषण परियोजनासँग भएका तथ्यांकहरुको गहिरो अध्ययन गरेका थिए । उनीहरुले ल्याब परिक्षणका लागि सो क्षेत्रका चट्टान र माटोको नमूना चीन लगेका छन् । एक महिनापछि ल्याब रिपोर्टसहित नेपाल आउने भन्दै चिनियाँ टोली हिडेको आधा महिना कटेको छ । नेपाल चीनियाँ टोलीको अध्ययनको नतिजा कुरेर बसेको छ ।‘चीनियाँ टोलीले एक महिना भित्र रिपोर्ट लिएर आउँछौं भनेका छ, आधा महिना कट्यो अब आधा महिना बाँकी छ, हामी रिपोर्टको प्रतिक्षामा छौं’, पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख सुधिर रजौरेले विकासन्युजसँग भने । रजौरेका अनुसार चीनियाँ टोलीले नेपालसँग भएका पुराना अध्ययनका रिपोर्ट, चट्टान, ग्यास र तेलको नमुना लगेको छ । तीन वटा खानीको अध्ययन पछि चीनियाँ टोलीको प्रारम्भिक प्रतिक्रिया के थियो भन्ने प्रश्नको जवाफमा रजौरेले भने–‘चीनियाँहरु अन्तर्मुखी हुन्छन्, अनुमानका भरमा बोल्दैनन, एक महिनापछि रिपोर्ट पठाउँछौं भनेर गएका छन, हामी कुरिरहेका छौं ।’ दैलेखमा ग्यास र तेलको प्रमाण फेला परिसकेको बताउँदै उत्खननको सम्भावना रहेको बताए । ‘नेपालको भौगर्भिक बनोट तथा इतिहास पाकिस्तानको पोतबार बेसिन र भारतको आसामसँग मिल्दो जुल्दो छ, जहाँ अहिले पेट्रोलियम पदार्थको उत्खनन भैरहेको छ, हामीसँग पनि हुने सम्भावना छ जसलाई दैलेखको ग्यास र तेलले एक हदसम्म पुष्टि गरिसकेको छ’, रजौरेले भने । कसरी हुन्छ उत्खनन ? प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा नेपालमा रहेका पेट्रोलियम खानीहरुको उत्खननका लागि चीनले सघाउने सम्झौता भएको थियो । सोही सम्झौताका आधारमा चीनियाँ टोलीले पहिलो चरणको अन्वेषण गरेको हो । अब उत्खनन गर्दा पनि सोही सम्झौताका आधारमा दुई मुलुकबिच संयुक्त कम्पनी वा प्रोजेक्टको स्थापना हुनेछ । सो कम्पनी वा प्रोजेक्टले उत्खननको मोडल तथा व्यवसायीक आधार तयार पार्नेछ । त्यसमा उत्खननपछि प्राप्त पेट्रोलियम पदार्थको केहि प्रतिशत चीनियाँ कम्पनीले पाउने र केहि नेपाल सरकारले पाउने उल्लेख गरिनेछ । कसको हिस्सा कति हुने भन्नेबारे भने दुई मुलुकका विज्ञ सम्मिलित टोलीले निर्धारण गर्नेछ ।
योजना अनुरुप काम नहुँदा अधिकांश सडक निर्माण अलपत्र
कपिलवस्तु, ३१ जेठ । अर्थ मन्त्रालयले चालु आवमा खर्च हुने गरी गत वर्षको बजेट पुस्तिकाअर्थात् रातो किताबमा राखेर बजेटसहित सार्वजनिक गरेका कपिलवस्तुका अधिकांश सडक निर्माणका योजनामा काम नहुँदा अलपत्र परेका छन् । कपिलवस्तुका एक दर्जनभन्दा बढी नयाँ र महत्वपूर्ण सडक निर्माणका लागि पहिलो पटक बजेट विनियोजन भएको काम हुन सकेन । त्यस्तै अर्कोतर्फ राजमार्गलाई सदरमुकाम जोड्ने दुई सडकको स्तरोन्नति हुने पुस्तिकामा स्पष्ट लेखिएको थियो । लामो समयदेखि सिंगल लेनको रुपमा सञ्चालन हुँदै आएको चार नम्बर जीतपुरदेखि सदरमुकाम तौलिहवासम्म जोड्ने सडक दुई लेन बनाउन बजेट पुस्तिकामा राखिएको थियो । बजेट पुस्तिकामा गोरुसिङ्गेलाई तौलिहवा जोड्ने सडक कालोपत्र गर्ने प्रक्रिया तत्काल सुरु गर्ने उल्लेख थियो । एकै साथ दुईतर्फबाट सदरमुकाम जान सुविधा हुने गरी बजेट पुस्तिकाले कपिलवस्तुका सडकको स्तरोन्नति गर्न बाटो खुल्ला गरेको थियो । तर अहिले आर्थिक वर्ष समापन हुनै लाग्दा बाँकी ती काम कतै पनि सुरु हुन सकेका छैनन् । कहीँकतै सुरु भए पनि आंशिक मात्र हुन पुगेको तथ्य बाहिर आएको छ । जीतपुर तौलिहवा सडकलाई डबल लेनको बनाउने काम केवल सर्वेमा मात्र सीमित रह्यो भने गोरुसिङ्गे तौलिहवा जोड्ने सडक ग्राभेल मात्र भयो । अहिलेसम्म पक्की हुने काम सुरु नै हुन सकेकोे छैन । तत्कालिन सरकारका तर्फबाट चालु आवका लागि बजेट विनियोजन गरेको अधिकांश सडक जिल्लाको क्षेत्र नं १ सँग जोडिएका थिए । कपिलवस्तुका निर्माणाधीन सबै सडकका लागि चालु आवमा बजेट परेको बताउँदै क्षेत्र नं २ का सभासद् अतहर कमालले काम भने न्यून रुपमा मात्र भएको बताए । त्यस्तै क्षेत्र नं ४ का सभासद् तथा नेपाली काँगे्रसका सभापति सुरेन्द्रराज आचार्यले मुलुक नै अस्थिर र अस्तव्यस्त बनेको समयमा पनि यहाँका काम नभएको भन्न नमिल्ने बताए । उनले आफूले पटकपटक विकास निर्माणका काम अलपत्र परे भनेर जिल्लाका सांसद, प्रजिअ, स्थानीय विकास अधिकारीलगायत सबैलाई नदीजन्य पदार्थको निकासी विकास योजनाका लागि व्यवस्था मिलाइदिन अनुरोध गरेपनि त्यो सम्भव नभएको उल्लेख गरे। रासस
एनसेलद्वारा नागरिकको संचारमा पहुँच र प्रयोगको आधारभूत अधिकारको सम्मान गर्न आग्रह
काठमाडौं, ३१ जेठ । एनसेलले कम्पनीको बेस स्टेसनमा अज्ञात समूहले आक्रमण जारी राख्दै थप दूरसंचार पुर्वाधारमा भौतिक क्षति पु¥याउने कार्य गरेको घटनाको भत्सर्ना गरेको छ । संचार जस्तो अत्यावश्यक सेवा प्रदान गर्ने अति महत्वपूर्ण मोवाईल सेवा पूर्वाधारमा भौतिक आक्रमण गर्नु गैरकानूनी तथा गम्भिर अपराध भए पनि केहि अज्ञात समूहले शनिवार देखि एनसेलको विभिन्न जिल्लाका ग्रामिण क्षेत्रमा रहेका २४ वटा बेस स्टेसनमा क्षति पु¥याएका छन् । यसले करिब ५ लाख ५० हजार नागरिलाई प्रत्यक्षरुपमा संचार विहिन बनाएको छ भने देशभरका नागरिकलाई असर गरेको छ । “हामी सम्बन्धित सबैलाई नागरिकको संचारमा पहुँच तथा प्रयोग जस्तो आधारभूत अधिकारको सम्मान गर्न आग्रह गर्दछौं । यस्तो गतिविधि गर्नेले हेक्का राखौं ति ग्रामिण ईलाकामा यतिखेर कति व्यक्तिलाई आकस्मिक स्वास्थ्य सेवा चाहिएको हुनसक्छ, र तपाईंको गतिविधिले उनीहरुलाई गंभिर अवस्थामा पु¥याएको हुन सक्छ,” एनसेलका सुरक्षा निर्देशक महेन्द्र भट्टचनले भने । एनसेलले क्षति पुगेका टावरको यथासक्य चाँडो पुनस्र्थापनाका लागि प्रयत्नशिल रहेको जनाएको छ । “अप्रत्यासित घटनाबाट सेवा अवरुद्ध भई ग्राहकमा पर्न गएको असुविधा प्रति हामी क्षमाप्रार्थी छौं । यथासक्य छिटो नेटवर्क पुनस्र्थपना गरी सेवा सुचारु गर्ने प्रयास भईरहेको छ । यस क्रममा धैर्यधारण गरी सहयोग प्रदान गरिरहनु भएकोमा हामी आभार तथा धन्यवाद व्यक्त गर्दछौं,” भट्टचनले भने । बेस स्टेशन जस्ता दूरसंचार पूर्वाधारको सुरक्षाका लागि थप सुरक्षाको व्यवस्थापन गरिरहेको एनसेलले जनाएको छ । कम्पनीले सरकारलाई अत्यावश्यक सेवा ऐनले समेत नागरिकको अत्यावश्यक सेवाको रुपमा लिएको संचार सेवाको निर्वाध संचालनका लागि सहयोग गर्न अनुरोध गरेको छ । “हामीले घटनाका विवरण लगायतका जानकारी नेपाल दूरसंचार प्राधिकरण र अन्य सरकारी निकायलाई दिईसकेका छौं । साथै सरकारबाट प्राप्त सहयोगको प्रतिबद्धताकालागि आभार पनि व्यक्त गर्दछौं,” भट्टचनले भने । साथै यस्ता खाले गैरकानूनी कृयाकलापले देश र जनता कसैलाई पनि सहयोग नपुग्ने जनाउँदै एनसेलले सबैलाई जिम्मेवार भएर काम गर्न र कसैलाई पनि उकास्ने काम नगरी विधिको पालनाका लागि सहयोग गर्न अपिल गरेको छ । टावरमा भएको क्षतिको विवरण प्राप्त गर्ने क्रम जारी रहेको जनाउँदै एनसेलले यि घटनाले के कति क्षति भयो अहिले यकिन भईनसकेको जनाएको छ । एनसेलले १ करोड ४० लाख ग्राहकलाई मोबाईल सेवा प्रदान गर्दै आईरहेको छ ।