सहकारीका बचतकर्ताको बचत फिर्ताको प्रक्रिया सुरु, कार्यविधि आजै स्वीकृत हुने
काठमाडौं । सरकारले साना बचतकर्ताको बचत फिर्ताका लागि ‘बचतकर्ताको बचत फिर्ता कार्यविधि, २०८२’ तयार गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले कार्यविधि तयार गरेर आजै (बिहीबार) स्वीकृत गर्ने तयारी गरेको हो । मन्त्रालयका सहसचिव तथा प्रशासन, सहकारी तथा गरिवी निवारण महाशाखा प्रमुख गोविन्द प्रसाद रिजालका अनुसार मन्त्रालयले कार्यविधि बनाएर प्रक्रिया अगाडि बढाएको छ । ‘हामीले साना बचतकर्ताको बचत फिर्ताको लागि कार्यविधि तयार गरिसकेका छौं । सम्भवतः आजै (बिहीबार) नै मन्त्रीस्तरीय निर्णयले सो कार्यविधिलाई स्वीकृति गरिसकेपछि प्रक्रिया अगाडि बढ्छ,’ सहसचिव रिजालले भने । वर्तमान वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले शासकीय सुधार सम्बन्धि एक सय कार्यसूची सार्वजनिक गर्दै सहकारीका साना बचतकर्ताको बचत फिर्ताको प्रक्रिया १०० दिनभित्रै सुरु गर्ने घोषणा गरेको थियो । सोही घोषणा अनुसार अहिले भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय त्यसको प्रक्रिया तीव्ररुपमा अगाडि बढाएको हो । सहसचिव रिजालका अनुसार कार्यविधिमा के–कसरी बचत फिर्ता गर्ने, बचत फिर्ताको प्रक्रिया, स्रोत र सरोकारवाला निकाय लगायत विषयमा उल्लेख गरिएको छ । त्यसका लागि एउटा चक्रिय कोष स्थापना गरेर सोही कोषमार्फत बचतकर्तालाई बचत फिर्ता गरिनेछ । त्यसका लागि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई जिम्मेवारी दिने उनको भनाइ छ । अहिले सरकारले नै आफ्नो कोषबाट पैसा दिने भन्ने भाष्य सिर्जना भए पनि सहकारीकै पैसा सम्बन्धित सहकारीका बचतकर्तालाई दिइने उनको भनाइ छ । उनका अनुसार कार्यविधिमा बचतकर्तालाई तीन वटा वर्गीकरण गरेर छट्याइएको छ । एक लाख, पाँच लाख र पाँच लाखभन्दा बढीका बचतकर्ता भनेर सोही अनुसार बचत फिर्ताको प्राथमिकरण गरिएको छ । हालसम्म उपलब्ध तथ्यांकअनुसार सबैभन्दा बढी ५ लाखसम्मका बचतकर्ता रहेको रिजालले बताए । सरकारले भने १ लाखसम्मका बचतकर्तालाई बढी प्राथमिकता दिनेछ । एक लाख रुपैयाँपछि ५ लाख रुपैयाँसम्म बचत हुनेहरु प्राथिकतामा पर्नेछन् । साना तथा लघु उद्यमीहरुको सहकारीमा ठूलो रकम फसेको छ । जसले गर्दा अर्थतन्त्रको चक्र नै प्रभावित भएको छ । अब ती समस्यामा परेका बचतकर्ताको बचत फिर्ता गरेर सहकारीको समस्या समाधान गर्ने योजना बालेन सरकारले बनाएको छ । चक्रीय कोष सम्बन्धी कार्यविधिमा अर्थमन्त्रालय पनि सहमत भएको बुझिएको छ । सरकारले सो कोषमा केही रकम राखेर बचतकर्तालाई दिने र सहकारीका ऋणीबाट पैसा असुल गरेर सोही कोषमार्फत सरकारको पैसा फिर्ता गर्ने प्रक्रिया अगाडि बढाइनेछ । सहकारीका सञ्चालकले बचतकर्ताको रकमबाट खरिद गरेका घरजग्गा, भवन लगायत सम्पत्ति के–कसरी बिक्री गर्न सकिन्छ । त्यो सम्पत्तिलाई बिक्री गरेर सोही कोषमा रकम राखेर समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमार्फत बचतकर्तालाई फिर्ता गरिने रिजालको भनाइ छ । तर, सहकारीमा राखिएको धितो बैंकमा पनि राखेर ऋण लिएको घटना धेरैको रहेको उनको भनाइ छ । यसले केही समस्या सिर्जना गरिएको रिजालले बताए । बचत फिर्ता भने समस्याग्रस्त घोषणा भएका सहकारीलाई बचतकर्तालाई मात्रै गरिनेछ । वित्तीय क्षेत्र सुधार सुझाव आयोगले पनि पीडित बचतकर्ताको ५ लाखसम्मको रकम सरकारले कोष खडा गरेर भुक्तानी दिनुपर्ने सुझाएको छ । साथै, उक्त कोषमा सहकारी ठगका सम्पत्ति बेचबिखनपछि आउने रकम राखेर भरपाई गर्न समेत आयोगले सुझाव दिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार अहिले समस्याग्रस्त घोषणा भएका कुल २३ वटा सहकारीका ६२ हजार ७६० जना बचतकर्ताले ३९ अर्ब ९३ करोड ५६ लाख ६६ हजार रुपैयाँबराबर बचत दाबी गरेका छन् । समस्याग्रस्त २३ सहकारीमा एक लाख रुपैयाँभन्दा कम बचत फसेका पीडितको संख्या ३६ हजार ५२२ रहेको बताइएको छ भने पाँच लाखसम्म डुबेका बचतकर्ता २१ हजार ६१९ छन् । यस्तै, १८ हजार ३०३ बचतकर्ताको पाँच लाख रुपैयाँभन्दा धेरै डुबेको बताइएको छ । अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले पनि सहकारीका बचतकर्तालाई प्राथमिकता राखेर बचत फिर्ताको प्रक्रियामा समन्वय तथा छलफल गर्दै आएकी छन् ।
किरणको नाममा त्यसपछि कन्भिन्स भए बालेन
काठमाडौं । सरकारले करिब महिनाको संघर्षपछि राष्ट्र बैंकको डेपुटी गभर्नर किरण पण्डितलाई नियुक्त गरेको छ । दुई जनालाई डेपुटी गभर्नर नियुक्त गर्नुपर्ने व्यवस्था भए पनि अहिलेको लागि सरकारले एक जनालाई मात्रै डेपुटी गभर्नरमा नियुक्त गरेको हो । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले चार जनाको नाम सिफारिस गरे पनि सरकारले एक जनामात्रै डेपुटी गभर्नर किन नियुक्त गर्यो ? अहिले यो विषयमा धेरैको चासो बढेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि चारजनाको नाम नै मन्त्रिपरिषद् बैठकमा प्रस्ताव गरेका थिए । तर, प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले अहिले एक जनामात्रै गर्ने बताएपछि आजका लागि किरणमात्रै डेपुटी गभर्नर बने । उच्च स्रोतका अनुसार बालेनले राष्ट्र बैंकमा एक जनामात्रै डेपुटी गभर्नर राख्नुपर्ने विषय पनि अर्थमन्त्री समक्ष राखेका थिए । यो विषयमा सोच्नुपर्ने भएकोले अहिले एक जनालाई मात्रै डेपुटी गभर्नरमा नियुक्त गरेको स्रोतको दाबी छ । ‘नेपाल राष्ट्र बैंक ऐनलाई संशोधन गरेर एक जनामात्रै डेपुटी गभर्नर राख्न सकिने प्रस्ताव पनि आएको छ, यति त्यस्तो भएन भने बृहत छलफल गरेपछि नियुक्त गरिन सकिन्छ,’ स्रोतले भन्यो, ‘वरीयता छुट्याउनका लागि पनि अहिले एउटालाई मात्रै नियुक्त गरेको पनि हुन सक्छ ।’ राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ (ग) मा दुई जना डेपुटी गभर्नरको व्यवस्था गरिएको छ भने डेपुटी गभर्नरको नियुक्तिको विषय दफा १६ मा व्यवस्था गरिएको छ । प्रधानमन्त्री बालेनले अर्थमन्त्री वाग्लेसँग कुनै पनि राजनीतिक दलमा सक्रिय रूपमा आवद्ध नभएको व्यक्तिलाई नियुक्त गर्नुपर्ने राय दिएका थिए । त्यस्तो व्यक्तिलाई प्रस्तावका रूपमा ल्याउन पनि बालेनले सुझाव दिएका थिए । अर्थमन्त्री वाग्लेले पनि आफ्नो निर्वाचन क्षेत्रमा पर्ने किरण पण्डितको नाम एक नम्बरमा प्रस्ताव गरेको स्रोतको दाबी छ । ‘किरण कुनै पनि राजनीतिक दलमा आवद्ध हुनुहुन्न’ भन्ने भन्ने सुझाव र कन्भिन्स अर्थमन्त्रीले प्रधानमन्त्रीलाई गराएपछि बालेन पनि त्यसमा कन्भिन्स भएर नियुक्त गर्न तयार भएको स्रोतको दाबी छ । उसो त केही युवा तथा जेनजी सांसदहरूले पनि बालेनलाई किरण पण्डित कुनै पनि दलमा आवद्ध नभएको र जेनजीकै समर्थक रहेको बताएपछि बालेन उनीप्रति सकारात्मक बनेको स्रोतको दाबी छ । अर्थमन्त्री वाग्लेले पनि किरणले राष्ट्र बैंकमा विभिन्न महत्त्वपूर्ण विभाग सम्हालिसकेको, राष्ट्र बैंकको प्रवक्ता बनिसकेको र योग्यता र क्षमताले पनि योग्य व्यक्ति र वरीयतामा पनि सातौं नम्बरमा रहेको बताएपछि बालेन उनलाई डेपुटी गभर्नरमा नियुक्त गर्न तयार बनेको बुझिएको छ । अहिले पण्डित विदेशी विनिमय व्यवस्थापन विभागमा कार्यरत छन् । २०६२ मा राष्ट्र बैंकको सेवामा प्रवेश गरेका पण्डित अर्थमन्त्री वाग्लेको निर्वाचन क्षेत्र तनहुँका स्थानीय हुन् । उनी कार्यकारी निर्देशकको सातौं वरीयतामा छन्।
सुहाङको जित, बादललाई बधाई
काठमाडौं । नेपालको राजनीतिमा बुधबार फेरि एक पटक रोचक र जनभावनाभन्दा पृथक निर्णय भयो । जहाँ नेताहरूको निर्णय र जनताको चाहनाबीच लामो दूरी देखियो । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध चयन भए । पार्टीको उपाध्यक्षको जिम्मेवारीमा रहेका बादल समानुपातिक सांसद हुँदै संसदमा प्रवेश गर्दै पार्टीको संसदीय दलको नेता बने । यसले नेपाली राजनीतिमा गहिरिँदै गएको पुस्तान्तरणको बहस, जनअपेक्षा र दलगत संरचनाबीचको द्वन्द्वलाई पुनः उजागर गरेको छ । किनकि पार्टीका युवा सांसद सुहाङ नेम्वाङको दाबी अन्तिम आवरसम्म रहँदा पनि उनले पार्टीका नेता र सांसदहरूबाट समर्थन पाएनन् । अर्थात् उनले पार्टीको संसदीय दलको नेता बन्न न प्रस्तावक पाए नत समर्थक नै । ‘म केही गर्छु, अगाडि बढ्न देऊ’ भन्ने एउटा युवा सांसदको आज खुट्टा तानिएर लडाइयो । तपाईं हामीले बाहिरबाट हेर्दा यो एउटा संगठनात्मक निर्णय जस्तो लाग्न सक्छ । तर, यसको भित्री तहमा प्रवेश गर्दा धेरै प्रश्नहरू जन्माउँछ कि के दलहरू अझै पनि पुरानो खेलमै व्यस्त छन् ? के दलहरू अझै पनि सुध्रिन तयार छैनन् ? के उनीहरूले जनताको मनोभावना सुन्न छाडिसकेका हुन् ? यी सबाल र जिज्ञासा आज बसेको एमालेको संसदीय दलको बैठकले उब्जाएको छ । रामबहादुर थापा ‘बादल’ निर्विरोध रूपमा संसदीय दलको नेता चयन हुनुमा हाम्रो कुनै विमति, विरोध, आलोचना र आपत्ति होइन । तर, आमयुवा र जनताहरूले युवाको नेतृत्वको माग गरिरहँदा नेकपा एमाले भने पुरानै ढर्राबाट आफ्नै पारामा अगाडि बढ्दा प्रश्न भने अवश्य उठ्छ, प्रश्न गर्न पाइन्छ । सुहाङ नेम्वाङजस्ता युवा नेताले संसदीय दलको नेतामा दाबी गर्नु आफैमा ठूलो साहस हो । बादल, पद्मा अर्याल लगायतका पाका नेताहरूका अगाडि म बन्छु संसदीय दलको नेता भनेर सुहाङले खुट्टा उचाल्नु आफैमा ठूलो हिम्मत हो । तर, त्यो साहस एमालेका नेताहरूले निमिट्यान्न पारे । एमालेको संसदीय दलको बैठक जारी रहँदा हामीले विकासन्युज डटकमको फेसबुक पेज मार्फत एउटा सानो सर्वेक्षण गर्यौं । ‘एमालेको संसदीय दलको नेता को बन्दा राम्रो होला भन्ने हाम्रो प्रश्न र जिज्ञासामा प्रतिक्रिया दिने सतप्रतिशत पाठकहरुले सुहाङको नाम लिएका छन् । बरु केहीले त बादलको आलोचना गरेका छन् । सतप्रतिशत पाठक तथा दर्शकहरूले सुहाङ नेम्वाङलाई रोज्नु उनीहरूले सुहाङप्रति गरेको विश्वास हो । उनीहरूले सुहाङले गर्न सक्छन् भन्ने विश्वास राखेका छन् । उनीहरूको अर्को चाहना भनेको एमालेको नेतृत्वमा सुहाङलाई देख्ने हुन सक्छ । उनीहरुले सुहाङलाई रोज्नुले पनि देखाउँछ कि अहिलेको जनमत युवा नेतृत्वतर्फ झुकेको छ । कुनैबेला राजनीतिमा कुनै चासो नराख्ने नेपाली युवाहरू अहिले क्रिकेट, क्यारम र कराते छोडेर राजनीतिक समाचार र सूचनामा व्यस्त भएको हामीले महसुस गरेका छौं । यो नेपाली राजनीतिको सुखद पक्ष हो । युवालाई जागरुक बनाएर अब देश विकासमा हातेमालो गर्दै सँगै अगाडि बढ्ने यो उत्तम समय हो । यही बेला युवाहरूको चाहना, रुचि र मागलाई बेवास्ता गर्नु राजनीतिक दलहरूको लागि दीर्घकालीन रूपमा घातक हुन सक्छ । रामबहादुर थापा ‘बादल’ को राजनीतिक यात्रा लामो र उतारचढावपूर्ण छ । माओवादी आन्दोलनबाट आएका उनी पछि एमालेमा समाहित भए । उनको अनुभव, संगठनात्मक पकड र राजनीतिक रणनीतिमा दक्षता निर्विवाद छ । तर, यही अनुभव आजको सन्दर्भमा प्रश्नको घेरामा पनि छ । के पुरानो अनुभवले नयाँ चुनौतीहरू समाधान गर्न सक्छ ? कि अब नयाँ सोच, नयाँ ऊर्जा र नयाँ दृष्टिकोण आवश्यक छ ? संसदीय दलको नेतामा बादलको चयनले एमालेभित्र स्थायित्व र अनुभवलाई प्राथमिकता दिएको देखिन्छ । तर, यसले परिवर्तनको चाहनालाई कति सम्बोधन गर्छ भन्ने प्रश्न पनि उब्जाएको छ । सुहाङ नेम्वाङ एमालेभित्रका आशा लाग्दा नेताका रूपमा हेरिएका छन् । बुबा सुवास नेम्वाङको निधनपछि उपनिर्वाचनमार्फत संसद प्रवेश गरेका उनले आफ्नो गहन र अब्बल क्षमता संसदमा देखाए । परिणामस्वरूप प्रतिनिधिसभा निर्वाचनमा एमाले देशभर हायलकायल हुँदा पनि सुहाङले सजिलै जिते । युवाहरूले उनलाई रोजेको र खोजेको यस उदाहरणबाट बुझ्न सकिन्छ । नेपालमा पुस्तान्तरणको बहस नयाँ होइन । वर्षौंदेखि ‘युवालाई अवसर’ भन्ने नारा उठ्दै आएको छ । तर, व्यवहारमा भने पुरानै अनुहारहरू नेतृत्वमा दोहोरिँदै आएका छन् । युवाहरूको यो माग र चाहना नबुझ्दा एमाले र त्यसको नेतृत्वले इतिहासमै यस पटक अप्रिय पराजय भोग्नु र बेहोर्नु पर्यो । आजको युवा पुस्ता दर्शक बन्न तयार छैनन् । उनीहरू नेतृत्वमा सहभागिता खोजिरहेका छन् । उनीहरू प्रश्न गर्छन्, बहस गर्छन् र आफ्नो आवाज व्यक्त गर्छन् । त्यसको उदाहरण आज सुहाङ देखिएका छन् । उनले स्पष्ट र इमानदार साथ आफ्नो दाबी प्रस्तुत गर्दा पनि सफल हुन सकेनन् । किनकी नेतृत्व तहमै ‘पुराना’ रोग व्याप्त थियो, बहुत थियो । संसदीय दलको नेतामा बादल चयन भएपछि प्रतिक्रिया दिँदै सुहाङले अपेक्षा गरेअनुसार निर्णय नभए पनि लोकतान्त्रिक अभ्यासलाई अवलम्बन गर्दै जनभावना अनुसार आफू अगाडि बढ्ने बताए । पार्टीले जुनसुकै र जस्तोसुकै निर्णय गरे पनि सुहाङले युवा र आम जनमानको मन जितेका छन्, जनमानसको मन जित्नु नै वास्तविक जित हो । तर, संसदीय दलको नेतामा भने बादलले बधाई पाएका छन् । ‘एमालेका कमजोरीलाई सुधार्दै र हिजोका कमजोरीमाथि आत्मालोचनाका लागि एक पाइला चालेको हुँ । अपेक्षित नतिजा नआए पनि निरन्तर संघर्ष गरेर अगाडि बढ्ने हो । यो एक पाइला मात्रै चालेको हो, अब चाल्दै गर्छु,’ निराश हुँदै उनले भने । सुहाङजस्तै इच्छा रुचि र चाहना राख्ने युवाहरू पछारिएकै कारण आज जनता, युवा र राजनीतिक दलबीचको दूरी बढेको हो । अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको उदयलाई केवल चुनावी सफलता भनेर बुझ्नु पर्याप्त छैन । यो परम्परागत दलहरूप्रति जनताको असन्तुष्टि र नयाँ विकल्पको खोजीको परिणाम हो । युवाहरूको सहभागिता, नयाँ अनुहारहरू र फरक राजनीतिक शैलीले जनतालाई आकर्षित गरेको छ । यसले स्पष्ट संकेत दिएको छ कि यदि पुराना दलहरूले परिवर्तन स्वीकारेनन् भने अर्थात् युवाहरूलाई स्थान दिन सकेनन् भने नयाँ शक्तिहरूले ठाउँ लिनेछन् । एमाले अहिले संक्रमणको मोडमा छ । योबेला सुहाङले म संसदीय दलको नेता बन्न सक्छु भन्ने आँट र विश्वास आफूलाई गरे, त्यसका लागि उनी धन्यवादका पात्र बनेका छन् । भलै उनले आफ्नो पक्षमा निर्णय गराउन नसके पनि यो जित सुहाङको हो । पहिलो प्रयासमा उपनिर्वाचनमा प्रतिस्पर्धा गर्दै जित निकाल्नु र दोस्रो पटक पनि सहजपूर्ण रूपमा प्रत्यक्षतर्फको सांसद बन्नुलाई लामो रेसको घोडाका रूपमा बुझ्न सकिन्छ । पार्टीले जुनसुकै र जस्तोसुकै निर्णय गरे पनि सुहाङले युवा र आम जनमानको मन जितेका छन्, जनमानसको मन जित्नु नै वास्तविक जित हो । तर, संसदीय दलको नेतामा भने बादलले बधाई पाएका छन् । एमालेको यो निर्णयलाई तत्कालका लागि राजनीतिक रणनीतिका रूपमा बुझ्न सकिए पनि दीर्घकालमा भने पार्टीलाई नोक्सान नै हो गर्ने । पार्टी संक्रमण मोडमा रहेको बेला युवाको मतलाई नजरअन्दाज गर्नु पार्टीका लागि पुनः ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्छ । संसदीय दलमा बादलको चयनले तत्कालीन सन्तुलन कायम राखेको हुन सक्छ । तर, दीर्घकालीन रूपमा पार्टीले युवालाई कसरी समेट्छ भन्ने प्रश्न पनि उठाएको छ । यदि एमालेले जनता र युवाहरूको मनोभावना बुझ्न सकेन भने उसले आफ्नो आधार गुमाउने जोखिम बढ्दै जानेछ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा एमालेले प्रत्यक्षमा ९, समानुपातिकबाट १६ सीट जितेर प्रतिनिधि सभाको तेस्रो दल बनेको छ । कुनै बेला देशकै ठूलो पार्टी बनेको एमाले अहिले तेस्रोमा सीमित बनेको छ । यसरी नै युवाहरूको मत र मनोभावनालाई कुल्चेर अगाडि बढ्यो भने एमालेलाई टर्च बालेर खोज्नुपर्ने दिन नआउला भन्न सकिन्न ।
वरिष्ठ उपाध्यक्षका ५ जना आकांक्षीबीच ‘जेन्टलमेन एग्रिमेन्ट’, पद पेन्डिङ राखेर बन्यो ‘टिम अञ्जन’
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढेको छ । चैत २८ र २९ गते हुने महासंघको ६०औं वार्षिक साधारणसभामा नयाँ टिमका लागि उद्योगी व्यवसायीलाई दौडधूप बढेको हो । गत फागुन ११ गते वर्तमान वस्तुगत उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा नयाँ टिम घोषणा भएको थियो । अर्को समूहले पनि आज (सोमबार) उम्मेदवारी घोषणा गर्दैछ । सो समूहले अबको साधारणसभाबाट स्वतः अध्यक्ष बन्ने अञ्जन श्रेष्ठको नेतृत्वमा बन्ने टीम भनेर घोषणा गर्दैछ । सो प्यानलले वरिष्ठ उपाध्यक्षका लागि भने उम्मेदवारी घोषणा गर्ने छैन । समूहबाट वस्तुगत उपाध्यक्षमा शिवप्रसाद घिमिरे, एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डे, जिल्लानगर उपाध्यक्षमा दिलसुन्दर श्रेष्ठ र कृष्ण शर्मा उम्मेदवारी घोषणा गर्दैछन् । जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार दिलसुन्दर श्रेष्ठका अनुसार आज सो समूहले वरिष्ठ उपाध्यक्षको उम्मेदवार घोषणा गर्ने छैन । ‘आज हामी चार जना उपाध्यक्ष र केन्द्रीय सदस्यको उम्मेदवारहरू घोषणा गर्नेछौं । वरिष्ठ उपाध्यक्ष पछि चयन हुने भएकोले अहिले नै घोषणा गर्नुपर्ने आवश्यक ठानेनौं, हाम्रो चुनावमा हामीलाई जुन क्षेत्रबाट बढी मत आउँछ, त्यही क्षेत्रका आकांक्षीलाई हाम्रो टिमले वरिष्ठ उपाध्यक्ष बनाउने छ,’ उनले विकासन्युजसँग भने । यो समूहबाट वरिष्ठ उपाध्यक्षका लागि पाँच जनाको दाबी छ । श्रेष्ठका अनुसार यो समूहबाट वर्तमान जिल्ला–नगर उपाध्यक्ष सुरकृष्ण वैद्य, पूर्व उपाध्यक्षद्वय दिनेश श्रेष्ठ र रामचन्द्र संघाईसँगै किशोर प्रधान र भाष्करराज कर्णिकारले वरिष्ठ उपाध्यक्षका लागि रुचि देखाएका छन् । पाँचै जना आकांक्षीले आफ्नो दाबी नछोडेपछि अहिले कुनैलाई पनि घोषणा नगर्ने र पछि जुन क्षेत्रबाट बढी मत आयो सोही क्षेत्रको व्यक्तिलाई वरिष्ठ उपाध्यक्ष बनाउने गरी सर्वसहमति भएको उनको भनाइ छ । यो समूहले अहिले वरिष्ठ उपाध्यक्ष र महिला उपाध्यक्ष घोषणा नगर्ने श्रेष्ठले बताए । यो समूहले अञ्जन श्रेष्ठलाई आफ्नो अध्यक्ष बनेर घोषणा गर्दैछ । यद्यपि, वर्तमान वरिष्ठ उपाध्यक्ष भएकोले उनी महासंघको स्वतः अध्यक्ष बन्दैछन् । विगतमा ‘कमिङ प्रेसिडेन्ट’ न्युट्रल बस्ने अभ्यास भए पनि यस पटक भने अञ्जन खुलेरै आफ्नो टिम निर्माणमा लागेका छन् । वस्तुगत उपाध्यक्षका उम्मेदवार शिव घिमिरेले पनि यो अञ्जन श्रेष्ठ नेतृत्वको प्यानल रहेको बताए । ‘हाम्रो चाहना भनेको यस्तो विषम परिस्थितिमा चुनाव नहोस् भन्ने हो । तर, भएपछि स्वस्थ हुनुपर्छ । अहिलेको वरिष्ठ उपाध्यक्ष र हुनेवाला अध्यक्षले म मेरो टिम बनाउँछु, त्यसले मलाई काम गर्न सहज हुन्छ भनेर अपील गर्नु स्वाभाविक हो,’ उनले भने, ‘त्यसमा उद्योगी व्यवसायी साथीहरूले साथ पनि दिनुपर्छ । ’ घिमिरेका अनुसार अध्यक्ष प्रधान संस्थामा टिम व्यवस्थापन सन्तोषजनक हुन सकेमा भोलि डेलिभरी पनि सोही किसिमले हुन्छ । तर, टिम मिलेन भने काम पनि प्रभावकारी ढंगले हुँदैन । त्यसैले आफूहरूले हुनेवाला अध्यक्षको टिम भनेर घोषणा गरेको बताए । वस्तुगत उपाध्यक्षका उम्मेदवार रहेका घिमिरे अहिले महासंघको कार्यकारिणी सदस्यका रूपमा कार्यरत छन् । उनी एक अनुभवीका उद्योगी व्यवसायीका रूपमा परिचित छन् । उनले पेट्रोल पम्प व्यापार हुँदै पेट्रोलियम ग्याँस (एलपीजी) बोतलिङ प्लान्ट, हाइड्रोपावर, कृषि व्यवसाय, शिक्षा, मिडिया, सर्भिस तथा हस्पिटालिटि, बैंकिङ तथा वित्त क्षेत्रमा समेत ठूलो लगानी गरेका छन् । उनले कन्स्ट्रक्सन, व्यापार क्षेत्रमा पनि लगानी गर्दै आएका छन् । यस्तै, एसोसिएट उपाध्यक्षका उम्मेदवार प्रवलजंग पाण्डे यसअघि पनि महासंघको उपाध्यक्षका लागि दाबेदार बन्ने तयारीमा थिए । तर, टिम व्यवस्थापनको क्रममा उनी पछि हट्न बाध्य भएका थिए । सिटिजन बैंकका अध्यक्ष समेत रहेका उनी लोमस ग्रुपका सञ्चालक समेत हुन् । पाण्डेले महासंघमा तीन कार्यकाल कार्यकारीणी सदस्यको जिम्मेवारी सम्हालिसकेका छन् । उनी महासंघका पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेका छोरा पनि हुन् । उनको औषधि उत्पादक लोमस ग्रुप, सिमेन्ट, बैंक र बीमालगायतका क्षेत्रमा उनको लगानी छ । जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार दिलसुन्दर श्रेष्ठ पनि एक अनुभवी र परिचित व्यवसायी हुन् । उनी महासंघमा विगत तीन दशकदेखि सक्रिय छन् । उनी हाल नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्षका रुपमा कार्यरत छन् । उनले धुलिखेल उद्योग वाणिज्य संघको पनि तीन पटक नेतृत्व गरिसकेका छन् । उनी आरएम ग्रुपको सञ्चालक पनि हुन् । यस्तै, जिल्लानगरतर्फको उपाध्यक्षका उम्मेदवार कृष्णप्रसाद शर्मा पनि लुम्बिनी प्रदेशका परिचित व्यवसायी हुन् । उनी नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष समेत हुन् । उनी शर्मा सिद्धार्थ उद्योग वाणिज्य संघ पूर्वअध्यक्षसमेत हुन् । अञ्जन श्रेष्ठ समूहबाट वरिष्ठ उपाध्यक्षमा रुचि राखेका पूर्वजिल्ला नगरतर्फका उपाध्यक्ष दिनेश श्रेष्ठले अहिले नै वरिष्ठ उपाध्यक्षको उम्मेदवार भनेर घोषणा गरेर जानु हतार हुने बताए । ‘जसले घोषणा गरे उनीहरुले गलत गरे, अहिले उपाध्यक्षहरू र कार्यसमितिको मात्रै निर्वाचन हो, उनीहरू जितेर आइसकेपछि उनीहरूको मतदानले नै वरिष्ठ उपाध्यक्ष चुनिने हो । त्यसैले हतार गरेर उम्मेदवारी घोषणा गर्नु राम्रो होइन,’ उनले भने, ‘हामीले यो विषयलाई राम्रोसँग बुझेर नै उम्मेदवारी घोषणा नगरिएको हो ।’ अर्का वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकालको समूहबाट वर्तमान एसोसिएट तर्फकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठ उपाध्यक्षमै दोहोर्याएर उम्मेदवारी दिएकी छन् । उनी ज्वेलर्स व्यवसायी हुन् । यो समूहबाट उमेश डालमिया र कल्पना गैरे जिल्ला नगर उपाध्यक्षका उम्मेदवार बनेका छन् भने नरेशलाल श्रेष्ठ वस्तुगत उपाध्यक्षका उम्मेदवार बनेका छन् । उनी हस्तकला र निर्यात व्यवसायीका साथै ऊर्जा, हस्पिटालिटी र स्वास्थ्य क्षेत्रमा पनि उनको लगानी छ । उनीसँग दुई कार्यकाल कार्यसमितिको अनुभव समेत छ । ढकाल समूहबाट कल्पना श्रेष्ठ महिला उपाध्यक्षकी उम्मेदवार बनेकी छन् । उनीसँग पनि तीन कार्यकाल महासंघको कार्यसमिति सदस्यको काम गरेको अनुभव छ । सम्बन्धित सामग्री : महासंघ चुनाव : अर्को समूहबाट वरिष्ठ उपाध्यक्षका लागि ५ जना आकांक्षी, यस्तो बन्यो प्यानल उद्योगी व्यवसायीलाई पनि लाग्यो चुनाव, ढकालको नेतृत्वमा प्यानल घोषणा ‘कमिङ प्रेसिडेन्ट’को प्यानल बन्छ, अनुभवी र क्षमतावान टिम बनाउँदैछौं
अर्थतन्त्र खेलाउनेहरूको हातमा सुन
काठमाडौं । कुनैबेला महिलाको श्रृङ्गारमा बढी प्रयोग हुने सुन अहिले बचत, लगानी र प्रतिफलका रूपमा प्रयोग हुने गरेको छ । पछिल्ला आठ महिनाको तथ्यांकले पनि सुन लगानीको एउटा महत्त्वपूर्ण उपकरणको रूपमा देखिएको छ । बजारमा सुनको मूल्य बढे पनि किन्ने ग्राहकको संख्या भने घटेको छैन । यसले पनि अब उपभोक्ताको रोजाइमा मात्रै नभई अर्थतन्त्र खेलाउनेहरूको हात र नजरमा पनि सुन पर्न थालेको बुझ्न सकिन्छ । अर्थशास्त्रको नियमअनुसार मूल्य बढ्दा माग घट्नुपर्ने हो । तर, यहाँ उल्टो भइरहेको छ । व्यवसायी मणिकरत्न शाक्य भन्छन्, ‘ सुनको बजारमा मूल्यवृद्धिले माग घटाएको छैन, बरु ‘अझै महँगिन्छ’ भन्ने मनोविज्ञानले खरिदलाई थप उकासेको छ ।’ उनका अनुसार मानिसहरूमा अझै सुन बढ्छ भन्ने आशाकै कारण थप माग बढिरहेको छ र आयात पनि सोही ढंगले बढिरहेको छ । उनी अन्य क्षेत्रको तुलनामा सुन बजारमा राम्रो प्रतिफल भएको कारण पनि सबैको ध्यान र लगानीको उपकरण सुन नै भएको बताउँछन् । चालु आर्थिक वर्षको फागुनसम्म नेपालले २३ अर्ब ४९ करोड ६७ लाख रुपैयाँबराबरको सुन आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आयात १४ अर्ब ३७ करोड ११ लाख २६ हजार रुपैयाँ थियो । यसरी हेर्दा सुन आयात ६३.४९ प्रतिशतले बढेको छ । साउनमा १ अर्ब ५२ करोड रुपैयाँबराबर रहेको सुन आयात फागुनसम्म आइपुग्दा २३ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । अर्थात् आठ महिनाभित्रै आयातको आकार १४४५ प्रतिशतले उकालो लागेको देखिन्छ । यही अवधिमा सुनको मूल्य पनि चर्को गतिमा बढेको छ । साउनमा प्रतितोला १ लाख ९६ हजार रुपैयाँ रहेको सुन फागुन ८ गतेसम्म २ लाख ८२ हजार रुपैयाँ पुगेको छ । यसले आठ महिनामा ४३.८७ प्रतिशत मूल्यवृद्धि भएको देखाउँछ । भन्सार विभागका अनुसार आयातको परिमाण पनि गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । गत आर्थिक वर्षको फागुनसम्म कुल ११ लाख ८८ हजार ८९६ ग्राम परिमाणको सुन आयात भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म कुल १२ लाख ५४ हजार ११३ ग्राम सुन आयात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.४८ प्रतिशत बढी हो । यो हिसाबले ८ महिनामा १२ सय ५४ केजी सुन आयात भएको देखिन्छ । १२५४ केजी ८ महिना भाग लगाउँदा साढे ५ केजीमात्रै हुन आउँछ । गत माघसम्म ११ सय ५४ केजी सुन आयात भएकोमा फागुनमा १२ सय ५४ केजी पुगेको छ । यो एक महिनाको अवधिमा एक सय केजी सुन आयात भएको देखिन्छ । यसलाई दैनिक हिसाब गर्दा एक दिनमा ३.३३ केजी सुन आयात भएको तथ्यांकले देखाउँछ । यद्यपि नेपाल राष्ट्र बैंकले भने दैनिक २५ केजी सुन आयात गर्न मिल्ने व्यवस्था गरेको छ । यसले पनि केजीको सीमाभन्दा निकै तल सुन आयात भएको तथ्यांकले देखाउँछ । राष्ट्र बैंकले गत असोजमा एकीकृत परिपत्र २०८१ संशोधन गर्दै आयात गर्न सकिने सुनको दैनिक परिमाणलाई २५ केजी कायम गरेको थियो । त्यसअघि दैनिक २० केजीसम्म मात्रै सुन आयात गर्न सकिने व्यवस्था थियो । सामान्यतया मूल्य बढ्दा माग घट्ने अनुमान गरिन्छ । तर, सुन बजारले त्यो मान्यतालाई उल्ट्याएको छ । व्यवसायीहरूका अनुसार अहिलेको बजारमा चाडपर्व, विवाह र सामाजिक संस्कारका कारण हुने परम्परागत खरिद त छँदैछ, त्यसबाहेक लगानीका रूपमा सुन किन्ने प्रवृत्ति पनि तीव्र बनेको छ । धेरै ग्राहक अहिले ‘आज महँगो भए पनि भोलि अझै महँगो हुन सक्छ’ भन्ने मनोविज्ञानमा छन् । त्यसैले गहना मात्र होइन, मूल्य जोगाइराख्ने साधनका रूपमा पनि सुनको आकर्षण बढेको व्यवसायीहरू बताउँछन् । नेपाल सुन चाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष समेत रहेका शाक्यका अनुसार अहिले सुनलाई उपभोक्ताले उपभोग्य वस्तुभन्दा पनि सुरक्षित लगानीको उपकरणका रुपमा बुझेका छन् । उनी भन्छन्, ‘बैंकले पनि वार्षिक ६/७ प्रतिशतमात्रै प्रतिफल दिइरहेका छन्, अन्य क्षेत्रमा खासै प्रतिफल छैन । तर, सुनमा वार्षिक २० प्रतिशतको हाराहारीमा प्रतिफल छ, त्यसैले महँगो भए पनि सुन खरिद गरेको देखिन्छ ।’ पछिल्लो ८ महिनाको तथ्यांकले पनि व्यवसायीको बुझाइ मेल खान्छ । भन्सार विभागका अनुसार साउनमा १ अर्ब ५२ करोड, भदौमा ३ अर्ब १२ करोड, असोजमा १० अर्ब २५ करोड, कात्तिकमा १५ अर्ब ७२ करोड, मंसिरमा १५ अर्ब ७२ करोड, पुसमा १८ अर्ब ८३ करोड, माघमा २१ अर्ब २० करोड र फागुनसम्म २३ अर्ब ४९ करोड रुपैयाँबराबरको सुन आयात भएको छ । यसले बजारमा माग क्रमिक रूपमा विस्तार भएको देखाउँछ । व्यवसायी शाक्यका अनुसार सुन आइतबार केही घटे पनि अझै बढ्न सक्ने सम्भावना देखिन्छ । ‘अहिले अमेरिकाले डलरको भाउ बढाउन खोजेको छ, चीनले सुनको मूल्य बढाउन खोजेको छ, दुई देशको व्यापारिक युद्धमा कसको जित हुन्छ भन्ने विषय महत्त्वपूर्ण छ, साढे तीन लाख रुपैयाँ पुगेको सुन अझै घट्ने सम्भावना न्यून छ, सुनको मूल्य अझै बढ्छ,’ उनले भने । बजारमा सुनको माग बढेपछि आपूर्ति व्यवस्थापनमाथि पनि दबाब परेको छ । नेपालमा सुन आयातको व्यवस्था राष्ट्र बैंकको सीमा र प्रक्रिया अनुसार वाणिज्य बैंकमार्फत हुने भएकाले व्यवसायीहरू लामो समयदेखि कोटा पर्याप्त नभएको, वितरण प्रक्रिया सहज नभएको र बजार मागअनुसार आपूर्ति हुन नसकेको गुनासो गर्दै आएका छन् । बैंकहरूले सुन आयात गरेर व्यवसायीलाई उपलब्ध गराउने भए पनि सुनलाई सबै बैंकले प्राथमिकताको वस्तुका रूपमा नहेर्ने व्यवसायीहरूको भनाइ छ । यसले कहिलेकाहीँ बजारमा सुनको सहज आपूर्तिमा अवरोध ल्याउने गरेको छ । ग्राहकको रुचिमा पनि परिवर्तन आएको छ । पहिलेजस्तो भारी गहना भन्दा कम ज्याला, कम जर्ती र पछि बेच्न सजिलो हुने प्रकारका गहना वा सादा सुन किन्ने प्रवृत्ति बढेको व्यवसायीहरू बताउँछन् । मूल्य निरन्तर बढिरहेकाले यसलाई व्यवसायी र उपभोक्ताहरूले पनि वैकल्पिक लगानीका रुपमा पनि बुझ्न थालेका छन् । व्यवसायीहरूका अनुसार पुराना गहना बेचेर नयाँ किन्ने र मूल्य बढेका बेला नाफा बुक गर्ने अभ्यास पनि सुन बजारमा देखिएको छ । नेपालको सुन बजार अन्तर्राष्ट्रिय बजारसँग गहिरो रूपमा जोडिएको छ । विश्व बजारमा सुरक्षित लगानीको खोजी, भू-राजनीतिक तनाव, अमेरिकी ब्याजदरको अनिश्चितता, केन्द्रीय बैंकहरूको खरिद र लगानी कोषहरूको प्रवेशका कारण सुनको मूल्यमा चाप बढिरहेको छ । जब अन्तर्राष्ट्रिय बजारमा मूल्य उकालो लाग्छ, त्यसको सीधा असर नेपाली बजारमा पर्छ । डलर विनिमयदर, आयात लागत, कर र स्थानीय माग थपिँदा नेपालमा सुन अझ महँगो पर्न जान्छ । यही कारण अहिले देखिएको मूल्यवृद्धि स्थानीय बजारको मात्र कारण होइन, विश्व बजारमा बढेको माग, सीमित आपूर्ति, लगानीकर्ताको आकर्षण र आर्थिक अनिश्चितताको प्रभाव पनि हो । विश्वव्यापी रूपमा पनि सुन अहिले परम्परागत गहनाभन्दा बढी ‘सेफ हेभेन एसेट’ अर्थात् संकटको बेलाको सुरक्षित सम्पत्तिका रूपमा हेरिन थालेको छ । नेपालमा पनि सोही प्रवृत्ति बलियो हुँदै गएको संकेत फागुनसम्मको आयात तथ्यांकले दिएको छ । सुन आयात बढ्नु भनेको विदेशी मुद्रा बाहिरिनु हो । रेमिट्यान्समा टिकेको नेपाली अर्थतन्त्रमा उच्च परिमाणको सुन आयात हुनु बाह्य क्षेत्रका लागि चुनौती हुन सक्छ । त्यसैले पनि राष्ट्र बैंकले सुन आयातमा निश्चित सीमा र बैंकमार्फत वितरण व्यवस्था राखेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष तथा सुन व्यवसायी दियसरत्न शाक्य पनि सुन अब उपभोगभन्दा पनि लगानीका लागि खरिद गर्ने अभ्यास बढेको बताउँछन् । उनका अनुसार सुन अब सामान्य नेपालीको क्रयशक्तिभन्दा धेरै बाहिर गइसकेको छ । ‘अहिले सर्वसाधारण नेपालीको पहुँचमा सुन छैन, व्यवसायी र आकर्षक प्रतिफल चाहनेहरूले सुन खरिद गरिरहेका छन् । तर, अझै पनि सरकारले व्यवस्था गरेअनुसार सुन आयात हुन सकेको छैन,’ उनले भने ।
भाटभटेनी जलेपछि बैंकमा भूकम्प, लण्डनमा बैठक
काठमाडौं । बिहान ८ बजेको समय । चक्रपथको भाटभटेनीमा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ कर्मचारीहरूलाई ढाडस दिइरहेका थिए । उनकी पत्नी सावित्री गुरुङ फूलका गमलाहरू मिलाइरहेका मालीहरूलाई सजाउन सहयोग गरिरहेकी थिइन् । कुन गमला कसरी राख्ने, कुन ठाउँमा राख्दा थप आकर्षक हुन्छ भनेर सल्लाह दिँदै थिइन् उनी । महाराजगञ्जको भाटभटेनी सुपर स्टोर पुनःसञ्चालनको अन्तिम तयारी गरिरहेका चार सय बढी कर्मचारीहरू धमाधम सामान ओसार्दै थिए । भवन पुन: निर्माणमा जुटिरहेका श्रमिकहरू बिहानैदेखि काममा व्यस्त थिए । सावित्री गुरुङ । भाटभटेनीका सञ्चालक मीनबहादुरले भाटभटेनीका आँगनमा जम्मा भएका सञ्चारकर्मीहरूलाई प्रफुल्लित भएर भने, ‘हामी नजुटे को जुट्ने ? हामीले काम नगरे कसले गर्ने ? देश र देशको अर्थतन्त्र निर्माणका लागि पनि हामी अगाडि बढ्नै पर्छ । यो हाम्रो उत्तरदायित्व र जिम्मेवारी पनि हो ।’ गत भदौ २४ गतेको जेनजी आन्दोलनका कारण देशको प्रमुख डिर्पाटमेन्टल स्टोर भाटभटेनीका १२ वटा स्टोरहरू जले । आन्दोलनकारीको टार्गेटमा भाटभटेनीका स्टोरहरू परे । कति पूर्ण रूपमा जलेर ध्वस्त भए । कतिपयमा तोडफोडसँगै लुटपाट भयो । यो दुर्घटना स्मरण गर्दै मीनबहादुर भन्छन्, ‘अब त देशमा शान्ति होला कि !’ उनले भदौ २४ गतेलाई सम्झिँदै हरेक भाटभटेनी स्टोरको फ्रन्टमा देखिने गरी ठूलो अक्षरले लेखेका छन्, ‘हे भगवान ! अब उप्रान्त मेरो देश नेपालमा यस्तो कहिल्यै नहोस् ।’ यो विध्वंशले मीनबहादुरको मन रोएको छ । मस्तिष्क छियाछिया भएको छ । तर, आफू सम्हालिँदै कर्मचारीलाई ढाडस दिइरहेका छन् । उपभोक्तालाई सेवा दिन तम्सिएका छन् । सञ्चारकर्मीहरूसँग सकारात्मक सन्देश प्रवाहको बिन्ति गरिरहेका छन् । र, थप मनोबल बढाएर काम गर्न अगाडि बढिरहेका छन् । ‘अब त भदौ २४ पनि बिर्सिसकें । अहिले त आफूलाई २५/२६ वर्षको केटोजस्तो ऊर्जा आएको छ,’ ठट्टा गर्दै उनले सञ्चारकर्मीहरूसँग भने, ‘तपाईंहरूले पनि मलाई बुढो हुनुभयो नभन्नू होला है !’ सरकारले गर्न नसकेको काम मीनबहादुरले गरेर देखाएका छन् । अधिकांशले विश्वास पनि नगरेको पुन : निर्माणको काम उनले महिना दिनमै पूरा गरेका छन् । र, सन्देश दिएका छन्, ‘आँट भयो भने गर्न सकिन्छ । बस्, मनमा आँट, ऊर्जा जाँगर चाहिन्छ ।’ सरकारले जलेका संरचनाको खरानी टकटक्याउन सकेको छैन । कालो धुवाँको मुस्लो भित्ताहरूबाट हट्न सकेको छैन । जलेका संरचनाहरू हरियो त्रिपालले ढाकिएका छन् । तर, मीनबहादुरले भने आफ्नो बहादुरी देखाएका छन् । उनले समाजलाई सकारात्मक सन्देश र उत्प्रेरणा दिएका छन् । परिणामस्वरूप भाटभटेनी जलेको तीन महिना नपुग्दै गत मंसिर १९ गते बालुवाटारस्थित वेयरहाउस पुनःसञ्चालनमा आयो । माघ २८ गते कोटेश्वरमा रहेको भाटभटेनीको स्टोर पुन:निर्माण सकेर सञ्चालनमा आयो । र, फागुन १४ गते महाराजगञ्जस्थित स्टोर पुनः सञ्चालनमा आयो । यो छोटो अवधिमा जलेर खरानी भएका संरचना उनले पुनःसञ्चालनमा ल्याएका छन् । आफूसँगै कर्मचारीमा मनोबल बढाएका छन् । निजी क्षेत्र र सरकारलाई पनि ‘गर्न सकिन्छ है’ भन्ने सन्देश प्रवाह गरेका छन् र उपभोक्तालाई हामी पुनः सेवा दिन आयौं है भन्ने मेसेज पठाएका छन् । महाराजगञ्जको भाटभटेनी स्टोर पुनःसञ्चालनमा आएपछि कर्मचारीसँग मीनबहादुर गुरुङ । यो छोटो अवधिमा यति ठूला संरचनाहरूको पुन: निर्माण सम्पन्न गर्नु आफैमा जोखिम र चुनौती पनि थियो । त्यो महसुस मीनबहादुरले नगरेका पनि होइनन् । उनलाई थाहा थियो– ‘यति ठूला संरचनाको पुन: निर्माण गर्न कम्तिमा दुई वर्ष समय लाग्छ ।’ तर, उनले आत्मबल बढाए । मनमनै भने, ‘आँट गर्यो भने गर्न सकिन्छ ।’ व्यवस्थापनलाई सक्रिय बनाए । निर्माण कम्पनीलाई काम सक्ने ‘डेडलाइन’ दिए । हामीले नसके कसले सक्ने ? हामीले नगरे कसले गर्ने भन्ने संकल्प लिएर अगाडि बढे । र, जलेर खरानी बनेका भाटभटेनीका स्टोरहरू अहिले चिटिक्क परेर उभिएका छन् । मीनबहादुरको मन हौसिएको छ । मुहारमा मुस्कान थपिएको छ । ‘भाटभटेनीमाथि यो किसिमको प्रहार होला, जलाएर खरानी बनाइएला भन्ने कुरा मेलै सपनामा पनि सोचेको थिइनँ । तर, म नै टार्गेटमा परें,’ दुःखी हुँदै उनले सञ्चारकर्मीहरूसँग भने, ‘अब यो देशमा यस्तो नहोस् भन्ने कामना गरौं । यो घटनाबाट पाठ सिकेर देश निर्माणमा लागौं ।’ उनले भाटभटेनी पुन: निर्माणमा खटिएका इञ्जिनियर सुवर्ण डंगोल र गौरव मल्लको नाम सगौरव लिए । दिनरात खटिने श्रमिक र कर्मचारीको प्रशंसा गरे । नेपालीले पनि समयमै काम गर्न सक्छ है भन्ने उदाहरण प्रस्तुत गरेकोमा सम्मान प्रकट गरे । मीनबहादुर गुरुङ । बैंकमा भूकम्प, लण्डनमा बैठक भदौ २४ गते देशभरका १२ वटा स्टोरमाथि आगजनी, तोडफोड तथा लुटपाट भएपछि भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई मात्रै होइन, त्यस संस्थासँग आवद्ध कर्मचारी, कर्मचारीका परिवार, ऋण दिने बैंक र लेनदेन गरिरहेका अधिकांश व्यक्ति र कम्पनीहरू ठूलो सकसमा परे । अधिकांशको प्रश्न थियो, ‘अब के हुन्छ ? भाटभटेनी डुब्छ ?’ यो प्रश्नले मीनबहादुरको मनमा पनि प्रहार गर्यो । उनलाई थाहा थियो– ‘आफूले हार खायो भने भाटभटेनीसँग जोडिएका हजारौं कर्मचारी समस्यामा पर्नेछन्, तिनका हजारौं परिवार प्रभावित हुनेछन्, ऋण सुविधा दिएका बैंकहरूलाई ठूलो असर पर्नेछ ।’ हिम्मत जुटाए । र, संकल्प गरे ‘म फेरि उठ्नेछु ।’ तर, विश्वास गर्ने कसले ? त्यही अविश्वासले उनलाई ऋण दिएका बैंकले ऋण सुविधा रोके । विदेशी बैंक स्ट्याण्डर्ड चार्टर्ड र एसबिआई बैंकले उनीसँग तारन्तार फलोअप गर्न थाले । ‘जहाँ गहिरो, त्यहीँ पहिरो’ भने झैं सकस परेकै बेला ऋण सुविधा दिइरहेका बैंकले पनि ऋण होल्ड गरे । अब कसरी अगाडि बढ्ने भनेर स्ट्याण्डर्ड चार्टर्ड बैंकले त्रिपुरेश्वरस्थित वर्ल्ड टावरमा उच्च तहको मिटिङ राख्यो । नेपालमा जेनजी आन्दोलन भएर भाटभटेनीका स्टोरहरू जलेर नष्ट भएको भन्दै उनको बैंक खाता नै सिंगापुर ट्रान्सर्फर गर्यो । सिंगापुरले स्टाण्डर्ड चार्टर्ड बैंकको हेडक्वाटर लण्डनमा फाइल पठाइदियो । भाटभटेनीको विषयमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको हेड क्वाटरमा बृहत छलफल भयो । बैंकले उनको ऋण खाता नै होल्ड गरिदियो । ‘म आफैले बैंकलाई राखेर छलफल गरें । हामी फेरि उठ्न सक्छौं, विश्वास गर्नूस् भनें,’ मीनबहादुरले त्यो घटना स्मरण गर्दै भने, ‘तपाईंको बैंक डुब्न दिँदैनौं भनेर विश्वस्त पारें ।’ तर पनि बैंकले होल्ड गरेको खाता खुला गरेन । तर, मीनबहादुर निराश भएनन् । उनले आफूसँग भएको स्रोतसाधन प्रयोग गरेर वेयर हाउस र कोटेश्वरको स्टोर पुनःसञ्चालनमा ल्याए । यो सूचना बैंकले पायो । बैंकका प्रमुख कार्यकारी अधिकृत लगायतका उच्च अधिकारीले भाटभटेनीका स्टोर निरीक्षण गरे । प्रबन्ध निर्देशक गुरुङका अनुसार उनको होल्ड भएको खाता अहिले बैंकले खुला गरेको छ । आर्थिक वर्ष २०८२/८३ का लागि दिने भनिएको ५० करोड रुपैयाँ ऋण फुकुवा गरेको छ । बैंक ५० करोड रुपैयाँ ऋण दिन सहमत भएको छ । तर, अहिले उनले त्यो ऋण सुविधा लिएका छैनन् । अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि भाटभटेनीको पुन: निर्माण देखेर सरप्राइज भएको उनले सुनाए । ‘सबै स्टोरहरू सञ्चालनमा आएपछि मात्रै त्यो ऋण लिन्छु । हामीले गर्न सक्छौं भन्ने उदाहरण देखाएका छौं,’ उनी भन्छन्, ‘नेपालमा अथाह सम्भावना छ । मैले त्यो दुर्घटना बिर्सिसकेको छु । अब नेपाल बन्छ ।’ उनी नक्सालस्थित भाटभटेनीको मुख्य स्टोरको निर्माण पनि आगामी भदौभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको बताउँछन् । उनले अब छिट्टै बौद्धको स्टोर पुनःसञ्चालनमा ल्याउने तयारी भइरहेको सुनाउँछन् । महाराजगञ्जको भाटभटेनी स्टोर पुनःसञ्चालनमा आएपछि मीनबहादुर गुरुङ र साथमा पत्नी सावित्री गुरुङ । ११ अर्बको दाबी, २ अर्बमात्रै भुक्तानी भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले बीमा कम्पनीहरूप्रति भने दुःखेसो पोखे । आफूले करोडौं प्रिमियम भुक्तानी गरेको भए पनि संकटमा पर्दा बीमा कम्पनीहरूले भुक्तानीमा सहजीकरण नगरेको गुनासो गरे । दशैंअघि धेरै ठूलो परिमाणमा सामान स्टक भए पनि सोहीअनुसार मूल्यांकन नभएको उनको भनाइ छ । उनले भाटभटेनीले १० अर्ब ८६ करोड रुपैयाँको बीमा दाबी गरे पनि हालसम्म २ अर्ब ३ करोडमात्रै भुक्तानी भएको उनको धारणा छ । भाटभटेनीले अपेक्षा गरेअनुसार मूल्यांकन भएन । तर, जति दाबी भएको छ त्यसको शतप्रतिशत पाउनुपर्छ भन्ने हाम्रो धारणा हो । टंगालको भवनको मूल्यांकन ५ करोड मात्रै देखिएको छ, अरू भवनको पनि पाउनुपर्छ,’ उनले भने, ‘मैले यति थोरै लिनेवाला छैन भनेपछि २ अर्ब ३ करोड भुक्तानी भयो । थप रकम दिइएको छैन, दिएनन् भने पनि लड्ने हिम्मत राख्न सक्छु । प्रिमियम पनि करोडमा तिरेको छु । उनीहरूले मलाई परेको बेला नतिर्ने भन्ने हुन्छ ?’ चुनावको समयमा संसारभरका मानिस पर्यवक्षक भएर देशमा आउने भएकोले उनीहरूलाई पनि नेपाल आफै बन्न सक्छ र नेपाली बनाउन सक्छन् भन्ने सन्देश दिन पनि २४ सै घण्टा खटिएर काम गरेको मीनबहादुरको धारणा छ । ‘उनी भन्छन्,‘ नेपालीले पनि गर्न सक्छ भन्ने सन्देश विश्वलाई दिएका छौं, यसमा हामीले प्राउड फिल गर्नुपर्छ ।’
५० प्रतिशत महिला बोकेर उठ्यो टिम हेमराज, चन्द्रसहित ८ पूर्वअध्यक्षको साथ
काठमाडौं । निजी क्षेत्रका व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी माहोल तातेको छ । यसअघि गोप्य रूपमा आफ्नो पक्षमा चुनावी नतिजा पार्न व्यस्त व्यवसायीहरू सोमबारदेखि सार्वजनिक मञ्चबाट पनि चुनावी अभियानलाई तीव्रता पारेको उद्घोष गरेका छन् । महासंघको ६०औं वार्षिक साधारण सभाबाट चयन हुने नयाँ कार्यसमितिको लागि उम्मेदवारी घोषणा हुन सुरु भएको छ । महासंघको आगामी चैत २८ र २९ मा हुने वार्षिक साधारण सभासँगै नयाँ कार्यसमिति चयन हुनेछ । नयाँ कार्यसमितिमा हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ विधानतः स्वतः अध्यक्ष हुनेछन् भने अन्य पदका लागि चुनावी प्रतिस्पर्धा हुनेछ । महासंघले विधान संशोधन गरेर यस वर्षबाट वरिष्ठ उपाध्यक्ष बन्नका लागि पनि पहिले कार्यसमिति सदस्य बन्नुपर्ने व्यवस्था गरेको छ । निर्वाचित सञ्चालक समितिले नै वरिष्ठ उपाध्यक्ष चयन गर्नेछ । महासंघको वरिष्ठ उपाध्यक्षमा सोमबार हेमराज ढकाल नेतृत्वको प्यानल घोषणा भएको हो । हाल वस्तुगत तर्फका उपाध्यक्ष रहेका ढकालको टिममा हाल एसोसिएट उपाध्यक्ष रहेकी ज्योत्सना श्रेष्ठले सोही पदमा दोहोर्याउने घोषणा गरेकी छन् । यही प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा उमेश डालमिया र कल्पना गैरेले उम्मेदवारी घोषणा गरेका छन् । महासंघले विधान संशोधन गर्दै यस पटकदेखि दुई जना जिल्ला नगर उपाध्यक्ष हुने व्यवस्था गरेको छ । यसअघि एउटा मात्रै जिल्लानगर उपाध्यक्ष हुने व्यवस्था थियो । वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठले उम्मेदवारी दिएका छन् भने महिला उपाध्यक्षमा कमला श्रेष्ठले उम्मेदवारी दिएकी छन् । महिला उपाध्यक्ष पनि यस वर्षदेखि सुरु गरिएको हो । ढकाल प्यानलले आफूलाई समावेशी, अनुभवी र क्षमतावान व्यवसायीको समूह भएको दाबी गरेको छ । ६ जना पदाधिकारीमा तीन जना महिला छन्, जुन पदाधिकारीमा ५० प्रतिशत हिस्सा हो । यस्तो छ व्यावसायिक पृष्ठभूमि वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकाल एक अनुभवी उद्योगीका रूपमा परिचित छन् । अहिले वस्तुगत उपाध्यक्षको रूपमा महासंघमा काम गरिरहेका उनी हेरिटेज ग्रुपका अध्यक्षसमेत हुन् । नेपालमा म्याट्रेस व्यवसायको सुरुवात एवं व्यवसाय विस्तार गर्ने श्रेय हेमराज ढकाललाई नै जान्छ । वस्तुगत उपाध्यक्ष बन्नुअघि उनी कृषि उद्यम केन्द्रको नेतृत्व, कोभिड–१९ महामारीका बेला स्वास्थ्य तथा सीप विकास समितिमा सक्रिय भूमिका, अक्सिजन, क्वारेन्टाइन र औषधि आपूर्ति व्यवस्थापनमा समन्वय जस्ता कामलाई उनले आफ्नो कार्यकालका उपलब्धिका रूपमा उल्लेख गरेका छन् । झापा उद्योग वाणिज्य संघ र चिया उत्पादक संघमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् । सोमबार उम्मेदवारी घोषणा गर्दै ढकालले उद्योगी तथा व्यवसायीहरूका समस्याहरू समाधानका लागि आवाज बुलन्द गर्ने बताए । उनले सबै उद्योगीहरू सशक्त भई एकबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले सबै उद्योगी व्यवसायीहरूलाई मिलाएर जाने समेत प्रतिवद्धता जनाए । हेमराज ढकाल ढकालले भने, ‘अर्को समूहले पनि उम्मेदवारी घोषणा गर्ने सुनेको छु । म सबै व्यवसायी तथा उद्योगी साथीहरूलाई अनुरोध गर्न चाहन्छु ।’ यस्तै, एसोसिएट तर्फकी उपाध्यक्षकी उम्मेदवार ज्योत्सना श्रेष्ठ गरगहना व्यवसायी हुन् । ज्वेलरी व्यवसायीको रूपमा आफ्नो परिचय बनाएकी उनी मेरिगोल्ड ज्वेलर्स कम्पनी सञ्चालन गरिरहेकी छन् । ज्योत्सना हाल नेपाल उद्योग वाणिज्य महासंघमा रोजगारदाता परिषदको सभापतिको रूपमा काम गरिरहेकी छन् । उनी रत्न तथा आभूषण महासंघकी अध्यक्ष भएर पनि काम गरिसकेकी छन् । सार्क चेम्बर अफ कमर्सलगायत आधा दर्जन निजी क्षेत्रका संघ संगठनमा काम गरेको अनुभव उनीसँग छ । ज्योत्सना श्रेष्ठ एसोसिएट उपाध्यक्षकी उम्मेदवार श्रेष्ठले अब बलियो आवाज उठाएर बोल्नु पर्ने र काम गरेर देखाउनु पर्ने बताइन् । आफूले वर्तमान कार्यसमितिमा रहेर महत्त्वपूर्ण काम गरेको सुनाउँदै अब थप काम गर्नका लागि मतदान गरेर सहयोग गर्न उद्योगी व्यवसायीलाई आग्रह गरिन् । ‘विदेशमा पुगेर पनि नेपाली निजी क्षेत्रको आवाज उठाएँ, महिलासँगै समग्र उद्योगी व्यवसायीको आवाज बनें,’ उनले भनिन्, ‘प्रणालीमा देखिएको ग्याप न्यूनीकरण गर्न र समस्या समाधान गर्न अगाडि बढेकी छु, निजी क्षेत्रको एकीकृत आवाज बन्नेछु ।’ यस्तै, जिल्ला नगरका उपाध्यक्षका उम्मेदवार उमेश डालमिया पनि पूर्वका परिचित र अनुभवी व्यवसायी हुन् । महासंघको कार्यकारिणी सदस्यका रुपमा काम गरिरहेका उनी मेला समिति संयोजकको जिम्मेवारीमा पनि छन् । डालमिया बिर्तामोड उद्योग वाणिज्य संघका २०५६ देखि २०५८ सम्म अध्यक्ष भएर काम गरेको थिए भने झापा उद्योग वाणिज्य संघको अध्यक्ष बनिसकेका छन् । धरानबाट औद्योगिक व्यवसाय सुरु गरेका उनी बिर्तामोडमा रहेको रेडियो भिजनका सञ्चालकसमेत हुन् । उनी व्यवसायसँगै सामाजिक काममा पनि सक्रिय छन् । डालमियाले जिल्ला नगरका व्यवसायीहरूको समस्या समाधानका लागि आफूले धेरै काम गरेको सुनाए । आगामी दिनमा पनि थप काम गर्ने उनको भनाइ छ । उमेश डालमिया नेपाल सरकारसँग सहकार्य गरेर व्यवसायीका समस्या दह्रो रूपमा राख्नका लागि आफू नेतृत्वमा जान चाहेको उल्लेख गर्दै उनले व्यवसायीको समस्या समाधानका लागि आफू अग्रपंक्तिमा उभिने धारणा राखे । ढकालकै प्यानलबाट जिल्ला नगरको उपाध्यक्षका लागि कल्पना गैरेले पनि उम्मेदवारी घोषणा गरेकी छन् । पाल्पा घर भएकी उनी कैलालीको धनगढीमा रहेर व्यवसाय गर्दै आएकी छन् । उनी स्वास्थ्य व्यवसायी हुन् । उनी पनि महासंघको कार्यकारिणी सदस्यका रूपमा कार्यरत छिन् । यस्तै, जिल्ला/नगर उपाध्यक्षका उम्मेदवार कल्पना गैरेले पदले प्रतिष्ठाभन्दा पनि जिम्मेवारी भएको बताउँदै आफू जिल्ला नगरको आवाज बन्न उम्मेदवार बनेको बताइन् । कल्पना गैरे गैरेले आफू जिल्ला नगरको उपाध्यक्ष बनेको खण्डमा व्यवसायीको समस्या सम्बोधनमा अग्रसर हुने बताइन् । उनले नेतृत्व क्षमता भएकै कारण उपाध्यक्षको उम्मेदवार बनेको सुनाउँदै पारदर्शिता, उत्तरदायित्व र जिम्मेवारीका साथ काम गर्ने बताइन् । यस्तै, वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठ पनि अनुभवी व्यवसायी हुन् । सिन्धुपाल्चोक घर भएका श्रेष्ठले बागमती आर्टस् एण्ड ह्याण्डिक्राफ्ट सञ्चालन गर्दै आएका छन् । हस्तकलाका उत्पादनलाई अन्तर्राष्ट्रिय रूपमा बजारीकरण गर्न उनको महत्त्वपूर्ण योगदान छ । नरेशलाल श्रेष्ठ पर्यटन, ऊर्जा, स्वास्थ्य क्षेत्रमा पनि उनको लगानी र अनुभव छ । नेपाल निर्यात परिषदको अध्यक्ष भएर पनि काम गरिसकेका छन् । श्रेष्ठले हस्तकला, उर्जा, हस्पिटालिटी र स्वास्थ्य क्षेत्रबाट प्राप्त गरेको अनुभव महासंघमा बसेर काम गर्ने बताए । उनले मतदातालाई साथ दिएर काम गर्ने अवसर दिन पनि आग्रह गरे । यस्तै, ढकाल प्यानलबाट व्यवसायी कमला श्रेष्ठ पनि महिला उपाध्यक्षको उम्मेदवार बनेकी छन् । तीन कार्यकाल महासंघको कार्यसमिति सदस्य बनिसकेकी उनीसँग चार दशक व्यवसाय गरेको अनुभव छ । उनी हाल महासंघको महिला उद्यमी विकास समितिको सभापतिको रूपमा काम गरिरहेकी छन् । उनी ब्युटी पार्लर व्यवसायी हुन् । उनी सायम इन्स्टिच्युट अफ हेयर डिजाइन एण्ड ब्युटी केयरको सञ्चालक हुन् । उनी नेपाल ब्युटिसिएन संघको संस्थापक अध्यक्षसमेत हुन् । कमला श्रेष्ठ श्रेष्ठले २०३६ सालबाट १० हजार लगानी गरेर एक महिनामा ८० रुपैयाँ कमाउनेदेखि अहिले लाखौंलाई रोजगारी दिने क्षेत्र सौन्दर्य व्यवसाय बनेको बताइन् । सुरुवाती दिनमा ससुराले पानी नचल्ने काम गरिस् भन्ने आक्षेप लगाएको गुनासो सुनाउँदै उनले भनिन्,’ ‘महासंघमा तीन कार्यकाल काम गरेर पनि महिला उद्यमी विकासमा उल्लेखनीय काम गरेकी छु, अब मलाई सबैले विश्वास गर्ने अपेक्षा छ ।’ चण्डीदेखि चन्द्रसम्मको साथ वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकाल नेतृत्वको प्यानललाई आधा दर्जन बढी पूर्वअध्यक्षहरूले समेत साथ दिएका छन् । सोमबार आधा दर्जन पूर्वअध्यक्ष उनको उम्मेदवारी घोषणासभामा उपस्थित थिए । वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल पनि घोषणासभामा उपस्थित भएका थिए । अध्यक्ष ढकालले उम्मेदवारी घोषणा गरेका सबै उम्मेदवार अनुभवी र क्षमतावान रहेको भन्द्र प्रशंसासमेत गरेका थिए । आफू निर्विरोध अध्यक्षमा निर्वाचित भएको विषय स्मरण गर्दै उनले सकेसम्म अहिले पनि निर्विरोधरूपमा निर्वाचित हुन आग्रह गरेका थिए । उनले अर्का समूहले पनि उम्मेदवारी घोषणा गर्ने सूचना पाएको उल्लेख गर्दै सकेसम्म मिलेर अगाडि बढेमा राम्रो हुने र हुनै नसके स्वस्थ प्रतिस्पर्धा गर्न पनि आग्रह गरे । कार्यक्रममा पूर्वअध्यक्ष चण्डीराज ढकाल, पशुपति मुरारका, रविभक्त श्रेष्ठ लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए । उनीहरुले पनि उम्मेदवारी घोषणा गरेका सबै व्यवसायी अनुभवी र क्षमतावान भएको बताएका थिए । ढकाल समूहले वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ८ जना पूर्वअध्यक्ष आफ्नो समूहमा रहेको प्रचार गरेको छ । उनीहरुले सोमबार पूर्वअध्यक्षहरू शेखर गोल्छा, भवानी राणा, पशुपति मुरारका, चण्डीराज ढकाल, विनोद बहादुर श्रेष्ठ, रविभक्त श्रेष्ठ र प्रदीपकुमार श्रेष्ठको नाम आफूलाई समर्थन गरेको सूचीमा राखेको थियो । यद्यपि, पूर्वअध्यक्षहरूले आफूहरूलाई निमन्त्रणा आएकोले शुभकामना दिन मात्रै गएको र खुलेरै कुनै पनि टिममा नलागेको धारणा राखेका छन् । कार्यक्रममा गोल्छा, राणा र विनोद श्रेष्ठ भने उपस्थित थिएनन् । महासंघमा पूर्वअध्यक्ष फ्याक्टरले ठूलो काम गर्ने गरेको छ । वरिष्ठ उपाध्यक्ष खोज्दै अर्को समूह अर्को समूहले भने चैत पहिलो साता उम्मेदवारी घोषणा गर्ने बताएको छ । सो समूहले वरिष्ठ उपाध्यक्षको उम्मेदवार टुङ्ग्याउन सकेको छैन । स्रोतका अनुसार अहिले वर्तमान जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण वैद्य, पूर्व उपाध्यक्ष द्वय दिनेश श्रेष्ठ र रामचन्द्र संघाईसँगै किशोर प्रधान र भाष्करराज कर्णिकारले वरिष्ठ उपाध्यक्षका लागि रुची देखाएका छन् । उनीहरूमध्ये एक जना वरिष्ठ उपाध्यक्ष बन्नेछन् । सो समूहबाट वस्तुगततर्फको उपाध्यक्षमा शिव घिमिरे, एसोसिएटतर्फको उपाध्यक्षमा प्रवलराज पाण्डे र जिल्लानगर उपाध्यक्षमा कृष्ण शर्मा र दिलसुन्दर श्रेष्ठ रहेका छन् ।
जो आफ्नो मात्रै जित खोजिरहेका छन्
काठमाडौं । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा केपी शर्मा ओली एकै दिन पूर्वका तीन जिल्लामा आयोजना गरिएका आमसभामा हेलिकोप्टरमार्फत पुगेर सम्बोधन गरेको समाचार अहिले पनि खोज्यो भने सहजै भेटिन्छ । २०७९ को चुनावमा उनले सुदूरपश्चिमको धनगढीको आमसभालाई सम्बोधन गरेर सोही दिन डडेल्धुरा र दार्चलामा पनि पुगेर काठमाडौं फर्किएको समाचार अहिले पनि विभिन्न अनलाइनहरुमा सहजै भेटिन्छ । २०७० को संविधानसभा निर्वाचनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ रोल्पादेखि चितवन र काठमाडौंसम्मको सभामा उपस्थित भएर पार्टीको राष्ट्रव्यापी उपस्थिति देखाउन सक्रिय थिए । उनले पनि एकै दिन ३/४ वटा सभामा पुगेर मतदातालाई रिझाउने काम गर्थे । २०७४ को बाम गठबन्धनमा त ओली र प्रचण्ड कयौं ठाउँमै एउटै हेलिकप्टरमा पुगेर एकैदिन ठाउँ-ठाउँमा आयोजना गरिएका जनसभालाई सम्बोधन गर्ने गरेका थिए । २०७९ मा नेपाली कांग्रेस र तत्कालीन नेकपा माओवादी केन्द्रको चुनावी गठबन्धन हुँदा प्रचण्ड र कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा पनि हेलिकप्टरमा गएर ठाउँ-ठाउँका जनसभाहरुमा सम्बोधन गर्थे । उनीहरु आफू उम्मेदवार बनेको ठाउँभन्दा पनि जनसभामै सम्बोधन गरेर आफ्नो पार्टीप्रति जनताको आकर्षण बढाउन तल्लिन हुन्थे । उनीहरू देश दौडाहामा निस्केर आफ्नो पार्टीका उम्मेदवारका लागि माहोल बनाउने अभियानमा जुट्थे । उनीहरूलाई आफ्नो जित सुनिश्चित छ भन्ने आत्मविश्वास हुन्थ्यो, त्यसैले आफ्नो भन्दा पार्टीको जित प्राथमिकतामा राख्थे । हेलिकप्टरमा यात्रा गरेर एक किसिमको माहोल सिर्जना गर्थे । ती दृश्यहरु केवल प्रचार अभियान मात्र थिएनन्, शक्ति प्रदर्शनको प्रतिक पनि थिए । तर, अहिले परिदृश्य फरक छ । शीर्ष नेताहरुलाई चुनाव त लागेको छ । तर, आफू र आफ्नै लागि । उनीहरुको पार्टीले न जनसभा आयोजना गर्न सकेको छ नत उनीहरू आफू बाहेकका उम्मेदवारको निर्वाचन क्षेत्रमा पुगेर मतदातासँग मत मागिरहेका छन् । अहिले न हेलिकोप्टरको गर्जन सुनिन्छ नत विशाल आमसभामा गर्जिने नेताहरुका चिल्ला भाषण सुनिन्छन् । अहिले विशाल आमसभाहरू देखिन छाडेका छन् । फागुन २१ गतेको चुनाव आउन अब दुई साता पनि बाँकी छैन । नेताहरुलाई प्रचार प्रचार गर्न अधिकतम् अब एक सातामात्रै बाँकी छ । किनकी अर्को साताको मध्यतिर मौन अवधि सुरु हुन्छ । त्यो अवधिमा न प्रचारप्रसार गर्न पाइन्छ नत घरदैलो नै । तर, यो ‘प्राइम टाइम’ मा पनि नेताहरु सुस्त छन्, अहिलेसम्म उनीहरुले बृहत आमसभा त परै जाओस्, मतदातालाई मत दिनु है भनेर एउटा समान्य गल्ली र कोठे सभा पनि गरेका छैनन् । आफ्नै निर्वाचन क्षेत्रमा व्यस्त शीर्ष नेताहरू अहिले आफ्नै निर्वाचन क्षेत्रमा सीमित भएका छन् । चुनावी मैदानमा उनीहरूको ध्यान राष्ट्रिय प्रचारभन्दा व्यक्तिगत जितमा केन्द्रित देखिन्छ । राजनीति जस्तो सामूहिक अभ्यासमा व्यक्तिकेन्द्रित राजनीतिक रणनीति हाबी हुँदै गएको संकेत यसले दिन्छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओली अहिले झापा-५ मा मात्र सक्रिय छन् । ६ पटक सोही क्षेत्रबाट निर्वाचित भइसकेका उनी राजनीतिक जीवनको पहिलो पटक संघर्षपूर्ण घरदैलो अभियानमा देखिएका छन् । एमालेका एक नेताका अनुसार ओलीले संसदीय चुनावमा घरघरमा पुगेर मत मागेको यो पहिलो पटक हो । विगतमा उनी आफ्नो क्षेत्रमा सहज जितको विश्वासमा अन्य जिल्लामा प्रचार गर्न जान्थे । अहिले त्यो सहजता गुमेको छ । उनी आफ्नै जितको खोजीमा छन् । उनी मतदाताका अनेकन प्रहार सहेर सुस्त रुपमा चुनावी परिणाम आफ्नो पोल्टामा पार्ने संघर्ष गरिरहेका छन् । त्यति गर्दा पनि उनले झापा–५मा चुनौती महसुस गरिरहेका छन् । विगतका चुनावहरुमा काठमाडौंमै बसेर राष्ट्रिय चुनावी समन्वय गर्ने र आफ्नो निर्वाचन क्षेत्रमा केवल औपचारिक उपस्थिति जनाउने ओली यसपटक खल्तिमा ओखती बोकेर चुनावी प्रचार प्रसारमा छन् । जेन–जी आन्दोलनपछि सत्ता गुमाएका उनी एमालेका लागि भावी प्रधानमन्त्रीको अनुहार भए पनि मनोनयनयता देश दौडाहा छाडेर आफ्नै क्षेत्रमा सीमित हुनुपर्ने बाध्यतामा छन् । घरदैलोमा व्यस्त केपी शर्मा ओली । उनी मनोनयन दर्तापछि तीन पटक झापा पुगेर आधा महिना उतै काटिसके । घरदैलो अभियानमा उनले मतदाताका तीखा प्रश्नको सामना गरिरहेका छन् । तर, पनि मौन हुँदै मत मागिरहेका छन् । ओलीका प्रचारप्रसार संयोजक देवेन्द्र दाहालका अनुसार अबको चुनाव मुद्दामुखी र मतदातामुखी हुनुपर्छ । यसले गर्दा शीर्ष नेताहरू आफ्नै क्षेत्रमा केन्द्रित हुनु स्वाभाविक हो । आवश्यकता अनुसार प्रदेशस्तरका सभा र लक्षित आमसभा गर्ने योजना भएपनि प्राथमिकता घरदैलो र प्रत्यक्ष संवादलाई नै दिइएको दाहालको भनाइ छ । नेकपा एमालेका कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार नारा र भीडभन्दा प्रत्यक्ष भेटघाट, घरदैलो, साना अन्तक्र्रिया र स्थानीय मुद्दामा स्पष्ट योजना अहिलेका मतदाताले खोजिरहेका छन् । सामाजिक सञ्जाल र डिजिटल प्रचारले ठूला भौतिक सभाको आवश्यकता केही हदसम्म घटाएको अनुभवका आधारमा यो राणनीति अपनाइएको उनको भनाइ छ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डलाई पनि कम्ता सास्ती छैन । पूर्वी रुकुममा खसीको कलेजो खाँदै र खल्तीमा भुटेको भटमास हालेर दिनरात उकाली ओराली गरिरहेका छन् प्रचण्ड । २०७९ को निर्वाचनमा गोरखा–२ बाट चुनाव लडेर जित हासिल गरेका उनी यस पटक पूर्वी रुकुममा पुगे । त्यसलाई उनी आफ्नो बहादुरी सम्झिन्छन् । उनले मतदाता र आलोचकहरुलाई भन्ने गरेका छन्, ‘देशका हरेक क्षेत्रबाट चुनाव लडेर जित्न सक्ने व्यक्ति म मात्रै हो ।’ स्थानीय मतदातासँग पुष्प कमल दाहाल ‘प्रचण्ड’ । संयोजक प्रचण्ड पनि अहिले आफ्नै जितमात्रै खोजिरहेका छन् । त्यसका लागि उनी माओवादी आधारभूमि पूर्वी रुकुम पुगे । त्यहाँ पनि उनी चुनौती महसुस गर्दै दिनरात प्रचारप्रसारमा लागि रहेका छन् । उनले पनि देशव्यापीरुपमा विगतको जस्तो आमसभा गरेर सम्बोधन गर्ने अभ्यास रोके । तीन पटक प्रधानमन्त्री बनिसकेका प्रचण्डले फागुन २१ लाई चुनौतीपूर्ण चुनावका रुपमा लिएका छन् । सोही क्षेत्रमा प्रगतिशील लोकतान्त्रिक पार्टीले सहिद पुत्र सन्दिप पुनलाई उम्मेदवार बनाएको छ । २०६४ सालमा भएको संविधान सभा निर्वाचनमा पहिलो पटक भाग लिँदै उनी काठमाडौं-१० र रोल्पा-२ बाट उम्मेदवार बनेर विजयी भएका थिए । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा उनी काठमाडौं-१० र सिराहा-३ बाट उम्मेदवार बनेका थिए । त्यतिबेला उनी काठमाडौं–१० मा पराजित भए भने सिराहा-३ बाट झिनो मतले विजयी बने । २०७४ सालको निर्वाचनमा उनी गृह जिल्ला चितवन-३ बाट निर्वाचित भएका भए । २०७० सालको निर्वाचनपछि सत्ताका लागि कहिले कांग्रेस र कहिले एमालेसँग गठबन्धन गरेर संसदमा पुगे उनी । अहिले कुनै पनि पार्टीले गठबन्धन गरेका छैनन् । त्यसको चुनौती महसुस गर्दै उनी पूर्वी रुकुम पुगेका हुन् । त्यसैले पनि उनी अहिले पार्टीका अन्य उम्मेदवारको निर्वाचन वा जनसभामा सहभागी छैनन् । उनको दैनिकी पूर्वी रुकुममै बितिरहेको छ । नेपाली कम्युनिष्ट पार्टीले पनि अनावश्यक तामझाम घटाएर परिणाममुखी प्रचारमा ध्यान दिएको बताएको छ । पार्टीका कार्यालय सचिव गणेशमान पुन भन्छन्, ‘साना कार्यक्रम प्रभावकारी छन् । खर्च पनि कम हुन्छ, त्यसैले विगतको दोहोर्याएनौं ।’ सोही पार्टीका सहसंयोजक माधव कुमार नेपाल पनि अहिले ठूलो चुनौतीमा छन् । उनी पनि दिनरात लागेर रौतहट-१ का मतदातालाई रिझाइरहेका छन् । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पनि सर्लाही-४ बाहिर खासै सक्रिय देखिएका छैनन् । आन्तरिक संघर्षपछि नेतृत्वमा पुगेका थापाबाट देशव्यापी अभियानको अपेक्षा गरिएको थियो । इतिहासमै पहिलो पटक युवा नेतृत्व पाएको कांग्रेसले गगनको नेतृत्वमा देशव्यापी माहोल सिर्जना गरेर चुनावमा अनपेक्षित जित हासिल गर्छ भन्ने अनुमान धेरैको थियो । तर, गगन पनि आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित भए । २०७० सालदेखि काठमाडौं-४ बाट निरन्तर निर्वाचित हुँदै आएका थापाले यसपटक वारेसानामार्फत सर्लाही ४ मा उम्मेदवारी दर्ता गराएपछि मुलुककै राजनीतिक वृत्तमा यो क्षेत्र चर्चाको केन्द्रमा रह्यो । जुन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंह पनि उम्मेदवार बनेका छन् । कांग्रेसको गढ मानिएको सो क्षेत्रमा थापाको प्रवेशले नयाँ राजनीतिक माहोल सिर्जना गरेको छ । सर्लाही-४ मा घरदैलो गर्दै गगन कुमार थापा । गगनले अघिल्लो साता मधेशमै प्रतिज्ञा सभा आयोजना गरे । त्यसपछि अन्य प्रदेश र ठाउँमा आमसभा गर्नेबारे कांग्रेसले अहिलेसम्म योजना सार्वजनिक गरेको छैन । सभापति थापा पनि आफ्नो क्षेत्रबाहेकमा देखिएका छैनन् । नेपाली कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार बनेका उनलाई पनि आफ्नो जित नै महत्वपूर्ण विषय रहेको महसुस गरेका छन् । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसे भन्छन्, ‘ठूल्ठूला आमसभा गर्नु हाम्रो परम्परा हो । तर, अहिले हामी मतदातासँग प्रत्यक्ष सम्पर्कमा जोड दिइरहेका छौं, केन्द्रीय स्तरका केही रणनीतिक सभा हुनेछन् तर अधिकांश कार्यक्रम निर्वाचन क्षेत्र केन्द्रित नै रहनेछन् ।’ उनले थपे, ‘हामी जनतामाझ पुग्ने अभियानमा छौं । आवश्यकता अनुसार आमसभा गर्ने योजना छ तर, अनावश्यक तामझामभन्दा परिणाममुखी प्रचारमा ध्यान छ ।’ प्रचारप्रसारको ट्रेण्ड परिवर्तन शीर्ष दलहरुका नेताहरु आफ्नै निर्वाचन क्षेत्रमा चुनौती महसुस गरिरहेको बुझ्न सकिन्छ । जनमत अब पहिले जस्तो स्थिर देखिँदैन । त्यसले पनि ठूला राजनीतिक दल र नेताहरुले प्रचारप्रसारको ट्रेण्ड फेरेका छन् । पार्टी र शीर्ष नेताहरुले चुनावी आमसभा तथा भाषणवाजी नगर्नुमा केही कारण देख्छन् राजनीतिक विश्लेषक पर्शुराम घिमिरे । उनका अनुसार निर्वाचन प्रणाली प्रत्यक्ष प्रतिस्पर्धामुखी भएकाले प्रत्येक नेताका लागि आफ्नै क्षेत्रमा मत सुरक्षित गर्नु सबैभन्दा ठूलो प्राथमिकता हो । खर्च र स्रोत व्यवस्थापनको दबाबले पनि हेलिकप्टर चार्टर गरेर ठूला मञ्च र आमसभामा पुग्नु नेताहरुका लागि महँगो पर्ने घिमिरेको बुझाइ छ । घिमिरेका अनुसार बदलिँदो मतदाता मनोविज्ञानले चुनावी रणनीतिमा ठूलो प्रभाव पारेको छ । विगतमा भीडको आकारले लोकप्रियता मापन गरिन्थ्यो । अहिले भने दलहरुले मतदातासँग प्रत्यक्ष संवाद, स्थानीय मुद्दामा स्पष्ट योजना र उम्मेदवारको पहुँचलाई प्राथमिकता दिन थालेका छन् । त्यसैले दलहरूले घरदैलो, टोलस्तरका अन्तक्र्रिया र साना छलफल कार्यक्रमलाई प्राथमिकतामा राखिरहेका छन् । दलहरूले पनि यही परिवर्तन स्वीकार गरेको बताएका छन् । एमालेका एक उपाध्यक्ष तथा गुल्मी २ का उम्मेदवार गोकर्ण विष्ट भन्छन्, ‘अबको चुनाव मतदातामुखी हुनुपर्छ । शक्ति प्रदर्शनभन्दा विश्वास जित्नु महत्पूर्ण छ ।’ उनी आफै पनि पहिलेदेखि नै सम्वाद र अन्क्र्रियामा लागेका उम्मेदवार हुन् । नेपाली कांग्रेसको काठमाडौं-१ का उम्मेदवार प्रवल थापाले पनि ठूला सभाभन्दा लक्षित अन्तक्र्रियालाई जोड दिएको जानकारी दिए । थापाले भने, ‘जनताले भाषणभन्दा कामको योजना खोजेका छन् । त्यसैले हामी घरदैलो र प्रत्यक्ष संवादमा केन्द्रित छौं ।’ विश्लेषक घिमिरेका अनुसार सामाजिक सञ्जालको बढ्दो प्रभाव, खर्च व्यवस्थापनको दबाब र कडा प्रतिस्पर्धाले दलहरूलाई आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित हुन बाध्य बनाएको छ । यस पटकको चुनावमा भीडको आकारभन्दा संवादको गुणस्तर निर्णायक बन्ने संकेत देखिएको घिमिरेको बुझाइ छ । उनी भन्छन्, ‘राजनीतिक दलहरू शक्ति प्रदर्शनभन्दा विश्वास निर्माणको रणनीतिमा अघि बढिरहेका छन् ।’ यो परिवर्तनको कारण निर्वाचन आयोग पनि भएको धेरैको बुझाइ छ । निर्वाचन आयोगले चुनावी खर्च, प्रचार शैली र स्रोतको प्रयोगमा कडाइ गरेको छ। हेलिकोप्टर प्रयोग अत्यन्त खर्चिलो हुने भएकाले त्यसको निगरानी कडा भएको छ । रास्वपाले जनकपुरमा आयोजना गरेको परिवर्तन उद्घोष सभामा रवि र बालेन । परिवर्तनको लहर, विकल्पको त्रास नेपाली राजनीतिमा नयाँ शक्तिको उदयले पुराना दललाई रक्षात्मक बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले मधेश, सुदूरपश्चिम र कर्णालीमा बृहत सभा आयोजना गर्दै आक्रामक अभियान चलाइरहेको छ । पार्टीका सभापति रवि लामिछाने वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) विभिन्न प्रदेशमा पुगेर परिवर्तनको सन्देश बोलिरहेका छन् । उनीहरूको अभियानले युवा र असन्तुष्ट मतदातालाई आकर्षित गरिरहेको देखिन्छ । पुराना दलका शीर्ष नेताहरू आफ्नो निर्वाचन क्षेत्रमा सीमित हुनु रवि र बालेन पनि हुन् । सामाजिक सञ्जालमा देखिएको प्रभावले शीर्ष नेताहरुका लागि राष्ट्रिय माहोल बनाउनेभन्दा व्यक्तिगत जित सुरक्षित गर्ने प्राथमिकता देखिन्छ । नेपालको मतदाता संरचनामा जेनजी पुस्ताको प्रभाव उल्लेखनीय रूपमा बढेको छ । सामाजिक सञ्जालमा सक्रिय यो पुस्ता परम्परागत भाषण र नाराबाट प्रभावित हुँदैन भन्ने विषय शीर्ष नेताहरुले बुझिसकेका छन् । उनीहरू जेनजीहरु तथ्य, पारदर्शिता र जवाफदेहिता खोज्छन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले राजनीतिमा प्रश्न गर्ने संस्कृतिलाई बल दिएको छ । नेताहरू अब केवल आमसभामा ठूलो भीड जम्मा गरेर सन्तुष्ट हुन सक्दैनन् । सामाजिक सञ्जालमा उठ्ने प्रश्न, आलोचना र ट्रेन्डहरूले चुनावी समीकरण प्रभावित पार्न सक्छ । यही कारण नेताहरूले आफ्नो निर्वाचन क्षेत्रमा प्रत्यक्ष सम्पर्कलाई प्राथमिकता दिन थालेको अधिकांशको बुझाइ छ । यो नेपाली राजनीतिको ‘कोर्ष करेक्सन’का रुपमा पनि धेरैले बुझेका छन् । नेपालको चुनावी राजनीति अहिले संक्रमणकालीन अवस्थामा छ । हेलिकोप्टरमार्फत देश दौडाहा गर्ने नेताहरू घरदैलोमा सीमित भएका छन् । विशाल आमसभाको ठाउँमा व्यक्तिगत भेटघाटले प्राथमिकता पाएको छ । पुराना दल रक्षात्मक छन्, नयाँ दल आक्रामक छन् भने जेनजी पुस्ता निर्णायक भूमिकामा उभिएको छ । विश्लेषकहरु यसलाई राजनीतिक संस्कृतिको पुनर्संरचनाका रुपमा बुझ्छन् । नेताहरूको चुनौती अब केवल चुनाव जित्ने मात्र होइन, बदलिँदो मतदाता मनोविज्ञान बुझ्ने र विश्वास पुनर्स्थापित गर्ने पनि हो ।