सन्तोष रोकाया

सेयर बजारमा पनि खुकुलो नीतिको तयारी, गभर्नरलाई कन्भिन्स गराइँदै

काठमाडौं । सरकारले लामो समयदेखि रोकिएको जग्गा कित्ताकाट मंगलबार खुला गर्यो । भूमि व्यवस्था मन्त्रालयले प्रस्ताव गरेको भू–उपयोग नियमावली पहिलो संशोधन प्रस्ताव क्याबिनेटबाट स्वीकृत भएसँगै अब जग्गाको कित्ताकाट खुल्ने भएको हो । भू–उपयोग नियमावली नबनेका कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा समेत रोकिएको थियो । अब सहजै जग्गाको कित्ताकाट गर्न पाइनेछ । घरजग्गा व्यवसायीले लामो समयदेखि यो माग राख्दै आएका थिए । अन्तः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले जग्गाको कित्ताकाट खोल्ने निर्णय गरेको हो । गत साता पोखराका व्यवसायीहरुसँगको भेटमा प्रचण्डले जग्गा वर्गीकरण सम्बन्धी नियम व्यवहारिक नभएको भन्दै कित्ताकाट खुलाउने विषयमा सरकारले सोचिरहेको बताएका थिए । उनले घरजग्गामा ठूलो रकम फसेको भन्दै यसलाई सहज बनाउन आवश्यक रहेको धारणा राखेका थिए । अर्थमन्त्री डा. प्रकाश शरण महतले समेत गत चैत १७ गते अर्थमन्त्रीका रुपमा पदभार ग्रहण गर्दै घरजग्गा क्षेत्रमा मन्दी आएको र यो क्षेत्रलाई सहज नीति आवश्यक रहेको बताए थिए । उनले घरजग्गामा मन्दी सिर्जना भएकोले यो क्षेत्रको सुधारका लागि आफु लागि पर्ने बताए थिए । प्रधानमन्त्री र अर्थमन्त्रीको ती धारणापछि मंगलबार घरजग्गामा गरिएको कडाइ खुकुलो बनेको छ । सरकारको यो नीतिले घरजग्गा व्यवसायी खुसी भएका छन् भने अर्थतन्त्रलाई नजिकबाट नियालेका र बुझेका अर्थविदहरु चिन्तित बनेका छन् । घरजग्गा व्यवसायीहरु सरकारको निर्णयप्रति सन्तुष्ट छन् । नेपाल जग्गा तथा आवास विकास महासंघको अध्यक्ष भेषराज लोहनी सरकारको यो निर्णय सकारात्मक र व्यवहारिक भएको धारणा राख्छन् । ‘घरजग्गा कारोबारको कित्ताकाट उद्धेश्य सही भएपनि व्यवहारिक रुपमा कार्यान्वयन हुन सक्ने थिएन, अब घरजग्गा कारोबार सहज हुन्छ, अर्थतन्त्र खुकुलो बन्छ,’ उनले भने । उनका अनुसार घरजग्गा क्षेत्रलाई सबैले अनुत्पादक भनेपनि सबैलाई घरजग्गा नै चाहिएको छ । ‘घरजग्गा क्षेत्रलाई सिस्टमेटिक बनाउन आवश्यक छ, रोक्का गरेर गलत गरिएको थियो, सबैलाई घडेरी चाहिएको छ तर, गाली यह क्षेत्रलाई गरिन्छ, सिस्टमलाई व्यवस्थित गर्न सकियो भने सरकारलाई राजश्व पनि आउँछ, अर्थतन्त्र पनि सहज हुँदै जान्छ,’ उनले भने । सरकारको यो निर्णयले घरजग्गा व्यवसायी खुसी भएपनि अर्थविदहरु भने सन्तुष्ट छैनन् । यसअघि विकासन्युजसँग कुराकानी गर्दै अर्थविद् विश्वास गौचनले अर्थतन्त्र सुधार गर्न घरजग्गामा मन्दी लगाउनु पर्ने धारणा राखेका थिए । उनले सरकारले घरजग्गा क्षेत्रमा खुकुलो नीति अघि सार्यो भने त्यसको प्रभाव नकारात्मक नै हुने बताएका थिए । विकासन्युजसँग कुरा गर्दै उनले भनेका थिए, ‘प्रतिव्यक्ति आम्दानीका आधारमा नेपालको जग्गाको मूल्य हेर्ने हो विश्वमा नै अगाडि रहेको अवस्था छ, जुन कुरा हुन सम्भव नै छैन, त्यसैले पहिलो यसको करेक्सन भनेको जग्गामा मन्दी लाग्नु पर्छ, घरजग्गाको कारोबार शतप्रतिशत रुपमा बैंकिङ कारोबारबाट हुनुपर्छ, जग्गा किन्ने व्यक्तिले स्रोत देखाउनुपर्छ, अहिले अवैधानिक पैसालाई ह्वाइट बनाउने सजिलो उपाय भनेको जग्गाको कारोबार भएको छ ।’ सेयर बजारमा पनि खुकुलो नीतिको तयारी अर्थमन्त्री महतले पदभार ग्रहण गर्दै बोलेको अर्को क्षेत्र हो सेयर बजार । उनले पदभार ग्रहण गर्दा मुख्यतः घरजग्गा, बैंकको ब्याज र सेयर बजारको विषयमा बोलेका थिए । बैंकको ब्याज घटेर ९.९ प्रतिशत कायम भइसकेको छ भने जग्गामा पनि खुकुलो नीति अघि सारिएको छ । अब सेयर बजारको विषयमा वहस भइरहेको बुझिएको छ । अर्थमन्त्री डा. महतले पदभार ग्रहण गर्दै सेयर बजारमा एक किसिमको मन्दी आएको बताउँदै यस विषयमा सरकार सकारात्मक भएको बताएका थिए । उनले केही पुनरावलोकन गर्नु पर्ने नीति भए त्यसका सरकार छलफल गर्न तयार भएको समेत बताएका थिए । त्यसको तीनपछि अर्थात् चैत २० गते उनले सेयर लगानीकर्ताहरुसँग भेटवार्ता समेत गरेका थिए । पुँजीबजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको नेतृत्वको टोलीले सेयर बजार सुधारका लागि आवश्यक अल्पकालीन र दीर्घकालीन सुझाव दिएका थिए । उनीहरुले मार्जिन ऋणमा १२ करोडको सीमा हटाउने र १५० प्रतिशत रहेको जोखिम भार १०० प्रतिशतमा झार्नु पर्ने, चुक्ता सेयर पूँजीको ४० प्रतिशत मात्र सेयर धितोको कर्जा दिन पाउने व्यवस्थालाई हटाएर कुल कर्जा लगानीको १० प्रतिशत धितो कर्जामा दिन पाउने व्यवस्था गर्नुपर्ने माग राखेका थिए । अर्थमन्त्री महत उनीहरुका केही माग पुरा गर्नका लागि नेपाल राष्ट्र बैंकका गभर्नर महप्रसाद अधिकारीसँग निरन्तर छलफलमा रहेको स्रोतको भनाइ छ । गभर्नर अकिारीले मौद्रिक नीतिमार्फत् मार्जिन प्रकृतिको सेयर धितो कर्जामा ४/१२ करोडको सीमा तोकेका थिए । पछि उनले ४ करोडको सीमा हटाएर १२ करोड रुपैयाँ मात्रै कायम गरेका थिए । अहिले लगानीकर्ताहरु सो सीमालाई पनि हटाउनु पर्ने माग गरिरहेका छन् । अर्थमन्त्री महत पनि सो सीमालाई हटाउन गभर्नरलाई कन्भिन्स गरिरहेको स्रोतको भनाइ छ । तर, गभर्नर अधिकारी अहिलेसम्म त्यसमा सकारात्मक नभएको स्रोतको भनाइ छ । गभर्नर अधिकारीले अर्थमन्त्री महत समक्ष आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् यस विषयमा सोच्न सकिने बताइरहेका छन् । तर, अर्थमन्त्रीले मिलेर अगाडि बढ्नु पर्ने भएकोले ‘कुरो’ बुझिदिन आग्रह गरिरहेको बुझिएको छ । पदबहाली गर्दा पनि उनी गभर्नरसँग छुट्टै वार्ता गरेका थिए । तयसपछि पनि उनी पटक–पटक गभर्नरसाग छलफलमा बसिसकेका छन् । अर्थमन्त्रीले प्रत्येक बैठकमा आफुलाई सहयोग गर्न गभर्नरलाई आग्रह गरिरहेका छन् । यसअघि बैंकको ब्याज घटाउन पनि गभर्नर सहमत थिएनन् तर अर्थमन्त्रीको आग्रहमै उनले ‘ग्रिन सिग्नल’ दिएपछि र बैंकहरु पनि घटाउन सहमत भएपछि बैंकको ब्याज घटेको थियो । तर, उनलाई बैंकको ब्याज घट्दा आयात बढ्न सक्ने चिन्ता छ ।

जसले कारागारमै सुने आफैले जन्माएको बैंक विलयको सन्देश

काठमाडौं । स्वागत र बिदाइको क्षण पृथक हुन्छ । स्वागतमा सबैले खुशी मनाउँछन् । बिदाइमा अधिकांशका आँशु बर्सिन्छन् । कतिपय निरास हुन्छन्, विगत सम्झेर भक्कानिन्छन् । बाआमाले छोरीलाई पराइको घरमा पठाउँदाको क्षणहरु तपाईंले नियाल्नु भएको छ नी ? हो, त्यही विवाहलाई एकछिन सम्झनुस् त, कति भावविहल हुन्छ त्यो माहोल । हुन त कतिपय बिदाइहरुले नयाँ सम्भावना र अवसरहरुको पनि सञ्चार गर्छन् । तर, आफ्नो अस्तित्व मेटाउँदाको बिदाइ भने धेरैलाई असहज लाग्छ । पछिल्लो समय बैंकहरुको मर्जरलाई पनि धेरैले विवाहको रुपमा चित्रण गर्छन् । तर, शुक्रबार एकीकृत कारोबार भएको हिमालयन र सिभिल बैंकबीच विवाह होइन, विलय भयो । सिभिल बैंक हिमालयन बैंकमा विलय भयो । ९ महिनाको लामो छलफल र अनेक विषयहरुलाई समाधान गर्दै शुक्रबार दुई बैंकबीच एकीकृत कारोबार भयो । यो एकीकृत कारोबारसँगै अब सिभिल बैंकको नाम नामेट भएको छ । ब्राण्ड सधैंका लागि सकिएको छ । जसले सिभिल बैंकलाई जन्माए, यो बैंकलाई एउटा ब्राण्डका रुपमा स्थापित गर्ने योजना बुने, ती व्यक्ति नै सिभिल बैंकको विलयमा भौतिक रुपमा उपस्थित हुन सकेनन् । अर्थात् सिभिल बैंक हिमालयन बैंकमा विलय भएको सन्देश तिनले सञ्चार माध्यमबाट सुने । २०६० को दशकमा वाणिज्य बैंक स्थापना गर्ने लहर थियो । त्यो लहर सुरु भएको एक दशक नबित्दै राष्ट्र बैंकले मर्जरको अवधारणा अघि सार्यो । दुई दशक नबित्दै मर्जरको लहरको सुरु भइसकेको छ । बैंक स्थापनाको लहरमा बैंक स्थापना गर्ने रहर पलायो व्यवसायी इच्छाराज तामाङलाई पनि । एक प्रतिष्ठित रियलस्टेट व्यवसायी । हाउजिङमा एकपछि अर्को सफलता । त्यही सफलताले इच्छाराजलाई पनि बैंक खोल्ने इच्छा जाग्यो । सुरुमा उनले रियलस्टेटमा मात्रै लगानी गर्ने बैंक स्थापना गर्ने प्रस्ताव लिएर राष्ट्र बैंक पुगे । राष्ट्र बैंकले उनको त्यो प्रस्ताव अस्वीकार गर्यो । पछि अन्य बैंक सरह नै स्थापना हुने भनेपछि राष्ट्र बैंकले वाणिज्य बैंकको लाइसेन्स दियो । त्यसबेला सिभिल समूहलाई नपत्याउने कोही थिएनन् । र, इच्छाराजकै सक्रियतामा वि.सं. २०६७ सालमा स्थापना भयो सिभिल बैंक । इच्छाराजकै अध्यक्षतामा १४८ जना मिलेर कान्छो सिभिल बैंक स्थापना भयो । त्यतिखेर सञ्चालकमा प्रकाश पायल, अम्बिर बोगटी, जुनी गुरुङ, त्रिमीर महर्जन थिए । सीईओ किशोर महर्जन बने । सुरुमा बैंकको पुँजी १ अर्ब ६० करोड रुपैयाँ थियो । हाउजिङ तथा रियलस्टेटमा सफल व्यवसायीका रुपमा परिचित इच्छाराजको प्रवेश बैंकिङ इन्ड्रष्टीमा भएपछि धेरैले उनी बैंकिङमा पनि सफल हुन्छन् भन्ने अनुमान नगरेका होइनन् । तर, नियामक राष्ट्र बैंकसँग ट्युनिङ नमिल्दा उनले सोचे जस्तो बैंक सिभिललाई बनाउन सकेनन् । एकताका सफल उदाहरणीय व्यवसायीका रुपमा प्रोफाइल बनाएका इच्छाराज दिनहुँ खस्किँदै गए । व्यापार व्यवसाय चौपट बन्यो । आफैले खोलेका संस्थाहरु एकपछि अर्कोमा संकट उत्पन्न हुन थाल्यो । सिभिल सहकारीका बचतकर्ताको पनि पैसा फिर्ता गर्न सकेनन् । र, उनी बचतकर्ताको पैसा ठगेको आरोपमा कारागार पलायन हुन विवश भए । अहिले उनी कारागारमा छन् । उनैले ठूलो संघर्ष गरेर स्थापना भएको सिभिल बैंक हिमालयनमा विलय भयो । उनी प्रत्यक्ष रुपमा एकीकृत कारोबार कार्यक्रममा सहभागी हुन सकेनन् । उनले आफैले जन्माएको संस्था सधैंका लागि विलय भएको सन्देश सञ्चार माध्यमबाट सुने । ‘सिभिल बैंक स्थापना गर्दा इच्छाराज तामाङजीले १० वर्षमा टप टेन बैंकका रुपमा चिनाउनु पर्छ भन्नु भएको थियो, हामीले १० वर्षमा टप टेन बैंक बनाउने लक्ष्य पनि राखेको हौं तर टप टेन बैंक बन्न सकेनौं,’ इच्छाराज तामाङले विगतमा भनेका कुराहरुलाई स्मरण गर्दै संस्थापक सञ्चालक अम्बिर बोगटीले भने, ‘लक्ष्य हासिल गर्न क्रम भंग गर्नै पर्दो रहेछ ।’ सिभिल बैंक अब तत्कालीन सिभिल बैंक बनिसकेको छ । तत्कालीन सिभिल बैंकका सञ्चालक बोगटी १० वर्षमा टपटेन बैंक बन्न नसकेपनि १२ वर्षपछि छैठौं बैंकको सेयरधनी बनेकोमा खुशी व्यक्त गर्छन् । ‘हामीलाई विकास बैंकले टप्न थालिसकेका थिए, हामी कान्छो बैंक भएपनि देशको जेठो बैंकसँग जोडिएका छौं,’ बोगटी भन्छन्, ‘यो अस्तित्व नामेट होइन, सिभिल बैंकको त्याग हो ।’ शुक्रबार भएको हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार कार्यक्रममा सिभिल बैंकका सबै सञ्चालकहरु निराश देखिन्थे । कार्यक्रममा सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डे, सञ्चालक अम्बिर बोगटी, प्रकाश पायल र शम्भुप्रसाद पन्त पनि मलिन देखिन्थे । उनीहरुलाई आफ्नो आफैले जन्माएको ब्राण्ड गुमेको पीडा थियो । तर, राष्ट्र बैंकको मर्जर नीति र प्रतिस्पर्धी बैंकसँगको प्रतिस्पर्धाकै लागि भएपनि विलय वाहेकको विकल्प सिभिलसँग थिएन । यो विषयको स्वीकार तत्कालीन सिभिल बैंकका अध्यक्ष पाण्डे पनि गर्छन् । पाण्डे भन्छन्, ‘कुनै पनि डिल गर्दा मेरो हैसियत के हुने भनेर अपनत्व खोज्यो भने त्यो कहिल्यै पनि पुरा हुँदैन, डिल गर्दा आफूलाई अन्तिममा राख्यो भने मात्रै सफल हुन्छ, सिभिल बैंकको व्यवस्थापन र सञ्चालक समितिले कहीँ पनि आफ्नो हिस्सा खोजेको छैन तर पनि हामी सन्तुष्ट छौं, खुशी छौं ।’ सिभिल बैंकको ब्राण्ड बैंकिङ इन्ड्रस्टीबाट गुम्दा नरमाइलो भने पक्कै लाग्छ । त्यो नरमाइलो कारागारभित्रै संस्थापक अध्यक्ष इच्छाराज तामाङलाई पनि नलागेको होइन । एक साताअघि सिभिल बैंकको सञ्चालक समूह तामाङलाई भेट्न कारागार पुगेको थियो । त्यो भेटघाटमा पनि तामाङले सिभिलको ब्राण्ड नै स्मरण गरेका थिए । ‘हामीले संस्थापक अध्यक्ष र बैंकको सक्रिय सेयरधनी भएकोले पनि एक साताअघि इच्छाराजजीलाई भेट्न गएका थियौं, उहाँले प्रतिस्पर्धाका लागि मर्जर आवश्यक भएपनि सिभिल ब्राण्ड पनि जोडिनु पर्ने अर्थात् सिभिल बैंकको नाम पनि हिमालयन बैंकमा जोडिनु पर्छ भन्ने कुरा राख्नु भएको थियो तर त्यो सम्भव भएन,’ तामाङसँग भएको कुरा उद्दृत गर्दै पाण्डेले विकासन्युजसँग भने ।

भारुको मूल्य र माग घटेको राष्ट्र बैंकको निष्कर्ष, नेपाललाई फाइदा कि बेफाइदा ?

काठमाडौं । अहिले एक सय भारतीय रुपैयाँ (भारु) को कति नेपाली रुपैयाँ (नेरु) हुन्छ ? सबैको जवाफ हुन्छ, १ सय ६० रुपैयाँ । हुन पनि हो, नेपाल र भारतबीचको स्थीर विनिमय दर (पेग) नै त्यही हो । तर, अहिले १ सय रुपैयाँ भारुको एक सय ६० रुपैयाँ नेपाली पाइँदैन । अहिले एक सय भारु बराबर एक सय ५५ या १५० रुपैयाँमा खुलेआम कारोबार भइरहको छ । हामीले सधैं भारतीय रुपैयाँ नेपाली रुपैयाँको तुलनामा बलियो हुँदै गएको सुनेका छौं । विनियम दर १६० भएपनि कालोबजारी मार्फत् १६५/१६८ रुपैयाँमा कारोबार भइरहेको सुनेका थियौं तर अहिले भने त्यही कालोबजारी मार्केटमा भारुको मूल्य घटेको खुलेको छ । यो विषयको निष्कर्श राष्ट्र बैंकले पनि निकालेको छ । बजारमा अनौपचारिक रुपमा कारोबार हुँदा एक सय रुपैयाँ भारुको १५० या १५५ रुपैयाँमा कारोबार भइरहेको विषय राष्ट्र बैंकले पनि स्वीकारेको छ । सीमावर्ती बजारमा भारतीय रुपैयाँका अवमुल्यन भएको बुझिएको छ । यसअघि सरकारले आयातमा कडाइ गर्दा अवैध च्यानलमार्फत् वस्तु आयात गर्नकै लागि भारतीय रुपैयाँ महँगोमा खरिद बिक्री भइरहेको थियो । तर, अहिले आयात फुकुवा तथा भारतीय मुद्राको पनि माग कम भएपछि भारुको अवमुल्यन भएको बुझिएको हो । भारतीय रुपैयाँ अनौपचारिक रुपमा कारोबार भइरहेको र मूल्य पनि सस्तिएको भन्ने गुनासोपछि राष्ट्र बैंकले विभिन्न प्रादेशिक कार्यालयहरुलाई अनुगमन गरेर प्रतिवदेन पठाउन निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार विभिन्न प्रादेशिक कार्यालयहरुले अनुगमनसहित प्रतिवदेन तयार पारेर केन्द्रिय कार्यालयमा पठाएका छन् । सो प्रतिवेदनमा भारतीय रुपैयाँको माग कम भएपछि मूूल्य पनि सस्तिएको निष्कर्श छ । नेपाल राष्ट्र बैंक धनगढी सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख विनोदराज लेखकले आफुहरुले अनौपचारिक रुपमा भारुको कारोबार भइरहेको र मूल्य पनि घटेको जानकारी पाएपछि अनुगमन गरेको जानकारी दिए । उनका अनुसार भारतीय रुपैयाँको माग घटेपछि मूल्य पनि घटेको हो । ‘अहिले बजारमा प्रयाप्त मात्रामा भारु पाइन थालेको छ, विभिन्न नाकामा प्रयाप्त रुपमा क्यासिनो खुलेका छन्, प्रतिबन्ध भएपनि ठूलो दरका भारतीय नोट पनि सस्तोमा पाइरहेका छन्, यति धेरै पैसा अनौपचारिक च्यानलमा कहाँबाट आयो भन्ने विषय पनि हामीले अध्ययन गरिरहेका छौं, एउटा अध्ययन प्रतिवदेन केन्द्रिय कार्यालयमा पठाइसकेका छौं,’ उनले विकासन्युजसँग भने । अहिले नेपाली बजारमा १ सय रुपैयाँभन्दा बढीको नोटको कारोबार गर्न मिल्दैन । अर्थात् भारतीय ५ सय र २ हजारका नोट चलन चल्तीमा छैनन् । नेपाल राष्ट्र बैंक सूदुरपश्चिम प्रादेशिक कार्यालयले अध्ययन गरेको प्रतिवदेनको निष्कर्श भारुको मूल्य घटेको र मागमा कमि आएको छ । ‘अहिले एक सयभन्दा माथिका नोट पनि कारोबार हुने गरेको हामीले भेटेका छौं, पहिलेको तुलनामा बैंकबाट भारतीय रुपैयाँ साट्ने तुलनात्मक रुपमा कमै छन्, यसरी सस्तोमा भारु पाइँदा नक्कली नोट पनि बढ्छन् कि भन्ने चिन्ता पनि छ, माग पनि घटेको छ, मूल्य किन घट्यो भन्ने विषयमा भने हामी अध्ययन गर्दैछौं,’ उनले भने । नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेल पनि नोटको सटहीमा कालोबजारी भइरहेको सूचना राष्ट्र बैंकमा आएको बताउँछन् । उनले भारतसँग जोडिएका सीमा नाकाहरूमा भारु नोटको सटही बढेको र मूल्य पनि सस्तो भएको सूचना आएको बताए । ‘राष्ट्र बैंकले पनि यस विषयमा जानकार छ, यसलाई तत्कालै रिभाइज गर्न पनि राष्ट्र बैंकले सक्दैन, यसमा सरकारले नै काम थाल्नु पर्छ, भारु सस्तैमा पाइने सम्भावना पछिसम्म कहाँ हुन्छ, यो क्षणिक हो,’ उनले भने । ‘यो क्षणिक अवसर हो’ भारतीय रुपैयाँ हालसम्म कालोबजारी मार्फत् सस्तोमा पाइएको प्राय कमै छ । नेपालीहरुले भारु साट्नका लागि जहिल्यै प्रिमियम तिर्नु पर्ने हुन्छ । १ सय रुपैयाँ भारु पाउनका लागि नेपालीले अनौपचारिक बजारमा १६५ देखि १७० रुपैयाँसम्म तिर्नु पर्थ्यो तर अहिले त्यो परिपाटी छैन । अहिले विनिमयदरभन्दा पनि मूल्य सस्तो भएको छ । राष्ट्र बैंक स्रोतका अनुसार यो भारतीय रुपैयाँ ‘कलेक्ट’ गर्ने एउटा अवसर हो । ‘भारतीय मुद्रा सस्तोमा पाइनु भनेको नेपालीहरुका लागि अवसर हो, नेपाली बजारमा भारुको बढी माग भएको अवस्थामा राष्ट्र बैंकले डलर खर्च गरेर भारु खरिद गर्नु पर्ने हुन्छ, अहिले भारुको माग कम छ, यतिबेला सस्तो पाएको बेला पैसा उठाउनु नेपालीका लागि अवसर हुन सक्छ,’ स्रोतले भन्यो । राष्ट्र बैंक स्रोत भने भारतीय बैंकहरुमा ब्याजदर कम भएको र नेपाली बैंकहरुमा बढी भएको कारण नेपालको बैैंकमा पैसा राख्नकै लागि पनि कतिपयले सस्तोमै सटही गरेको हुन सक्ने धारणा राख्छ । तर, त्यो अनुसारको निक्षेप भने नेपालीमा बैंकमा भित्रिएको तथ्यांकले देखाउँदैन । अहिले भारतको बैंकहरुमा ६ प्रतिशतको हाराहारीमा ब्याजदर छ तर नेपाली बैंकहरुमा ११ प्रतिशत बढी छ, बढी ब्याज पाइने भएपछि भारी साटेर नेपाली बैंकमा आफन्त वा साथीहरुसँग मिलेर बैंकमा राख्न सक्छन्, अहिलेको सटही दर भने दीर्घकालसम्म रहँदैन, यो क्षणिक हो,’ स्रोतले भन्यो । राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्री पनि अहिलेको अनौपचारिक मार्केटमा भइरहेको सटही दर नेपालका लागि क्षणिक लाभ भएको बताउँछन् । ‘भारतीय नोट सस्तो हुनु भनेको नेपालका लागि फाइदा हो तर त्यो क्षणिक हो, भारतीय पर्यटकका लागि पनि गन्तब्य महँगो पर्न सक्छ, तर पछि आयात बढ्न सक्छ, किनकि हिजो एक सय ६० रुपैयाँ पर्ने सामानको मूल्य १५५ पर्ने भयो, त्यसले आयात बढाउन प्रोत्साहन गर्छ, क्षणिक भएपनि यो खुसी बन्नु पर्ने अवस्था हो,’ क्षेत्रीले भने । उनका अनुसार अनौपचारिक व्यापार बढेकोले भारुको माग पनि घट्दै गएको हो । भारतसँग नेपालको ब्यापार बढी भएकोले पनि पछिल्लो समय महँगी बढ्नु र उपभोग घट्नुले भारुको माग कम भएको हुन सक्ने उनको तर्क छ । नेपालीलाई कुन ठीक ? नेपाली रुपैयाँ र भारतीय रुपैयाँको विनिमय दर परिवर्तन गर्नु पर्छ भन्ने आवाज अहिलेको होइन । बेला–बखत भारतीय रुपैयाँसँगको विनिमयदर परिवर्तन गर्नु पर्ने आवाज उठ्दै आइरहेको छ । नेपाल र भारतबीच स्थिर विनिमय दर (पेग) भएका कारण पनि नेपाली उपभोक्तालाई महँगीको मार परेको पनि बताइन्छ । सन् १९९३ देखि नै नेपाल र भारतबीचको विनियमदर परिवर्तन भएको छैन । भारतीय रुपैयाँ डलरसँग कमजोर हुनेबित्तिकै नेपाली रुपैयाँ पनि स्वतः कमजोर हुने तर्क धेरैको छ । त्यसैले पनि भारतसँगको विनिमय दर परिवर्तन हुनु पर्ने आवाज उठिरहन्छ । तर, भारतीय रुपैयाँसँग नेपाली रुपैयाँलाई कति विनिमय तोक्दा ठीक हुन्छ भन्ने विषय भने खासै कसैले खुलाउँदैनन् । तर, धेरैले अहिलेको भन्दा भारतीय रुपैयाँ सस्तो हुँदा नेपाललाई फाइदा हुने धारणा राख्छन् । नेपाली उद्योगीले एक सय ६० रुपैयाँ पर्ने वस्तु भारतमा निर्यात गर्यो भने त्यसको मूल्य भारतमा एक सय रुपैयाँ पर्न जान्छ । यदि नेपाली रुपैयाँलाई सस्तो बनाएर १७० विनिमय दर तोकियो भने यहाँ उत्पादन भएको वस्तु १७० मा भारतमा निर्यात हुन्छ । र, त्यही समान भारतमा १०० रुपैयाँ पर्छ । त्यो समान भारतीय नागिरकलाई सस्तो पर्न जान्छ । त्यसको माग भारतीय बजारमा बढी हुन्छ । तर, यसले नेपालको व्यापार घाटा बढ्न सक्ने सम्भावना रहने जानकारहरु बताउँछन् । पेग परिवर्तन भए नेपाली मुद्राको अधिमूल्यन हुन सक्ने र भारतीय वस्तुको मूल्य नेपालमा सस्तो पर्ने क्षेत्रीको भनाइ छ । उनले अहिलेको विनिमयदरले नेपाललाई भन्दा बढी फाइदा भारतलाई छ ।

साथीहरू मिलेर बनेको एफवान सफ्ट, फिनटेकमा उत्कृष्ट

काठमाडौं । तपाईं आफ्नो साथी, सहकर्मी वा घरपरिवारलाई पैसा पठाउन आग्रह गर्दै हुनुहुन्छ भने, कसरी पठाउनु भन्नुहुन्छ ? इसेवा, फोनपे वा मोबाइल बैंकिङ ? हो, अधिकांशले लिने नाम यिनै हुन् । व्यावसायिक जगत् वा युवा पुस्ता माझ डिजिटल कारोबारको लागि इसेवा, फोनपे सर्वाधिक प्रयोग हुने डिजिटल एप्लिकेशन हुन् । इसेवा नेपालमा सर्वाधिक डाउनलोड भएको एपमध्ये एक हो । अहिलेसम्म ७० लाख मानिसले इसेवा एप डाउनलोड गरेको कम्पनीले जनाएको छ । मोबाइल र इन्टरनेटबाट कारोबार गर्न सकिने इसेवा अहिले अधिकांशको दैनिकी बनेको छ । घरमै बसेर जोकोहीलाई पनि पैसा पठाउन, घरभित्रै बसेर किनमेल गर्न र घरमै बसेर अनेकौं बिल भुक्तानी गर्न सक्ने सुविधा इसेवाले प्रदान गरिरहेको छ । कसैलाई पैसा पठाउन वा पाउन मान्छेलाई भेट्नै पर्दैन । इसेवाबाट सहजै सकिन्छ । इसेवा, फोनपे लगायत अन्य केही डिजिटल प्लेटफर्महरुको मदर कम्पनी भने एफवान सफ्ट हो । जुन कम्पनीको स्थापना गरेका हुन् विश्वास ढकालले । संस्थापनादेखि नै ढकाललाई साथ दिने अन्य तीन जना संस्थापक सेयरधनी हुन्, सुवास शर्मा, अस्गर अली र सुवास सापकोटा । सुवास सापकोटा चार्टर्ड एकाउन्टेन्ट हुने भने अन्य तीनै जना इञ्जिनियर हुन् । सन् २००४ सालमा स्थापना भएको यो कम्पनीले १८ वर्षको अवधिमा प्रविधिमा धेरै ठूलो फड्को मारेको छ । नेपाललाई प्रविधि सिकाएको छ । ‘हामी कलेजमै हुँदा कम्पनीको स्थापना भएको हो, त्यतिबेला विश्वास ढकालले एक्लै कम्पनी दर्ता गरे, एक आपसमा चिनजानले हामी चारै जना कम्पनीमा जोडियौं, पछि विस्तारै काम गर्न थाल्यौं, बजारले चिन्न थाल्यो, अहिले सबैले प्रविधिको क्षेत्रमा एउटा अग्रणी कम्पनीका रुपमा लिँदा खुसी लाग्छ,’ कम्पनीका सञ्चालक तथा एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुवास शर्मा भन्छन् । एफवान सफ्ट ठूलो महत्वकांक्षा लिएर सुरु भएको कम्पनी होइन । विस्तारै सम्भावनाहरु देखिँदै गए । सुरुमा कम्पनीले बैङ्कको एसएमएस बैंकिङ्गको उत्पादन सुरु ग¥यो र बैङ्कहरुलाई बेच्यो । अधिकांश बैङ्कले त्यो प्रडक्ट प्रयोग गरे । त्यसपछि इसेवा सार्वजनिक भयो । सन् २००९ मा सार्वजनिक भएको इसेवाले अहिले डिजिटल कारोबारको बजार तताइरहेको छ । इसेवाले मोबाइल र इन्टरनेटबाट कारोबार गर्न सकिने सुविधा ल्यायो । विस्तारै टेलिकम कम्पनी, सिनेमा हल, एयरलाइन्स, स्कुल/कलेज, बिजुली तथा पानीको बिल, यातायात कम्पनीलगायतले अनलाइनबाट कारोबार गर्न सकिने व्यवस्था भयो । ‘इसेवाबाट भुक्तानी गर्न सकिने धेरै सेवा भइसकेका छन्, यी विभिन्न सेवा हामीले सुरुवात गरेपछि अन्य कम्पनीहरु पनि आइरहेका छन्, हाम्रै कारणले यो क्षेत्र एउटा उद्योगका रुपमा स्थापित हुँदा खुसी लाग्छ,’ सीईओ शर्मा भन्छन् । अहिले एफवान सफ्टकै वार्षिक आम्दानी करिब ५५ करोड रुपैयाँ हुन्छ । इसेवा, फोनपे लगायत अन्य कम्पनीको कारोबार आ-आफ्नै छ । अहिले एफवान सफ्टका प्रडक्टहरु सबैको घर-घरमा पुगेका छन् । बिजुलीको बिल तिर्ने ६० प्रतिशतले इसेवाबाट भुक्तानी गर्छन् । एफवान सफ्टले बैङ्कहरुलाई चाहिने सफ्टवेयर बनाउँछ । मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र इसेवा मनी ट्रान्सफर पनि यसकै प्रडक्ट हो । विदेशी कम्पनीसँगको प्रतिस्पर्धा प्रविधिको दायरा असीमित छ । तर, मान्छेहरूले यसको दायरा सीमित बनाइदिएका छन् । भनिन्छ नि, ‘प्रविधिले विश्वलाई एउटा एउटा गाउँ बनाएको छ ।’ तर, विडम्बना, स्रोत साधन र नीतिगत व्यवस्थाकै कारण सीमित घेराभित्र रहेर व्यवसाय गर्नु पर्ने बाध्यता नेपालमा छ । अहिले नेपाली कम्पनीहरूलाई विदेशमा लगानी गर्न सक्ने नीतिगत व्यवस्था छैन । तर, विदेशी कम्पनीहरू भने नेपालमा आएर सजिलै व्यवसाय गर्न पाउँछन् । ‘विदेशी इन्टरनेट कम्पनीहरु पनि नेपालमा आउन सक्छन्, हामीले उनीहरुसँग प्रतिस्पर्धा गर्न सक्नु पर्छ, उनीहरुभन्दा सस्तो, भरपर्दो र राम्रै सेवा दिन सक्नु पर्छ, त्यसका लागि हामी तयार भएर बस्नु पर्छ,’ शर्मा भन्छन्, ‘तर, नीतिगत रुपमा नेपालमा प्रतिस्पर्धा गर्ने वातावरण नै छैन ।’ हुन त नेपाली कम्पनीलाई विदेशमा गएर प्रडक्ट बेच्न चुनौती नै छ । ‘सुरुमा त नेपाल भन्ने ब्राण्ड नै राम्रो छैन, नेपाल सफ्टवेयर बेच्ने देश हो र ? भनेर सोध्छन् । किन्नै परेपछि नेपालको सफ्टवेयर किन किन्ने भन्ने प्रश्न गर्छन्, नेपालको सफ्टवेयर किन्ने बनाउन हामीले सस्तोमा बेच्न सक्नुपर्छ, धेरै विषयहरु कन्ट्री इमेजले पनि फरक पार्छ, हामीलाई अहिले नेपालमै बिक्री गर्न चुनौती छ, विदेशमा त झन् कति–कति,’ शर्माले भने । १८ वर्षअघि स्थापना भएको एफवान सफ्ट नेपालको पहिलो फिनटेक कम्पनीमात्र होइन, सबैभन्दा बढी प्रयोगकर्ता भएको र सबैभन्दा ठूलो कारोबार गर्ने कम्पनी हो, जहाँ ३०० इन्जिनियर्ससहित १००० भन्दा बढीले रोजगारी पाएका छन् । क्षमताका हिसाबले एफवान सफ्टमा धेरै अनुभवी र क्षमता भएका व्यक्तिहरु छन् । एफवान सफ्ट समूहका अध्यक्ष ढकाल रेस्ट अफ व¥ल्डले सार्वजनिक गर्ने विश्वका १०० शीर्ष टेक चेन्जमेकर्सहरुको सूचीमा पनि परेका छन् । रेस्ट अफ व¥ल्डले ढकाल नेतृत्वको कम्पनीले निर्माण गरेका १२ वटा सोलुसनमध्ये ९० प्रतिशत बैङ्कहरुले कुनै न कुनै एउटा प्रयोग गर्ने उल्लेख गरेको छ । दक्ष जनशक्तिको अभाव शर्मा पछिल्लो समय नेपाली युवाहरुको विदेश पलायनको ट्रेण्ड देखेर चिन्तित बनेका छन् । स्वदेशमा राम्रो जागिर र त्यसको पनि स्थीरता नदेखेर विदेशिने युवाहरुको ट्रेण्ड देखेर उनी नेपालको भविश्य के होला ? भन्ने विषयमा प्रश्न गर्छन् । ‘नेपालमा बस्न चाहने धेरै कम छन्, राम्रो जागिर र करियर राम्रो बनाउनका लागि विदेशिने क्रम बढ्दो छ, हाम्रोमा पनि दुई/तीन वर्ष काम गरेर विदेश जान्छौं भन्छन्, हामी केही स्थीरताको वातावरण सिर्जना गरिरहेका छौं, नेपालमा कसैलाई बस्ने रहर नै छैन, यो एकदमै ठूलो समस्या हो, हामी गर्न नसक्नेको देश बन्दैछौं, उनी भन्छन्, ‘नेपालमा कम्पनी चलाउने जो कोहीलाई पनि सम्मान गर्नुपर्छ ।’ एफवान सफ्टले ल्याएका सेवाहरु सबै नेपालीले प्रयोग गर्दछन् कुनै न कुनै रुपमा । फोन, पानी, बिजुलीको पैसा तिर्न, रकम ट्रान्सफर गर्न, किनमेलपछि डिजिटल भुक्तानी गर्न वा मोवाइल तथा इन्टरनेट बैकिङ्ग सुविधा लिन । नेपालमा बिजनेस गर्नेहरु माफिया नै हुन् भन्ने भ्रम राजनीति र बुझाइमा छ । जुन गलत छ । ‘राम्रो काम गरिरहेको मान्छे नेपाल छोडेर विदेश जान्छु करिअर बनाउँछु भन्दा नजा भन्न सकिँदैन, उसले गएर स्थीर अर्थतन्त्रमा यहाँको भन्दा राम्रो काम गर्न सक्छ भने नजा कसरी भन्ने ? कि उनीहरुलाई विदेशको सुविधा यतै दिन्छु भन्न सक्नु प¥यो, तर, सकिँदैन’ उनले थपे, ‘यहाँको वातावरणले दिँदैन, हामी निकै कमजोर छौं ।’ हाल एफवान सफ्ट समूहमा १ हजार बढीले रोजगारी पाएको उनी बताउँछन् । त्यसमा करिब ३ सय इञ्जिनियर छन् । ईसेवा भारतको पेटिएमभन्दा दुई वर्ष अगाडि आएपनि भारतमा पेटिएमले जसरी ठूलो बजार लिन नसकेको उनी बताउँछन् । नेपालमा जति नै राम्रो प्रडक्ट बनाए पनि ठूलो मार्केट लिने सम्भावना न्यून रहेको उनी बताउँछन् । इसेवामा ७० लाख ग्राहक आवद्ध रहेको बताउँदै उनी अब नेपालमा बजार विस्तार गर्न समस्या भइरहेको बताउँछन् । एफवान सफ्टले केही नयाँ प्रडक्टहरु ल्याउने तयारी गरिरहेको छ । कम्पनी अझै डिजिटल फाइनान्सियलसँग सम्बन्धित केही सर्भिसहरु ल्याउने योजनामा छ । स्रोत साधनको सीमितताको बाबजुत पनि काम भइरहेको उनी बताउँछन् । ‘हुन त गर्न मिल्ने ठाउँ धेरै छ, हामीले जुन फिल्डमा काम गर्ने सोच बनायौं, त्यो क्षेत्रलाई भाइब्रेन्ट बनायौं, अहिले यो क्षेत्र एक उद्योगकै रुपमा चिनिन थालेको छ, कुल ३७ वटा कम्पनी थपिए । अर्बौं लगानी भएको छ, हजारौंले रोजगारी पाएका छन्, हामीले गर्न सकिन्छ भन्ने बाटो देखायो, यसको विस्तार हुन आवश्यक छ,’ उनले भने । ५ लाख लगानीबाट सुरु भएको एफवान सफ्टले गरेको कामप्रति सञ्चालकहरु सन्तुष्ट छन् । कम्पनी अहिले ५० करोडको हाराहारीमा पुगेको छ । कम्पनीले गर्नुपर्ने धेरै विषय बाँकी रहेको उनको भनाइ छ । इसेवा र फोनपेले पब्लिकमा जाने तयारी पनि गरेका छन् । कोभिड–१९ ले गर्दा केही ढिलाई भए पनि अबको एक वर्षभित्र पब्लिकमा जाने उनले बताए । ‘नेपालमा प्रविधिमा भविश्य छ, जागिरभन्दा पनि सकेसम्म उद्यमी बन्न सक्नुपर्छ, चुनौती मोल्न र दुःख गर्न तयार भयो भने नेपालमा पनि अवसरहरु छन्, नेपालमै समस्या समाधान गर्छु भन्यो भने पनि सम्भावना छन्,’ उनले भने । अहिले एफवान सफ्ट विज्ञ तथा अनुभवीहरुलाई कम्पनीहरुमा भित्र्याएर एग्रेसिभ बिजनेसभन्दा पनि यसको स्थिरतामा ध्यान दिइरहेको उनले बताए । युवाहरुले सुरु गरेर बजारको लिडिङ पोजिसनमा स्थापित यस कम्पनीमा शशिन जोशी, परशुराम कुँवर क्षेत्री जस्ता भेट्रान पूर्व बैङ्कर्सलाई सञ्चालकको भूमिका दिइएको छ । यसको उद्देश्य कम्पनीलाई अझ विश्वासिलो र दीगो बनाउनु रहेको उनी बताउँछन् । (देशविकास पत्रिकाको वर्षअङ्कबाट) सम्बन्धित सामग्री : बुबाको जग गोल्डस्टारलाई ‘विश्व ब्राण्ड’ बनाउन तम्सिएको जोडी विजय राजभण्डारी अर्थात् निर्माण क्षेत्रका पायोनियर म अघिअघि पैसा पछिपछि, ‘दुई वर्षभित्रै उत्कृष्ट करदाता बन्छु’ मोफसलबाट उठेर राष्ट्रिय उद्योगपति ‘सक्रिय व्यवसायिक जीवनबाट विश्राम लिन्छु, वास्तविक किसान बनेर देशलाई आत्मनिर्भर बनाउँछु’ नवीन शर्मा: १२ हजार ऋणबाट नेम इन्स्टिच्युट सुरु, एमबिबिएसको टपरदेखि ट्याक्सी चालकसम्म जसले नेपालमा केबलकार क्रान्ति ल्याए गाडी र जग्गा बेचेर बैंक किनेँ, नेपालीले पनि बैंक चलाउन सक्छन् भन्ने स्थापित गरेँ सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’ अर्बपति सन्यासी, पोल्ट्रीका फादर चम्किँदै चन्द्र, चौतर्फी प्रशंसा हजारबाट सुरु भएको अल्फाबिटा अर्बको पुग्यो, कन्सल्टेन्सीमा यसरी बन्यो सफल

विजय राजभण्डारी अर्थात् निर्माण क्षेत्रका पायोनियर

काठमाडौं । न्यूरोडको एउटा साँघुरो गल्ली । त्यो गल्लीभित्र एउटा सानो कोठा । कोठाभित्र तीन वटा कुर्सी र एउटा टेबल । यो दृश्य विजय राजभण्डारीको मानसपटलमा अझैँ ताजै छ । ३० वर्ष अगाडि यसरी स्थापना भएको सीई कन्स्ट्रक्सनको अहिले काठमाडौंको मुख्य क्षेत्र त्रिपुरेश्वरमै आफ्नै भव्य भवन । मासिक करोडौंको कारोबार । डोरम्यानदेखि चेयरम्यानसम्म आ-आफ्नै काममा व्यस्त । काम गर्न भ्याइनभ्याई । ‘अरु काम भएन भन्छन्, काम लिन बजारमा प्रतिस्पर्धा गरिरहेका हुन्छन्, हाम्रोमा भने यो प्रोजेक्ट तपाईंहरुले नै बनाइदिनु प¥यो भनेर आउने धेरै हुन्छन्’ राजभण्डारी भने । ठिक एक वर्षअघि २०७८ पुसमा विकासन्युजमा प्रकाशित अन्तरवार्तामा उनले भनेका थिए– ‘अरुहरु बैङ्कले कर्जा दिएनन् भन्छन्, हामीलाई बैङ्कले बोलाएर कर्जा लैजानुहोस् भन्छन् ।’ कम्पनीका अध्यक्ष राजभण्डारी भन्छन्, ‘दिनहरु फेरिए, समय फेरियो, कम्पनीमा काम गर्ने कर्मचारीहरु फेरिए तर कर्मचारीहरुको मिहिनेत फेरिएन, सबैले आफ्नै कम्पनी भएको महसुस गर्दै काम गर्नुभयो, हामी झन् सशक्त भएर लागि रह्यौं, सबैको मिहिनेत, लगाव र झुकावले सीई कन्स्ट्रक्सन आज देशकै गर्व गर्न लायक कम्पनीका रुपमा स्थापित छ, मलाई पनि यसमै गर्व छ ।’ ६ जना मिलेर ५०/५० हजार रुपैयाँ गरेर ३ लाख रुपैयाँ जम्मा गरी स्थापना भएको यो कम्पनी अहिले दैनिक करोडौंको कारोबार गर्छ । सबैले पत्याउने मात्रै होइन, सबैले अनुसरण गर्ने काम गरेर निर्माण क्षेत्रमा आफ्नो हिस्सा फैलाउँदै गएको छ । नेपाली निर्माण क्षेत्र, हाउजिङ क्षेत्र र जलविद्युत् क्षेत्रमा एक ‘ट्रेण्ड सेटर’ कम्पनीका रुपमा सीई कन्स्ट्रक्सन परिचित छ । जसको नेतृत्व गरिरहेका छन् उनै विजय राजभण्डारी । काठमाडौंको बसन्तुपरमा वि.सं.२०१६ सालमा जन्मिएका राजभण्डारी पढाई र पेशाले इञ्जिनियर हुन् । प्लसटुमा विज्ञान विषय पढेका उनले भारतको जबलपुर विश्वविद्यालयबाट सिभिल इञ्जिनियरिङ गरे । उनले पुल्चोक इञ्जिनियरिङ कलेजमा लेक्चरका रुपमा पनि काम गरे । पछि अमेरिका गए । त्यहाँ पनि एउटा कम्पनीमा कन्स्ट्रक्सन म्यानेजरका रुपमा काम गरे । निर्माण क्षेत्रका विषयमा धेरै कुरा सिकेपछि उनी नेपाल फर्किए । अनि सन् १९९२ मा खोले सीई कन्स्ट्रक्सन । ‘म त्यतिखेर नेपालमा जस्तोसुकै राम्रो जागिर पाउन सक्थेँ तर आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने मानसिकता ममा थियो, सुरुमा ५ लाख रुपैयाँमा एउटा कामको ठेक्का लियौं, निर्माण सम्पन्न हुँदा ७ लाख रुपैयाँ लाग्यो, काम तोकिएको समयभन्दा अगाडि नै सकायौं तर कम्पनीलाई २ लाख रुपैयाँ घाटा भयो,’ सीई कन्स्ट्रक्सनले सुरुमा गरेको प्रोजेक्टको कामलाई स्मरण गर्दै उनी भन्छन्– ‘तर, हामीले हरेश खाएनौं, काम गर्न सकिन्छ भन्ने आत्मबल थियो, धैर्यतापूर्वक अगाडि बढ्यौं ।’ हुन त त्यतिखेर पनि देशमा हजारौं कन्ट्याक्टर थिए । त्यो भीडमा पृथक काम गर्ने योजनाका साथ ‘डी क्लास’को कम्पनी स्थापना गएर निर्माण क्षेत्रमा प्रवेश गरेका थिए विजयले । जुन प्रोजेक्टमा हात हाल्यो त्यसलाई समयमै सक्ने र गुणस्तरीय बनाउनुपर्छ भन्ने योजनाका साथ उनी लागे । विदेशी प्रविधिलाई भित्र्याएर समयमै काम सम्पन्न गरी क्लाइन्टलाई खुसी बनाउन सके बजार आफै बन्छ भन्ने सोच उनमा थियो । ‘देश विकासको लागि निर्माण क्षेत्रको भूमिका ठूलो हुन्छ, विकास निर्माणको कामले आर्थिक गतिविधि बढ्छ, त्यसले आर्थिक वृद्धिदर बढाउन मद्दत गर्छ, नेपालमा निर्माण क्षेत्रको सम्भावना पनि धेरै छ, त्यसैले पनि मैले निर्माण क्षेत्रलाई रोजेँ, उनले कन्ट्रक्सन क्षेत्र रोज्नुको कारण प्रष्ट्याउँदै भने । उनी निर्माण क्षेत्र विकासको मेरुदण्ड भएको बताउँछन् । ‘निर्माण क्षेत्रले सबै क्षेत्रलाई जोड्छ, हाइड्रोपावरमा कन्ट्याक्टरले समयमा काम नगरेर परियोजना निर्माण ढिलाई हुन्छ, ढिला भयो भने धेरै घाटा हुन्छ, आफैले लगानी गरेको परियोजना छिटो सकिन्छ, समयमै सकेपछि त्यसको सेयर मूल्यमा पनि एक किसिमको आकर्षण हुन्छ, डेभलपर र कन्ट्याक्टर आफै भएपछि धेरै फाइदा हुन्छ, उनी भन्छन्–‘डेभलपर र कन्ट्याक्टर आफै भएकोले पनि हामीलाई काम गर्न धेरै सहज भयो ।’ सीई कन्स्ट्रक्सन एक ‘टेण्डसेटर’ तीन दशक अगाडि नेपालको निर्माण क्षेत्र खासै विश्वास गर्न लायक थिएन, क्षमता र कामको गुणस्तरिताको हिसावले । प्राइभेट क्षेत्रको ठूलो भवन बनाउनु प¥यो भने विदेशी कन्ट्याक्टरले काम पाउँथे । तर, सोही समय निर्माण क्षेत्रमा प्रवेश ग¥यो सीई कन्स्ट्रक्सन । सुरुमा राजभण्डारीले आफ्नै चार तले घरको निर्माण ६ महिनाभित्रै सम्पन्न गरेर देखाइदिए । समयभित्रै गुणस्तरीय निर्माण कार्यका लागि परियोजनाका लगानीकर्ताहरु सीई कन्स्ट्रक्सनलाई नै काम दिन चाहन्छन् । धेरै निर्माण व्यवसायी नयाँ काम पाउनका लागि बजारमा प्रतिस्पर्धा गर्दै गर्दा सीई ग्रुपलाई भने काम भ्याई–नभ्याई छ । बैंकले कर्जा दिएन भनेर अरु व्यवसायी छट्पटाइरहँदा सीई ग्रुपलाई बैंकले बोलाएर कर्जा दिन्छन् । बजारले यसरी पत्याउनु नै उद्यमीको ठूलो उपलब्धि ठान्छन् विजयराज भण्डारी । सीई कन्स्ट्रक्सनले विदेशबाट नयाँ प्रविधि भित्र्यायो । त्यो प्रविधिको विषयमा क्लाइन्टलाई बुझाउन सक्यो । अहिले धेरै निर्माण कम्पनीलाई काम पाउन सकस छ तर सीई कन्स्ट्रक्सनलाई भने काम गर्न भ्याइनभ्याई छ । रोजेर मात्रै काम लिन्छ । ‘नेपाली कन्ट्याक्टरले पनि गुणस्तर काम दिन सक्छ र समयमै सकाउन सक्छ भन्ने सन्देश दिन सफल भयौं, सुरुमा विदेशी प्रविधि ल्यायौं, अन्यले पनि त्यसको सिको गर्दै गए, आज ठूल्ठूला निजी भवन निर्माणमा नेपाली कन्ट्याक्टर मात्रै छन्, यसमा हामी गर्व गर्छौं,’ राजभण्डारी भन्छन् । नेपालका सबैभन्दा ठूला अपार्टमेन्ट सीई कन्स्ट्रक्सनले नै निर्माण गरेको छ । ग्राण्डी टावर, थापाथली हाइट लगायत एक दर्जन ठूला अपार्टमेन्टहरु सीई समूहले बनाएको छ । केही वर्षअघि नेपाली कम्पनीहरुले ठूला हाइड्रोपावर निर्माणको जिम्मा पाउँदैनथे । तर, सीई कन्स्ट्रक्सनले प्रयोग गर्ने प्रविधि, समयमै सक्ने क्षमता र गुणस्तरीय कामकै कारण धेरैले पत्याउन थाले । सीई कन्स्ट्रक्सन नै पहिलो नेपाली कम्पनी हो जसले ८६ मेगावाटको जलविद्युत आयोजना तोकिएका समयभित्रै निर्माण सम्पन्न ग¥यो । त्यो पनि विदेशी कन्ट्याक्टरको संलग्नताविनै । नेपालीले मात्र बनाएको यो नै सबैभन्दा ठूलो जलविद्युत् योजना थियो । ‘सुन्नेलाई शब्द जस्तो मात्रै लाग्छ, त्यसको पछाडि कति ठूलो मिहिनेत छ, कति ठूलो सङ्घर्ष छ, त्यो काम गर्नेलाई मात्रै थाहा हुन्छ, नेपाली निर्माण क्षेत्र, रियलस्टेट र जलविद्युतमा हामी ट्रेण्ड सेटर नै हो,’ अध्यक्ष राजभण्डारीले दावीका साथ भने । हाइड्रोपावरमा ५०० मेगावाट भन्दा बढीका परियोजना नेपालीले नै गर्न सक्छ भनेर अब सीई समूहले काम गरेर देखाउने उनी बताउँछन् । सन् २०३० सम्म १ हजार मेगावाट उत्पादन गर्ने कम्पनीको लक्ष्य रहेको उनी सुनाउँछन् । त्यसका साथै स्याटेलाइट सिटीको अवधारणासँगै विदेशी लगानी बढी ल्याउने कम्पनीका रुपमा आफूलाई स्थापित गर्ने योजना सीई समूहको छ । यस विषयमा अहिले उनले धेरै निकाय तथा व्यक्तिसँग छलफल गरिरहेका छन् । लुम्बिनी र नगरकोट हब बनाउँदै सीई ग्रुपको अर्को पायोनियर प्रोजेक्ट हो लुम्बिनी र नगरकोट हब । यो आफैमा अर्को नयाँ ‘ट्रेण्डसेट’ हो । जुन नेपालका लागि नौलो अभ्यास पनि हो । एउटै ठाउँमा बच्चालाई मनोरञ्जन गर्न सकिने मनोरञ्जन स्थलदेखि स्वीमिङ्ग पुल, रेष्टुराँ, सपिङ कम्प्लेक्स र इभेन्टका लागि मेगा हलहरु लगायतका सेवा सुविधाहरु ती हबभित्र हुनेछन् । पर्यटकहरुलाई चार/पाँच दिनसम्म नेपालमै बस्न सक्ने पूर्वाधार र सेवा सुविधाहरु सीई ग्रुपले निर्माण गर्दैछ । त्यसका लागि कम्पनीले तयारी थालिसकेको छ । ‘अहिले पर्यटकहरु लुम्बिनीमा आउँछन्, एकदिन ध्यान गरेर फर्किहाल्छन्, अब हामी लुम्बिनी हब निर्माण गरेर कम्तिमा चार/पाँच दिन यतै बस्ने सेवा सुविधासहितको हब निर्माण गर्दैछौं, जहाँ पर्यटकले सबै सुविधाहरु एउटै छानाभित्र पाउन्,’ अध्यक्ष राजभण्डारीले योजना सुनाए । जसलाई सीई समूहले पाइलट प्रोजेक्टको रुपमा काम गर्न खाजेको छ, यसमा ५ अर्ब लगानी लाग्ने अनुमान गरिएको छ । जुन ७ बिघा जग्गामा बन्दैछ । अर्को यस्तै प्रोजेक्ट कम्पनीले नगरकोटमा पनि निर्माण गर्दैछ । ‘हामी रणनीतिक साझेदारहरुको सहयोगमा काम गर्दैछौं, जुन क्षेत्रमा जसको विज्ञता छ, तिनीहरुसँग साझेदारी गरेर काम गरिरहेका छौं, यसले हामीलाई सफलता हासिल गर्न सहयोग मिलिरहेको छ ।’ सफता चुम्नेहरुलाई अझ धेरै गर्न मन लाग्छ, जोश पनि हुन्छ विजय राजभण्डारीमा पनि त्यो जोश (प्यासन) छ । ‘मैले आफ्नो पढाइको १० प्रतिशत मात्रै व्यवहारमा उतारेको छु, धेरै काम गर्न अझै बाँकी नै छ’ उनले भने । सीई समूह सातै प्रदेशमा सीई कन्स्ट्रक्सन खोल्ने योजनामा छ । ती सबै प्रदेशलाई कसरी ‘सेल्फ सस्टेन’ गराउने भन्ने योजना राजभण्डारीले बुनिरहेका छन् । अहिले सीई समूहले सम्झौता गरेअनुसार समयमै काम सकेकोले सबैको रोजाइमा आफ्नो कम्पनी परेको उनी बताउँछन् । ‘मास पार्टिसिपेन्ट मोडेल’ र ‘रणनीतिक साझेदार’को मोडेलले काम गर्दा सीई समूह सफल भएको पनि उनको धारणा छ । पब्लिकमा जाने तयारी पछिल्लो समय राम्रो नाफा गरेका कम्पनीहरु सेयर बजारमा सूचीकृत हुने अभ्यास बढ्दो छ । सरकारले पनि वार्षिक ५ अर्बभन्दा बढी कारोबार गर्ने कम्पनीले सेयर बजारमा सूचीकृत हुनु पर्ने नीतिगत व्यवस्था गरेको छ । सीई समूहले पनि पहिलेदेखि नै पब्लिकमा जाने योजना नबनाएको होइन । तर, विभिन्न प्राविधिक कारणले जान नसकेको राजभण्डारी बताउँछन् । आगामी चैतसम्म सिई कन्स्ट्रक्सलाई पब्लिक कम्पनी बनाउने गरी प्रक्रियागत काम थालिएको छ । पहिला कर्मचारीलाई सेयर दिने र त्यसपछि पब्लिकको लागि सेयर निष्काशन गर्ने उनको तयारी छ । ‘कम्पनी स्थापना हुँदा नै सेयरधनी र कर्मचारी दुवै यस कम्पनीकोे मालिक हौं भन्ने अवधारणाका साथ काम ग¥यौं, हामी पनि सुरुवातदेखि नै तलब नै खाएर आयौं, कर्मचारीले आफ्नै कम्पनी ठानेर काम गरिरहनु भएको छ, कर्मचारीलाई पनि सेयर दिनुपर्छ भन्ने हाम्रो योजना छ र काम पनि अगाडि बढेको छ ।’ १० प्रतिशत सेयर कर्मचारीलाई दिने किसिमले तयारी भइरहेको उनले बताए । कम्पनीको १ अर्ब १० करोड पुँजी रहने छ । अध्यक्ष राजभण्डारी भन्छन्, ‘डोरम्यानदेखि चेयरम्यानसम्म यस कम्पनीको मालिक हो, कम्पनीको हिस्सेदार सबै कर्मचारीहरु हुन्, हाम्रो काम गर्ने वातावरण पनि सहज छ ।’ ६३ वर्षीय राजभण्डारीलाई आफ्नो टीमप्रति भरोसा छ । टीम वर्कले नै सीई कन्स्ट्रक्सन सफल भएको उनको भनाइ छ । सक्षम र काम गर्न सक्ने व्यक्तिलाई सधैं स्वागत गर्न सीई तयार रहेको उनको धारणा छ । सफल उद्यमी बन्न के गर्ने ? नयाँ उद्यम गर्न धेरै चाहन्छन् । तर, चाहनाले मात्रै मूर्त रुप कहाँ लिन्छ र ? सफल बन्नका लागि कडा मिहिनेत, कुशल जिम्मेवारी, लगाव, झुकाव चाहिने राजभण्डारीको तर्क छ । ‘हुन त नपढेको मान्छले पनि राम्रै पैसा कमाउँछ, पैसा कमाउनु र सफल बन्नु फरक विषय हो, मान्छे सफल बन्नका लागि एजुकेशन, एक्सपोजर र एक्सपेरियन्स चाहिन्छ,’ उनी भन्छन् । व्यापार छनोट सफल उद्यमी बन्ने पहिलो खुड्किला रहेको उनको धारणा छ । व्यक्तिले बिजनेस सेलेक्सन गर्दा ध्यान दिनुपर्ने उनी बताउँछन् । निर्माण, आवास विकास, जलविद्युत् परियोजना निर्माणको क्षेत्रमा उदाहरणीय पदचिह्न छोड्नै गएको सीई कन्स्ट्रक्सनले पर्यटन क्षेत्रमा पनि ‘टुरिजम हब’को विकास गरी नयाँ ट्रेण्ड सेट गर्दैछ । यसको शुरुवात लुम्बिनी र नगरकोटबाट हुनेछ । पैसा भएर मात्रै बिजनेस हुँदैन, सबैभन्दा महत्वपूर्ण बिजनेस सेलेक्सन हो, जति बढी नाफा हुने बिजनेस हे¥यो, त्यति बढी रिक्स (जोखिम) मोल्न सक्ने क्षमता हुनुपर्छ, क्षमता नहुँदा धेरैको लगानी डुब्छ,’ उनले एउटा उदाहरण दिँदै भने– ‘अहिले रेष्टुरेन्टको मालिकहरु परिवर्तन भइरहन्छन् किनकी उनीहरुसँग बिजनेस गर्ने योजना नै छैन, त्यसका चुनौतीहरु के–के छन् त्यो पनि बुझ्नु पर्छ, जुन बिजनेस पछिसम्म रहिरहन्छ त्यस्तो बिजनेस छनोट गर्नुपर्छ, हामीले निर्माणको क्षेत्र रोज्यौं किनकी यो कहिले पनि अन्त्य हुँदैन ।’ बिजनेसमा चार वटा क्याट्यागोरी हुन्छ । वर्कर, सुपरभाइजर, म्यानेजर र लिडर । एउटा उद्यमीमा यी चारवटै क्याट्यागोरी हुनु पर्ने उनको राय छ । तब मात्रै एउटा उद्यमी सफल हुन्छ जब उ एउटा कामदारदेखि कम्पनीको अध्यक्ष हुनेसम्मको ल्याकत राख्न सक्छ । एउटा उद्यमीले आफ्नो संस्थामा प्रफर्मेन्स, विश्वसनियता, ओनरसिप र जिम्मेवारीको विषयमा थाहा पाउनु पर्ने पनि उनी बताउँछन् । ‘कम्पनी मेरो हो भन्ने महशुस सबैमा हुनुपर्छ, साँच्चिकै उद्यमी बन्ने चाहना छ भने बाटो बदल्नु हुँदैन, एउटा उद्यमीले उद्यमी नै बन्नुपर्छ, अहिलेको भन्दा धेरै राम्रो अवसर पनि आउन सक्छ तर बाटो बदल्नु हुन्न, त्यसले दुर्घटना निम्त्याउँछ, सफलता दिन सक्दैन, बीचमै बाटो मोडेको भए सीई कन्स्ट्रक्सन अहिले एक पायोनियर कम्पनीका रुपमा परिचित हुन्थ्यो र ? उनी प्रश्न गर्छन् । (देशविकास पत्रिकाको  वर्षअङ्क बाट) सम्बन्धित सामग्री : म अघिअघि पैसा पछिपछि, ‘दुई वर्षभित्रै उत्कृष्ट करदाता बन्छु’ मोफसलबाट उठेर राष्ट्रिय उद्योगपति ‘सक्रिय व्यवसायिक जीवनबाट विश्राम लिन्छु, वास्तविक किसान बनेर देशलाई आत्मनिर्भर बनाउँछु’ नवीन शर्मा: १२ हजार ऋणबाट नेम इन्स्टिच्युट सुरु, एमबिबिएसको टपरदेखि ट्याक्सी चालकसम्म जसले नेपालमा केबलकार क्रान्ति ल्याए गाडी र जग्गा बेचेर बैंक किनेँ, नेपालीले पनि बैंक चलाउन सक्छन् भन्ने स्थापित गरेँ सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’ अर्बपति सन्यासी, पोल्ट्रीका फादर चम्किँदै चन्द्र, चौतर्फी प्रशंसा हजारबाट सुरु भएको अल्फाबिटा अर्बको पुग्यो, कन्सल्टेन्सीमा यसरी बन्यो सफल

म अघिअघि पैसा पछिपछि, ‘दुई वर्षभित्रै उत्कृष्ट करदाता बन्छु’

काठमाडौं । मान्छे खुसीमा होस् वा रोदनमा । थकान मेटाउन होस् वा उत्सव मनाउन, प्रयोग प्रायः मदिराको गर्छ । कतिपय मानिस मदिरा पिएर मातिन्छन् त कतिपय बहकिन्छन् । एकअर्काबीच कुरा साटासाट गर्न होस् वा सामाजिक बन्न पनि अधिकांशले मदिरा नै पिउँछन् । पछिल्लो समय त झन् पिउने बानी नभएका तर सामाजिक बन्नकै लागि भए पनि पिउनेहरुलाई ‘सोसियल ड्रिङ्कर’को उपमा दिइएको छ । अहिले मदिराबिनाका भोजभतेर हुँदैनन् । जब कार्यक्रममा ककटेल हुन्छ, त्यो कार्यक्रमको रौनक नै पृथक । कुनै समय थियो, जसले विदेशी ब्राण्डका रक्सी पिउँछ, त्यो समाजमा हुनेखाने अर्थात् ‘हाई स्ट्याण्डर्ड’को मान्छे । तर, अहिले त्यसको परिभाषा बदलिदिएका छन् रवि केसीले । नेपाल मदिरा उत्पादक सङ्घका पूर्वअध्यक्ष तथा यति डिस्टिलरीका अध्यक्ष रहेका केसी छोटै समयमा नेपाली मदिरा उद्योगलाई एक गर्व गर्न लायक क्षेत्रका रुपमा स्थापित गर्न सफल भएका छन् । विदेशी मदिराको दबदबा रहेको नेपाली बजारमा अहिले उनै केसीको कारण विदेशी ब्राण्डका मदिराहरुको बजार सङ्कुचित बन्दै गएको छ, नेपाली उत्पादनले विस्थापित गर्दै लगेको छ । सन् २०१५ मा आफ्नो फ्ल्यागसिप ब्लेन्डहरु वल्र्ड दरबार ह्विस्की र ८८४८ भोड्काका साथ बजारमा प्रवेश गरेको यति डिस्टिलरी अहिले नेपाल मदिरा उद्योगमा एक अग्रणी र सफल कम्पनीका रुपमा स्थापित भएको छ । यति डिस्टिलरीका उत्पादनहरु उपभोक्ताको रोजाइमा परेका छन् भने उपभोक्ताहरुले विदेशी मदिराको सट्टा यति डिस्टिलरीका ब्राण्डहरुको स्वाद मन पराउन थालेका छन् । उत्कृष्ट र गुणस्तरीय उत्पादनकै कारण कतिपय मानिसहरुको दैनिकी बनेका छन् यति डिस्टिलरीका उत्पादन । छोटो समयमा यति डिस्टिलरी कसरी बन्यो अग्रणी मदिरा कम्पनी ? अध्यक्ष केसी भन्छन्, ‘हामीले नाफाभन्दा गुणस्तरीयतामा ध्यान दियौं, उपभोक्ताको रोजाइलाई फोकस गर्यौं, कसैले हाकिम भएपछि आफूभन्दा तलको कर्मचारीको कुरा सुनेर निर्णय लिन्छ तर म आफै फिल्डमा गएर त्यसको वास्तविकता बुझेर निर्णय गर्छु, धेरै मिहिनेतपछि यति डिस्टिलरीका उत्पादनहरु उपभोक्ताकाबीच एक ब्राण्डका रुपमा स्थापित भएका हुन्, अझै धेरै काम गर्न बाँकी छ ।’ कम्पनीमा ५० प्रतिशत सेयर केसीको र ५० प्रतिशत अभिषेक श्रेष्ठको छ । कम्पनीले आधा दर्जन बढी ब्राण्डका मदिरा उत्पादन गर्दै आएको छ । ८८४८ भोड्का, ह्वीस्की, जिन रलो इन्ड ७० अप, वल्ड दरबार, ब्ल्याक चिम्नी, बाह्रसिंगेको सुपर स्ट्रोङ्ग, बाह्रसिंगे प्रिमियम स्ट्रोङ्ग, फाल्कन लगायतका मदिरा तथा वियरहरु यस कम्पनीका चर्चित उत्पादनहरु हुन् । यति डिस्टिलरीको सन् २०२१ मा २१ प्रतिशतले आम्दानी बढेको अध्यक्ष केसी बताउँछन् । कम्पनीले सन् २०२१ मा १३ अर्ब रुपैयाँ बराबरको कारोबार गरेको छ । कम्पनीको दैनिक ९ हजार केस मदिरा उत्पादन गर्ने क्षमता छ भने हाल १२० वटा वितरकबाट मदिरा बिक्री भइरहेको छ । ‘प्रत्येक तह/तप्काका मान्छेले उच्च स्तरीय मदिरा/वियर पिउन् भन्ने मेरो कन्सर्न हो, अब उच्च स्तरीय रक्सी पिउन विदेशबाट ल्याउनु पर्दैन, रक्सीमा विदेशी मु्द्रा खर्च गर्नु पर्दैन, अन्तर्राष्ट्रिय ब्राण्डसँग हामीले प्रतिस्पर्धा गरिरहेका छौं । सबैले मन पराइरहनु भएको छ, मदिरामा नेपाल आत्मनिर्भर हुन सक्छ भनेर म देखाउन चाहन्छु,’ अध्यक्ष केसीले भने । वस्तु उत्पादन गर्दा नाफा हेर्नेभन्दा पनि आफुले सुरुमा काम हेर्ने केसी बताउँछन् । केसी विदेशी लगानी रहेको सूर्य नेपालका उपाध्यक्ष पनि हुन् । सूर्य नेपालको उपाध्यक्षको जिम्मेवारी पूरा गर्दा गर्दै उनले आफ्नो कम्पनीलाई एक उत्कृष्ट मदिरा उत्पादक कम्पनीका रुपमा स्थापित गराए । उनलाई अहिले पनि सूर्य नेपालले उपाध्यक्षको जिम्मेवारी दिइनै रहेको छ । बहु राष्ट्रिय कम्पनीको जागिर गर्दै पारदर्शी रुपमा आफ्नै कम्पनी स्थापित गरेर, अहिले पनि दुबै जिम्मेवारी सम्हालेर उनले व्यवस्थापनमा नयाँ नमूना नै छोडेका छन् । ‘विदेशी कम्पनीमा आबद्ध भएर र आफ्नै व्यापार गरेर पनि एक उत्कृष्ट कम्पनी बनाउने सायद कमै छन्, म हिजो सूर्य नेपालमा जत्ति खटिन्थेँ, आज पनि त्यति नै खटिन्छु, सूर्य नेपालमा सेयर नभए पनि हिजो पनि मालिकको रुपले काम गरेँ, आज पनि सोही ढंगले काम गरिरहेको छु, यो मेरो स्ट्रेन्थ हो,’ केसी भन्छन्, ‘म नाफाभन्दा पहिला गुणस्तर र उपभोक्ताको रोजाइ हेर्ने भएको कारणले पनि हाम्रो उत्पादन सबैले मन पराउनुहुन्छ ।’ रवि आज आफु जुन अवस्थामा छन् त्यसको श्रेय सूर्य नेपाललाई दिन्छन् । ३३ वर्षदेखि सूर्य नेपालमा आवद्ध भएका उनको व्यावसायिक यात्रा पनि सूर्य नेपालबाटै सुरु भएको हो । ५३ वर्षीय केसी भन्छन्, ‘व्यक्ति वा संस्थाले समय अनुसार चल्नु पर्छ, व्यक्तिको ‘च्वाइस’ पहिचान गर्न सक्नु पर्छ, तब मात्रै लक्ष्य भेटाउन सकिन्छ ।’ केसी आफु पनि कहिलेकाहीँ मदिरा पिउने गरेको बताउँछन् । तर, जुन दिनदेखि उनले यति डिस्टिलरीको मदिरा उत्पादन गर्न थाले सो दिनदेखि अन्य कम्पनीको मदिरा नपिएको सुनाउँछन् । ‘म जे जति कार्यक्रममा जान्छु जताततै मेरै कम्पनीको मदिरा देख्छु, कहिलेकाहीँ कुनै कार्यक्रममा नराखेको भए गाडीबाट निकालेर आफ्नै कम्पनीको ह्वीस्की पिउँछु, म मेरै कम्पनीको मदिरामा स्वाद देख्छु,’ उनी भन्छन्, ‘हामीले लामो अध्ययन अनुसन्धान गरेर उत्पादन गर्ने भएकोले पनि बजारले मन पराएको छ ।’ उत्पादनलाई गुणस्तरीय र उपभोक्ताको रोजाइको बनाउन सके त्यसले स्वस्फूर्त रुपमा बजार लिने केसीको धारणा छ । ‘कतिपय मानिसको उद्देश्य जसरी भए पनि पैसा कमाउने हुन्छ, अधिकांशले काम गरेपछि कति पैसा आउँछ भनेर सोच्छन् । तर, मेरो सोच भनेको काम गरेपछि पैसा आइहाल्छ नि भन्ने हो, काम राम्रोसँग गर्ने, त्यसलाई कसरी गुणस्तरीय बनाउने भन्ने मेरो ध्यान हुन्छ, पैसा कमाउने भन्दा पनि मैले उत्पादनलाई कसरी गुणस्तरीय बनाउनेतर्फ मेरो जोड हुन्छ, वस्तुमा कतिको मार्जिन राख्ने भन्दा पनि यसलाई कसरी मिठो बनाउने भन्नतर्फ मैले सोच्छु, मिठो भएपछि बजारमा राम्रो बिकिहाल्छ, तनावै लिनु पर्दैन,’ उनी भन्छन्, त्यसपछि आफू अघि-अघि जाने पैसा पछि-पछि स्वतः आइहाल्छ ।’ ५३ वर्ष पुगे पनि केसीमा जोश जाँगर अझै बढ्दै गएको छ । समाज र देशका लागि केही गरौं भन्ने हुटहुटी उनमा छ । नेपाललाई मदिरामा आत्मनिर्भर बनाउने र मदिराकै लागि विदेशिने डलर रोक्नु पर्ने उनको ध्येय छ । ‘म कहिल्यै थाक्दिनँ, मैले व्यक्तिगत नाफा कहिल्यै सोचिनँ, मैले मेरो व्यवसाय र कामलाई नै महत्व दिन्छु, जसले देशलाई लाभ होस्, उनी भन्छन्, ‘म आर्यघाट नपुग्दासम्म यतिकै हुन्छु, यो व्यवसायबाट कहिल्यै रिटायर्ड पनि हुँदैन ।’ उनी सबैभन्दा ठूलो स्वास्थ्य भनेको सोच र सन्तुष्टि भएको धारणा राख्छन् । ‘रक्सी खाएर तनाव लियो भने तनाव हुन्छ, रक्सी खाएर खुसी भयो भने त्यसले खुसी दिन्छ, संसारमा सबैभन्दा ठूलो निरोग भनेकै सन्तुष्टि हो, औषधि पनि त बढी खायो भने पोइजन बनिदिन सक्छ,’ उनी थप्छन्, ‘सीमित खानुस्, सब राम्रो हुन्छ ।’ दुई वर्षभित्रै उत्कृष्ट करदाता रवि केसीलाई यस वर्ष आन्तरिक राजश्व विभागले व्यक्तिगततर्फ उत्कृष्ट करदाताको रुपमा आफ्नो नाम सार्वजनिक गर्ने अपेक्षा थियो । तर, त्यो अपेक्षा अपेक्षामै सीमित बन्यो । उनी अलिकति चुके । विभागले उनलाई होइन विजयकुमार शाहलाई उच्च करदाताको रुपमा सम्मानित ग¥यो । केसी आफु पनि नेपालमा सबैभन्दा बढी तलब खाने व्यक्तिको सूचीमा रहेको दाबी गर्छन् । तर, उनले कति तलब खान्छन्, त्यो भने खुलाएनन् । ‘यस पटक व्यक्तिगत तर्फको करमा उत्कृष्ट करदाताका रुपमा आउँछु की भन्ने आशा थियो तर आइनँ, म पनि नेपालमा उच्च तलब खानेहरुमध्ये पर्छु,’ उनी भन्छन्, अब हेरौं अर्को वर्ष के हुन्छ ।’ अहिले पनि मदिरा उद्योगमा यति डिस्टिलरी भने नम्बर वान करदाता भएको उनी दावी गर्छन् । ‘छोटै समयमा यो किसिमको बजार पाएका छौं, अब छिट्टै उत्कृष्ट करदाताका रुपमा सबैले हेर्न सक्नुहुन्छ, डेढ/दुई वर्षभित्रै उत्कृष्ट करदाताका रुपमा यति डिस्टिलरीको नाम आउँछ, विदेशबाट आउने महँगा रक्सीहरुलाई नेपालमा ठप्प पार्न चाहन्छु, रक्सीमा जुन किसिमको पैसा विदेश जान्थ्यो त्यो रोक्न पाएकोमा गर्व लाग्छ’, उनी गर्वका साथ भन्छन्, ‘विदेशी रक्सी नेपाल आउन रोक्ने कम्पनी यति डिस्टिलरी हो ।’ यति डिस्टिलरीमा भएको युवा जनशक्तिकै कारण कम्पनीले छोटै समयमा एक किसिमको सफलता प्राप्त गरेको उनी बताउँछन् । आज पनि वल्र्ड दरबारको सेल्सम्यान छु, भोलि पनि हुनेछु, यो पद भन्ने विषय गौण हो, अध्यक्ष/उपाध्यक्ष भनेको औपचारिकता मात्रै हो । मेरो काम भनेको वस्तु बिक्री गर्ने नै हो,’ उनी भन्छन्, ‘सूर्य नेपालमा मेरो सेयर छैन तर म त्यहाँको मालिक हो, कर्मचारीले पनि मालिक भएको महसुस गरेर काम ग¥यो भने कम्पनीले लिएको लक्ष्य भेटाउन सजिलो हुन्छ ।’ यति डिस्टिलरीका उत्पादन नेपालमा मात्रै परिचित छैनन् । यसका उत्पादनले विश्व बजार पनि हल्लाइरहेका छन् । गत वैशाखमा यतिका दुई उत्पादनले मदिराको विश्व प्रतिस्पर्धामा अन्तर्राष्ट्रिय पुरस्कार जित्यो । यतिका उत्पादन ८८४८ भोड्का र वल्ड दरबार ब्ल्याक चिम्नी ह्वीस्कीले अमेरिकाको सान फ्रान्सिस्को वल्र्ड स्पिरिट कम्पिटिसन (एसएफडब्लुएससी) २०२२ मा गोल्ड र डबल गोल्ड पुरस्कार जितेको थियो । यो प्रतिस्पर्धा संसारभरका पाँच हजार मदिरा ब्रान्डबीच भएको थियो । यसले पनि यतिका उत्पादनहरु कति गुणस्तरीय छन् भन्ने विषय प्रष्ट्याउँछ । सरकारको नीति सकस अर्बौंको लगानी रहेको मदिरा उद्योगलाई सरकारले सौतेनी व्यवहार गरेको केसीको गुनासो छ । मदिरा उद्योगलाई हेर्ने समाज र सरकारको दृष्टिकोणमा खोट भएको उनको धारणा छ । सरकारले राजस्व खोज्ने तर यसलाई व्यवस्थित बनाउन ध्यान नदिने प्रवृत्तिले उद्योगको विस्तार हुन नसकेको उनको भनाइ छ । वर्षेनी बढाउने राजश्वले मदिरा व्यवसायी निरुत्साहित हुँदै गएको उनले बताए । ‘बजेटमार्फत् रक्सी चुरोटमा जति पनि राजस्व बढाए हुन्छ भन्ने सरकारको मानसिकता गलत छ, यसले वास्तविक उद्योगी समस्यामा पर्छन्, अवैध र गुणस्तरहीन मदिराले प्रशय पाउँछ, त्यसले झन् मानिसको स्वास्थ्यमा हानी पु¥याउँछ, उनले भने । सस्तो लोकप्रियताका लागि रक्सीको विरोध ग¥यो भने समाजमा हिरो भइन्छ भन्ने केही मानिसहरुको कारणले यसलाई नकारात्मक वस्तुका रुपमा लिइएको उनको तर्क छ । मदिरा उद्योगलाई हेर्ने समाजको दृष्टिकोण फरक रहेको उनको धारणा छ । पहिले उद्योगी व्यवसायीहरुका कुरा सुनेर बजेट ल्याउने चलन भए पनि अहिले भने त्यो अभ्यास हराउँदै गएको उनको गुनासो छ । ‘पछिल्ला ४/५ वर्षमा एनजीओ र आईएनजीओले भनेका कुरा बढी सुनिन थालेका छन्, वास्तविकताभन्दा पनि सेन्टिमेन्टलमा गएर निर्णय गर्ने परिपाटी बढ्दो छ, बढी कर पनि त्यसकै उपज हो, यस्ता निर्णय खराब वस्तुहरुले बजारमा बढी हिस्सा लिन्छन्, उत्पादन, उपभोक्ता र राजश्व लिने सरकारबीच समन्वय हुन सक्नु पर्छ, तब मात्रै नेपालमा सबै वस्तुहरुको औद्योगिक वातावरण सिर्जना हुन्छ, सबैले रोजगारी पाउँछन्, समग्रमा देशको भविश्य उज्जवल हुन्छ,’ उनले भने । (देशविकास पत्रिकाको  वर्षअङ्क बाट) सम्बन्धित सामग्री : मोफसलबाट उठेर राष्ट्रिय उद्योगपति ‘सक्रिय व्यवसायिक जीवनबाट विश्राम लिन्छु, वास्तविक किसान बनेर देशलाई आत्मनिर्भर बनाउँछु’ नवीन शर्मा: १२ हजार ऋणबाट नेम इन्स्टिच्युट सुरु, एमबिबिएसको टपरदेखि ट्याक्सी चालकसम्म जसले नेपालमा केबलकार क्रान्ति ल्याए गाडी र जग्गा बेचेर बैंक किनेँ, नेपालीले पनि बैंक चलाउन सक्छन् भन्ने स्थापित गरेँ सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’ अर्बपति सन्यासी, पोल्ट्रीका फादर चम्किँदै चन्द्र, चौतर्फी प्रशंसा हजारबाट सुरु भएको अल्फाबिटा अर्बको पुग्यो, कन्सल्टेन्सीमा यसरी बन्यो सफल

‘सक्रिय व्यवसायिक जीवनबाट विश्राम लिन्छु, वास्तविक किसान बनेर देशलाई आत्मनिर्भर बनाउँछु’

काठमाडौं । नेपालमा कृषिको अथाह सम्भावना छ ।’ यो वाक्य नीति–निर्माता, उद्योगी व्यवसायी र बैङ्कहरुको मुखबाट पनि बारम्बार निस्किन्छ । तर, न नीति निर्माताले कृषिमा सहज नीति बनाउँछन् । न उद्योगी व्यवसायी लगानी गर्न चाहन्छन् न त बैङ्करहरुले कृषि क्षेत्रमा कर्जा प्रवाह गर्न नै रुची राख्छन् । सबैको बोली फुटछ् तर कदम चल्दैन । भएका नीति नियम तथा व्यवस्थाहरु पनि प्रभावकारी रुपमा कार्यान्वयन हुँदैनन् । नेपाल राष्ट्र बैङ्कले कृषिलाई प्राथमिकता प्राप्त क्षेत्रका रुपमा तोकेको छ । निश्चित प्रतिशत कर्जा कृषिमा लगानी गर्नै पर्ने व्यवस्था गर्छ । तर, बैङ्कहरु कृषिमा लगानी गर्न कन्जुस्याईं गर्छन् । कृषिका लागि भनेर प्रवाह भएको ऋण पनि व्यवसायीहरुले अन्तै लगानी गर्छन् । कृषि क्षेत्र बोलीमा प्राथमिकता पाउँछ तर कार्यान्वयनमा जहिल्यै पछाडी । देशमा कृषिमा उदाहरणीय काम गरेको भनेर चिन्न सकिने व्यक्ति औंलामा गन्न मिल्ने पनि छैनन् । तर, गोल्यान समूहले भने पछिल्लो समय कृषिमा एग्रेसिभ रुपमा काम गरिरहेको छ । धागो उद्योग, जलविद्ययुत्, बैंकिङ, होटल, रियलस्टेट क्षेत्रमा सक्रिय रुपमा लागेको गोल्यान समूहले अहिले कृषिमा लगानी बढाइरहेको छ । केही आफैले त केही किसानसँग मिलेर यो समूहले ‘माटो’ ब्राण्डमार्फत् आफ्ना कृषि उत्पादनलाई देशभर फैलाउने योजनाका साथ काम गरिरहेको छ । गोल्यान समूहले झापामा २ सय बिघा जग्गा खरिद गरेर काम गरिरहेको छ । त्यहाँका किसानसँग सहकार्य गरी अर्गानिक कृषि वस्तु उत्पादन गरेर देशसँगै विदेशमा पनि निर्यात गर्ने उद्देश्यका साथ काम भइरहेको गोल्यान समूहका अध्यक्ष पवन गोल्यान बताउँछन् । ‘हाइड्रोपावरमा काम सुरु गर्दा पहिले नै लाग्नु पर्ने रहेछ भन्ने महशुस भयो, पर्यटन क्षेत्रमा लाग्दा पनि यसमा त झन् २० वर्ष अघि नै लाग्नु पर्ने रहेछ भन्ने लाग्यो, अहिले कृषिमा सुरु गरेको छु, कृषिमा त झन् धेरै पहिले लाग्नु पर्ने, अहिले ढिला भयो जस्तो लाग्दैछ, पहिले कृषिमा लगानी नगरेर गल्ती गरेको महशुस भएको छ, मेरो करियरको सुरुवात नै यसबाट गरेको भए राम्रो हुन्थ्यो भन्ने लागिरहेको छ, जुन क्षेत्रमा गयो त्यसमा धेरै सम्भावना देखिरहेको छु, अब गोल्यान समूह कृषिमा जम्छ,’ अध्यक्ष गोल्यानले भने । गोल्यान गु्रपले नेपालको सबैभन्दा ठूलो धागो उद्योग रिलायन्स स्पिनिङ मिल्स सञ्चालन गरेर एक किसिमको सफलता पाइसकेको छ । नेपाली व्यवसायिक घरानामा गोल्यान समूह पनि परिचित नाम हो । उत्पादन मुलक उद्योग, बैंकिङ, बीमा, होटल, जलविद्युत्, आवास विकास क्षेत्रमा सफलता चुम्दै आफूलाई एक सफल व्यावसायिक घरानाका रुपमा स्थापित गोल्यान समूहले कृषिमा क्रान्ति ल्याउने लक्ष्यका साथ काम गरिरहेको अध्यक्ष गोल्यान बताउँछन् । लक्ष्यअनुसार गोल्यान समूहले कृषिमा लगानी बढाउँदै लगेको छ । गोल्यान समूहले ३ अर्ब पुँजीको जनता एग्रो एण्ड फोरेष्ट्री पब्लिक कम्पनी दर्ता गरिसकेको उनले बताए, जहाँ गोल्यान समूहको २ अर्ब रुपैयाँ पुँजी हुनेछ भने उत्पादन र बजारीकरणमा साझेदार गर्ने कम्पनीहरुबाट एक अर्ब पुँजी जुटाउने उनको तयारी छ । ‘हामीले पब्लिक कम्पनी दर्ता गर्नुको कारण यसलाई पुँजीबजारमा पनि लैजाने योजना हो, सर्वसाधारणको लागि सेयर निष्काशन गर्ने बेलामा कम्पनीको पुँजी फेरी बढ्छ’ उनले भने । कृषि व्यवसायबाट पनि राम्रो आम्दानी हुन्छ, कृषि कम्पनीले पनि उद्योगले झैं ठूलो व्यवसाय गर्न सक्छ, कृषि कम्पनीले पनि पुँजी बजारमा राम्रो स्थान लिन सक्ने भनेर देखाउने उनको चाहाना छ । अहिले भने कम्पनीले नाफा लिन नसकेको उनले बताए । ‘हामी लगानी थपिरहेका छौं, चालु आर्थिक वर्षमा यसबाट प्रतिफल नआउन सक्छ, दुई/तीन वर्ष कोरोनाका कारण केही नोक्सान भयो, अब आगामी वर्षदेखि बैङ्कको व्याज उठाउन सक्छ, त्यसपछि कम्पनी नाफामा जान्छ,’ उनले भने । ‘जब बिजनेशम्यान भएर नयाँ–नयाँ काम गरिन्छ, त्यो बेलामा जसरी पनि पैसा कमाउने भन्ने नै हुन्छ, बिजनेशम्यानको पहिलो चरण भनेको पैसा कमाउने हो तर म बिजनेशम्यान वा व्यापारी नभएर उद्योगी भएको हुनाले उद्योगमा नै लागेँ, त्यो बेलामा मेरो सपना एउटा ठूलो धागो उद्योग बनाउने थियो, ३० वर्षअघि त्यो काम गरियो, त्यसले मलाई धेरै खुसी दियो, म जुन ठाउँमा हात हाल्छु त्यसमा सफल हुन्छु भन्ने कन्फिडेन्ट छ, अहिले कृषिमा लागेको छु, असल कृषक भएर काम गरिरहेको छु, यसले मलाई आनन्दको अनुभूति दिइरहेको छ,’ उनी भन्छन्, ‘समय अनुसार बिजनेस पनि विविधीकरण गरिरहनु पर्छ ।’ म असल कृषक भएर काम गरिरहेको छु । यसले मलाई आनन्दको अनुभूति दिइरहेको छ । कृषि कम्पनीले पनि ठूलो उद्योगले झैं ठूलो व्यवसाय गर्न सक्छ, उच्च नाफा दिन सक्छ, कृषि कम्पनीले पनि पुँजी बजारमा राम्रो स्थान लिन सक्ने भनेर देखाउने मेरो चाहना छ । विविधीकरण गरिरहनु पर्छ ।’ आधुनिक कृषिमा व्यावसायिक रुपमा अघि बढ्न गोल्यान समूह तयार रहेको उनी बताउँछन् । कृषिमा बिचौलियाको बिगबिगी छ । असली कृषकले सरकारको सहुलियत पाउँदैनन् । बैङ्कबाट ऋण निकाल्ने ल्याकत राख्दैनन् । अब पवन गोल्यान त्यो दूरी हटाउन चाहन्छन् । कृषकलाई सहुलियत कर्जा दिलाउन भूमिका खेल्न चाहन्छन् । उनीहरुले उत्पादन गरेको वस्तु आफैले किनेर बजार खोज्ने प्रयत्न गर्नेछन् । ‘समुन्द्रमा हाम नफाली गहिराई कति छ भनेर थाहा पाँइदैन, सानो पोखरीमा पौडी खेल्न गयो भने पनि च्याम्पियन बनिँदैन, त्यसैले पनि मैले ठूलै लगानीमा ठूलै स्पेसमा कृषि सुरु गरेको छु, मलाई समाजले धेरै दियो, मैले पैसा पनि कमाएँ, अब म समाजलाई दिन चाहन्छु, यो देशलाई दिन चाहन्छु,’ नेपाल बैङ्क तथा वित्तीय संस्था परिसङ्घका अध्यक्ष समेत रहेका उनी भन्छन्, ‘स्थानीय कृषकलाई सिकाउँछु, दक्ष बनाउँछु, म मेरो कम्पनीको हित मात्र हेर्दिन, किसानलाई व्यावसायिक हुन सिकाउँछु, उत्पादनसँग प्याकेजिङ सिकाउँछु, कृषि उपजलाई कसरी हाइजनिक बनाउन सकिन्छ ? कसरी बढी समय टिकाउन सकिन्छ ? सबै सिकाउँछु । कृषि उद्यममा नयाँ ट्रेण्ड सेट गर्दैछु ।’ अब सेयर बजारमा पनि सबैभन्दा बढी सेयर मूल्य कृषिसँग सम्बन्धित कम्पनीहरुको हुने किसिमले आफूले काम गर्न लागेको उनी बताउँछन् । ‘कुनै दिन बैङ्कको सेयरमा आकर्षण थियो, त्यसपछि बीमामा आकर्षण बढ्यो, पछि बीमा लगायत अन्य क्षेत्रको क्रेज आयो, अब कृषिसँग सम्बन्धित कम्पनीहरुको सेयरमा लगानीकर्ताकोआकर्षण हुन्छ,’ उनले भने । उनी अब आफ्नो उत्पादनलाई देशसँग जोड्न चाहन्छन् । अब कृषिमा सरकारको नीति पनि प्रभावकारी हुनु पर्ने उनको भनाइ छ । कृषकले पाउने अनुदानको प्रणाली पनि प्रभावकारी हुनु पर्ने उनी बताउँछन् । यसमा पालिकाहरुलाई अगाडि ल्याउनु पर्ने धारणा उनको छ । ‘कृषिमा फड्को मार्न सङ्घ र प्रदेश सरकारले सक्दैनन्, स्थानीय सरकारले नै सक्छ, सबैभन्दा धेरै जिम्मेवार स्थानीय सरकारलाई बनाउनुपर्छ,’ उनी भन्छन्,’ मैले पनि धेरै स्थानीय सरकारसँग उत्पादनको बजारीकरण, कृषकको तालिम तथा सीप विकासका लागि छलफल गरेको छु ।’ उनका अनुसार अहिले गोल्यान समूहले १४० बिघा जग्गामा केरा, अम्बा, कागती ड्रागन फ्रुट, तुलसी र सुपारी लगायतका फलफूल तथा तरकारी लगाएको छ । यो वर्ष धेरै उत्पादन बिक्री भइसकेको उनी बताउँछन् । ‘हामी नेपालभर बजार बनाउन चाहन्छौं, निर्यात पनि गर्छौं, विदेशमा बस्ने नेपालीहरु पनि हाम्रो लक्षित ग्राहकहरु हुन्, बजारको खासै समस्या हुँदैन ।’ उनले भने । ‘अब कमाउनका लागि पुगिसकेको छ, धेरै कमाउने रहर पनि छैन, एउटा धर्मको हिसावले पनि आफ्नो कर्म दीगो भएन भने त्यो अगाडि जान सक्दैन, म रहुञ्जेलसम्म मात्रै चल्छ, त्यसैले बिजनेश दीगो हुनु पर्छ, त्यसका लागि म लागिरहेको छु, नेपालमा कृषिलाई दीगो व्यवसायको रुपमा लिन सकिन्छ,’ उनी भन्छन् । पब्लिकमा जाने योजना गोल्यान समूहले हरेक कम्पनीलाई सेयर बजारमा सूचीकृत गराउने योजना बनाएको छ । त्यसका लागि तयारी पनि भइरहेको उनको भनाइ छ । कृषि कम्पनीसँगै रिलायन्सलाई पनि सेयर बजारमा सूचीकृत गराउनका लागि प्रक्रिया भइरहेको उनले बताए । त्यसका लागि कम्पनीले आवदेन पनि दिइसकेको छ । रिलायन्सले बुक बिल्डिङ्गमा आईपीओ निष्कासन गर्नेछ । उनले हायात प्यालेस होटलको पनि आईपीओ ल्याउने योजना रहेको सुनाए । वार्षिक ६० हजार टन धागो उत्पादन हुने रिलायन्सको वार्षिक १२ अर्ब रुपैयाँ बराबरको कारोबार हुन्छ । अहिले पनि कम्पनी विस्तार गर्ने काम भइरहेको उनले बताए । रिलायन्सले पाँच हजारलाई रोजगारी दिएको छ । दुव्र्यमा रियल स्टेटको सफल व्यवसाय गरिसकेका गोल्यान विश्वका विभिन्न देशमा धागो निर्यात गर्छन् । गोल्यान समूहले ३ अर्ब पुँजीको जनता एग्रो एण्ड फोरेष्ट्री पब्लिक कम्पनी दर्ता गरिसकेको छ, जहा“ गोल्यान समूहको २ अर्ब रुपैयाँ पुँजी हुनेछ भने उत्पादन र बजारीकरणमा साझेदार गर्ने कम्पनीहरुबाट एक अर्ब पुँजी जुटाउने तयारी छ । उद्योग, बैङ्क, होटल, जलविद्युत्, रियलस्टेटमा झैं कृषि व्यवसायमा पनि सफल हुनेमा पवन गोल्यान विश्वस्त छन् । १६ वर्षको उमेरमै आफ्नै व्यवसायमा होमिएका पवन गोल्यान अब रिटायर्ड हुन चाहन्छन् । अहिले उनको छोरा र भतिजले व्यवसाय सम्हाल्न सुरु गरिसकेका छन् । उनका भतिज दुव्र्यमा रियल इस्टेटको व्यवसाय गर्छन् । छोरा अक्षयले नेपालको व्यवसायमा कार्यकारी भूमिका खेल्न थालेका छन् । ‘अब म सक्रिय बिजनेशमा सहभागी हुँदिन, आफ्नो अनुभव मात्रै सेयर गर्ने हो, अब प्रत्येक युवाहरुलाई मसँग भएको अनुभव ज्ञान र सीप बाँड्न चाहन्छु, अहिले पनि विभिन्न विद्यालय तथा कलेजमा गएर उनीहरुलाई मोटिभेट गरिरहेको छु, गर्न चाहनेलाई लगानी जुटाउन पनि मद्दत गर्छु, मलाई त्यो पैसाको नाफा/व्याज चाहिँदैन, मात्रै दिएको पैसा फिर्ता गरे हुन्छ, अब म समाज सेवा गर्न चाहन्छु, कृषिमै रम्न चाहन्छु,’ उनले भने ।  (देशविकास पत्रिकाको  वर्षअङ्क बाट) सम्बन्धित सामग्री : नवीन शर्मा: १२ हजार ऋणबाट नेम इन्स्टिच्युट सुरु, एमबिबिएसको टपरदेखि ट्याक्सी चालकसम्म जसले नेपालमा केबलकार क्रान्ति ल्याए गाडी र जग्गा बेचेर बैंक किनेँ, नेपालीले पनि बैंक चलाउन सक्छन् भन्ने स्थापित गरेँ सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’ अर्बपति सन्यासी, पोल्ट्रीका फादर चम्किँदै चन्द्र, चौतर्फी प्रशंसा हजारबाट सुरु भएको अल्फाबिटा अर्बको पुग्यो, कन्सल्टेन्सीमा यसरी बन्यो सफल

जसले नेपालमा केबलकार क्रान्ति ल्याए

काठमाडौं । नेपाली पर्यटन व्यवसाय क्षेत्रमा सबैले गर्वका साथ लिने नाम हो लक्ष्मणबाबु श्रेष्ठ । व्यक्ति भौतिक रुपमा रहेपनि वा नरहेपनि, उसले गरेको काम, योगदान र समाजमा छोडेको छाप जीवन्त रहन्छ । जुन कामले ती व्यक्तिहरुको स्मरण जो कोहीले पनि गरिरहन्छन् । हुन त लक्ष्मण बाबु श्रेष्ठको निधन २०७० सालमै भयो । तर, उनको कामले उनलाई जीवन्त तुल्याएको छ । नेपाली पर्यटन व्यवसाय क्षेत्रमा उनले एउटा पदछाप छोडेका छन् । अहिले देशभर केबलकार व्यवसायको लहर छ । ठूूला र चर्चित् व्यवसायीहरुले एकपछि अर्को केबलकार ल्याइरहेका छन् । यो व्यवसायको सुरुवात तिनै लक्ष्मणबाबुले आजभन्दा २५ वर्ष अगाडि अर्थात् सन् १९९८ मा सुरु गरे । कसैले नगरेको काम । सरकारको पनि नजर नपरेको क्षेत्र । लक्ष्मणबाबुको कल्पनामा कसरी आयो होला केबलकार ? यो जिज्ञासा, प्रश्न र चासो तपाईं हामीमा आउनु स्वभाविकै हो । एक कपडा व्यापारीको छोरा । घर गोरखा । कपडा व्यापारकै कारण तनहुँ, चितवन, धादिङ र लमजुङसम्म आवतजावत गर्नु दैनिकी थियो । खासै सडकहरु थिएन । अधिकांश ठाउँमा पैदल जानु पर्ने बाध्यता । सानैमा काठमाडौं पढ्न आए लक्ष्मणबाबु । स्नातकसम्म त्रिचन्द्र कलेजमा पढे । बिचमा जागिर गर्ने सोच पनि उनमा नआएको होइन तर गरेनन् । उनका छोरा राजेशबाबु श्रेष्ठ भन्छन्, ‘बुबामा आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने हुट्हुटी थियो ।’ एकदिन उनी काठमाडौं आउँदै थिए । कुरिनटार नजिकैको रमाइलो डाँडाबाट देखिने प्राकृतिक दृश्यहरूले उनलाई लोभ्यायो । तल त्रिशुली आफ्नै रफ्तारमा बगिरहेको छ । बीचमा सालघारीको हरियाली । आकाशमा बादल । तिनै बादलमा एक ठाउँबाट अर्को ठाउँसम्म लुकामारी गरिरहेका चराचुरुङ्गीहरु । दृश्य मनमोहक लाग्यो । लक्ष्मणको दिमाखमा अनेकौं शब्दहरुले स्थान लिए । उनले सोचे, ‘यो ठाउँबाट मनकामना मन्दिरसम्म रोपवे सञ्चालन गर्न सकियो भने कस्तो हुन्छ होला ?’ किनकी उनले भारतमा पनि रोपवे चल्छन् भन्ने सुनेका थिए । गोरखाबाट मनकामना जान आउन ५/६ घण्टा समय लाग्थ्यो । रोपवे सञ्चालन गर्न सकेमा त्यो समय पनि बचत गर्न सकिने, मान्छेहरुको त भीड लाग्छ होला भन्ने सोच उनीमा आइरहेको थियो । प्राविधिक जाँच गर्न उनले काठमाडौंबाट इञ्जिनियर लिएर मनकामना पुगे । अध्ययन गराए । मनकामनामा कति मान्छेहरु जाने रहेछन् भनेर सर्वेक्षण पनि गराए । अष्ट्रियाबाट स्याटेलाइटमार्फत् ठाउँ हेराए । केबलकारका लागि राम्रो ठाउँ भनेपछि उनमा काम अगाडि बढाउने हिम्मत बढ्यो । त्यसपछि सुरु भए मनकामना केबलकार बनाउने औपचारिक दिनहरु । उद्योग विभागमा लाइसेन्सका लागि गए । विडम्वना, अर्कैले लाइसेन्स लिइसकेको रहेछ । तर, बर्षौसम्म काम नगरेपछि उद्योग विभागले त्यो लाइसेन्स खारेज गरेर लक्ष्मणबाबुलाई लाइसेन्स दियो । त्यतिखेर विभागको महानिर्देशकमा रामविनोद भट्टराई थिए । ‘बुबामा आफ्नै जिल्लामा लगानी गर्ने चाहना थियो, केबलकार बन्ने भएपछि उहाँ धेरै खुसी हुनुहुन्थ्यो तर सुरु गर्दा सबैले लक्ष्मणबाबु बौलायो, अब डुब्छ भन्थे, बैङ्कले पनि पत्याएनन्,’ राजेशबाबु साढे दुई दशक अगाडिको कुरा स्मरण गर्दै भन्छन्, ‘नयाँ काममा जोखिम अवश्य नै हुन्छ, त्यतिबेला त्यो जोखिम नलिएको भए आज सबैले केबलकारमा लक्ष्मणबाबु ट्रेण्ड सेटर हो भनेर चिन्थेनन् होला, हामीलाई अहिले गर्व लाग्छ ।’ त्यतिखेर लक्ष्मणबाबुको प्रोजेक्टलाई नेपाल बैङ्कले पत्यायो । त्यसमा हिमालयन बैङ्कले पनि साथ दियो । निर्माण सुरु भएको १० महिनामै मनकामना केबलकार व्यावसायिक सुरुमा सञ्चालनमा आयो । अर्को वर्षदेखि रेष्टुराँ लगायतका पूर्वाधारहरु निर्माण सुरु भए । ‘केबलकार निर्माण गर्दा अनेकौं समस्या, दुःख र चुनौतीहरु भोगियो, स्थानीयदेखि नीति निर्मातासँग जुध्नु प¥यो, सुरुमा काम गरेपछि दुःख पाइँदो रहेछ तर त्यसको श्रेय पाउँदा र सबैले उदाहरणका रुपमा लिँदा भने पृथक किसिमको आनन्द आउँदो रहेछ,’ मुस्कुराउँदै केबकारका प्रबन्ध निर्देशक राजेशबाबुले भने । त्यसबेला केबलकार सम्बन्धी सरकारको कुनै नीति नियम थिएन । मूल्य अभिवृद्धि कर (भ्याट) छुटको विषयमा कुनै व्यवस्था थिएन । लक्ष्मणबाबुले त्यसका लागि धेरै मिहिनेत गरे । सङ्घर्ष गरे । ‘केबलकारको सामान भन्सारमा आएर रोकियो तर सरकारले भ्याट छुटको विषयमा कुनै निर्णय गरेन, सामान भन्सार नाकामै थियो, संयोगवश त्यतिखेर अर्थसचिव पनि तत्कालीन उद्योग विभागकै महानिर्देशक रामविनोद भट्टराई नै हुनुहुन्थ्यो, पछि धेरै कुराहरु बुझाइसकेपछि बैङ्क ग्यारेन्टीमा सामान आयो,’ केबलकार निर्माणका दिनहरु स्मरण गर्दै राजेशबाबु सुनाउँछन्, एकदिन त सचिवले ऐनमा गरेको व्यवस्था हो परिवर्तन गर्न मिल्दैन भनेपछि बुबाले त्यसो भए तपाईंहरु भएको के काम ? पीए भए पनि काम चलिहाल्थ्यो नी भन्नुभयो, अलि विवाद पनि भयो ।’ भ्याट छुट नदिएकै कारण मनकामना केबलकार र सरकारको मुद्दा पनि चल्यो । अदालतले केबलकार विरुद्ध नै फैसला ग¥यो । पछि कम्पनीले भ्याट ति¥यो । तर, अर्को आर्थिक वर्षदेखि केबुलकारलाई आर्थिक ऐनको भाग ८४ मा राखियो । बजेटमार्फत् भन्सारदर रेट ५ प्रतिशत भएका वस्तुमा ५० प्रतिशत भ्याट छुटको व्यवस्था भयो । आफूहरुले ठूलो मिहिने त गरेकै कारण सरकारले बजेटमा सो व्यवस्था गरेको राजेशबाबु बताउँछन् । अहिले केबलकार निर्माण गर्ने सबैले त्यो छुट पाउने गरेका छन् । लक्ष्मणबाबुले एउटा बाटो देखाएकै कारण देशमा एउटा उत्कृष्ट पर्यटन बढाउने माध्यमका रुपमा केबलकार देखिएको छ । प्रत्येक वर्ष नाफामा साढे दुई दशकको अवधिमा देशमा धेरै उतारचढावहरु आए । विभिन्न आरोह अवरोहरु भए । पछिल्लो समय विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले अर्थतन्त्रमा एक किसिमको सङ्कट ल्यायो । विभिन्न उद्योग व्यवसाय थला परे । पर्यटकीय क्षेत्र सुनसान बने । पर्यटकको आवागमन ठप्प बन्यो । तर, मनकामना केबलकार भने आफ्नै गतिमा छ । यो २४ वर्षको अवधिमा मनकामना जाने न मान्छे घटेका छन् न त कम्पनीको नाफामा नै सङ्कुचन आएको छ । कम्पनी अहिलेसम्म घाटामा छैन । कम्पनीका अनुसार केबलकारमा हालसम्म १ करोड ७० लाख बढी मानिसहरुले यात्रा गरेका छन् । ‘हामीले अहिलेसम्म नोक्सान व्यहोर्नु परेको छैन, सञ्चालनमा ल्याएको ७ वर्षमै ऋण चुक्ता ग¥यौं, अहिले पनि सबै खर्च कटाएर, कर तिरेर ३० प्रतिशत जति नाफा हुन्छ,’ प्रबन्ध निर्देशक श्रेष्ठ भन्छन्, ‘केबलकारसँगै गन्तव्य बनाउन सकियो भने आम्दानी राम्रै गर्न सकिन्छ ।’ केबलकारमा गत मंसिरमा १ लाख २० हजारले यात्रा गरेको उनी बताउँछन् । अहिले पनि दैनिक ३ हजार ५ सय जनाले यात्रा गर्ने गरेका छन् । अहिलेसम्म एक महिनामा सबैभन्दा बढी १२ लाख मानिसले केबलकारबाट यात्रा गरेको रेकर्ड छ । ‘केबलकार मात्रै आकर्षण भएर होइन, गन्तव्य आकर्षण हुनुप¥यो, गन्तव्य राम्रो भएपछि पयर्टक स्वतः जान्छन्, कोरोनामा अरुलाई समस्या भयो, मनकामना केबलकारले राम्रै नाफा ग¥यो, कोभिडपछि ३ लाख पर्यटकले यात्रा गरे,’ राजेशबाबु भन्छन्, ‘डाँडाँको टुप्पो छ भन्दैमा केबलकार परियोजना सफल हुँदैन, केबलकार सफल बनाउनका लागि गन्तव्य बनाउन सक्नु पर्छ ।’ मनकामना दर्शन प्रालिले ४६ करोडको लगानीमा अब मनकामनामै सुविधा सम्पन्न होटल खोल्दैछ भने अर्को ठाउँमा पनि केबलकार निर्माण गर्ने जनाएको छ । नयाँ निर्माण हुुने केबलकारलाई पब्लिकमा लैजाने योजना रहेको पनि उनी सुनाउँछन् । मनकामनाको सेयर भने अहिले दोस्रो बजारमा सूचीकृत गराउने कुनै तयारी नभएको उनले बताए । २५ वर्षअघि कुरिनटारबाट मनकामना मन्दिर जाने केबलकार निर्माण शुरु गर्दा उद्यमी लक्ष्मणबाबु श्रेष्ठलाई धेरैले ‘बौलायो’, ‘डुब्छ’ भन्थे । तर, अहिले उक्त परियोजनालाई पछ्याउँदै देशभर चलेका र बन्दै गरेका केबलकार परियोजना एक दर्जन पुगेका छन् । ‘मनकामनामा सुविधा सम्पन्न होटलहरु नभएकै कारण भीआईपीहरु बसेनन् भन्ने गुनासो आएपछि हामी आफैले ४० बेड क्षमताको होटल निर्माण गर्दैछौं, जसको नाम रिसोर्ट बाई मनकामना केबलकार नाम राखेका छौं, यसमा स्वीमिङ पुल, रेष्टुरेन्ट, कन्फ्रेन्स हल हुनेछ, केबलकारमा आउने कुल मान्छेको ३ प्रतिशत मान्छे होटलमा आए भने होटल राम्रैसँग चल्छ,’ श्रेष्ठले आफ्नो योजना सुनाए । अहिले मनकामना केबलकारको मर्मत र स्तरोन्नतिको काम पनि भइरहेको छ । जसका लागि ८ करोड रुपैयाँ खर्च भइसकेको छ भने अझै ४० करोड मर्मतमा लाग्ने कम्पनीको भनाइ छ । कम्पनीले केवलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गरेको छ । केबलकारको सुधारका लागि अहिले पनि चरणवद्ध रुपमा काम भइरहेको श्रेष्ठले बताए । ६५ करोड रुपैयाँ लगानीमा सुरु भएको मनकामना केबलकारले अहिले मासिक करोडौं कमाउँछ । गत आर्थिक वर्षमा पर्यटनतर्फ सबैभन्दा बढी कर तिर्ने कम्पनी मनकामना बनेको छ । पर्यटकसँगै स्थानीयको व्यापार बढ्यो मनकामना केबलकार सञ्चालनमा आउँदा स्थानीयहरू आक्रोशित थिए । जसको कारण जग्गा प्राप्ति, जंगल लगायतको विषयमा कम्पनीले धेरै सकस भोग्नु प¥यो । तर, अहिले परिस्थिति बदलिएको छ । मनकामना केबलकारको हाइहाई नगर्ने कोही छैनन् । मनकामना दर्शन प्रालिले मनकामनामा केबलकार सञ्चालन गरेपछि स्थानीयहरुको जीवनस्तर सुध्रिएको छ । स्थानीय उत्पादनले बजार पाएको छ । अधिकांश मानिसहरु स्वरोजगार बनेका छन् । धेरैले रोजगारी पाएका छन् । आन्तरिक पर्यटकको घुइँचो छ । ‘आन्तरिक पर्यटक बढाउनमा हामीले धेरै सहयोग गरेका छौं, केबलकार सञ्चालनमा आएपछि राजमार्गमा पनि धेरै होटल/रेष्टुराँहरुखुले, स्थानीय उत्पादनले बजार पाएको छ, कतिपयको उत्पादन मनकामना मन्दिरमै बिक्छ,’ राजेशबाबु भन्छन्, ‘अब हामीले मनकामना धार्मिकसँगै पर्यटकीय गन्तव्य पनि हो है भन्ने सन्देश दिन खोजेका छौं ।’ श्रेष्ठका अनुसार मनकामना केबलकारले मलेखुदेखि आँबुखैरेनी क्षेत्रलाई जोडेको छ । ‘मनकामनाबाट फर्केको मान्छे मलेखुमा माछा खान्छन्, व्यवसाय चम्किएको छ, राजमार्गमै नयाँ–नयाँ रिसोर्ट आएका छन्, धेरैले रोजगारी पाएका छन्,’ उनी भन्छन्, ‘२४ वर्ष अगाडि र आजको मनकामना आकाश पातल फरक छ ।’ मनकामना केबलकार अहिले श्रेष्ठ परिवारको व्यवसायमा मात्र सीमित भएन, स्थानीयको जीवनस्तर विकास, मुग्लिनदेखि नारायणघाट क्षेत्रको व्यापार विस्तारको प्रमुख आधार बनेको छ । देशको आन्तरिक पर्यटनमा सबैभन्दा चलेको गन्तव्य पनि भएको छ । कमाएपछि समाजलाई पनि केही दिनुपर्छ भन्ने मानसिकताका साथ मनकामना दर्शन प्रालिले प्रत्येक वर्ष नाफाको एक प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्दै आएको छ । कम्पनीले एक प्रतिशत शहिदलखन गाउँपालिका र एक प्रतिशत इच्छामनकामना गाउँपालिका भित्रका केही वडाहरुमा खर्च गरिरहेको छ । श्रेष्ठ परिवारले केबलकारसँगै निर्माण, हाइड्रोपावर र दुध प्रशोधन उद्योगमा ठूलो लगानी गरेको छ । चितवन मिल्क आएपछि नेपालमा ‘मिल्क होलिडे’ को नै अन्त्य भएको उनी बताउँछन् । अब भएकै व्यवसायलाई विस्तार गरेर अगाडि बढ्ने सोचमा उनको परिवार छ । (देशविकास पत्रिकाको  वर्षअङ्कबाट) सम्बन्धित सामग्री : गाडी र जग्गा बेचेर बैंक किनेँ, नेपालीले पनि बैंक चलाउन सक्छन् भन्ने स्थापित गरेँ सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’ अर्बपति सन्यासी, पोल्ट्रीका फादर चम्किँदै चन्द्र, चौतर्फी प्रशंसा हजारबाट सुरु भएको अल्फाबिटा अर्बको पुग्यो, कन्सल्टेन्सीमा यसरी बन्यो सफल