लुम्बिनी बैंक र प्रुडेन्सियल इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता
काठमाडौं, २४ असार । लुम्बिनी बैंक लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी बीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख–बजार व्यवसथापान विभागका रितेश लामिछाने र इन्स्योरेन्सका तर्फबाट नायब महाप्रबन्धक तुलसी नारायण मानन्धरले हस्ताक्षर गरेका हुन् । यस सेवा अन्तर्गत बैंकका सम्पूर्ण ग्राहकवर्गहरुले निरजीवन बिमा सेवा सुलभ र छरितो रुपमा बैंकका सम्पूर्ण शाखाहरुबाट उपभोग गर्न सक्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अप्टिकल फाइबर काटिदा सेवा अवरुद्ध
बैतडी, २४ असार । अप्टिकल फाइबर काटिदा बैतडीलगायत सुदूरपश्चिममा स्काइ फोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ । बर्दियामा अप्टिकल फाइबर काटिदा बिहीबार रातिदेखि नेपाल टेलिकमले प्रदान गर्दै आएको सबै प्रकारका इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकम बैतडीका प्राविधिक रामजी घिमिरले बताए । उनले भने, “अप्टिकल फाइबर मर्मत कार्य भइरहेकाले सेवा रोकिएको हो, छिट्टै फोन सेवा र इन्टरनेट सेवा सुचारु हुनेछ ।” रासस
असारमा तरकारीको भाउ आकाशियो, मुग्लिन सडकलाई दोष
काठमाडौं, २४ असार । असार महिना लागेपछि सिजनमै फल्ने तरकारीको मुल्य आकाशिएको छ । तरकारीको सिजनका रुपमा हेरिएको असार महिनामा पनि तरकारीको मुल्य बढ्नुलाई मुग्लिनको पहिरोलाई दोष दिइएको छ । कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितीका प्रवक्ता विनय श्रेष्ठले मुग्लिनमा पहिरो गएको र उपत्यका प्रवेश गर्ने कृषि सडकहरु समेत जिर्ण बनेकाले तरकारीको मुल्य बढेको बताए । जेठ २६ गतेदेखि असार २४ गतेको अवधीमा चलनचल्तीका तरकारीहरुको मुल्य १० देखि ९२ प्रतिशतसम्मले बढेको देखिन्छ । ठुलो गोल भेडाको मुल्य प्रति किलो ६५ रुपैंयाँबाट बढेर ८५ रुपैंयाँ पुगेको छ । जेठ २६गतेको भन्दा यो मुल्य ३० दशमलब ७७ प्रतिशतले बढि हो । सानो गोलभेडाको मुल्य पनि १५ दशमलब ३८ प्रतिशतले बढेको छ । जेठ २६ गते प्रति किलो ६५ रुपैंयामा बिक्रि भैरहेको सानो गोल भेडाको मुल्य २४ असारमा ७५ रुपैंयाँ पुगेको छ । गाँजरको मुल्य झन ९२ दशमलब ३१ प्रतिशतले बढेको छ । अघिल्लो महिना ६५ रुपैंयामा खुद्रा कारोबार भएको गाँजर असार २४ गते आईपुग्दा १२५ रुपैंयाँ पुगेको हो । बन्दाको मुल्य पनि २२ दशमलब २२ प्रतिशतले नै बढेको छ । जेठ अन्तिम साता ४५ रुपैंयाँमा एक किलो किन्न पाइने बन्दाको मुल्य असार अन्तिम साता आइपुग्दा ५५ रुपैंयाँ पुगेको छ । बोडीको मुल्य १० प्रतिशतले बढेको देखिन्छ । अघिल्लो महिना ५० रुपैंयाँ रहेको बोडीको मुल्य अहिले ५५ रुपैंयाँ पुगेको छ । घिउ सिमि पनि ३६ दशमलब ३६ प्रतिशतले महंगीएको छ । ५५ रुपैंयाँमा एक किलो आउने घिउ सीमी अहिले ७५ रुपैंयाँ पुगेको छ । तितो करेला पनि २२ दशमलब २२ प्रतिशतले नै महंगीएको छ । अघिल्लो महिना ४५ रुपैंयामा एक किलो किन्न पाइने तितो करेलाको मुल्य अहिले ५५ रुपैंयाँ पगेको छ । त्यसो त लौकाको मुल्य पनि २२ दशमलब २२ प्रतिशतले नै बढेको छ । ५५ रुपैंयाँ प्रति किलो पर्ने लौका अहिले ५५ रुपैंयाँ पुगेको छ । तर राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेम लाल महर्जनले भने मुग्लिनको पहिरोलाई दोष दिएर काठमाडौंमा तरकारीको मुल्य बढाइएको आरोप लगाए । राजधानीमा तरकारी पठाउने धादिङ र काभ्रेको सम्पर्क सञ्जालमा कुनै असर नपरेको बताउँदै उनले मुग्लिन सडकलाई दोष दिएर व्यापारीले कालोबजारी गरेको आरोप लगाए । मन्त्रीको बजार अनुगमन तरकारीको फोहरमा केन्द्रित नभएर मुल्य नियन्त्रणमा लक्षित हुनुपर्नेमा पनि उनले जोड दिए ।
बाफियामा उपसमितिलाई विश्वास गर्दा धोका भयो, अव सच्याउछौंः सभापति ज्वाला
काठमाडौं, २४ असार । ब्यवस्थापिका संसद अन्तरगतको अर्थ समितिका सभापति प्रकाश ज्वालाले उपसमितिलाई विश्वास गर्दा बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (बाफिया) मा कमजोरी भएको बताएका छन् । समितिले गठन गरेको उपसमितिले ल्याएको प्रस्तावका केही विषय संसोधन भएपनि विषय बस्तु नै संसोधन नगर्दा बाफियामा कमजोरी देखिएर संसदवाट पुन समितिमै फर्कनु पर्ने अवस्था आएको सभापति ज्वालाको भनाइ छ । ‘समितिले विश्वास गरेर उपसमिति बनाइसकेपछि उसका सवै विषय बस्तु (कन्टेन्ट) सच्याउने भन्ने पनि भएन, केही संसोधन भएपनि फेरि विवाद देखियो, सरकारले पनि फिर्ता गर्नुपर्ने आवश्यकता देखेर फिर्ता भएपछि हामी पूर्ण समितिमा छलफल गरेर एउटा टुंगोमा पुग्छौं,’ सभापति ज्वालाले भने । बाफिया सम्बन्धमा बजेट अधिवेशन सकिएपछि मात्रै छलफल गर्ने सभापति ज्वालाले जानकारी दिए । सो विद्ययेक पुन समितिमै फिर्ता गर्नुको औचित्य सरकारले पुष्टी गरेपछि मात्रै संसोधनको प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ । ‘किन फिर्ता भयो भनेर सरकारले प्रष्ट पार्नुपर्यो, यसपछि मात्रै थप छलफल अगाडि बढ्छ,’ ज्वालाले भने ।
औषधिको नाममा लागुऔषध बिक्री गर्ने फार्मेसी र क्लिनिकमा शिलबन्दी, ८०% बढी मूल्यमा बिक्री
काठमाडौँ, २३ असार । काठमाडौंको धापासीमा रहेको ‘सुभजीत फार्मेसीले’ लागुऔषधका रुपमा प्रयोग गरिने औषधिलाई डाक्टरको अनुमति बिना बिक्री गरेको पाईएको छ । साथै सो फार्मेसीको नाम एउटा रहेको तर औषधिको बिलमा अर्को नाम राखेर विल काट्ने गरेको पाईएको छ । ग्रान्डी अस्पतालको नजिकै रहेको उक्त फार्मेसीलाई औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय र वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले विहीबार संयुक्त रुपमा गरेको स्थलगत अनुगमनका क्रममा शिलबन्दी गरेको हो । दस वर्षदेखि नियम विपरित सञ्चालन गर्दै आएको माछापोखरीस्थित बालाजु फार्मेसीको अनुगमन गरिदैँ । तस्बिरःशर्मिला पाठक सोही टोलीले बालाजु र धापासीमा नियम विपरित सञ्चालनमा रहेका औषधि पसलहरुमा शिलबन्दी गरेको हो । माछापोखरीस्थित ‘बालाजु स्वास्थ्य क्लिनिक’ले विगत दश वर्षदेखि नवीकरण नगरी सञ्चालित हुँदै आएको, ८० प्रतिशत बढी पैसा लिई उपभोक्तालाई औषधि बिक्री वितरण गरेको र अनधिकृत ढङ्गले दशभन्दा बढी चिकित्सकको नाम टाँस गरी सञ्चालन हुँदै आएको पाइएकाले अनुगमन टोलीले उक्त क्लिनिकालाई शिलबन्दी गरेको हो । यस्तै क्लिनिकले औषधिमा चर्को असुल गर्ने गरेको, फिजियो थेरापी, एक्सेरे, भिडियो एक्सेरे जस्ता जाँचमा मनपरी शुल्क असुल्ने गरेको र विभिन्न बहानामा अतिरिक्त शुल्क असुल्ने गरेको पाइएको अुनगमनबाट खुलासा भएको छ । क्लिनिक सञ्चालिका सरस्वती बुढाथोकीले केही कमजोरी भएको स्वीकार गरेपनि उपचारमा भने कुनै कमजोरी नगरेको दाबी गर्दै उहाँले एक दर्जन चिकित्सकको नाम राखेर गरिएको प्रचारबारे भने उनले पहिले उनीहरुसँग सम्झौता गरेको तर अहिले भने सम्झौता सकिएपनि बोर्डमा भएको नाम हटाउन नभ्याइएको बताए । अनुमगनकै क्रममा धापासीमा रहेको ‘आराधना हेल्थ केयर सेन्टर प्रालि’ मा पनि शिलबन्दी गरेको छ । आराधना हेल्थ केयरले औषधि व्यवस्था विभागमा स्वीकृत गरेर सञ्चालन गर्नुपर्नेमा तत्कालीन गोङ्गबुमा गाविसबाट स्वीकृत गरी सञ्चालन गरेको र औषधिको बढी मूल्य लिएको पाइएकाले शिलबन्दी गरेको हो । फार्मेसी सञ्चालनका लागि औषधि व्यवस्था विभाग र क्लिनिकको लागि मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयबाट स्वीकृति लिनुपर्ने कानूनी प्रवधान छ । अनुमगमन टोलीले क्लिनिक मापदण्डविपरित सञ्चालन भएको ठहरसहित शिलबन्दी गर्दै तीन दिनभित्र आवश्यक कागजपत्रसहित विभागमा उपस्थिति हुनको लागि निर्देशन दिएको छ । कागजातको आधारमा आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइने उपभोक्ता हित संरक्षण विभागका अनुगमन अधिकृत श्रीप्रसाद अधिकारीले जानकारी गराए । नियमित अनुगमनका क्रममा नियम विपरित सञ्चालनमा रहेका फार्मेसी र क्लिनिकमा शिलबन्दी गरेपछि स्थानीयवासीले सरकार रहेको अनुभूति भएको बताएका छन् । अनुगमनका क्रममा भेला भएका स्थानीयवासी विनोद खड्काले लामो समयदेखि सर्वसाधारणको स्वास्थ्यमाथि खेलबाड गर्दै आएका क्लिनिक बन्द गराएकोमा खुसी लागेको बताए । उनले गलत काम गर्नेमाथि कारबाही भएकाले बल्ल आफूलाई मुलुकमा सरकार रहेको अनुभूति भएको उल्लेख गरे । rss
इण्डोनेशियाको एटेला एयर फ्रेसन काठमाडौंमा, कोठा, मोटर र वाथरुम सुगन्धित बनाउने
काठमाडौं, २३ असार । इण्डोनेशियाको उत्कृष्ट उत्पादन स्टेला एयर फ्रेसनर काठमाडौंको बजारमा आधिकारीक रुपमा बिक्री प्रारम्भ भएको छ । सो अवसरमा पूर्व मिस नेपाल उषा खड्गी, जिपि तिमलसेनाका साथै स्टेलाको नेपालका लागि बिक्री प्रवद्र्धन गोदरेज कन्जुमर प्रोड्क्स् लिमिटेडका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कोठा, मोटर र वाथरुममा हावा सुगन्धित बनाउन र पुरानो दुर्गन्ध हटाउन समेत स्टेला उपयोगी मानिएको छ । स्टेला प्रयोग गर्दा हावालाई लामो समयसम्म सुगन्धित राख्ने कम्पनीले जनाएको छ । अलग अलग ठाउँमा प्रयोग गर्न विभिन्न गुणस्तर र आकारमा स्टेला उपलब्ध छ । इण्डोनेशियामा वर्षौ पहिले उत्पादन थालिएको स्टेला गुणस्तरीय एयर फ्रेसनर लोकप्रिय हुँदै विश्वका बिभिन्न मुलुकहरुमा बिक्री बितरण हुँदै आएको छ । कम्पनीको अनुसार मोटर र कोठामा प्रयोग गर्न २५० मिलिलिटर र ४०० मिलिलिटरमा उपलब्ध छ भने बाथ रुममा क्लिक गर्दा हावा सुगन्धित पार्न ४० मिलिलिटरमा उपलब्ध छ । हावामा ल्किक गर्दा निस्कने एर फ्रेसनरले बाथ रुमलाई लामो समयसम्म सुगन्धित राख्दछ । यसका अतिरिक्ति कागजको वट्टामा ७० ग्रामको ठोस् एयर फ्रेसनर पनि उपलब्ध छ । विभिन्न साइज र परिणाममा पाइने स्टेला एयर फ्रेसनरको मूल्य त्यसै अनुसार फर फरक निर्धारण गरिएको छ । यसको बिक्री प्रवद्र्धन गोदरेज कन्जुमर प्रोडक्टस् लिमिटेडका सिनियर सेल्स म्यानेजर जीवन उप्रेती भन्छन्–“घर, अफिस , वाथरुम, मोटर आदि विभिन्न ठाउँमा प्रयोग गर्न मिल्ने इण्डोने्सियाको उत्पादन स्टेला एयर फ्रेसनरले नेपाली बजारमा आफ्नो छुट्टै पहिचान बनाउने छ ।”
सामसंग किनमेल महोत्सव सम्पन्न, ७ जनाले पाए उपहार
काठामाडौं, २३ असार । सामसंग प्लाजा कार्निभल यहि जून २४ तारिखमा भव्य रुपमा सम्पन्न भएको छ । यसलाई किनमेलसँग समिश्रण गरिएको थियो । विभिन्न स्थानमा आयोजना गरिएको कार्निभलका साप्ताहिक भाग्यशाली बिजयीहरुको नामावली पनि सार्वजनिक गरिएको छ । यो कार्निभल आयोजना गर्नका लागि देशभरका प्रमुख ७ वटा स्थानहरु छनौट गरिएको थियो । साप्ताहिक भाग्यशाली बिजेताहरुमध्ये नयाँबानेश्वरमा विजय राईले, सिभिलमल, कुपण्डोलमा अरबिन्द श्रेष्ठले, भक्तपुरमा नातिकाजी गुरुंगले, के.एल. टावरमा दोर्जे लामाले टाइमेक्स घडी जितेका छन् । त्यस्तै कुमारीपाटिमा सनिश महर्जनले १६ जीबीको पेनड्राईभ पाएका छन् । कार्निभल सामसंगका उत्कृष्ट उत्पादनहरु सूपथ मूल्यमा खरिद गर्नका लागि एउटा अवसर बनेको कम्पनीले जनाएको छ । ‘यो एउटा रोमान्चक तथा आकर्षक किनमेलको वृहत उत्सवभएको थियो, जसले हरेक उत्पादनको खरिद गर्दा तपाईँलाई विशेष बनाएको थियो । कार्निभलको अवसरमा विभिन्न किसिमका छुटहरु खरिदको समयमा प्रदान गरिएको थियो’ कम्पनीले भनेको छ ।
महामन्त्री कोइराला खतरामुक्त, भेन्टिलेटर निकालियो
काठमाडौं, २३ असार । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्यमा सुधार हुँदै गएको र उनी खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । चिकित्सकका अनुसार महामन्त्री कोइरालाको रक्तचाप, अक्सिजनको मात्रा र पिसाबमा बुधबारका तुलनामा आज निकै सुधार हुँदै गएकाले भेन्टिलेटर झिकिएको हो । अहिले उनको रक्तचाप १२०/८०, मुटुको धड्कन ९०/८० र युरिन पास ६० एमएल प्रतिघन्टा भएको अस्पतालका एमडी हरिकिशोर श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार महामन्त्री कोइराला अहिले पूर्ण रुपमा होसमा आइसकेका र उनले कुराकानी पनि गरेका अस्पतालले जनाएको छ । एमडी श्रेष्ठले भने – “अहिले उहाँ पूर्ण रुपमा होसमा आइसक्नुभएको छ । हामीले औषधिको मात्रा पनि घटाएका छौँ । उहाँको स्वास्थ्य अवस्था हिजोको भन्दा बिहान र बिहानको भन्दा अहिले धेरै राम्रो भएको छ ।” यसैबीच नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले आज विज्ञप्ति जारी गर्दै नेता कोइराला पुनः स्वस्थ जीवनशैलीका साथ पार्टी जीवनमा फर्कने विश्वासका साथ स्वास्थ्यलाभको कामना गरेको छ । रासस