विकासन्युज

एप्पलको नयाँ अपरेटिङ सिस्टम आइओएस १० आउँदै, यी प्रोडक्टहरुमा नयाँ भर्सन अपडेट हुँदैन

काठमाडौं, २६ भदौ। एप्पलले भदौ २८ गते मंगलबार आफ्नो नयाँ अपरेटिङ सिस्टम आइओएस १० रिलिज गर्दैछ। यो ओएस आएसँगै एप्पलका केही प्रोडक्टहरुको मिति सकिनेछ। तपाईँ त्यसलाई चलाउन त सक्नुहुन्छ तर नयाँ अपडेट गर्न सक्नुहुन्न। अर्थात् यो म्याद सकिएको उत्पादन सरह हुनेछ। आइ‌ओएस कुन कुन प्रोडक्टमा कम्प्याटिबल हुन्छ त ? आइप्याड फोर्थ जेनेरेसन आइप्याड एयर आइप्याड एयर टु आइप्याड प्रो आइप्याड मिनी २ आइप्याड मिनी ३ आइप्याड मिनी ४ आइपड टच ६ आइफोन ५ आइफोन ५ सि आइफोन ५ एस आइफोन एसई आइफोन ६/६ प्लस आइफोन ६ एस/६ एस प्ल्स आइफोन ७/७ प्लस त्यसको अर्थ अब यी प्रोडक्टको मिति सकिनेछ आइप्याड २ आइप्याड ३ जेनेरेसन आइप्याड मिनी आइफोन ४ एस आइपड टच ५ जेनेरेसन एजेन्सीको सहयोगमा

तरुण दलको महाधिवेशन असोज ३ देखि ५ सम्ममा पोखरामा, बहुमतको निर्णयमा विवाद नगर्न राणाको आग्रह

काठमाडौँ, २६ भदौ । नेपाल तरुण दलको चौँथो राष्ट्रिय महाधिवेशन आगामी असोज ३ देखि ५ सम्म पोखरामा हुने भएको छ । आईतबार पत्रकार सम्मेलन गरी तरुण दलका अध्यक्ष अध्यक्ष उदयशमशेर राणाले भदौ २१ र २२ गते बसेको केन्द्रीय समितिको बैठकको निर्णयअनुसार महाधिवेशन गर्न लागिएको जानकारी बताए । अध्यक्ष राणाले ५५ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भैसकेकाले बाँकी जिल्लाको भदौ मसान्तसम्म सकेर अधिवेशन सम्पन्न गर्न लागेको बताए । उनले भने “अघिल्लो अधिवेशनमा ६५ जिल्लाको अधिवेशन सकिएको बेलामा पनि महाधिवेशन भएको थियो । त्यसैले मसान्तसम्म जति सकिन्छ त्यसैलाई आधार मानेर महाधिवेशनमा जान्छौँ ।” वर्तमान केन्द्रीय समितिलाई चुनाव लड्न नपाउने भनिएता पनि चुनाव लड्न पाउनुपर्ने माग निर्देशन समिति र पार्टीलाई बुझाइसकिएको उनले बताए । दलमा विवाद देखिएको बेलामा निर्वाचन सम्भव छ ? भनि सञ्चारकर्मीले सोधेको प्रश्नमा अध्यक्ष राणाले ४५ केन्द्रीय समितिमध्ये २७ जनाको निर्णयलाई आधार मानेर महाधिवेशन गर्न लागिएको बताए । निर्वाचन भएका जिल्लामा निर्वाचन गरिने तथा नभएका जिल्लालाई त्यत्तिकै छाडेर महाधिवेशनमा जाने भएको छ । सङ्गठनभित्र देखिएको विवाद मिलाउन दलले अध्यक्ष राणाको अध्यक्षतामा पाँच सदस्यीय समिति बनाएको छ । त्यस्तै, नेपाल महिला सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । ‘महिला सशक्तीकरणका चार निकास, समान सहभागिता, शान्ति, समृद्धि र संवैधानिक विकास’ भन्ने नाराका साथ भदौ २९ देखि काठमाडौँमा हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको सङ्घले जनाएको छ ।

१२ जना सचिव सरुवा, डा स्वार्णिम वाग्ले योजना आयोगमा नियुक्त

डा स्वर्णीम वाग्ले काठमाडौं, २६ भदौ । सरकारले विभिन्न १२ मन्त्रालयका सचिवको सरुवा गरिएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ । क्षेत्रीय प्रशासक गोपीनाथ मैनालीलाई निर्वाचन आयोगमा सरुवा गरिएको छ भने निर्वाचन आयोगका सचिव शारदाप्रसाद त्रिताललाई सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ । त्यस्तै, आपूर्ति मन्त्रालयका सचिव श्रीधर सापकोटालाई रक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीलाई श्रम तथा रोजगार मन्त्रालय, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव मधु रेग्मीलाई लोकसेवा आयोगमा सरुवा गरिएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले बताए । श्रम तथा रोजगार मन्त्रालयका सचिव विष्णु लम्साललाई महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव अर्जुनकुमार कार्कीलाई नेपाल ट्रस्टको कार्यालय, रक्षा सचिव महेशकुमार दाहाललाई युवा तथा खेलकुद मन्त्रालय, जल तथा ऊर्जा आयोगका सचिव धनबहादुर तामाङलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, नेपाल ट्रस्टका सचिव भीमप्रसाद उपाध्यायलाई जल तथा ऊर्जा आयोग र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेमकुमार राईलाई आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ । आजै सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा तीन जनालाई नियुक्त गरेको छ । सदस्यमा नियुक्त हुनेमा डा स्वर्णीम वाग्ले, डा प्रेम बुढाथोकी र धीरेन्द्रमान प्रधान रहेका छन् । त्यस्तै सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले दिएको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।केही दिन पहिले कार्यकारी निर्देशक काफ्लेले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आफ्नो पदबाट दिएका थिए ।

प्रधानमन्त्रीको सम्बोधन कार्यान्वयन गर्न अर्थसचिवको निर्देशन, बजेट कार्यान्वयनमा जोड

काठमाडौं, २६ भदै । अर्थ सचिव शान्तराज सुवेदीले अर्थ मन्त्रालय र मातहत निकायहरुको  कार्यसम्पादनलाई छिटो छरितो र प्रभावकारी बनाउन, बजेट कार्यान्वयनमा तीव्रता दिन मातहतका कर्मचारीलाइ निर्देशन दिएका छन् । उनले पूँजीगत खर्चमा उल्लेख्य वृद्धि गर्न र चालु खर्चमा मितव्ययीता कायम गरी सार्वजनिक स्रोत र साधनको कुशलता पूर्वक परिचालन गर्न, राजस्व चुहावट नियन्त्रण गरी राजस्व असुली बढाउन सबै निकायहरुसँग समन्वय र सहकार्य गरी अगाडी बढनु पर्ने मन्त्रालयका उच्च व्यवस्थापक टिमसहितको बैंठकमा बताएका छन् । साथै सो बैंठकमा सचिव सुवेदीले आन्तरिक सूचना प्रणालीलाई प्रभावकारी बनाउने, विभागीय प्रमुखहरुसँगको कार्यसम्पादन सम्झौताका परिसूचकहरुलाई बढी बस्तुनिष्ठ र यथार्थपरक बनाई भाद्र महिनाभित्र सम्झौता गर्ने र संघीय संरचना अनुसार तर्जुमा गर्नु पर्ने आवश्यक कानून शिघ्र तयार गर्ने, प्रधानमन्त्रीले व्‍यवस्थापिका संसद्‍मा गरेके सम्बोधनमा अर्थ मन्त्रालयसँग सम्बन्धित विषयहरुको कार्यान्वयन कार्ययोजना तयार गरी लागू गर्ने र विभिन्न निकायहरुबाट माग भएका थप निकासा, रकमान्तर, राय प्रतिक्रिया सम्बन्धी विषयहरुलाई समयमैं सम्वोधन गर्न समेत सबै पदाधिकारीहरुलाई निर्देशन दिएका छन् । सो उच्च व्यवस्थापक टीमको बैंठकमा मन्त्रालयका महाशाखा प्रमुख र विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो ।

फेवा विकास बैंक र गण्डकी विकास बैंकबीच मर्ज हुने, बोनस सेयरबाट २ अर्ब ५० करोड पुँजी पुर्याइदै

काठमाडौं, २६ भदौ । फेवा विकास बैंक र गण्डकी विकास बैंकबीच मर्ज हुने भएको छ । फेवा विकास बैंकका अध्यक्ष विन्दुकुमार थापा र गण्डकी विकास बैंकका अध्यक्ष पद्मप्रसाद पौडेलले शुक्रबार मर्ज सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । मर्जरपछि शाखा संख्याको आधारमा नेपालको सबैभन्दा ठूलो विकास बैंक हुने मर्जपछि बन्ने बैंकको नाम गण्डकी विकास बैंक लिमिटेड हुने छ । नयाँ बैंकको अध्यक्ष फेवा विकास बैंकको अध्यक्ष जगतबहादुर गुरुङ हुने छन् भने प्रमुख कार्यकारी अधिकृत फेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा हुने दुबै विकास बैंकका तर्फबाट आईतबार जारी संयुक्त विज्ञप्तीमा उल्लेख गरिएको छ । गत असार मसान्तको वित्तीय विवरणका आधारमा मर्जपछि बैंकको चुक्ता पुँजी १ अर्ब ५३ करोड हुने भएको छ । यी दुई संस्था मर्जपछि राष्ट्रिय स्तरको विकास बैंकका लागि आवश्यक २ अर्ब ५० करोड रुपैयाँ पुँजी बोनस सेयरबाट पुग्ने देखिएको छ । दुइ अाथिर्क वर्षमा यस बैंकले कम्तिमा ९७ कराेड रूपैयाँ बराबरकाे बाेनस सेयर दिने देखिएकाे छ । दुई बैंकको गत आर्थिक वर्षको खुद नाफा जोड्दा ४३ करोड रुपैयाँ हुनेछ । चालु आर्थिक वर्षको नाफा समेत बोनस दिएर बैंकले न्यूनतम चुक्ता पुँजी पुर्याउने देखिएको छ । गत असार मसान्तको रिपोर्टका आधारमा मर्जपछि यस बैंकको निक्षेप १७ अर्ब २७ करोड, कर्जा लगानी १४ अर्ब ८५ करोड रुपैयाँ हुनेछ । मर्जरपछि बैंकको शाखा ५० वटा हुने, एटीएम २१ वटा हुने र ग्राहक संख्या २ लाख भन्दा बढी हुनेछ । मर्जरपछि शाखा संख्याको आधारमा नेपालको सबैभन्दा ठूलो विकास बैंक हुने बैंकद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकको नयाँ शाखा उदयपुरमा

काठमाडौं, २६ भदौ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले आफ्नो नयाँ शाखारहित बैंकिङ्ग सेवा उदयपुर जिल्लाको हडिया गा.वि.स.मा सञ्चालन गरेको छ । बैंकले अत्याधुनिक प्रविधि प्रयोग गरी जनताको घर दैलोमै सेवा दिने लक्ष्यका साथ सो स्थानमा उक्त सेवाको शुरु गरेको हो । बैंकको गाईघाट शाखा प्रबन्धक विजय कुमार शाहका अनुसार उक्त सेवा अन्तर्गत त्यस क्षेत्रका जनता तथा विपन्न बर्गलाई बैंकको अत्याधुनिक रिटेल बैकिङ्ग सुविधाहरु उपलब्ध हुने छ । बैंकका अनुसार यो सेवा नेपालको ७५ वटै जिल्लामा नै उपलब्ध गराउने बैंकको उद्देश्य रहेको छ । यस अन्तर्गत हाल खाता खोल्न, रकम झिक्न, राख्न, बिल भुक्तानी लगायतका सुबिधाहरु उपलब्ध हुनेछन् । यो सेवा अन्तर्गत नेपाल सरकारले प्रदान गर्ने वृद्ध, एकल महिला तथा अपाङ्ग भत्ता समेत वितरण गरिनेछ । यसका साथै यस शाखा रहित बैकिङ्ग सेवाबाट सम्पूर्ण स्थानीय जनता लाभान्वित हुने कुरा पनि शाखा प्रवन्धकले जानकारी दिएका छन् । यो सेवाले दुई चरण प्रमाणिकरणको प्रयोगबाट उच्च सुरक्षा प्रदान गर्दै सजिलो बैंकिङ्ग सेवा ग्राहकका माँझमा पुर्याउन सफल भएको छ । यो सेवा अभिकर्ताको माध्यमबाट सञ्चालन हुने र एजेन्ट डिउ डिलिजेन्स प्रयोग गरी अभिकर्ताको चुनाउ गरिने बैंकले जनाएको छ । शाखारहित बैंकिङ्ग सेवाका ग्राहकहरुलाई प्रदान गरिएको भिसा डेबिट कार्डबाट यस बैंक तथा नेपाल र भारतमा उपलब्ध भिसा नेटवर्कको एटिएमरपिओएस् बाट पनि सेवा लिन सकिने छ ।

शिक्षामा लगानी बढाउनुपर्दछ– राष्ट्रपति भण्डारी

काठमाडौं, २६ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पका कारण शिक्षा क्षेत्रमा भएको भौतिक क्षति र शिक्षाको बढ्दो मागका कारण सरकारले यस क्षेत्रमा ठूलो लगानी गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। बानेश्वर बहुमुखी क्याम्पसको रजतजयन्ती समारोहको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले शिक्षा क्षेत्रमा आएको नयाँ अवधारणाले सामुदायिक क्याम्पसले पनि शैक्षिक क्षेत्रका चुनौतीको सामाना गरी अघि बढ्नुपरेको बताइन् । राष्ट्रपति भण्डारीले सामुदायिक क्याम्पसको अफ्ठ्यारा र चुनौतीलाई सामना गर्न सरकार र संबद्ध निकायको उचित ध्यान जानुपनर्ने बताउँदै “समग्र शिक्षा प्रणालीले भोग्नुपरेका समस्याको योजनाबद्ध ढङ्गले निराकरण गर्दै शिक्षा क्षेत्रलाई स्वतन्त्र, हस्तक्षेपमुक्त र सर्वसुलभ कसरी बनाउने भन्ने आजको चुनौती हो” भने । सिर्जना र सक्रियताका संवाहक आजका विद्यार्थी राष्ट्रका भोलिका नीति निर्माता र महत्वपूर्ण बौद्धिक सम्पत्तिका रुपमा समेत रहेकाले नयाँ संविधान जारी भइसकेको अवस्थामा दुर्तरत विकास र समाजिक रुपान्तरणमा विद्यार्थीको अहम भूमिका रहने राष्ट्रपति भण्डारीले बताइन् । शिक्षामन्त्री धनीराम पौडेलले संविधानले शिक्षालाई मौलिक अधिकारका रुपमा अङ्गिकार गरेको अवस्थामा शिक्षालाई सर्वसुलभ बनाउने राज्यको दायित्वमाथि सामुदायिक क्याम्पसले ‘होस्टेमा हैसे’ गरेको छ भने। सामुदायिक क्याम्पसलाई आङ्गिक क्याम्पसका रुपमा अघि बढाउनुपर्ने बताउँदै मन्त्री पौडेलले भने, “उच्च शिक्षा सम्बन्धी राष्ट्रिय नीति र छाता कानुन निर्माणको गृहकार्यमा मन्त्रालय जुटेको छ ।” क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष हरिबोल भट्टराईले मुलक निर्माणका लागि शिक्षा आधारभूत विषय भएको उल्लेखगर्दै शिक्षाले विपन्न वर्गलाई सम्पन्न बनाउने काम गरेको बताए । क्याम्पस प्रमुख घमानसिंह खड्काले क्याम्पसका गतिविधिका बारेमा अवगत गराउँदै आर्थिक रुपमा विपन्न विद्यार्थीलाई बानेश्वर क्याम्पसले गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको बिचार व्यक्त गरे । क्याम्पस व्यवस्थापन समितिका सदस्य डा केदार न्यौपानेले सामुदायिक क्याम्पसले भोग्नुपरेको चुनौतीका बारेमा प्रकाश पार्दै स्थानीयवासीले क्याम्पस सञ्चालनका लागि गरेको सहयोगको प्रशंसा गरेका छन् । रजतजयन्तीका अवसरमा क्याम्पस परिसरमा स्तम्भको शिलन्यास गरिनुका साथै रजहाँस स्मारिकाको लोकार्पण गरिएको थियो । रासस

वातावरण संरक्षणमा एनसेलको सहयोग तथा सहकार्य

काठमाडौं, २६ भदौ । देशकै अग्रणी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले वातावरण संरक्षणमा योगदान गर्ने उदेश्यका साथ धनुषामा वृक्षारोपण र पर्यावरण संरक्षण तथा प्रवद्र्धन सम्बन्धि जनचेतना अभिवृद्धिका कार्यक्रमहरु संचालन गरेको छ । आफ्नो व्यवसायीक सामाजिक उत्तरदायित्व अन्र्तगत एनसेलले धनुषाधाम संरक्षित वनको ३३ हेक्टर जमिनमा ५० हजार बोटबिरुवा वृक्षारोपण गरेको छ, जसले उक्त स्थानको वातावरणीय तथा पर्यावरणिय रुपमा महत्वपूर्ण बनाउन टेवा दिने छ । साथै स्थानिय समुदायलाई यो अभियानमा समावेश गर्दै दिगो पर्यावरण संरक्षणका लागि संरक्षित वन वरपरका विद्यालय, शिक्षकशिक्षिका, अभिभावक र स्थानिय समुदायका सदस्यहरुलाई लक्षित गरी विविध जनचेतनामुलक तथा क्षमता विकासका कार्यक्रमहरु संचालन गरिएका छन् । सरकारले फागुन २०, २०६९ मा यो धनुषाधाम वनलाई यसको वातावरणीय र एतिहासिक महत्वका आधारमा संरक्षित वन घोषणा गरेको थियो । गैरुकानुनी रुपमा रुख कटान, फँडानी, दाउरा र माटो संकलन र अति चरिचरन लगायतका गतिविधिले संरक्षण कार्यलाई चुनौतिपूर्ण बनाएको थियो । “यस क्षेत्रमा जनचेतना अभिवृद्घि र स्थानिय समुदायलाई जिविकोपार्जनका वैकल्पिक उपाय अत्यावश्यक रहेको परिप्रेक्षमा एनसेलले गरेको वृक्षारोपण र जनचेतनामुलक कार्यक्रमले वातावरण संरक्षणलाई प्रोत्साहन गरेको छ,” मिथिला वाईल्डलाईफ ट्रष्टका अध्यक्ष देव नारायण मण्डलले बताए । ट्रष्टले एनसेलको सहयोगमा जनचेतना अभिवृद्घिका कार्यक्रमहरु संचालन गरेको थियो । यस अन्तर्गत ट्रष्टले गत एक वर्षमा वातावरण संरक्षण सम्बन्धि विविध जनचेतनामुलक गतिविधिहरु जस्तै पर्यावरण सम्बन्धि वक्तृत्वकला प्रतियोगिता, चित्रकला प्रतियोगिता र विद्यालय स्तरमा ईको क्लबको स्थापना गरेको छ । साथै स्थानिय समुदायलाई मिथिला चित्रकला सम्बन्धि तालिम, विद्यालय र अन्य सार्वजनिक स्थानका पर्खालमा मिथिला चित्र बनाउने तथा मिथिला सांस्कृतिक कार्यक्रम गरेको थियो । वक्तृत्वकला, चित्रकला प्रतियोगिता र सांस्कृतिक कार्यक्रमहरु धनुषाधाम संरक्षित वनको संरक्षण तथा विकासका लागि चेनता जगाउन आयोजना गरिएको थियो, भने मिथिला चित्रकला तालिम स्थानिय समुदायका सदस्यलाई सीप विकास गर्न सघाउन संचालन गरिएको थियो । तालिमको उदेश्य विषेशत स्थानिय समुदायलाई जिविकोपार्जनका लागि वनमा मात्र आश्रित नभई आफ्नो सीप आयमुलक काममा लगाउन उत्प्ररित गर्नु रहेको छ । एनसेलले संरक्षित वनमा तीन वटा पिकनिक स्थलहरुका लागि आवश्यक आधारभुत भौतिक पुर्वाधार निर्माणमा पनि सहयोग पुर्याएको छ । धनुषाधाम सांस्कृतिक र धार्मिक रुपमा प्रसिद्घ ठाउँ हो जहाँ हरेक वर्ष हजारौको संख्यामा पर्यटकहरु भ्रमणमा आउछन् । स्थानिय समुदायले एनसेलको सहयोगमा निर्मित पुर्वाधारहरुको सदुपयोग गरी आयआर्जनका अवसरहरु सृजना गर्न सक्दछन् । त्यसैगरी, एक हजार वर्षको इतिहास बोकेको मिथिला चित्रकाल सम्बन्धि तालिमले तालिम पाएका व्यक्तिलाई आफुले चित्रकला बनाई त्यसबाट आय आर्जन गर्न सक्ने अवसर प्रदान गरेको छ । चित्रकला प्रतियोगितामा धनुषधाम संरक्षित वन नजिकै बस्ने मुसहर समुदायका महिलाहरु, धनुषाधाम नगरपालिकामा बसोबास गर्ने पिछडिएका परिवारका सदस्यहरुलाई तथा विद्यालयमा गरिएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई मिथिला चित्रकलाको तालिम प्रदान गरिएको हो । “एनसेलको सहयोगले स्थानियबासीलाई वैकल्पिक आय आर्जनको लागि अवसर प्रदान गरेको छ, जसले गर्दा उनीहरुले दिगो वन संरक्षणमा योगदान दिन सक्छन्,” मण्डलले बताए । केही महिना अगाडी नेपाल सरकारले धनुषाधाम संरक्षित वनलाई ‘खुल्ला चरिचरन तथा अनियमित कटान मुक्त क्षेत्र’ पनि घोषणा गरिसकेको छ । “यो उपलब्धिमा एनसेलले यस वन भित्र तारवार सहित गरेको वृक्षारोपणले ठूलो भूमिका खेलेको छ ।” उनले भने । यस देखि बाहेक जनचेतना अभिवृद्घिका गतिविधीहरुलाई निरन्तरता दिनका लागि चार विद्यालयहरुमा ईको क्लबहरु स्थापना गरिएका छन् । मण्डलका अनुसार, यी क्लबहरु रुख, वन जंगल र वन्यजन्तुको प्रकृति र पर्यावरणमा महत्वबारे बुझाउन क्रियाशील छन् । “एनसेल पर्यावरण सम्बद्र्धनमा सँधै प्रतिबद्ध छ । त्यसैले जनचेतना अभिवृद्घि र स्थानिय समुदायलाई सिप विकासमा केहि भएपनि योगदान गर्न सकेकोमा हामी हर्षित छौ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले बताए । उनका अनुसार एक उत्तरदायी कम्पनीका रुपमा एनसेलले वातावरण अनुकुल प्रविधि पनि अङ्गाल्दै आएको छ । एनसेलले हालसम्म आफ्नो सम्पूर्ण नेटवर्कमा ६.१० प्रतिशत पूर्णरुपमा सौर्य उर्जाबाट चल्ने र ७.७६ प्रतिशत सौर्य उर्जा ब्याकअप भएको हाईब्रिड पावर सोलुसन्स्बाट चल्ने टावरहरु संचालन गर्दै आएको छ ।