दक्ष जनशक्तिको अभावले फार्मेसी शिक्षा संकटमा छ : रजिस्टार पाण्डे {अन्तर्वार्ता}
फार्मेसीले स्वास्थ्य सेवा प्रणालीलाई औषधी विज्ञानबाट मजबुत बनाउँछ । यसले औषधी उत्पादन, गुणस्तर परीक्षण, वितरण, व्यवस्थापन र प्रयोगसम्बन्धी ज्ञान दिन्छ । यो विधाको गुणस्तर कमजोर हुने हो भने यसले समग्र स्वास्थ्य प्रणालीलाई कमजोरमात्र होइन जोखिम नै निम्त्याउँछ । नेपालमा आजभोलि फार्मेसी शिक्षा निकै कमजोर हुँदै गइरहेको छ । पछिल्ला केही वर्षको लाइसेन्स परीक्षाको नतिजालाई मात्र हेर्ने हो भने यो विषय प्रष्ट हुन्छ । किन नेपालमा यस्तो अवस्था आयो ? विद्यार्थी किन बने कमजोर ? नेपाल फार्मेसी परिषद्का रजिस्ट्रार सञ्जीवकुमार पाण्डेसँग विकासन्युजका लागि इन्द्रसरा खड्काले गरेको विकास बहस । सबैभन्दा पहिले परिषद्को काम कर्तव्यबारे जानकारी गराइदिनूस्, यसले के काम गर्छ ? फार्मेसी पेशासम्बन्धी वैज्ञानिक र व्यवस्थित किसिमले यो पेशा व्यवसायलाई सञ्चालन गर्न स्थापना गर्ने उद्देश्यले नेपाल फार्मेसी परिषदको स्थापना भएको थियो । विगतमा फार्मेसीको सबै काम यही परिषदले गर्दै आएको थियो । तर, २०७५ सालमा चिकित्सा शिक्षा आयोगको स्थापना भयो, तब परिषद् यसको जिम्मेवारी केही कम भयो । चिकित्सा शिक्षा आयोग गठन नहुनुभन्दा पहिले शैक्षिक संस्था, तिनका स्तर, त्यहाँबाट प्रदान हुने शिक्षा, त्यहाँको सिलेबस, विद्यार्थीको संलग्नता, विद्यार्थी सिट संख्यालगायत विद्यार्थी योग्यता परीक्षण समग्र रूपमा परिषदले हेर्ने गरेको थियो । अहिले यो सबै काम आयोगले गर्छ । हाल परिषदले गर्ने काम भनेको जनशक्तिको योग्यता परीक्षण, उहाँहरूको सिट परीक्षण, उनीहरूका लागि तालिम दिने काम गरिरहेको छ । फर्मासिष्टको गुणस्तर र व्यवहार सुधार्न परिषदले कस्तो काम गरिरहेको छ ? स्वास्थ्य क्षेत्रमा सबैभन्दा बढी भूमिका फर्मासिस्टको हुन्छ । उनीहरूलाई औषधीको विषयमा पुरै ज्ञान हुनुपर्छ । औषधी निर्माण गर्नेदेखि लिएर वितरकको काममा समेत उहाँहरूको प्रत्यक्ष संलग्नता हुन्छ । औषधी गुणस्तरीय छ वा छैन भन्ने कुरा फर्मासिस्टले हेरेर सेन्स र भिजनले कसरी पत्ता लगाउने भन्नेबारे परिषद्ले ७ वटै प्रदेशमा तालिम सञ्चालन गरेका छ । अबको आवश्यकता र हामीले गरिरहेको काम भनेको सामुदायिक फार्मेसी र हस्पिटल फार्मेसीमा काम गर्ने फर्मासिस्टले काम गर्दाखेरीको समस्याहरू के हो ? ती गतिविधिलाई अपग्रेड गर्न परिषदका तर्फबाट के के गर्न सकिन्छ भन्ने बारेमा हामी कार्यक्रम सुरु गरिरहेका छौं । अहिले फर्मासिस्ट र बिरामीहरूबीचको सम्बन्ध नेपालमा कस्तो छ ? ठूलो अन्तर छ, जुन हुनुहुँदैन । कुनैपनि बिरामी अस्पताल पुग्दा चिकित्सकको प्रेस्क्रिप्सन अनुसार औषधी लिन फार्मेसी पुग्छ । औषधी किनेर सिधै घर फर्किन्छ । यो विषयमा धेरै बुझ्ने प्रयास नै गरिँदैन । औषधी कसरी खाने, कुन समयमा खाने, यो औषधीसँग के खाने, के नखाने, खाइसकेपछि यसले पार्ने साइडइफेक्ट के हुन सक्छ भनी सोध्ने चलन छैन । औषधी संवेदनशील चिज हो । तर यहाँ अन्य सामग्री जस्तै ठानिएको छ । अर्को कुरा फर्मासिस्टहरू पनि बिरामीलाई राम्रोसँग बुझाइदिँदैनन् । यो प्रयास पटक्कै छैन भन्न मिल्दैन तर थोरै छ । फर्मासिस्टको काम औषधी दिनेमात्र होइन, सँगै दिनुपर्ने आवश्यक सुझाव पनि दिनुपर्छ । तर यहाँ प्रायः यस्तो भएको पाइँदैन । परिषदले यही विषयलाई केन्द्रित गरी १ वर्षमा १२ देखि १४ वटा कार्यक्रम गर्ने योजना बनाएका छौं । नेपालमा अहिले कति प्रकारका अर्थात् कस्ता फर्मासिस्ट छन् ? नेपालको फार्मेसी पेशामा फर्मासिस्टहरू तीन/चार विधामा छन् । इन्ड्रस्टी, कम्युनिटी फार्मेसी, हस्पिटल फार्मेसी र केही समयता मेडिकल रिप्रेजिन्टिटिभको रूपमा पनि आकर्षणको केन्द्र फर्मासिस्टहरूको लागि भएको छ । समस्या कहाँनेर छ भने प्रोफेशनल इथिक्सलाई अपग्रेड गर्नुपर्ने छ । अहिले मुख्य समस्या भनेको र्याङ्किन अफ लाइसेन्समा छ । कानुनअनुसार कुनै पनि फर्मासिस्ट काम गर्न वा औषधी पसल सञ्चालनका लागि अनिवार्य लाईसेन्स प्राप्त गरेको हुनुपर्छ । लाइसेन्स प्राप्त फर्मासिस्ट एउटा कुनै पनि अस्पताल कम्पनी काम गरिरहनुभएको छ भने त्यही फर्मासिस्टले अर्को औषधी पसल सञ्चालन गर्न पाउँदैन । तर, नेपालमा एकातिर काम अर्कोतिर औषधी पसल सञ्चालन गरिरहेको समस्या धेरै देखिएको छ । एउटा अस्पतालमा काम गरिरहेका फर्मासिस्टको नाममा अर्को पसल दर्ता भइरहेको पाइएको छ । एउटै फर्मासिस्टको दोहोरो उपस्थिति भएपछि परिषदले त्यस्ता फर्मासिस्टको नाम रजिष्ट्रेसन अप्रगेड गर्ने काम रोकिरहेको छ । त्यस्ता औषधी पसल कति छन् ? औषधी पसल दर्ताको रेकर्ड हामीसँग हुँदैन । तर, डेटा रेकर्डबाट हामीले ट्र्याक गर्न सक्छौं । हामीले एकजना फर्मासिस्टको दोहोरो उपस्थिति कुनैपनि हालतमा देखिनुहुँदैन भन्ने विषयमा काम गरिरहेका छौं । यदि यस्तो देखिन्छ भने उनीहरूको विवरण अद्यावधिक नगर्ने भन्ने छ । यो विषयमा परिषदमै पनि केही उजुरी आइरहेका छन् । अघिल्लो आर्थिक वर्षमा औषधी व्यवस्था विभागमा २६ वटा उजुरी परेका थिए भने परिषदले ६० वटा फेला पारेको थियो । कतिपय फर्मासिस्ट विदेशमा हुन्छन् तर नेपालमा उसको नाममा फार्मेसीहरू दर्ता भइ सञ्चालन भइरहेको पाइयो । पेशागत मर्यादा विपरीतका कार्यहरू पनि भइरहेका छन् । नेपालमा अहिले लाइसेन्स प्राप्त फर्मासिस्ट कति छन् ? अहिले डिप्लोमा इन फार्मेसी गरेकाको संख्या १४ हजार ५०७ पुगेको छ भने ब्याचलर्सको ७ हजार ४३० पुगेकाे छ । नेपालको अवस्थामा यो संख्या पर्याप्त हो त ? होइन, तर सँगसँगै एउटा दुष्चक्र र गलत प्याटर्न परिपाटी भइरहेको छ । झट्ट हेर्ने हो भने अहिले डिप्लोमा इन फार्मेसीतर्फको आकर्षण बढेको छ । यो किन बढ्योभन्दा डिप्लोमा इन फार्मेसी पढेको मान्छेले त्यो लाइसेन्सबापत पसल सञ्चालन गर्न पाइन्छ । अहिलेको ट्रेन्ड हेर्ने हो भने शैक्षिक संस्था पनि बढ्दै गएका छन् । २०७५ सालसम्म ४४ वटा मात्रै शैक्षिक संस्थानलाई परिषदबाट मान्यता दिएर शैक्षिक कार्यक्रम सञ्चालन गरिएको थियो भने एक वर्षमा दुईदेखि तीन पटक अनुगमन निरीक्षण गरिन्थ्यो । अहिले झण्डै सयभन्दा माथि शिक्षण संस्थाले फार्मेसी अध्ययापनको लागि अनुमति पाएका छन् । ती शिक्षण संस्थाको अनुगमन नियन्त्रण पनि वर्षमा एक पटक हुने गर्छ । यसको मतलब नेपालमा फार्मेसी शिक्षा गुणस्तरको छैन हो ? अवस्था यतिसम्म विकराल छ कि कुनै पनि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)बाट सम्बन्धन प्राप्त डिप्लोमा इन फार्मेसी शैक्षिक संस्थामा दक्ष जनशक्ति छैन । ८० प्रतिशत बढी कलेजमा पूर्णकालीन शिक्षक छैनन् । बिफार्म कलेजको अवस्था हेर्ने हो भने धेरैमा परिषदले तोकेको जनशक्तिको मापदण्ड छैन । आधारभूत आवश्यकता भनेकै जनशक्ति हो । यो नै नहुँदा आवश्यक पूर्वाधार नै नभएपछि विद्यार्थी नियमित पढ्न जाँदैनन् । यसो हुँदा फार्मेसी शिक्षाको गुणस्तर कसरी उकासिन्छ । यो दुःखका साथ भन्नु पर्छ कि अहिले फार्मेसी शिक्षाको अवस्था कही न कही कम्प्रमाइज भएको भन्ने बुझाइ हो । शैक्षिक संस्थाको संख्या बढ्दै गयो, विद्यार्थी पनि केही उहाँहरूले संकलन गर्नुभयो । संख्या त बढ्यो तर गुणस्तर बढ्न सकेन, दिनहुँ खस्किँदै गइरहेको छ । यसैको परिणाम हो त तपाईंहरूले लिइरहेको लाइसेन्सको परीक्षामा फेल हुने दर बढेको ? कहीँ न कहीँ यो कुरा जोडिएको छ । समग्रमा त्यही नै भन्दैगर्दा यो पनि पूर्णतः वैज्ञानिक छैन । तर सत्य किन होभन्दा अहिलेको जुन डेटा छ यसले पनि यो प्रष्ट पारेको छ । अहिलेको नाम दर्ता परीक्षामा २६ प्रतिशतमात्रै उत्र्तीण छ । फर्मासिस्टको हकमा फेरि असिस्टेन्टको हेर्ने हो भने ४८ प्रतिशत छ । यो ब्याचमा परीक्षा लिँदै गर्दा डिप्लोमाको फ्रेस विद्यार्थीहरू वा भनौं भर्खरका विद्यार्थीहरू पासआउट हुनुभएको छ उहाँहरूको संख्या बढी थियो । त्यो पनि ४८ प्रतिशत हो, ५० प्रतिशतभन्दा माथि छैन । आफैमा पनि दुर्भाग्यपूर्ण कुरा हो । सँगै बिफार्मको कुरा गर्दा २६ प्रतिशत मात्र किन भयो भन्दा ९ सय ६६ विद्यार्थी थिए । ९ सय ३३ जनाले परीक्षा दिएका थिए यसमा ७ सय भन्दा बढी दोहोरिएका विद्यार्थी थिए । केही मात्र फ्रेस विद्यार्थी थिए भने धेरै ७ औं पटकसम्म पनि दोहोरिएका विद्यार्थी धेरै थिए । यो रिजल्टलाई खराब पनि भन्दैनौं फ्रेस र सफल विद्यार्थीको संख्या थोरै थियो । यसमा पनि भारतबाट पढेर आउका विद्यार्थी सफल नहुने देखिएको छ । किन यस्तो भयो ? मैले अघिपनि भनें- पहिलो कुरा विद्यार्थीलाई पढाउन दक्ष जनशक्ति भएन । दोस्रो कुरा अहिले फेल भइरहेकाहरू फ्रेस विद्यार्थी होइनन् । कतिपय विद्यार्थी सातौं, छैटौं पटक पनि परीक्षा दिरहेका विद्यार्थी हुन् । भारतमा पढेको विद्यार्थी बढी किन फेल हुन्छन् ? यसको मतलब भारतका सबै कलेज नराम्रो भनेको होइन । धेरै कलेजहरू राम्रा पनि छन् । कहिले काहीं त्यही पढेर आएका विद्यार्थीले पनि राम्रो गरिरहेका हुन्छन् । तर समग्रमा हेर्ने हो भने भारतबाट अध्ययन गरेर आएका विद्यार्थीको उत्तीर्णदर कम छ । शिक्षा प्रणाली, पाठ्यक्रम पढाउने शिक्षक र विद्यार्थीकै कारण यस्तो अवस्था र परिणाम आएको हो भन्ने कुरा आइरहेको छ नि ? यसको कारण यो मात्र हो भन्ने छैन । समग्र दोष जतिबेला हामीले विद्यार्थीको इनटेक लिन्छौं त्योबेलादेखि लिएर कलेजबाट सर्टिफाइर्ड गरेर पठाउँदा खेरी त्यो इन्ट्रायल प्रोसेसिङको प्रक्रिया र त्यहाँबाट आएर परिषदले परीक्षा लिँदै गर्दा उहाँहरूको नतिजा यो पनि एउटा पाटो हो । यी सबैलाई समग्रमा लिनुपर्छ । पक्कै पनि २०७५ साल अगाडि यस्तो अवस्था थिएन । किनकी हामीले इनटेकदेखि नै मनिटरिङ गरिरहेका थियौं । वर्षमा तीन पटक अनुगमन गथ्र्यौं । आजको अवस्था कस्तो छ भन्दा चिकित्सा शिक्षा आयोगका आफ्नै सीमा छ, स्वास्थ्यका समग्र सबै विद्या हेर्नुपर्ने हुन्छ । शैक्षिक जनशक्तिहरू तोकिएको मापदण्डमा छैनन् । र यसको राम्रोसँग मनिटरिङ नहुँदा यो समस्या आएको हो । अहिले यो सबैको जिम्मा चिकित्सा शिक्षा आयोगलाई छ । मापदण्डको अनुगमन नहुँदा पनि यसतर्फ असर पर्यो भन्नु खोज्नुभएको हो ? एउटा यो पनि हो । अर्को तोकिए बराबरको उपस्थिति नै छैन । एउटा बीफार्मेसीमा ३० देखि ४० वटा सिट भएको कलेजमा ६ जना पूर्ण समय र एक जना कोर्डिनेटर हुनुपर्छ भन्ने छ । अहिले हेर्ने हो भने कागजमा होला नहोला थाहा छैन, तर कुनै कलेजमा तीन जना त कुनैमा दुईजना अनि कुनैमा चारजना छन् । यस्तो अवस्थामा गुणस्तरीय शिक्षा दिने मान्छे नै छैन भने फार्मेसीमा गुणस्तरीय शिक्षामा ती विद्यार्थीले पाउँछन् भन्ने कुरा स्वीकार्न सकिँदैन । सरकारकै गैर–जिम्मेवार देखियो नि त ? यसमा हाम्रो परिषदको अनुगमन नियमन गर्ने अधिकार छैन । अधिकार सबै चिकित्सा शिक्षा आयोगलाई छ । उहाँहरूको पनि आफ्नै लिमिटेशन छ । स्वास्थ्य शिक्षाको सबै कुराहरू हेर्नुपर्ने हुन्छ । वर्षमा एक पटक निरीक्षण गरिरहेको सुनिन्छ । हामीले हरेक तीन–चार महिनामा निरीक्षण गरेका हुन्थ्यौं । गैर–जिम्मेवारपनभन्दा पनि लिमिटेसन्स अफ रिसोर्स र यो लिमिटेसन अफ कोर्डिनेशन पनि हो यो । यसको प्रत्यक्ष असर विद्यार्थी र दर्ता परीक्षामा पर्छ । विद्यार्थीले पाउने शिक्षाको गुणस्तरमा कतै न कतै ह्रास देखिन्छ । जति विद्यार्थी योग्य हुनुपथ्र्यो त्यति योग्य नहुँदै उत्पादित भयौं कि भन्ने प्रश्न उठेको छ । फर्मासिस्टको योग्यता दक्षता नहुँदा यसको असर त प्रत्यक्ष बिरामीमा पर्यो नि त ? स्वास्थ्य क्षेत्र निकै सवेदनशील विषय हो । औषधी उत्पादनदेखि बिक्री वितरणसम्ममा प्रत्यक्ष संगलग्नता फर्मासिस्टको हुन्छ । हामी समयमै यो विषयमा संवेदनशील नहुने हो भने तत्कालै ठूलो असर पर्ने देखिन्छ । जानेर वा नजानेरै एक जना फर्मासिस्टको कमजोरीले स्वास्थ्यमा पर्न सक्ने असर कस्तो हुन्छ ? फर्मासिस्टले खेल्ने भूमिका मूलतः सबैभन्दा प्रत्यक्ष रूपमा सबैभन्दा बिरामीको नजिक रहन्छ भने त्यो फर्मासिस्ट हो । कुनैपनि बिरामीको लागि सबैभन्दा पहिलो ढोका भनेको फार्मेसी हो । त्यहाँ काम गर्ने फर्मासिस्ट सबैभन्दा बढी दक्ष, सीपयुक्त र अलर्ट हुनुपर्छ । एउटा बिरामीलाई मात्र होइन यसले एउटा उद्योगलाई नै असर गर्छ । एकदम संवदेनशील क्षेत्र हो । राज्यका सबै निकाय यसमा लाग्नुपर्छ । यसमा विद्यार्थी आफै पनि जिम्मेवार हुनेपर्ने कत्तिको देख्नुहुन्छ ? हो । उहाँहरू पनि जिम्मेवार हुनुपर्छ । कहिलेकाहीँ विद्यार्थीले हामीलाई पनि समस्याका विषयमा जानकारी गराउनुहुन्छ । तर पनि यसको मुख्य जिम्मवार कही न कही आफ्नो भूमिकाबाट चुकेको छ । फार्मेसी कलेज आफ्नै भवन, आफ्नै जग्गा सम्पत्तिमा सञ्चालन गर्नुपर्छ भन्ने व्यवस्था थियो । तर केही वर्ष अगाडी केही निहीत व्यक्तिको स्वार्थका लागि आफ्नो घरजग्गा नभएपनि हुने भनेर राखियो । जसको परिणाम एक सय भन्दा बढीका कलेजहरू खुले । कलेज नभएर इन्स्च्यिुट कोचिङ सेन्टरसरह फार्मेसी कलेजहरू खोलिँदैछ । राज्यका तत् तत् निकायहरूले गम्भीरताका साथ ध्यानाकर्षण गराएका हौं । तर केही कुराको सुनुवाइ नै भएन । मलाई लाग्छ सीटीईभीटीले मान्यता दिएका कलेजमा अबको एक–दुई वर्षपछि विद्यार्थी पाउन गाह्रो पर्छ । नीति नियमले पनि समस्या भएको हो ? यहाँ चिकित्सा शिक्षा आयोग, सीटीईभीटी र परिषदबीच समन्वयको अभाव छ । परिषदको अध्यक्ष चिकित्सा शिक्षा आयोगको बोर्ड मेम्बर हुने प्रावधान छ । तर यहाँ ठूलो अन्तर छ, समन्वय नै हुँदैन । यहाँ आयोग अटोनोमी हिसाबले चलिरहेको देखिन्छ । यसको नतिजा के देखिन्छ भने ती विद्यार्थी डिग्रेड कसरी भइरहेका छन् । आवश्यक जनशक्ति, आवश्यक मापदण्ड पुगेको हुँदैन, समयमा उनीहरूको पढाइ पूरा भएको हुँदैन । समयमा इन्ट्रान्स पनि पूरा हुँदैन । यही तरिकाले जाने हो भने अबको केही वर्षमा डिप्लोमा इन फार्मेसी पढ्ने विद्यार्थी पाइन्छ कि पाइँदैन, बिफार्म पढ्ने विद्यार्थी पाउँछ कि पाउँदैन भन्ने हो । एक चिन्ता हो भने अर्को किन विद्यार्थी फेलदर बढिरहेको छ । परिषदले यसमा केही लचकता अपनाएपनि पासदर ५० प्रतिशत कट्न सकेको छैन । तीनवटा निकाय एक-अर्कालाई दोष देखाएर परिषद जिम्मेवारीबाट उम्कन मिल्छ ? हामी उम्कन खोजेको होइन । जिम्मेवारी परिषदको पनि हो । विद्यार्थीले पढेन नतिजा कम आयो भनेर उम्कने भन्ने छैन । तर ऐनले नै व्यवस्था गरेर जसलाई जे कार्यभार दिएको छ त्यो पुरा गर्नुपर्दछ । यो भन्दै गर्दा दोषारोपण गर्न खोजेको होइन । तर सम्बन्धन जसले दिन्छ त्यसले जिम्मेवारी लिनुपर्छ । कुनै विद्यार्थीलाई नाम तथा प्रमाणपत्र हामीले प्रदान गर्दैगर्दा राज्यको एउटा निकायले ‘तिमी योग्य छौं गएर प्राक्टिस गर’ भन्दै गर्दा ती पेशाकर्मीको सम्पूर्ण जिम्मेवारी मैले लिनुपर्छ । ती फर्मासिस्ट सबैको जिम्मेवारी परिषदले लिन्छ । त्यसैगरी कुनै विद्यार्थीलाई इनडोर गरेदेखि पासआउट गरेर निकाल्दासम्म अनुगमन नियन्त्रण गर्ने निकायले पनि सर्टिफाइ गर्दैगर्दा तिनी योग्य छन् वा छैनन् भन्ने कुराका जिम्मेवारी लिनैपर्छ । यही अवस्था रहने हो भने भोलिको अवस्था कस्तो आउँछ त ? आजको दिनमा परिषद् नाम तथा परीक्षा लिने प्रमाणित गर्ने निकाय मात्र हो । कलेजमा शिक्षकहरू छैनन्, पढाइ राम्रो भइरहेको छैन । कलेजको संख्यामात्र बढिरहेको छ भन्ने थाहा छ । प्रोफेशनप्रतिको हाम्रो जिम्मेवारीबाट हटेका छैनौं । यसमा हामी सहकार्य गरिरहेका छौं। अन्त्यमा केही भन्नु छ ? म दुईटा कुरा भन्न चाहन्छु । कुनैपनि व्यक्तिले औषधी पसल सञ्चालन गर्नको लागि मात्र यो नपढिदिनूहोला । यो पेशाको दायरा निकै ठूलो छ । डिप्लोमा इन फार्मेसी पढ्ने विद्यार्थीहरूले पनि यो पछि म पसल सञ्चालन गर्छु भन्ने मात्र सोच्ने होइन । अस्पतालमा काम गर्न सक्नुहुन्छ, उद्योगमा काम गर्न सक्नूहुन्छ, त्यसै किसिमले आफूलाई तयार गर्नूहोला । यही मानसिकताका साथ पढ्नूहोला । दोस्रो नाम दर्ता प्रमाणपत्रलाई हामी केही पैसाका लागि जुन रेन्टिङ गर्ने प्रणाली छ त्यसलाई तोड्नुपर्छ । तपाईंहरू कही कसैले पनि यो र यस्ता कामहरू नगरिदिनूहोला । र कसैले गरेको छ भने परिषदमा उजुरी गर्नूहोला । कारबाही गर्न परिषद् तयार छ ।
बज्यै, ब्यान्तारो र गाउँका गुरु
काठमाडौं । उइ.. आज नाप माठा भैगो रैछ ब्यान्तारो हपै आइगयो (ओहो आज अलि ढिला भइसकेछ बिहानको तारा नजिकै आइसकेछ) बज्यै (हजुरआमा) को यो आवाज सुन्ने बित्तिकै निन्द्राले छोड्थ्यो । निन्द्रा भगाउन दुवै हातले बेस्सरी आँखा मिच्थें । उत्सुकताको अगाडि निन्द्रा पनि हराउँदो रहेछ । बज्यैको स्वर सुन्ने बित्तिकै हस्याङफस्याङ गर्दै तारा हेर्न मन आतुर हुन्थ्यो । घर भित्रबाट बाहिर निस्कन पनि कहाँ सजिलो थियो र ! न बिजुली, न टर्च । मट्टीतेल हालेर बनाइएको टुकी बाल्न पनि आगो चाहिन्थ्यो । तर सुर चलेपछि के उज्यालोको आवश्यकता हुँदो रहेछ र । बज्यैको स्वर पच्छ्याउँदै अँध्यारोमै छामछुम पार्दै कुदिन्थ्यो । अँध्यारो, राम्रोसँग नखुलेका आँखा कहिल्यै भित्तामा टाउको बज्रिन्थ्यो त कहिले दैलोमा । तारा हेर्ने अत्यासले भित्रबाट बाहिर आउँदा कति चोट खाइयो आफैलाई थाहा छैन । कहिले घैटौंभरि राखेको पानी पोखिएर आफै चिप्लियो, आफ्नै निधार ठोक्किँदै कुदेका ती दिनहरू अहिले सम्झँदा अनौठो लाग्छ । बिहान उज्यालो भएको आभास आकासको ताराले बताइदिन्थ्यो । न बिजुली न घडी । आफ्नै छाया हेरेर यति बज्यो भन्ने अन्दाज गरिन्थ्यो । अहिले जस्तो समय बताइदिने हात हातमा घडी कसैको थिएनन् । बज्यैले आकास, घाम हेरेर समय छुट्याएको थाहा पाउँदा अच्म्म लाग्थ्यो । आफ्नो छाया आफ्नै शरीरभन्दा सानो देखिँदा दिउँसोको १२ बजेको ठानिन्थ्यो । अँध्यारोलाई चुनौती दिँदै बाहिर निस्किसकेपछि बज्यैलाई सोध्थें, ‘ब्यान्तारो काँ छ ?’ बज्यैले आकाशतिर औंला देखाउँदै भन्नुहुन्थ्यो, ‘ऊ त्यो सबैभन्दा चम्किलो तारा छ नि, हो त्यो ब्यान्तारो हो । यो तारा जहिले बिहान आउँछ, यो आइसकेपछि उज्यालो भयो भन्ने थाहा पाउनुपर्छ ।’ बज्यैले तारा देखाउँदै ताराको बारेमा भनिसकेपछि अरू ताराको बारेमा पनि जान्ने रुचि हुन्थ्यो । कतिपय ताराको बारेमा भनेको आफै बिर्सिसकें पनि । तर, जहिले मलाई निदाउन नदिने, अनि आमालाई छिटो उठ्न संकेत दिने यो ताराले जहिले बज्यैले बिहान सुरु भएको संकेत दिइसक्थ्यो । तारा हेरिसकेपछि बज्यैको हात समाउँदै घरभित्र आइन्थ्यो । त्यो अँध्यारोमा बज्यैले कसरी देख्नुहुन्थ्यो कुन्नि घरको खुड्किलोदेखि भित्र सुत्ने ठाउँसम्म उज्यालोमा जसरी फटाफट् हिँड्नुहुन्थ्यो । न बत्ती, न टर्च, न झिरो अँध्यारोमा पनि कसरी हिँड्न सकेको । लाग्थ्यो ठूलो भइसकेपछि बज्यै जस्तै पानी नपोख्दै, भित्तामा न ठोक्किँदै म पनि यसैगरी हिँड्न सकुँला । बज्यै भित्र आइसकेपछि हत्तपत्त आमाको उठ्ने पालो हुन्थ्यो । आमा पनि म जसरी आत्तिएर उठ्नुहुन्थ्यो । तर, अत्यास फरक हुन्थ्यो । म बज्यैले भनेको तारा हेर्न उठ्थे । आमा बिहानको काम गर्न । मेरो बाल्यकालमा आमा भन्दा बढी संगत बज्यैसँग भयो । सुत्ने, उठ्ने खानेदेखि सबै बज्यैसँगै हुन्थ्यो । आमासँग कहिलेकाहीँ घरायसी काम गर्नुपरे मात्र गइन्थ्यो । त्यसैले पनि होला दैवले आमासँगको यात्रा यति छिट्टै टुंग्याइदिएको । आमासँगै बसेको, खाएको, हिँडेको, सुतेको खासै याद छैन । अहिले त लाग्छ- बज्यैजस्तै आमासँगै सुत्ने, उठ्ने, खाने गरेको भए अहिले पनि भगवानले आमाको साथ छुट्याइ दिँदैन थियो कि ! बिहानै उठेर चोखो पानी भर्ने, दैलो पोत्ने मेरी आमाको नियमित काम थियो । बिहान भात पकाउन चामल छैन भने धान लिएर ओखल पुग्नुपर्थ्यो । चामल छ भने बिहानको नास्ता चिया, पकाएर भात पकाइ अध्यारोँमै सक्नुपर्थ्यो । जुन काम अनिवार्य जस्तै थियो । आमाले यति सबै कामसकेपछि बल्ल कुखुरा (भाले)ले उज्यालो भएको जनाउ दिँदै कुखुरी काँ भन्न सुरु गर्थ्यो । भाले बास्दा अर्को तनाव । आमाको कचकच सुरु भइसक्थ्यो । भाले बासिसकेपछि छोरीले सुत्न हुँदैन । बिहानै उठ्न सिक्नुपर्छ । भोलि कस्तो घरमा परिन्छ, काम त सबै सानैदेखि सिकेको राम्रो । आमाले सानैदेखि बस्न, हिँड्न, काम गर्न सिकि राख्नुपर्छ भन्नुहुन्थ्यो । आमाले यस्ता कुरा सिकाउँदा बुझ्ने नै भइएको थिएन । सानै भए पनि केटाकेटी भनेर कहाँ त्यत्तिकै बस्न छुट हुन्थ्यो । घरमा सक्नेजति सबै काम सघाउनु पर्थ्यो । खाना पकाउनेदेखि, घाँस काट्ने, घरको सरसफाइ गर्ने सबै काम गर्नुपर्थ्यो । म पछिको मेरो भाइ उसलाई आनन्द थियो । किनकि मेरो भाइ छोरा थियो । छोरालाई प्रायः घरको काम गर्न आमा र बज्यैलाई मन नपर्ने । ऊ साथी खोज्दै खेल्न जान्थ्यो । सँगसँगैको भए पनि उ खेल्ने फुर्सद पाउँथ्यो । मैले काम गर्नुपर्थ्यो । घरमा आमा, हजुरआमालाई सघाइ स्कुल पढ्न जानु पर्थ्यो । विस्तारै उमेर बढ्दै जाँदा कामको जिम्मेवारी थपिँदै गयो । काम यतिसम्म गर्नुपर्थ्यो कि स्कुल जाँदा कपाल पनि बाटोमै कोर्नुपर्थ्यो । हातका नङ दाँतले टोक्नुपर्थ्यो । काम गर्दै पढ्दै म ठूली भइसकेकी थिएँ । गाउँमा छोरीलाई पढाउनुपर्छ भन्ने सोचको विकास भइसकेको थिएन । मसँगका दिदी फुपूहरू पनि ठूलो भइसकेपछि बल्ल स्कुल जान सुरु गरेका थिए । तर, सानो भाइबहिनीसँग सँगै बसेर पढ्दा उनीहरू अप्ठ्यारो महसुस गर्थे । एक/दुई जनाले त पढ्नभन्दा बरु भागेर विवाह गर्नु उचित ठानेर भागेर गए । मलाई पढाउन भने न मेरो आमाले रोक्नुभयो, न त बज्यैले । मभन्दा धेरै अगाडिका दिदी फुपूहरू पनि पढेका थिए । बुवालाई पनि छोरी पढाउनुपर्छ भन्ने चेत थियो । तर, अहिलेको जस्तै अनिवार्य थिएन । कतिपय छोराहरू पनि नपढ्ने चलन थियो । बुवाले नै मलाई पढाउनुपर्छ भनेर स्कुल पठाउनुभयो । तर, स्कुल पठाउनुपर्छ भन्ने चेत मात्र भएर गाउँमा नपुग्ने रहेछ । खेतबारीको काम नगरी हातमुख जोर्न नपाइने, हातमुख जोर्न दश नङ्ग्रा खियाउनै पर्ने । खेतबारीको काम गर्दा घरमा काम नगरी बस्न छुट थिएन । बिहान कति बजेको हुन्थ्यो थाहा हुँदैनथ्यो । तर, आमाले घरको सबै काम सकेर मलाई सँगै लिएर जंगल पुग्नुहुन्थ्यो । स्याउला, दाउरा घाँसको लागि भएपनि आमासँगै नाम्लो र हँसिया बोकेर जंगल जानु पर्थ्यो । जंगलबाट घर फर्कन ९ बजिसक्थ्यो । हातमुख धोइवरी खाना खाँदा स्कुल लाग्ने बेला भइसक्थ्यो । कक्षा तीनसम्म गाउँमै स्कुल भएपनि कक्षा चार कक्षापछि भने आधा घण्टा हिँडेर स्कुल पुग्नुपर्थ्यो । घरको कामले समयमा स्कुल पुग्न पनि गाह्रो । समयमै स्कुल नपुग्दा सरले पिट्ने डर, घरको काम नगरेर स्कुल आउँदा काम छुट्ने । यस्तो दोहोरो भूमिकामा स्कुले दिनहरू बिताउनुपर्यो । यो मेरो मात्र बाध्यता थिएन प्रायः गाउँका केटीहरूको बाध्यता थियो । यो बाध्यता कतिपयलाई अहिले पनि छ । बिहान उठेर किताब पढ्नु, दिउँसो स्कुल जान पाउनु, साँझ घरमै ट्यूसन पढ्न पाउनेहरू साँच्चिकै भाग्यमानी हुन् । कति दिन हातको नङ नकाटेको निहुँमा कुटाइ खाइयो, कति दिन गृहकार्य नगरेको नाममा, कति दिने ड्रेस फोहोर भएको नाममा । लाग्थ्यो स्कुल जानु नै कुटाइ खान हो । घरमा न गृहकार्य गर्ने समय न सरसफाइ गर्ने फुर्सद । अहिले सम्झँदा त लाग्छ- भगवानले गाउँका महिलालाई खेतबारीको काम गर्नकै लागि जन्म दिएका हुन् । न पढाइ, न शिक्षक घरको कामसँगै पढ्नुपर्ने चुनौती अर्को थियो । न घरमा पढ्ने समय न विद्यालयमा राम्रो पढाइ । शिक्षकहरूलाई विद्यालय कहरभन्दा रहर थियो । कहिल्यै विषय अनुसारका शिक्षक स्कुलमा भएनन् । अहिले पनि छैनन् । सामाजिक विषय पढाउने शिक्षक आएर विज्ञान विषय पढाउँथे, गणित विषय पढाउने शिक्षक आएर स्वास्थ्य विषय पढाउँथे । बाध्यता अहिले पनि उस्तै छ । विषय अनुसारका शिक्षक भएपनि कक्षा कोठामा महिनाको १० दिनमात्र उपस्थित हुन्थे । धेरै दिन बिदामै गएको हामीले थाहा पाउँथ्यौं । भएकै शिक्षकहरू पनि मन लागे पढाउने, नभए आज तिमीहरू आफै पढेर कक्षा कोठाबाट बाहिरिने अभ्यास थियो । गाउँमा गणित, विज्ञान, अंग्रेजी विषय पढाउने शिक्षक प्रायः तराई मधेशकै हुन्थे । उनीहरू विदा लिएर घर आउजाउ गर्दा एक महिना त्यत्तिकै जान्थ्यो । परीक्षाको मिति आइसक्दा कहिल्यै पनि सबै विषयको पढाइ पूरा भएको अनुभव छैन । न घरमा पढ्ने फुर्सद न स्कुलमा पढाउने गतिला शिक्षक । परीक्षाको नतिजा कस्तो आउँथ्यो सम्झँदा अहिले दुःख लाग्छ । समस्या मेरो पालामा मात्र समिति रहेन अहिले पनि उस्तै छ । अहिले पनि गाउँका स्कुलमा विषयगत शिक्षक छैनन् । भएकाहरूको पनि कक्षा उपस्थित त्यही महिनाको १०/१२ दिन मात्र हो । यो विषयमा न त्यहाँका विद्यार्थी आवाज उठाउँछन्, न त्यहाँका अभिभावक । दुई वर्ष अगाडि मेरो कान्छो भाइले एसईई दियो । अंग्रेजीमा केही कमजोर भएपनि गणित लगायत अरू विषयमा राम्रो थियो । तर समस्या जस्तो मैले भोगेको थिएँ, उसले पनि उस्तै भोग्नुपर्यो । न विषयगत शिक्षक, न सबै विषयको पढाइ पूर्ण । उसले एसईई दिँदा पनि पुरा विषय पढ्न पाएको थिएन । अवस्था अहिलेको पनि उस्तै छ । पालिकाको अनुदान कोटामा, निजी स्रोतमा राखिएका शिक्षकहरू पनि पहुँचको आधारमा राखिएका छन् । न उनीहरू विषय अनुसारको विज्ञ आफै छन्, न विद्यार्थीलाई सिकाउन सक्ने क्षमता छ । सुदूरपश्चिम होस् या सुदूर पूर्व वा तराईका गाउँमा सबै विद्यालयमा प्रायः विषयगत शिक्षकहरू छैनन् । निजी स्रोत वा अनुदान कोटामा राखिएकाहरू कि विद्यालयको प्रधानाध्यापकका आफन्त, पालिकाको अध्यक्षका आफन्तहरू छन् । पहाडका विद्यार्थीले एसईईको समयमा तराई गएर ट्युसन पढेर एसईईको परीक्षा दिनुपर्ने बाध्यतामा छन् । काठमाडौं वा धनगढीमा आएर आईएस्सी पास गरेर गाउँ फर्केकाहरू निजी कोटाबाट शिक्षक बनेर विद्यार्थीलाई पढाइरहेका छन् । मौलाएको राजनीति नेपालको संविधानले विद्यालय तहको शिक्षालाई स्थानीय तह अन्तर्गत राखेको छ । अहिले कक्षा ८ मा हुने परीक्षाको नतिजा पालिकाले नै सार्वजनिक गर्छ । यो वर्षको कक्षा ८ को नतिजामात्र हेर्ने हो भने अधिकांश विद्यालय शून्यमा झरे । अर्थात् कक्षा ८ मा एकजना विद्यार्थी पास हुन नसकेको लाजमर्दो नतिजा सार्वजनिक भयो । यस्तो अवस्था हुँदा समेत विद्यालयको पढाइ कसरी सुधार्ने भन्ने विषय न त्यहाँको पालिकाको मुख्य विषय बन्न सक्यो न त विद्यालयको । बरु एउटा रमाइलो कुरा के भने अछामको एउटा पालिकाले कक्षा ८ मा पालिका भित्रका जुन विद्यालयले राम्रो नतिजा ल्याउन सक्यो उसलाई पुरस्कार दिने नीति ल्याएपछि त्यहाँ गत वर्षदेखि चिट चोराउन प्रतिस्पर्धा नै चल्यो । २०८० सालमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयले पालिकाबाट पुरस्कार पाएपछि २०८१ सालमा पालिका भित्रका विद्यालयले राम्रो नतिजा ल्याउन यतिसम्म गरे कि प्रश्नपत्र समेत आउट गरे । यो विकृतिमा स्वयं शिक्षक नै सहभागी थिए । गाउँका अभिभावकमा अहिले पनि राजनीति भन्दा बाहिरको चेतना आउन सकेको छैन । विद्यालयको शिक्षा कसरी राम्रो बनाउने, विद्यार्थीलाई कसरी सीपमूलक शिक्षा दिने भन्दा पनि प्रधानाध्यापक कसलाई बनाउने, कुन शिक्षकको सरुवा कहाँ गर्ने भन्नेमै सीमित छ । अस्थायी शिक्षकलाई स्थायी बनाउनु पर्ने, बाल शिक्षाका शिक्षकहरूको तलब बढाउनुपर्ने लगायत माग राख्दै गाउँका शिक्षकको समय घर्किरहेको छ । गाउँका सरकारी विद्यालयमा पढ्ने गरिब, किसानका छोराछोरीमाथि अझ पनि यो स्तरको खेलबाड गरिरहने हो भने अझै हामीले भनेको गुणस्तरीय शिक्षा पाउन जुग कुर्नुपर्छ । जसरी मेरो बज्यैले ब्यान्तारो हेरेर उज्यालो भएको अन्दाज लगाउने समयको अन्त्य भयो । त्यसरी हामीले शिक्षक नहुँदा अधुरा छोडेका पाठहरू कहिले पूर्ण होलान् ?
पारलैंगिक पुरुषको पीडा, समाजले नदेखेको भित्री कथा
काठमाडौं । अरूभन्दा म किन फरक, म मेरोजस्तै योनी भएका साथीहरूप्रति आकर्षित किन ? मलाई फरिया लगाएर घरकुटी खेल्नुभन्दा किन कपाल काटेर केटाहरू जस्तै बन्न मन लाग्छ ? समोन जीसीलाई सानैदेखि यही कुराले सताउँथ्यो । तर सोध्ने आँट भने हुँदैनथ्यो । उनी बाध्य भएर छोरीको दर्जाभित्र बस्थे । तर उनको हाउभाव, चालचलन छोरीहरूभन्दा फरक थियो । जति उमेर बढ्दै गयो समोनलाई यो प्रश्नले अझ घोँच्दै गयो । ‘मनसँग मनको अन्तरद्वन्द्व पनि भयानक हुँदो रहेछ, बाहिर भन्न नसकिने, आफै प्रश्न सोध्ने, आफै उत्तर दिने, जीवनका २२ वर्ष यसरी नै बिते,’ उनले भने । समोन जीसी पारलैंगिक पुरुष हुन् । उनको घर पाल्पा हो । हाल उनी काठमाडौं बस्दै आएका छन् । युनिटी फर चेन्ज नाम संस्थामा कार्यरत उनी कानुनका विद्यार्थी हुन् । जन्मँदा छोरीको जस्तै अंग लिएर जन्मेका उनी बढ्दै जाँदा आफ्नै अङ्गलाई अस्वीकार गर्न थाले । तर, प्रकृतिको खेल उनले चाहेर पनि अस्वीकार गर्न सकेनन् । उमेरसँगै शरीर परिवर्तन भयो, शारीरिक अंगहरू परिवर्तन हुन थाले । उनको शारीरिक बनावट र विचार फरक हुँदै गयो । उनलाई आफ्नो शरीरप्रति हजार प्रश्न गर्न मन लाग्थ्यो । म को हुँ ? किन मेरो भावना फरक छ ? किन म केटीप्रति आकर्षण हुन्छु ? भन्ने विषयमा बुझ्न मन थियो । तर, हजार प्रश्नको उत्तर आउँथ्यो, ‘तँ छोरी होस् छोरी भएर बस् ।’ यस्तै भन्नेहरूको जमात समाजमा ठूलो थियो । यस्तै प्रश्न र उत्सुकताबीच एक दिन उनको बुवाले सोधे,’ ‘छोरी तिम्रो हरेक क्रियाकलाप फरक देख्छु, कपाल कटाइ, हिँडाइ बसाइ किन यस्तो ?’ समोनलाई त्यो दिन मेरो कुरा पनि सुन्ने कोही छ भन्ने लाग्यो । समोन जीसी ‘म त्यो दिन यति खुसी भएँ कि शब्दमा व्यक्त गर्न सक्दिनँ,’ उनले भने, ‘हजारौं प्रश्न अनि अन्यौलताले भरिएकाे म मेरै बुवाले सोध्दा मैले सबै कुरा भनिदिएँ, बुवाले यो कुरा सहर्ष स्वीकार्नुभयो ।’ उनका बुवा आफै शिक्षक छन् । सोच पनि क्रान्तिकारी थियो । बुवाले सहर्ष स्वीकारे पनि आमालाई भने गाह्रो भयो । ‘मैले छोरी नै जन्माएकी हुँ, यो कसरी हुन्छ, छरछिमेकीले के भन्लान् भन्दै आमालाई सुरुमा स्वीकार्न गाह्रो भयो,’ उनले विगत सम्झँदै भने । विस्तारै परिवार अनि छिमेकीलाई समोन पारलैंगिक पुरुष भएको थाहा भयो । त्यसपछि उनी गाउँ छोडेर काठमाडौं लागे । पढाइको सिलसिलामा काठमाडौं आएपछि उनलाई अझै आफ्नो बारेमा बुझ्न सजिलो भयो । भन्छन्, ‘अहिले मजस्ता पारलैंगिक पुरुषहरूको हक अधिकारीका लागि आवाज उठाउँदै आएको छु, तर यो समाजले हामीलाई बुझन अझै मिहिनेत गर्नुपर्छ ।’ कालीकोटका अनु शाहीको अनुभव पनि उस्तै छ । उनलाई पनि आफ्नो शरीर र आफ्नो विचारमा किन फरक भन्ने सानैदेखि लाग्थ्यो । यौनिक तथा लैंगिक अल्पसंख्यक हुन्छन् भन्ने समेत उनलाई थाहा थिएन । एसईई दिइसकेपछि काठमाडौं आएका उनी दाइको मोवाइल हात पर्नेवित्तिकै म जस्तै पनि कोही हुन्छन् त भन्दै गुगलमा सर्च गर्थे । धेरै कुरा फेला नपारेपनि केही कुरा फेला पारे । उनले आफू लेस्बियन हो कि भन्ने अनुमान गरे । तर एउटा पारलैंगिक पुरुषको अन्तर्वार्ता उनले जब सुने त्यसपछि थाहा पाए कि म त 'पारलैंगिक पुरुष’ रहेछु । आफ्नो प्रश्नको उत्तर पाएपछि अनु खुसी भए । त्यसपछि उनले यो समुदायका बारेमा खोज्न थाले । विस्तारै सबै कुरा थाहा हुँदै गयो । ‘म को हुँ भन्ने त थाहा भयो, ठूलो अन्यौलता हट्यो,’ उनी भन्छन्, ‘समस्या अर्को थपियो, अब मेरो परिवार, समाज अनि आफन्तलाई कसरी चिनाउने ?’ उनीसँगै बसेकी दिदीलाई अनुको व्यवहारले गर्दा शंका लागिसकेको थियो । केही आशंका परिवारका अन्य सदस्यलाई पनि थियो । परिवारमा समस्या नभए पनि समाज, आफन्तहरूलाई कसरी यो कुराको जानकारी दिने भन्ने ठूलो पीर थियो । अनुले आफू पारलैंगिक पुरुष भएको कवितामार्फत जानकारी गराए । अनु साहित्यमा पनि उत्तिकै सक्रिय छन् । अहिले पनि गीत, गजल, मुक्तक लेखिरहन्छन् । केही वर्ष पहिले भएको साहित्य रियालिटी शोमा उनले आफ्नो विषयमा कविता लेखेर आफ्नो पहिचान बनाए । त्योभन्दा अगाडि छोरी भनेर चिनिरहेको समाजले त्यसपछि उनलाई पारलैंगिक पुरुष भनेर चिन्न थाल्यो । धेरै जनाले उनलाई फोन गरे, आफन्तहरूले पनि थाहा पाए । अनु शाही ‘परिवारमा त दिदीलाई थाहा भइसकेको थियो, आमाबुवाले पनि शंका गरिरहेका थिए,’ उनी भन्छन्, ‘जब मैले रियालिटी शोमा आफ्नो कविता भनें त्यसपछि परिवार आफन्त सबै छर्लङ्ग भए, मैले लेखेको कविताले मेरो पहिचान दियो ।’ लैंगिक तथा यौनिक अल्पसंख्यक भन्ने विषय आजभोलि सुनिन थाले पनि त्यहाँ भित्रको कुरा धेरैजसोलाई थाहा छैन । अहिले पनि यो समुदायलाई अन्यको रूपमा धेरैले चिन्छन् । यहाँभित्र पारलैंगिक पुरुष, महिला, लगायतका थुप्रै व्यक्ति छन् । उनीहरू सबै फरकफरक समुदायमा पर्छन् । अनु यस्ता विषय पाठ्यक्रममा समावेश नहुँदा धेरैले थाहा नपाएको बताउँछन् । पाठ्यक्रममा पनि महिला र पुरुषमात्र भनिँदा आफूहरूको पहिचान नभएको उनीहरू बताउँछन् । अस्पतालमा पुग्दा सबैभन्दा पहिले नाम, उमेर अनि लिंग सोधिन्छ । लिंगमा पनि महिला, पुरुष र धेरैसम्म भए अन्य भनेर राखेको हुन्छ । ‘अन्य छ, अन्यमा बस्न मन लाग्दैन, नाम लेख्दा अनि उमेर लेख्दा समस्या पर्दैन तर सेक्स लेख्दा जहिले अन्याय भएको महसुस हुन्छ, त्यहाँ जेण्डर लेखेको भए ट्रान्समेन लेख्थें होला,’ उनले भने । सामाजिक समस्या कतिपय ट्रान्सम्यानलाई परिवार भित्रबाट पहिचानमा समस्या हुन्छ भने घरमा द्वन्द्व गरेर बाहिर निस्केकालाई समाजले सहज रूपमा बाँच्न दिँदैन । हरेकले अनेकौं नाम उपनाम दिएर अपमान गरिरहेका हुन्छन् । समाज र पारिवारिक डरले धेरैजसो ट्रान्सम्यान अहिले पनि महिलाकै दर्जामा बस्न बाध्य छन् । समोन भन्छन्, ‘म आफ्नो पहिचानमा आएपछि घरभित्रको कोठामा केही समस्या आएन तर समाजमा मलाई गर्ने अनि हेर्ने व्यवहार फरक भयो ।’ महिला पुरुषलाई भगवानले बनाएको हो भने हामीलाई पनि भगवानले नै बनाएको हो भनेर कसले बुझिदिने ? कपाल काटेर ठाडो बनाउने बित्तिकै कस्तो केटी भएर नि केटा जस्तो के ... हो भनेर गिज्याउँथे, उनलाई हेरेर हाँस्थे । महिला शौचालयमा जाँदा महिलाहरू तर्सिने, पुरुष शौचालय जाँदा पुरुष तर्सिने । सधैं यही समस्या भोग्दा दुई वर्षसम्म कलेजमा पानी नै पिइनँ, शौचालय नै गइनँ । २ वर्षसम्म शौचालय प्रयोग नगर्दा पारलैंगिक पुरुषलाई समाजमा मात्र होइन, शौचालयमा पनि उस्तै समस्या हुन्छ । लगभग सबै ठाउँमा महिला, पुरुष अनि अपांगता भएका व्यक्तिका लागि शौचालयको सुविधा हुन्छ । तर पारलैंगिक पुरुष, महिला र अन्यका लागि शौचालयको समेत व्यवस्था हुँदैन । अनुले यही समस्याले दुई वर्षसम्म कलेजको शौचालय प्रयोग गरेनन् । ‘महिला शौचालयमा जाँदा महिलाहरू तर्सिने, पुरुष शौचालय जाँदा पुरुष तर्सिने सधैं यही भोग्दा जान मनै लागेन,’ उनले भने । महिनावारीका कुरा फिलिङ पुरुषको भए पनि पारलैंगिक पुरुष प्रायः पाठेघर र योनी भएकै व्यक्ति हुन्छन् । उनीहरूले आफ्नो भावनाअनुसार आफूलाई पुरुष देखाउन खोजेपनि नियमित महिनावारी हुन्छ । यस्तो अवस्थामा धेरैलाई असहज अनुभव हुन्छ । ‘नचाहेरै पनि हामीले यो भोग्नैपर्छ,’ अनु भन्छन्, ‘हाम्रो, सोच, विचार भावना फरक हो तर, योनी र पाठेघर भइसकेपछि हामी पनि महिनावारी हुन्छौं, तर बिडम्वना, हामी जस्ता व्यक्तिलाई सरकारले कहिल्यै न सुन्यो, न देख्यो ।’ अनु पहिलो पटक महिनावारी हुँदा निकै गाह्रो अनुभव गरेको बताउँछन् । उनलाई पहिलो पटक महिनावारी हुँदा स्वीकार्न गाह्रो भयो । ‘म छोरा हो किन महिनावारी भएँ ?’ उनले आमालाई प्रश्न पनि गरे । भन्छन्, ‘सानैदेखि जोसँग महिनावारी छ, पाठेघर छ त्यो व्यक्ति महिनावारी हुन्छ भनिएको भए म सहज रूपमा यसलाई स्वीकार्थें तर यहाँ यसो भनिएन, सिकाइएन पनि जसले गर्दा स्वीकार्न समस्या भयो ।’ महिनावारी हुँदा प्याड किन्न जाँदा पनि तलदेखि माथिसम्म हेरिन्छ । कतिपयले हेर्नेमात्र होइन बोल्छन् पनि । आफ्नै लागि हो कि कसको लागि किन्न आएको हेर्दा केटाजस्तो आवाज, केटीको जस्तो पनि भन्थे । हेर्ने तरिका बोल्ने शब्दले पनि आफूहरूमाथि विभेद हुने गरेको उनी बताउँछन् । उनी ७ कक्षामा पुग्दा बल्ल परिवारले महिनावारी भएको थाहा पायो । कुनै समय उनलाइ यो कुरा स्वीकार्न गाह्रो लाग्थ्यो । तर बढ्दै बुझ्दै जाँदा उनले स्वीकारिन् । अहिले उनलाई यो सामान्य लाग्छ । महिनावारी हुँदा सनोमको अनुभव भने फरक छ । उनी कक्षा ५ मा पढ्दै गर्दा पहिलो पटक महिनावारी भए । उमेर पनि सानै थियो । त्यो बेला उनलाई आफू ट्रान्सम्यान हुँ भन्ने थाहा थिएन । अहिले पनि महिनावारीलाई लाजको विषय मानिन्छ । उनलाई पनि यही लाज लाग्यो । उनी लाजले कसैलाई नभनेर लुकाएर बसे । उनी ७ कक्षामा पुग्दा बल्ल परिवारले महिनावारी भएको थाहा पायो । कुनै समय उनलाइ यो कुरा स्वीकार्न गाह्रो लाग्थ्यो । तर बढ्दै बुझ्दै जाँदा उनले स्वीकार गरे । अहिले उनलाई यो सामान्य लाग्छ । महिनावारी रोक्न आषैधी धेरैजसो पारलैंगिक पुरुष अनुभवमा मात्र होइन, आफूलाई देख्दा र हेर्दा पनि पुरुष जस्तै देखिन पाऊँ भन्ने चाहना राख्छन् । यसकै लागि उनीहरूले स्वदेश, विदेशबाट महँगो शुल्क तिरेर हर्मोनको औषधी खाइरहेका हुन्छन् । तर अनु र समोनले अहिलेसम्म कुनैपनि हर्मोन लिएका छैनन् । यौनिक तथा लैंगिक अल्पसमुदायभित्र विभिन्न समुदायका व्यक्ति छन् । यस भित्रका विषय बुझ्न धेरै अध्ययन गर्नुपर्ने हुन्छ । ‘कतिपयले महिनावारी स्वीकारेका छैनन्, महिनावारी रोक्न विभिन्न किसिमका हर्मोन औषधी लिरहेका छन् । दारीजुँगा होस्, छाती नहोस् भनी स्तनको सर्जरी पनि गरिरहेका हुन्छन् । महिनावारीलाई नबुझेर औषधी खाँदा विभिन्न किसिमका समस्या पनि भएको छ’, अनु र सनोम भन्छन्, ‘हामी हामी नै भएर बाँच्नुपर्यो । यो अधिकारी परिवार साथीभाइ समाजले दिनुपर्यो ।’ हर्मोन लिएर झट्टा हेर्दा पुरुषजस्तै देखिने ट्रान्सम्यानलाई अर्कै समस्या छ । उनीहरूको नाम कागजात एउटा र झट्ट हेर्दा अर्को देखिने कारण पनि यस्तो समस्या हुने गरेको छ । साथै शिक्षा, स्वास्थ्य रोजगारबाट समेत उनीहरूले वञ्चित हुनुपरेको छ । अहिले पनि समाजमा महिनावारी महिलाको मात्र भनिएको छ । पारलैंगिक पुरुष अनु र सनोम जस्ता पारलैंगिक पुरुषहरू यो विषय महिला नभइ पाठेघर भएका सबै व्यक्तिको हो भन्ने अभियानमा छन् ।
प्रदेश सरकारको प्राथमिकतामै परेन स्वास्थ्य क्षेत्र
काठमाडौं । आगामी आर्थिक २०८२/०८३ लागि प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा स्वास्थ्य क्षेत्र प्राथमिकता नपरेको पाइएको छ । सातवटै प्रदेशको विनियोजित बजेट हेर्दा पूर्वाधारमुखी बढी केन्द्रित भएको छ । प्रदेशहरूले स्वास्थ्यका केही विषय समेटिए पनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएका छैनन् । सबैभन्दा कमजोर बजेट सुदूरपश्चिम सरकारले ल्याएको छ । आगामी आर्थिक वर्षका लागि लागि ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजारको रकम सार्वजनिक गरेको सुदूरपश्चिम सरकारले स्वास्थ्य क्षेत्रको बजेट अंकमा उल्लेख नै गरेको छैन । ६८ पृष्ठको बजेट भाषणमा ३३/३४ ठाउँ स्वास्थ्य विषय उल्लेख गरेपनि कुन शीर्षकमा कति बजेट छुट्याइएको छ भन्ने स्पष्ट छैन । मलेरिया, कुष्ठरोग, एचआईभीलगायत मातृ, शिुशु मृत्युदरको जोखिम भएपनि त्यसलाई न्यूनीकरण गर्न ठोस कार्यक्रम न कार्यक्रममा आएको छ न बजेटमा उल्लेख छ । सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रलाई नजिकबाट नियालेका डा. गुणराज अवस्थी स्वास्थ्यका विभिन्न समस्या अहिले पनि उत्तिकै रहेको भन्दै स्वास्थ्यमा सबैभन्दा धेरै बजेट आवशयक रहेको बताउँछन् । उनी भन्छन्, ‘बजेटमा आवश्यकताअनुसार बजेट विनियोजन गरेको छु भनिएको छ, तर अंकमा कतै देखिँदैन, आवश्यक भनेको छ, यसको मतलब आवश्यकताअनुसार बजेट छुट्टयाएको भन्न मिल्दैन ।’ अवस्थी प्रदेशमा मात्र नभइ संघमै पनि आवश्यकताअनुसार बजेट नहुँदा दिगो विकासका लक्ष्यअनुसार काम गर्न सकस भएको बताउँछन् । डडेल्धरा अस्पतालका अध्यक्ष करुणकर ओझा स्वास्थ्य क्षेत्रमा स्वास्थ्यको अवस्था दयनीय रहेको भन्दै आवश्यकताका आधारमा बजेट नआएको बताउँछन् । ‘म अध्यक्ष रहेको अस्पतालले संघबाटै बजेट पाउँछ, प्रदेशबाट पनि केही पाइन्छ कि भन्ने आशा थियो, कानुनी झन्झटले नमिल्ने बताएपछि हामीले प्रदेशबाट पाएनौं,’ उनी भन्छन्, ‘यहाँको स्वास्थ्य अवस्थालाई प्रदेशमात्र होइन, संघ सरकारले पनि उत्तिकै महत्व दिनुपर्छ ।’ कर्णालीमा पनि उस्तै सुदूरपश्चिममात्र होइन, कर्णाली प्रदेशमा पनि अवस्था उस्तै छ । तर बजेट वक्तव्य हेर्दा कर्णालीले शीर्षकका आधारमा अंक खुलाएर बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेशले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रकम विनियोजन गरेको हो । उसो त कर्णालीले पनि एकमुष्ट स्वास्थ्य क्षेत्रमा बजेट छुट्याइएको पाइँदैन । कर्णालीले ‘गुणस्तरीय सेवा दीर्घ जीवनका लागि टेवा’ नारा सहित कार्यक्रम ल्याएको छ । जसअन्तर्गत प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गरिने उल्लेख छ । यस्तै, अस्पतालको छुट्टै ओपीडी ब्लक निर्माणका लागि १० करोड ५० लाख विनियोजन गरेको छ । दीर्घरोग पीडितको उपचारका लागि १ करोड विनियोजन गर्ने उल्लेख छ भने भूकम्पबाट क्षतिग्रस्त भएका सामुदायिक अस्पताल र अस्पताल पुनःनिर्माणका लागि ४२ करोड १० लाख, विनियोजन गरेको छ । यसरी विभिन्न शीर्षकमा केही बजेट छुट्याएपनि स्वास्थ्य क्षेत्रका लागि ठ्याक्कै यति प्रतिशत अथवा यति रकम भनेर विनियोजन गरेको छैन। लुम्बिनी प्रदेशको ४ अर्ब ९५ करोड सुदूर र कर्णालीभन्दा अन्य प्रदेशले स्वास्थ्य क्षेत्रमा यकिन रकम विनियोजन गरेका छन् । लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षको लागि विनियोजन गरेको ३८ अर्ब ९१ करोड बजेटमा स्वास्थ्य क्षेत्रमा ४ अर्ब ९५ करोड विनियोजन गरेको छ । जसमा निःशुल्क वितरण गरिने औषधीका लागि ३ करोड र उपकरणका लागि १२ करोड बजेट छुट्याएको छ । सुरक्षित मातृत्व अभियान अन्तर्गत निःशुल्क हावाइ उद्धार कार्यक्रमका लागि १० करोड, मानसिक स्वास्थ्यमा सुधार, स्वस्थ्य जीवनको आधार भन्ने नाराका साथ बढ्दो मानसिक स्वास्थ्य समस्या रोकथामका लागि २ करोड, मुटुको भल्ब प्रत्यारोपण, मिर्गौला प्रत्यारोपण, क्यान्सर रोगको सहुलियतलाई निरन्तरता दिन १० करोड विनियोजन गरिएको छ भने राप्ती प्रादेशिक अस्पतालको स्तरोन्नतिका लागि ५ करोड, निर्माणाधीन स्वास्थ्य कार्यालय प्युठान, रुकुमपूर्व अस्पताल, ट्रमा सेन्टर लमहीको लागि ८ करोड, पोषण विशेष कार्यक्रम सञ्चालनका लागि ८ करोड, प्रादेशिक आयुर्वेद, लुम्बिनी आयुवेर्दकलाई स्तोरोन्नतिका लागि तीन करोड विनियोजन गरेको छ यस्तै नसर्ने रोग न्यूनीकरणका लागि ४ करोड, लुम्बिनी प्रादेशिक अस्पताल निर्माणका लागि १ अर्ब वितरण गरेको छ । बागमती प्रदेशमा ३ अर्ब ९६ करोड ८८ लाख बागमती प्रदेशले आगामी आर्थिक वर्षको लागि स्वास्थ्य क्षेत्रमा ३ अर्ब ९६ करोड ८८ लाख बजेट विनियोजन गरेको छ । कुल ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट ल्याउँदा स्वास्थ्यमा भने जम्मा ३ अर्ब ९६ करोड ८८ लाख छुट्टाएको छ । प्रदेशले ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी– एक घण्टा, मेरा लागि’ अभियान सञ्चालन गरी मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ । सबै नीतिमा स्वास्थ्य, एक जिल्ला एक स्वस्थ शहर, एक स्थानीय तह, एक नमुना स्वास्थ्य संस्था कृषि कार्यक्रमलाई प्राथमिकता दिएको छ । यस्तै, एक विद्यालय, एक नर्स कार्यक्रमलाई निरन्तरता दिन ४२ करोड बजेट विनियोजन गरेको छ । यस्तै, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमलाई स्थानीय तहको सहकार्यमा समुदायस्तर सम्म विस्तार गर्ने, स्तन क्यान्सर मुखको क्यान्सर लगायत विभिन्न खालका क्यान्सरलाई भएकाहरूलाई थप सहुलियतका लागि १५ करोड, स्थानीय तहका बर्थिङ सेन्टरलाई सबलीकरण गर्न र प्रादेशिक अस्पतालमा मातृ तथा नवशिशु स्वास्थ्य सेवा सुदृढिकरणको लागि १० करोड, आयुर्वेद तथा वैकल्पिक चिकित्सालयहरूबाट विशेषज्ञ आयुर्वेदसेवाको विस्तार गर्दै मकवानपुर, धादिङ, नुवाकोट जिल्लामा अन्तरंग सेवा प्रदान गर्न ४ करोड, अपांगता भएका व्यक्ति र महिला स्वंयसेविकाहरूको बीमालाई निरन्तरता दिन ११ करोड, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि ३५ करोड, प्रदेश औषधी केन्द्र स्थापना गर्न र प्रादेशिक अस्पतालहरूमा विशेषज्ञ तथा विशिष्टीकृत आँखा र रोबोटिक्स शल्यक्रियाका लागि १० करोड छुट्याएको छ । मधेश प्रदेश ७ वटा प्रदेशमध्ये स्वास्थ्य क्षेत्रमा सबैभन्दा बढी रकम मधेश प्रदेशले विनियोजन गरेको छ । आगामी आर्थिक वर्षका लागि मधेश प्रदेश सरकारले ल्याएको कुल ४६ अर्ब ५८ करोड बराबरको बजेट मध्ये ले ६ अर्ब ४५ करोड ६१ लाख रकम स्वास्थ्य क्षेत्रका लागि विनियोजन गरेको हो । अन्य प्रदेशले ३ अर्ब वरिपरी बजेट ल्याउँदा मधेशले ६ अर्ब बढी स्वास्थ्यका लागि छुट्याएको हो । गण्डकी प्रदेश गण्डकी प्रदेशले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य मन्त्रालयलाई ३ अर्ब ३२ करोड ७० लाख ४० हजार विनियोजन गरेको छ । कुल ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार विनियोजन गर्दा स्वास्थ्य क्षेत्रमा ३ अर्ब ३२ करोड ७० लाख ४० हजार विनियोजन गरेको हो । कोशी प्रदेश कोशी प्रदेशले कुल ३५ अर्ब ८७ करोड ९९ लाख रकमको बजेट ल्याउँदा स्वास्थ्य क्षेत्रमा ३ अर्ब ५१ करोड ७१ लाख रकम छुट्याएको छ । आकस्मिक अवस्थामा आवश्यक पर्ने बफर स्टक तथा निःशुल्क वितरण गर्ने औषधी खरिदका लागि ३ करोड ६१ लाख, खोटाङमा जडिबुटी तथा प्रशोधन केन्द्र स्थापना तथा प्रशोधन स्थापनाका लागि ३ करोड, प्रदेश जनस्वास्थ्य प्रगोशालालाई रेफरल ल्याबको रूपमा विकास गरी अनुसन्धानमुलक काम गर्न ३ करोड १० लाख छुट्याएको छ । प्रदेशले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख र पुँजीगत तर्फ १७ अर्ब १० करोड विनियोजन गरेका छन् । विज्ञहरू भने प्रदेशको मात्र नभइ समग्र स्वास्थ क्षेत्रमै बजेट कमजोर आएको बताउँछन् । केन्द्रले नै स्वास्थ्यलाई १० प्रतिशत बजेट छुट्याउन नसकेको अवस्थामा प्रदेशले झन् नछुट्टयाएको उनीहरू बताउँछन् । स्वास्थ्य क्षेत्रमा कुल बजेटको १० प्रतिशत बजेट विनियोजन गर्नुपर्ने भए पनि ४/५ प्रतिशतमात्र बजेट हरेक वर्ष विनियोजन हुन्छ । प्रदेश सरकारले गाउँठाउँमा डोजर चलाउने र सडक निर्माणलाई मात्र प्राथिमकता दिने गरेको बताउँदै विज्ञहरू स्वास्थ्य र शिक्षा जस्ता क्षेत्र जहिले उपेक्षामा पर्ने गरेको बताउँछन् । डा. अवस्थी केन्द्र, प्रदेश र स्थानीय तहले शिक्षा र स्वास्थ्यमा बढी जोड दिनु अहिलेको अवश्यकता रहेको बताउँछन् । चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्की नेपालमा जति प्रयास गर्दा पनि स्वास्थ्य क्षेत्रमा प्राथमिकतामा नपर्नु दुःखद भएको बताउँछन् । विश्व स्वास्थ्य संगठनका अनुसार कुल बजेटको कम्तीमा १० प्रतिशत बजेट स्वास्थ्यमा आवश्यक पर्छ तर नेपालमा ८/९ प्रतिशतसम्म बजेट विनियोजन हुँदैन ।
बालेन शैली अपनाउँदा मृत्युको मुखमा पुर्याइयो, स्वास्थ्यमन्त्रीसम्मको ‘नेक्सस’
काठमाडौं । नेपाली युवाहरूको एउटै गुनासो छ- ‘नेपालमा गरिखान गाह्रो छ’ । हरेक क्षेत्रमा राजनीति, भ्रष्टाचार र राम्रो गर्नेहरूको खुट्टा तान्ने प्रवृत्तिले युवाहरूको रोजाइ नै परदेश हुन थालेको छ । सोमबार सामाजिक सञ्जालमा अलबिदा लेख्दै आत्महत्या गर्ने योजनामा पुगेका चिकित्सक डा. केशव श्रेष्ठको हकमा पनि ठ्याक्कै यही घटना दोहोरियो । प्रहरीले उनलाई मृत्युबाट जोगाए पनि यो घटनाले नेपालमा सुशासनको जग बसाल्न कति चुनौती खेप्नुपर्छ भन्ने देखाएको छ । जिल्ला अस्पताल, रामेछापमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट चिकित्सक श्रेष्ठले आफू राम्रो गर्न खोज्दा कर्मचारी, प्रदेश स्वास्थ्य मन्त्रालयलगायत विभिन्न ठाउँबाट दबाब खेप्नुपरेको भन्दै आत्महत्या गर्न बाध्य बनाएको लामो स्टाटस लेखे । परिवारलाई सम्बोधन गर्दै लेखिएको स्टाटसले सोमबार दिनभर सामाजिक सञ्जाल तात्यो । केही गर्न खोज्नेहरूलाई राजनीतिक तहमा समस्या सिर्जना हुने काम सिर्जित हुने गरेको भन्दै व्यापक आलोचना पनि भयो । प्रहरीले समयमै सूचना पाउँदा चिकित्सकको ज्यान जोगिए पनि यो घटनाले ठूलो प्रश्न खडा गरेको छ । एउटा सामान्य कर्मचारीले राजनीति र सरकारबाटै कति कष्ट सहनुपर्छ भन्ने कुरूप अनुहार छर्लंग भएको छ । चिकित्सकहरूलाई नै यस्तो अवस्थामा ल्याउनेविरुद्ध कडा कारवाही गर्नुपर्ने माग सर्वसाधारणदेखि चिकित्सकहरूबाट उठेको छ । ड्युटीमा कडाइ गर्दाकाे परिणाम नेपालमै केही गर्नुपर्छ भन्ने हुटहुटी भएका २५ वर्षका चिकित्सक श्रेष्ठले जिल्ला अस्पताल, रामेछापमा २५ महिना सेवा गरे । यो अवधिमा उनले १८ महिना अस्पतालको निमित्त सुपरिटेन्डेन्ट भएर काम गरे । करारको जागिर हुँदै नेपाल प्रहरी र बागमती प्रदेशको लोकसेवाबाट नाम निकालेर यो पेशामा प्रवेश गरेका श्रेष्ठको स्वभाव बालेनशैलीको रहेको उनलाई चिन्नेहरू बताउँछन् । उनलाई नजिकबाट चिन्ने एक चिकित्सक केशवमा बालेन शैलीको स्वभाव रहेको बताउँछन् । ‘उनी आफू पनि काम गर्ने र आफ्नो टिमलाई पनि गर्नुपर्छ भन्ने स्वभावका थिए, ती चिकित्सक भन्छन्, ‘केही गर्नुपर्छ, नराम्रो गर्न हुँदैन भन्नेलाई नेपालमा गर्न नदिइने रहेछ, बालेनलाई पनि त्यस्तै छ, उनलाई पनि त्यस्तै असहयोग भयो ।’ चिकित्सकलाई नै यो अवस्थामा पुर्याउने नेपालको राजनीतिक अराजकताले युवाहरू स्वदेशमा बस्ने वातावरण नरहेको उनी बताउँछन् । रामेछापका स्थानीय पनि १८ महिनाको अवधिमा श्रेष्ठले राम्रो कामको प्रयास गरेको बताउँछन् । नामको मात्र अस्पताल रहेको जिल्ला अस्पताललाई साँच्चिकै अस्पताल बनाउन श्रेष्ठको ठूलो हात रहेको उनी बताउँछन् । अर्का एक स्थानीय पनि श्रेष्ठले जिल्ला अस्पतालमा एउटा सिस्टम बसालेको बताउँछन् । नाम नबताउने सर्तमा उनले भने, ‘श्रेष्ठको नेतृत्वमा अस्पताल चल्दा राम्रा काम भइरहेका थिए । थिति बसाल्न खोज्दा अप्ठ्यारो अवस्थामा पुर्याइयो ।’ लथालिंग अवस्थामा रहेको जिल्ला अस्पताललाई व्यवस्थित् बनाउने योजनाका साथ नेतृत्व तहमा पुगेका श्रेष्ठलाई अन्ततः त्यहीका राजनीतिक दलका नेता तथा कार्यकर्ताले आत्महत्या गर्नेसम्मको अवस्थामा पु¥याएको उनी बताउँछन् । उनले सेवाग्राहीलाई अस्पतालमा पाइने सबै सेवा समयमै उपलब्ध गराउने कडा नियमपछि अस्पताल भित्रैका कर्मचारी र बाहिरका राजनीतिक दलका कार्यकर्ताहरूकै दबाबले यस्तो अवस्था आएको अर्का स्थानीय बताउँछन् । भन्छन्, ‘भर्खरको युवा केही गर्नुपर्छ भन्ने हुटहुटी भएका श्रेष्ठले त्यहीअनुसार नियम कडा पारे तर यहाँका कर्मचारीलाई मन परेन । दबाबमा सरुवा गर्नेदेखि यस्तै गतिविधि सुरु भए ।’ डा. श्रेष्ठले नेतृत्व गरिसकेपछि प्रत्येक महिनाको अन्तिम साता काठमाडौंबाट विशेषज्ञ चिकित्सकहरू बोलाएर निःशुल्क जाँच गर्नुका साथै अस्पतालमा नियमित स्वास्थ्य शिविर सुरु गरेका थिए । जिल्ला अस्पताललाई प्रदेश अस्पताल बनाउन पनि उनको ठूलो हात छ । पहिले १५ बेडमा रहेको अस्पताललाई उनले ५० बेडसम्मको बनाएका छन् भने उनकै पहलमा २ बेड आईसीयू पनि जिल्ला अस्पतालमा सञ्चालनमा आएको छ । ती स्थानीय भन्छन्, ‘कर्मचारी राजनीतिक शक्तिबाट आएका हुन्छन्, उनी आएपछि सबैलाई काममा लगाए, ड्युटी कडा बनाए । घाम तापेर दिन बिताउने गरेकाहरूलाई यो पचेन अनि कर्मचारीको असन्तुष्टि बढ्यो ।’ यो बीचमा पनि श्रेष्ठलाई सुरुवा गर्न निकै चलखेल भयो । श्रेष्ठले आफ्नो अस्पतालका कर्मचारीदेखि प्रदेश स्वास्थ्य मन्त्रालयले काममा हस्तक्षेप गरेको स्टाट्समा लेखेका छन् । उनले सेवाग्राहीलाई अस्पतालमा पाइने सबै सेवा समयमै उपलब्ध गराउने कडा नियमपछि अस्पताल भित्रैका कर्मचारी र बाहिरका राजनीतिक दलका कार्यकर्ताहरूकै दबाबले यस्तो अवस्था आएको अर्का स्थानीय बताउँछन् । मन्त्रालयमा उजुरी अस्पतालभित्र भइरहेको किचलो तब बाहिर आयो जब करारका ५ जना स्वास्थ्यकर्मीले स्वास्थ्य मन्त्रालयमा उजुरी दिए । उनीहरू अस्पतालमा प्रमुखको कारण बस्न, खानदेखि काम गर्न समस्या भएपछि मन्त्रालयले कदम अगाडि बढाएको मन्त्रालयले जनाएको छ । यो विषयमा बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. खगेश्वर गेलाल भने जिल्ला अस्पतालबाट उजुरी परेपछि दुवै पक्षलाई बोलाएर छलफल गरेको बताउँछन् । उनी भन्छन्, ‘हामीलाई काम गर्न मात्र होइन, बस्न खान पनि समस्या आयो भनेर कर्मचारीले गुनासो गरेपछि सरुवा गरेका हौं । तर, उहाँले आत्महत्या नै गर्नुपर्ने अवस्थासम्म हामीले चोट पुग्ने काम गरेका छैनौं ।’ स्वास्थ्य मन्त्रालयले यो विषयमा छानबिन गर्न समिति नै बनाएको थियो । छानबिन समितिले छानबिन गरिरहँदा श्रेष्ठको सरुवा भएको थियो । समितिका संयोजक डा. सञ्जु राय स-साना कुराहरूलाई व्यवस्थापन गर्न नसक्दा अवस्था यहाँसम्म पुगेको पाइएको बताउँछिन् । ‘स-सानो कुरामा विवाद भएको पाइयो, भान्छा कोठामा खाना पकाएर खान नदिने, काम गर्ने वातावरण पनि राम्रो नभएको कर्मचारीको भनाइ थियो । हेर्दा सामान्य लाग्ने कुरा नै जटिल रूपमा आउँदा समस्या भएको हो,’ उनले भनिन् । यो विषयमा हामीले रामेछाप नगरपालिकाका मेयर लवश्री न्यौपानेसँग पनि बुझेका छौं । उनले कसैले आत्महत्या गर्न खोज्दैछ भने त्यसपछि आफूहरूले नजाने धारणा राखे । उनी एक ठाउँबाट अर्को ठाउँमा सरुवा गर्यो भन्दैमा सुसाइड नोट लेखी आत्महत्या गर्न जानु हास्यास्पद भएको बताउँछन् । ‘एउटा कर्मचारी सरुवा भएर जाँदा आकाश खसेको जस्तो गरेका छन्, सुसाइड गर्न हिँड्या छन् रे, कता होटेलमा मासुभात खाएर बसेका छन् रे भन्ने सुनियो, तर त्यस्तो होइन । त्यस्तो हो भने के हामी राजनीतिकर्मी चुनाव हार्यौं भनेर सुसाइड गर्दै हिँड्ने हो त ?’ उनले प्रश्न गर्दै भने । उनी डा. श्रेष्ठको व्यवस्थापकीय कमजोरी रहेको दाबी गर्छन् । न्यौपाने कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् भने स्वास्थ्यमन्त्री प्रदीप पौडेलको जेठान समेत हुन् । डा. श्रेष्ठले दुःख दिए भनेर उल्लेख गरिएका केदार कार्की रामेछाप नगरपालिका वडा न ८ का पूर्ववडाध्यक्ष हुन् । उनी पनि नेपाली कांग्रेसका नेता रहेको बुझिएको छ । सम्बन्धित सामग्री बालाजुमा सकुशल भेटिए डा. केशव श्रेष्ठ, प्रहरीको निगरानीमा फेसबुकमा ‘अलबिदा’ लेख्दै चिकित्सक बेपत्ता, सचिवदेखि मन्त्रीसम्म मुछिए
स्वास्थ्य हब बन्ने बाटोमा नेपाल, जटिल शल्यक्रिया स्वदेशमै सम्भव
काठमाडौं । केही वर्ष अगाडि नेपालीका धेरै अस्पतालमा विशिष्टिकृत उपचार पाउन सक्ने अवस्था थिएन । पैसा हुनेहरू छिमेकी देश भारत लगायत सुविधा सम्पन्न देशहरूमा उपचार गराउँथे । तर, अहिले अवस्था फेरिएको छ। एउटा व्यक्तिको अङ्ग झिकेर अर्को व्यक्तिमा जोड्ने प्रत्यारोपणको काम नेपाली चिकित्सक र स्वास्थ्य संस्थाले गरिरहेका छन् । पछिल्लो समय नेपालका सरकारी अस्पतालदेखि निजी अस्पतालले मिर्गौला, कलेजो लगायतका अङ्ग प्रत्यारोपणमा मात्र नभइ समग्र स्वास्थ्य सेवामा राम्रो फड्को मारिरहेका छन् । अझ निजी अस्पतालमा अन्तर्राष्ट्रिय स्तरका सेवा पनि उपलब्ध गराउँदा विदेशीहरू पनि उपचारका लागि नेपाल आउने गरेका छन् । कलेजो प्रत्यारोपणमा मेडिसिटी नेपालीहरूको कलेजो खराब हुने क्रम अहिले रफ्तारमा बढेको छ । पछिल्ला दिनहरूमा मोटोपन, बदलिँदो जीवनशैलीका कारण पनि कलेजो खराब हुँदै गइरहेको चिकित्सकहरू बताउँछन् । करिब एक दशक अगाडिको नेपालको स्वास्थ्यलाई हेर्ने हो भने कलेजो खराब हुँदा पनि फेर्न नेपालीहरूले भारत आइपुग्नुपर्थ्याे । नेपालमा सम्भव थिएन । अझ पैसा भएकाहरू ठूला ठूला देशसम्म पुग्थे । अहिले नेपालमै सरकारीदेखि निजी अस्पतालले कलेजो प्रत्यारोपण गरिरहेका छन् । नेपालमै अन्तर्राष्ट्रिय स्तरको सेवा दिइरहेको नेपाल मेडिसिटी अस्पतालले ६ वर्षको प्रयासपछि कलेजो सफल प्रत्यारोपण गरेको छ । ललितपुरको भैंसेपाटीमा अवस्थित यो अस्पतालले ६ वर्ष पहिले स्वास्थ्य सेवा विभागमा अनुमति माग गरेको अस्पतालले एक वर्षपछि मान्यता पाएको थियो । त्यसपछिको प्रयासका बाबजुद जेठ ८ गते सफल कलेजो प्रत्यारोपण गरेको अस्पतालले जनाएको छ । अस्पतालका हेपाटोसर्जन डा. रामबाबु शाह, हेपाटोलोजिष्ट डा. उमिद श्रेष्ठ सहितको टोलीले पोखराका ५६ वर्षका ईश्वर कार्कीको सफल प्रत्यारोपण गरेको हो । कार्कीलाई उनका २६ वर्षका छोरा आयुष कार्कीले कलेजो दान गरेका थिए । पहिलो पटक कलेजो प्रत्यारोपण सफल गरेको अस्पतालले यो कार्यलाई निरन्तरता दिने बताएको छ । अस्पतालका अध्यक्ष उपेन्द्र महतोले नेपाललाई स्वास्थ्यको हब बनाउने घोषणा गर्दै विदेशी नागरिकलाई पनि स्वदेशमा उपचार गर्न आउने अवस्था निर्माणका लागि लागेको बताए । ‘हामी नेपालीलाई मात्र होइन, विदेशी नागरिकलाई पनि नेपालमा उपचार गर्न आउने वातावरण सिर्जनाका लागि लागिरहेका छौं, नेपालको प्रकृति, वातावरण नै उत्कृष्ट छ यही उत्कृष्टतालाई आधार बनाएर नेपाललाई स्वास्थ्यको हब बनाउन सकिन्छ,’ उनले भने । उनका अनुसार अहिले मेडिसिटीमा विदेशीहरू पनि उपचार गर्न नेपाल आउने गरेका छन् । लिंग परिवर्तनमा शिक्षणको सफलता नेपालमै पहिलो पटक लिंग परिवर्तनको शल्यक्रिया पनि भर्खरै सफल भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जले लिंग परिवर्तन शल्यक्रिया सफल गरेको हो । अस्पतालले गत जेठ १३ गते ६ घण्टा लगाएर शल्यक्रिया सफल गरेको जानकारी गराएको थियो । जनकपुरका २५ वर्षका ट्रान्सजेन्डर पुरुषको यौनाङ्गलाई महिलाको यौनाङ्गमा सफल रूपमा परिवर्तन गर्न अस्पताल सफल भएको हो । जेठ १२ गतेदेखि १५ गतेसम्म चार दिन लगाए जेण्डर एफर्मिङ सर्जरी अर्थात् स्तन वृद्धि, स्त्री रूपमा परिवर्तन सफलता पूर्वक सम्पन्न गरेको अस्पतालले जनाएको छ । विदेशी प्लाष्टिक सर्जन डा. एलीरेजा हमिदियन जोरामीको नेतृत्वमा अस्पतालका प्लाष्टिक सर्जरी विभाग प्रमुख प्रा.डा. जयमान श्रेष्ठको टोलीले सबै शल्यक्रिया सफलताका साथ सम्पन्न गरेको हो । शिक्षण अस्पतालले जेण्डर एफर्मिङ क्लिनिक स्थापना गरेर चाहाना भएका ट्रान्स जेण्डर महिला र पुरुषको शल्यक्रिया गर्ने योजना बनाएको छ । यसले लिंग परिवर्तन गर्न चाहने ट्रान्स जेण्डर महिला र पुरुषलाई सहज बनेको छ । नेपाल ब्लु डाइमण्ड सोसाइटीले त्रिवि शिक्षण अस्पतालले गरेका सफल शल्यक्रियाले धेरै ट्रान्स जेण्डरलाई सहज हुने बताएको छ । अध्यक्ष युनिसा पाण्डे भन्छिन्, ‘हाम्रा धेरै साथीहरूले यसैको लागि विभिन्न देश धाउनुपर्थ्यो, पैसा पनि उत्तिकै खर्च हुन्थ्यो, शल्यक्रियासमेत उस्तै महँगो हुन्थ्यो, अब नेपालमै यो सेवा पाउँदा धेरै साथीहरूलाई राहत पुग्ने छ ।’ विश्वका अन्य मुलुक जस्तै नेपालमा पनि यौनिक अल्पसंख्यक समुदायको संख्या बढ्दै गएको छ । समाजको डरले लुकेर बसेकाहरू खुलेर आउन थालेसँगै आफ्नौ चाहनाअनुरुप आफूलाई चिनाउने प्रयासमा लिंग परिवर्तन गर्न थालेको धेरै भइसक्यो । नेपालमा अंग परिवर्तन नहुँदा करोड रुपैयाँसम्म खर्च गरेर उनीहरू विदेश जानुपर्ने बाध्यता थियो । तर अब नेपालमै अंग परिवर्तन गर्न सकिने भएको छ । छाला प्रत्यारोपणमा कीर्तिपुरको कीर्तिमानी नेपालमा अन्य अंगजस्तै छाला प्रत्यारोपण पनि गरिन्छ । कीर्तिपुर अस्पतालले १२ वर्ष अगाडिदेखि नै छाला बैंक स्थापना गरे छाला प्रत्यारोपण गर्न सुरु गरेको हो । गहिरो जलनमा परेका बिरामीलाई छालाको आवश्यकता पर्ने भएकाले छाला प्रत्यारोपण सुरु गरिएको हो । जलनका बिरामीहरूका लागि सहजता होस् भन्ने उद्देश्यले कीर्तिपुर बर्न अस्पतालले सन् २०१४ मा अस्पतालमा छाला बैंक स्थापना गरेको थियो । जीवित र मरिसकेका व्यक्तिको छाला लिएर आवश्यकता भएका व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ । जीवित व्यक्तिबाट छाला लिन समस्या हुने भएकाले मरणपश्चात दान गरिएको छाला जलनबाट ग्रसित व्यक्तिमा प्रत्यारोपण गरिन्छ । यसको लागि कुनै व्यक्तिको मृत्यु भएको ६ घण्टा भित्र र फ्रिजमा भए १२ घण्टाभित्र छाला झिकि सक्नुपर्ने हुन्छ । तर नेपालमा व्यक्तिको मरणपश्चात पनि छाला दान गर्नेहरूको संख्या निकै कमी भएको अस्पतालले जनाएको छ । छाला दानमा परिवार आफन्त नै हिचकिचाहट गर्ने गरेको चिकित्सकहरू बताउँछन् । मिर्गौला प्रत्यारोपण नेपालका सबै अंग प्रत्यारोपणमध्ये सबैभन्दा पहिले सुरु भएको हो- मिर्गौला प्रत्यारोपण । नेपालमा २०६४ सालमा सबैभन्दा पहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्रत्यारोपण सुरु भएको थियो । हाल धेरै सरकार र निजी अस्पतालमा मिर्गौला प्रत्यारोपण हुँदै आएको छ । संख्याको हिसाबले शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भक्तपुर सबैभन्दा बढी मिर्गौला प्रत्यारोपण गरिएको छ भने अन्य निजी अस्पतालमा पनि प्रत्यारोपण गरिन्छ । चालु आर्थिक वर्ष २०८१/०८२ मा १ सय ५३ जना बिरामीको मिर्गौला प्रत्यारोपण गरिएको छ भने ५ जनाको कलेजो प्रत्यारोपण गरिएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा ३ सय १० जना बिरामीको मिर्गौला प्रत्यारोपण र २० जना बिरामीको कलेजो प्रत्यारोपण गरिएको थियो । बोनम्यारो प्रत्यारोपण नेपालमा बोनम्यारो प्रत्यारोपण सुरु भएको पनि केही वर्ष भइसकेको छ । सन् २०१२ मा सिनामंगलमा रहेको नोबेल अस्पतालले पहिलो पटक बोनम्यारो प्रत्यारोपण गरेको थियो । बोनम्यारो भनेको हड्डीभित्रको नरम स्पञ्जी तन्तु हो । जसले रक्तकोषहरू उत्पादन गर्छ । रातो बोनम्यारो र पहेंलो बोनम्यारो गरी यो दुई किसिमको हुन्छ । यी कोषहरूले काम गर्न छोडेपछि व्यक्तिको शरीरमा रगत उत्पादन बन्द हुन्छ । यसको प्रत्यारोपण गर्दा रक्त बनाउने कोषहरू एक व्यक्तिबाट अर्को व्यक्तिमा सारिन्छ । अहिले नेपालमा सिभिल अस्पताल लगायतका विभिन्न अस्पतालबाट यो सेवा सुरु छ । प्रविधिमा पनि फड्को अंग प्रत्यारोपणमात्र होइन अन्य विभिन्न स्वास्थ्य उपचारमा समेत नेपालले फड्को मारेको छ । अत्याधुनिक उपकरण औजार सामग्रीहरू पनि नेपालका निजी र सरकारी अस्पतालमा उपलब्ध छन् । पहिले बिरामीलाई कुनै पनि दुखाइ कम गर्ने औषधीको प्रयोग बिना शल्यक्रिया गरिन्थ्यो भने अहिले दुखाइ बिना नै ठूलो घाउ समेत नबनाइ शल्यक्रिया गरिन्छ । नाइलनको डोरीले बोरा सिलाएजस्तो अप्रेशन गर्नुपर्ने अवस्थाबाट दुरविनको सहायताले अप्रेसन गर्नुपर्ने अवस्थामा स्वास्थ्य क्षेत्र पुगेको उनी वीर अस्पतालको न्यूरो सर्जरी विभागमा कन्सलटेन्ट सर्जन डा. सुशीलमोहन भट्टराई बताउँछन् । उनी कोरोना कालपछि नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन आएको बताउँछन् । उनी भन्छन्, ‘धेरै लामो समय भएको छैन, छोटो समयमा नेपालको स्वास्थ्य क्षेत्रले चमत्कारिक उपलब्धि हासिल गरेको छ, अब कुनै पनि रोगको उपचारका लागि विदेश जानुपर्ने अवस्था छैन ।’ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. स्वराज राजभण्डारी पनि समयसँगै स्वास्थ्य सेवाले अपत्यारिलो फड्को मारेको बताउँछिन् । चिकित्सकको संख्या पनि बढ्दो उपचारमा मात्र होइन, पछिल्लो समय चिकित्सक, विशेषज्ञहरूको संख्या समेत बढेको छ । ४० वर्ष अघि औंलामा गन्न सकिने प्रसूति रोग विशेषज्ञको संख्या अहिले निकै बढेको छ । नेपालभर ८ सयभन्दा बढी स्त्री तथा प्रसूति रोग विशेषज्ञहरू मात्र छन् । यत्तिकै संख्यामा अन्य क्षेत्रमा पनि चिकित्सक, नर्स, एएनएमहरूको संख्या पनि बढेको छ । २०८१ फागुनसम्म नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद, नेपाल आयुर्वेद मेडिकल परिषद, नेपाल फार्मेसी परिषद लगायतका निकायमा दर्ता भएका स्वास्थ्यकर्मीको सङ्ख्या ३ लाख ६६ हजार ५ सय ५ पुगेको छ । २०८१ फागुनसम्म यो सङ्ख्या ३ लाख २२ हजार २ सय ५४ रहेको थियो भने ३२ हजार २ सय ४७ मेडिकल चिकित्सक, ५ हजार ३ सय ४७ दन्त चिकित्सक, ११ हजार ६ सय १६ विशेषज्ञ चिकित्सक र ३ सय ९५ विदेशी चिकित्सक गरी कुल ११ हजार ६ सय १६ चिकित्सक नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका छन् । नर्सिङ काउन्सिलमा १ हजार ६९५ विशेषज्ञ नर्स, ८५ हजार ७ सय ७८ नर्स, ३७ हजार ५ सय २८ अनमी ९१ मिडवाईफ र ८ सय ५५ विदेशी नर्स समेत गरी १ लाख २५ हजार ९ सय ४७ नर्स दर्ता भएका छन् भने नेपाल स्वास्थ्य व्यवसायी परिषदमा कुल १ लाख ६२ हजार ४ सय ९२ स्वास्थ्यकर्मी दर्ता भएका छन् । नेपाल आयुर्वेद मेडिकल परिषद्मा ६५४२ र नेपाल फार्मेसी परिषदमा २१ हजार ९ सय ३७ स्वास्थ्यकर्मी दर्ता भएका छन् । पूर्वाधार विकासमा फड्को नेपाल भित्रैको कुरा गर्ने हो भने पनि केही वर्ष पहिलेसम्म काठमाडौं, पोखरा लगायतका ठूल-ठूला सहरहरूमा मात्र अस्पतालहरू केन्द्रित थिए । तर आजभोलि हरेक जिल्लामा ठूला अस्पतालहरू सञ्चालनमा आएका छन् । स्थानीय तहमा आवश्यकताअनुसार ५ शैया, १० शैया र १५ शैयाको आधारभूत अस्पताल निर्माण गर्ने नीति अनुरूप २०८१ फागुनसम्म १ सय १३ स्थानीय तहमा अस्पताल निर्माण गर्ने कार्य भएको देखिन्छ । यसैगरी, ३ सय १६ स्थानीय तहमा अस्पताल निर्माण कार्य भइरहेको छ । साथै, सहरी विकास तथा भवन निर्माण विभागबाट निर्माण गरिने एक सय १९ स्वास्थ्य संस्था मध्ये १३ को निर्माण कार्य सम्पन्न भएको छ । विज्ञहरू नेपालमा अन्य क्षेत्रमध्ये सबैभन्दा विकासको गति लिएको क्षेत्र स्वास्थ्य भएको बताउँछन् । २०४७ साल पछि अहिलेसम्म हेर्ने हो भने स्वास्थ्य क्षेत्रले निकै फड्को मारेको उनीहरूको भनाइ छ । स्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनी भन्छन्, ‘अहिले सबैभन्दा प्रगति केमा भएको छ भनेर कसैले सोध्दा म स्वास्थ्य क्षेत्रमा भन्छु, अंग प्रत्यारोपणदेखि जटिल रोगको उपचार पनि नेपालमै सम्भव हुनु सकारात्मक मात्र होइन निकै राम्रो हो ।’ नेपालीको औषत आयु ७२ वर्ष पुगेको छ । मातृ मृत्युदर पनि ५ सय ३९ बाट घटेर अहिले १ सय ५० मा पुगेको छ । बाल मृत्युदर पनि घटेको छ । यी गतिविधिले स्वास्थ्य क्षेत्रले राम्रो काम गरिरहेको डा. मरासिनी बताउँछन् । तर अहिलेसम्म पनि कुपोषण भने घटाउन नसकेको उनको भनाइ छ । उनका अनुसार अहिले पनि पाँच वर्ष भन्दामुनिको तीन बच्चामध्ये एक बच्चा कुपोषित रहेको पाइन्छ । अंग प्रत्यारोपणमा कानुन आवश्यक स्वास्थ्य क्षेत्रमा नेपालले मारेको फड्को राम्रो भएपनि अझै कानुनी जटिलता हुँदा भने जोखिम देखिने डा. मरासिनी बताउँछन् । २०५६ मा बनेको अंग प्रत्यारोपण ऐनले अंग प्रत्यारोपण गरेको २ वर्षभित्र त्यो व्यक्तिको मृत्यु भएमा सर्जनलाई जन्मकैद गर्ने भन्ने उल्लेख थियो तर त्यो लागू भएन । दोस्रो शंसोधनबाट यो कुरा कानुनबाट हटाइयो । त्यसपछि नेपाल कलेजो प्रत्यारोपण सुरु भएको हो । मिर्गौला र कलेजोको कुरा कानुनमा भएपनि लिंग परिवर्तन, टेस्टट्युब बेवी लगायतका विषयमा स्पष्ट कानुन छैन । कानुन नबन्दा भविष्यमा जोखिम आउन सक्ने भन्दै चिकित्सकले ठूलो चुनौती खेप्नुपर्ने अवस्था आउन सक्ने उनी बताउँछन् । ‘टिचिङले लिंग परिर्वतन गर्न सक्यो, विभिन्न आइभीएफ केन्द्र छन् तिनले टेस्टट्युब बेवी बनाइरहेका छन्, सरोगेसी आमा बन्ने कुराहरू पनि छन् यसमा स्पष्ट कानुन हुनुपर्छ,’ उनले भने । यो गर्न हुन्छ कि हुँदैन कहाँबाट अनुमति लिइयो, कुन कानुनले त्यसलाई अनुमति दियो भन्ने कुरा आउँछ । चिकित्सकले राम्रो काम गर्यो तर, भोलि कानुनी रुपमा उनीहरू फस्न सक्ने सम्भावना आउन सक्छ,’ डा. मरासिनीले थपे । उनी अस्पताल ऐनको पनि जरुरी रहेको बताउँछन् ।
स्वास्थ्यकर्मीको व्यवहारले थप बिरामी बन्छन् बिरामी
काठमाडौं । दाङकी गोमती गाह मगर बहिनीको उपचारको लागि पाटन अस्पताल पुगिन् । दुई घण्टा लामो लाइन बसेर बल्ल टिकट पाइन् । त्यसपछि उनी चिकित्सकलाई भेट्न गइन् । त्यहाँ पनि लाइन उस्तै थियो । चिकित्सकलाई भेटिसकेपछि उनले बहिनीको समस्याबारे सबै कुरा बताइन् । समस्या अनुसार चिकित्सकले रगत जाँच अल्ट्रासाउण्ड गरेर आउन सल्लाह दिए । प्रायः सरकारी अस्पतालमा उपचार गर्नेहरूको सबैभन्दा ठूलो सास्ती नै लाइनमा बस्नु हो । यो स्वाभाविक पनि हो । किनकि जतिधेरै सेवाग्राहीको भीड हुन्छ त्यति अस्पतालको लाइनमा बस्नुपर्छ । २ घण्टा टिकटको लाइनमा, एक घण्टा चिकित्सक भेट्ने लाइनमा समय बिताइसकेकी गोमतीलाई झण्डै पौने घण्टा फेरि काउण्टरको लाइनमा उभिनुपर्ने भयो । ‘लाइनमा बस्नु त स्वाभाविक नै हो तर कर्मचारी नर्सहरूको बोली व्यवहार फिटिक्कै भएन,’ उनी भन्छिन्, ‘बिरामीले थाहा नपाएको कुरा बुझाइ दिनुपर्ने कर्तव्य, कर्मचारी, नर्स अनि चिकित्सक सबैको होला, तर अस्पतालमा दुई पटक भन्दा बढी सोध्दा कर्मचारी झर्को मान्छन् ।’ थाह नपाएको कुरा सोध्दासमेत नसुनेजस्तो गर्ने, झर्केर बोल्ने प्रवृत्तिले पीडा माथि झन् पीडा थपिने गरेको उनले दुखेसो पोखिन् । अधिकांश सरकारी अस्पतालका आउने सेवाग्राहीको गुनासो गोमतीको जस्तै छ । अस्पतालका नर्स, चिकित्सक लगायतको बोली व्यवहार भएन भन्ने गुनासो अहिले मात्र होइन, धेरै पहिलेदेखि उठ्दै आएको हो । तर अस्पताल प्रशासनले यो कुरामा खासै ध्यान दिएको पाइँदैन। केही दिनअघि पाटन अस्पतालमा बहिनीकै उपचारका लागि एकजना पत्रकारको भोगाइ पनि उस्तै छ । उनी भन्छिन्, ‘नर्स तथा चिकित्सकहरूको व्यवहार रुखो छ, यसले त झन् बिरामीलाई थप पीडा दिन्छ । नजानेको कुरा सोध्दा पनि झर्किन्छन् ।’ दुई महिना अगाडिको कुरा हो- वीर अस्पतालमा छोराको उपचारका लागि पुगेकी एक महिला रुँदै सूचना अधिकारीको कक्षमा पुगिन् । उनले लाइनमा बस्दाखेरि अस्पतालकै कर्मचारीले आफूमाथि हातपात गर्न खोजेको बताइन् । सेवाग्राही र अस्पतालका कर्मचारीबीच बोलाबोल हुँदा हात हालाहालसम्मको अवस्था आएको थियो । अस्पतालका कर्मचारीले नै आफूमाथि यस्तो व्यवहार गरेपछि बिरामीले प्रशासनमा उनको नाममा उजुरी दिइन् । उजुरीका आधारमा उनलाई प्रशासनले सोधपुछ गरेर सम्झाइ छाड्यो । अस्पतालका सूचना अधिकारी सीताराम खड्का अस्पताल पुगेका बिरामीहरू यस्ता उजुरी लिएर धेरै आउने गरेको बताउँछन् । ‘हामीले कतिपय कर्मचारीलाई सम्झाइबुझाइ पनि गरेका छौं, कतिपयलाई कारबाही पनि गरेका छौं,’ खड्का भन्छन्, ‘कहिले कर्मचारीले गाली गर्यो, कहिले हाम्रो पालो मिचेर अर्कोलाई राख्यो भन्ने गुनासा दिएर दैनिक सेवाग्राहीहरूको गुनासो आइरहन्छ ।’ चिकित्सकको व्यवहार पनि उस्तै अस्पतालका कर्मचारी मात्र होइन, नर्स र चिकित्सकको बोली पनि उत्तिकै कठोर छ । चिकित्सकले बिरामीको प्रेस्क्रिप्सनमा लेखिएका अक्षर बिरामीले सितिमिति बुझ्दैनन् । एक पटक भनेको कुरा सबै बिरामीले बुझन सक्दैनन्, दोस्रो पटक सोध्न खोज्दा झनक्क झन्कने गरेको गुनासो पनि सेवाग्राहीको छ । सिन्धुलीकी एक महिला स्त्री तथा प्रसूतिरोग अस्पतालको आईभीएफ केन्द्रमा उपचारको लागि पुगेकी थिइन् । चेकजाँच सकिएपछि चिकित्सकले फेरि तीन दिनपछि आउनू भनेर पठाए । उनले कुनै समस्या देखियो भनेर सोध्दा चिकित्सिकले सबै नर्मल छ भने तर कार्डमा धेरै लामो कुरा लेखिदिए । उनलाई कागजमा केके लेखियो भनेर जान्ने इच्छा भयो । त्यसपछि उनले अस्पताल बाहिर रहेकी एकजना महिला चिकित्सकलाई सोधिन् । ती चिकित्सकले झर्किँदै ‘सबै कुरा बुझ्नै पर्छ भन्ने छ र ?’ भनिन् । उनको तितो बोली स्मरण गर्दै उनी भन्छिन्, ‘अस्पताल जाँदा शारीरिक बिरामीभन्दा स्वास्थ्यकर्मीको बोली र व्यवहारले ठूलो मानसिक पीडा पर्छ ।’ 'भाषा र व्यवहार पनि औषधी हो' बिरामीहरू रोग निको पार्न अस्पताल जान्छन् । अस्वस्थ शरीरले थाकेका बिरामीहरूलाई बोली र व्यवहारले ठूलो ऊर्जा दिन्छ । पूर्वमन्त्री एवं संस्कृतिविज्ञ कान्ता भट्टराई नेपालका अस्पतालमा उपचार गर्न गएका बिरामीहरू चिकित्सक नर्सको व्यहारले झन् बिरामी पर्ने गरेको बताउँछिन् । अन्य देशमा अस्पताल पुगेका बिरामी नर्स डाक्टरको बोली व्यवहारले मजबुत भएर आउँछन् तर यहाँ ठ्याक्कै उल्टो अवस्था रहेको उनी बताउँछिन् । ‘यो विषयमा ठूलो बहस छलफल गर्न आवश्यक छ,’ उनी भन्छिन्,‘ नेपालका सरकारी अस्पताल आफैमा लथालिंग छन्, त्यसमाथि कर्मचारी अनि स्वास्थ्यकर्मीको रुखो व्यवहार छ । अब उहाँहरूलाई बिरामीसँग कस्तो व्यवहार गर्ने, कसरी बोल्ने भन्ने विषयमा पनि सिकाउन आवश्यक छ ।’ चिकित्सकको एउटा मुस्कान र बोलीले पनि बिरामीको आधा रोग निको भएको अनुभव हुन्छ । जीवन मरणको दोसाँधमा रहेका बिरामी तथा आफन्त यस्तो बेला मानसिकरूपमा पनि उत्तिकै विछिप्त हुन्छन् । मनोविद सुकीर्ति देवकोटा ‘एकातिर के हुन्छ, कसो हुन्छ भन्ने डर, अर्कोतिर आर्थिक जोहो गर्नुपर्ने पीरले तनावमा हुने बताउँदै भन्छिन्, ‘यस्तो अवस्थामा चिकित्सक, नर्स वा कर्मचारीको रुखो बोलिले झन् दिकदार लाग्छ । शारीरिक समस्याभन्दा मानसिक समस्याले झन असर गर्ने भएकाले यस्ता कुरा सुधार गर्न आवश्यक देख्छु ।’ मानसिक पीडा शारीरिक जस्तो नदेखिएपनि यसले ठूलो असर पार्ने उनको भनाइ छ । ‘अस्पतालमा कर्मचारी झर्किँदा, नर्सले ठूलो स्वर गर्दा बिरामीलाई अस्पताल जान मन नलाग्ने, केही सोध्न पनि डर लाग्ने जस्ता मानसिक असर थपिन्छ जुन बिरामीहरूका लागि खतरनाक हो,’ उनले भनिन् । यस्ता खालका गुनासा सम्बन्धित निकायमा नपुगेको पनि होइन, दिनहुँ अस्पताल प्रशासनमा उजुरी समेत पर्छन् । स्वास्थ्य मन्त्रालय पनि यो विषयमा जानकार छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी कम जनशक्तिले धेरै बिरामीको हेरचाह गर्नुको परिणाम कहिलेकाँही यस्तो देखिने बताउँछन् । भन्छन्, ‘एकजना नर्सले ५/६ जना बिरामी हेर्नुपर्ने बाध्यता छ, एउटैले धेरैलाई हेर्नुपर्दा समयभन्दा धेरै खटिँदा देखिएको तनावको विष्फोटन बिरामीमाथि भएको हुनसक्छ ।’ नियमअनुसार जनरल वार्डमा एक नर्स बराबर ५ जना बिरामी हेर्नुपर्ने हो तर नेपालमा एकजना नर्सले १५/२० जनालाई हेर्नुपर्ने बाध्यता छ । चिकित्सकहरू पनि यो विषयमा दुई किसिमको धारणा राख्छन् । कतिपय असहमति जनाउँदै एकाध चिकित्सक नर्सहरूले गरेको व्यवहारलाई सबैसँग जोड्न नमिल्ने बताउँछन् भने कतिपय मान्छेको प्रवृत्ति फरक हुने भएकाले यस्ता समस्या हुन सक्ने बताउँछन् । वीर अस्पतालको न्यूरो विभागमा कार्यरत कन्सलटेन्ट न्यूरो सर्जन डा. सुशीलमोहन भट्टराई मान्छेको प्रवृत्तिअनुसार फरक-फरक चिकित्सक हुने बताउँछन् । ‘कोही नर्स यस्ता पनि हुन्छन्, जसले बिरामीको हेरचाह परिवारको भन्दा राम्ररी गर्छन्, कतिपय चिकित्सक पनि उस्तै हुन्छन् तर, मान्छेको प्रवृत्ति हरेकको फरक हुन्छ, तीमध्ये कसैले नराम्रो व्यवहार गर्दा सबै चिकित्सकको नाम जोडिन्छ,’ उनले भने । उनी कहिलेकाँही मान्छेबाट गलत व्यवहार हुनसक्ने भन्दै सुधार गर्दै लैजानुपर्नेमा जोड दिन्छन् डा. भट्टराई यसका लागि अस्पतालमा चिकित्सक नर्सहरूका लागि कस्तो खालको वातावरण बनाउने, ड्युटी कति घण्टा कायम गरिने भन्ने बारे ध्यान दिनुपर्ने बताउँछन् ।
जसले आफ्नो कलेजोको टुक्रा काटेर बुवाको प्राण जोगाए
काठमाडौं । ‘बेलाबेला हातखुट्टा झमझम हुन्छ अनि एलर्जी जस्तै पनि हुँदो रहेछ, अरू त सबै नर्मल भइसक्यो, तर अझै बेडरेस्टमा छु,’ बिहीबार नेपाल मेडिसिटी अस्पतालमा भेटिएका आयुष कार्कीले भने । आयुष जसले आफ्नो कलेजाको टुक्रा काटेर बुवाको कलेजोमा जोडेका छन् । उनैको कलेजोले बुवाको प्राण जोगिएको छ । २४ दिन अगाडि बिना हिचकिचाहट आयुषले यो कदम नचालेका हुँदा हुन् सायद उनले बुवा गुमाइसक्नुपर्थ्यो । आफ्नै अङ्गले बुवाको प्राण जोगिँदा उनी निकै खुसी छन्। भन्छन्, ‘बुवाले दिएको यो जीवन बुवाकै लागि चाहिन्छ भने हरेक अंग दिन तयार छु, जसले कलेजको टुक्रा भन्दै हुर्काए, त्यही टुक्राले आमाको सिन्दुर र बुवाको श्वास जोगाउन पाउनु मेरा लागि सबैभन्दा खुसी हो । सबै सन्तान यस्तै हुँदैनन्, कसैले चाहेर पनि गर्न सक्दैनन्, कसैको चाहना नै हुँदैन । धेरैमध्ये कमै सन्तान आयुषजस्तै भाग्यमानी बन्न सक्छन्, जो आफ्ना बाआमाको लागी शरीर चिरेर दिन तयार हुन्छन् । आयुषको घर पोखरा हो । उनी अहिले २६ वर्षका भए । आजभन्दा सात वर्षअघि उनका बुवा ५६ वर्षीय ईश्वर कार्कीको कलेजोमा समस्या देखिएपछि आयुषले आफ्नो अङ्ग दिने निर्णय गरेका थिए । ईश्वर अहिले मेडिसिटी अस्पतालमै आराम गरिरहेका छन् । व्यक्तिको शरीर यस्तो चतुर हुन्छ कि उसलाई आफ्ना र अरूको अंग मजाले छुट्याउन सक्छ । अरूको अंगलाई आफ्नो अंगसम्म मिसाउन समय लाग्छ । त्यो बेलासम्म प्रायः बिरामी चिकित्सकको निगरानीमा बस्नुपर्छ । आयुष बुवाआमा खुसी भएकोमा निकै हर्षित छन् । भन्छन्, ‘ ‘बुबाको आँखामा हेर्छु आँसु र हाँसो सम्मीश्रण पाउँछु, आमाको अनुहारमा हेर्छु उस्तै देख्छु, ७ वर्षको प्रयासपछि हाम्रो परिवारमा खुसी फर्किएको छ,’ उनले भने । उनी घरको जेठो सन्तान हुन् । उनका एक भाइ छन् । पोखरा विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेका उनले बुवाको उपचारका लागि पढाइ छोड्नुपर्यो । ७ वर्ष अगाडिको त्यो घटना ७ वर्ष अघि माघ २५ गते आयुषको परिवार चितवन घुम्न गयो । पोखराबाट चितवन जाँदा ईश्वरले नै गाडी चलाएका थिए । घुमेर फर्किने बेलामा ईश्वरलाई असहज महसुस भयो । पटकपटक बान्ता हुन थाल्यो । गाडी आयुष आफैले चलाएर घर फर्के । त्यो दिन अस्पताल नगई घरमै आराम गरे । ईश्वरलाई विस्तारै फरक लक्षण देखापर्न थाल्यो । उनले मोबाइल हातमा हुँदा कता गयो भन्न थाले, गाडी पार्किङमै हुँदा पनि खोइ कता छ ? भनेर सोध्न थाले । उनका क्रियाकलापले सबैजना छक्क परे । त्यसपछि उनलाई पोखराको ग्यालेक्सी अस्पतालमा लगियो । त्यहाँ जाँच गर्दा उनलाई सिरोसिस रोग लागेको पत्ता लाग्यो जुन कलेजोको खराबीका कारण भएको हो । ईश्वरले समस्या निदान हुँदा रोग तेस्रो चरणमा पुगिसकेको थियो । त्यही भएर डाक्टरहरूले छिटै उपचार गर्न सल्लाह दिए । त्यसपछि आयुषले ढिलो नगरिकन बुवालाई ललितपुरको नक्खुमा रहेको अस्पतालमा ल्याए । आयुषलाई उपचार गर्दा ठिक भइहाल्छ होला भन्ने लाग्यो । अस्पताल ल्याएर उपचार गरी औषधी खाँदा ठीक भएजस्तै देखिन थाल्यो । यतिबेलासम्म पनि सामान्य नै लागेको थियो । एक–दुई महिना सञ्चो हुने फेरि समस्या हुनेक्रम बढ्दै गयो । यो क्रम लामै समसम्म चल्यो । काठमाडौं आऊजाऊ गरेको देख्दा धेरैजनाले आयुषलाई भारतमा गएर उपचार गर्न सल्लाह दिए । उनका आफन्तहरू भारतमा पनि थिए । अहिले पनि धेरैजसो नेपाली बिरामी हुँदा उपचारका लागि भारत नै जान्छन् । ईश्वरलाई पनि भारतमै लिएर उपचार गर्न गाउँ आफन्तहरूले सल्लाह दिए । ‘छिमेकी तथा आफन्तीको सल्लाहबमोजिम मैले बुवालाई लिएर बुवालाई इण्डिया उपचार गर्न गएँ,’ उनले भने । आयुषले बुवालाई भारतको गंगाराम अस्पताल लगे । त्यहाँ जाँच गर्दा चिकित्सकले कलेजो प्रत्यारोपण गर्नुपर्ने उल्लेख गर्दै तत्कालै नगरे पनि हुने जानकारी दिए । नेपालमा गएर काजगपत्र बनाएर बिस्तारै आउनु भन्दै फर्काइदियो । नेपाल फर्किसकेपछि ६ महिनासम्म ईश्वर निको भयो । फेरि ६÷७ महिनापछि उस्तै समस्या सुरु भयो । आयुषले फेरि मेडिसिटी अस्पताल ल्याए । धेरै समय नेपाल अनि भारतका अस्पताल धाउने क्रम चलिरह्यो । फेरि आफन्तहरूले भारतको अपोलो अस्पताल पनि राम्रो भन्दै एक पटक त्यहाँ जान सल्लाह दिए । आयुषले फेरि बुवालाई बोकेर भारत गए । त्यहाँ जाँदा फेरि अर्को तनाव थपियो । चिकित्सकले कलेजोमात्र नभइ मिर्गौला पनि प्रत्यारोपण गर्नुपर्ने बताए । ‘अपोलोमा अर्को पीडा थपियो अनि नेपाल आएर सोच्नुपर्छ भन्दै घर फर्कियौं,’आयुषले भने । अनि भयो प्रत्यारोपण कहिले काठमाडौं, कहिले पोखरा, कहिले भारतका अस्पताल धाउँदा आयुष र आमाको बेहाल भइसकेको थियो । मेडिसिटीका चिकित्सकहरूको सल्लाहमा कलेजो प्रत्यारोपण गर्ने निर्णय भयो । कागजात मिलाउनु पर्ने प्रक्रिया उत्तिकै झन्झटिलो हुन्छ । अंग प्रत्यारोपण गर्न भने जति सजिलो छैन । परिवारभित्रैको अंग दिन चाहनेहरूले पनि चाहाना राखेरमात्र हुँदैन, यसका लागि रगतदेखि हरेक कुराहरू मिल्नुपर्ने हुन्छ । वडाको सिफारिस, पालिकाको सिफारिस, नाता प्रमाणीकरणदेखि लिएर हरेक कागजात तयार पार्नुपर्छ । ‘कागजात, रगत जाँच गर्न समय लाग्यो यो बीचमा बाबा पनि बिरामी भइरहनु भयोे, एकातिर प्रत्यारोपणको तयारी चलेको थियो अर्कोतिर बुवालाई आईसीयुमै राखेका थियौं, सारै नै तनावको अवस्था थियो,’ उनले भोग्नुपरेको पीडा सुनाए । यो तयारी गरिसकेपछि आयुषले आफ्नो स्वास्थ्यको पनि उत्तिकै हेरचाह गरे । चिकित्सकको सल्लाहपछि बल्ल जेठ ८ गते मेडिसिटी अस्पतालमा आयुषले आफ्नो कलेजेको टुक्रा काटेर बुवाको कलेजोमा जोडिदिए । १३ घण्टा लामो अप्रसेनपछि बाउ–छोराको अप्रेसन सफल भएपछि आमा र भाइको मुहारमा खुसी फर्कियो । चिकित्सकहरूले अंग प्रत्यारोपण जोखिम हुन सक्ने पहिल्यै भनेका थिए । तर बुवाका लागि जस्तोसुकै जोखिम लिन आयुष तयार थिए । भन्छन्, ‘मेरो आँट, बुवाको धैर्यता, आमाको मिहिनेत र चिकित्सकको प्रयासले ७ वर्षपछि बुवालाई कलेजो झिकेर दिन सफल भएँ ।’ सबैलाई यस्तो अवसर मिल्दैन आयुष आफ्नो शरीरको अंग चिरेर आफ्नै जन्मदातालाई दिने अवसर सबैलाई नमिल्ने बताउँछन् । यो मानेमा आफूलाई निकै भाग्यमानी भन्छन् । बुवालाई कलेजो दिने निर्णयले उनलाई धेरैले धेरैथरिका कुरा सुनाए । धेरैले सानै उमेर छ, अहिले नै अंग दिए भोलि के होला, बिहे पनि भएको छैन भन्नसमेत भने । तर उनले कसैका कुरा सुनेनन् । आफ्नो निर्णयमा अडिग रहिरहे । र अन्ततः बुवाको प्राण पनि बचाए । किड्नीको समस्या आफै निको शरीरका एक अर्को अंगको सम्बन्ध कति हुँदो रहेछ भन्ने कुरा ईश्वरमा देखिएको स्वास्थ्य समस्याले पनि थाहा हुन्छ । कलेजोमा खराबी आउँदा मिर्गौलामा समेत समस्या भएको भन्दै मिर्गौलासमेत प्रत्यारोपण गर्नुपर्ने अवस्था थियो। कलेजो प्रत्यारोपण गरेसँगै अहिले मिर्गौलाले पनि काम गर्न थालेको छ । जति स्वस्थ हुँदा काम गर्थ्यो त्यो मात्रामा नगरेपनि तत्काल प्रत्यारोपण गर्नुपर्ने अवस्था नरहेको चिकित्सकको भनाइ छ ।