काठमाडौंमा थप एक हजार सौर्य सडकबत्ती जडान गरिँदै
काठमाडौं, १२ साउन । काठमाडौं उपत्यकालाई झिलीमिली बनाउने उद्देश्यका साथ एक हजार ८५ सौर्यबत्ती जडान गरिने भएको छ । आगामी डेढ वर्षभित्र काठमाडौँ उपत्यकाका प्रमुख सडकमा सौर्य ऊर्जा जडान गरी झिलीमिली गराउनका लागि सौर्य बत्ती जडान गर्न लागिएको काठमाडौँ महानगरपालिकाका सार्वजनिक निजी साझेदारीका प्रमुख शिव अधिकारीले बताए । प्रमुख शिव अधिकारीका अनुसार उपत्यकाका मुख्य सडकमा सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत उपत्यकामा एक हजार ८५ सौर्यबत्ती जडान गर्न पहिलो चरणका लागि अहिलेसम्म तीनवटा कम्पनीले फारम भरेका छन् । पहिलो चरणका लागि नाम छनोट भएकामा विके ट्रेडर्स सप्लायर्स, होल ट्रेडर्स र कृष्ण ग्रिल एन्ड इन्जिनियर नाम गरेका कम्पनीले निवेदन दिएका छन् । दोस्रो चरणको छनोटबाट भने तीनबाट एकवटा कम्पनी छनोटमा पर्नेछ । दोस्रो चरणका लागि छनोट भएको कम्पनीले नै सौर्य ऊर्जा जडानको सबै काम गर्ने जिम्मा पाउने जानकारी कामपाले दिएको छ । त्यसका लागि एक महिनाको बोलपत्र आह्वान गरिएको छ । काठमाडौंँका मुख्य सडकलाई उज्यालो बनाउने उद्देश्यका साथ ल्याइएको उक्त कार्यक्रमका लागि कामपाले पहिलो चरणका लागि गत जेठ २७ गते सूचना बोलपत्र आह्वान गरेको थियो । सौर्यबत्ती जडानका लागि महानगरले तीन छुट्टाछुट्टै खण्ड पहिचान गरेको छ । सोअनुसार कलङ्कीदेखि माइतीघर, केशरमहल चोकदेखि ठमेल तथा क्षेत्रपाटी हुँदै सोह्रखुट्टेसम्म सौर्यबत्ती राखिनेछ । त्यस्तै, सोह्रखुट्टेबाट बालाजु र नयाँ बसपार्कमा गरी पहिलो चरणमा चारसय खम्बा गाडिने कामपाको भनाइ छ । त्यस्तै, दोस्रोे चरणमा दरबारमार्गदेखि काठमाडौं प्लाजा, कृष्ण पाउरोटी सडक तथा गौशालामा सौर्यबत्ती राखिनेछ । यसैगरी, ज्ञानेश्वरदेखि मैतीदेवी, बत्तीसपुतली, मैतीदेवी, डिल्लीबजार र पुतलीसडकमा तीनसय सौर्यबत्ती जडान गरिनेछन् । महानगरले पहिचान गरेको तेस्रो चरणमा ३८५ खम्बा राखिनेछ । सो चरणअन्तर्गत पुरानो बानेश्वर, रत्नराज्य स्कुल हुँदै शङ्खमूल पुलसम्म, तीनकुने–कोटेश्वर हुँदै नरेफाँट र पुरानो बानेश्वर, भीमसेनगोला हुँदै सिनामङ्ल चोकसम्म सौर्य बत्ती जडान गरिने बताइएको छ । रासस
नारायणीको बाढीले २८ घर डुबानमा, दुई घरमा क्षति
काठमाडौं, १२ साउन । नारायणी नदीमा आएको उच्च बहावसहितको बाढीले पश्चिम चितवनको मङ्गलपुर क्षेत्रका २८ घर डुबानमा परेको छ । यस्तै दुई घरमा क्षति पुगेका छ भने सयौँ स्थानीयलाई सुरक्षित स्थानमा सारिएको जिल्ला विपद् व्यवस्थापन समिति चितवनले जनाएको छ । गएराति विपद् समितिका पदाधिकारीसहित नेपाली सेना, सशस्त्र र जनपद प्रहरी परिचालन गरेर उनीहरुलाई उद्धार गरिएको हो । विपद् व्यवस्थापन समिति चितवनका सूचना अधिकारी बलराम लुइँटेलका अनुसार मङ्गलबार राति नारायणी नदीमा बाढीको सतह खतराको तहभन्दा माथि पुगेर १०.३ मिटर भएको थियो । यहाँ ८.४ मिटर बाढीको सतहलाई खतराको सङ्केत मानिन्छ तर अहिले खतराको सङ्केत समेत नाघेर बाढी उच्च भएपछि बनदी वरपरका धेरै ठाउँमा डुबान भएको हो । चितवनका प्रहरी प्रमुख वसन्त कुँवरका अनुसार पश्चिम चितवनको मङ्गलपुरस्थित शरणपुर र झनझनेको डुबानमा परेका २८ घरका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । यस्तै सोही क्षेत्रमा रहेको मदरसामा समेत बाढी पसेपछि ६० जना बालबालिकालाई समेत अन्यत्र सारिएको कुँवरले बताए । मङ्गलपुरकै दुई घरमा बाढीले क्षति पु¥याएको छ । उनका अनुसार भरतपुर बाह्रघरेमा रहेको हाम्रो घरमा समेत बाढी पसेकाले त्यहाँ आश्रित बालकलाई समेत सुरक्षित स्थानमा सारिएको समितिले जनाएको छ । यसैगरी पश्चिम क्षेत्रमा पर्ने गाँजीपुर, भुवन बस्ती, मेघौलीको स्यालबास, लौखुरी, गोलाघाट क्षेत्रमा समेत बाढी पसेको र कटान सुरु भएको विपद् व्यवस्थापन समितिका सूचना अधिकारी बलराम लुइँटेलले जानकारी दिए। गोलाघाटमा ड्याममा क्षति पु¥याएकाले अस्थायी मर्मत गरिएको छ । बाढी अवलोकनका लागि नारायणीपुलमा मानिसको भीड बढेपछि प्रहरी परिचालन गरेर चितवनको नारायणी पुलमा बसेर हेर्न समेत रोक लगाएको छ । बुधबार बिहान भने बाढीको सतह घढ्दो क्रममा छ । अहिले बाढी घटेर आठ मिटरमा आएको जनाइएको छ । रासस
इपिएस कोरियाको परीक्षाफल प्रकाशित, तीन हजार ५१७ कोरिया जान पाउने
काठमाडौँ, १२ साउन । रोजगार अनुमति प्रणाली (इपिएस) प्रणाली अन्तर्गत कोरियाली भाषा परिक्षामा तीन हजार ५१७ परीक्षार्थी उत्तीर्ण भएका छन् । वैदेशिक रोजगार विभागका अनुसार उतिर्ण सबैले कोरिया जाने अवसर प्राप्त गर्नेछन् । कृषि तथा पशुपालनका क्षेत्रमा दुई हजार १४० तथा निर्माणका क्षेत्रमा एक हजार ३७७ परीक्षार्थी उत्तीर्ण भएका हुन । कोरियामा काम गर्न जान छनोट हुनका लागि भाषा परीक्षामा ६० हजार ६२६ परीक्षार्थीले आवेदन दिए पनि ५७ हजार १२० जना सहभागी थिए । कोरियाले नेपालबाट दक्ष तथा अनुभवी कामदार आफ्नो मुलुकमा लैजान भाषा परीक्षा लिएर योग्य उम्मेदवारलाई छनोट गर्दै आएको छ । यस वर्षसम्म सातौ पटक परीक्षा लिइएको थियो । (नतिजा हेर्न यहाँ क्लिक गर्नु होस)http://eps.hrdkorea.or.kr/epstopik/pass/candidate/sucessReportList.do?lang=en
ग्रामीण विकास बैंकले सीईओ माग्यो, तलव वार्षिक १७ लाख रुपैयाँ
काठमाडौं, १२ साउन । नेपाल ग्रामीण विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नयाँ नियुक्ती गर्ने प्रक्रिया अगाडि बढाएको छ । पाँच वटा क्षेत्रीय विकास बैंक मर्ज हुनुपूर्व भएको सम्झौता अनुसार नयाँ सीईओ नियुक्ती प्रक्रिया अगाडि बढाएको हो । पाँच वटा विकास बैंक मर्ज गर्दा मर्जपछि एक वर्षभित्र साधारणसभा गरेर सञ्चालक समिति चयन गर्ने, त्यसपछि खुला प्रतिस्पर्धाको आधारमा सीईओ नियुक्ती गर्ने सहमति अनुसार नयाँ सीईओ नियुक्ती प्रक्रिया अगाडि बढाएको वर्तमान सीईओ धर्मराज पाण्डेले विकासन्युजलाई जानकारी दिए । मर्ज भएका पाँच ग्रामीण विकास बैंक मध्ये नाफामा रहेको एक मात्र पश्चिमाञ्चल ग्रामीण विकास बैंकको सीईओ पाण्डेलाई मर्जपछिको नेपाल ग्रामीण विकास बैंकमा सीईओ बनाईएको थियो । नयाँ सीईओको लागि स्नातक पास गरेको, बैंक तथा वित्तीय क्षेत्रमा कम्तिमा ५ वर्ष कार्यकारी पदमा काम गरेको, ४० वर्ष पुरा भई ५८ वर्ष ननाघेको व्यक्तिले प्रतिस्पर्धा गर्न पाउने भएका छन् । नयाँ सीईओको लागि वार्षिक १७ लाख रुपैयाँ बराबरको तलव र अन्य सुविधा हुने जनाईएको छ । भदौ ८ गतेसम्म आवेदन खुला गरिएको र आवेदक मध्येबाट पाँच जनालाई सर्ट लिस्टङ गरी अन्तरवार्तामा बोलाईने बैंकले जनाएको छ ।
४४ करोड मूल्य बराबरको परिवार नियोजनका साधन आयात, २६ करोडको कण्डम मात्र
काठमाडौं, १२ साउन । परिवार नियोजनका अस्थायी साधनहरुको प्रयोग बढेको छ । नेपालीले एकै बर्ष ४४ करोड ८४ लाख रुपैंयाँका त्यस्तो साधन प्रयोग गरेका छन् । त्यसमा पुरुषले २६ करोड १५ लाख रुपैंयाँ बराबरका साधन प्रयोग गरेका छन भने महिलाले १८ करोड ६९ लाख रुपैंयाँ बराबरका साधन उपयोग भएको छ । पुरुषले एक वर्षमा १२ लाख ४३ हजार किलो अस्थायी साधन प्रयोग गरेको देखिन्छ भने महिलाले २० लाख २३ हजार किलो अस्थायी साधन उपयोग भएको छ । पुरुषले सबै भन्दा धेरै कण्डम, प्यान्थर, ढाल प्रयोग गरेको देखिन्छ । महिलाका हकमा भने अस्थायी साधनका रुपमा निलोकन ह्वाइट, आइसीयुडी तथा बिभिन्न ट्याबलेटहरुको प्रयोग भएको देखिन्छ । आयात निर्यातको तथ्यांक राख्ने व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले तयार पारेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७१/७२ मा सो मात्रामा परिवार नियोजनका अस्थायी साधन आयात भएको हो । नेपालले १९ करोड ६४ लाख रुपैंयाँ बराबरको ८ लाख १८ हजार किलो कण्डम तथा प्यान्थर र ढाल लगायतका पुरुषले प्रयोग गर्ने अस्थायी साधन भारतबाट भित्र्याएको छ । त्यस्तै, पाँच करोेड ९१ लाख रुपैंयाँ बरारबका महिलाले प्रयोग गर्ने २० लाख किलो साधन भारतबाट आयात गरेको छ । नेपालले ११ मुलुकबाट पुरुषले प्रयोग गर्ने कण्डम लगायतका साधन आयात गरेको छ । त्यसमा भारत, चीन, बंगलादेश, कोरिया, जापान, मलेसिया, सिंगापुर, नेदरल्याण्ड, थाइल्याण्ड, युके, र अमेरिकाबाट त्यस्ता समान भित्रिएका छन् ।महिलाले प्रयोग गर्ने ट्याबलेट लगायतका समानहरु १७ देशबाट ल्याइएका छन् । जर्मनी, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, हंगेरी, स्पेन, ताइवान, थाइल्याण्ड,इण्डोनेसिया, नेदरल्याण्ड, चीन, बंगलादेश, भारत, बेल्जियम, बेलायत र अमेरिकाबाट महिलाले प्रयोग गर्ने ल्याइएको छ ।
स्मार्टफोनको व्याट्री चाँडै सकिन्छ ? स्मार्टफोनको ब्याट्री चार्ज गर्दा नगर्नुस् यी ५ गल्ती
काठमाडौं, ११ साउन । स्मार्टफोनको ब्याट्री द्रुत गतिमा सकिने समस्या आम हुन्छ । अधिकाँश स्मार्टफोनको ब्याट्री छिटो सकिन्छ । दिनभरी फोन चार्जमा राख्न सम्भव हुँदैन तर चार्ज सकिएपछि तनाव हुन्छ । यहाँ ब्याट्री चार्ज गर्दा गर्न नहुने ५ गल्ती र ब्याट्रीको लाइफ बढाउने तरिकाको चर्चा गरिएको छ । १- फोनलाई आधा ब्याट्री हुँदा नै चार्जमा राख्नुस् सके सम्म स्मार्टफोनमा आधा ब्याट्री हुँदा नै चार्ज गर्दा राम्रो हुन्छ । ५० प्रतिशत भन्दा माथि ब्याट्री भएको समयमा पुनः चार्ज गर्नु भो भने यसले ब्याट्रीको लाइफ बढाउन मद्दत गर्छ । २- फोनलाई चिसो राख्नुस् सके सम्म फोनलाई चिसो ठाउँमा राख्नुस् । गर्मी ब्याट्रीको दुश्मन हो । गर्मीले ब्याट्री छिटो सकिने मात्र होइन यसको आयु समेत घटाइ दिन्छ । ३- ब्याट्री पुरै सकिन नदिनुस् सके सम्म आफ्नो स्मार्टफोनको ब्याट्रीलाई पुरै सकिन नदिनुस् । ब्याट्रीलाई छोंटो छोंटो समयमा चार्ज गर्नुस् । यसो गर्दा ब्याट्रीको लाइफ बढ्छ । जिरो ब्याट्री पुर्याएर पुनः चार्ज गर्दा ब्याट्रीका लागि घातक हुन्छ । ४- आफ्नो चार्जर प्रयोग गर्नुस् स्मार्टफोनमा जनु पायो त्यही चार्जरबाट चार्ज गर्दा ब्याट्रीमा असर पुग्छ । कतिपय चार्जरले पट विगारिदिन्छन् भने कतिपयले ब्याट्रीको लाइफ नै । ५- फोन बन्द गरेर चार्ज गर्नु राम्रो फोन चार्ज गर्दा सके सम्म बन्द गरेर चार्ज गर्नुस् । बन्द गरेर ब्याट्री चार्ज गर्दा छिटो चार्ज हुने मात्र होइन ब्याट्री लाइफमा पनि बढोत्तरी हुन्छ ।
स्कोडाको नयाँ कार १५ मिनेट चार्ज गरेर ४ सय ८२ किलो मिटर चल्ने कार !
काठमाडौं, ११ साउन। यदि तपाइँलाई कार चढ्दा पेट्रोल वा डिजेल खर्च भएको देखेर दिक्क लागेको छ भने चिन्ता छोड्नुस् । अव पेट्रोल र डिजेल खर्च नगरी घन्टौं घन्टा यात्रा गर्न सकिन्छ । कार कम्पनी स्कोडाले केवल १५ मिनेट चार्ज गरेर झण्डै ५ सय किलोमिटर चल्ने कार लञ्च गर्न लागेको छ । फक्सवागनको एमइबी ब्याट्री प्लेटफर्ममा तयार गरिने यो कार थोरै चार्जबाट लामो समय चल्न सक्ने दावी कम्पनीले गरेको छ । यी २ कम्पनीको हाइब्रिड ब्राण्डकोरुपमा इलेक्ट्रिक कार बजारमा आउन लागेको बताइएको छ । यो कारको विषयमा धेरै जानकारी बजारमा नआइसकेको भएपनि केवल १५ मिनेटमा फुल चार्ज हुने यो कारले एक पटकमा ४८२ किलोमिटर सम्म माइलेज दिन सक्ने छ । अझै रमाइलो कुरा त यो कारको मूल्य पेट्रोल वा डिजेलबाट चल्ने कार भन्दा सस्तो हुने बताइएको छ । यो मोडलको कार सन् २०२० सम्म बजारमा आइसक्ने छ । सन् २०१९ मै यसको स्कोडा सुपर्ब र नयाँ कोडिएक भर्सन बजारमा आइसक्ने कम्पनीले जनाएको छ । एजेन्सीको सहयोगमा
सेम्टेम्बरमा अाउन लागेको आईफोन ७ मा के छ ? यस्ता छन् मनै लोभ्याउने फिचर
काठमाडौं, ११ साउन। आउँदो सेम्टेम्बरमा एप्पलको बहुप्रतिक्षित फोन आईफोन ७ र आईफोन ७ प्लस बजार आउँदैछ। निकै व्यग्रताकासाथ प्रतिक्षा गरिएको यी फोनमा हुन सक्ने फिचरका बारेमा पनि बजारमा अनेक चर्चा र अडकलबाजी चलिरहेको छ। के कस्ता फिचर सहित आईफोन ७ आऊला ? यसका बारेमा केही जो कोही जान्न चाहन्छ। यहाँ आईफोन ७ मा हुनसक्ने सम्भावित फिचरका विषयमा चर्चा गरिएको छ। सेम्टेम्बरमा एप्पलले आईफोन ७ र अलि ठुलो आकार र क्षमताको आईफोन ७ प्लस एकसाथ बजारमा उतार्ने सम्भावना छ। आईफोन ७ मा ४.७ इन्चरको स्क्रिनमा सहित ३डी डिस्प्ले हुनेछ भने आईफोन ७ प्लसको स्क्रिन ५.५ इन्च हुनेछ। तर दुबै फोनमा रिसोलुसन भने थपिने सम्भावना छ। आईफोन ७ मा एप्पल ए१० प्रोसेसर र २ जिबीको र्याम हुनेछ। आईफोन ७ प्लसमा भने ४ जिबी सम्मको र्याम र प्रोसेसर उही तर क्लक स्पिड बढि राखिने चर्चा छ। यसै गरि अबदेखी १६ जिबीको इन्टरनल स्टोरेजलाई बढाएर न्युनत ३२ जिबी पुर्याइने र २५६ जिबी क्षमता सम्मको इन्टरनल स्टोरेज क्षमताका आईफोन समेत उपलब्ध हुने बजारमा अडकल काटिएको छ। यसैगरि आईफोन ७ मा १२एमपीको रियर क्यामेरा र ५एमपीको फ्रन्ट क्यामेरा हुने संभावना छ। आईफोन ७ प्लसमा भने थप शक्तिशाली क्यामेरा समावेश हुनेछ जसमा १६एमपीको रियर क्यामेरा र ८ एमपीको फ्रन्ट क्यामेरा हुने चर्चा छ। आईफोन ७ मा लेटेस्ट आईओस १० हुनेछ । इन्टेलिजेन्ट सजेसन दिन सक्ने समार्टर भर्चुअल किवोर्ड समावेश हुनेछ। नयाँ आईओसमा फोटोमा एपमा पनि धेरै सुधार हुनेछ। एप्पलले आईफोन ७ मा धेरै क्षमताका ब्याट्री राख्ने बताइएको छ। आईफोन ७ मा ३ हजार एमएएच र आईफोन ७ प्लसमा ४ हजार एमएएच क्षमताका ब्याट्री राखिनेछ। आईफोन ७ मा तीब्र गतिमा हुने चार्ज (फास्ट चार्जिङ) टेक्नोलिजी आउने सम्भावन पनि रहेको बताइन्छ। एन्ड्रोइड फोनमा पहिले आइसकेको वाटर रेसिस्टेन्ट फिचर पनि आईफोन ७ मा आउने सम्भावाना छ।