विकासन्युज

डेंगुले महामारी फैलिने खतरा, साउदेखी यता १ हजार जनामा डेंगु भएको पुस्टि

काठमाडौं २३, कात्तिक । समयमै जाँच तथा अनुसन्धान अभावका कारण घातक मानिएको डेंगु संक्रमणले महामारीको रूप लिने खतरा बढेको छ । मध्य र पूर्वी नेपालमा फैलिरहेको डेंगु नियन्त्रणमा सरकारी प्रयास रहेको बताइए पनि उक्त रोगको फैलावट रोक्न प्रयोगशालमा परीक्षण र अनुसन्धान नहुँदा महामारीको खतरा बढेको हो । झापामा देखापरेको ‘सेरो टाइप वान’ नामको डेंगु समयमै नियन्त्रण गर्न नसके अन्य प्रकारका घातक डेंगुले महामारी फैलाउने खतरा बढेको छ । वैज्ञानिक वर्गीकरणअनुसार टाइप वान, टाइप टु, टाइप थ्री र टाइप फोर गरी चार प्रकारका डेंगु रोग हुन्छन् । डेंगु संक्रमणले शरीरका संवेदनशील अंगबाट रक्त श्राव भई बिरामीको मृत्यु गराउँछ । सन् २००६ मा बाँकेलगायतका जिल्लामा चारै प्रकारका डेंगु संक्रमण फैलिएको थियो । सरकारले प्रभावित जिल्लामा फैलिएको डेंगु कुन प्रकारको हो भनेर जाँच गर्न सकेको छैन । डेंगुका प्रकार पुष्टि गर्ने प्रयोगशाला मेसिन तथा प्रविधि उपत्यकामा मात्रै उपलब्ध छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाामा मात्र डेंगुको प्रकार छुट्याउने सुविधा छ । प्रयोगशालाका कन्सलटेन्ट माइक्रोबायोलोस्टि विष्णु उपाध्यायका अनुसार तिहारअघि झापाका बिरामीबाट संकलन गरिएका १५ वटा नमुनामध्ये १० वटामा टाइप वान डेंगु पुष्टि भएको थियो । उपाध्यायका अनुसार सबैभन्दा धेरै डेंगु पुष्टि भएको चितवनबाट नमुना संकलन गरी जाँचका लागि काठमाडौं ल्याउन जरुरी छ । ‘सबै प्रकारका डेंगु फैलिने जोखिम छ । डेंगु फैलिएमा यसबाट ठूलो क्षति हुन सक्छ,’ उपाध्यायले भने, ‘नमुना आएजति पनि जाँच गर्न हामी तयार छौं ।’ जिल्लामा हाल र्‍यापिड एनन्टिजिन डिटेक्सन मेथडबाट डेंगु जाँच भइरहेको छ । सरकारलाई डेंगु प्रभावित जिल्लामा कुन प्रकारको डेंगु फैलिरहेको छ भन्ने जानकारी अहिलेसम्म छैन । गत साउनदेखि अहिलेसम्म चितवन, झापा, रूपन्देही, कैलाली, मकवानपुर, बाँके र बर्दियामा गरी करिब एक हजारजनामा डेंगु भएको पुष्टि भइसकेको छ । एडिस एगेप्टी नामक पोथी लामखुट्टेले टोकेपछि डेंगु संक्रमण हुन्छ । चिकित्सकका अनुसार उक्त संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिँदैन । ज्वरो आउनु, टाउको दुख्नु, हाड तथा जोर्नी दुख्नु, आँखा दुख्नु, वाकवाकी, लाग्नु डेंगुका प्रारम्भिक लक्षण हुन् । लामखुट्टेको टोकाइबाट जोगिनु र त्यसको नियन्त्रण डेंगुबाट बच्ने उपाय हुन् । अन्नपूर्ण पोष्टबाट । ।

मोवाइल लाइसेन्स नवीकरणको व्यवस्था स्पष्ट नहुँदा समस्या, टेलिकमको लाइसेन्स उधारोमै नवीकरण

काठमाडौं २३, कात्तिक । सरकारले दूरसञ्चार क्षेत्रको सबैभन्दा महँगो जीएसएम सेवाको लाइसेन्स नवीकरणका सम्बन्धमा स्पष्ट व्यवस्था गर्न नसक्दा अन्योल उत्पन्न भएको छ । दुई ठूला सेवाप्रदायक कम्पनी नेपाल टेलिकम र एनसेलले दोस्रो पटक गर्नुपर्ने लाइसेन्स नवीकरणका सम्बन्धमा हालसम्म् कुनै नीतिगतव्यवस्था सरकारले गर्न सकेको छैन । नेपाल टेलिकमले पाएको लाइसेन्सको म्याद गत बैशाख अन्तिम साता नै सकिएको छ । सरकारले पछि शुल्क तय हुने अन्तिम सर्तमा नवीकरण गरेको छ । हालसम्म् सरकारले मोवाइल सेवाको दोस्रो पटक लाइसेन्सनवीकरण गर्नलाग्ने शुल्क कति हुने भन्ने सम्बन्धमा कुनै निर्धारण गरेको छैन । जीएसएम मोबाइलको लाइसेन्स लिएको समयदेखि पहिलोपटक १० वर्षमा र त्यसपछि हरेक ५ र५ वर्षमा लाइसेन्स नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ । कारोबार दैनिकबाट ।

बैङ्कका एटीएम काउन्टरहरू विदेशी चोरको निशानामा, तुरुन्तै पासपोर्ट परिवर्तन गर्न सुझाव

काठमाडौं २३, कात्तिक । बैङ्कका एटीएम काउन्टरहरू विदेशी चोरको निशानामा पर्न थालेका छन् । राजधानीमा एटीएम काउन्टरभित्र गोप्य रूपमा क्यामरा जडान गरी डाटा तथा पिन कोड नम्बर चोरेर अनाधिकृत रूपमा रकम निकाल्ने तीन विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग क्षेत्रका एटीएम काउन्टरबाट रकम झिक्न सक्रिय रोमानियाका नागरिक घाइता हुजुम, आइसिफ मोरारु र एलेक्स क्रिष्टियन बुगाइर्लानलाई पक्राउ गरेको छ । ब्युरोले यसअघि पनि बुल्गेरियाका नागरिक डिमो एटान्सोभ स्टेफानोभलाई समेत एटीएमको डाटा चोरी गरिरहेको बेला गत साता पक्राउ गरेको थियो । पक्राउ परेका रोमानियाली नागरिकको समूहले सुरक्षागार्ड नभएका एटीएम मेसिनभित्र कार्ड स्क्यानिङ डिभाइस राख्नुका साथै हिडेन क्यामेरा राखी एटीएमको पिनकोड चोरी गर्ने गरेका थिए । ब्युरोले सोमबार पत्रकार सम्मेलन गरी उनीहरूले पूर्वी युरोपेली मुलुकबाट खाली कार्ड बोकेर आउने र ती कार्ड नेपालमा रहेका एटीएम काउन्टरमा गोप्य रूपमा स्क्यानिङ मेसिन जडान गरी कपी गर्ने गरेको जानकारी दिएको छ ।बतm(अबचम स्क्यानिङ कार्ड पैसा झिक्न प्रयोग गर्ने र पिन नम्बर हिडेन क्यामेराको सहयोगमा चोर्ने गरेको जानकारी पत्रकार सम्मेलनमा दिइयो । विशेष गरी नेपाल इन्भेस्टमेन्ट बैङ्कको एटीएम काउन्टरबाट यस्तो गतिविधि भएको जानकारी पाएपछि प्रहरीले बैङ्कको सहयोगमा उनीहरूलाई पक्राउ गरेको हो । एटीएम काउन्टरमा स्क्यानिङ मेसिन डिभाइस जोड्न, खाली कार्ड राख्न र क्यामेरा जडान गर्न उनीहरूले घन्टौँ समय बिताउने गरेका थिए । पैसा झिक्न गएको बहाना बनाई काउन्टरभित्र छिर्ने तर घन्टौँ समय लगाएको दृश्य काउन्टरबाहिर जडान गरिएका सीसी क्यामेरामा पनि देखिएको प्रहरीले जनाएको छ । ब्युरो प्रहरीले उनीहरूको साथबाट क्यामेरा, खाली एटीएम कार्ड, स्क्यानिङ डिभाइस लगायत उपकरणका अतिरिक्त तीन लाखभन्दा बढी नेपाली नगद, विभिन्न देशका मुद्रा बरामद गरेको छ । कतिपय एटीएम विदेशमा समेत प्रयोग गर्न सकिने भएकाले उनीहरूले त्यस्ता बैङ्कका एटीएम कार्डको पिन नम्बर युरोपमा रहेका आफ्ना साथीलाई उपलब्ध गराई युरो तथा डलर झिक्न लगाउने गरेको जानकारी पनि प्रहरीले दिएको छ । ब्युरो प्रहरीले यसअघि पनि टर्की, बुल्गेरिया र रोमानियाका नागरिकलाई अबैध रूपमा एटीएमबाट रकम झिक्दै गरेको अभियोगमा पक्राउ गरेको थियो । बैङ्कमा रकम राख्दा वा झिक्दा एसएमएसबाट सूचना पाउने व्यवस्था नहुँदा अन्तर्राष्ट्रिय अपराधी नेपालमा सक्रिय रहेको भनाइ प्रहरीको छ । कतिपय नेपाली एटीएमको प्रयोगप्रति सचेत नहुँदा यस्तो समस्या देखिएको ब्युरो प्रवक्ता दिवस लोहनीले बताउनुभयो । गोरखापत्र दैनिकमाबाट ।

नेपालमा भित्रिन्छ घोडा र गधाको मासु, घरमै बसेर १७ वटा मुलुकबाट आयातित मासु उपभोग

काठमाडौं २३, कात्तिक । नेपालमा घोडा र गधाको मासु आयात हुँदै आएको छ । पछिल्लो केही वर्षदेखि नेपालमा भोडा र गधासँगै खच्चरको मासु आयत हुन थालेको हो । नेपालमा मुख्य गरी चीन, बेलायत र फ्रान्सबाट यस्ता जनावरको मासु आयत हुँदै आएको छ । राँगा, खसी, भेडा, कुखुरा, सुँगुर र बंगुरबाहेक गिनी, थिज, डल्फिनको मासु पनि आयात हुनेछ । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२ ७३मा फ्रान्सबाट तीन लाख ९६ हजार आठ सय ६९ मूल्य बराबरको एक सय ३५ किलो घोडा, गधा र खच्चरको मासु आयत भएको थियो । यस्तै अघिल्लो वर्षमा बेलायतबाट तीन हजार नौ सय ६७ मूल्यबराबरको ६ किलो यस्ता मासु आयत भएको थियो । नेपालमा आयत हुने यस्ता मासु पाँचतारे होटल, ठूला रेष्टुरेन्ट, कुटनीतिक नियोग र विभिन्न मुलुकबाट पार्यटकका रुपमा आउने पाहुनाले उपभोग गर्दै आएका छन् । तथ्यांकअनुसार नेपालीले घरमै बसेर १७ वटा मुलुकबाट आयातित मासु उपभोग गर्दै आएका छन् । अन्नपूर्ण पोष्टबाट ।

अब नोकियाले एण्ड्रोइड प्लेटफर्ममा स्मार्टफोन बनाउने

काठमाडौं, २२ कात्तिक। कुनै समयमा निकै लोकप्रिय बनेको मोबाइल ब्राण्ड नोकिया फेरि बजारमा आउने भएको छ। कम्पनीले विज्ञप्ति जारी गर्दै अागामि २०१७ को मध्यतिर दुई नयाँ मोवाइल निकाल्ने भएको छ। उसले अब विन्डोज फोन भने ननिकाल्ने भएको छ। उसले अव एन्ड्रोइड अपरेटिङ सिस्टम भएका स्मार्टफोन बजारमा ल्याउने भएको हो। माइक्रोसफ्टले किनेपछि विन्डोज फोन निर्माण गरेको नोकिया खासै सफल हुन सकेन। तर अब कम्पनीले नोकियाका दुई नयाँ फोन ल्याउने तयारी गरेको बताइएको छ। नोकिया विश्वासिलो ब्राण्ड भएकाले एचएमडी ग्लोबल कम्पनीले निर्माण गर्न लागेको बताइएको छ। उसले एण्ड्रोइड को लेटेस्ट ७.० अोएस भएका डिएस वान सी मोडेलका स्मार्टफोन ल्याउने जनाएको छ। दुई बर्ष पहिले माइक्रोसफ्टले ७ अर्ब डलरमा किनेको थियो । कम्पनीले फिनल्याण्डवाट ट्यावलेट र स्मार्टफोन उत्पादन गर्नका लागि अनमति लियसकेको जनाएको छ। एजेन्सीको सहयोगमा

काठमाडौं जिल्लामा ९ वटा नगरपालिका र २ वटा गाउँपालिका सिफारिस, नमान्नेलाई दोस्रो विकल्प पेस

काठमाडौँ, २२ कात्तिक । जिल्ला प्राविधिक सहयोग समिति काठमाडौँले विकल्पसहितको प्रतिवेदन स्थानीय तह पुनःसंरचना आयोगलाई पेस गरेको छ । प्रमुख दलबीच एउटै संरचना पठाउन सहमति नभएपछि विकल्पसहितको प्रतिवेदन पठाइएको जिल्ला विकास समिति काठमाडौँले जनाएको छ । पहिलो विकल्पअनुसार हाल कायम रहेका ११ नगरपालिकामध्ये नौ वटालाई नगरपालिका र आयोगको मापदण्डअनुसार जनसङ्ख्या नपुग्ने दुई नगरपालिकालाई गाउँपालिका बनाउने प्रस्ताव छ । ग्रामीण भेगमा रहेका र जनसङ्ख्या पनि नपुगेका शङ्खरापुर र दक्षिणकाली नगरपालिकालाई गाउँपालिका बनाउन सिफारिस गरिएको छ । कागेश्वरी मनहरा, गोकर्णेश्वर, बूढानीलकण्ठ, टोखा, तारकेश्वर, नागार्जुन, चन्द्रागिरी, दक्षिणकाली, कीर्तिपुर र काठमाडौँ महानगरपालिकालाई नगरपालिका सिफारिस गरिएको समितिका सदस्य सचिव एवम् जिविस काठमाडौँका वरिष्ठ सूचना अधिकृत प्रवीण प्याकुरेलले बताए । “एउटै विकल्प सिफारिस गर्नेमा सबै दलका बीचमा सहमति नभएपछि दुवै विकल्प आयोगलाई सिफारिस गरिएको हो”– उनले भने । दोस्रो विकल्पअनुसार शङ्खरापुर र कागेश्वरी मनहरालाई गाभी एउटा नगरपालिका र दक्षिणकाली एवम् कीर्तिपुर नगरपालिकालाई गाभी एउटै बनाउने प्रस्ताव गरिएको छ । अन्य सात नगरपालिकालाई यथावत् कायम राखिएको छ । यो विकल्प आयोगले तोकेको मापदण्ड बमोजिम भएको समितिले जनाएको छ । स्थानीय निकायको केन्द्र तोक्न भने नगरपालिकाका कार्यकारी अधिकृतको संयोजकत्वमा जिविस काठमाडौँका एक जना अधिकृत सदस्य रहेको दुई सदस्यीय समिति गठन गरिएको छ । समितिले आगामी शुक्रबारसम्ममा केन्द्र निर्धारण गर्नेगरी समय तोकिएको छ । रासस

रेमिट्यान्स आप्रवाह वृद्धिदर करिब २१ प्रतिशतले घट्याे, अर्थतन्त्र गम्भिर समस्यामा पर्ने चिन्ता

नारायण पौडेल काठमाडौं, २२ कात्तिक । गत आर्थिक वर्षको पहिलो २ महिनामा २७ दशमलब ५ प्रतिशतले बढेर १०७ अर्ब ६७ करोड रेमिट्यान्स नेपाल भित्रिएको थियो तर चालु आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह जम्मा ६ दशमलब ६ प्रतिशतले मात्रै बढेर ११४ अर्ब ७४ करोड रूपैयाँमा खुम्चियो । गत आवको पहिलो २ महिना भन्दा चालु आवको सोही अवधिमा रेमिट्यान्स नेपाल भित्रिने क्रमको वृद्धिदर २० दशमलब ९ प्रतिशतले घटेको हो । रेमिट्यान्सको आप्रवाह निरन्तर वृद्धिदरकाे लाभ लिदै अाएकाे नेपालकाे अर्थतन्त्रले त्याे लाभ गुमाउन लागेकाे चिन्ता सबैतिर छाएकाे छ ।  केन्द्रिय बैंकदेखि रेमिट्यान्स सञ्चालक र व्यवस्थापक सबैले रेमिट्यान्स आप्रवाहको वर्तमान अवस्था जारी रहे अर्थतन्त्रमा बहुआयामिक जोखिम निम्तन सक्ने खतरा औल्याएका छन् । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण पौडेलले रेमिट्यान्स आप्रवाहको वृद्धि न्युन हुँदा त्यसले सिंगो अर्थतन्त्रलाई नै नकारात्मक असर पार्ने भन्दै विकल्पको खोजीमा जुट्नुपर्ने बेला भएकाे बताए । ‘जीडिपीको ३० प्रतिशत हिस्सा ओगटेको रेमिट्यान्सको आप्रवाह वृद्धिदर घट्दा शेधनान्तरमा असर गर्छ, मुलुकको चालु खातामै असर गर्छ’, केन्द्रीय बैंकका प्रवक्ता पौडेलले भने । चालु आवको पहिलो २ महिनासम्ममा चालु खाता ११ अर्ब १२ करोडले घाटामा रहेको छ भने सोधनान्तर ३ अर्ब ५० करोड रुपैंयाँले घाटामा रहेको छ । जबको गत आवको सोही अवधीमा चालु खाता ३८ अर्ब ४८ करोड र शोधनान्तर ३१ अर्ब ८८ करोडले बचतमा रहेको थियो । चन्द्रप्रसाद ढकाल प्रवक्ता पौडेलले यहि अवस्था निरन्तर रहेमा आगामी १० महिनापछि मुलुकको अर्थतन्त्र उच्च जोखिममा पुग्ने बताए । रेमिट्यान्सको आप्रवाह घट्दा मुलुकको वस्तु तथा सेवा खरिद गर्ने क्षमता घट्ने, जनताको क्रयशक्ति समेत घट्ने भएकाले समयमै सचेत हुनुपर्ने बताए । रेमिट्यान्स कम्पनी अार्इएमर्इ प्रा लिका अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि रेमिट्यान्स वृद्धिदर घटेकाले यसकाे नकारात्मक असर सामान्य नागरिककाे जनजीवनसम्म पुग्ने बताए । ‘अर्थतन्त्र रेमिट्यान्सले धानेको छ। रेमिट्यान्स घट्दा सर्बसाधारणा नेपालीका छोरीछोरीले राम्रो स्कुलमा पढ्ने अवसर गुम्न सक्छ, विरामी पर्दा राम्रो उपचार गराउन नसक्ने अवस्था अाउन सक्छ,  रेमिट्यान्स अायबाट राम्रो घर बनाउन याेजना सपना मात्र बन्न सक्छ’ ढकाल भन्छन् -‘यस्तै अवस्था लामाे समय रहे ग्रामिणा क्षेत्रमा चाउचाउ बिक्री समेट हुन छाेड्छ ।’ रेमिट्यान्स एसोसियसन अफ नेपालका सचिव सुमन पोखरेलले पनि रेमिट्यान्स आप्रवाहको वृद्धिदर घटेकाले अर्थतन्त्र जोखिमतर्फ अघि बढेको बताए । उनले रेमिट्यान्स घटेसँगै नेपालका ५० प्रतिशत घरधुरीको आम्दानी घट्ने बताए ।  रेमिट्यान्स वृद्धिदर घट्दा बैंकका तरलताको अभाव, लगानी याेग्य पुँजी कमी, बैंककाे व्याजदर वृद्धि, उत्पादन लागत वृद्धि जस्था अार्थिक समस्याका लक्षण देखापरेकाे उनकाे  विश्लेषण छ । के हुन सक्छ विकल्प सुमन पोखरेल राष्ट्र बैंकका प्रवक्ता पौडेलले घट्दो रेमिट्यान्स आप्रवाह वृद्धिदरको विकल्पका रुपमा विदेशी विनियम बढाउन निर्यात बढाउने, आयात घटाउने, लक्जरी समानको आयात कटौती गर्ने, वैदेशिक रोजगारीको सुरक्षित गन्तव्य खोज्ने, बैंकिङ च्यानलबाट रेमिट्यान्स भित्र्याउने, विदेशी पर्यटकको नेपाली बसाई तथा खर्च बढाउने गरि बिशेष योजना बनाउनुपर्नेमा जोड दिए । चन्द्र ढकालले भने भारतबाट बैंकिङ च्यानल प्रयोग गरि पैसा पठाउन प्रोत्साहन गर्ने, दक्षिण कोरिया गएका नेपाली कामदारको पैसा बैकिङ च्यानलबाटै ल्याउने लगायतका काम गनुपर्ने बताउँछन् । ‘काेरियामा जाने नेपालीकाे संख्या बढेकाे छ, तर रेमिट्यान्स ज्यादै कम छ । भारतमा काम गर्ने नेपाली धेरै छन् तर रेमिट्यान्स उल्लेख्य मात्रामा अाएकाे देखिएकाे छैन’ उनी भन्छन्-‘यी बजारबाट प्रयाेग भएकाे हुण्डि काराेबारलार्इ विस्तापित गराउने र अाैपचारिक बाटाेकाे प्रयाेगलार्इ प्राेत्साहित गर्नुपर्छ ।’ रेमिट्यान्स वाहेक विदेशी मुद्रा अार्जन गर्ने मुख्य स्राेत निर्यात व्यापार ज्यादै कमजाेर छ भने पर्यटन सेवाकाे क्षेत्र पनि भूकम्प र नाकाबन्दी पछि उकासिन सकेकाे छैन । १०० रूपैयाँकाे अायात गर्दा ८ रूपैयाँकाे निर्यात गर्दै अाएकाे नेपालका लागि रेमिट्यान्स अायमा घट्दा शाेधनान्दर सन्तुलन कायम गर्न र विदेशी मुद्राकाे जाे गर्न सरकारलार्इ धेरै कठिन हुने देखिएकाे छ ।

सिद्धार्थ बैंकको पिओएस मेशिन बजारमा, नगद बिना नै सामान खरिद गर्न सकिने

काठमाडौं, २२ कात्तिक । सिद्धार्थ बैंकले आधुनिक बैंकिङ्ग प्रणालीमा आधारित आफ्नै पिओएस मेशिनहरु बजारमा ल्याएको छ । पिओएस मेशिन जडित व्यापारिक केन्द्रहरुमा ग्राहकहरुले आफ्नो डेबिट वा क्रेडिट कार्डको प्रयोग गरि रकम भुक्तानी गर्न सकिने हुँदा नगद बिना नै सामान तथा सेवा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । सिद्धार्थ बैंकले प्रदान गर्ने यस सेवाबाट ग्राहकहरुलाई थप सुविधा प्राप्त हुनेमा बैंकको विश्वास रहेको छ । ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग सेवाको प्रयोग र अन्र्तराष्ट्रिय स्तरको सेवा प्रदान गर्न बैंकले देशका १०० भन्दा बढी विभिन्न स्थानहरुमा पिओएस मेशिन राखिसकेको र थप स्थानहरुमा पिओएस मेशिन राख्ने प्रकृयामा रहेको जनाएको छ । पिओएस मेशिन राख्न इच्छुक संस्थाले सिद्धार्थ बैंकको नजिकैको शाखामा सम्पर्क राख्न सक्ने कम्पनीले जनाएको छ ।