हिरोका नयाँ तीन वटा मोटरसाइकल नेपाली बजारमा
काठमाडौं, ८ मंसिर । हिरो मोटोकर्प लिमिटेडका तीन वटा नयाँ मोडलका मोटरसाइकल नेपाली बजारमा भित्रिएका छन् । हिरोले स्प्लेण्डर आइस्मार्ट ११०, न्यू अचिभर १५० र नयाँ सुपर स्प्लेण्डर १२५ ले मोटरसाइकल नेपाली बजारमा भित्र्याएको हो । केहि समय अघि मात्रै डुएट स्कुटर बजारमा ल्याइसकेको कम्पनीले थप तीन मोडलका मोटरसाइकल बजारमा ल्याएर नेपाली उपभोक्ता माझ आफ्नो उपस्थितिलाई थप बलियो बनाउन खोजेको जनाएको छ । स्प्लेण्डर आइस्मार्ट ११० भारतको जयपुर शहरस्थित हिरोको सेण्टर अभ इनोभेसन टेक्नोलजीमा डिजाइन गरिएको र बनाइएको पहिलो बाइक हो । ११० सिसी क्षमताको टर्क एण्ड डिमाण्ड इंजिनले। यो इंजिनमा आइ ३ एस (आइडल स्टप स्टार्ट सिष्टम) नामक प्याटेण्टेड प्रविधि यसमा जडान गरिएको छ ।नयाँ चेसिस र फ्रेम पनि यो बाइकका विशेषता हो । अचिभर १५० को इंजिन नयाँ बिएस–४ अनुसारको रहेको छ भने यसको निर्माण आइ ३ एस प्रविधिमा गरिएको छ । १२५ सिसिको सुपर स्प्लेण्डरमा पनि आइ ३ एस प्रबिधी जडान गरिएको छ । हिरोका एचएफ डिलक्स, स्प्लेण्डर प्रो, स्प्लेण्डर आइस्मार्ट र प्यासन प्रो, सुपर स्प्लेण्डर, ग्ल्यामर र अचिभर र उत्कृष्ट श्रेणीको एक्स्ट्रिम स्पोर्टस् लगायतका उत्पादन नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । त्यस बाहेक प्लेजर, ड्यास र डुएट लगायतका स्कुटर पनि नेपाली बजारमा लोकप्रिय मानिन्छन् ।
नेपालमा लगानीको स्वर्ण युग सुरु भयोः उद्योग मन्त्री
काठमाडौँ, ८ मङ्सिर । उद्योगमन्त्री नवीन्द्रराज जोशीले प्रतिस्पर्धी वैदेशिक लगानीका लागि नेपालले उदार नीति अबलम्बन गरेको भन्दै पूर्वाधार तथा औद्योगिक क्षेत्रामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । भियानामा सुरु भएको संयुक्त राष्ट्रसंघको उद्योग विकास सङ्घठन (युनिडो)को औद्योगिक विकास बोर्डको ४४ औं सत्रलाई सम्बोधन गर्दै उनले अर्थपूर्ण वैदेशिक लगानीमा सहकार्य मार्फत नेपालमा प्रविधि भित्र्याउन चाहेको स्पष्ट पारेका हुन । गत वर्ष नेपालमा जारी संविधानले संवैधानिक स्वतन्त्रता, मानव अधिकार, समावेशी समाजलाई सनिश्चित गरेको भन्दै उनले राजनीतिक परिवर्तनसँगै आर्थिक समृद्धि र औद्योगिकीकरण मार्फत द्रुत गतिमा दीगो आर्थिक विकासका लागि अगाडि बढ्न चाहेको बताए । मन्त्री जोशीले नेपालजस्ता मुलुकले पर्यटन, साना तथा मझौला उद्यमशीलता र विश्वमा बजारीकरणका लागि दीगो विकासमा अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले हरित विकासका लागि नवीकरणीय ऊर्जाको प्रयोग, उत्पादकत्व र बजार व्यवस्थापनजस्ता चुनौति रहेको बताए । नेपालजस्ता अतिकम विकसित मुलुकमा विकासका अपार सम्भावना रहेको भन्दै मन्त्री जोशीले सन् २०३०को दीगो विकाससम्बन्धी मुद्दामा कुनै पनि मुलुक पछि पर्न नहुने बताए । उनले दीगो औद्योगिकरणका लागि ऊर्जा र पूर्वाधारमा लगानी, निरन्तर मानवस्रोत साधनको विकास र क्षमता अभिवृद्धि तथा प्रविधि र सिर्जनशीलता पूर्व सर्त भएकोमा जोड दिए । साना मुलुकको आर्थिक प्रणालीमा संरचनात्मक परिवर्तन ल्याउन उनीहरुले सामना गर्नु परेका आन्तरिक तथा बाह्य जोखिम र आर्थिक अवरोधजस्ता कमजोरीलाई निराकरण गर्दै लैजानुपर्नेमा मन्त्री जोशीको जोड थियो । आर्थिक तथा सामाजिक क्षेत्रका रुपान्तरणका लागि पनि साना मुलुकले दीगो शान्ति र औद्योगिक रुपमान्तरणमा ध्यान दिनुपर्ने बताउँदै उनले त्यसका लागि औद्योगिक मुलुकबाट शिक्षा लिएर अगाडि बढ्नुपर्ने धारणा राखे । उद्योग मन्त्री नवीन्द्रराज जोशी, उद्योग मन्त्रालयका सह सचिव यामकुमारी खतिवडा र जेनेभे स्थित नेपाली राजदूत दिपक धितालले अष्ट्रियाको भियनामा मंगलबारबाट सुरु भएको युनिडोको ५० औं वार्षिकोत्सबमा भाग लिईरहेका छन् ।
सेयर बजार घट्न थालेपछि म्यूचअल फन्ड कम्पनीहरुको काराेबारमा निगरानी, बजारलाई प्रभावित पारेको भेटेमा कारबाही
काठमाडौं, ८ मंसिर । नेपाल धितोपत्र बोर्डले म्याचुअल फन्ड कम्पनीहरुमा स्थलगत अनुगमन थालेको छ । म्युचुअल फन्ड कम्पनीहरुले सेयर नकिनेकाले बजार घटेको भन्ने आमगुनासो आउन थालेपछि बोर्डले म्याचुअल फन्ड कम्पनीहरुमा स्थलगत निरीक्षण थालेको हो । बोर्डका प्रबक्ता निरज गिरीका अनुसार म्याचुअल फण्ड कम्पनीहरु कै कारण बजार ओरालो लागेको लगानीकर्ताहरुको आरोप रहरेकोले आफूहरुले सत्यतथ्य पत्ता लगाउनका लागि ति कम्पनीहरुमा अनुगमन थालेको हो । बोर्डले मंगलबार दुई वटा म्युचुअल फन्ड कम्पनीमा छड्के लिएको थियो भने बुधबार पनि केही कम्पनीहरूमा बोर्डका अधिकारी निरीक्षण गर्न पुगेका छन् । गिरीले मंगलबार निरीक्षण गरिएका कम्पनीले क्षमता अनुसारको सेयर पहिल्यै किनिसकेको तथ्यांक देखाएको उनले जानकारी दिए । अनुगमनका क्रममा बजारलाई प्रभावित पार्ने काम म्युचुअल फन्डले गरेको पाइएमा कारवाही गर्ने रणनीति बोर्डले बनाएको छ ।
ओरालो लाग्न रोकिएन नेप्से, कारोबारमा भने सुधार, गत हप्तादेखि निरन्तर एभरेष्ट बैंकमा नै लगानीकर्ता
काठमाडौं, ८ मंसिर । सेयर बजार लगातार ओरालो लागेको छ । गत हप्तादेखि ओरालो लाग्न सुरु गरेको सेयर बजार परिसुचक (नेप्से) बुधबार पनि ४२.४६ अंकले ओरालो लागेको छ । बुधबार मंगलबारको तुलनामा कारोबार रकममा भने सुधार आएको छ । मंगलबार ८२ करोडको कारोबार भएको बजारमा बुधबार एक अर्व ७ करोड बराबरको कारोबार भएको छ । यसदिन सम्पुर्ण समूहगत परिसूचकहरु पनि ओरालो लागेको छ । सवैभन्दा बढी विमा समूहको ३६५.६४ अंकले घटेको छ भने होटल १०२.९२अंकले ओरालो लागेको छ । त्यस्तै बैकिङ ३७.४७, विकास बैंक ४१.८, जलविद्युत १५.१७, फाइनान्स १३.८७, उत्पादनमूलक १२.६९ र अन्य समूह १८.८८ अंकले ओरालो लागेको छ । गत हप्तादेखि नै निरन्तर रुपमा एभरेष्ट बैंककै उच्च कारोबार भएको छ । यसदिन पनि १७ करोड ६० लाख बराबरको कारोबार भएको छ । त्यस्तै नेशनल लाइफ इन्सुरेन्स कम्पनी, १३ करोड १७ लाख, बैंक अफ काठमाडौ लुम्विनी ४ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै यसदिन सवैभन्दा बढी कमाउनेहरुमा मेगा बैंक, एनवी इन्सुरेन्स, माउन्ट मकालु डेभलपमेन्ट बैंक, गुह्हेश्वरी मचेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । गुमाउनेहरुमा लक्ष्मी लघुवित्त वित्तिय संस्था, सुर्य लाइफ इन्सुरेन्स कम्पनी, तारागाउँ रिजेन्सी होटल, सगरमाथा फाइनान्स गायतका कम्पनीका लगानीकर्ताहरु रहेका छन् ।
गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्सलार्इ वर्षको उत्कृष्त करदाता
काठमाडौं, ८ मंसिर । आन्तरिक राजस्व कार्यालय ललितपुरले आयकर तर्फ गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सलाई आर्थिक वर्ष २०७१/०७२ मा सबैभन्दा बढी कर दाखिला गरेकोले उत्कृष्त करदाताको रुपमा सम्मानित गरिएको छ । संस्थाको तर्फबाट महाप्रबन्धक दिनेशलाल श्रेष्ठले उक्त उत्कृष्त करदाता पुरस्कार प्राप्त गरेका छन् । फाइनान्सले गत वर्ष कुल नाफा २ करोड २९ लाख रुपैयाँ आर्जन गरेको छ । यस फाइनान्सले हाल निक्षेप २ अर्व ७ करोड तथा कर्जा लगानी १ अर्व ८६ करोड परिचालन गरेको छ । यस फाइनान्सले ५० हकप्रद शेयर जारी गर्ने र त्यसपछि १२ प्रतिशत बोनस शेयर जारी गरी चुक्ता पूँजी ४९ करोड ३५ लाख रुपैयाँ पुर्याउन लागेको जनाएको छ ।
करोडौको सम्पत्ति गुमाउँदै बीमा समिति, आयव्यय सबै गोप्य, ठूला करदाता कार्यालयले भाडा दिएन
काठमाडौं, ८ मंसिर । बीमा समितिले करोडौ मूल्य पर्ने सम्पत्ति गुमाएको छ । समितिको नाममा रहेको चावहिलस्थित दूई रोपनी जग्गामा बनेको घर अर्थमन्त्रालय अन्तर्गत ठूला करदाता कार्यालयले हडपेको छ । तर समिति भने त्यसबारे केही बोलेको छैन । बीमा समितिले गुमाएकाे चावहिल कार्यालय काठमाडौंको रिङरोडमा जोडिएको चावहिलको कार्यालय अपाएक भएको भन्दै समितिले ललितपुर जिल्लाको कुमण्डोलमा कार्यालय सारेपछि पुरानो कार्यालय भवन वेवारिसे अवस्थामा थियो । २०७२ साल बैशाख १२ गतेको भूकम्पपछि उक्त वेवारिसे भवनमा ठूला करदाता बसेको छ । ‘भूकम्पले ठूला करदाता कार्यालयमा क्षति पुग्यो, अर्थमन्त्रालयका सहसचिव मुकुन्द प्रसाद पौडेलको आग्रहमा समितिले ठूला करदाता कार्यालयलाई भाडामा बस्ने गरी भवन उपलब्ध गराएको हो । “हामीलाई अहिलेसम्म कर कार्यालयले बहाल बुझाएको छैन”, समितिका एक कर्मचारीले भने ‘‘एक वर्ष भन्दा बढी भइसक्यो तर सो कार्यालयले अहिलेसम्म भाडा बुझाएको छैन ।’’ कति रुपैयाँमा सो भवन भाडामा लगाएको हो भन्ने जानकारी बीमा समितिले दिएन । बीमा समितिले भाडामा दिएको भने पनि उक्त भवन भाडामा लिने दिनेसम्बन्धी कुनै करार सम्झौता नै नभएको ठूला करदाता कार्यालयकाे भनार्इ छ । कार्यालय प्रमुख युवराज श्रेष्ठका अनुसार बीमा समितिले नक्सा पास नगरी भवन बनाएकाे रहेछ । नक्सा पास नभएकाे कारणा प्रक्रिया पूरा गरी भवनकाे भाडा दर निर्धारणा हुन सकेन । भाडा दर निर्धारणा नभर्इ वहाल सम्झौता हुन सक्दैन । सरकारी निकायले प्रक्रिया नै नपुर्याइ भाडा दिन पनि सक्दैन । नक्सा पास गराउने विषयमा दुर्इ पटक पत्रचार पनि गरेकाे, समितिका अध्यक्षा डा फत्तबहादुर केसीलार्इ अाफैले भेटेर कुरा पनि गरेकाे तर समितिले ठाेस पहल नगरेकाे उनले बताए । ‘बीमा समितिले नक्सा पास गरेर ल्याअाेस्, हामी पुरै भाडा दिन तयार छाैं’ ठूला करदाता कार्यालय चावहिल शाखा प्रमुख श्रेष्ठले भने । तर बीमा समितिकाे दावी अर्कै छ । ‘अन्य कार्यालयलाई भाडामा दिएको भएपनि रकम उठ्थ्यो र समितिलाई केही फाइदा पुग्थ्यो तर कर कार्यालयले हामीलार्इ टेरेन’ समितिका एक कर्मचारीले भने । भाडाका लागि पटक पटक ताकेता गरेपनि करदाता कार्यालयले वास्ता नगरेको ती कर्मचारीले दुखेको पोखे । सो घरमा पहिले पुनर्विमा कम्पनीले पनि भाडामा बस्न खोजेको थियो तर समितिले दिएको थिएन । मन्त्रालयले नै निर्णय गरेपछि आफूहरुले केही बोल्ने बाटो नभएको ती कर्मचारीले भने । समितिले सो भवनलाई बीमा अनुसन्धान तथा तालिम केन्द्र बनाउने सोचेको थियो । ‘सो भवनमा बीमा अनुसन्धान तथा तालिम केन्द्र बनाउने भनेर अध्यक्षज्यूले धेरै पटक भन्नु भयो, सार्वजनिक रुपमा पनि बोल्नु भयो । तर कुरा मात्र भयो, काम केही पनि भएको छैन’ समितिको उच्च अधिकारीले भने । समितिको अध्यक्ष डा फत्तबहादुर केसीको असक्षमताको कारणले चवहिलस्थित पुरानो कार्यालय समितिका कर्मचारीहरु बताउँछन् । बीमा समितिको हालको कार्यालय रहेको कुपण्डोलको समितिको कार्यालय भने नेपाल बैंकसँग अध्यक्ष केसीको विशेष पहलमा किनिएको हो । कुपण्डोलको पुरानो भवन प्रयोग बनाउन बीमा समितिले झण्डै एक करोड रुपैयाँ खर्च गरिसकेको स्रोतले बतायो । हालकाे कार्यालय ‘यही नयाँ भवन बनाउने भनिएको छ । तर ठोस काम भएको छैन, पुरानो भवन मर्मत र सजावटमा मात्र झण्डै करोड रुपैयाँ खर्च भईसक्यो’ स्रोतले भन्यो । ‘हामी त अध्यक्षले अराएको काम गर्ने हो, उहाँले भनेको काम गरेन वा फरक विचार राख्यो भने त्यो कर्मचारीको विरुद्ध भ्रष्टाचारको आरोपमा अख्तियारमा बेनामी उजुरी परिहाल्छ, यहाँ त कोही बोल्नै सक्दैन’ उनले गुनासो सुनाउन थाले । समितिले बीमा कम्पनीहरु मार्फत बीमा ग्राहकसँग लिएको बीमा शुल्कको १ प्रतिशत रकम अनिवार्य असुल्दै आएको छ । ‘बीमितसँग उठाएको अबौं रुपैयाँ बीमा समितिसँग छ । मनलाग्दी खर्च भएको छ’ एक बीमकले भने–बीमा कम्पनीको पारदर्शिता खोज्ने नियामक निकाय आफू पारदर्शी हुनुपर्दैन ? बीमा समितिको वार्षिक आयव्यय पनि सार्वजनिक नभएको, समितिको आर्थिक पारदर्शीताको विषयमा कसैले प्रश्न पनि नगरेको, पत्रकारले समाचार पनि नलेखेको टिप्पणी उनले गरे ।
लुम्बिनीमा विश्वकै ठूलो थान्का प्रदर्शनी हुने
लुम्बिनी, ८ मङ्सिर । विश्व शान्तिको उद्गमस्थल लुम्बिनीमा विश्वकै सबैभन्दा ठूलो थान्का प्रदर्शनी हुने भएको छ । नेपाल र जापानबीच कुटनीतिक सम्बन्धको ६० वर्ष पूरा भएको अवसरमा रुपन्देहीस्थित नेपाल बौद्ध महासङ्घले लुम्बिनीमा मङ्सिर १० र ११ गते विश्वकै ठूलो भनिएको ५० मिटर चौडाइ र ७० मिटर लम्वाइको थान्का प्रदर्शनी गर्न लागेको हो । महासङ्घले मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा विश्वमा मैत्री, करुणा र शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले निर्माण गरिएको सबैभन्दा ठूलो थान्का तथा बुद्धको जन्मदेखि महापरिनिर्माणसम्मको सजिव चित्रण प्रदर्शनीमा रहने जनाइएको हो । साझा शान्तिको प्रतिक मानिएको सो थान्का जापानको योकाहा, हिरोसिमामा सन् २००२, २००५मा नागोया डोममा, २००३ मा भारतको नयाँदिल्लीमा, २००४ मा मङ्गोलियामा र सन् २०१२ अक्टुबर ५ र ६ मा राजधानी काठमाडौँमा प्रदर्शनीमा राखिएको प्रदर्शनी व्यवस्थापन समितिका संयोजक इन्द्रबहादुर गुरुङले जानकारी दिए । रासस
वैदेशिक आम्दानी अनुत्पादन क्षेत्रमा खर्च
पाल्पा, ८ मङ्सिर । विदेशमा पसिना बगाएर कमाएको धन यतिखेर अनुत्पादन क्षेत्रमा खर्चिने क्रम बढ्दै गएको छ । श्रीमान् विदेश गएपछि श्रीमती बालबच्चासहित सहरको डेरामा बस्न थालेपछि अनावश्यक रुपमा खर्च बढेको हो । कसेनीको सराइ बजारमा डेरामा बस्दै आएकी पार्वती थापा श्रीमान्ले पठाएको रकम बचत हुन नसकेको बताउछिन् । “गाउँको घर जग्गा छोडेर डेरामा बसेपछि दिनहुँ अनावश्यक क्षेत्रमा खर्च भइरहेको छ,” उनले भनिन्– “समय सापेक्ष कपडा लाउनै प¥यो, टेलिभिजन हेर्नैप¥यो, श्रीमान् विदेश गएपछि राम्रो मोबाइल पनि चाहियो नै ।” छोराछोरीलाई बोर्डिङमा पढाउँदा श्रीमान्ले ्पठाएको मासिक ३० हजार रुपैयाँ रकमले घरव्यवहार चलाउन मुस्किल हुने गरेको उनको भनाइ छ । श्रीमान् विदेशीएपछि दुई वर्षको बच्चा बोकेर सहलकोटदेखि रामपुर झरेकी खेमकुमारी चिदी पनि दश वर्षको अवधिमा घडेरीबाहेक अरु केही सामान जोड्न नसकेको बताउछिन् । विदेशबाट पठाएको रकम घरखर्च, लत्ताकपडा, घरभाडा, मोबाइल खर्चलगायत गरेर करिब २० हजार रुपैयाँ मासिक रुपमा खर्च हुने गरेको छ । एउटा तथ्याङ्कअनुसार जिल्लामा यतिखेर विदेशबाट दैनिक रुपमा ५० लाखभन्दा बढी रकम भित्रिने गरेको छ । तर उत्पादनमूलक कार्यमा भने न्यून रकम लगानी हुन्छ । वैदेशिक आम्दानी घर घडेरी, घरायसी खर्च, विलासिताका सामग्री खरिदमा मात्र सीमित बनेको छ । रासस