विकासन्युज

ताम्राकार कम्प्लेक्सले ल्यायो दसैं तिहार अफर, मोबाइल किन्दा ६० प्रतिशतसम्म छुट

काठमाडौं । ताम्राकार मोबाइल कम्प्लेक्सले ‘दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार’ योजना ल्याएको छ । यो योजना अन्तर्गत सेवाग्राहीले मोबाइल किन्दा ५ देखि ६० प्रतिशतसम्म छुट पाउनेछन् । भदौं २२ गतेदेखि चल्ने यो योजनामा उपहार पनि पाइने कम्पनिले जानकारी दिएको छ । यो मोबाइल मेलाको मुख्य प्रायोजनमा मोटोरोला र लेनेभो मोबाइलले साथ दिनेछन् । यो महोत्सवमा सबै मोबाइल कम्पनीको साथपाएको जानकारी दिँदै ताम्राकार मोबाइल ब्यापार संघका अध्यक्ष जगत साउदले ताम्राकार मोबाइल बजारले मोबाइलको मोडल हेरेर को व्यवस्था गरेको बताए । सामसुङ एस फोर र एस फाइभमा ६० प्रतिशत, डिटिसी टचमा ६० प्रतिशत, हुवावे अनर होलीमा ४० प्रतिशत छुट दिइएको छ । यसैगरी लेनेभोका मोबाइलको खरिदमा मोडल हेरी ३० देखि ५० प्रति प्रतिशत सम्म छुटको ब्यवस्था गरिएको छ । ताम्राकार मोबाइल बजारमा ९ सयदेखि १ लाख ३० हजार रुपैयाँसम्मका विभिन्न ब्राण्डका मोबाइल सेट उपलब्ध छन् । नेपालीहरुको महान चाड बडादशैं तथातिहारको अवसर पारी विभिन्न ब्राण्डका मोबाइलफोनको खरिदमामोटरसाइकल, टिभी, स्मार्ट फोन बितरण गरिने कम्पनीले जनाकारी दिएको छ । यसैगरी दैनिक दुईवटा मोबाइल, १० वटा ब्लुटुथ तथा पावर बैंक लक्की ड्र मार्फत वितरण गरिने व्यवस्था गरिएको छ भने साप्ताहिक रुपमा एउटा सामसुङको ३२ इन्चको टिभी लक्की ड्र मार्फतनै बितरण गरिने कम्पनीले जानकारी दिएको छ ।

टेलिकमले लम्ब्यायो तिज अफरलाई, डिस्काउन्ट अब असोज ४ गतेसम्म

काठमाडौं । नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिन तथा तीज पर्वको अवसरमा उपलब्ध गराएका विभिन्न प्रकारका अफरलाई लम्ब्याएको छ । अफर अन्तर्गत जीएसएम प्रिपेड÷पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज रहेका छन् । गत भदौ ५ देखि १९ गते सम्म उपलब्ध गराइएका अफरहरु उपभोक्ताले अत्यधिक रुपमा रुचाएकोको भन्दै टेलिकमले भदौ २० गते देखि आगामी असोज ४ गतेसम्म लम्ब्याएको हो । युट्युब डाटा प्याकेज अन्तर्गत एक सय रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ६० रुपैयाँमा ५ सय एमबी डाटा १४ दिन अवधिका लागि उपलब्ध हुनेछ । डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज अन्तर्गत प्याक १५० र प्याक २५० उपलब्ध हुनेछ । प्याक १५० अन्तर्गत १५० रुपैयाँमा ६०० एमबी र प्याक २५० अन्तर्गत २५० रुपैयाँमा १ जिबी डाटा भोल्युम उपलब्ध हुनेछ । यी प्याक अन्तर्गतको स्किमबाट कम्पनीकै नेटवर्कमा कल वा एसएमएस गर्दा २० प्रतिशत छुट समेत उपलब्ध हुनेछ । यी दुई प्याक क्रमशः खरिद गरेको १४ दिन र २८ दिनको समयावधीसम्म प्रयोग गर्न सकिन्छ । डाटा भोल्युम सकिए पनि कल वा एसएमएस गर्दा भने १४ दिन र २८ दिनको समयावधीसम्म नै २० प्रतिशत छुट प्राप्त हुनेछ ।

अध्ययन समितिको निष्कर्षः काठमाडौंका दुई रुटमा स्वचालित रेल

काठमाडौं । काठमाडौं उपत्यकाको दुई रुटमा स्वचालित(आफैँ गुड्ने) रेल बनाउन सकिने अध्ययन रिपोर्ट तयार भएको छ । लगानी बोर्डले गठन गरेको अध्ययन समितिले काठमाडौं उपत्यकाका २ वटा रुटमा अटोमेटिड गाइडवे ट्रान्जिट(स्वचालित रेल) निर्माण गर्न सकिने निष्कर्ष निकालेको हो । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा गत पुस २४ गते बसेको लगानी बोर्डको बैठकले राष्ट्रिय योजना आयोगका पुर्वाधार हेर्ने सदस्य हिरेन्द्रमान प्रधानको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो । तीन महिनाको समय पाएको सो समितिले ६ महिना लगाएर अध्ययन गरेको प्रतिवेदनले उपत्यकाका २ वटा रुटमा स्वचालित रेल बनाउन सकिने निष्कर्ष निकालेको हो । ‘उपत्यकाका २ वटा रुटमा स्वचालित रेल(अटोमेटिड गाइडवे ट्रान्जिट) बनाउन सकिन्छ भन्ने निष्कर्ष निकालेका छौं’, अध्ययन समितिका संयोजक प्रधानले विकासन्युजसँग भने । उनको अध्ययन समितिले ती दुई रुटमा स्वचालित रेल निर्माणका लागि तत्काल डिपिआर निर्माण र वित्तिय व्यवस्थापनका लागि नितीगत निर्णयसँगै विकास साँझेदार, योजना आयोग, अर्थ मन्त्रालय र अन्य सम्बद्ध निकायहरुसँग सल्लाह गर्न पनि सरकारलाई सुझाव दिएको छ । एक नम्बरका रुटका रुपमा थानकोट, कलंकी, त्रिपुरेश्वर, बानेश्वर, तिनकुने, कोटेश्वर हुँदै भक्तपुरको जगातिसम्म त्यस्तो रेल बनाउन सकिने जनाएको छ । दोश्रो रुटका रुपमा बुढानिलकण्ठदेखि रत्नपार्क हुँदै लगनखेलबाट गोदाबरीसम्म निर्माण गर्न सकिने जनाएको हो । समितिलाई सुरुमा तीन महिनाको समय दिइएको थियो भने पछि फेरी अर्काे तीन महिना समय थपिएको थियो । यतिबेला भने समितिको समय सकिएको छ र समितिले केहि दिन समय थप गरिदिन आग्रह पनि गरेको छ ।‘हामीले ६ महिना लगाएर अध्ययन गरेका हौं, अब निर्वाचित जनप्रतिनिधीसँग एक चरण छलफल गर्न मात्रै बाँकी छ, अध्ययन सबै सम्पन्न गरिसकेका छौं, केहि दिन समय थपिदिन लगानी बोर्डमा आग्रह गरेका छौं’, प्रधानले भने । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले पनि काठमाडौंमा मेट्रो/मोनो वा अन्य प्रकारको रेल निर्माण सम्बन्धी अध्ययन अन्तिम चरणमा पुगेको बताए ।‘बोर्डले गठन गरेको समितिले अध्ययन सम्पन्न गरिसकेको छ, औपचारिकताका लागि समय थपिदिएर प्रतिवेदन ग्रहण गर्दैछौं’, अधिकारीले भने । काठमाडौं उपत्यकामा मेट्रो रेल निर्माणका लागि लगानी सम्मेलनमै चिनियाँ लगानी कर्ताहरुले प्रतिवद्धता व्यक्त गरेकाले पनि चाँडै अध्ययन प्रतिवेदन सार्वजनिक गरेर डिपिआर निर्माण थाल्ने अधिकारीले बताए ।

अनिल ज्ञवालीले ग्लोबल आईएमई बैंक छाडे

काठमाडौं । ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले बैंक छाडेका छन् । २०७२ जेठमा दोस्रो पटक ग्लोबल आईएमईमा गएका ज्ञावली ४ वर्षे कार्यकाल पुरा नहुदै  बैंक छाडेका छन् । उनको कार्यकाल अझै २ वर्ष बाँकी थियो । नबिल बैंक छाडेर उनी ग्लोबल आईएमई  गएका थिए । ग्लोबल आइएमईको चुक्तापुँजी ८ अर्ब रुपैयाँ नाघिसकेको छ । गत आर्थिक वर्षमा बैंकले २ अर्ब रुपैयाँ बढी नाफा कमाएको थियो । तत्कालिन नेपाल अरब बैंक हालको नबिलबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका हुन् ।  

यातायात व्यवसायी अझै बार्गेनिङमा, उपत्यका बाहिर टिकट बुकिङ खुल्यो

काठमाडौं । यातायात व्यवसायीले मोलमोलाइ (बार्गेनिङ) मा लागेर दशैका लागि टिकट नखुलाएपछि सरकारले हस्तक्षेप गरेको छ । यातायात व्यवस्थापन विभागका महानिर्देशक र ट्राफिक प्रहरीको प्रतिनिधीसहितको अनुगमन टोलीले मंगलबार गरेको अनुगमनमा महेन्द्रनगर, बाग्लुङ, पोखरा र सल्यानका लागि टिकट बुकिङ खुलाएको छ । व्यवसायीले आइतबारदेखि नै बाग्लुङ, महेन्द्रनगर, पोखरा र सल्यानको लागि अग्रिम टिकट बुकिङ खुलाएको बताए । चौधरीले पूर्वका लागि टिकट बुझ्दा केहि दिन मै खुलाउने व्यवसायीले बताए । ’महासंघले त अहिले नखुलाउने भनेको छ, तपाईंहरुले त खुलाउनु भएको रहेछ ? उनले सोधेका थिए । विकासु न्यूज सँग कुरा गर्दै उनले भने, ’उनिहरुले महासंघले भन्दैमा आफ्नो लगानी खेर नफाल्ने बताए ।’ दसैंको मुखमा भाडा बढाउन यातायात व्यवसायीले अनेक प्रपञ्च गरिरहेको चौधरीले बताए । उनले भने, ’भाडा बढाउने र व्यवसायीसँग बार्गे्निङ गर्ने काम गर्दिन । बरु अनुमनलाई चुस्त राख्न प्रयत्न गर्नेछु ।’ भाडादर नबढाए टिकट बुकिङ खुल्दैन  महासंघ यातायात व्यवसायी राष्ट्रिय महासंघले भने भाडा नबढाए र छतमा झिटीगुन्टा सम्म टिकट बुकिङ नखोल्ने अडान कायम राखेका छन् । महासंघका महासचिव सरोज सिटौलाले टिकट बुकिङ खुलाएको बारे जानकारी नभएको बताएका छन् । उनले भने, ’हामीले भाडादर समायोजन, छतमा झिटीगुन्टा राख्ने लगायतका माग राख्दै टिकट बुकिङ नखुलाउने अडान राखेका छौं । अब जसले बुकिङ खुलाएको हो, ती आफै जिम्मेवार हुनुपर्छ ।’टिकट बुकिङ खुलाउने वा नखुलाउने विषयमा बुधबार बैठक बस्ने उनले जानकारी दिए । ३० वटा सवारीसाधन कारबाही मंगलबार विभागका महानिर्देशकको नेतृत्वमा यातायात व्यवस्थापन कार्यालयका प्रमुख बसन्त अधिकारी र ट्राफिक प्रहरी सहितको टोलीले रिङरोड अनुगमन गरेका थिए । अनुगमनका क्रममा ३० वटा सवारीसाधन कारबाहीमा परेको चौधरीले जानकारी दिए । ३० वटा सवारी मध्ये कर चुक्ता नगरेको, बढी भाडा लिएको, रुट ईजाजत लिएको, सवारीसाधन सम्बन्धी कागजपत्र नभएको पाइएको र ती सबै सवारीसाधनलाई कारबाही चलाइएको उनले जानकारी दिए ।  

पुसभित्र मेलम्ची खानेपानी राजधानी आउने

काठमाडौ ।  खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले आगामी पुसभित्र मेलम्ची खानेपानी राजधानीभित्र आइसक्ने बताएका छन् । उनले मेलम्चीको सुरुङ खन्ने काम २७.५ किलोमिटर मध्ये १.८ किलोमिटर खन्न बाँकी रहेकाले ढिलोमा पुससम्म मेलम्चीको पानी राजधानी आउने उनले जानकारी दिए । यता मेलम्ची खानेपानी विकास समितिले आउदो चैतसम्म मात्र मेलम्चीको पानी राजधानीमा आउने बताइरहेका बेला मन्त्री यादवले पुसभित्रै आउने बताएका हुन् । पुससम्म आयोजनाको सुरुङको काम सकेर बाँकी फिनिसिङ र परीक्षणको काम बाँकी भएकाले ढिलोमा चैतसम्म आउने समितिले बताएको ।  

देवचुली नगरपालिकामा सोलार बत्ती जडान, २ करोड ५० लाखको लगानी

नवलपरासी । देवचुली नगरपालिकाका अधिकांश वडामा सोलार बत्ती जडान गरिएको छ । नगरको बजार क्षेत्रसँगै ग्रामीण भेगमा समेत सोलार बत्ती जडान गरिएको छ । देवचुली नगरपालिकाको प्रगतिनगर, दलदले, दुम्कौलीका सबै स्थान तथा देवचुलीका अधिकांश ग्रामीण बस्तीमा सोलार बत्ती जडान गरिएको छ । नगरको मुन्डे, गैडी, रामवास, सीतावास, विशालटार, मुसहर टोललगायतका ग्रामीण बस्तीमा सोलार बत्ती जडान गरिएको छ । यी ग्रामीण बस्तीमा बाटो पक्की बन्न सकेको छैन । बत्ती जडान भएपछि रातको समयमा गाउँ नै झिलीमिली भएको देवचुली–१२ गैडीका मुक्तीराम पराजुलीले बताए । देवचुली–११ धारापानी सातघरेचोककी कुमारी बराल सोलार बत्ती राखेपछि रातको समयमा हिँडडुल गर्न सहज भएको बताइन् । देवचुली नगरपालिकामा १७ वटा वडा छन् । उज्यालो नगर बनाउने योजनाअनुरुप नगरका सबै वडामा सोलार बत्ती जडान गरिएको देवचुली नगरपालिकाका वातावरण अधिकृत धु्रव आचार्यले बताए । गएको तीनवटा आर्थिक वर्षमा नगरपालिकाभित्र २६१ वटा ठाउँमा सोलार बत्ती जडान गरिएको उनले जानकारी दिए । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र देवचुली नगरपालिका र उपभोक्ता समेतको २ करोड ५० लाख लगानीमा सोलार बत्ती जडान गरिएको हो । रासस

हंशराज हुलासचन्द एण्ड कम्पनीको नयाँ शोरुम कैलालीको टिकापुरमा

काठमाडौं । हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले नयाँ शोरुम कैलालीको टिकापुरमा संचालनमा ल्याएको छ । उक्त बजाज, पल्सर मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हो । हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेड आफ्ना ग्राहकहरुका लागि उनीहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य भूक्तान गर्नका लागि सँधै प्रतिबद्ध रहेको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने अपेक्षा राखेको छ । साथै, यसैको माध्यमबाट कम्पनीले आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्ने जानकारी दिएको छ । उक्त कम्पनीका जेनेरल म्यानेजर योगेन गुरुङले भने, ‘हामी कैलालीको टिकापुरमा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा निकै खुशी छौं । ग्राहकहरुको बढ्दो मागका कारण हामीले टिकापुरमा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको हो ।’ शोरुमले ग्राहकहरुका लागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको जानकारी दिएको छ ।