लाखौंलाई सास्ती दिइरहेको दुखाइ नहुने रोग
काठमाडौं । कुनै रोग यस्ता हुन्छन्, लाग्ने बित्तिकै त्यसको लक्षण देखा पर्छ । व्यक्ति तुरुन्त अस्पताल जाँचको लागि पुग्छ र उपचारपछि निको हुन्छ । तर, यस्ता डर लाग्दा रोग पनि छन् जसको कुनै दुखाइ नै हुँदैन । यि रोगले शरीरभित्र थाहै नदिई वितण्डा मच्चाइरहेको हुन्छन् । जब व्यक्तिलाई दुखाइ सुरु हुन्छ तबसम्म यि रोगले शरीरको अर्को भागसम्म हैकम जमाइसकेको हुन्छ । यस्ता डरलाग्दा रुपमा देखिइने यो रोग हो क्यान्सर । क्यान्सरमा पनि स्तन क्यान्सर र प्रोस्टेट र सर्भाइकल क्यान्सर दोस्रो, तेस्रो चरणमा पुगिसक्दा पनि कुनै दुखाइ हुँदैन । दुखाइ बिना हुने यस्तो रोगले अस्पतालसम्म पुग्दा धेरै ठाउँ फैलिसकेको हुन्छ । यसको उपचार गर्दा निको त हुन सक्छ तर समय पैसाको नास हुन्छ । यस्ता रोगबाट अहिले नेपालीहरू ग्रसित भइरहेका छन् । नेपालमा शरीरका विभिन्न रोगमा लाग्ने क्यान्सर रोग नराम्ररी फैलिँदै गएको छ । बदलिँदो जीवनशैली, गलत खानपानले फैलने रोगले व्यक्तिको ज्यान समेत लिइरहेको छ । अन्य क्यान्सर लाग्दा दुखाइ हुने भएपनि कतिपय क्यान्सर भने बिना दुखाइ शरीरभित्र फैलिरहेको हुन्छ । यो मध्येकाे एउटा डर लाग्दो रुपमा फैलिरहेको क्यान्सर हो स्तन क्यान्सर । पुरुष महिला दुवैमा स्तन क्यान्सर नेपालका महिलाहरूमा अहिले सबैभन्दा बढी देखिइरहेको रोग हो स्तन क्यान्सर । विकसित मुलुकसहित नेपालमा फैलिरहेको यो रोग प्राय महिलाहरूमा मात्रै लाग्ने रोग भनेर चिनिन्थ्यो । तर, पछिल्लो समय पुरुषमा पनि स्तन क्यान्सर देखिन थालेको छ । ब्रेष्ट क्यान्सर सर्जन डा. प्रफुल्ल शाक्यले स्तन क्यान्सरको दुखाइ नहुँदा अस्पताल पुग्ने बिरामीहरू ढिलो गरी अस्पताल आउने गरेको बताए । सामान्यतया स्तन क्यान्सर भएको थाहा पाउन स्तनमा गिर्खाहरू भएको थाह हुनुपर्छ । तर, सबै गिर्खा क्यान्सर नहुने उनी बताउँछन् । कतिपय महिलाको महिनावारीको समय आउँदा स्तन भारी हुने र वरिपरि गिर्खाहरू जस्तै देखिन्छन् । तर, ति गिर्खाको दुखाइ महसुस हुन्छ । दुखाइ पनि छैन, गिर्खा आइरहेको छ भने एक पटक जाँच गर्नुपर्ने चिकित्सकहरू बताउँछन् । स्तन क्यान्सर ९९ सय प्रतिशत दुखाइ विहीन हुन्छ,’ डा. शाक्य भन्छन्, ‘दुखाइ पनि हुँदैन, कुनै लक्षण पनि देखिंदैन, जब दुखाइको महसुस हुन्छ, तब ढिला भइसकेको हुन्छ ।’ उनी दुखाइ नभएपनि कतिपय लक्षण भने व्यक्ति आफैले अनुमान गर्न सकिने बताउँछन् । स्तन क्यान्सर भएको छ भने स्तनबाट रगत वा पीप जस्तै तरल पदार्थ चुहिन्छ भने निप्पल पनि भित्र गएको हुन्छ । यो समस्या देखिने बित्तिकै जाँच गर्नुपर्ने उनको सुझाव छ । स्तन क्यान्सर के कारण हुन्छ भन्ने यकिन कारण छैन । अहिलेसम्मका बिरामीको केश अध्ययन गर्दा पनि अधिकांश वंशाणु भएको पाइएको छ । जसको आमा, हजुर आमामा यो समस्या वा यसैको कारण मृत्यु भएको छ भने त्यस्तो व्यक्तिलाई स्तन क्यान्सर हुन सक्ने सम्भावना धेरै हुन्छ । डा. शाक्य हरेक महिलाले महिनावारी हुँदा आफ्नो स्तन वरिपरि आफ्नो हातले छाम्न सल्लाह दिन्छन् । उनी भन्छन्, ‘चार दिन महिलाको स्तन नरम भएको हुन्छ, यो बेला आफ्नै हालको औँलाले स्तन वरिपरी छामछुम पर्दा गिर्खा भएको थाह हुन सक्छ । यदि गिर्खा भएजस्तो लाग्छ भने चिकित्सकको सल्लाह लिहाल्नुपर्छ ।’ स्तन क्यान्सर समयमै उपचार भए सतप्रतिशत निको हुन्छ । २०२४ सालमा गरिएको एक अध्ययनले ग्रामिण क्षेत्र भन्दा शहरी क्षेत्रका महिलामा स्तन क्यान्सर बढी देखिएको छ । महिलामा हुने अन्य क्यान्सर मध्ये स्तन क्यान्सर १९ प्रतिशत हिस्सा ओगटेको विज्ञहरू बताउँछन् । विशेषगरी ४० वर्ष पछि देखिन सक्ने भनिएको स्तन क्यान्सर आजभोलि १९÷२० वर्षका युवतीहरूमा पनि देखिन थालेको छ । विश्वको तथ्यांक अनुसार प्रत्येक ६ जना मध्ये एक जनाको मृत्यु क्यान्सरबाट हुने गरेको छ । नेपालमा पनि प्रत्येक वर्ष २० हजार बढी व्यक्तिमा क्यान्सरको पहिचान हुन्छ भने कुल मृत्युको ११.११ प्रतिशत व्यक्तिको मृत्यु क्यान्सरबाट हुने गरेको छ । प्रोस्टेट क्यान्सर महिलामा बिना दुखाइ देखिने स्तन क्यान्सर जस्तै पुरुषमा हुने प्रोस्टेको क्यान्सरको पनि कुनै दुखाइ महसुस हुँदैन । बिना दुखाइ हुने यो रोग नेपाली युवाहरूमा पनि बढ्दै गएको छ । प्रोस्टेट भनेको एक ग्रन्थी हो । जुन पुरुषको प्रजनन् प्रणालीको रुपमा चिनिन्छ । यसले पिसाबको नलीलाई घेरेर राखेको हुन्छ । यो पिसाब थैलीको मुनिको भागमा हुन्छ । यसको काम शुक्राणुलाई पोषण दिने हो । यसले स्वस्थ वीर्य उत्पादन गर्छ भने पिसाबलाई यसैले रेगुलेट गर्छ । यो भागमा हुने क्यान्सलाई प्रोस्टेट क्यान्सर भनिन्छ । प्रोस्टे घटबढ भइरहन्छ । यो बढ्दैमा क्यान्सर हुन्छ भन्ने हुँदैन । छिनछिनमा पिसाब गर्न मन लाग्ने, पिसाब गर्न जाँदा नआउने, तुरुक-तुरुक चुहिरहने, सधैं टाढासम्म पर्ने पिसाब आज नजिक पनि नसक्ने वा पिसाबको धार नै परिवर्तन हुँदा प्रोस्टेटमा समस्या भएको मानिन्छ । कन्सलटेन्ट युरोलोजिष्ट डा. इशान मल्ल यो समस्या हुने बित्तिकै क्यान्सर हुन्छ भन्ने नहुने बताउँछन् । तर, यस्तो बेला सम्भावना भने धेरै हुनसक्ने बताउँछन् । कहिलेकाँही पिसाबको नलीमा समस्या छ अथवा पिसाबको थैलीमै समस्या छ भने पनि हुँदा यस्तो लक्षण देखिन सक्छ, जुन क्यान्सर हुँदैन । नेपालमा एक लाख व्यक्ति मध्ये करिब २.९ व्यक्तिमा यस्तो समस्या हुने गरेको छ । प्रोस्टेट क्यान्सर अहिले पहिलेको भन्दा बढ्दै गएको छ । स्तन क्यान्सर र प्रोष्टेट क्यान्सरको लक्षण उस्तै–उस्तै हुन्छ । प्रोस्टेट क्यान्सर हुँदा पनि दुखाइको कुनै अनुभुती हुँदैन । डा. इशान भन्छन्, ‘स्तन क्यान्सर जस्तै प्रोस्टेट क्यान्सरमा पनि दुखाइ हुँदैन तर जब पिसाबमा रगत देखिन्छ, ढाड दुख्यो, हड्डी दुख्न थाल्यो भने प्रोस्टेट भएर अरु भागमा सरिसकेको हुन सक्छ ।’ उनका अनुसार अस्पतालमा आउने प्रोस्टेटका बिरामी लक्षणदेखि सकेपछि मात्र पुग्छन् । जसको प्रोस्टेट त्यो ठाउँ भन्दा अन्य ठाउँ सरिसकेको हुन्छ । डा. मल्ले यसको एकमात्र उपाय भनेको सन्तुलित आहार र अर्लि टेष्ट रहेको बताउँछन् । ५० वर्ष पुगिसकेका पुरुषहरूले वर्षको एक पटक अनिवार्य जाँच गर्नुपर्छ । जसको परिवारमा यस्तो समस्या देखिएको ति व्यक्तिले ४५ वर्ष पछि अनिवार्य जाँच गर्नुपर्ने उनी बताउँछन् । प्रोस्टेट क्यान्सरमात्र नभइ परिवारमा स्तन क्यान्सर, ओभरी क्यान्सर जस्ता कुनै पनि क्यान्सर भएका व्यक्तिले जाँचमा निकै ध्यान दिनुपर्छ । क्यान्सर नसर्ने तर घातक रोग भित्र पर्ने एक गम्भीर प्रकृतिको रोग हो । जुन कोशिकाहरूको एक समूहको अनियन्त्रित वृद्धि हो । यो रोग लाग्यो भन्ने सुन्ने बित्तिकै अहिले पनि नागरिक निकै त्रसित हुन्छन् । फोक्सो, कलेजो, आन्द्रा, पाठेघर लगायत विभिन्न ठाउँमा क्यान्सर हुन्छ । जस्तोसुकै क्यान्सर भएपनि पैसा र शरीर दुवैलाई क्षति गर्छ । नेपालमा स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, फोक्सो, आन्द्रा, आमाशय लगायतका विभिन्न किसिमका क्यान्सर भएका बिरामीहरू पाइन्छन् । नेपालमा सबैभन्दा पुरुषमा फोक्सो क्यान्सर हुने गरेको छ । अन्क्लोजिष्ट डा. रजनी झा नेपाली महिलामा सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर देखिने गरेको बताउँछिन् । अहिले पाठेघरको क्यान्सर भन्दा स्तन क्यान्सर महिलामा बढी देखिने गरेको छ । पाठेघरको मुखको क्यान्सर पुरुषमा देखिने प्रोस्टेट क्यान्सर महिलामा देखिने स्तन क्यान्सर जस्तै पाठेघरको मुखको क्यान्सरको पनि सुरुवाती लक्षण थाह हुँदैन । जब फैलिसकेको हुन्छ त्यसपछि मात्र लक्षण देखिन्छ । पाठेघरको मुखको क्यान्सर गर्भाशय र यौनी बिचको भागमा हुन्छ । यो हर्मन प्यापीलोमा भाइरस (एचपिभी)को संक्रमणबाट लाग्छ । सबै प्रकारका एचपिभी क्यान्सर हुँदैनन् तर केहीले सर्भाइकल क्यान्सर गराउने सम्भावना हुन्छ । पाठेघरको मुखको क्यान्सर यौन सम्पर्कका कारण हुने रोग हो । कलिलो उमेरमै बिहे भएका महिलामा यो क्यान्सर हुने सम्भावना धेरै हुन्छ । डा. झा भन्छिन्, ‘१४,१५ वर्षको उमेरमा सम्पर्क राख्दा, हर्मोनल एक्टिभिटीज धेरै हुन्छ, यस्तो उमेरमा यो रोग लाग्ने सम्भावना धेरै हुन्छ, जसका कारण यो रोगको जोखिममा सबैभन्दा धेरै किशोरीहरू हुन्छन् ।’ अर्को जोखिममा पर्ने समूह भनेको धेरै जनासँग यौन सम्पर्क गर्ने महिलालाई हुन्छन् । एउटा महिलाले धेरै साथी बनाएर सम्बन्ध राख्दा उसलाई पनि यो क्यान्सरका सम्भावना धेरै हुन्छ भने गर्भ निरोधक चक्की पिल्स धेरै खाँदा पनि क्यान्सर हुने सम्भावना हुन्छ । प्रजनन अंग सफा नराख्ने, प्याडको प्रयोग नजान्दा पनि यो समस्या हुन्छ । १० जना सर्भाइकल क्यान्सर भएका महिला मध्येमा ९ जना एजपिभी संक्रमण देखिएको छ । खोप लगाउँदा ९० प्रतिशत बच्न सकिन्छ । पाठेघरको मुखको क्यान्सर हुँदा पनि सुरुमा कुनै दुखाइ हुँदैन । तर रोग फैलिसकेपछि लक्षण भने देखा पर्छन् । सर्भाइकल क्यान्सर भएका महिलामा रगत बग्ने र फोहोर गन्हाउने पानी बग्छ । महिलाहरू प्रत्येक महिनामा महिनावारी हुन्छन् । कहिलेकाँही दुईटा महिनावारीको बीचमा पनि महिनावारी जस्तै रगत बग्यो रगत चोक्टा चोक्टा आउने, गन्हाउने छ भने सचेत रहनुपर्छ । अर्को यौन सम्पर्क गरिसकेपछि महिलामा रगत बग्छ तर रोकिएको छैन भने पनि सचेत हुनुपर्छ । महिनावारी सुकेका महिलाहरूमा पनि महिनावारी जस्तै रगत आयो भने पनि सचेत हुनुपर्छ । कहिलेकाँही तल्लो पेट दुख्ने, तौल घट्ने, खाने रुचि घट्ने लक्षण हुँदा पनि शंका गर्नुपर्ने ठाउँ हुन्छ । डा. झा महिलाको जति उमेर बढ्दै जान्छ त्यति क्यान्सर हुने सम्भावना धेरै हुने बताउँछिन् । यस्तो लक्षण परेको छ भने चिकित्सकको सल्लाहमा अनिवार्य गर्नुपर्ने बताउँछिन् । कतिपय ग्रामीण क्षेत्रका महिला दिदी बहिनी यस्तो समस्या लिएर आउनुहुन्छ,’ डा. झा भन्छिन्, ‘उहाँहरूलाई पानी कहिलेदेखि बगेको हो, रगत कहिलेदेखि बग्न सुरु गरेको हो भनेर सोध्दा चार पाँच वर्ष पहिलेदेखि भएको बताउँछन्, यस्तो अवस्थामा पनि महिलाहरू अस्पताल नआउँदा यो समस्या जटिल बन्छ ।’ नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरी गोपाल प्रधान क्यान्सर रोग उपचार गर्दा निको हुने भएपनि आर्थिक भार बढी पर्ने भएकाले समस्या हुने गरेको बताउँछन् । उनी सरकारले हरेक नागरिकलाई उपचार गर्न पाउने वातावरण सिर्जना गर्नुपर्ने बताउँछन् । उनि भन्छन्, ‘धेरै जसो व्यक्तिले आर्थिक अभावमै ज्यान गुमाउनुपरेको छ । हाल दिइरहेको सहुलियतलाई बढाएर पाँच लाखसम्म दिन सक्यो भने पनि धेरै राहत हुने थियो ।’ उनी क्यान्सरका बिरामीलाई सरकारले दिँदै आएको सहुलियत पाँच लाखसम्म पुर्याउनु पर्ने बताउँछन् । क्यान्सर ढिलो गरी मात्र थाह हुने भएकोले यसको उपचार निकै महँगो हुने गर्छ । लामो समय अस्पताल धाइराख्नु पर्ने अवस्थामा पैसा नहुँदा आर्थिक अवस्था विपन्न भएका नागरिकले समस्या झेलिरहेका छन् । चिकित्सकहरू भने जस्तोसुकै क्यान्सरको पनि नेपालमै उपचार सम्भव भएकाले क्यान्सर रोग देखिँदैमा डराउन नपर्ने बताउँछन् । हाम्रो समाजमा क्यान्सर लाग्यो भन्ने बित्तिकै अब बाँच्दैन भन्ने मानसिकता रहेकाले यो भ्रमबाट मुक्त हुनुपर्ने बताउँछन् ।
अंग दान गर्ने बढ्दै, मस्तिष्क पाउन सकस
काठमाडौं । तीन वर्ष पहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले आफ्ना सबै अङ्ग दान गर्ने घोषणा गरे । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफ्नो मृत्यु पश्चात् शरीरका सबै अङ्ग दान गर्ने घोषणामात्र गरेनन् कागजमा हस्ताक्षर गरेर अस्पतालका निर्देशक पुकार श्रेष्ठलाई बुझाए । ७१ वर्षका प्रचण्डले हरेक व्यक्तिले आफ्नो अङ्ग मरणपछि दान गर्न सक्ने भन्दै अन्य व्यक्तिलाई पनि दान गर्न आग्रह गरेका थिए । कांग्रेस महामन्त्री गगन थापा २०७३ सालमा स्वास्थ्य मन्त्री हुँदा आफ्ना सबै अङ्ग दान गर्ने घोषणा गरेका थिए । स्वास्थ्य दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले आफ्नो मृत्यु पश्चात् आफ्ना सबै अङ्ग दान गर्ने घोषणा मात्र गरेनन् उनले पनि लिखित दस्तखत गरेका छन् । मुटु, फोक्सो, कलेजो, प्याङ्क्रियाज र मिर्गौला लगायतका अङ्ग दान गर्ने सम्झौता गरेका छन् । अहिले उनी ४९ वर्षका छन् । २०७९ सालमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री बनेका जीवनराम श्रेष्ठले पनि शरीरका सबै अङ्ग दान गर्ने भन्दै मन्जुरीनामा बनाइ हस्ताक्षर गरिसकेका छन् । ‘मेरो मृत्युपश्चात् शरीरका सबै अङ्ग झिकी आवश्यक भएका जुनसुकै बिरामीलाई प्रत्यारोपण गर्न मेरो मन्जुरी छ,’ अङ्गदान गरिसकेका हरेक व्यक्तिले मन्जुरीमा पत्रमा यस्तै कुरा लेखेरै हस्ताक्षर गरेका छन् । कोशी प्रदेश सभाका पूर्वसभामुख बाबुराम गौतम, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, ताप्लेजुङको फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनले पनि २०७९ सालमै अङ्गदान गर्ने घोषणा गरिसकेका छन् । राजनीतिज्ञले मात्र होइन अन्य सर्वसाधारणदेखि विशेषज्ञहरू पछिल्लो समय आफ्नो मृत्यु पश्चात् आफ्नो शरीर दान गर्न राजी भएको मन्जुरीनामा पत्रमा हस्ताक्षर गरिरहेका छन् । मरेपछि माटोमा मिसिएर जाने शरीरले जीवित व्यक्तिको शरीरलाई राहत पुग्ने थाहा भएपछि अहिले नेपाली जीवितै भएको बेला लिखित हस्ताक्षर गरेरै अङ्ग दान गर्न थालेका छन् । अङ्गदानको कुरा बुझिसकेका धेरै व्यक्तिले आफू जीवितै रहँदा कुनै कारण आफ्नो मष्तिष्क मृत्यु भयो भने शरीरमा काम लाग्ने अङ्ग अर्को व्यक्तिलाई दान गर्ने क्रम बढेको छ । स्वास्थ्यका कुनै कार्यक्रममा पुगेर होस् या गोप्य रुपमा मानिसहरू आफ्नो मरणपछि अङ्ग दान गर्ने भन्दै घोषणा गरिरहेका छन् । २८ सय हाराहारीको मन्जुरीमा हस्ताक्षर उल्लेखित व्यक्ति सार्वजनिक कार्यक्रममा अङ्गदान गरेका व्यक्ति हुन् । हल्ला नगरी अस्पतालमा गएर सुटुक्क दान गर्नेको संख्या अझ धेरै छ । भक्तपुरमा रहेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अहिलेसम्म २ हजार ८ सय हाराहारीले मरणपरान्त अङ्गदान गर्ने घोषणा गरिसकेको अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी हरीहर पोख्रेलले मर्नुअघि अङ्गदान गर्नुपर्छ भन्ने विषयमा मानव चेतना बढ्दैै जाँदा अङ्गदानको घोषणा गर्ने संख्या बढेको बताउँछन् । उनी भन्छन्, ‘अस्पतालको विभिन्न प्रयासपछि व्यक्तिमा धारणा परिवर्तन आएको छ । अस्पतालमा आउने सेवाग्राहीदेखि विभिन्न ठाउँमा मरेपछि खेर जाने अंगले अन्य धेरै व्यक्तिलाई नयाँ जीवन दिन्छ भन्नेबारे कार्यक्रम गरेपछि घोषणा गर्ने क्रम बढेको छ ।’ अहिले पत्रकार, राजनीतिज्ञ, समाजसेवी सबैले मरणपछि आफ्नो अङ्ग दान गर्ने भन्दै घोषणा गर्नेक्रम बढेको उनी बताउँछन् । ‘कोही यो विषयमा आफै जानकार हुनुहुन्छ, कतिपयलाई हामीले नै बुझाएका छौं,’ उनी भन्छन्, ‘कतिपय अस्पतालमा आएर आफै आफ्नो रुचि देखाउँछन्, कतिपयले फोन गर्नुहुन्छ, अहिले हामीले एउटा फाराम बनाएर वेबसाइटमा पनि राखेका छौं । इच्छुक व्यक्तिले त्यो फाराम भरेर पठाउनुहुन्छ ।’ मस्तिष्क मृत्युको अवस्था उस्तै जीवित व्यक्तिले अङ्ग दान गर्नेक्रम बढे पनि मस्तिष्क मृत्यु भएकाहरूबाट पाइने अङ्ग भने अझै पाउन मुस्किल परेको छ । दिनहुँ धेरै व्यक्तिको मष्तिष्क मृत्यु हुँदा पनि अङ्ग दिन आफन्तहरू नै तयार हुँदैनन् । सयौं व्यक्तिको मस्तिष्क मृत्यु हुँदा पनि उनीहरूको परिवारले नै अङ्ग दिन नमान्दा समस्या भएको चिकित्सकहरू बताउँछन् । अहिले अङ्ग आवश्यक पर्ने बिरामी मध्ये करिब १० प्रतिशतले मात्र अङ्ग पाउने सकेका छन् । ९० प्रतिशत बिरामी अझै अंगको पर्खाइमा छटपटाइ रहेका छन् । कयौँ व्यक्तिले दिनहुँ अङ्ग नपाएर ज्यान गुमाउनु परिरहेको यो अवस्थामा तत्काल जीवित व्यक्तिले अङ्ग दानको घोषणा गर्नुभन्दा तत्काल मष्तिष्क मृत्यु भइसकेका व्यक्तिको अङ्ग दानमा सचेतना फैलाउनु निकै आवश्यक भएको विज्ञहरू बताउँछन् । नेपालमा अहिले मृर्गौला रोग लागेका देशभरका ८ हजार बढी बिरामी अंगदाताको पर्खाइमा छन् । तर, उनीहरूले अङ्ग पाउन सकेका छैनन् । अङ्ग नपाउँदा बिरामीहरू हप्तैपिच्छे डायलासिस गराउन बाध्य भएका छन् । महिनामा तीन/चार पटक हुने डायलासिसमा खर्च पनि धेरै हुने चिकित्सकहरू बताउँछन् । अङ्ग पनि बुढो हुँदै जान्छ मान्छेको मृत्यु अनिश्चत हुन्छ । सबै मान्छे बुढो भएर अर्थात् ९० वर्ष वा सय वर्षको उमेरमै मृत्यु हुन्छ भन्ने हुँदैन । अनिश्चत मृत्यु हुँदा जीवित व्यक्तिले अङ्गदान घोषणा गर्दा उसको अङ्ग जतिबेला पनि काम लाग्न सक्छ । तर, उमेर बढ्दै जाँदा मान्छेको अङ्ग पनि बुढो हुँदै जान्छ । कतिपय अङ्ग दान गरिसकेका व्यक्ति ६० वर्ष कटिसकेका पनि छन् । उदाहरणको लागि माओवादी अध्यक्ष प्रचण्डकै कुरा गर्ने हो भने अब उनको अङ्ग दानको रुपमा उपयुक्त हुँदैन । किनकि उनको उमेर ७१ भइसकेको छ । उनीमात्र होइनन् ६० वर्ष कटिसकेका अङ्ग दान गर्ने घोषणा गरिसकेका व्यक्तिको अङ्ग प्रायः दान गर्न मिल्दैन । नेफ्रोलोजिष्ट डा. सुरेश महर्जन मानिसको उमेरसँगै अङ्ग पनि बुढो हुने भएकाले ८०/९० वर्ष पुगिसकेका व्यक्तिको अङ्ग प्रायः काम नलाग्ने बताउँछन् । ‘८०/९० वर्षको उमेरमा केही समस्या छैन भन्दा पनि मृगौलामा अलि समस्या भइहाल्छ । त्यो उमेरका व्यक्तिको अङ्ग खासै काम लाग्दैन,’ उनी भन्छन, ‘अङ्ग प्रत्यारोपण गरिसक्दा हामी कम्तीमा १०÷१२ वर्ष केही नहोस् भन्ने हिसाबले प्रत्यारोपण गरिन्छ । ६० वर्ष ननाघेको व्यक्तिको अङ्ग प्रत्यारोपणका लागि राम्रो मानिन्छ ।’ ७०÷८० वर्ष नाघेका व्यक्तिको मृर्गौला लिँदा ६ महिना वा १ वर्षसम्ममात्र टिक्छ त्यो फेरि खराब भइहाल्छ, यस्तो बुढो अङ्ग लिएर दान गर्नुभन्दा प्रत्यारोपण नगरेकै बेश हुन्छ, उनले भने । मष्तिष्क मृत्यु कार्यक्रम अलपत्र नेपालमा जीवित व्यक्तिबाट अङ्गदान गर्न निकै झञ्जटिलो व्यवस्था थियो । मानव अङ्ग प्रत्यारोपण ऐन २०५५ ले सुरुमा जीवित व्यक्तिबाट मृगाैला लामात्र दान गर्न सकिने व्यवस्था गरेको थियो । परिवार भित्रको कुनै व्यक्ति बिरामी पर्दा परिवार भित्रैको व्यक्तिलेमात्र अङ्ग दिन पाउने प्रावधान थियो । बिस्तारै कानुन फराकिलो भयो । मानव अङ्ग प्रत्यारोपण (पहिलो संसोधन) ऐन २०६५ केही हेरफेर गरियो । जसमा मष्तिष्क मृत्यु भएकाहरूबाट पनि अङ्ग लिन सकिने कुरा ऐनमा राखियो । मष्तिष्क मृत्यु भइसकेको बिरामी जसको मुटु चलेको भए पनि मष्तिष्क पूर्णरुपमा मृत छ भने त्यस्तो व्यक्तिबाट मुटु, फोक्सो कलेजो, आँखा, छाला लिन सकिने तर यो दक्ष चिकित्सकले मष्तिष्क मृत्यु भएको घोषणा गरिसकेको हुनुपर्ने नियम आयो । तर, कार्यान्वयन हुन सकेन । २०६८ सालमा सहिद धर्मभक्त राष्ट्रिय प्त्यारोपण केन्द्र स्थापना भएपछि अङ्ग संकलन र प्रत्यारोपण प्रक्रिया व्यवहारिक रुपमा लागू गर्न थालियो । तर त्यो बेला पनि मष्तिष्क मृत्यु भएकाहरूबाट अङ्ग पाउन गाह्रो भयो । शरीरको कुनै अंगमा खराबी आएर कामै नलाग्ने बिरामीको संख्या बढेपछि कानुन फेरि फराकिलो बन्यो । सरकारले मानव शरीरको अङ्ग प्रत्यारोपण सम्बन्धी नियमावली २०७३ ल्याएर मष्तिष्क मृत्यु भएका व्यक्तिबाट अङ्ग लिन सक्ने प्रावधान ल्यायो । यसका लागि सचेतना फैलाउने जिम्मा पनि सहिद धर्मभक्त राष्ट्रिय प्त्यारोपण केन्द्रलाई दिइयो । तर, नागरिक स्तरमा सचेतना फैलाउन नसक्दा अहिले पनि यो कार्यक्रम प्रभावकारी बन्न सकेको छैन । नेपालमा हरेक वर्ष दुई हजार भन्दा व्यक्तिको मृत्यु हुने गरेको तथ्यांक छ । उनीहरू मध्ये झण्डै आधाको मष्तिष्क मृत्यु हुन्छ भनिन्छ । मष्तिष्क मृत्यु व्यक्तिको अङ्ग पाउन निकै गाह्रो छ । कार्यक्रम सुरु भएको १० वर्षमा अहिलेसम्म ६ जना मान्छेबाट १२ वटा मिर्गौला र तीन वटा कलेजो मात्र प्रत्यारोपण भएको छ । जनचतेना बढाउन सकिएन धेरै मान्छेलाई अहिले पनि मष्तिष्क मृत्यु भनेको के हो भन्ने नै थाहा छैन । थाहा भएकाहरूलाई पनि मृत्यु भएका व्यक्तिबाट अङ्ग दिँदा अर्को व्यक्तिको ज्यान जोगिन्छ भन्ने थाहा हुँदैन । विज्ञहरू चेतनाको अभावका कारण नै यो कार्यक्रम प्रभावकारी हुन नसकेको बताउँछन् । चिकित्सकका अनुसार नेपालमा सबैभन्दा धेरै अंगको पखाईमा मिर्गौलाका बिरामीहरू रहेका छन् । उनीहरूको डायलासिसमै धेरै खर्च भइरहेको छ । विर अस्पतालको न्युरो सर्जरी विभागका कन्सल्टेन्ट न्युरो सर्जन डा.शुसील मोहन भट्टराई मष्तिष्क मृत्यु भएकाहरूबाट अङ्ग पाउने कुरामा जनचेतनाको अभाव रहेको बताउँछन् । डा. भट्टराई हरेक गाउँ समाज टोलमा मानव अङ्ग दानको विषयमा चेतना फैलाउन आवश्यक रहेको बताउँछन् । सामाजिक चेतना अभावकै कारण यो कार्यक्रम अगाडि बढ्न नसकेको उनको भनाइ छ । नेफ्रोलोजिष्ट डा. सुरेस महर्जन नागरिकलाई मात्र नभई अङ्गदानको विषयमा धेरै जस्तो चिकित्सकलाई नै थााह नभएको दाबी गर्छन् । मस्तिष्क मृत्युपछि अङ्गदान गरेर अङ्ग प्रत्यारोपण गर्न मिल्छ भन्ने नेपालमा हुन्छ भन्ने कुरा धेरैलाई थाह छैन । उनी भन्छन्, ‘चिकित्सकमै चेतना कम छ, सामाजिक चेतना पनि कम छ, म कार्यरत अस्पतालमा सडक दुर्घटना भएका बिरामी धेरै आउनुहुन्छ, यसमा धेरैजनाको मृत्यु भइरहेको हुन्छ, हामीले यस्तो यस्तो गर्न सक्नुहुन्छ भन्दा आफन्त दिन तयार हुनुहुन्न ।’ स्वास्थ्यमन्त्री प्रदीप पौडेल पनि जनजनमा चेतनाको अभाव रहेको बताउँछन् । आफ्नो कार्यकाल एक वर्ष पुगेको अवसरमा पत्रकारले सोधेको प्रश्नमा उनले मान्छेको विश्वासलाई टुटाउन निकै गाह्रो भएको बताए । ‘धार्मिक विश्वास यति गहिरो हुँदो रहेछ कि हामीले सम्झाउँदा, बुझाउँदा पनि टुट्दैन, मरिसकेको व्यक्तिको अंग दिँदा अर्को जुनीमा असर पर्ने भ्रम जनजनमा छ, यो टुटाउन अझै मिहिनेत गर्नुपर्ने रहेछ,’ उनले भने । नेपाली समाजमा धेरै ठूलो विश्वास छ । यही सामाजमा हुर्केका जो कोही विश्वासबाट टाढा रहन सक्दैनन् । एउटा अङ्ग निकाल्यो भने अर्को जन्ममा आँखा नभएको, मृर्गौला नभएको व्यक्ति भएर जन्मन्छ भन्ने अन्ध विश्वासले पनि व्यक्ति यो विषयमा तयार हुन सक्दैन । मर्दा राम्रोसँग कित गाढ्नुपर्ने नभए जलाउनुपर्ने विश्वासमा हुर्केकालाई सम्झाउन गाह्रो हुन्छ । डा. महर्जन यो कुरा सबैमा चेतना पुर्याउन आवश्यक रहेको बताउँछन् । विदेशमा कोही बिरामीमा मृर्गौला फेल भएको थाहा भइसकेपछि सरकारले उसको अनलाइन रजिष्टर गर्छ । त्यही अनुसार उनीहरू पर्खन्छन् । पछि दान गर्छन् । तर, नेपालमा यस्तो छैन । अहिलेसम्म एक अस्पताललाई अधिकार दिएको छ भने यसका लागि छुट्टै जनशक्ति पनि राखेको छैन । छुट्टै जनशक्तिको आवश्यकता मष्तिष्क मृत्यु कार्यक्रम चलाइरहेको शहीद धर्मभक्त अस्पतालले यो कार्यक्रमलाई प्रभावकारी बनाउन सकेको छैन । अस्पताल भित्रको प्रत्यारोपण गर्ने कामदेखि कार्यक्रम प्रचारप्रसार एकै अस्पतालले गर्नुपर्दा समस्या भएको अस्पतालको भनाइ छ । यो कार्यक्रमका संयोजकका रुपमा काम गरिरहेकी चिकित्सक कल्पना श्रेष्ठले दिनभरी अस्पतालको काम गर्नुपर्छ । उनलाई संयोजक बनाइए पनि कार्यक्रमको लागि समय छुट्याउन गाह्रो हुन्छ । चिकित्सकहरू अब यो कार्यक्रम प्रभावकारी बनाउन सरकारले छुट्टै जनशक्ती बनाउनुपर्ने बताउँछन् । शहिद धर्मभक्त भन्दा अन्य अस्पताललाई पनि यो अधिकार दिनुपर्ने र सरकारले तलबको व्यवस्था गरेर यसमा छुट्ै जनशक्ती तयार नपारुञ्जेल अवस्था यस्तै रहने उनीहरूको भनाइ छ । ‘कल्पना म्यामलाई संयोजक बनाइएको छ उहाँले आफ्नो काम छोडेर यो विषमा चेतना दिदै हिँड्ने कुरा भएन,’ डा. महर्जन भन्छन्, ‘न यसका लागि सरकारले कुनै सुविधा दिन्छ न केही, आफ्नो मनले एक्स्ट्रा समय दियो भने हुन्छ । यस्तै अवस्थाले सरकारको लक्ष्य अगाडि बढ्न निकै गाह्रो छ । मृगाैलाका रोगी बढी नेपालमा अहिले सबैभन्दा अङ्ग आवश्यक भएका बिरामी मृर्गौला फेल भएकाहरू छन् । उनीहरू अङ्ग नपाउँदा डायलासिस गराउन बाध्य छन् । केएमसी अस्पताल सिनामंगलमा अहिले तीन सय भन्दा बढी मृर्गौलाका बिरामी डायलासिस गरिरहेका छन् । कोही नजिकैका आफन्त नातेदारबाट प्त्यारोपण गर्ने तयारीमा छन् भने दिनेमान्छे नभएर डायलासिस गर्नुपर्ने बाध्यतामा रहेका बिरामी पनि धेरै छन् । नेपालको हकमा सबैभन्दा बढी प्रत्यारोपणका लागि आवश्यक पर्ने अङ्ग कुन हो भन्ने एकिन तथ््यांक छैन । तर, विश्वका धेरै देशलाई आधार मान्ने हो भने सबैभन्दा बढी प्रत्यारोपण गर्नुपर्ने भनेको मृर्गौला हो । नेपालमा पनि मृगौर्ला नै सबैभन्दा धेरैमा पर्ने सक्ने अनुमान गरिन्छ । कलेजो, मुटु फोक्सो पनि उत्तिकै आवश्यक पर्छ । ८ वटा अङ्ग झिक्न सकिन्छ मष्तिष्क मृत्यु भएका एक व्यक्तिले अङ्ग दान गर्न सक्यो भने ८ जना बिरामीलाई बचाउन सकिन्छ, कलेजो, मुटु, फोक्सो, मृर्गौला, आँखा, छाला लगायतका ८ अङ्ग एउटा व्यक्तिबाट स्वस्थ व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ । तर नेपालको हकमा मृर्गौला र कलेजो मात्र प्रत्यारोपण गर्न सम्भव छ । अन्य अंगको प्रत्यारोपण तत्काल सम्भव छैन । नेपालमा अन्य अङ्ग प्रत्यारोपण गर्न सक्ने जनशक्ती नहुँदा दुइटा अंगमात्र प्रत्यारोपण गरिन्छ । मुटु प्रत्यारोपणका लागि लाइसेन्स ल्याएका व्यक्ति भएपनि धेरै कुराको अभावले सञ्चालन गर्न सकेका छैन । उनी बिस्तारै सबै अङ्ग नेपालमै, नेपाली जनशक्तिलेनै प्रत्यारोपण गर्न सक्ने बताउँछन् । नेपालमा मृर्गौला प्म्रत्यारोपण २००८ देखि सुरु भएको थियो । अहिले प्रायः अस्पतालमा मृगौला प्रत्यारोपण गरिन्छ, कलेजोको प्रत्यारोपण पनि धेरै अस्पतालले गरिरहेका छन् । स्वास्थ्य क्षेत्रमा बिस्तारै नेपालले फड्को मार्दै गइरहेको अवस्थामा सबै अङ्ग नेपालमै प्रत्यारोपण हुने सम्भनावना छिट्टै आउने आसामा कतिपय चिकित्सकहरू छन् ।
तीव्र रूपमा फैलिँदै हेपाटाइटिस, बर्सेनि १३ लाख बढी व्यक्तिको मृत्यु
काठमाडौं । रोगहरू फरक-फरक किसिमका हुन्छन् । केही रोगले तुरुन्तै लक्षण देखाउँछन् अनि उपचार गर्दा निको हुन्छन् भने कतिपय रोगहरूको लक्षण नै देखा नपरी भित्रभित्र शरीरको आधा भाग बिग्रिसकेपछि मात्र थाहा हुन्छ । यस्तो अवस्थामा व्यक्ति अन्तिम अवस्थामा मात्र अस्पताल पुग्छ । अन्तिम समय अस्पताल पुग्दा रोग निको हुँदैन । यस्ता खालका रोगले व्यक्तिको ज्यान र पैसा दुवै नष्ट गरिदिन्छ । आजभोलि धेरै व्यक्ति आफ्नो स्वास्थ्यप्रति सचेत हुन थालेको छन् । नियमित जाँच गर्नेदेखि शारीरिक व्यायाममा पनि उत्तिकै ध्यान दिइरहेका हुन्छन् । व्यक्ति स्वास्थ्यप्रति सचेत रहँदा पनि कतिपय रोगले मौन संकट पारिरहेका हुन्छन् । नेपालमा यस्तै मौन संकटका रूपमा हेपाटाइटिस बी र सी देखिँदै आएको विज्ञहरू बताउँछन् । यो रोग लागेको कतिपय व्यक्तिलाई थाहै नभइ कलेजो खराब भइसकेको हुन्छ । मेडिसिटी अस्पतालमा कार्यरत हेपाटो सर्जन डा. रामबाबु शाह हेपाटाइटिस बी र सी नेपालमा डरलाग्दो रूपमा देखिरहेको बताउँछन् । उनका अनुसार यो रोगले सुरुमा लक्षण नै नदेखाएर एक्कासि असहज हुने अवस्थाको सिर्जना गर्छ । बिरामी जसोतसो अस्पताल पुग्दा कलेजो सबै खराब भइसकेको हुन्छ । उनले हेपाटाइटिस बी भएर कलेजो खराब भएका तीन जनामा आफैले कलेजो प्रत्यारोपण गरिसकेको जानकारी दिए । मेडिसिटीले केही समय अगाडि पहिलो कलेजो प्रत्यारोपण गरेको बिरामी पनि एक्कासि समस्या भएर अस्पताल आउँदा कलेजो अन्तिम अवस्थामा पुगिसकेपछि मात्र लक्षण देखिएको शाहले बताए । जेठ ८ गते पोखराका ५६ वर्षका ईश्वर कार्कीलाई एक्कासि बान्ता आउने, रिंगटा लाग्ने समस्या देखिँदा परिवारले मेडिसिटी अस्पताल पुर्याएको थियो । जाँच गर्दा उनको कलेजो पुरै खराब भइसकेको थियो । कलेजोमा समस्या आउँदा किड्नीमा पनि समस्या देखिन्छ । समयमै उनका छोराले कलेजो दान गर्दा कार्कीको अहिले कलेजो र किड्नी दुवैको समस्या समाधान भएको छ । डा. शाह हेपाटाइटिस बी निकै डरलाग्दो रोग भएको बताउँछन् । नेपाललगायत विश्वका विभिन्न देशमा फैलिरहेको यो रोगबाट लाखौं मानिस प्रभावित छन् । नेपालमा पनि यो रोगबाट थुप्रै व्यक्तिहरू प्रभावित भइरहेका छन् । तुरुन्त लक्षण देखापर्ने भन्दा लक्षण नै देखा नपरेका रोगहरूले मान्छेको ज्यान लिइरहेको छ । के हो हेपाटाइटिस ? कलेजोको कोषहरूलाई हेपाटोसाइट भनिन्छ । यी कलेजोका तन्तुहरू हुन् । कुनैपनि संक्रमणका कारण हेपाटोसाइटलाई असर गर्छ अनि कलेजो सुनिन्छ । हेपाटाइटिस भनेको कलेजोमा सुजन हुने एउटा रोग हो । यो रोग प्रायः भाइरल सङ्क्रमणको कारण हुने गर्छ । रक्सी सेवन, विषाक्त पदार्थ, अटोइम्युन रोग वा औषधीको असरले पनि हेपाटाइटिस हुने गर्छ । हेपाटाइटिस ए, बी, सी, डी र ई गरी पाँच प्रकारको हुन्छ । यी पाँचै प्रकारका रोग फरफरक किसिमले लाग्ने र लक्षण पनि फरक हुन्छ भने यसको जोखिम पनि फरक हुन्छ । नेपालमा धेरैजसो देखिने ए, ई, बी र सी हो । समयमा यसको उपचार नहुने हो भने कलेजो फेल भएर क्यान्सरसमेत हुने गर्छ । हेपाटाइटिस बी र सी भाइरसजन्य संक्रमण हुने गर्छ । जुन रगत शरीरको तरल पदार्थ र संक्रमित सुईको प्रयोगले सर्ने गर्छ । बी र सी स्वास्थ्यको दृष्टिकोणले खतरनाक हुने विज्ञहरूको भनाइ छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार विश्वमा हरेक २० सकेण्डमा एकजना व्यक्तिको यही रोगले मृत्यु हुने गर्छ । १३ लाख बढी व्यक्तिको हेपाटाइटिसकै कारण मृत्यु हुने डरलाग्दो तथ्यांक छ भने हरेक वर्ष २० लाखभन्दा बढी व्यक्तिमा यो रोग लाग्ने गर्छ । ग्लोबल रिपोर्ट २०२४ अनुसार सन् २०२२ मा ३० करोड ४ लाखमा हेपाटाइटिस बी र सी संक्रमण भएको पाइएको छ । यो रोगका विषयमा दीर्घकालीन रणनीति नबनाए अझै डरलाग्दो अवस्था आउने डब्ल्यूएचओले चेतावनी दिइसकेको छ । तत्काल कुनै नीति लिइएन भने सन् २०३० सम्ममा २८ लाख ५० हजार जनाको मृत्यु हुने अनुमान छ । कसरी लाग्छ ? विश्वमा देखिएका पाँच प्रकारका हेपाटाइटिस फरक–फरक कारणले लाग्छ । हेपाटाइटिस ए र ई फोहोर पानी अनि फोहर खानेकुराबाट लाग्छ । यो व्यक्तिबाट व्यक्तिमा सर्दैन । तर हेपाटाइटिस बी र सी व्यक्तिबाट व्यक्तिमा सर्छ तर फोहोरका कारण यो रोग लाग्दैन । यो रोग लागेका व्यक्तिको रगत अर्को व्यक्तिलाई दिदाँ र शारीरिक सम्पर्कबाट सर्छ । आमा संक्रमित हुँदा बच्चामा पनि यो रोग सर्ने सम्भावना धेरै हुन्छ । हेपटाइटिसको लक्षण प्रायः अन्य रोगहरूसँग मेल खाने हुन्छन् । भोक नलाग्ने, पेट दुख्ने, ज्वरो आउने पखाला लाग्ने हुन्छ । यस्तै, पिसाब गाढा र पहेंलो हुन्छ भने आँखा र छाला पनि पहेंलो देखिन्छ । हरेक रोगका केही लक्षण मेल खाने हुन्छन् । यस्ता कुनै पनि लक्षण देखा परेमा तुरुन्त जाँच गर्नुपर्छ । हेपाटाइटिस ए, बी र सी जाँचका लागि यौन स्वास्थ्य क्लिनिकमा गएर रगत परीक्षण गराउन सकिन्छ भने हेपाटाइटिस एको लागि कुनै विशेष उपचार छैन । यो अधिकाशंमा आफै निको भएर जान्छ । हेपाटाइटिस ए र बी को रोकथामका लागि पछिल्लो समय बालबालिकालाई खोप लगाउन सुरु गरिएको छ । हेपाटोलोजिष्ट डा. उमिद श्रेष्ठ मद्यपान र धुम्रपान सेवनले यो रोगको जोखिम बढाइरहेको उनी बताउँछन् । यसैगरी, पछिल्लो समय बदलिँदो जीवनशैली पनि मुख्य कारण रहेको उनी बताउँछन् । भन्छन्, ‘मदिरा सेवनका कारण कलेजो खराब हुन्छ अध्ययनले भनेको छ तर अस्वथ्यकर खानपान, शारीरिक व्यायामको कमीले पनि कलेजो खराब भइरहेको छ।’ यकिन छैन तथ्यांक विश्वमा २० सकेण्डमा एक व्यक्तिको मृत्यु हुने गरेको तथ्यांक भएपनि नेपालमा यो रोगबारे यकिन तथ्यांक छैन । लिभर फाउण्डेसनका अध्यक्ष उमेशजंग रायमाझी जनस्वास्थ्यको प्रमुख समस्याका रूपमा रहेको हेपाटाइटिस रोगबारे यकिन तथ्यांक नहुनु दुखद भएको बताउँछन् । विश्वको तथ््यांकको आधारमा हेर्दा नेपालमा करिब १ लाख १५ हजारमा हेपाटाइटिस सी संक्रमित रहेको हुनसक्ने अनुमान छ । हेपाटाइटिस बी ०.९ प्रतिशत र सी ०.३८ प्रतिशत रहेको पाइन्छ । यीमध्ये १८ प्रतिशतको निदान हुन्छ भने १ प्रतिशतले उपचार नपाएको अनुमानित तथ्यांक छ । एचआईभी संक्रमित व्यक्ति र सुईबाट लागुऔषध प्रयोग गर्ने व्यक्तिमा जोखिम धेरै रहेको पाइन्छ । डा. बाबुराम शाह जनचेतनाको अभावले हेपाटाइटिस नेपालमा समस्याको रूपमा गएको बताउँछन् । अन्य रोगजस्तो यो रोगलाई प्राथमिकता नदिँदा यसले अझ जोखिम निम्त्याउन सक्ने उनी बताउँछन् । शाहका अनुसार नेपालमा अहिले बढी देखिने भनेको हेपाटाइटिस बी २ प्रतिशत सम्मको संख्यालाई भएको मानिन्छ । डा. शाह हेपाटाइटिस सी पनि कहिलेकाँही नेपालमा देखिने गरेको बताउँछन् । हेपाटाइटिस ए र ई पनि नेपालमा देखिन्छ। डा. शाहका अनुसार सरसरफाइको अभाव अर्थात वातावरणको कारण ए र ई नेपालमा बढी देखिन्छ । उनी यसको रोकथामको एकमात्र बलियो उपाय खोप हुने चिकित्सकहरू बताउँछन् । पर्याप्त मात्रामा खोप हेपाटाइटिस बी बच्चा जन्मेको ६, १० र १४ हप्तामा तीनवटा मात्रामा लगाइन्छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत राखेर अनिवार्य खोप दिइरहेको छ । शाखाका प्रमुख डा. अभियान गौतम ७७ वटै जिल्लामा जन्मेको बच्चाहरूलाई खोप दिइरहेको बताए । उनले बालबालिकाले सबैभन्दा बढी पाइरहेको खोप अन्तर्गत हेपाटाइटिस बी रहेको जानकारी दिए । ‘बर्सेनि सय प्रतिशतदेखि ९९ प्रतिशतसम्मका बालबालिकाले यो खोप पाइरहेका हुन्छन्,’ डा. गौतम भन्छन्, ‘हामीले सन् २०३० सम्म सत प्रतिशत बालबालिकाले हरेक खोप पाइसक्ने लक्ष्य राखेका छौं । त्यसैले पनि खोप कार्यक्रमलाई प्रभावकारी बनाएका छौं, खोपको मात्रा पनि पर्याप्त हुँदा यो खोप लगाउनबाट प्रायः वञ्चित बालबालिका त्यति छैनन् ।’ डा. गौतम यो खोप अभियानले पनि हेपाटाइटिसको संख्या निकट भविष्यमा कम हुने बताउँछन् । कलेजोका विषयमा अध्ययन गर्दै आएको लिभर फाउण्डेसन नेपालका अध्यक्ष उमेशजंग रायमाझी अव्यवस्थित सहर, रहनसहन वातावरणले यो समस्या नेपालमा बढ्दै गइरहेको बताउँछन् । यो रोग निवारण गर्न सकिने भएपनि विश्वभर मृत्यु हुने कारण भइरहेको बताउँदै उनी सरकारले आवश्यक कदम चाल्नुपर्नेमा जोड दिन्छन् । ‘सुरुमै ध्यान दिइयो भने यसले जोखिम रूप लिँदैन,’ उनी भन्छन्, ‘तर यसमा ध्यान दिइएन भने यसले अंग प्रत्यारोपण गर्नुपर्ने अवस्थासम्म आउँछ जुन शरीरको सबैभन्दा ठूलो अप्रेशनमा पर्छ ।’ कलेजो शरीरको यस्तो अंग हो जसले शरीरको पाँच हजार फङ्सन एकै पटक गर्छ । रायमाझी यस्तो डरलाग्दो विषयमा पनि राज्यले अनदेखा गरिरहेको आरोप लगाए । नेपालमा कतिको मृत्यु हुन्छ भन्ने यकिन डाटा नै सरकारसँग नहुनुले सरकारको लापरवाही प्रष्टै हुने उनको भनाइ छ । ‘कलेजो स्वास्थ्यका विषयमा राज्य निकै चुकेको छ, सबैले यसमा ध्यान दिन जरुरी छ । हाम्रो काम भनेको यहाँ पुगेन यस्तो छ भनेर बाटो देखाइदिने हो । धेरै काम राज्यको नीतिगत तहमा गर्नुपर्छ,’उनले भने ।
११ भर्नामा ३२ अर्ब बढी शुल्क, सिट संख्या बढाउँदा पनि विद्यार्थी भ्याइनभ्याई
काठमाडौं । काठमाडौंको मध्यबानेश्वरमा रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्टमा यो वर्ष कक्षा ११ मा १ हजार ८ सय विद्यार्थी भर्ना भए । कलेजका अनुसार व्यवस्थापनमा ९ सय र विज्ञान विषयमा ९ सय गरी एक हजार ८ सय सय विद्यार्थी भर्ना भएपछि भर्ना कार्यक्रम स्थगित भयो । आइतबारदेखि नियमित पढाइ सुरु भएको कलेजले जानकारी दिएको छ । हरेक वर्षजस्तै कलेजमा यो वर्ष पनि विद्यार्थी भर्नाका लागि निकै भीड भयो । कलेजले प्रवेश परीक्षा लिएर राम्रा विद्यार्थी छनोट गरेर भर्ना गरेको छ । कलेजका सूचना अधिकारी धर्म ओझा गत वर्षको तुलनामा यो वर्ष बढी विद्यार्थी बजारमा आउँदा भर्नाका लागि निकै प्रतिस्पर्धा नै चलेको बताउँछन् । ‘विद्यार्थी धेरै पास भए जिपिए पनि राम्रो ल्याएका छन्, राम्रो जीपीए ल्याएका विद्यार्थीलाई त्यही अनुसार छुट पनि दिएका छौं,’ उनले भने । सबैभन्दा महँगो भनिएको ललितपुरमा रहेको रातो बंगलाले एसईईपछि ए लेभलको पढाइ सुरु गर्छ । उसले रातो बंगलामै कक्षा १० पढेर एसईई पास भएका विद्यार्थी बाहेक बाहिरको धेरै विद्यार्थी नआएको बताएको छ । रातो बंगलामा ६७ जना विद्यार्थी रहेको र उनीहरूसबै जना अहिले ए लेभलमा अध्ययन गरिरहेको कलेज प्रशासनले बताएको छ । प्रशासनका अनुसार दुई/चार जना विद्यार्थी भने बाहिरका विद्यार्थी पनि भर्ना भएका छन्। बागबजारमा रहेको काठमाडौं मोडल कलेजले पनि आफूलाई आवश्यक पर्ने विद्यार्थी भर्ना गरिसकेको जानकारी दिएको छ । कलेजका प्रधानाध्यापक सुरेन्द्र सुवेदीले कक्षा ११ मा विभिन्न विषयमा २ हजार ४ सय विद्यार्थी भर्ना भइसकेको बताए । उनले भर्ना सुरु भएको केही दिनमै आवश्यक विद्यार्थीको संख्या पुरा हुँदा भर्ना समेत बन्द गरिसकेको जानकारी दिए । शुल्कमा फेरबदल ग्लोबल कलेजले यो वर्ष शुल्क बढाएको छैन । बरु उसले धेरै विद्यार्थीलाई केही प्रतिशत छुट दिएको छ । विद्यार्थीहरूको जीपीएका आधारमा विद्यार्थीलाई शुल्कमा छुट दिएको कलेजले जानकारी दिएको छ । ‘यो वर्ष हामीले छुट धेरै दिएका छौं,’ ओझा भन्छन्, ‘जीपीएको आधारमा मात्र नभइ विद्यार्थीलाई विभिन्न पक्ष हेरेर छुट दिन्छौं, यसरी छुट दिँदा २ लाख रुपैयाँको हाराहारीमा विद्यार्थीले कक्षा ११ को कोर्स पुरा गर्न सक्छन् ।’ ग्लोबल कलेजले कक्षा ११ मा विज्ञान विषय लिएर पढ्ने विद्यार्थीका लागि २ लाख ९३ हजार रुपैयाँ शुल्क लिन्छ । तर धेरै जसो विद्यार्थीले पुरै शुल्क तिर्नुपर्ने अवस्था नहुने ओझा बताउँछन् । रातो बंगलाले पनि यो वर्ष शुल्क नबढाएको जानकारी दिएको छ । गत वर्ष जस्तै करिब दुई वर्षे ए लेभल पढ्न विद्यार्थीले २० लाख भन्दा बढी शुल्क तिर्नुपर्छ । काठमाडौं मोडल कलेजले गत वर्षको तुलनामा केही शुल्क बढाएको छ । प्रधानाध्यापक सुरेन्द्र सुवेदीका अनुसार यो वर्ष ५ प्रतिशतले शुल्क बढाएको हो । शुल्क बढाए पनि अधिकांश विद्यार्थीले जीपीएका आधारमा थरीथरीका सहुलियत पाएको उनको दाबी छ । ‘हाम्रो कलेजमा विद्यार्थीलाई धेरै छुट हुन्छ,’ उनी भन्छन्, ‘हामीकहाँ महिनामा १० हजार शुल्क छ भने कोही १० हजार तिरेर पढ्छन्, कोही ९ हजार, ८ हजार कोही ५ हजार र शुल्क नतिरेर पढ्ने विद्यार्थीहरू पनि छन्, जीपीएदेखि हरेक कुरामा हेरेर छुटको व्यवस्था गरिन्छ ।’ सुवेदीको अनुसार केएमसी पढ्ने विद्यार्थीले वर्षभरि २ लाख २५ हजारमाथि खर्च गर्नुपर्छ । तर, छुटका आधारमा धेरै जसो विद्यार्थीले सबै शुल्क तिरिरहन आवश्यक नहुने उनी बताउँछन् । ठूला भनिएका कलेजले विद्यार्थी छनोट गरेर भर्ना गरिरहेको बेला केही कलेजले भने विद्यार्थी नपाएको बताएका छन् । गत वर्षको तुलनामा बढी विद्यार्थी बजारमा आउँदा प्लस टुको व्यवसाय राम्रो हुने आशामा रहेका कलेज गत वर्षकै हाराहारीमा विद्यार्थी भर्ना गरिरहेका छन् । काठमाडौंको कोटेश्वरमा रहेको कसमस इन्टरनेशनल स्कुलले गत वर्ष भन्दा यो वर्ष विद्यार्थीको संख्या घटेको बताएको छ । गत वर्ष तीन सय बढी विद्यार्थी भर्ना गरेको यो कलेजले यो वर्ष तीन सयको हाराहारीमा मात्र विद्यार्थी भर्ना भएको जनाएको छ । कलेजका प्रधानाध्यापक अर्जुन खत्री भन्छन्, ‘विद्यार्थी सबै ठूला भनिएका कलेजले लियो, उनीहरूले सिट संख्या बढाउँदा पनि विगतका वर्ष जस्तो धेरै विद्यार्थी पाउन सकिएन ।’ खत्री विद्यार्थी नपाइरहेको अवस्थामा विभिन्न विद्यार्थी संघ संगठनको दबाबले अर्कै समस्या भएको बताउँछन् । ‘कोही एमाले, कोही कांग्रेस निकटका विद्यार्थी संगठन आउँछन्, छुट अनिवार्य हुनुपर्छ भन्छन्, १० प्रतिशत महानगरले भनेको छुट दिनुपर्छ वडाले पनि छुट माग्छ, अधिकांश विद्यार्थीलाई यसरी नै छुट दिनुपर्छ,’ उनले भने । उनी विद्यार्थी पाए पाँच सयसम्म पढाउन सक्ने जनशक्ति रहेको दाबी गर्छन् । कसमसले यो वर्ष १० प्रतिशतले शुल्क बढाएको छ । विद्यार्थीको संख्या कम हुँदा विद्यालयको व्यवसायमा समेत असर परेको बताउँछन् । काठमाडौंको बत्तीसपुतलीमा रहेको गोल्डेन गेटका सञ्चालक एवं हिसानका अध्यक्ष रमेश सिलवाल उपत्यकाका कलेजमा विद्यार्थीको संख्या घटेको बताउँछन् । पछिल्लो समय राजधानी बाहिरबाट कक्षा ११ मा पढ्नका लागि काठमाडौं आउनेको संख्याका कमी आएकाले विद्यार्थीको संख्या घटेको उनी बताउँछन् । विद्यार्थीको संख्या कलेजमा कम हुँदा शिक्षालयहरूको व्यापार कम भएको उनको तर्क छ । कति छन् विद्यार्थी ? माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा नियमित परीक्षामा सहभागी ४ लाख ३८ हजार ८ सय ९६ परीक्षार्थी मध्ये ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात पास भए । अर्थात् २ लाख ७१ हजार २ सय ९२ विद्यार्थी कक्षा ११ मा भर्ना भए । बाँकी विद्यार्थी अहिले पूरक परीक्षाको तयारीमा छन् । पूरक परीक्षामा पास हुने विद्यार्थीसहित करिब ३ लाख ६० हजार विद्यार्थी ११ कक्षामा भर्ना हुने सम्भावना छ । हिसानका अध्यक्ष सिलवाल कक्षा ११ का विद्यार्थीले एक वर्षमा शिक्षालयमा मात्र ३२ अर्ब रुपैयाँभन्दा बढी खर्च गर्ने गरेको बताउँछन् । त्यसबाहेक किताब, कापी, मोबाइल, ल्यापटप, ड्रेस, होस्टेल, होटल, रेष्टुरेण्टमा उनीहरूले गर्ने खर्च गर्दा अर्बौं रुपैयाँ खर्च हुनसक्ने उनको तर्क छ । उनले यो विषयमा वास्तविक अध्ययन नै नभएका बताए। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्मा सैद्धान्तिक हिसाबले यो वर्ष कलेजको व्यवसाय बढ्ने बताउँछन् । गत वर्ष पूरक परीक्षापछि केही विद्यार्थी थपिए पनि यो वर्ष सुरुमै बढी विद्यार्थी पास हुँदा कलेजले धेरै विद्यार्थी पाएको उनको भनाइ छ । विद्यार्थी बढेपछि त्यसको कक्षा ११/१२ पढाइ हुने कलेज र विद्यालयलाई राम्रो अवसर पाएको बताउँछन् । यस्तो अवस्थामा केही कलेज र विद्यार्थीले मौकाको फाइदा उठाउने भएकाले स्थानीय तहले अनुगमन गर्नुपर्ने उनको भनाइ छ । उनी भन्छन्, ‘विद्यार्थी पास हुँदा सकारात्मक पाटो बढ्यो । तर, योसँगै यहाँभित्र हुने नकारात्मक पाटोलाई नियमन र व्यवस्थापन पनि गर्न सक्नुपर्छ। यो जिम्मेवारी स्थानीय सरकारको हुने भएकाले उसले कदम चाल्नुपर्छ ।’ प्लस टु पुरा गर्न एकजना विद्यार्थीले कति खर्च गर्न सक्छन् भन्ने प्रश्नमा उनी नेपालका शिक्षालयको अवस्था हेरेर यति नै गर्न सक्छन् भन्न नसकिने महाश्रम शर्मा बताउँछन् । ‘उपत्यकामा अहिले निकै महँगा कलेज/विद्यालय सञ्चालन भएका छन् । शुल्क पनि निकै फरक छ, यो हेरेर एउटा विद्यार्थीले औसतमा यति खर्च गर्न सक्छन् भन्न गाह्रो हुन्छ,’ उनी भन्छन्,‘ तर सामुदायिक विद्यालयमा पढ्ने हो भने धेरै खर्च लाग्दैन । सामान्य खर्चमा पनि प्लस टु पुरा गर्न सकिन्छ ।’ एसईईपछि विद्यार्थीले आफूलाई रुचि भएको विषय रोज्छन् । कोही प्राविधिक धारमा जान्छन् भने कोही गैरप्राविधिक धार रोज्छन् । नेपालमा प्राविधिकमा चिकित्सा शिक्षा, इन्जिनियरिङ, कृषि तथा पशुपालन लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ भने गैर प्राविधिकमा विज्ञान, व्यवस्थापन, मानवशास्त्र, शिक्षा लगायतका विषयहरू पढाइ हुन्छ । नेपालको विगतको तथ्याङ्कलाई हेर्दा र यो पटकको विद्यार्थी संख्यालाई विश्लेषण गर्दा विज्ञान विषयमा ६५ हजार, व्यवस्थापनमा १ लाख ३५ हजार, शिक्षामा ८५ हजार विद्यार्थी भर्ना हुने अनुमान छ । यस्तै, मानवशास्त्रमा ३२ हजार, कानुनमा १२ हजार विद्यार्थी भर्ना हुँदा ३० हजार विद्यार्थी प्राविधिक विषय रोज्न सक्छन् । ६ सय विद्यार्थीले ए लेभल रोज्दा तीन सय विद्यार्थी सीबीएससीई अध्ययन गर्छन् भने २ सय विद्यार्थी आईबी विषय पढ्छन् । विद्यार्थीले कति तिरे शुल्क ? काठमाडौंको बबरमहलका आयुश श्रेष्ठ सेन्ट जेभिएर स्कुलमा ए लेभल पढ्दैछन् । काठमाडौं वर्ल्ड स्कुलबाट ३.९३ जीपीए ल्याएर पास भएका उनी सेन्ट जेभिएरमा भर्ना हुँदा भर्ना शुल्क डेढ लाख रुपैयाँ तिरे । अब उनले दुई वर्षसम्म १० लाख रुपैयाँ स्कुललाई बुझाउनु पर्नेछ । ए लेभल पढ्न रातो बंगला र सेन्ट जेभिएरमा प्रवेश परीक्षा दिएका उनी दुवैमा नाम निकाल्न सफल भए । तर उनले रातो बंगलाभन्दा सेन्ट जेभिएर रोजे । रातो बंगलामा दुई वर्षको यो कोर्स पुरा गर्न २० लाखभन्दा बढी लाग्ने भएकाले आफूले सेन्ट जेभिएर रोजेको उनी बताउँछन् । घरबाट पनि नजिकै र केही सस्तो पनि भएकाले सेन्ट जेभिएर रोजेको उनको तर्क छ । इमाडोलका जविक कोइराला विज्ञान विषय अध्ययनका लागि मध्यबानेश्वरमा रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्टमा भर्ना भएका छन् । ४० हजार शुल्क तिरेर उनी भर्ना भए भने स्कुल पोसाकका लागि मात्र ८ हजार पाँच सय रुपैयाँ तिरे । अब उनले कक्षा ११ पुरा गर्न २ लाख ५३ हजार तिर्नु पर्नेछ । विज्ञान विषयका लागि जम्मा शुल्क २ लाख ९२ हजार छ तर उनले राम्रो जीपीए ल्याएका कारण छुट पाएका हुन् । जविकले एसईईमा ३.९१ जीपीए ल्याएका थिए । विद्यार्थीले भर्ना शुल्क, मासिक शुल्कभन्दा धेरै अन्य खर्च गर्नुपर्छ । किताब, कापी आवश्यक सामग्री किन्दा अर्बौं रुपैयाँ अहिले बजारमा गएको छ । शिक्षाविद् प्रा.डा विद्यानाथ कोइराला विद्यार्थीले बजारमा सामग्री किनेको पैसा तिनै मालिकका हातमा परेको बताउँछन् । ‘बजारमा पैसा जानु राम्रो पक्ष हो । तर, विद्यार्थीले अहिले खर्च गरेको पैसा तिनै शिक्षाका मालिकको हातमा गइरहेको छ,’ उनी भन्छन्, ‘पुस्तक पसल उनैका छन्, पोशाक सिलाउने ठाउँ उनीहरूकै छ, सबै मालिककै हुँदा पैसा पनि मालिककै हातमा जान्छ जसले बजारलाई कुनै फाइदा हुँदैन ।’ कोइराला देश चलाउने व्यक्तिले नै शिक्षा चलाउँदा शिक्षामा मात्र नभइ पुरै अर्थतन्त्रमा असर परेको तर्क राख्छन्। ‘निजी विद्यालय स्कुल चल्ने भनेको नाफाले हो । स्कुल चलाउने मान्छे र देश चलाउने मान्छे नेपालमा एउटै हुन् । ‘कलेजले जुन शुल्क बढाउँछन् त्यो पैसाको अंश हाम्रो नेतृत्वले पनि पाउँछ,’ उनी भन्छन्, ‘कलेज विद्यालयको शुल्क कति बढाउने भन्ने एउटा आधार हुन्छ । शुल्क जसले जति बढाए पनि नेतृत्व चुप लागेर बस्छ । यसको असर विद्यार्थी अभिभावकलाई परिरहेको छ ।’
फर्टिलिटीका नाममा करोडौंको खेल, किशोरीको स्वास्थ्यमाथि खुलेआम अपराध
काठमाडौं । एउटा किशोरी कुनै आईभीएफ सेन्टरमा गएर आफै आफ्नो डिम्ब बेच्छिन् । उनलाई डिम्बको सट्टा आईभीएफले ३५ हजार रुपैयाँ दिन्छ । उनलाई थाहा हुन्छ कि किशोरीहरूको अण्डा पनि बजारमा किनबेच हुन्छ । त्यसपछि उनी अरू किशोरीलाई फकाउँछिन्, पैसाको लोभ देखाउँछिन् । पैसाको लोभमा १८ देखि २० वर्ष मुनिका किशोरीहरू पर्छन् । उनलाई आईभीएफमा ल्याइन्छ । चिकित्सकले सुई लगाएर बेहोस गर्दै उनको डिम्ब झिक्छन् । अनि होसमा आउँदा हातमा १०/१० हजार दिएर फर्काइन्छ र यस्तो कुरा अरूलाई नभन्न दबाब दिइन्छ । किशोरीहरूलाई आईभीएफमा ल्याएबापत ती युवतीले कमिसन पनि बुझ्छिन् । उनको यो खेल कति अगाडि सुरु भएको हो प्रहरीले अनुसन्धान गरिरहेको छ । तर, ती किशोरीले अहिलेसम्म ६ जना किशोरीलाई आईभीएफ पुर्याएर अण्डा झिक्न लगाई आफूले पनि कमिसन खाइसकेको पाइएको छ । यो कुरा तब बाहिर आउँछ जब ती युवतीले कसैलाई नभन्नु भनेको कुरा आफ्ना अभिभावकलाई थाहा हुन्छ । प्रलोभनमा परी शरीरको डिम्ब दिएकी किशोरीमा एक्कासि शारीरिक र मानसिक परिवर्तन आउँदा अभिभावकले चासो राख्छन् । छोरीले समस्याबारे मुख नखोल्दा आतिन्छन्, उनीहरू उपचारको लागि दौडधूप गर्छन् । अस्पतालमा गएर चिकित्सकहरू भेट्छन् । चिकित्सकले काउन्सिलिङ गरेपछि किशोरीहरू बल्ल बोल्छिन् । छोरीलाई फकाएर शरीरका अण्डा दिन लगाइएको कुरा थाहा भएपछि अभिभावक आईभीएफको कालो कर्तुतबारे उजुरी दिन प्रहरीकहाँ जान्छन् । जब उनले कालो कर्तुतबारे प्रहरीलाई जानकारी दिन्छन् त्यसपछि आउँछ दम्पतीलाई सन्तानको सुख दिने भन्दै खोलिएका आईभीएफको सेवाको नाममा गरिएको घिनलाग्दो कर्तुत। यो घटना गत असार ३० गतेको हो । लाजिम्पाटमा रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा दुई किशोरीका अभिभावक काठमाडौंमा सञ्चालित फर्टिलिटीले आफ्ना छोरीहरूको अण्डा झिकेर लिएको उजुरी लिएर पुगे । जुन घटना प्रहरीको लागि समेत नयाँ थियो । निःसन्तान दम्पत्तिलाई सन्तानको सुख दिने उद्देश्यले सञ्चालन गरेर कलिला किशोरीबाट अण्डा झिकेर लाखौंमा बेच्ने काम गरिरहेको यो आईभीएफ हो- काठमाडौंको बबरमहलमा सञ्चालित होप फर्टिलिटी एण्ड डाइग्नोसिस्ट प्रालि । जसले कलिला छोरीलाई विभिन्न प्रलोभनमा पारी शरीरको डिम्ब झिकिरहेको फेला परेको छ । यो विषय उजुरी परेपछि प्रहरीले सञ्चालकसहित चिकित्सक र कर्मचारी गरी पाँच जनालाई पक्राउ गर्यो । अनुसन्धानपछि घटना अदालत पुग्दा अदालतले पाँचै जनालाई जमानतमा रिहा गरी अनुसन्धान गरिरहेको छ । सुन्दा अनौठो कथा जस्तो लाग्ने यो घटना काठमाडौंमा सञ्चालित केही आईभीएफहरूले गरेको यथार्थ हो । प्रहरीकहाँ परेको उजुरी एउटा फर्टिलिटीसँगमात्र सम्बिन्धत थिएन । महाराजगञ्जमा रहेको एन्जल फर्टिलिटी क्लिनिकमा पनि यस्तै धन्दा चलिरहेको उजुरी पनि प्रहरीकहाँ पुगेको छ । यो विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले यो विषयमा अनुसन्धान जारी राखेको जनाएको छ । अहिले काठमाडौं उपत्यकाभित्र छ्याप्छ्याप्ती आईभीएफ सेन्टरहरू छन् । उपत्यकाका प्रत्येक गल्ली-गल्लीमा देखिन्छन् । यस्ता सेन्टरहरूले निःसन्तान दम्पतीलाई सन्तान दिलाउने भन्दै चर्को मूल्य समेत लिइरहेका छन् भने भित्रभित्र वीर्य र अण्डा लेनदेनको खेल पनि सुरु भएको छ । कतिपय विषय बाहिर आएपनि यस्ता विभिन्न कर्तुत आईभीएफले गर्नसक्ने अनुमान माथिको घटनाले देखाउँछ । आईभीएफहरूले सन्तान नभएका दम्पतीलाई सन्तानको आश देखाउँदै प्रतिस्पर्धाका रूपमा विज्ञापन गरिरहेका छन् । सामाजिक सञ्जाल टिकटक, फेसबुकमा जताततै अहिले आईभीएफले दिने सेवा र गरेको कामबारे प्रचारप्रसार गरिरहेको पाइन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले देशभर २५ वटा आईभीएफ सेन्टर दर्ता भएर सञ्चालन भइरहेका छन् । जसमध्ये १६ वटा काठमाडौं उपत्यका र ९ वटा उपत्यका बाहिरका विभिन्न सहरमा सञ्चालनमा आएका छन् । आईभीएफ सञ्चालनका लागि १२ वटाले अनुमति माग गरेको मन्त्रालयले जनाएको छ । यीभन्दा बाहेक मन्त्रालयसँग दर्ताको अनुमति नलिएर पनि थुप्रै आईभीएफ सञ्चालनमा आइरहेका छन् । मन्त्रालयले यस्ता आईभीएफलाई दर्ता हुन पटक-पटक आग्रह गरे पनि लुकिछिपी सञ्चालनमा आइरहेको पाइन्छ । अहिले फर्टिलिटीमा भइरहेको विकृतिका विषयमा छानबिन गर्न मन्त्रालयले समिति बनाएर काम गरिसकेको जनाएको छ । मन्त्रालयले समिति नै बनाएर छानबिन गरिरहेकाले प्रतिवेदन प्राप्त भएपछि मात्र यो विषयमा जवाफ दिने प्रतिक्रिया दिएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी भन्छन्, ‘यो विषयमा प्रहरीले पनि अनुसन्धान गरिरहेको छ, मुद्दा अदालतमा छ । हामीले पनि अनुसन्धानका लागि समिति बनाइसकेको बेला अहिले नै यसोउसो भन्न मिल्दैन, प्रतिवेदन प्राप्त भइसकेपछि हामी कुरा के जानकारी गराइहाल्छौं ।’ कानुन बिना दर्ता उपत्यकाभित्र वा बाहिर भद्रगोल रूपमा धमाधम सञ्चालनमा आइरहेका आईभीएफ सञ्चालनका लागि स्पष्ट कानुन छैन । कानुन नभई सञ्चालनमा आएका यस्ता आईभीएफले भोलि ठूलो समस्या सिर्जना गर्न सक्ने विज्ञहरू बताउँछन् । स्वास्थ्यविज्ञ डा. बाबुराम मरासिनी कानुनबिना यस्ता आईभीएफ सञ्चालन हुन नहुने बताउँछन् । ‘मैले आज होइन, स्वास्थ्य मन्त्रालयलाई कानुन बनाउनुपर्छ भनेको धेरै समय भइसक्यो,’ उनी भन्छन्, ‘कति कानुन मात्र बनाउने भन्दै स्वास्थ्य मन्त्रालयलाई उम्कने अधिकार छैन । मन्त्रालयका पदाधिकारी कति कानुन बनाउने भन्ने ओठे जवाफ दिन्छन् । जब सम्म स्पष्ट कानुन हुँदैन तबसम्म यस्ता विकृतिहरू रहिरहन्छन् ।’ मरासिनी कानुनबिना आईभीएफको लागि मन्त्रालयले इजाजतपत्र नै दिन नहुने बताउँछन् । उनी अहिले चर्चामा आएको आईभीएफको कालो धन्दामा स्वं चिकित्सक आफैले बदमासी गरिरहेको भन्दै यस्तो अपराध गर्ने अधिकार चिकित्सकलाई नरहेको बताउँछन् । कानुन भएको ठाउँमा पनि समस्या आइरहेको बेला नेपालमा झन अवस्था डरलाग्दो हुने उनको भनाइ छ । प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. लता बज्राचार्य आईभीएफको नाममा बजारमा निकै विकृति मौलाइरहेको बताउँछिन् । ‘बजारमा आएको जुन घटना छ, यो निकै ठूलो डरलाग्दो घटना हो,’ उनी भन्छिन्, ‘उमेर नपुगेका किशोरीलाई विभिन्न सुई दिएर डिम्ब निकाल्नु अपराध हो, यी किशोरीलाई अहिलेमात्र होइन पछि गएर किशोरीको रिप्रोडक्टिभ हेल्थमा असर पर्छ, यो जसले गरिरहेको छ निकै नराम्रो काम हो ।’ स्पष्ट कानुन नभई सञ्चालनमा आएका यस्ता आईभीएफहरूबारे एक पटक सोच्ने बेला भएको बज्राचार्य बताउँछिन् । गाउँबाट पढ्न आउँछन् पैसा हुँदैन बाध्यताले यस्तो काम गर्छन् । उनले सानो उमेरमै डिम्बासय निकाल्दा यसले पछि समस्या हुने बताइन् । डा. लताले सेरोगेसी र आईभीएफका विषयमा कानुन बनाउनुपर्ने कुरा पहिल्यैदेखि उठाउँदै आएकी थिइन् । तर, यो विषयमा कसैले चासो नदेखाएको उनको भनाइ छ । ‘पहिले कानुन बनाउनुपर्यो भन्ने कुरा मैले पहिलेदेखि गरेकी हुँ तर अहिलेसम्म पनि स्पष्ट कानुन छैन । पहिले सेरोगेसी निकै हुन्थ्यो, अहिले यो विषय सुस्ताएको छ तर जे हुँदैछ गलत काम हुँदैछ,’ उनले भनिन् ।’ के छ कानुनमा ? टेस्टट्युबबेबी सम्बन्धी स्पष्ट कानुन नभए पनि जन स्वास्थ्य सेवा नियमावली २०७७ ले केही विषय भने समेटेको छ । ऐनको अनुसूची ७ को २४ मा टेष्ट ट्युव बेबी आईभीएफ सेन्टर उल्लेख गरी यसले दिने सेवाका बारेमा बोलेको छ । जसमा भनिएको छ, ‘स्त्री रोग सेवा, बहिरंग सेवा, प्रयोगशाला : शुक्रकिट परीक्षणसहित यूएसजी सेवा, अप्रेसन थिएटर, भ्रूण विज्ञान ल्यावको व्यवस्था हुनपर्ने छ ।’ आकस्मिक सेवाका लागि कम्तीमा कुनै एक प्रारम्भिक विशेषज्ञ सरहको अस्पतालसँग सम्झौता हुनेपर्ने पनि भनिएको छ । योभन्दा बाहेक यो विषयमा ऐन मौन छ । यस्तै, मुलुकी देवानी संहिता ऐन २०७४ ले पनि कृत्रिम गर्भाधानको विषयमो केही बोलेको छ । उक्त ऐनको दफा १ सय ९ ले कृत्रिम गर्भाधानबाट जन्मिएको शिशुको पितृत्व बाबुको हुने भनेको छ । जसमा भनिएको छ, ‘पति पत्नीको मञ्जुरीले अन्य कुनै व्यक्तिको विर्यबाट कृत्रिम गर्भधान प्रणालीद्वारा जन्मिएको शिशु विवाहित पतिबाट नै जन्मिएको मानिनेछ र सोही बमोजिम निजको पितृत्व निर्धारण हुनेछ ।’ योभन्दा बाहेक अन्य कुनै पनि ऐन, नियमावली अहिलेसम्म बोलेको छैन । विज्ञहरू कानुन नभएका गतिविधि गर्ने छुट कसैलाई नभएको भन्दै पहिले कानुनमा जोड दिनुपर्ने बताउँछन् । विज्ञ डा. मरासिनी भन्छन्, ‘कडा ऐन भएका देशमा पनि आईभीएफले बदमासी गर्दा केही व्यक्ति अहिले जेलमा बसेका छन्, हाम्रो जस्तो कानुन नै नभएको देशमा अवस्था अझै डर लाग्दो देख्छु ।’ १५ प्रतिशत दम्पतीलाई आईभीएफ आवश्यक आजभोलि निःसन्तान दम्पतीको संख्या केही बढ्न थालेको छ । बदलिँदो जीवनशैली, ढिलो विवाहका कारण पनि दम्पतीलाई बच्चा जन्माउन समस्या भइरहेको हुन्छ । तर, समस्या भएका सबै दम्पतीको आईभीएफ नै गर्नुपर्छ भन्ने हुँदैन । केही दम्पतीको सामान्य जाँच गरी उपचार गर्दा पनि बच्चा जन्मन सक्छ । तर, ४०/४५ वर्ष पुगिसकेका महिला र विशेषगरी खाडी मुलुकमा काम गर्ने पुरुषमा यो समस्या बढिरहेको छ । विज्ञ डा. लता पहिलेको तुलनामा निःसन्तान हुने दर बढे पनि सबैलाई आईभीएफ नै आवश्यक नपर्ने बताउँछिन् । उनी करिब १५ प्रतिशत दम्पतीलाई यो आवश्यक पर्ने बताउँछिन् । विज्ञहरू आईभीएफ सेवालाई नराम्रो भन्दैनन् । बरु उनीहरू अहिलेको पुस्तालाई अत्यन्तै आवश्यक भएको बताउँछन् । स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डा. भोला रिजाल यो सेवा उपत्यका मात्र नभई उपत्यका बाहिरका सहरमा पनि विस्तार गर्न आवश्यक रहेको बताउँछन् । भन्छन्, ‘कहिले अनुमति नै नलिएर सञ्चालन गरिएको सुनिन्छ, कहिले दर्तामा भएकाहरूले नै गलत गतिविधि गरिरहेको भन्ने सुनिन्छ, यसलाई बाँध्ने गतिलो ऐन बन्न सकेन ।’ स्वास्थ्य जस्तो संवदेनशील विषयमा गैर-कानुनी रूपमा सञ्चालनमा आउनु आफैमा नराम्रो रहेको उनी बताउँछन्। के हो आईभीएफ ? इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) बच्चा जन्माउन सहयोग गर्ने एक सहायक प्रजनन प्रविधि हो । जसको प्रयोग बच्चा जन्माउन समस्या भएकाहरू दम्पतीका लागि गरिन्छ । इन भिट्रोको अर्थ शरीर बाहिर हुन्छ । पुरुषको शुक्राणु र महिलाको डिम्बलाई महिला र पुरषको शरीर बाहिर विशेष प्रयोगशालाको पेट्री डिसमा मिलाएर भ्रूण तयार पार्ने प्रक्रिया हो । यो प्रक्रियापछि त्यो भ्रूणलाई महिलाको पाठेघरमा लिएर राखिन्छ । यो प्रक्रियाभन्दा अगाडि महिलाको थुप्रै जाँच गर्नुपर्छ । यो जाँच महिनावारीको दोस्रो दिनबाट गरिन्छ । हर्मोन टेस्ट र अल्ट्रासाण्ड गरिसकेपछि दोस्रो दिनदेखि नाइटोको वरिपरी भागमा १० दिनदेखि १२ दिनसम्म विभिन्न सुई लगाइन्छ । जसले महिलाको डिम्बलाई राम्रो बनाउँछ । डिम्ब राम्रो बनिसकेपछि यसलाई अल्ट्रासाण्डको सहायताले महिलाको अण्डाशयबाट निकालिन्छ । यसै बेला पुरुषको शुक्रकिट निकालेर ल्याबमा राखेर निशेचन गराइन्छ । यसरी तयार पारिको भ्रूणलाई फेरि महिलाको पाठेघरमा राखिन्छ । यसरी राखिएको करिब दुई सातापछि गर्भवती भए नभएको जाँच गरिन्छ । कुनै दम्पतीले लामो समयदेखि बच्चा जन्माउने प्रयास गर्दापनि गर्भ नरहँदा, पाठेघरको नली बन्द हुँदा, पुरुषको शुक्राणुको संख्या कम वा कमजोर हुँदा वा विभिन्न उपचारपछि पनि गर्भ नरहँदा दम्पतीले यो विधिबाट सन्तान प्राप्त गर्छन् । बालअधिकारकर्मीको गुनासो काठमाडौं उपत्यकामा ७७ वटै जिल्लाका व्यक्तिको बसोबास छ । धनी, गरिबदेखि राम्रो नियत भएका वा खराब नियत भएका व्यक्तिहरू पनि काठमाडौंमा छन् । विभिन्न सपना बुन्दै यो काठमाडौंमा बसिरहेकाहरूलाई यहाँ टिक्न निकै चुनौती हुन्छ । यही मौका छोप्दै दलालहरूले गरिब निमुखाहरूमाथि फाइदा उठाउने काम गरिरहेको सरोकारवालाहरू बताउँछन् । यसमा अझ बढी पीडित किशोरी र महिला रहेका छन् । डा.बज्राचार्य गाउँबाट पढ्न आउने किशोरीलाई पैसाको प्रलोभन देखाएर विभिन्न गलत काममा लाग्न बाध्य पारिरहेको बताउँछिन् । अहिले फर्टिलिटीहरूमा देखिएको यो गलत धन्दाको पीडित पनि आर्थिक अवस्था कमजोर रहेका बालिकाहरू पर्न सक्ने बताउँछिन् । ‘बालबालिका गलत काममा जानाजान लाग्दैनन्, कि बाध्यताले गर्छन् कि थाहा नपाएर पैसा हुँदैन बाध्यताले यस्तो काम गर्छन्,’ उनले भनिन् ।
छाला मुनिको प्लाष्टिक सर्जरी : आवश्यकता धेरै, जनशक्ति न्यून
काठमाडौं । केही महिनाअघि ट्रमा राष्ट्रिय सेन्टरमा बाइक दुर्घटनामा परेका बिरामीलाई उपचारका लागि ल्याइयो । खुट्टाको हड्डी भाँचिएर आएका उनको अर्थोपेडिक डाक्टरले उपचार गरे । तर, हड्डी बाहिर देखिन थाल्यो । उपचार भएपनि घाउ छोप्न प्लास्टिक सर्जरी गर्नुपर्ने आवश्यकता भयो । त्यसपछि प्लास्टिक सर्जनले हड्डी छोप्ने गरी मांसपेशी र छाला नभएको अवस्थामा माइक्रो सर्जरीको प्रविधिबाट पेटको मांसपेशी लिएर माइक्रोस्कोपमा सानो रगतको धमनीलाई जोडेर प्रत्यारोपण गर्न सम्भव भयो । खुट्टामा जटिल घाउ हुँदा माशंपेशी अर्को ठाउँबाट सारेर छाला प्रत्यारोपण गरेर उपचार गर्न सम्भव प्लास्टिक सर्जरीबाट हुन्छ । ट्रमा सेन्टरमा कार्यरत प्लास्टिक सर्जन डा. अनुराग थापा प्लाष्टिक शल्यक्रिया बिना ट्रमा सेवा अपुरो हुने बताउँछन् । ‘सामान्य चोटपटकमा अन्य चिकित्सकले काम गर्छन तर यस्ता गहिरा घाउ भर्न प्लास्टिक सर्जनहरूकै आवश्यकता हुन्छ । घाउ चोटपटक लाग्दा प्लास्टिक सर्जरी गर्नुपर्ने हुन्छ,’ उनले भने । ट्रमा अस्पतालमा सयौं बरामी विभिन्न घाउ चोटपटक लागेका बिरामी आउँछन् । उनीहरूमध्ये धेरैको गहिरो घाउ हुन्छ । जहाँ उपचार गर्दा घाउ छोप्न अर्को ठाउँमा मासु ल्याएर छाला प्रत्यारोपण गर्नुपर्ने हुन्छ । ट्रमा उपचारमा प्लास्टिक सर्जरी विलासिता नभइ आवश्यकता रहेको उनी बताउँछन् । जलनमा सर्जरी नेपालमा हरेक वर्ष ५५ देखि ६० हजार हाराहारीमा जलनको घटना हुन्छ । जसमा २ हजार बढीले ज्यान गुमाइरहेका छन् भने हजारौं अगंभंग अवस्थामा पुग्छन् । ४० प्रतिशत शरीर जलिसकेका व्यक्तिलाई बचाउन सक्ने सम्भावना न्यून हुने उनको भनाइ छ । ३० प्रतिशतसम्म गहिरो जलन भएका व्यक्तिमा प्लास्टिक सर्जरी आवश्यकता पर्छ । प्लास्टिक सर्जन डा. नीरन महर्जन जलनका धेरै बिरामीमा प्लास्टिक सर्जनको आवश्यकता पर्ने बताउँछन् । उनी नेपालमा वर्षेनी दुई हजार बढी बिरामीको जलनमा परी मृत्यु हुने गरेको तथ्याङ्क भएपनि अस्पतालमै नपुगेर घरमै मृत्यु हुनेको सख्या अझ धेरै हुनसक्ने बताउँछन् । कुनै पनि चरम ताप, रसायन पदार्थ, करेन्ट तथा विकिरणले जलन हुने गर्छ । जलेका घटनाले शारीरिक मात्र नभइ पारिवारिक जीवनभर भावनात्मक रूपले धेरै गहिरो दख्खल दिएको हुन्छ । जलन भइसकेपछि सबैभन्दा पहिलो प्राथमिक उपचार घरमै गर्न सकिन्छ । शरीरमा भएका गहना कपडा खोलेर करिब २५ मिनेट जति जलेको ठाउँमा पानी खन्याउन सकिन्न्छ । त्यससपछि अस्पताल पुर्याउनदा जलनको प्रकारी गहिराइ र गम्भिरताका आधारमा धेरै विधागत स्वास्थ्यकर्मीको उपस्थितीतमा उपचार गरिन्छ । क्यान्सरमा सर्जरी त्रिवि शिक्षण अस्पतालका प्लास्टिक सर्जन डा. समित शर्मा क्यान्सर उपचारमा प्लास्टिक सर्जरीको आवश्यकता उत्तीकै रहेको बताउँछन् । ‘प्लाष्टिक सर्जरी एउटा यस्तो विद्या हो यो एक अंगमा मात्र समिति हुँदैन,’ उनी भन्छन्, ‘टाउकोदेखि खुट्टासम्म बच्चादेखि वृद्धसम्म सबैलाई आवश्यकपर्छ, क्यान्सर रोग लागेका बिरामीको उपचार गर्ने चिकित्सकहरूले छाला, मासु, हड्डी नशा सबैको उपचार गर्नुपर्छ ।’ नेपालमा भयानक क्यान्सरका बिरामीको उपचार भएका छन् । केही समय अघि शिक्षण अस्पतालमा एक जना बिरामी टाउकोको पछाडी भागमा ठूलो ट्युमर बोकेर आए । हेर्दै डर लाग्ने मासुको ढिको कपालमा थियो । अस्पतालमा उपचार सुरु हुँदा मासुको डल्लो काटेर फालियो । ट्युमर निकालिएपछि उनको टाउकोमा ठूलो भ्यवाङ पर्यो । क्यान्सर रोग विशेषज्ञले अप्रशेन गरिसकेपछि यो घाउलाई कसरी छोप्ने भन्नेबारे छलफल भयो । प्लास्टिक सर्जनसहितको सहभागितामा कसरी घाउ छोप्ने भन्नेबारे छलफल भइसकेपछि ढाडको मासु लिएर घाउलाई छोपियो । हामीले छोपेको ठाउँमा रौं त आउँदैन तर छोपेनौं भने संक्रमण हुनसक्ने, घाउ पाक्न सक्नेमात्र नभइ गिद्धीभित्र पनि संक्रमण फलन सक्ने डर हुन्छ,’ डा. समित भन्छन्, ‘प्लाष्टिक सर्जनको सहयोगमा क्यान्सरका विभिन्न अंगमा अप्रेशन गर्दा यसरी नै घाउ छोप्नुपर्ने हुन्छ ।’ जन्मजातका समस्यामा समेत सर्जरी कुनै रोग लागेर अस्पताल पुगेका बिरामीमात्र होइन, जन्मजात समस्या भएकाहरू पनि प्लाष्टिकको सर्जरी गर्नुपर्ने हुन्छ । जन्मिदै यस्त समस्या भएका बालबालिकाहरूलाई पनि उपचारको लागि अस्पताल ल्याइन्छ । डा. विशाल कार्की जन्मदै हात जोडिएका, औला जोडिएका वा कसैका बढी औला भएका बच्चाहरू आउने गरेको बताउँछन् । उनी यसको उपचारका लागि पनि प्लास्टिक सर्जरी गर्नुपर्ने बताउँछन् । उनका अनुसार आजभोलि सौन्दर्यको लागि प्लास्टिक सर्जरी गर्नेको संख्या नेपालमा पनि बढिरहेको छ । शरीरका हरेक अंग तन्काउन मिल्ने, खुम्च्याउन पनि पनि मिल्ने भएकाले नाक, कान, आँखा, स्तनदेखि सबै अंग सर्जरी गर्नेको संख्या बढिरहेको छ । सौन्दर्यका लागि होस् या दुर्घटना वा कुनै रोग लागेर होस् अस्पताल विभिन्न कारण अस्पताल पुग्नु परेका बिरामीको प्लास्टिक सर्जरी आवश्यक पर्छ । तर नेपालमा आवश्यक मात्रामा प्लास्टिक सर्जनहरू छैनन् । हाल नेपालमा ५० जनासम्ममात्र प्लास्टिक सर्जरी गर्ने चिकित्सक रहेका छन् । प्लास्टिक सर्जन बन्नको लागि मास्टर गर्नुपर्यो त्यसपछि इन्र्टनसिप गरेर केही वर्ष काम गरेर प्रतिस्पर्धाका आधारमा जनरल सर्जरी पढ्नुपर्ने हुन्छ । यो पास गरिसकेपछि फेरि २ वर्ष काम गरेर परीक्षा दिनुपर्ने हुन्छ । यसमा पनि पास भइसकेपछि बल्ल अर्काे तीन वर्ष पढ्नुपर्छ । डा. शकरमान राइ यस्तो लामो पढाइधेरै व्यक्तिले पढ्न नचाहदा सख्यामा कमी भएको बताउँछन् । उनी भन्छन्, ‘जनरल सर्जन भएर मात्रै प्लास्टिक सर्जन हुनुपर्ने भएकाले जनरल सर्जन हुने वित्तिकै काम गर्न पाइने भएकाले त्यो पछाडी तीन वर्ष फेरि पढ्न समय नहुँदा प्लास्टिक सर्जनको सख्या बढ्न नसकेको हो ।’ नेपालमा वर्षमा ६ जना चिकित्सकलाई प्लास्टिक सर्जन बन्न तालिम दिनसक्ने अवस्था भएपनि गएको दुई, तीन वर्षदेखि तालिम लिने जम्मा दुई दुई जना मात्र भेटिएका छन् । प्रत्येक वर्ष ६ जना उत्पादन गर्न सकिने भएपनि दुईजना पनि मुस्किलले आउँदा नेपालमा आवश्यक अनुसारको जनशक्ति हुन नसेको राई बताउँछन् । उनी यो विषयमा चिकित्सा शिक्षा आयोगसँग छलफल गरिरहेको बताए । ‘लामो समय टुक्रा टुक्रा गर्नुभन्दा एमबीबीएस पछाडी नै स्पेसालिष्टमा जान पाउने बनाउनुपर्छ भन्ने पक्षमा हामी छौ,’ उनले भने । पढ्न चाहने डाक्टरको समस्या महाराजगञ्ज मेडिकल कलेजमा एमसिएच प्लास्टिक सर्जरी २०११ देखि सुरु भएको थियो । तर सुरुका दुई वर्षसम्म विद्यार्थी कोही पढ्न आएनन् । सिट त्यत्तिकै खेर गयो । यो वर्ष पनि न्याम्समा एउट सिट खालिरहेको प्रा.डा लोहोनी बताउँछन् । परीक्षामा क्वालिफाइड नगरिकन यो विषय पढ्न पाइदैन । हालसालै नेस्नल बोर्ड अफ मेडिकल स्पेसालिटी एनबीएमएस भनेर प्लास्टिक विषयको पढाइका लागि विभिन्न निजी अस्पतालबाट आवदेन परेको छ । उनी भन्छन्,‘भएको सिट खालिरहेको अवस्थामा निजी कलेजले अध्ययन अनुमती मागिरहेको कुरालाई धेरैले फरक अर्थमा पनि हेरिरहेका छन् । जुन गतिले अहिले विश्वमा प्लाष्टिक सर्जरीको विकास भएको छ त्यो सापेक्ष विकास गर्न नेपाली चिकित्सक पनि प्रयत्नरत रहेको उनले बताए । उनी आफ्नो साढे २७ वर्षको रेसियो हेर्दा धेरै चेतना र सचेत भएको बताउँदै यो बीचमा ६ साढे ६ हजार मेजर अप्रेसन गरिएको बताउँछन् । प्लाष्कि सर्जरीको विकासका लागि सबै एक जुट भएर लाग्नुपर्ने उनको भनाइ छ । प्लास्टिक सर्जरीले न्युरो सर्जरी, कार्डियो थेरासिकभास्कुलर सर्जरीसँग पनि काम गर्नुपर्छ भने गाइने सर्जरी सबैसँग काम गर्नुपर्छ । सबै विद्यासँग उत्तिकै जोडिएकाले प्लास्टिक सर्जरीको निकै महत्व रहेको लोहनी बताउँछन् । एशोसियसन अफ प्लास्टिक सर्जन्स अफ नेपालका सचिब प्रा डा.पीयुष दाहाल नेपालमा प्राचिनकालदेखि नै प्लास्टिक सर्जरीको इतिहास रहेको बताउँछन् । ऐतिहासिक पृष्टभूमिमा महादेवले जतिवेला गणेशको टाउको काटेर पछि टउकोलाई रिप्रण गरेका थिए यो । इतिहाससँग प्लास्टिक सर्जरीलाई जोड्ने गरिन्छ । यो कथा कहीँ न कहीँ स्वास्थ्यसँग पनि जोडिएको छ । प्रा.डा दाहाल सो सर्जरीको सुरुवात नेपाल अथवा हाम्रो क्षेत्रबाटै भएको इतिहाँस रहेको बताउँछन् । सुश्रुतलाई अहिले फादर अफ प्लास्टिक सर्जरी भन्ने गरिन्छ । उनले सिकेको नभइ पुस्तक लेखेको, औजार प्रयोग गरेको हुनाले ‘सुश्रुत संहिता’ भन्ने किताबमा प्रस्ट लेखेकाले त्यही औजारकोहरूको विकास क्रममा विकास हुँदै जाँदा अहिलेको अवस्था पुगिएको मानिन्छ । नेपालमा आधुनिक चिकित्सा सेवा वीर अस्पतालबाट सुरु भएको मानिन्छ । त्यो भन्दा पहिले बैद्यले पनि सर्जरी गर्थे । यो सेवा धेरै पहिलेदेखि ब्रिटेनबाट आएको प्लास्टिक सर्जनहरूले सुरु गरेको थिए । यो कुरा अन्तराष्ट्रिय जर्नलमा पनि प्रकाशित भएको इतिहास पाइन्छ । यसैको आधारमा एउटा अभियान सुरु भएको थियो त्यो बेला प्लाष्टिकको सर्जरी सेवा दिएको भेटिन्छ । प्लास्टिक सर्जरी सेवा १९७३ अर्थोपेडिक डिपार्टमा सुरु भएको थियो । त्यो बेला प्लास्टिक सर्जन कोही पनि थिएनन् । पछिल्लो समयमा एचआरडिसी भनेर जोरपार्टीमा विकालंगहरूलाई सेवा पु¥याउने कार्यक्रम थियो प्लास्टिक सर्जरीको कार्य सुरु भयो । र १९८८ मा प्लास्टिक सर्जरी सेवा सुरु भयो र छुट्टै वर्नवार्ड प्वालाष्टिक सर्जरी वार्ड बनेर २००१ देखि छुट्टै सेवाको विकास भयो । १९९५ मा त्रिवि शिक्षण अस्पतालमा सुरु भएको थियो । सबैभन्दा पहिलो केशवराज जोशी (केपि)ले प्लास्टिक सर्जरीको सुरुवात गरेका थिए भने त्यसपछि डा.शंकरमान राइ, प्रा.डा.इश्वर लोहनीहरूले यसलाई बिकासको धारमा अगाडि बढाएका थिए । काटिएको हात जोड्ने, काटिएको औलाहरू जोड्ने कामदेखि जलनको कामलाई पनि यही समूहले काम गरेको थियो । पछिल्लो समय काठमाडौंमा मात्र केन्द्रित नभइ यो सेवालाई दुरदराजमा पुर्याउनुपर्ने आवश्यकता पनि औल्याइएको छ । ‘मान्छेको चाहना पनि बढ्दै गयो, कपाल रोप्नदेखि राम्रो बन्ने चाहना पनि बढ्दै गयो । चाहना बढेसँगै सेवा पनि बढ्दै गयो डा. दाहल भन्छन्, ‘२०१८ मा आउँदा थोरै प्लास्टिक सर्जन थिए । त्यसपछि अझै प्वालिष्टक सर्जनको आवश्यकता भयो । प्वालाष्टिक सर्जरी एशोसिएसनको २०१७ मा स्थापना भयो । केन्द्रबाट दुर्गम क्षेत्रसम्म पुर्याउनुपर्छ भन्ने हिसाबले काम सुरु गरियो । नेपालमै प्लास्टिक सर्जन उत्पादन गर्ने कार्य सुरु भयो ।’ प्लास्टिक सर्जरी यस्तो विषय हो यो कुनै एक अंग विशेषसँगमात्र सम्बिन्धत नभएर पुरै शरीर टाउकोदेखि खुट्टासम्मका सबै ठाउँका अपूर्णतालाई पूर्णतामा परिणत गर्ने जमर्को गर्छ । अहिले पनि जनमानसमा प्लास्टिक सर्जरीमा प्लाष्टिकको प्रयोग गर्ने होइन भन्ने कुरा बुझाउन निकै गाह्रो परेको थियो । अहिले बिस्तारै मानिस सुसचित हुँदै गएका छन् । समस्याकै कुरा गर्ने हो भने जताततै समस्या छ । ‘सबै ठिक हुन्छ र काम गरौला भनेर बसेको भए सायद यहाँसम्म पुगिदैन थियो होला अहिले पनि सबै सुविधा शहरमामात्र केन्द्रित छ । दुरदराजमा उस्तै समस्या छ,’ प्रा.डा इश्वर लोहनीले भने । आधारभुत स्वास्थ्य सेवा सर्वसाधरणको पहुँचबाट टाढा रहेको अवस्थामा प्लास्टिक सर्जरीको विकास गर्न लामो यात्रा तय गर्नुपर्ने उनको भनाइ छ ।
इलावेन इकोनोमी
काठमाडौं । काठमाडौंका अविरल कार्की ३.५७ जिपीए ल्याएर एसईईमा पास भए । काठमाडौंको बागबजारमा रहेको सिद्धार्थ पब्लिक एकेडेमीबाट एसईई पास उनी अहिले नयाँ बानेश्वरमा रहेको नोवेल एकेडेमीमा व्यवस्थापन अन्तर्गत गत कम्प्युटर साइन्स पढ्न भर्ना समेत भइसकेका छन् । भर्ना शुल्क ५ हजार तिरेका अविरलले ड्रेसका लागि १० हजार तिर्नुपर्यो । कलेजको ड्रेस कलेजले भनेकै ठाउँमा गएर मात्र सिलाउनुपर्छ । यसका लागि १० हजार खर्च भएको उनले बताए । उनको जीपीए पनि राम्रो र साथीहरूको समूह जाँदा उनलाई कलेजले केही छुट दिएको उनले बताए । उनका अनुसार अब उनलाई वर्षभरीको मासिक शुल्क ३५ हजार मात्र तिर्नुपर्ने छ । त्यस बाहेक कलेजलाई वार्षिक ५५/६० हजार रूपैयाँ बुझाउनु पर्ने उनी बताउँछन् । सिन्धुलीकी निकिता चावहिलको टेक्सास कलेजमा कक्षा ११ मा भर्ना भइन् । अघिल्लो साता आमाबुवासँग कलेजमा पुगेकी उनले कलेज हेरेपछि भर्ना भइन् । विज्ञान विषय लिएर अध्ययन गर्ने योजना बनाएकी उनीसँग शुल्कको विषयमा बुझ्दा छुट विभिन्न छुटपछि वार्षिक ६० हजार तिर्नुपर्ने उनका बुवाले बताए । उनले भने, ‘हाम्रो चिनजानका मान्छे पनि हुनुहुन्थ्यो छोरीले पनि राम्रै नम्बर ल्याएकी थिइन्, छुट पाएर ६० हजार शुल्कमा कुरा मिलेको छ, नभए कति धेरै पैसा लाग्छ ।’ कलेजलाई बुझाउने बाहेक भर्ना, स्कुल ड्रेस लगायत विभिन्न शिर्षकमा उत्तिकै खर्च हुन्छ । उनी कक्षा ११ मा छुट पाए पनि कम्तिमा एक लाख खर्च हुने बताउँछन् । काभ्रेका अंकित खनाल ज्ञानोदय माविमा कक्षा ११ मा विज्ञान विषय लिएर अध्ययन गर्ने योजनामा छन् । उनी कलंकीमा रहेको ज्ञानोदयले लिएको प्रवेश परीक्षामा नाम निकालेर भर्ना समेत भइसकेका छन् । भर्नाको लागि ६ हजार ५ सय रुपैयाँ तिर्नुपर्यो भने स्कुल ड्रेसको लागि ५ हजार ५ सय रुपैयाँ स्कुलमा बुझाइसके । ज्ञानोदयमा विज्ञान विषय लिएर अध्ययन गर्दा मासिक शुल्क १ हजार पाँच सय तिर्नुपर्छ । शुल्क मात्रै हेर्ने हो भने उनले एक वर्षमा अर्थात कक्षा ११ मा १८ हजार तिर्नुपर्छ । अंकितकी आमा जानुका कमै खर्च भने पनि छोरा पढाउँदा ३० देखि ४० हजार हाराहारीमा खर्च हुने बताउँछिन् । ‘सरकारी स्कुल राम्रो पनि छ, सस्तो पनि छ भनेर यही भर्ना गरियो,’ जानुका भन्छिन्, ‘मासिक शुल्क १५ सय भनेको छ, स्कुल त हो कहिले केही कहिले केही भनेर पैसा मागिरहन्छ, जति खर्च लागे पढाउनै पर्यो ।’ सामुदायिक विद्यालयमा कक्षा ११ मा पढ्न ४० देखि ५० हजारसम्म खर्च गर्नुपर्ने बाध्यता छ । पुतलीसडकमा रहेको पद्मोदय माविका प्रधानाध्यापक डा. शर्मीला पोख्रेल पद्मोदय माविमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीले ३५ देखि ४० हजारको हाराहारीमा खर्च लाग्ने गरेको सुनाउँछिन् । मासिक शुल्क महँगो छैन । तर, भर्ना, ड्रेस, किताब कापी लगातय सामग्री जोड्दा हाम्रो स्कुलमा विज्ञान विषय पढ्ने विद्यार्थीले ३५ देखि ४० सम्म खर्च गर्नैपर्छ,’ उन्ले भनिन् । उनी व्यवस्थापन विषय लिएर पढ्दा पनि सोही हाराहारीमा खर्च आउने बताउँछिन् । पद्मोदयमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीले सुरुमै भर्ना हुँदा ५ हजार तिर्नुपर्छ भने स्कुल ड्रेसका लागि ५ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ । विद्यालयले नेपाली अंग्रेजी र सामाजिक विषय उपलब्ध गराएपनि बाँकी विषय भने विद्यार्थीले किन्नुपर्ने हुन्छ । ‘सामुदायिक विद्यालय हो यति शुल्क पनि हामीले लिनु नपर्ने हो । तर, विद्यार्थीका लागि आवश्यक शिक्षक राख्नुपर्यो, कहिलेकाहीँ अन्य विभिन्न किसिमका खेलहरू पनि खेलाउनुपर्यो,’ उनी भन्छिन्, ‘विद्यार्थीबाट उठाएको शुल्क हामी व्यक्तिगत रुपमा खर्च गर्ने होइन, दरबन्दी अनुसार शिक्षक छैनन्, शिक्षक राख्नुपर्यो, विद्यार्थीबाट लिइएको शुल्क उनीहरूकै क्षेत्रमा खर्च गर्नुपर्ने हुन्छ ।’ निजीमा लाखाैं शुल्क सामुदायिक विद्यालयमा ३० देखि ४५ हजार रुपैयाँसम्म खर्च गरे पनि निजी विद्यालयमा भने लाखौं रुपैयाँसम्म खर्च हुने गरेको छ । उपत्यका सबैभन्दा महँगा भनिका युलेन्स र रातो बंगलामा अध्ययन गर्ने विद्यार्थीले कक्षा ११ र १२ पुरा गर्न ६ लाखदेखि ७ लाख रुपैयाँसम्म खर्च गर्नुपर्ने हुन्छ । ललितपुरमा रहेको प्रसादी एकेडेमी, बागबजारमा रहेको काठमाडौं मोडेल कलेज, डिल्ली बजारमा रहेको ट्रिनिटी इन्टरनेश्नल निष्ट र युनाइटेड कलेजमा अध्ययन गर्ने विद्यार्थीले ५ लाखसम्म खर्च गर्नुपर्ने हुन्छ । सामुदायिक विद्यालयमा एउटा विद्यार्थीले कक्षा ११ मा भर्ना हुन औसत २० हजार रुपैयाँ खर्च गर्नु परेको छ भने निजी विद्यालयमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीले औसतमा ६० हजार खर्च गर्नु परेको छ । नेपाल मेगा कलेज, गोल्डेन गेट र अरनिको स्कुलमा विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले तीन लाख ७५ हजारसम्म शुल्क तिर्नुपर्ने सम्बन्धित कलेजका अधिकारीहरुले बताएका छन् । चावहिलमा रहेको टेक्सास कलेजका प्रधानाध्यापक श्याम सुन्दर श्रेष्ठ टेक्सासमा पढ्ने विद्यार्थीले १ लाखदेखि डेढलाखसम्म खर्च गर्दा कक्षा ११ र १२ को पढाइ पुरा गर्न सकिने बताउँछन् । व्यवस्थापन र विज्ञान विषयका लागि एक देखि डेढ लाख र मानवशास्त्र र कानुन विषयका लागि औसत एक लाख खर्च गर्दा पढाइ पुरा हुने उनी बताउँछन् । उनी भन्छन् ‘मैले भनेको कलेजको शुल्कको मात्र कुरा हो । तर, किताब कापी, ट्युसन लगायत अन्य विद्यार्थीको व्यक्तिगत शुल्क त्यो भन्दा बढी लाग्न सक्छ । अनामनगरमा रहेको मेगा कलेजमा व्यवस्थापन, विज्ञान र कानुन विषय पढाइ हुन्छ । त्यहाँ कक्षा ११ मा मात्रै भर्ना हुँदा विद्यार्थीले एक लाख १२ हजार मासिक शुल्क तिर्नुपर्छ । कक्षा ११ र १२ दुवै पूरा गर्न विद्यार्थीले करिब तीन लाख हाराहारीमा खर्च गर्नुपर्ने हुन्छ । बजारमा अर्बौं रकम माध्यामिक शिक्षा परीक्षा एसईई २०८१ मा नियमित परीक्षामा सहभागी ४ लाख ३८ हजार ८ सय ९६ परीक्षार्थी मध्ये ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात पास भए । अर्थात् २ लाख ७१ हजार २ सय ९२ विद्यार्थी कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई)पास भएका छन् । एक वा दुई विषयमा फेल भएका विद्यार्थीले फेरि परीक्षा दिँदा यो संख्या अझै बढ्छ । कुनै पनि विषय नलागेर पास भएका २ लाख ७१ हजार बढी विद्यार्थीको मात्र कुरा गर्ने हो भने अहिले उनीहरू कक्षा ११ मा भर्ना भइसकेका छन् । कतिपय विद्यार्थीले प्राविधिक विषय रोजेर ११ मा भर्ना गरेका छन् भने कतिपयले नन्प्राविधिक विषय रोजेका छन् । कक्षा ११ मा सामुदायिक विद्यालय र निजी विद्यालयमा भर्ना हुने विद्यार्थीको भर्ना शुल्कदेखि मासिक शुल्क फरक छ । सामुदायिक विद्यालयमा एउटा विद्यार्थीले कक्षा ११ मा भर्ना हुन औसत २० हजार रुपैयाँ खर्च गर्नु परेको छ भने निजी विद्यालयमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीले औसतमा ६० हजार खर्च गर्नु परेको छ । सामुदायितक र निजी विद्यालयमा कक्षा ११ मा भर्ना गर्ने विद्यार्थीले भर्ना शुल्क, किताब–कापी, स्कुल ड्रेस लगायत सामग्रीमा सुरुमै औसत ४० हजार बढी खर्च हुने गरेको शिक्षकहरु बताउँछन् । अहिले एसईईमा पास भएका कुल २ लाख ७१ हजार २ सय ९२ विद्यार्थीले ११ मा भर्ना गर्नका लागि सुरुमै औसत ४० हजार रुपैयाँ खर्च गर्दा करिब ११ अर्ब रुपैयाँ बजारमा जान्छ । यो न्यूनतम रकम हो । निजी विद्यालयमा पढ्ने विद्यार्थीले सुरुमै २ लाख बढी रुपैयाँ विद्यालयलाई तिर्नुपर्ने अवस्था पनि छ भने केही विद्यार्थी प्राविधिक क्षेत्र रोज्ने भएकोले पनि त्यहाँ पनि लाखौं रकम खर्च गर्नुपर्ने बाध्यता छ । तर, औसतमै हिसाब गर्ने हो भने एसईईमा पास भएका विद्यार्थीले सुरुमै बजारमा ठूलो रकम पठाउँछन् । एउटा सामान्य सामुदायिक विद्यालयमा भर्ना शुल्क न्यूनतम १० हजार, ड्रेस १० हजार, किताब–कापी लगायत स्टेसनरी खर्च १० हजार र मासिक शुल्क १० हजारमात्र छुट्याउने हो भने पनि एक जना विद्यार्थीले औसतमा ४० हजार रुपैयाँ खर्च हुन्छ ।
जब सफ्टवेरिका कलेजमा जहाजदेखि रोबर्टसम्म देखिए
काठमाडौं । दुइटा भाँडामा माटो राखिएको छ । अर्को एउटा डिब्बामा राखिएको छ चामल । छेउमै छ, एउटा सानो मेसिन । त्यसलाई चलाइरहेका छन् काठमाडौंको रवी भवनका सौगातले । उनले देखाइरहँदा विद्यार्थीहरू वरिपरि झुम्मिएर हेरिरहेका थिए । कसैले जिज्ञासा राखिरहेका छन भने कसैले अनौठो रुपमा हेरिरहेका छन् । मेसिनले भाँडामा राखिएको चामल मेसिनले टुप्पामा जोडिएको भाडोमा डोब्दै माटोमा छर्किरहेको थियो । हामीले सौगातलाई सोध्यौं यो के हो ? उनले भने बिउ छर्ने रोबर्ट हो । उनका साथीहरूको आइडियामा सौगातले बनाएको रोबर्ट हेर्दा सानो भएपनि यसले गर्ने काम ठूलो थियो । किसानहरूले धान गहुँ छर्दा, टिप्दा हिँडेर वल्लो छेउदेखि पल्लो छेउसम्म पुग्नुपर्ने बाध्यतालाई हटाउने परिकल्पनाका साथ यो प्रोजेक्ट तयार पारेका थिए उनले । ‘यो भन्दा पहिले हामीले यो मेसिनबाट टमाटर टिपेका पनि थियौं, सानो तरकारी, फलफल टिप्नदेखि लिएर धान गहुँ, मकै, जहुँ लगायतको बिउ छर्न यसले रोबोर्टिक हुने हो भने किसानहरू धेरै सहज हुने थियो,’ उनले भने । उनले बनाएको रोबोर्टिक मेसिनमा चाहिने सामग्री सबै कलेजले उपलब्ध गराएको थियो भने साथीहरूको आइडिया पनि सौगातले लिएका थिए । अहिले प्रदर्शनीमा देखाएको मेसिन जस्तै ठूलो मेसिन बनाउन सके ठूलो राहत हुने बताउँदै पढाइसकेर यस्तै रोबोर्टिक मेसिन बनाउने सोचमा उनी छन् । अर्को कोठामा पनि विद्यार्थीहरूको भीड उस्तै छ । त्यहाँ विद्यार्थीहरू बनाएको हवाइजहाज छ, कोही हवाइजहाज हेर्दैछन् भने कतिपय विद्यार्थी बनाउँदै गरेका, कोही सोध्दै गरेको दृश्य त्यहाँ पनि देखियो । जसका पाटपुर्जा र बनाउने तरिकाबारे विद्यार्थी सुजल न्यौपाने विद्यार्थीहरूलाई जानकारी गराउँदै थिए । जहाजमा के–के सामग्री कसरी प्रयोग गरिरहेको छ यसले हावाको सामना कसरी गर्छ यसलाई कसरी उडाउन सकिन्छ भन्ने बारेमा सुजल विद्यार्थीहरूको जिज्ञासा मेटाइरहेका थिए । ‘यो पनि कलेजकै विद्यार्थीको आइडियामा बनाएको हो । सफ्टेवरिका कलेजमा स्नातक चौथो समेष्टरमा अध्ययनरत उनी भन्छन्, ‘यो हामीले वर्कसप भनेर बनाएका हौं, आईओटी विषमा हामीले पढ्नुपर्छ, कलेजकै पाठ्यक्रममा भएको कुरा प्रदर्शनीमा राख्न आवश्यक सबै सामग्री कलेजले नै उपलब्ध गराइदिन्छ ।’ बुधबार सफ्टवेरिका कलेज पुग्दा त्यहाँ विद्यार्थीहरूले बनाएका थरिथरिको एआई सम्बन्धी परियोजनाहरु प्रर्दशनमा राखिएका थिए । कसैले गाडी बनाएर कुदाइरहेका थिए भने केही विद्यार्थीले अहिलेको सामाजिक सञ्जालमा भइरहेको ह्याकिङ कसरी हुन्छ भन्नेबारे सिकाइरहेका थिए । केहीले ह्याकिङ गर्ने व्यक्तिलाई कसरी पत्ता लगाउने भन्नेबारे सिकाइरहेका थिए । फरक दृश्य, रमाइलोसँगै विद्यार्थी अत्यन्तै आवश्यक र चाख लाग्दा आइडियाहरू सेयर गर्दै परियोजना प्रदर्शनीमा राखेका थिए । कलेजको पहिलो तलामा थियो ठूलो रोबर्ट । जसले व्यक्तिहरूसँग कुरा गरिरहेको थियो । विद्यार्थीले जस्तो प्रश्न सोध्यो त्यही अनुसारको उत्तर दिने र यताउती घुम्ने काम रोबर्टले गरिरहेको थियो । विद्यार्थीहरू त्यही रोबर्टसँग कुरा गर्न बढी रमाइरहेका थिए । यो रोबर्ट बनाएका थिए त्यही कलेजमा स्नातकोत्तर अध्ययन गरिरहेका विश्वास अधिकारी र उनका दुई जना अन्य साथीहरूले । रोबर्टको बारेमा जानकारी दिँदै उनी भन्छन्, ‘यो रोबर्ट ग्राहकलाई सहयोग गर्ने काम गर्छ । कलेजमा आएको विद्यार्थीले अथवा कुनै व्यक्तिले कलेजको बारेमा जान्नुपर्यो भने रोर्वटलाई सोध्दा उसले भनिदिन्छ ।’ रोबर्ट कता जाने, कता के गर्ने भन्नेबारे बताइदिन्छ । यताउता जान सहयोग गर्ने हिड्ने सम्म बनाउन काम गरिरहेको अधिकारीले बताए । अहिले पनि यताउता जान भनेपछि हिँड्छ । यो रोबर्ट बनाउँदा तीन जनाले तीन भागमा काम गरे । विश्वासले यसको भिजन हेर्थे भने अर्को साथिले फिजिकल पार्ट हेर्थे । त्यस्तै अर्को साथीले अर्को विधामा काम गर्दा सहज भएको उनी बताउँछन् । उनी रोबर्ट बनाउन खोज्दा नेपालमा सामग्री नपाइएको पनि गुनासो गर्छन् । ‘यसमा लाग्ने सेन्सरहरु लाइडार, थ्रिडी क्यामेरा नेपालमा नपाएकोले काम गर्दा बाहिरबाट आयात गर्नुपर्यो । रोर्वटको डिजानइन गरेर नेपालमै प्रिन्ट गर्छौ भन्दा राम्रो नहुँदा बाहिरबाटै मगाउनु पर्यो,’ उनले भने । यो रोवर्ट अहिले अंग्रेजी भाषामा मात्र कुराकानी गर्न सक्छ । अब विस्तारै नेपाली भाषा बुझन् सक्ने बनाउनमा तीनै जना लागिरहेका छन् । विद्यार्थी भर्ना हुन आउँदा म भर्नाको लागि अएको हो कहाँ जाने भन्दा यो रोर्वटले कृपया मलाई फलो गर्नुहोस भन्दै सघाउने काम गर्छ । आर्टिफिसियल इन्टेलीजेन्स (एआई) सम्बन्धी विद्यार्थीहरूले बनाएका सबै सामग्रीहरू निकै आकर्षक रहेको कलेजका प्रमुख प्रमोद पौडेल बताउँछन् । उनी कलेजले पढाउनेमात्र नभई पढाएका कुरालाई कसरी प्रयोगमा ल्याउने भन्नेबारे सिकाउन कलेजले यस्ता कार्यक्रम हरेक वर्ष गर्दै आइरहेको बताए । ‘हाम्रो शिक्षामा जहिले पनि कमजोरी रहने भनेको सिद्धान्तमा बढी ध्यान दिने र व्यवहारिकमा कमी हुँदा ग्राजुएट भएका विद्यार्थीहरूले राम्रो रोजगारी पाउन नसकेको र उद्यमशिलता पनि बन्न नसकेको अवस्था छ,’ उनी भन्छन्,‘ यस्तो अवस्थामा स्थापना भएको सफ्टवेरिका कलेजले विद्यार्थीलाई गरेर सिक्ने शिक्षा दिने उद्देश्यले सुरु गर्यो । विद्यार्थीहरू नवीनतम् प्रोजेक्टहरू प्रदर्शनी गरिरहेका छन् ।’ टेक एक्स एलिभेट सफ्टवेरिका कलेजले टेक एक्स एलिभेट कार्यक्रम सुरु गरेको छ । मंगलबारदेखि सुरु भएको यो कार्यक्रम आइतबारसम्म जारी रहनेछ । जहाँ विद्यार्थीले आफ्नो प्रोजेक्ट प्रदशनी गर्नेदेखि आईडी सेयर गरिरहेका छन् । हरेक वर्ष विद्यार्थीका इनोभेटिभ (नविन) प्रोजेक्ट प्रदर्शन गर्नेदेखि लिएर कलेजका भौतिक पूर्वाधारहरू देखाउने, कस्तो रिसर्चमा काम गरिरहेका छौं भनेर सोकेस गर्न कार्यक्रम गर्ने गरिएको क्याम्पस प्रमुख पौडेलले बताए । उनले विभिन्न क्षेत्रका विज्ञलाई बोलाएर उद्यमशिलता मास्टर कक्षाहरू पनि दिइरहेको जानकारी दिए । विद्यार्थीको तेस्रो वर्षमा गएर एउटा बृृहत प्रोजेक्ट बनाउनुपर्ने हुन्छ । जुन पढाइएको एउटा पार्ट हो । यसका लागि चाहिने सबै सामग्रीहरू कलेजले विद्यार्थीहरूलाई उपलब्ध गराउँछ । नेपालमा स्नातक र स्नातकोत्तर पास गरेर रोजगारी नपाउने अवस्था अहिले पनि उत्तिकै छ । जागिरको लागि अहिले पनि लोकसेवा आयोग भिड्नुपर्ने अवस्था छ । अन्य क्षेत्रमा त्यति आवश्यकता देखिँदैन । पर्यटन तथा उद्यमका क्षेत्रमा पनि अहिले अवस्था उस्तै छ । कलेजका प्रमुख पौडेल कतिपय क्षेत्रमा रोजगारदाताको अभाव भइरहेको बेला पनि सीप नहुँदा विद्यार्थीले काम पाउन नसकेको अवस्थामा यस्ता कार्यक्रमले विद्यार्थीलाई सजिलो हुने बताए । सफ्टवेरिकाले विद्यार्थी ग्राजुएसन भइसकेपछि उ रोजगार गर्न सक्नेमात्र नभई रोजगारी दिनसक्ने गरी सीपमा बढी जोड दिएको छ । अझ प्रविधिमा प्रयाक्टिकल अझै आवश्यक भएकाले कलेजले यस्ता कार्यक्रममा जोड दिएको पौडेलले बताए ।