विकासन्युज

नेपाल कम्यूनिटीको असोज १८ गते बुक क्लोज, १२० प्रतिशत हकप्रद सेयर जारी गर्दै

काठमाडौं । नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको असोज १८ गते बुक क्लोज हुने भएको छ । बैंकले हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि सो दिन कम्पनीको सेयर दाखिला बन्द गर्न लागेको हो । कम्पनीले १२० प्रतिशत(१ः१.२ को अनुपातमा) हकप्रद सेयर निष्काशन गर्न लागेको छ । हाल बैंकको चुक्ता पुँजी २२ करोड २ लाख रुपैयाँ रहेको छ । सोमबार कम्पनीको प्रतिकित्ता सेयर २९७ रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ ।

मिदिमको ३ मेगावाट बिजुली केन्द्रीय प्रणालीमा जोडियो, युनियन हाइड्रोले आईपीओ निष्कासन गर्दे

काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडले निर्माण गरेको ३ मेगावाटको मिदिम करापु जलविद्युत आयोजनाको परीक्षण सफल भएको छ । सिभिललगायत अन्य संरचनाको निर्माण सम्पन्नपछि परीक्षण उत्पादन सफल भएको कम्पनीका अध्यक्ष किरण मल्लले जानकारी दिए । नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारणलाइनमा जोडिएको छ । आयोजनाको सिभिल निमार्ण हाइ हिमालयन हाइड्रोले गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानियबासिन्दालाई पहिलो चरणमा साधारणसेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावितका लागि आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । युनियनले पहिलो चरणमा ६ करोड ३३ लाख ७४ हजार रुपैयाँ बराबरको ६ लाख ३३ हजार ७४० कित्ता आईपीओ निष्कासन गर्ने छ । यसपछि सर्वसारणलाई आईपीओ निष्कासन गर्ने कम्पनीले जनाएको छ ।  

कोकाकोला र आईसेकको सहकार्य घोषणा

काठमाडौं । कोकाकोला नेपालले आइसेकसंगको सहकार्यलाई सेप्टेम्बर ११ तारिखमा औपचारिक रुपमा घोषणा गरेको छ । सहकार्य गरिरहेका संस्थाहरुका साथमा, आइसेकले बहुसंस्कृति आदान प्रदान गर्न स्वयंसेवाको अनुभव तथा व्यवसायीक कार्यहरुको रुपमा संजाललाई सहयोग गर्दछ । यो सहकार्यले कम्पनीहरु तथा युवाहरुलाई दिगो विकासको लागि स्पष्ट मार्गचित्र बनाउन एकआपसमा जोड्ने अपेक्षा कम्पनीको रहेको छ । कोकाकोलाले आइसेकलाई विभिन्न क्षेत्रिय, राष्ट्रिय र अन्तर्राष्ट्रिय समिटहरु निरन्तर आयोजना गर्न उत्साहित गर्ने कम्पनीले जानकारी दिएको छ । कोकाकोलाले आइसेकका सदस्यहरुलाई कम्पनीको दिगो परियोजनाहरु भ्रमण गर्न र संचालमा रहेका परियोजनाहरुमा आबद्ध हुनका लागि स्वयंसेवकहरुलाई उत्साहित बनाउने कम्पनीको बुझाई छ । साथै, यो सहकार्यका साथमा, आइसेकले युथ स्पिक फोरमको आयोजना गर्नेछ, जहाँ कोकाकोलाले भावी पुस्ताका संभावित नेतृत्वलाई प्रेरणा दिने कम्पनीले जानकारी दिएको छ । कार्यक्रममा कोकाकोला नेपालका देशिय निर्देशक अम्बुज सिंहले भने, ‘यो सहकार्यका साथमा, हामी यो आशा गर्दछौं कि नेतृत्व दिने युवाहरुलाई विभिन्न श्रृंखलाको युथ स्पिक फोरमको आयोजनाका साथमा अझ ससक्त रुपमा जोड्ने छौँ । युथ स्पिक फोरम युवाहरुका लागि प्रतिष्ठित व्यक्ति एवं संस्थाहरुसंग आवद्द गराउन उनीहरुको आवाज ऊक्त संस्था वा व्यक्ति सम्म पुर्याउने माध्यम बनेको छ ।’ आइसेक नेपालका अध्यक्ष नारायनन्ले भने, ‘आइसेक यस्तो माध्यम हो जहाँ नेपालका युवाहरुले उनीहरुको आफ्नो नेतृत्व क्षमतालाई अनुभव सहितको सिकाईबाट हासिल गर्न मद्दत गर्दछ, यसले शैक्षिक डिग्री भन्दा बाहिरबाट उनीहरुलाई विकास गराउँदै बजारमा रोजगार हासिल गराउन सहयोग गर्दछ । हामी नेपालका युवाहरुलाई उत्साहित गराउँदै उनीहरुले विदेशमा हासिल गरेको अनुभवबाट नेपाली समाजमा योगदान गर्न सकुन्, यहाँ नि र विदेशमा नि ।’  

बजेट आयो, कर्मचारी आएनन्: कार्य सम्पादनमा समस्या

म्याग्दी ः म्याग्दीका छवटै स्थानीय तहका जनप्रतिनिधिले कर्मचारीको अभावमा आफ्नो क्षेत्रको कार्य सम्पादनमा समस्या भएको गुनासो गरेका छन् । स्थानीय तहको निर्वाचन भएको करिब चार महिना बितिसक्दासमेत कर्मचारी तोकिएको स्थानका कार्यालयमा नगएपछि सेवाग्राहीलाई सेवा प्रदान गर्न र विकास निर्माणका कार्यलाई अगाडि बढाउनसमेत समस्या भएको जनप्रतिनिधिको गुनासो रहेको छ । कर्मचारीको अभाव र जनप्रतिनिधिको अधिकार प्रत्यायोजनका विषयमा अन्योल हुँदा जिल्लाका स्थानीय तहका जनप्रतिनिधिले करिब चार महिनाको यो समयावधिलाई सम्मान ग्रहण, औपचारिक कार्यक्रम र बजेट विनियोजन लगायतका सीमित काममा नै खर्च गरेका छन् । चार महिनाको अवधिमा स्थानीय तहमा खासै उपलब्धिमूलक काम हुन नसकेको जनताको भनाइ रहेको छ । कर्मचारीको अभावमा जति काम हुनुपर्थयो त्यति हुन नसकेको स्वयं जनप्रतिनिधिले पनि स्वीकार गरेका छन् । रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले विषयगत कर्मचारीबाहेक गाउँपालिकामा नौ जना कर्मचारी हुनुपर्नेमा प्राविधिक सहायकसहित जम्मा छ जना कर्मचारी मात्र भएकाले काम गर्न समस्या भएको बताए । कार्यालय व्यवस्थापन हुन नसक्दा विषयगत कर्मचारी गाउँपालिकामा आउन नसकेको उनको भनाइ छ । अहिले पशुसेवा कार्यालयका दुई जना कर्मचारीले मात्र गाउँपालिकाबाट सेवा दिइरहेका अध्यक्ष भण्डारीले बताए। मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले चार महिनाको अवधिमा जनतालाई प्रत्यक्ष फाइदा पुग्नेगरी कुनै पनि काम गर्न नसकिएको स्वीकार गर्नुभयो । अध्यक्ष रोकाले भने, “कर्मचारीको अभाव र भएका कर्मचारीको पनि परम्परागत मानसिकताका कारण सेवा प्रवाहमा समस्या भएको छ ।” गाउँपालिकामा नौ जना कर्मचारी हुनुपर्नेमा कार्यालय सहयोगीसहित छ जना मात्र रहेका र दुई वटा वडामा एउटै सचिवले सेवा दिनुपर्ने समस्या रहेको उनले बताए । विषयगत कार्यालयका कर्मचारीमा कृषि, पशुसेवा र स्वास्थ्यका कर्मचारीबाहेक अरु कार्यालयका कर्मचारी गाउँपालिकामा नआएका उनले बताए । कर्मचारीको अभावमा योजना कार्यान्वयनका लागि समस्या भएको अध्यक्ष रोकाको भनाइ थियो । उता धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले कर्मचारीको अभावका कारण गाउँपालिकामा आएको बजेट पनि फ्रिज भएर जाने संकेत देखिएको दुखेसो व्यक्त गरे । अध्यक्ष पुनले भने, “गाउँपालिकाको कार्यालयमा तीन जना कर्मचारी र पाँच जना वडा सचिवबाहेक अरु कर्मचारी नहुँदा हामीलाई टाउको दुखाइ भएको छ, योजना कार्यान्वयनका काम अलपत्र परेका छन्, जनतालाई भनेजस्तो सेवा दिन नसक्दा निरासा बढ्दै गएको छ ।” कम्प्युटर अपरेटरको अभावमा नियमित कार्यालयको कामसमेत हातले लेखेर गर्नुपरेको र गाउँमा आएका विषयगत कर्मचारीलाई कार्यालय व्यवस्थापन गर्न नसक्दा समस्या उत्पन्न भएको उनको भनाइ थियो । जनप्रतिनिधिलाई पनि ठूलै चुनौती देखिएको छ भने जनताले पनि जनप्रतिनिधिबाट आशा गरेअनुरुपको सेवा पाउन सकिरहेका छैनन् । “जनताको ठूलो अपेक्षा छ, चुनावमा घरमै पुगेर दिएका आश्वासन पूरा गर्नुपर्नेछ”– मंगला गाउँपालिकाका प्रमुख रोकाले भने । रोकाले जनप्रतिनिधि दैनिकजसो जनताको काममा ब्यस्त भए पनि कर्मचारीको अभाव र भएका कर्मचारीको पनि कार्यशैलीका कारण जनताबाट गुनासो सुन्नुपरेको बताए । जनप्रतिनिधिबाट हुनसक्ने र प्राप्त अधिकारलाई सदुपयोग गर्ने काम मात्र चार महिनाको अवधिमा भएका मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । कर्मचारीको अभावका कारण विकास निर्माणसहितका ठूला योजनालाई अगाडि बढाउन नसकिएको उनको भनाइ थियो । “जनताको घरदैलोमा पुगेका छौँ, हामीबाट हुनसक्ने काम गरेका छौँ, कर्मचारीले गर्ने प्राविधिक र कानूनी काम हामीबाट नहुनेहुँदा कर्मचारी चाहिने हुन्”– अध्यक्ष रोकाले भने, “ चार महिनासम्म कर्मचारी सम्बन्धित क्षेत्रमा नआउँदा समस्या उत्पन्न भएको छ ।” यसैबीच पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीबीच समसामयिक विषयमा आयोजित छलफल कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र केसीले तत्कालीन जिविसमा कार्यरत स्थायी प्राविधिकलाई क्रमशः अन्नपूर्ण र रघुगंगा, मंगला र मालिका तथा करारमा रहेकालाई धौलागिरि गाउँपालिका हेर्नेगरी खटाइएको बताए । गाउँपालिका स्थानीय सरकार, गाउँसभा व्यवस्थापिका र उपाध्यक्षको संयोजकत्वको न्यायिक समिति न्यायपालिका भएको हुँदा स्तरीय गाउँपालिका बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जिल्लाका केही स्थानीय तहमा कर्मचारी पठाइए पनि कर्मचारी अभाव रहेका स्थानीय तहमा तुरुन्तै कर्मचारी व्यवस्थापन गरिने प्रतिबद्धता व्यक्त गरे । “कर्मचारी व्यवस्थापन चुनौतीपूर्ण भए पनि यसलाई समाधान गरिन्छ, अब सेवासुविधा गाउँबाटै प्राप्त हुन्छ”– प्रजिअ अधिकारीले भने । रासस  

राजधानीमा ठूला बस सञ्चालका लागि सरकार र दीगो यातायातबीच सम्झौता, साना सवारी विस्थापन हुने

काठमाडौं ।  राजधानीमा ठुला बस सञ्चालनका लागि सरकार र निजी कम्पनीबीच सम्झौता भएको छ । यातायात विभाग र बस सञ्चालक दीगो सार्वजनिक यातायात सेवाबीच आइतबार राजधानीका २ वटा रुटमा ५० सिट क्षमताका ठूला बस सञ्चालनका लागि सम्झौता भएको हो । सम्झौतापछि राजधानीमा ठूला बस सञ्चालनमा आई यात्रुलाई अझ सहज हुने अनुमान गरिएको छ । सरकारले साना गाडीलाई राजधानीमा विस्थापन गर्ने नीतिअनुसार ठुला गाडी सञ्चालनमा ल्याउन लागेको हो । काठमाडौं दिगो शहरी यातायात योजनाले एशियाली विकास बैंकसँगको सहकार्यमा राजधानीका २ वटा रुटमा ५० यात्रु क्षमताका ठूला बस मात्रै सञ्चालन गर्ने नयाँ रुट छनौट गरेर सञ्चालन गर्ने छ । १० करोडको लागतमा १७ देखि २५ वटासम्म अपांग मैत्री बस सञ्चालन हुने छ । त्यसका लागि दिगो सार्वजनिक यातायात प्राली कम्पनीको ५ प्रतिशत, एसियाली विकास बैंकले १५ प्रतिशत अनुदान दिनेछ । त्यसमा शहरी विकास कोषले ८० प्रतिशत ऋण दिनेछ । दिगो सार्वजनिक यातायात प्रालीले भने आफ्नो भागमा परेको ५० लाख रुपैंयाँ जम्मा गरिसकेको कम्पनीका सचिव लालप्रसाद गुरागाइँले बताए । ३५ वटा टेम्पो र २६ वटा माइक्रोहरुका तर्फबाट ५० लाख रुपैंयाँ जम्मा गरिसकेको दिगोका सचिव गुरागाईँले जानकारी दिए । कोषले ५ प्रतिशतको ब्याजदरमा ८ बर्षका लागि सहुलियत ऋण दिन लागेको हो । ऋण सम्झौता भएको ४ महिना भित्रै बस सञ्चालनमा ल्याइसक्ने योजनासहित काम अघि बढेको पनि उनले जानकारी दिए । बस गुड्ने रुट यसरी ५० यात्रु क्षमताका बस मात्रै गुड्ने रुट सिनामंगल–पुरानो बानेश्वर–मैतीदेवि–डिल्लीबजार–रत्नपार्क–लैनचौर–सामाखुसी–गंगम्बु हुँदै नयाँ बषर्पाकसम्म त्यस्तो रुट सञ्चालन हुनेछ । यो रुट १०.२ किलोमिटरको हुनेछ । पुनः सोही बस नयाँ बसपार्कबाट गंगम्बु–गल्कोपाखा–लैनचौर–जमल–तिनधारा–कमलपोखरी–ज्ञानेश्वर–मैतीदेवि–पुरानो बानेश्वर हुँदै सिनामंगल पुग्नेछ । यसको लम्बाई भने ८.९ किलोमिटरको हुनेछ । यो रुटको रत्नपार्क–लैनचौर–बसपार्क खण्डमा हाल २६ वटा माइक्रो सञ्चालनमा रहेका छन भने सिनामंगल–पुरानो बानेश्वर–रत्नपार्क खण्डमा ३५ वटा टेम्पो सञ्चालनमा छन् । यी टेम्पो र माइक्रो स्थानान्तरण गरेर उपत्यका भित्रै अर्काे रुटमा पठाईनेछ । एडिबीको सहयोगमा काठमाडौं दिगो शहरी यातायात योजनाले एस ५ नामको रुटलाई ठूला बस मात्रै गुड्ने नयाँ रुटका रुपमा पाइलट प्रोजेक्ट सञ्चालन गर्न लागेको योजना प्रमुख खड्गलाल श्रेष्ठले बताए । ६४ रुटको पहिचान योजनाले उपत्यकामा ए, बी र सी ग्रेड गरि ६४ वटा रुट पहिचान गरेको छ । १० मिटर भन्दा चौडा सडक भएको र दैनिक एक लाख यात्रु आवत जावत गर्ने सडकलाई ए ग्रेडमा राखिएको छ । त्यस्तै, ६ मिटरदेखि १० मिटरसम्म चौडाई भएको र ५० हजार देखि एक लाखसम्म यात्रु आवात जावत गर्ने सकडालाई बी ग्रेडमा राखिएको छ । ६ मिटर भन्दा कम चौडाई भएका साना गल्लीहरुलाई भने सी ग्रेडको सडकमा वर्गिकरण गरिएको छ । दशैं अघि पाइलट प्रोजेक्टका रुपमा सञ्चालन गर्न लागिएको सडक भने बी ग्रेडको हो । ए ग्रेडमा ठुला बस, बी ग्रेडमा मझौला बस र सी ग्रेडका सडकमा साना सवारी साधन सञ्चालन गर्ने तयारीका साथ योजनाले ६४ वटा सडकको तथ्यांक निकालेको हो । त्यसमा ६ वटा ए ग्रेडका रुट, १६ वटा बी ग्रेड र ४२ वटा सी ग्रेडका सडक छनौट गरिएका छन् । योजनाले दोश्रो पाइलट रुटका रुपमा किर्तिपुर–बल्खु–कालीमाटी–त्रिपुरेश्वर–रत्नपार्क हुँदै चप्पल कारखाना पुग्ने अर्को रुट सञ्चालनबारे छलफल गरेको छ ।

सपोट माइक्रोफाइनान्सको आईपीओ असोज १८ गतेदेखि आउने

काठमाडौं । सपोट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० लाख कित्ता आईपीओ असोज १८ गतेदेखि निष्कासन गर्न लागेको छ । निष्कासन बन्द हुने मिति छिटोमा असोज २३ गते तोकिएको छ । कुल निष्कासन मध्ये २ प्रतिशत अर्थात ३ हजार ६ सय कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अर्थात ९ हजार कित्ता आईपीओ सामुहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ । सेयर निष्कासनपछि संस्थाको चुक्तापुँजी ६ करोड रुपैयाँ पुग्ने छ । १० जिल्ला कार्यक्षेत्र तोकिएको संस्थाको कार्यलय सुनसरीको इँटहरीमा छ ।

एनआईसी एसिया बैंकले ३ दिनमा अटोलोन दिने

काठमाडौं । तपाई गाडी किन्दै हुनुहुन्छ ? अब चिन्ता नलिनुस, एनआईसी एसिया बैंकले ३ दिनमै गाडी किन्नलाई अटोलो दिने भएको छ । यसपालिको दशै र तिहारको अवरसर पारेर बैंकले यस्तो योजना ल्याएको बैंकले जनाएको छ । दशै–तिहारमा घुम्नुहोस आफनै गाडीमा योजना सहित नयाँ अटोलोन योजना ल्याएको हो । आकर्षक ब्याज दरमा ७ वर्षसम्मको कर्जा अवधि, सरल प्रक्रिया, निःशुल्क प्रशासनिक शुल्क र ३ कार्यदिन भित्र कर्जा स्वीकृति हुने योजना बैंकले सार्वजनिक गरेको छ ।

इन्भेष्टर्स फोरमको अध्यक्षमा अम्बिका र उपाध्यक्षमा छोटेलाल चयन

काठमाडौं । नेपाल इन्भेष्टर्स फेरमको अध्यक्ष पदमा अम्बिकाप्रसाद पौडेल र उपाध्यक्षमा छोटेलाल रौनियार चयन भएका छन् । भदौ २१ गते फोरमका अध्यक्ष आत्मराम घिमिरे र उपाध्यक्ष रणकेशव प्रधानले भदौं २६ गते राजीनामा गरेपछि अध्यक्ष पौडेल र उपाध्यक्षमा रौनियार सर्वसहमतिमा चयन गरिएको फोरमका महासचिव बच्चुराम रिमालले जानकारी दिए । त्यस्तै फोरमको रिक्त कार्यकारिणी सदस्य पदमा अञ्जिव तुलाधर र अतितलाल श्रेष्ठलाई मनोनयन गरिएको रिमालले जानकारी दिएका छन् । विगत लामो समयदेखि नेपाल स्टक एक्स्चेञ्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पद रिक्त रहन गएकोमा पूँजीबजार विकासका लागि सक्षम योग्य एवं अनुभवी प्रमुख कार्यकारी अधिकृत अविलम्ब नियुक्तिका लागि सरकारसँग फोरम माग गरेको छ ।