वृद्धभत्ता र सुन धरौटी राखेर सडक निर्माण, बाटो खन्न स्थानियले २६ लाख जुटाए
काठमाडौं २३, भदौ, । वैतडीका स्थानियले बृद्धभत्ता र सुन धरौटी राखेर सडक खन्न थालेका छन् । मणिदत्त बडूले बृद्ध भत्तावापत पाएको आठ हजार रुपैयाँ सडक खन्नका लागि दिए । सँगै एकल महिला भत्ता थापेकी तारादेवी बडूले पनि आफूले पाएको आठ हजार रुपैयाँ देहोमान्डु दुर्गास्थानदेखी सलनासम्मको ग्रामिण सडक निर्माण उपभोक्ता समितिलाई बुझाइन् । दलित भत्ता बुझेका नरुवा कामीले भने दुई हजार थपेर १० हजार रुपैयाँ सुम्पिए । एकपछि अर्कौ गर्दै दुर्गास्थान र देहीमान्डु गाविसका विभिन्न वडाका झन्डै बीसजनाले बृद्धभत्ता घरमै नपुर्याई सडकका लागि बुझाए ।असिमकेदार मन्दिरका पुजारी लक्ष्मीदात्त पाण्डेले आफूसँग भएको दुई तोला सुन धरौटी राखेर समितिलाई रकम दिए । भारतीय सेनाको जिम्दारबाट सेवानिबृत्त भएका तारादत्त बडुले पनि पेन्सनिबाट आएको रकममा थपेर ३५ हजार रुपैयाँ दिएको समाचार विहिबारको अन्नपूर्ण पोष्टमाा छापिएको छ । समितिका सचिव कृष्णदत्त बडूका अनुसार वर्षैदेखि गाउँघरसम्म बाटो आउने र गाडी गुडोस् भन्ने सपना देखेका बैतडी दुर्गास्थानका बासिन्दाले एकपछि अर्कौ गर्दै २६ लाख रुपैयाँ संकलन गरेका छन् ।
विद्यार्थीभन्दा प्राध्यापक धेरै, इतिहास विभागमा एक विद्यार्थी १२ प्राध्यापक
काठमाडौं २३, भदौ । त्रिभुवन विश्व विद्यालय (त्रिवि)का केही केन्द्रीय विभागमा विद्यार्थी संख्या शून्य र केहीमा विद्यार्थीभन्दा प्राध्यापक धेरै रहेका छन् । फाइल तस्बिर त्रिभुवन विश्वविद्यालयले गुणस्तरीय शिक्षा दिने भन्दै केन्द्रीय विभागमा सेमेस्टर प्रणाली सुरु गरेको छ। तर, केही केन्द्रीय विभागमा विद्यार्थी संख्या शून्य र केहीमा विद्यार्थीभन्दा प्राध्यापक धेरै भएको समाचार विहिबारको नयाँ पत्रिकामा छापिएको छ। मानविकी संकायअन्तर्गत भूगोल केन्द्रीय विभागमा यस वर्ष प्रथम सेमेस्टरमा विद्यार्थी भर्ना भएनन्। इतिहास केन्द्रीय विभागमा भने एक विद्यार्थी भर्ना भएका छन् । प्राध्यापक भने १२ छन् । त्रिवि भूगोल केन्द्रीय विभाग प्रमुख नरेन्द्रराज खनालले प्रथम सेमेस्टरमा भर्ना शून्य रहेको र तेस्रो सेमेस्टरमा नियमित पाँच विद्यार्थी हाजिर हुने गरेको बताए। सो विभागमा १४ प्राध्यापक छन् । त्रिविका आधा दर्जन केन्द्रीय विभागमा १० जनाभन्दा कम विद्यार्थी छन् । तर, प्राध्यापकको संख्या त्योभन्दा धेरै छ । आधा दर्जन विषयमा विद्यार्थीभन्दा प्राध्यापक संख्या धेरै छ । अहिले त्रिविमा प्रथम सेमेस्टरका विद्यार्थी परीक्षा सकेर बसेका छन तेस्रो सेमेस्टर सञ्चालनमा छ। त्रिविमा स्नातकोत्तर चार सेमेस्टरको हुने गरे पनि एउटै समयमा दुईवटा सेमेस्टर मात्र सञ्चालन हुने गरेको छ । त्रिविको भूगोल केन्द्रीय विभागमा प्रवेश परीक्षा दिन विद्यार्थीले निवेदन दिएका थिए । तर, प्राध्यापकले विद्यार्थीले चाहेको समयमा नपढाउने भएपछि प्रथम सेमेस्टरमा विद्यार्थी शून्य भएको हो।
बाहिरी चक्रपथमा जग्गा को मूल्य बढ्यो, लाख खर्चेर करोडौं फाइदाको लोभ
काठमाडौं २३, भदौ । आठ लेनको बाहिरी चक्रपथ निर्माण गर्ने पक्कापक्की भएपछि चोभार, गाम्चा र सतुङ्गलको ६.१ किलोमिटर ट्याक नजिकका जग्गाको मूल्य अकासिएको छ। सात हजार रोपनी जग्गामा करिब नब्बेजना जग्गाधनीले सहयोगात्मक सुझाव दिएपछि बाहिरी चक्रपथ निर्माण हुन लागेको खबरले मूल्यमा तलमाथि भएको हुनसक्ने काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले बताएको समाचार विहिबारको गोरखापत्रमा छापिएको छ। ‘बाहिरी चक्रपथ पर्ने भयो भनेर केहीले आफूखुसी मूल्य बढाएर बेचेका छन्, कतिपयले लाखौं खर्च गरेर करोडौं फाइदा हुने लोभमा पनि जग्गा किनेका छन्’, उनले भने, ‘बाहिरी चक्रपथ र सिस्टर सिटीमा पर्ने जग्गालाई केही जग्गा कटौती गर्दै पुनः जग्गाधनीलाई जग्गा दिने भएपछि मूल्य बढेको हुनसक्छ।’ उनका अनुसार बाहिरी चक्रपथ जग्गा एकीकरण समिति बनिसकेको छ। बाहिरी चक्रपथ र सिस्टर सिटीमा पर्ने जग्गामा भौतिक निर्माणमा फेरबदल र प्लट मिलानका कामबाहेक जग्गा किनबेच गर्न सकिने भएकाले पनि उक्त कार्य बाहिरी चक्रपथ पर्ने उपत्यकाका तीनवटै जिल्लामा भएको हुनसक्ने बताए। प्रमुख तिवारीका अनुसार पहिलो चरणको निर्माणका लागि चोभार, गाम्चा र सतुङ्गलको ६.१ किलोमिटरभित्रका जग्गा एकीकरणका लागि नक्सा तयार भइसकेको जानकारी दिए। मन्त्रालयले अन्तिम टुङ्गो लगाएपछि एकीकरण हुने जग्गामा केही फेरबदलसहित बाहिरी चक्रपथको पहिलो चरणको काम थालनी हुने उनले बताए। कीर्तिपुर नगरपालिकाका सूचना अधिकृत सुजिन्द्र महर्जनले बाहिरी चक्रपथ निर्माण हुने पक्का भएपछि किनबेच कम भएको छ । बेचिएका जग्गाहरू पनि अधिक मूल्यमा बेचिएको उनले बताए। उनका अनुसार जग्गाधनीले भनेजति मूल्य दिन हाउजिङ कम्पनीबीच एक प्रकारले अहिले प्रतिस्पर्धा नै चलेको छ। ५० मिटरको फराकिलो बाहिरी चक्रपथ र दुवैतर्फ २५० मिटरका जग्गा र त्यस वरपरका जग्गाको मूल्य एक्कासि बढेको हो। बाटो भएका कित्ताका जग्गाको भाउ तीनचार दोब्बर बढेको र बाटो नै नभएका जग्गा पनि केही हाउजिङ कम्पनीले किन्न सुरु गरेपछि मूल्य बढेको बताइन्छ । बाहिरी चक्रपथ र चक्रपथसँग दुवैतर्फ २५० मिटरभित्रको भगिनी सहर अर्थात् ‘सिस्टर सिटी’मा जग्गाधनीले चालीसदेखि पचास प्रतिशत जग्गा पाउने भएकाले किनबेच प्रभावित भएको हो। कीर्तिपुरका नारायण महर्जनले बाहिरी चक्रपथ र सिस्टर सिटी नजिक हुने भएपछि केही राम्रो हुने सङ्केत पाएकाले बाटो नभएका खेतबारी बिक्री गर्ने मनशाय त्यागेको जानकारी दिए। बाहिरी चक्रपथ निर्माण हुने भएपछि पहिलो चरणमा सुरु हुने चोभारस्थित गलैँचा फ्याक्ट्रीका बाटो भएका जग्गाको मूल्य अहिले अकासिएको गुणराज प्रजापतिले बताए। ललितपुर जिल्लाको बाहिरी चक्रपथमा पर्ने गोदावरी क्षेत्रका जग्गाको मूल्य पनि बढेको बताइएको छ । बाहिरी चक्रपथभित्र काठमाडौं जिल्लामा ३५।८ किलोमिटर, ललितपुर जिल्लामा १५.८० किलोमिटर र भक्तपुर जिल्लामा २१।०५ किलोमिटर सडकलाई पाँच वर्षभित्र निर्माण गर्ने काठमाडौं उपत्यका विकास प्राधिकरणको लक्ष्य रहेको छ।
पेट्रोलियम पदार्थमा मासिक आधा अर्ब नाफा, मूल्य घटाउने तयारी छैन
काठमाडौं २३, भदौ । मासिक नाफा आधा अर्बभन्दा बढी पुगिसके पनि आयल निगमले इन्धन मूल्य घटाएको छैन। निगमले नै यस महिनाको नाफा ५६ करोड ३८ लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दा पनि यहाँको भाउ नघटाइने गरेकाले निगमको नाफा उच्च रहँदै आएको हो । हाल अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल कच्चा तेलको मूल्य करिब ४४ अमेरिकी डलर छ । स्थानीय बजारमा भाउ नघटाउँदा लामो समय घाटामा रहेको ग्यास कारोबारमा समेत नाफा हुन थालेको विहिबारको आजको कान्तिपुरले छापेको छ। ‘अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा घटेकाले नाफा भएको हो,’ निगमका प्रवक्ता भानु खनालले भने । भारतीय आयल निगम ९आईओसी० ले पठाएको मूल्यसूचीअनुसार पछिल्लो १५ दिनमा निगमको नाफा २८ करोड १९ लाख रुपैयाँ छ । आईओसीले अंग्रेजी महिनाअनुसार दुई पटक मूल्य पठाउँछ । उसले सेप्टेम्बर १ मा पठाएको नयाँ मूल्यसूचीअनुसार ५६ करोड ३८ लाख नाफा हुने देखिएको हो । २०७१ साल असोज १३ देखि पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा स्वचालित मूल्य लागू भए पनि सधैं नेपालमा मूल्य समायोजन हुँदैन । नाफामा गएपछि निगमले सरकार र विभिन्न संस्थाबाट लिएको स्वचालित ३६ अर्ब ६६ करोड ऋण पनि चुक्ता गरिसकेको छ । निगमको अब कुनै दायित्व छैन । पछिल्ला दुई वर्षमा १५ अर्ब रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गरेको छ । निगमको तथ्यांकअनुसार ग्यास, पेट्रोल, डिजेललगायत सबैमा नाफा छ । चाडपर्वका लागि भनेर खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ५० रुपैयाँ छुट दिए पनि अन्यमा घटाएको छैन । छुट भएपछि सर्वसाधारणले प्रतिसिलिन्डर १३ सय २५ रुपैयाँमा खरिद गर्दै आएका छन् । यसअघि प्रतिसिलिन्डर १३ सय ७५ रुपैयाँ थियो । निगमले ग्यासमा ५० रुपैयाँ छुट दिए पनि प्रतिसिलिन्डर ग्यासमा १ सय ७ रुपैयाँ १३ पैसा नाफा छ । खाना पकाउने ग्यासको मूल्य सामान्य घटाए पनि पेट्रोल, डिजेल, मट्टितेलमा कुनै परिवर्तन गरिएको छैन । निगमको तथ्यांकअनुसार प्रतिलिटर पेट्रोलमा ५ रुपैयाँ ७२ पैसा, डिजेलमा १ रुपैयाँ २ पैसा, मट्टितेलमा १८ रुपैयाँ ८९ पैसा नाफा छ । हवाई इन्धन आन्तरिकतर्फ १७ रुपैयाँ ९२ पैसा, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ २७ रुपैयाँ ९२ पैसा नाफा छ । नाफा भए पनि मूल्य समायोजनबारे कुनै योजना नभएको निगमले जनाएको छ।
जलविद्युतमा धमाधम स्वदेशी लगानी बढ्दै, ८६ मेगावाटसम्मका आयोजनामा लगानी गर्न सक्ने
काठमाडौं २३ विद्युत् आयोजनामा स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट लगानी हुन थालेपछि अन्य स्वदेशी लगानीकर्ता पनि उत्साहित भएका छन् । राज्यबाट प्रवद्र्धनको काम भएमा बैंक तथा वित्तीय संस्था विद्युत् आयोजनामा लगानी गर्न थप आकर्षित हुने नेपाल बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौडेलले बताए । ‘राम्रा आयोजना र प्रवद्र्धकले ल्याएका आयोजनाका पछाडि बैंकहरू छन्,’ एनएमबी बैंकका सिइओसमेत रहेका पौडेलले भने, ‘जलविद्युत्को विकास अपरिहार्य भनिरहेका छौा, प्रवद्र्धक र बैंकलाई आकर्षित हुने गरी राज्यबाट काम भने हुन सकेको छैन ।’ माथिल्लो तामाकोसी आयोजनाको वित्तीय व्यवस्थापन टुंगो लागेसागै स्वदेशी लगानीमै जलविद्युत् आयोजनाको ढोका खुलेको थियो । ०६८ मा सो आयोजनाको वित्तीय व्यवस्थापन भएको थियो । हाल स्वदेशी लगानीमै १ मेगावाटदेखि ४५६ मेगावाटसम्मका आयोजना निर्माणाधीन छन् । अधिकांश निर्माणाधीन आयोजना चार वर्षभित्र सकिनेछन् । स्वदेशी बैंक तथा वित्तीय संस्थाले ८६ मेगावाटसम्मका आयोजनामा लगानी प्रतिबद्धता जनाएका छन् । हाइड्रो भेन्चर प्रालिले निर्माण गर्न लागेको ८६ मेगावाटको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनामा ११ बैंक तथा वित्तीय संस्थाले सहवित्तीयकरणमा आठ अर्ब ६५ करोड रुपैयाँ ऋण लगानीको प्रतिबद्धता गरेका हुन् । यो आयोजना निजी क्षेत्रद्वारा प्रवद्र्धित र स्वदेशी बैंक तथा वित्तीय संस्थाको लगानीमा निर्माण हुन लागेको हालसम्मकै ठूलो हो । ११ अर्ब ८६ करोड रुपैयाँ अनुमानित लागत रहेको सो आयोजनामा तीन अर्ब २१ करोड रुपैयाा भने सेयरधनीबाट लगानी हुनेछ । ४५६ मेगावाटको माथिल्लो तामाकोसी र चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माणाधीन २ सय ७० मेगावाटका चार आयोजनाका लागि स्वदेशी लगानी जुटेपछि आत्मविश्वास बढेको लगानीकर्ताहरू बताउँछन् । बैंकरहरूले पनि स्थानीय अवरोधबाट उत्पन्न जोखिमको अन्त्य तथा प्रसारण लाइन समस्या हटेमा जलविद्युतमा थप लगानी गर्न सकिने बताउादै आएका छन् ।
भारतसँग नयाँ सम्झौता नगर्ने प्रधानमन्त्रीको उद्घोष, पुरानाको कार्यान्वयनमा जोड
काठमाडौं २३, भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो आसन्न भारत भ्रमणमा कुनै नयाँ सम्झौता नहुने बताएका छन् । उनले विगतमा भएका सहमति सम्झौताको कार्यान्वयनमा नेपालले जोड दिने बताएको समाचार विहिबारको अन्नपूर्ण पोष्टले छापेको छ । भारत भ्रमणबारे पूर्वपरराष्ट्रमन्त्री र कूटनीतिज्ञसँग बुधबार सल्लाह सुझाव लिने क्रममा प्रधानमन्त्री दाहालले भने, ‘मेरो भारत भ्रमणमा खासै नयाँ विषय छैनन् । यसपटक नयाँ सम्झौता गर्नुभन्दा पुराना सम्झौताको प्रभावकारी कार्यान्वयनमा जोड दिइनेछ । भारतीय पक्षबाट पनि भ्रमणमा नयाँ विषयमा आउने छैनन् भन्ने लाग्छ । हाम्रा तर्फबाट पनि नयाँ सम्झौता गर्न जोड दिने छैनौं ।’ दाहालले आफूले लामो ‘सपिङ लिस्ट’ लिएर भारत जान नलागेको बताए । भारत भ्रमणमा जाने भन्नेबित्तिकै नेपालमा तरंग आउने गरेको भन्दै उनले आफ्नो भ्रमणलाई संशयका रूपमा नलिन आग्रह गरे । दाहालले भारतीय पक्षसँग हुलाकी राजमार्ग निर्माणको दोस्रो चरणअन्तर्गतको समझदारीपत्रमा हस्ताक्षर हुने बताए । त्यस्तै, भारतीय प्रधानमन्त्री मोदीको दुई वर्षपहिले भएको नेपाल भ्रमणका क्रममा हस्ताक्षरित ऊर्जा व्यापार सम्झौताको प्रभावकारी कार्यान्वयनको विषय भ्रमणको एजेन्डा रहेको उनले अवगत गराए । प्रधानमन्त्रीले तीनरचार सय मेगावाटको कुनै एउटा जलविद्युत् परियोजनामा भारतीय सहयोगका विषयमा छलफल हुन सक्ने बताए । प्रधानमन्त्रीका रूपमा आफ्नो पहिलो भारत भ्रमणमा छलफल भएको नौमुरे परियोजनामा भारतीय सहयोग लिनेबारे त्यस अवसरमा इंगित गरेका थिए ।
तीन दाना रुद्राक्षको ४३ लाख, २१ मुखे एउटैको १५ लाख
काठमाडौ २३, भदौ । संखुवासभा र भोजपुरबाट यसै साता तीनवटा बहुमुल्य रुद्राक्ष ४३ लाख रुपैयाँमा बिक्री भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । रुद्राक्ष व्यवसायी संघका अध्यक्ष विपिन राईले यो वर्ष धेरै मुख भएका महँगा दाना तीनवटा बजारमा आएको र अन्य केही गुपचुपमा खरिदबिक्री भएको जानकारी दिए । धुपुको ज्यामिरेमा उत्पादन भएका २१ मुखे रुद्राक्ष् व्यपारी सुजन राई, नरेन्द्र राईलगायतले १६ लाखमा खरिद गरेका विहिबारको अन्नपूर्ण पोष्टमा समाचार छापिएको छ । षडानन्द नगरपालिका केउरेनीपानीमा उत्पादन भएको २१मुखे रुद्राक्ष व्यपारी नीलमणि न्यौपाने लगायतले १५ लाख ५० हजारमा खरिद गरे । यसैगरी यसै साता भोजपुरको फलिकोटमा उत्पादन भएको २१ मुखे रुद्राक्ष सानो आकारको भएको भन्दै १२ लाख रुपैयाँमा खरिद भएको व्यापारी चित्र श्रेष्ठले बताए । कमानसिंह राइले भने एक लाख २० हजार १७ मुखे रुद्राक्ष खरिद गरेका छन् । बाँकी २०, १२, १८, १७ मुखे भने तीन करोड रुपैयाँमा खरिदविक्री भइरहेको उल्लेख छ ।
भाइबरको ५२ देशमा नि:शुल्क फोनको अफर, राति ८ देखि १० बजेसम्म फोन गर्न मिल्ने
काठमाडौँ । भाइबरले ५२ वटा मुलुकमा नि:शुल्क फोनको अफर ल्याएको छ। मंगलबारदेखि आउँदो असोज ३ गते सम्मका लागि भाइबरले राति ८ बजे देखि १० बजेको बीचमा निःशुल्क फोन गर्ने अफर ल्याएको हो। यसअघि भाइबरले भूकम्पका बेला पनि नेपालीहरुलाइ निःशुल्क फोन सुविधा दिएको थियो। भाइबरले मोबाइलबाट ल्याण्डलाइनमा फोन गर्दासमेत निःशुल्क हुने जनाएको छ। उसले भनेको छ – ‘भाइबरबाट कल गर्दा तपाइँको मोबाइलमा इन्टरनेट कनेक्सन हुन भने जरुरी छ। डाटाको अथवा वाइफाइको शुल्क लाग्न सक्छ।’ फोन कल १० मिनेटभन्दा लामो भने गर्न पाइने छैन। यी देशमा नि:शुल्क अष्ट्रेलिया, बहराइन, बंगलादेश, बेल्जियम, भुटान, ब्रुनइ, कम्बोडिया, क्यानडा, चीन, साइप्रस, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, हङकङ, भारत, इण्डोनेसिया, आयरल्याण्ड, इजरायल, इटाली, जापान, कुवेत, लाओस, लेबनान, मकाउ, मलेसिया, म्यानमार, नेपाल र नेदरल्याण्डमा निशुल्क कुरा गर्न पाइने छ। त्यस्तै न्युजिल्याण्ड, नर्वे, पाकिस्तान, फिलिपिन्स, पोल्याण्ड, पोर्चुगल, कतार, रसिया, साउदी अरेबिया, सिङ्गापुर, दक्षिण कोरिया, स्पेन, श्रीलङ्का, स्वीडेन, स्वीट्जरल्याण्ड, ताइवान, ताजकिस्तान, थाइल्याण्ड, टर्की, दुबई, बेलायत, अमेरिका र भियतनाममा नि:शुल्क फोन गर्न सकिने भाइबरले जनाएको छ।