५८ अंकले घट्यो नेप्से परिसूचक, लगानीकर्ताको मनोबल गिर्नु मुख्य कारण
काठमाडौं, ५ मंसिर । आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ । विहीबार नेप्से परिसूचिक ४० अंकले घटेर १६५८ हुँदा कारोबार बन्द भएको थियो । आईतबार साढे १ बजे नेप्से परिसूचिक करिव ८० अंकले घटेर १५७८ भएपछि नेपाल धितोपत्र विनिमय बजार कम्पनी (नेप्से)ले आधा घण्टाको लागि कारोबार बन्द गरेको थियो । सेयर बजारमा एकै दिन ५ प्रतिशतले घटी वा बढी भएपछि आधा घण्टा कारोबार रोकेर खुला गर्ने अभ्यास नेप्सेले गर्दै आएको छ । करिव २ बजे दोस्रो पटक कारोबार खुला भएपछि बजारमा केही वृद्धि देखिएको थियो । बीचमा १६३० अंकमा पुगेको नेप्से कारोबार बन्द हुँदा १५९९ अंकमा झरेको छ । आईतबार बीमा समूहको परिसूचक ४०० अंकले घटेको छ भने जलविद्युत समूहको ८६ अंकले घटेको छ । बैकिङ समूहको परिसूचक ५९ अंकले घटेको छ । बजारमा सबै परिसूचकमा गिरावट देखिएको छ । आइतबार हिमालय बैंकका सेयरधनीले सबैभन्दा बढी ८.११ प्रतिशत गुमाएका छन् । झण्डै तीन दर्जन कम्पनीका सेयरधनीले ५ प्रतिशतभन्दा बढी सम्मति गुमाएका छन् । ८ वटा कम्पनीका सेयरधनीले भने आइतबार पनि नाफा गरेका छन् । बैंकको व्याजदर वृद्धि र आपूर्ति चापले सेयरको मूल्य केही घट्न सक्ने अनूमान हुदै आएको छ । तर लगातार उच्च दरको गिरावट हुनुको कारण भने लगानीकर्ताको मनोवल कमजोर हुनु मानिएको छ ।
रुवी भ्याली पुग्ने ‘स्काइ ट्रेल’ सञ्चालनमा, पदमार्ग बनेपछि स्थानीयवासी हर्षित
काठमाडौं, ५ मंसिर । धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने रुवी भ्याली क्षेत्रअन्तर्गत हिमालयन स्काइ ट्रेल (तीनसुरे पदमार्ग) सञ्चालनमा आएको छ । उक्त पदमार्ग सञ्चालनमा आएपछि राजधानीबाट नुवाकोट, रसुवा हुँदै धादिङका बस्तीहरुमा घुमेर गोरखा जान सहज हुनेछ । पर्यटकीय पदमार्गबाट आकाश र जमिनको विशेषता नजिकबाट नियाल्न सकिने भएकाले यसलाई ‘स्काइ ट्रेल’ समेत भनिएको हो । धादिङको उत्तरी क्षेत्रमा पर्ने समुन्द्री सतहदेखि एक हजार ५ सय फिटको उचाइमा रहेको नेत्रतालदेखि झन्डै ११ हजार उचाइमा रहेको तीनसुरे भञ्ज्याङसम्म झन्डै ५० किलोमिटर दूरीमा उक्त पर्यटकीय पदमार्ग निर्माण भएको हो । नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा पर्यटकीय पदमार्ग बनेपछि स्थानीयवासी हर्षित भएका छन् । स्थानीयपर्यटन व्यवसायी एवं ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का पूर्व उपाध्यक्ष बलबहादुर गुरुङले जलचर, जङ्गलीजनावर र धार्मिक पर्यटनका दृष्टिले यो पदमार्ग महत्वपूर्ण रहेको बताए । यस पदमार्गमा पाँच दिन चार रातको भ्रमण प्याकेज तय गरिएको छ । पदमार्गमा त्रिपुरेस्वरको आँखुखोलामा निर्माण भएको हाइड्रोपावरबाट बनेको नेत्रताल, बगुवा खोलामा निर्माण भएको पानीघट्टा, कात्तिकेको डोकानाम्ला बोकेर घाँसदाउरा गर्दै गरेका ग्रामीण परिवेश, परम्परागत फलामका सामान बनाउँदै गरेका आरन, फूलखर्कबाट देखिने सूर्योदय, मनटारीको जङ्गलमा बनेको मनटारी स्काइ क्याम्प, पोखरा बस्तीको गुरुङ जातिको नाच अवलोकन गर्न सकिने छ । यस्तै पोखराडाँडाबाट गणेश हिमाल र लाङटाङ क्षेत्रको मनोरम दृश्य, जङ्गलमा रहेका कालिज, बँदेल, तित्रा, चितुवा, भालु, डाँफे, मुनाल, लगायत पशुपन्छी र वन्यजन्तुको अवलोकनगर्न सकिने पदप्रदर्शक सरोज नेपालले बताए । अधिकांश पर्यटनकर्मी रहेको धादिङमा सुविधाजनक र गुणस्तरीय ग्रामीण पर्यटकीय आगमनलाई सहज बनाउन यो पदमार्गले ठूलो सहयोग पुग्ने बताइएको छ । नेपाली कांग्रेस धादिङ क्षेत्र नं १ का सांसद दिलमान पाख्रिन नेपालको पर्यटकीय विकासमा सरकारको ठूलो लगानी रहेपनि सोचेजस्तो प्रगति हासिल गर्न नसकेको बताउँछन् । प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गरेको उक्त पदमार्गको निर्माणपछि उद्घाटन गर्दै संस्कृति, पर्यटन तथानागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले धादिङ जिल्ला पर्यटकीय दृष्टिकोणले ठूलो सम्भावनाको जिल्ला रहेको बताए । धादिङ जिल्लाको रुबीभ्यालीमा पर्ने उक्तपर्यटकीय मार्गको निर्माणका लागिपर्यटन बोर्डले करिब ४० लाख रुपैयाँ लगानी गरेको बताइएको छ ।
स्वावलम्बन बैंकको निशुल्क स्वास्थ्य शिविर सञ्चालन कार्यक्रम सम्पन्न
काठमाडौं, ५ मंसिर । स्वावलम्बन लघुवित्त विकास बैंक र साँखु जेसिसको संयुक्त आयोजना तथा सुष्मा कोइराला मेमोरियल ट्रष्टको प्राविधिक सहयोगमा महिलाहरुको पाठेघर तथा स्तन जाँच सम्बन्धी स्वास्थ्य शिविर संचालन भएको छ । बैंकको उपशाखा कार्यालय, नगरकोट भक्तपुरले स्थानीय स्वास्थ्य संस्थामा आफ्ना ग्राहक सदस्य तथा उनीहरुको परिवारलाई लक्षित गरी मंसिर ४ गते एक दिने निःशुल्क शिविर संचालन गरेको हो । उक्त शिविरमा सुष्मा कोइराला मेमोरियल अस्पतालका प्रशासकिय प्रमुख ममता सिंह तथा जर्मनीबाट आएको विशेषज्ञ डाक्टर सहितको टोलीले उपशाखा कार्यालय नगरकोट अन्तरगतका करिव २ सय विरामी महिला ग्राहक सदस्यको स्वास्थ्य परिक्षण गरेको जनाइएको छ । कम्युनिटि हेल्थ सेण्टर, गड्गडे निम्न माध्यामिक विद्यालको प्राङ्गणमा सञ्चालित शिविर कार्यक्रम उद्घाटन गर्दै बैकका प्रमुख कार्यकारी अधिकृत नरेशमान प्रधानले ग्राहक सदस्य तथा उनीहरुको परिवारका लागि विभिन्न सामाजिक कार्य, स्वास्थ्य शिविर संचालन गर्दै बैंक अगाडी बढ्ने बताए । उनले यस्ता कार्यक्रमबाट अधिकतम महिला ग्राहक सदस्यले लाभ लिन समेत आग्रह गरे । कार्यक्रमका सभापति तथा साँखु जेशिसका अध्यक्ष अमित प्रधानले बैंकसंगको सहकार्यमा हुने यस्ता कार्यक्रमले स्थानिय बासिन्दा लाभान्वित हुने बताए ।
विदेशबाट फर्केर बाख्रापालन व्यवसायमा रमाउँदै युवा
पाल्पा, ५ मंसिर । काम गर्न सके आफ्नै देशमा के हुँदैन ? यहि विचारलाई मनन गर्दै रामपुर नगरपालिका– १३ भुजातका विश्वराज भट्टराईले विदेशबाट फर्केर बाख्रापालन गर्ने निर्णय गरे र व्यवसाय शुरु गरे । आठ वर्षसम्म विदेशमा काम गरेका भट्टराईले राम्रो आम्दानी गर्न नसकेका कारण स्वदेश फर्केपछि १० लाख रुपैंयाँको लगानीमा बाख्रा पाल्न शुरु गरे । उनको फार्ममा अहिले स्थानीय जातका ५० वटा बाख्रा छन् । पाठापाठी बेचेर वर्षमा ४ लाख रुपैंयाँसम्म आम्दानी गर्ने भट्टराई भन्छ– ‘कमाई हुन्छ कि भनेर विदेश गएँ, खाडीमा लामो समयसम्म पसिना बगाए, मुस्किलले खान बस्न ठिक्क हुन्थ्यो, परिवार चलाउन निकै समस्या प¥यो । यहाँ आएर बाख्रापाल्न थालेपछि महिनैपिच्छे पैसा पाउँदा र परिवारसँग व्यवसाय चलाउँदा आनन्द पनि लागेको छ ।’ आफ्नै करिब तीन रोपनी जग्गामा व्यवसाय चलाउनुभएका भट्टराईलाई चरन र घाँसपातको लागि समस्या पनि छैन । यही दसैँमा मात्र उहाँले ३२ वटा पाठापाठी बेचेर एकलाख रुपैंयाँ बराबरको आम्दानी गरेका छन् । व्यवसायका लागि केन्द्रीय भेँडाबाख्रा प्रवद्र्धन केन्द्रबाट युवा लक्षित कार्यक्रम अन्तर्गत एकलाख रुपैंयाँ र जिल्ला पशुसेवा कार्यालयबाट बोका खरिदका लागि ६ हजार रुपैंयाँ अनुदान पनि प्राप्त गरेका छन् । दुई सय वटा बाख्रापालेर वार्षिक ६ लाख रुपैंयाँभन्दा बढी आम्दानी गर्ने सोच बनाएका उनले यही व्यवसायबाट समाजमा राम्रो पहिचान बनाउन सकेको हँुदा दिगो रुपमा व्यवसाय गर्ने अठोट लिएका छन् । रासस
फेन सेग्मेन्टमा एरोक्वाइट सिलिङ फेन नेपाली बजारमा
काठमाडौं, ५ मंसिर । भारतकै चर्चित बहुराष्ट्रिय कम्पनी बिरला ग्रुप अन्तर्गतको सिके बिरला ग्रुपले नेपालमा थप बजार बिस्तार गरेको छ । बिभिन्न समूहमा गरी १.६ अर्ब अमेरिकी डलर लगानी गरेको बिरला ग्रुपको ओरियन्ट इलेक्ट्रिकले बजार बिस्तार गर्ने क्रममा शनिबार आवाज नआउनेर प्रचुर मात्रामा हावा दिने क्षमता भएको एरोक्वाइट सिलिङ फेन सार्वजनिक गरेको हो । कम्पनीले एरियो शृंखलामा पहिलो पटक छुट्टै प्रकारको असाधारण क्षमता भएको प्रिमियम सिलिङ फेन तयार पारेको जनाएको छ । यसका लागि शक्तिशाली मोटर अनि एरो डायनामिक डिजाइन गरिएको कम्पनीले दावी गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी इलेक्ट्रो–टेक २०१६ मा एक विशेष कार्यक्रमका विच यो फेन नेपालमा पहिलो पटक अनावरण गरिएको हो । कार्यक्रममा फेनको विषयमाथि बोल्दै हेड इन्टरलेशनल सेल्स, ओरियन्ट इलेक्ट्रिकका दुर्गेश बक्सीले एरोक्वाइट सिलिङ फेनको नयाँ सिरिज नेपाली बजारमा ल्याउन पाएकोमा अत्यन्त उत्साहित भएको बताए । उनले भने–‘फेन सेग्मेन्टको क्षेत्रमा पायोनियर भएकाले करोडौं मानिसको लागि यो नयाँ फेनमा टेक्नोलोजिकल मार्भललाई परिचय गरेको छ । नेपाली बजारमा यस्तो शक्तिशाली फेन ल्याउन पाउँदा हामी अत्यान्त उत्साहित भएका छौं ।’ बक्सीले पहिलो पटक सबैसँग यो फेनलाई परिचित गराइसकेको भन्दै डिजाइ, क्राफ्टमेनसिप, अनि टेक्नोलोजिको दृष्टिकोबाट एरोक्वाइटले सर्वश्रेष्ठ उदाहरण पेश गर्न सक्ने बताए । उनका अनुसार चाँडै यो एरियो शृंखलामा फेनको अन्य प्रकार पनि बजारमा लञ्च गर्ने तयारी भइरहेको छ । हेड ब्राण्ड एवम् कर्पोरेटिभ कम्युनिकेशन ओरियन्ट इलेक्ट्रिकका अंशुबन चक्रवर्तीले फेनको सर्वप्रीय उत्पादक एवम् विशेषज्ञ भएको दाबी गर्दै भने, ‘नेपाल हाम्रो निम्ति महत्वपूर्ण बजार रहेको छ । जहाँ ५० प्रतिशतभन्दा धेरै शेयर एक्सपोर्ट गरिएको छ । इलेक्ट्रो टेक २०१६ को हामी एउटा अंग हुन पाएकोमा गर्भ गर्छौ ।’ ओरियन्ट एरोक्वाइट १२०० एमएम स्विप र सय प्रतिशत खियारहित ब्लेड उच्चस्तरको काँचद्वारा निर्मित छ । ब्लेडलाई दह्रो बनाउन यसमा एबिएसको मिश्रण गरिएको बताइएको छ । स्मुथ अनि शान्त सञ्चालनको निम्ति १८ पोल ठूलो मोटरसहित डबल बल बेयरिङको प्रयोग गरिएको छ। विभिन्न प्रकारका राम्रा राम्रा डिजाइनमा हाइ ग्रोस प्रिमियम पियु फिनिस भएका फेनहरू छन् । यसको स्पिण्डल कबर भएको टब अनि बटम फेनोपी डिजाइन रहेको छ । टपको रिम अनि यसको माथिल्लो भाग स्टेनलेस स्टिलले सजिएको छ । सबै ओरियन्ट उत्पादनहरू नेपालमा प्रिमियर ओभरसिज प्रा.लि. काठमाडौंद्वारा वितरण गरिने जनाइएको छ । यसको बजार मूल्य १२ सय देखि १५ हजार रूपैयाँ सम्म पर्नेछ । के हो ओरियन्ट इलेक्ट्रोनिक्स ? ओरियन्ट इलेक्ट्रोनिक्स १.६ बिलियन अमेरिकी डलरको लगानीमा बनेको सिके बिरला ग्रुप भारतको एउटा अंग हो । ओरियन्ट भारतमा हाउसहोल्ड नाम बनेको छ । ओरियन्ट फेन इन्डस्ट्रिज भारतमा ६० वर्षदेखि सञ्चालनमा छ । भारतमा यसको मूल रूपमा उत्पादन सुविधा भए पनि यसको सञ्चालन लगभग विश्वका विभिन्न ३५ देशहरूमा हुन्छ । यो ब्राण्डले इनोभेटिभ साथै उच्चकोटीको उत्पादन प्रदान गर्दै करौडौं ग्राहकहरूमा विश्वसनीयता कायम गरेको छ। यसले फेन मात्र उपलब्ध नगराएर एप्लाइन्स, लाइटिङ अनि स्वीच गियर पनि उपलब्ध गराउँछ। ओरियन्ट इलेक्ट्रिक इलेक्ट्री सोलुसनको क्षेत्रमा वान स्टोभ सोलुसन प्रोभाइडरको रूपमा आफ्नो बजार बनाएको छ। सीके बिरला भारतकै उत्कृष्ट बहुराष्ट्रिय कम्पनी सीके बिरला ग्रुप १.६ बिलियन अमेरिकी डलको लगानीमा सञ्चालित छ । यसले म्याग्निफ्याक्टरिङ इन्जिनियरिङ, टेक्नोलोजी, हस्पिटल र शिक्षाको क्षेत्रमा आफ्नो बलियो उपस्थिति जनाइसकेको बताइन्छ । यसमा २० हजारभन्दा धेरै कर्मचारीहरू कार्यरत छन्। ३०वटा म्याग्नीफ्याक्टरिङ फेसिलिटिज अनि ग्राहकमा आधारित कतिपय विश्वका प्रख्यात कम्पनी पनि समावेश छन् ।
गुणस्तरहिन सिमेन्ट उत्पादन गर्ने तीन उद्योगमा सिलबन्दी
काठमाडौं, ५ मंसिर । नेपालमा सिमेन्ट उद्योगहरु थपिंदै गएपनि यसको गुणस्तरमा भने अझै सुधार हुन सकिरहेको छैन । सिमेन्ट उत्पादनमा नेपाल आत्मनिर्भर बन्दै गएको अवस्थामा गुणस्तर कायम गर्न उत्पादन अगावै नेपाल गुणस्तरको प्रमाणपत्र लिनुपर्ने प्रावधानका बाबजुद पनि बजारमा गुणस्तरहिन सिमेन्ट उपलब्ध भइरहको नापतौल तथा गुणस्तर नियन्त्रण विभागले जनाएको छ । विभागले बजार अनुगमनका क्रममा पटक–पटक गुणस्तरहिन सिमेन्ट फेला पारेपछि वीरगंजका दुई र भैरहवाको एक सिमेन्ट उद्योगलाई एक हप्ता अघि सिलबन्दी गरेको छ । सिलबन्दी हुने उद्योगहरूमा वीरगंज–पथलैया औद्योगिक कोरिडोरमा पर्ने कलश सिमेन्ट र बाराको बकुलिया स्थित अरनिको सिमेन्ट उत्पादन गर्ने एडभान्स सिमेन्ट कम्पनी तथा भैरहवाको रिलायन्स सिमेन्ट रहेका छन् । बजार अनुगमनका क्रममा गुणस्तरहीन सिमेन्ट भेटिएपछि विभागले एक महिना पहिले नै पत्राचार गरी गुणस्तरयुक्त सिमेन्ट बजारमा पठाउन निर्देशन दिएको थियो । उद्योगले अटेर गरेपछि विभागले अर्को निर्णय नभएसम्म उत्पादन रोक्न निर्देशन दिंदै कम्पनीमा सिलबन्दी गरेको हो । नापतौल तथा गुणस्तर नियन्त्रण विभागले गुणस्तरहीन सिमेन्ट बजारमा पठाएको कारण सिलबन्दी गरिएको बताए पनि उद्योगीले भने हचुवाको भरमा प्रमाण विना नै पूर्वाग्रह राखेर सिलबन्दी गरेको आरोप लगाएका छन् । विभागले स्पष्टिकरणको मौका नै नदिई एकाएक सिलबन्दी गरेको उद्योगी एवं कलश सिमेन्टका सञ्चालक अनिल पटवारीले बताए । उनले विभागले हचुवाको भरमा सिलबन्दी गरी उद्योगको उत्पादनसमेत ठप्प पारेको आरोप लगाए । त्यसैगरी रिलायन्स सुपरटेक सिमेन्ट उद्योगका प्रबन्धक विनय झाले सिलबन्दी गरिएपनि के-कति कारणले सिलबन्दी गरिएको हो त्यस विषयमा जानकारी नभएको बताए ।
सगरमाथा इन्स्योरेन्स कम्पनीले २२ प्रतिशत बोनस सेयर दिने, चुक्ता पुँजी ५३ करोड रुपैयाँ पुग्दै
काठमाडौं, ५ मंसिर । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले गत गर्षका नाफाबाट आफ्ना सेयरधनीलाई करिब २३ प्रतिशत लाभांश दिने भएको छ । मंसिर ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले २२ प्रतिशत बोनस सेयर दिने र कर प्रयोजनको लागि १ दशमलव १५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । सञ्चालक समितिको निर्णय बीमा समितिबाट स्वीकृत भई साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउने छ । बोनस सेयर चारी गरेपछि कम्पनीको चुक्ता पुँजी ५३ करोड २२ लाख रुपैयाँ हुनेछ । हाल कम्पनीको चुक्ता पुँजी ४४ करोड १२ लाख रुपैयाँ रहेको छ ।
सेयर बजार तिव्र रुपमा ओरालो लाग्दै, सवै उपसमूह पनि रातै
काठमाडौं, ५ मंसिर । साताको पहिलो दिन कारोबार खुलेदेखि नै बजार तिव्र रुपमा ओरालो लागेको छ । काराेबार खुलेकाे ढेड घणटामा नै नेप्से परिसूचक बजार ६१ अंकले ओरालो लागेको छ । बजार पुरै राताम्य भएकाे छ । लगानीकर्ताहरू अात्तिएकाे देखिएकाे छ । सबैभन्दा बढी बीमा समूहकाे परिसूचक ३११ अंकले ओरालो लागेको छ । बैंकिङ समूहको परिसूचक ६९ दशमलव ३६ अंकले ओरालो लागेको छ । सेयर बजारमा सबैभन्दा बढी हिस्सा बैकिङ समूहकाे रहेकाे छ । जलविद्युत ६६ दशमलव ४३, होटल ५९ दशमलव ७९, विकास बैंक ४८ अंकले ओरालो लागेको छ । मूल्यमा उच्च गिरावट अाएपनि काराेबार भने बढी देखिएकाे छ । काराेबार खुलेकाे ढेड घण्टामा करिव ४० कराेड रूपैयाँ बराबरकाे सेयर काराेबार भएकाे छ ।