यी हुन् नेपाली फोटो ग्राफरले खिचेका उत्कृष्ट फोटाहरु
काठमाडौं, १४ साउन । आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७३ का विजेताहरु छानिएका छन् । गत वर्षभरी नेपाली फोटो ग्राफरहरुले खिचेका उत्कृष्ट तस्विरहरु सम्मिलित प्रतियोगीताको शिर्ष उपाधि दिपकरत्न बज्रचार्यले जिते । त्यस बाहेक बिभिन्न बिधामा प्रथमदेखि तृतिय स्थान हासिल गर्ने फोटो ग्राफरहरु छानिएका छन् । भूकम्प जाँदै गरेको दृश्य क्याप्चर गरेकोे यो फोटोले बज्राचार्यलाई फोटो अफ द इयर ०७३ बनाएको हो । यसैगरीको नभेष चित्रकारको यो फोटोले शिखर इन्स्योरेन्स नेपाल स्माइल विधा जित्यो । आईएमएस डेली लाइफ’ विधामा नरेश श्रेष्ठको फोटोले बाजी मार्यो । त्यस्तै नभेष चित्रकारले अर्घाखाची सिमेन्ट न्युज विधाको उपाधि जिते । नेपाल टेलिकमले प्रायोजन गरेको नेचर एण्ड वाइल्डलाइफमा रमेश कुमार पौडेलको फोटोले प्रथम स्थान हासिल गर्यो । चितवन राष्ट्रिय निकुञ्जभित्रको जंगलमा देखिएका मयुरहरु । घुमफिर २०७३ कल्चर एण्ड टुरिजममा दिनेश श्रेष्ठले दिएको फोटो प्रथम भयो । त्यस्तै मोडल ग्लोबल भिसा कन्सल्टेन्सी स्पोर्टस विधाको उपाधि सुरबिन्द्रकुमार पुनले जिते । रुकुमको तकसेरा गाविसको तक गाउँको एक परम्परागत घरको छतमा फुटबल खेल्दै स्थानीय बालकहरु । भिरालो जमिन हुने पहाडी क्षेत्रमा खेल्ने मैदान नहुँदा खेल्ने उमेरका बालबालिकाहरु विकल्पका रुपमा घरको छतलाई पनि प्रयोगमा ल्याउने गरेका छन । फोटो स्टोरीमा नबिन बरालको फोटो प्रथम भयो । आईएमएस डेली लाइफमा गोपेन राईको फोटो दोश्रो भयो । प्रताप थापाको यो फोटाले तेस्रो स्थान हासिल गर्यो । अर्घाखाची सिमेन्ट न्युज बिधामा राजेश गुरुङले खिचेको यो फोटो दोस्रो बन्न सफल भयो । लक्ष्मीप्रसाद ङाखुसी लिएको यो तस्विरले तेस्रो स्थान ओगट्न सफल भयो । नेपाल टेलिकम नेचर एण्ड वाइल्ड लाइफमा’मा बिसोप ताम्राकारको फोटोले दोश्रो स्थान पायो । त्यस्तै, विकास खड्गीको फोटो तेस्रो भयो । घुमफिर २०७३ ‘कल्चर एण्ड टुरिजममा सम्बर्दन बज्रचार्यको यो फोटोले दोश्रो स्थान प्राप्त गर्यो । आभाष कर्माचार्यको फोटो भने तेस्रो स्थानमा पर्न सफल रह्यो । मोडल ग्लोबल भिसा कन्सल्टेन्सी स्पोर्टसमा रोबिक उपाध्यायको फोटो दोस्रो बन्यो । त्यस्तै, उमेश श्रेष्ठले खिचेको यो तस्विर तेश्रो नम्बरमा पर्न सफल भयो । शिखर इन्स्योरेन्स नेपाल स्माईलमा रजेन्द्र केसीको फोटो दोस्रो स्थानमा पर्यो । सुलभभक्त श्रेष्ठको फोटो भने तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो । त्यस्तै फोटो स्टोरीमा सागर क्षेत्रीको फोटो उपविजेता बन्न सफल भयो । तेश्रो स्थानमा भने नभेष चित्रकारका फोटा पर्न सफल भए ।
गत आर्थिक वर्षमा विज्ञापन करमा लक्ष्यभन्दा ४१३ प्रतिशतले प्रगति
काठमाडौं, १४ साउन । काठमाडौं महानगरपालिकाले यस वर्ष विज्ञापन करमा लक्ष्यभन्दा बढी प्रगति हासिल गरेको छ । गत आवमा विज्ञापन करमा लक्ष्यभन्दा ४१३ प्रतिशतले प्रगति गरेको महानगरपालिकाका राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिए। ५० हजार रुपैयाँमात्र विज्ञापन करका लागि लक्ष्य लिएकामा रु दुई करोड ६३ लाख सात हजार राजस्व सङ्कलन गर्न सफल भएको उनले बताए। आव २०७१÷७२ मा विज्ञापन करमार्फत रु ६२ लाख राजस्व असुल गरेको थियो । नियम विपरीत विभिन्न स्थानमा राखिएका होर्डिङबोर्ड हटाउने र नियममा रही विज्ञापन राख्न कडा गरेपछि विज्ञापन कर असुलीमा वृद्धि भएको हो । सबैभन्दा कम मनोरञ्जन करमा रु २५ लाख लक्ष्य रहेकामा रु चार हजार ८५० मात्र आम्दानी गरेको छ । त्यसैगरी घरजग्गा करमा लक्ष्यको ९४ प्रतिशत, मालपोतमा १०१, घरबहाल करमा ८८, वार्षिक सवारी करमा ३३, व्यवसाय करमा १०९ र सिफारिस दस्तुरमा १९५ प्रतिशत लक्ष्यअनुरुपको प्रगति हासिल गरेको छ । अघिल्लो आवमा रु एक अर्ब ४६ करोड राजस्व सङ्कलनको लक्ष्य राखेको महानगरपालिकाले रु एक अर्ब ११ करोड ९९ लाख रकम असुल गरेको थियो । गत आवका लागि रु एक अर्ब ५८ करोड २० लाख लक्ष्य रहेकामा रु एक अर्ब ४३ करोड १८ लाख ४८ हजारमात्र रकम असुल गरेको छ । रासस
नुनखानीकै बासिन्दा आयातित नुन खाँदै, २० वर्षदेखिनै नुन उत्खननमा समस्या
मुस्ताङ, १४ साउन । नजिकै नुनखानीको पहाड छ । घाम लागेको समयमा त्यही नुन बगेर खेर गइरहेको हुन्छ । तैपनि, मुस्ताङको छुसाङ गाविसस्थित तेताङ गाउँका वासिन्दा २० वर्षदेखि त्यही नुनखानी हेरेर आयातित नुन खान बाध्य छन् । नुन उत्खननका समयमा निःशुल्क नुन उपभोग गर्दै आएका तेताङवासी अहिले केजीको हिसाबमा महँगो मूल्य तिरेर नुन उपभोग गर्न बाध्य भएका हुन् । स्थानीय घुली गुरुङले उत्खनन गर्न छाडेपछि नुनखानी अलपत्र बनेको स्थानीय युवा पेमादोर्जे गुरुङले जानकारी दिए। “एक पोका नुनको हामीले रु ३० हालेर उपभोग गर्न बाध्य छौँ, तर नुनखानीको उत्खननबारे कसैले चासो दिदैनन्”– उनले भने । त्यही उत्खनन गरिएको नुनले २० वर्षअघिसम्म तेताङ र सिङ्गो मुस्ताङ जिल्ला मात्र होइन म्याग्दी र बागलुङ जिल्लामा समेत निर्यात हुने गरेको थियो । नुन उत्खननको समयमा गाउँमा व्यापार व्यवसाय पनि राम्रो सञ्चालन हुने गरेको गुरुङको सम्झना छ । वार्षिक ७० मुरीसम्म नुन उत्खनन हुने गरे पनि राज्यको ध्यान पुग्न नसकेको स्थानीयवासीले बताएका छन् । हालै उद्योगमन्त्री सोमप्रसाद पाण्डे नेतृत्वको प्राविधिक टोलीसँग स्थानीयवासीले नुनखानी तत्काल सञ्चालन गर्न माग गरेका थिए । खानी क्षेत्रमै आयातित नुन खाने व्यवस्था अन्त्य गर्न माग गरेको स्थानीय छिमीपेम्बा गुरुङले जानकारी दिए । खानी तथा भूगर्भ विभागका प्राविधिकहरुले पनि तत्काल नुनखानी उत्खनन गर्न सम्भव रहेको निष्कर्ष निकालेका थिए । वरिष्ठ भूगर्भविद् धर्मराज खड्काले नुनखानी उत्खननका लागि आवश्यक प्रक्रिया अघि बढाउने मन्त्रालयलाई सुझाव दिइएको बताए। रासस
वैदेशिक रोजगार ठगीका २७ उजुरी
१४ साउन, पोखरा। मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम)द्वारा वैदेशिक रोजगारपीडितका लागि निःशुल्क कानुनी सहायता प्रदान गर्न पोखरामा स्थापित शाखा कार्यालयमा दुई महिनामा ठगीका २७ वटा उजुरी दर्ता भएका छन् । वैदेशिक रोजगारका नाममा धेरै व्यक्ति गठीमा पर्ने गरेको भन्दै पोखरा र आसपासका क्षेत्रका पीडितलाई निःशुल्क कानुनी सहायता प्रदान गर्ने उद्देश्यले गत जेठ २ गतेबाट पोखरा–७ राष्ट्रबैंक चोकमा कार्यालय सञ्चालन गरिएको थियो । कार्यालयका कानुन अधिकृत अधिवक्ता दिपेन्द्र अर्यालकाअनुसार वैदेशिक रोजगारपीडितमध्ये अधिकांश आफन्तबाटै ठगिएको पाइएको छ । हालसम्म कार्यालयमा वैदेशिक रोजगारका नाममा २० देखि १५ लाख रुपैयाँसम्म ठगिएका उजुरी परेको उनले बताए । पीडितले प्रस्तुत गर्ने प्रमाणका आधारमा उसको उजुरीलाई दर्ता गरी मानवअधिकारका लागि जनमञ्चको केन्द्रीय कार्यालय काठमाडौंमार्फत बैदेशिक रोजगार विभागमा पठाउने गरिएको उनले बताए । कार्यालय सञ्चालनमा आएसँगै कास्की, स्याङ्जा, तनहुँ, गोरखा, बागलुङलगायत जिल्लामा वैदेशिक रोजगार ठगी न्यूनीकरणका लागि सरोकारवालाबीच अभिमुखीकरण गरिएको छ । कार्यालयले कास्कीका ढिकुरकोखरी, अर्मला, भदौरे तामागी, मौजा, कृष्तिनाच्ने चौर, माछापुच्छ्रे, थुमाको डाँडा, घान्द्रुक, पार्चे र निर्मल पोखरीमा वैदेशिक रोजगार सम्बन्धमा कानुनी सचेतना कार्यक्रम पनि सञ्चालन गर्न लागिएको उनको भनाइ थियो । रासस
दिपकरत्न बज्रचार्यले जिते आइएमई–ग्लोबल–आइएमई फोटो प्रतियोगीताको उपाधी
काठमाडौं, १४ साउन । आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७३ को उपाधि दिपकरत्न बज्रचार्यले जितेका छन् । भूकम्प जाँदै गरेको दृश्य क्याप्चर गरेको फोटो यो वर्षको आइएमई–ग्लोबल–आइएमई फोटो अफ द इयर ०७३ घोषित भएको हो । यसैगरीको नभेष चित्रकारको फोटोले शिखर इन्स्योरेन्स नेपाल स्माइल विधा जित्यो भने आईएमएस डेली लाइफ’ विधामा नरेश श्रेष्ठले बाजी मारे । त्यस्तै नभेष चित्रकारले अर्घाखाची सिमेन्ट न्युज विधाको उपाधि जित्दा नेपाल टेलिकम नेचर एण्ड वाइल्डलाइफमा रमेश कुमार पौडेल तथा घुमफिर २०७३ कल्चर एण्ड टुरिजममा दिनेश श्रेष्ठले बाजी मारे । त्यस्तै मोडल ग्लोबल भिसा कन्सल्टेन्सी स्पोर्टस विधाको उपाधि सुरबिन्द्रकुमार पुनले जिते भने फोटो स्टोरीमा नबिन बरालको फोटो प्रथम भयो । आईएमएस डेली लाइफमा गोपेन राईको फोटो दोस्रो तथा प्रताप थापाको फोटो तेस्रो भयो । अर्घाखाची सिमेन्ट न्युज बिधामा राजेश गुरुङको फोटो दोस्रो तथा लक्ष्मीप्रसाद ङाखुसी तेस्रो भए । नेपाल टेलिकम नेचर एण्ड वाइल्ड लाइफमा’मा बिसोप ताम्राकारको फोटो उपविजेता बन्दा विकास खड्गीको फोटो तेस्रो भयो । घुमफिर २०७३ ‘कल्चर एण्ड टुरिजम’मा सम्बर्दन बज्रचार्य उपविजेता तथा आभाष कर्माचार्यको फोटो तेस्रो भयो । मोडल ग्लोबल भिसा कन्सल्टेन्सी स्पोर्टस’मा रोबिक उपाध्यायको फोटो दोस्रो तथा उमेश श्रेष्ठको फोटो तेस्रो भयो । ‘शिखर इन्स्योरेन्स नेपाल स्माईल’मा रजेन्द्र केसीको फोटो दोस्रो तथा सुलभभक्त श्रेष्ठको फोटो तेस्रो भयो । त्यस्तै ‘फोटो स्टोरी’मा सागर क्षेत्रीको फोटो उपविजेता तथा नभेष चित्रकारका फोटोहरु तेस्रो भए । देशभरबाट प्राप्त फोटोहरुको निर्णायक चरण भारतका वरिष्ठ फोटोग्राफर प्रसान्त पन्जियार अध्यक्षतामा रहेकोे निर्णायक मण्डलले बिजेता सहित उकृष्ट फोटोहरु छानेको हो । यही १३ साउन २०७३ काठमाडौंमा सम्पन्न भएका निर्णायक चरणका निणार्यक मण्डलमा वरिष्ठ फोटोग्राफर मणी लामा, वरिष्ठ क्युरेटर संगिता थापा, केयु स्कुल अफ आर्टका कार्यक्रम संयोजक सुजन चित्रकार, वरिष्ठ फोटोपत्रकारद्धय देबेन्द्रमान सिंह , नरेन्द्र श्रेष्ठ र प्रकास माथेमा रहेको थियो । प्रतियोगिताका लागि देशभरबाट विभिन्न सात बिधामा ६ हजार ६ सय ७० फोटो प्राप्त भएको छ । दुईदिन चलेको निर्णायक चरणबाट सबै विधाका विजेतासहित उत्कृष्ट करिब १ सय ५० फोटो छानिएका छन् देशभरबाट यसपालीको प्रतियोगितालाई ८ सय ११ व्यवसायिक र एमेच्योर फोटोग्राफरले ६ हजार ६ सय ७० फोटो पठाएका थिए । निर्णायक चरणबाट छानिएका करिब १सय ६० फोटोहरुलाई विजेता घोषणापछि काठमाडौं, विराटनगर, धरान , सौराह, भैरहवा ,पोखरा, नेपालगन्ज र धनगढीमा प्रदर्शनी गरिनेछ । ‘आइएमई–ग्वोबल–आइएमई बैंक फोटो अफ द इयर’ विजेताले नगद १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ पाउनेछन् । काठमाडौंमा यही भाद्र १५ देखि २१ गतेसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा प्रदर्शनी गरिनेछ ।
ऊर्जा सङ्कट निवारण कार्ययोजनाः प्रसारण लाइन निर्माणमा सफलता प्राप्त हुँदै
काठमाडौं, १४ साउन । नीतिगत र कानुनी सुधारलगायतका विषयमा सरकारले घोषणा गरेको राष्ट्रिय ऊर्जा सङ्कट निवारण तथा विद्युत् विकास दशक सम्बन्धी अवधारणा अगाडि बढ्न नसके पनि केही महत्वपूर्ण विषयमा सुधारको सङ्केत देखा परेको छ । ऊर्जा मन्त्रालयले व्यवस्थापिका–संसद्, कृषि तथा जलस्रोत समितिमा पेस गरेको प्रतिवेदनमा केही महत्वपूर्ण प्रसारण लाइन निर्माणको प्रक्रियाले गति लिएको उल्लेख छ । ऊर्जा मन्त्रालयका सहसचिव चिरञ्जिीवी चटौतका अनुसार खिम्ती ढल्केबर प्रसारण लाइनको निर्माण कार्यले गति लिएको छ । विगत दश वर्षदेखि जग्गा प्राप्ति, मुआब्जा वितरण र स्थानीयवासीले विभिन्न माग राख्दै अवरोध गर्दै आएका थए । पछिल्लो समय सुरक्षाकर्मी परिचालन गरेर सो आयोजनाको कार्य अगाडि बढेको छ । कुल २२० केभी क्षमताको सो प्रसारण लाइनको एउटा टावर निर्माण गर्न बाँकी छ भने केहीमा तार तान्न बाँकी छ । नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक कन्हैयालाल मानन्धर आगामी दसैंसम्म निर्माण कार्य सम्पन्न हुने बताउछन् । यस्तै खिम्ती ढल्केबर प्रसारण लाइन आयोजनाका आयोजना प्रमुख श्यामकिशोर यादवले छवटा टावरको निर्माण प्रक्रिया अगाडि बढेको र तार तान्ने काम भइरहेको बताए। ढल्केबरमा २२० केभी क्षमताको सव स्टेसन निर्माण कार्य जारी छ । ढल्केबरमा ठूलो क्षमताको सव स्टेसन नहुँदा भारतबाट आयात गर्न लागिएको थप विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न समस्या भएको थियो । मुजफ्फरपुर– ढल्केबर अन्तरदेशीय प्रसारण लाइनबाट हाल ८० मेगावाट विद्युत् आयात भइरहेको छ । नेपाल र भारतका ऊर्जा सचिवको केही समयपहिले सम्पन्न संयुक्त बैठकले सोही प्रसारणलाइनबाट थप विद्युत् ल्याउने सहमति भएको थियो । आगामी पुससम्म सव स्टेसन निर्माण सम्पन्न भए भारतबाट आयात हुने ३०० मेगावाट विद्युत्ले विद्युत्भार कटौती गर्न सहयोग पुग्ने छ । प्राधिकरणका उपकार्यकारी निर्देशक मानन्धर चिनियाँ ठेकेदारलाई तत्काल काम सुरु गर्न र तोकिएको समयमा नै सम्पन्न गर्न ताकेता गरिएको बताउछन् । ट्रान्सफर्मरलगायतको सामान ढल्केबरमा आइपुगेको छ । “पुससम्म सव स्टेसन निर्माण सम्पन्न हुनेछ,” उनले भने । यस्तै मन्त्रालयले ऊर्जा सङ्कटलाई ध्यानमा राखेर कुशाहा– कटैया, रक्सौल–परवानीपुर प्रसारण लाइन आगामी पुससम्म सम्पन्न गर्ने गरी काम अगाडि बढेको जनाएको छ । ती प्रसारण लाइनबाट थप ५०÷५० मेगावाट विद्युत् आयात गर्ने तयारी गरिएको छ । नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठकको सहमतिअनुसार न्यू बुटबल– गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणको अध्ययन अगाडि बढाइएको छ । उक्त प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन आगामी पुससम्म सम्पन्न गर्ने लक्ष्य छ । विद्युत् प्रसारण लाइन गुरुयोजना पनि तयार भएको छ । आन्तरिक तथा अन्तरदेशीय प्रसारण लाइनलाई अगाडि बढाउने लक्ष्यका साथ उक्त गुरुयोजना तयार पारिएको मन्त्रालयको दाबी छ । यस्तै जल तथा ऊर्जा आयोगले बागमती नदी बेसिन गुरुयोजना तयार गरिरहेको छ भने अन्य नदी बेसिन गुरुयोजना तर्जुमा गर्न परामर्शदाता छनोटको संक्षिप्त सूची तयार पार्ने कार्य अन्तिमचरणमा पुगेको छ । ऊर्जा सचिव सुमनप्रसाद शर्मा कार्ययोजना पूर्णरुपमा कार्यान्वयन हुनेमा आशावादी छन् । अन्तरनिकाय समन्वयको लागि मन्त्रालयस्तरमा सहसचिवलाई जिम्मा दिइएको, राष्ट्रिय विद्युत् उत्पादन कम्पनी स्थापना गर्न सम्बन्धित निकायबाट सहमति प्राप्त भएको र मन्त्रिपरिषद्मा प्रस्ताव दर्ता गर्ने तयारी भएको, सरकारी तहमा एक इन्जिनियरिङ परामर्श कम्पनी खडा गर्न कार्यदल गठन भएको र विभिन्न कम्पनी स्थापनाका लागि चालु आवमा रु दुई अर्ब विनियोजन गरिएको शर्माले जानकारी दिए । रासस
माछापुच्छ्रे बैंक र इजी लिंकबीच रेमिट्यान्स सम्झौता
काठमाडौं, १४ साउन । माछापुच्छ्रे बैंक लिमिटेड र इजी लिंक रेमिट्यान्सबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा माछापुच्छ्रे बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र इजी लिंकका प्रबन्धक प्रमुख कार्यकारी अधिकृत डिपी अर्यालले हस्ताक्षर गरेका हुन् । ‘रेमिट्यान्सको रकम उत्पादनशील क्षेत्रमा लगानी गरौं’ भन्ने मूल नाराका साथ बैंकबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता गरेको रेमिट्यान्सले जनाएको छ । सो सम्झौतापछि अब विश्वका विभिन्न देशबाट इजी लिंकमार्फत आएको रकम माछापुच्छ्रेका देशभरि रहेका ५६ शाखाबाट भुक्तानी लिन सकिने छ । विदेशबाट पठाएको पैसालाई छिटोछरितो तरिकाले सेवाग्राहीसम्म पुर्याउन यो सम्झौताले थप सहज बनाउने कम्पनीले जनाएको छ । इजी लिंकले विश्वका विभिन्न मलुकबाट नेपालमा रेमिट्यान्स भित्राउने, आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान देशभरका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुका साथै निजी कम्पनीहरुसँग पनि रेमिट्यान्स भुक्तानी सम्झौतालाई तीव्र पारेको छ । सम्झौतासँगै विश्वका विभिन्न मुलकबाट इजी लिंकमार्फत पठाएको रकम अब यसका २२ सयभन्दा बढी एजेन्ट, सब एजेन्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट भुक्तानी लिन सकिने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
एसएलसी पूरक परीक्षा आजदेखि सुरु, २१ गतेसम्म सञ्चालन हुने
भक्तपुर, १४ साउन । परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले देशभरका १९२ वटा परीक्षा केन्द्रमार्फत आजबाट प्रवेशिका (एसएलसी) पूरक अर्थात ग्रेड वृद्धि परीक्षा सुरु गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले आजदेखि सुरु भएको परीक्षामा नियमित तर्फ एक लाख आठ हजार ३२६ जना र एक्जाम्टेड तर्फ ३९ हजार २५७ जना गरी कुल एक लाख ४७ हजार पाँचसय ८३ जना सहभागी भएको जानकारी दिए। एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डि’ र ‘इ’ ग्रेड ल्याउने परीक्षार्थीले पूरक अर्थात ग्रेड वृद्धिपरीक्षा दिन पाउने कार्यालयले व्यवस्था गरेको थियो । परीक्षा २१ गतेसम्म सञ्चालन हुनेछ । रासस