नेपालमा पहिलो पटक इन्टरेनट मार्फत फन्ड ट्रान्सफर, एनआईसी एसियाको अन्तर बैंक फण्ड ट्रान्सफर सञ्चालनमा
काठमाडौं, २२ मंसिर । एनआइसी एसियाले अन्तर बैंंक फन्ड ट्रान्सफर गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । बैंकले नेपाल क्लियरीङ हाउससँगको सहकार्यमा इन्टरनेट बैंकिङ सेवामार्फत सो सुविधा सञ्चालनमा ल्याएको हो । बैंकले इन्टरनेटमार्फत सोझै फण्ड ट्रान्सफर गर्न मिल्ने सेवा ल्याउने नेपालकै पहिलो बैंक भएको दावी गरेको छ । सो सेवा सञ्चालनमा आएपछि बैंकका ग्राहकहरुले सजिलैसँग ६० भन्दा बढी बैंक तथा बित्तीय संस्थाहरुमा रहेका खाताहरुमा फण्ड ट्रान्सफर गर्न सक्नेछन् । ग्राहकहरुलाई अधिकतम सेवा एबम् सुविधा उपलब्ध गराउने उदेश्यका साथ सो सेवा सञ्चालनमा ल्याइएको बैंकले दावी गरेको छ ।
नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच सम्झौता, अब चिनियाँ मार्गबाट पनि इन्टरनेटमा आवद्ध हुन सक्ने
काठमाडौं, २२ मंसिर । नेपाल टेलिकम र चाइना टेलिकम ग्लोवल बीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थलीय केबुल मार्ग बाट जोड्न नेपाललाई आईपी सर्भिस उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्य र चाइना टेलिकम ग्लोबल लिमिटेड (सीटीजी)का कार्यकारी उपाध्यक्ष ओउ यानले हङकङमा आयोजित एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् । केही समय अघि मात्र नेपाल टेलिकम र चाइना टेलिकम ग्लोवल अप्टिकल फाइबरमार्फत जोडिएका थिए । त्यसपछि हाल यो सम्झौता सम्पन्न भएको हो । चीनसँग स्थल मार्ग हुँदै जोडिएकाले अब सो क्षेत्रबाट पनि अन्य देशका सेवा प्रदायकसँग जोडिन सहज हुनेछ । भारत हुँदै प्रयोग गरिएको रुट बाहेक इन्टरनेशनल कनेक्टीभिटीको लागि यो अर्को महत्वपूर्ण विकल्प रहेको कम्पनीले जनाएको छ । अब चिनियाँ मार्गबाट पनि इन्टरनेट आवद्धता सम्भव भएको छ । यसअघि भारतीय मार्गबाट मात्र सो सम्भव थियो । नेपाल टेलिकम भैरहवा, वीरगन्ज र विराटनगर नाकाबाट भारतका विभिन्न दूरसञ्चार सेवाप्रदायकसँग जोडिएकोमा अब चिनियाँ बाटोबाट समेत इन्टरनेटमा आवद्ध हुन सहज भएको छ । उक्त सम्झौता गर्न आयोजित कार्यक्रममा नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्यले, नेपाल टेलिकमले यो थप रुटबाट लाभ लिन सक्ने विश्वास ब्यक्त गरेका छन् । उनले चाइना टेलिकमले भरपर्दो सेवा उपलब्ध गराउने र सो रुटमार्फत नेपाललाई ट्रान्जिट हबको रुपमा स्थापित गर्न सकिने अपेक्षा गरेका छन् । त्यस्तै सीटीजीका कार्यकारी उपाध्यक्ष ओउ यानले चाइना टेलिकमले हिमालय क्षेत्रमा आफ्नो रुट विस्तार कार्य गरिरहेको र यसबाट नेपाल–चीन रुटमा सेवा प्रदान गर्नुका साथै भारतबाट समेत ट्रान्जिट सेवा प्राप्त गर्न सहयोग पुग्ने बताएका छन् । उनले नेपाल टेलिकमलाई अत्याधुनिक सुविधासहितको रुट प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
आइएमईले सुरु गर्यो भारतबाट रेमिटेन्स ल्याउन, अक्सिजनसँग सहकार्य
काठमाडौं, २२ मंसिर । आइएमई लिमिटेडले भारतमा रेमिटेन्स सेवा आरम्भ गरेको छ । भारतीय रेमिटेन्स सेवा प्रदायक कम्पनी अक्सिजनसँगको सहकार्यमा आइएमईले भारतबाट रेमिटेन्स सेवा आरम्भ गरेको हो । अब भारतमा रहेका नेपाली कामदारले अक्सिजनका शाखा तथा सेन्टरहरुबाट नेपालमा रकम पठाउन सक्नेछन् । नेपालमा आइएमईले नेपालभर छरिएर रहेका आफ्ना शाखा तथा सेन्टरहरुबाट रकम भुक्तानी दिनेछ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आइएमई र अक्सिजनको नेतृत्वले भारतबाट नेपालमा रेमिटेन्स मार्फत रकम पठाउन सकिने सेवा आरम्भ गरेको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा अक्सिजनका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रमोद सक्सेना र कार्यकारी निर्देशक आशुतोष श्रीवास्तवको उपस्थिती थियो । आइमएईका तर्फबाट प्रबन्ध निर्देशक हेमराज ढकाल, प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र ग्लोबल आइएमई बैंकका सिनियर डेपुटी सिइओ जनक शर्मा पौडेलको सहभागीता रहेको थियो । कार्यक्रमा आइएमईका सिइओ सुमन पोखरेलले भारतमा रहेका नेपाली कामदारले अब आफ्नो आम्दानी सुरक्षित तवरले नेपाल पठाउन सक्ने बताए । यो सेवाले भारतबाट नेपाल भित्रिने रकमलाई बैधानिक बाटोबाट ल्याउन सहयोग पुग्ने पनि उनले बताएका थिए । | त्यस्तै, अक्सिजनका अध्यक्ष प्रमोद सक्सेनाले पनि भारतमा रहेका ५० लाख नेपाली कामदारलाई घर दैलामा पुगेर रेमिटेन्स पठाउने सेवा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । अक्सिजनलाई भारतमा रेमिटेन्सको कारोबार गर्ने ठुलो कम्पनी मानिन्छ ।
साना किसान बैंकको २५ प्रतिशत बोनस र कर प्रयोजनको लागि लाभांश पनि
काठमाडौं, २२ मंसिर । साना किसान बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस दिने भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि एक दशमलब ३१६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय मंगलबार बसेको बैंकको २७९औं बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निणर्यलाई राष्ट बैंक तथा बैंकको आगामी साधारण सभाले अनुमोदन गर्नुपर्ने छ । सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् ।
बुधबार सेयर कारोबारमा उच्च गिरावट
काठमाडौं, २२ मंसिर । बुधबार नेप्से परिसूचक सामान्य अंकले घटे पनि कारोबार रकममा भने उच्च गिरावट भएको छ । बजारमा जम्मा ५० करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबारको तुलनामा २७ करोड रुपैयाँले घटी हो । गत साउनमा दैनिक २ अर्ब बढी रुपैयाँको कारोबार भएको बजारमा बुधबार भने उच्च गिरावट आएको छ । सो दिन १३७ कम्पनीको ६ लाख ८१ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा नेप्से परिसूचक शून्य दशमलब ६१ अंकले घटेर १५५३ दशमलब ९० अंकमा झरेको छ । बजारमा सबैभन्दा बढी शिखर इन्स्योरेन्सको सेयर कारोबार भएको छ । ५ करोड ३२ लाख रुपैयाँको सेयर किनबेच भएको उक्त कम्पनीको प्रतिकित्ता सेयरको मूल्य ३ हजार ५७४ रुपैयाँ रहेको छ । त्यस्तै, एभरेष्ट बैंक र सिद्धार्थ बैंकको ३ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ ।
चन्द्रागिरी केबलकारको उद्घाटन मंसिर ३० गते
काठमाडौं, २२ मंसिर । चन्द्रागिरी केबलकारको उद्घाटन मंसिर ३० गते गरिने भएको छ । चन्द्रागिरी हिल्स लिमिटेड श्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दहालले चन्द्रागिरी केबलकारको उद्घाटन गर्नेछन् । हालसम्म चन्द्रागिरी केबलकारमा ४ अर्बको लगानी भैसकेको छ भने होटल लगायतका थप पुर्वाधार अझै निर्माण भैरहेका छन् । राजधानी नजिकैको नयाँ पर्यटकिय गन्तव्यका रुपमा विकास गर्न लागिएको चन्द्रागिरी समुन्द्र सतहबाट २५५० मिटरको उचाईमा रहेको छ । यसमा आइएमई ग्रुप र भाटभटेनी समुहको लगानी रहेको छ ।
सुनसरीमा भएको उद्योग आगलागीमा बीस करोड रुपैयाँ बराबरको नोक्सानी
इटहरी, २२ मंसिर । सुनसरी जिल्लाको दुहवीभलुवा नगरपालिका– ४ स्थित कालोडल्लप उत्पादन उद्योगमा मंगलबार साँझ आगलागी हुँदा बीस करोड रुपैयाँ बराबरको धनमाल नोक्सान भएको उद्योग सञ्चालक मनिष अग्रवालले बताएका छन् । खाना पकाउने एलपी ग्यास चुहावट भई उद्योगमा आगलागी भएको थियो । आगो फैलनासाथ उद्योगमा भएका ग्यास सिलिन्डर पड्किन थालेपछि उद्योगभित्र आगो फैलिएको थियो । आगो फैलिएपछि त्यहाँ कार्यरत मजदुरमा भागदौड मच्चिँदा तीन कामदार घाइते भएका थिए । उद्योगमा करिव दुई हजार मजदुर कार्यरत थिए । घाइते मजदुर अमृत श्रेष्ठ दिलीप चौधरी र राजु यादवलाई राति नै उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको स्थानीय इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव पोख्रेलले जानकारी दिएका छन् । आगलागीका कारण उद्योगकोे कच्चा पदार्थ उपकरणसमेत जलेर पूरै नोक्सानी भएको सञ्चालक अग्रवालले बताए । इटहरी, धरान, विराटनगर, दमक र राजविराजबाट आएका बारुणयन्त्रले राति २ बजे मात्र आगो नियन्त्रण मा लिन सफल भएको प्रहरीले जनाएको छ । रासस
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी विधेयक मस्यौदा अन्तिम चरणमा
काठमाडौं, २२ मंसिर । वैदेशिक लगानीकर्तालाई आकर्षित गर्न विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी विधेयक मस्यौदा तयारीको अन्तिम चरणमा पुगेको छ । स्वदेशी र विदेशी लगानीकर्तालाई समान व्यवहार गर्न औद्योगिक व्यवसाय प्रवद्र्धन ऐनका प्रावधानसँग अनुकुल हुने गरी वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण विधेयक एदोग मन्त्रालयले तयार पारेकोे हो । उद्धार अर्थ व्यवस्थाको सुरुवातसँगै नेपालले २०४९ सालमा उक्त ऐन आएपछि भारतमा रहेका कतिपय बहुराष्ट्रिय कम्पनीहरु नेपाल भित्रिएका थिए । त्यसपछि जारी गरिएका आयकर ऐन, अन्तःशुल्क लगायतका ऐनमा समावेश परस्पर विरोधी प्रावधानहरुले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन राम्ररी कार्यान्वयन हुन नसकेको थिएन । वैदेशिक लगानी स्वीकृतिका लागि एकै ठाउँबाट सम्पूर्ण सेवाहरु प्रदान गर्ने उद्देश्य सहित दर्ता प्रक्रियालाई सरलीकरण गर्र्ने, अनलाइनबाटै आवेदन तथा स्वीकृत गर्न सक्ने तथा वैदेशिक लगानीसँग जोडिएर आउने बौद्धिक सम्पत्ति संरक्षणलाई मस्यौदाले प्राथमिता दिएको उद्योग मन्त्रालयकी प्रवक्ता यमकुमारी खतिवडाले बताइन् । नयाँ ऐनले विदेशी लगानी र प्रविधि हस्तान्तरणको स्वरुपलाई स्पष्ट रुपमा परिभाषित गरेको छ । एकल विन्दु सेवा केन्द्रको व्यवस्था, विदेशी लगानी प्रवद्र्धनका लागि औद्योगिक व्यवसाय ऐन २०७३ मा व्यवस्था भएअनुसार उद्योग तथा लगानी प्रवद्र्धन बोर्डको व्यवस्था ऐनले गर्ने भएको छ । विदेशी पोर्टफोलियो लगानीका लागि बाटो खुला हुने, संस्थागत र व्यक्तिगत लगानीको फरक व्यवहार, गैर आवसीय लगानीकर्तालाई थप सहजताको व्यवस्था मस्यौदामा उल्लेख गरिएको छ । प्रस्तावित मस्यौदामा शाखा विस्तार गरी विदेशी लगानी गर्न पाउने व्यवस्था हुन लागेको छ भने पूँजी लगानी कोष खडा गरी लगानी गर्न खुला गर्न लागिएको खतिवडाले बताइन् । विदेशी पूँजी बजारमा धितोपत्र जारी गरी विदेशी मुद्रा उठाउन सकने व्यवस्था गरिने छ । छुट र सुविधा र सहुलियतको प्रत्याभूति गरिने भएको छ भने विदेशी लगानी कर्तालाई परिचयपत्र र सोबाट प्राप्त हुने सुविधाको व्यवस्था, आ्रैद्योगिक रुपमा महत्वपूर्ण व्यक्तिको सुविधाको व्यवस्था, जग्गा प्राप्तिमा सहजीकरण, नकारात्मक सूचीमा न्यून क्षेत्र समावेशलगायतका व्यवस्था नयाँ ऐनले गर्न लागेको छ । विद्यमान ऐनमा विदेशी लगानीको सिमा, विदेशी लगानीको प्रवेश तथा वर्हिगमन, जग्गा प्राति, छुट सुविधा र सहुलियत तथा लगानी सुरक्षणको प्रत्याभुति हुन नसकेकाले विदेशी लगानी भित्रिन नसकेको गुनासा आएपछि सरकारले ऐन परिमार्जन शुरु गरेको हो । संशोधित कानुनको मस्यौदामा विदेशी लगानीको प्रवेश र वहिर्गमनको स्पष्ट व्यवस्था गरिएको छ । त्यसैगरी धितोपत्रमा लगानी गर्न, उद्योग खरिद गरी विदेशी लगानी गर्न, प्रविधि हस्तान्तरण तथा शाखा विस्तार, पूँजी लगानी कोष खडा गरी लगानी गर्न सकिने उल्लेख छ । तर त्यसका लागि बैकिङ्ग प्रणालीमार्फत रकम ल्याउनुपर्ने छ । विदेशी लगानीको नियमन र अनुगमन भने औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित कानून बमोजिम गठन भएको उद्योग तथा लगानी प्रवद्र्धन बोर्डले गर्ने छ । सो बोर्डले पूँजी हद वृद्धिका लागि स्वीकृति दिने नदिने निर्णय आफै गर्नेछ । विदेशी लगानीकर्ताको प्रवेशाज्ञालाई गैर पर्यटक, व्यवसायिक र आवासीय गरी ३ भागमा वर्गिकरण गरिएको छ । जग्गा प्राप्ती र भोगचलनको सम्बन्धी प्रावधानमा पनि मस्यौदा विद्येयक खुकुलो छ । विदेशी लगानीको नियमन, अनुसन्धान र जरिवाला लगायतको व्यवस्था पनि मस्यौदामा छ । अब छिट्टै मस्यौदालाई कानुन मन्त्रालय पठाइने मन्त्रालयले बताएको छ ।