चाडपर्व अर्थतन्त्रको अदृश्य शक्ति
संस्कृति अतीतको विरासत मात्र होइन । यो वर्तमानको आर्थिक शक्ति र भविष्यको समृद्धिको सम्भावना पनि हो । तिहारको आगमनसँगै नेपाली बजारमा बढेको चहलपहलले यस तथ्यलाई स्पष्ट पार्छ । फूल, फलफूल, भाइमसला, मिठाई, कपडा, उपहार तथा घरायसी सामग्रीको किनमेलले बजारलाई चलायमान बनाइरहेको छ । दुई साताअघि सम्पन्न दशैंमा पनि यस्तै आर्थिक गतिविधि देखिएको थियो । गाउँ फर्किने यात्रुको भीड, यातायात सेवामा बढेको कारोबार, नयाँ कपडा र खाद्यवस्तुको किनमेल, उपहार आदानप्रदान तथा दक्षिणाले अर्थतन्त्रका विभिन्न क्षेत्रलाई एकैपटक सक्रिय बनाएका थिए । यी गतिविधिलाई चाडपर्वको परम्परा वा उपभोगको व्यवहारका रूपमा मात्र बुझ्नु पर्याप्त हुँदैन । यिनको पछाडि संस्कृति, सामाजिक सम्बन्ध, मूल्य-मान्यता र आर्थिक गतिविधिको विस्तृत संसार छ । यही संसारलाई बुझ्ने दृष्टिकोण हो- संस्कृतिको अर्थशास्त्र । नेपालमा दशैं, तिहार र छठजस्ता पर्व धार्मिक तथा सामाजिक जीवनका महत्त्वपूर्ण उत्सव हुन् । तर, यिनको प्रभाव परिवारको बजेटदेखि राष्ट्रिय बजारसम्म, ग्रामीण उत्पादनदेखि सहरी व्यापारसम्म, यातायातदेखि पर्यटनसम्म र साना उद्यमदेखि ठूला व्यावसायिक कारोबारसम्म फैलिएको हुन्छ । यस दृष्टिले संस्कृति संरक्षण गर्नुपर्ने सम्पदा मात्र होइन। यो आर्थिक गतिविधि, रोजगारी, उद्यमशीलता र समृद्धिको सम्भावित आधार पनि हो । चाडपर्वले चलायमान बनाउने बजार नेपालको सांस्कृतिक अर्थतन्त्र बुझ्न दशैं, तिहार र छठको अवधि उत्कृष्ट उदाहरण हो । यी पर्व धार्मिक आस्था, पारिवारिक सम्बन्ध, सामाजिक एकता र सांस्कृतिक निरन्तरताका दृष्टिले महत्त्वपूर्ण छन् । आर्थिक दृष्टिले पनि यी पर्व वर्षका सबैभन्दा सक्रिय उपभोग तथा कारोबार हुने समयमध्ये पर्छन् । दशैंमा गाउँ फर्किने परम्पराले यातायात, हवाई सेवा, इन्धन, होटल, रेस्टुरेन्ट तथा स्थानीय व्यापारमा आर्थिक गतिविधि सिर्जना गर्छ । नयाँ कपडा, जुत्ता, खाद्यान्न, मासु, घरायसी सामग्री, विद्युतीय उपकरण र उपहारको किनमेल बढ्छ । परिवार तथा आफन्तबीच हुने उपहार आदानप्रदान र दक्षिणाले आर्थिक विनिमयको अर्को आयाम थप्छ । दक्षिणा केवल धार्मिक वा पारिवारिक परम्परा मात्र होइन। यो परिवारभित्र पैसाको पुनर्वितरण गर्ने माध्यम पनि हो । ज्येष्ठ सदस्यबाट बालबालिका तथा अन्य सदस्यले प्राप्त गर्ने रकम बचत गर्न वा खेलौना, मिठाई तथा अन्य वस्तु किन्न खर्च गर्न सक्छन् । यसले सानो स्तरमै भए पनि उपभोग र आर्थिक गतिविधिलाई थप चलायमान बनाउँछ । तिहारको आर्थिक विशेषता दशैंभन्दा केही फरक छ । सयपत्री तथा मखमली फूल, फलफूल, भाइमसला, मिठाई, तेल, बत्ती, सजावटका सामग्री, पूजा सामग्री र उपहारको माग बढ्छ । फूल उत्पादन गर्ने कृषकदेखि व्यापारी, ढुवानीकर्ता र खुद्रा विक्रेतासम्मको आर्थिक शृङ्खला यससँग जोडिन्छ । घर सजाउने, झिलिमिली बत्ती बाल्ने र लक्ष्मीपूजा गर्ने परम्पराले विद्युतीय उपकरण, सजावट तथा धार्मिक सामग्रीको बजार विस्तार गर्छ । यस तिहारमा काठमाडौं उपत्यकामा करिब ५१ लाख ८० हजार फूलका माला खपत हुने अनुमान छ । ती मालाको कारोबारबाट मात्रै ४८ करोड रुपैयाँ र गमला तथा पोलीको बिक्रीबाट थप १६ करोड ५० लाख रुपैयाँको कारोबार हुने अनुमानले फूल तथा सजावट सामग्रीको बजार कति ठूलो हुन सक्छ भन्ने देखाउँछ । यस वर्षको दशैंमा नेपाल राष्ट्र बैंकबाट १५ अर्ब रुपैयाँभन्दा बढी नयाँ नोट सटही भएको छ । नयाँ नोट प्रायः दक्षिणा र भेटीमा प्रयोग हुने भएकाले यसको ठूलो हिस्सा धार्मिक तथा सांस्कृतिक गतिविधिमार्फत समाजमा प्रवाह भएको अनुमान गर्न सकिन्छ । सबैले दक्षिणाका लागि नयाँ नोट प्रयोग नगर्ने भए पनि दक्षिणा तथा भेटीका माध्यमबाट ठूलो रकम परिचालन हुने सम्भावना देखिन्छ । पूजा, भेटी र दक्षिणाजस्ता परम्परागत अभ्यासले बजारमा हुने किनमेलबाहेक पनि आर्थिक गतिविधिलाई विस्तार गर्छन् । यस्ता सांस्कृतिक खर्चले पैसाको वितरण समाजका विभिन्न तहसम्म पु¥याउँदै आर्थिक परिचालन र बजारको गतिशीलतालाई बलियो बनाउँछन् । यसले नेपाली पर्वहरूको आर्थिक महत्त्व उपभोग र व्यापारमा मात्र सीमित नभई सामाजिक तथा सांस्कृतिक माध्यमबाट हुने आर्थिक पुनर्वितरणमा समेत रहेको देखाउँछ । छठ पर्वमा बाँसका डाला, सुप, टोकरी, फलफूल, उखु, नरिवल, अदुवा, माटोका सामग्री तथा पूजा सामग्रीको माग बढ्छ । स्थानीय कृषक, कुम्हार, बाँस तथा हस्तकला उत्पादक र साना व्यापारीले यसबाट आर्थिक अवसर प्राप्त गर्छन् । विशेषतः तराई–मधेश क्षेत्रमा छठले स्थानीय उत्पादन, परम्परागत सीप र सामुदायिक बजारलाई सक्रिय बनाउँछ । यसरी दशै, तिहार र छठलाई समग्रमा हेर्दा संस्कृति र बजारबीचको सम्बन्ध स्पष्ट देखिन्छ। सांस्कृतिक परम्पराले मागको स्वरूप निर्धारण गर्छन् । त्यही मागले उत्पादन, वितरण, बिक्री, सेवा तथा रोजगारीको आर्थिक चक्रलाई चलाउँछ । संस्कृतिको आर्थिक योगदान कसरी मापन गर्ने ? संस्कृतिको आर्थिक योगदानलाई व्यवस्थित रूपमा मापन गर्न विभिन्न देशले सांस्कृतिक उपग्रह लेखा प्रणाली विकास गरेका छन् । यसले राष्ट्रिय लेखा प्रणालीसँग जोडेर संस्कृति तथा सांस्कृतिक उद्योगको उत्पादन, रोजगारी, खर्च र आर्थिक योगदानलाई छुट्टै पहिचान तथा मापन गर्ने आधार प्रदान गर्छ । नेदरल्यान्ड्स, बेलायत, अस्ट्रेलिया, स्पेन र फिनल्यान्डलगायतका देशमा सांस्कृतिक तथा सिर्जनशील क्षेत्रको आर्थिक योगदान मापन गर्ने अध्ययन र लेखा प्रणाली विकसित भएका छन् । यस्ता प्रणालीले संस्कृति क्षेत्रको उत्पादन र रोजगारीलाई राष्ट्रिय आर्थिक तथ्याङ्कमा समेट्ने प्रयास गर्छन्। यद्यपि विभिन्न देशमा संस्कृति क्षेत्रको परिभाषा र गणना विधि फरक हुने भएकाले तथ्याङ्क तुलना गर्दा सावधानी अपनाउनुपर्छ । नेपालमा पनि सांस्कृतिक क्षेत्रमा आधारित सिर्जनशील अर्थतन्त्रका सम्भावना र गतिविधि व्यापक छन् । तर तिनको आर्थिक योगदान मापन गर्ने राष्ट्रिय प्रणाली तथा तथ्याङ्कीय आधार अझै व्यवस्थित हुन सकेको छैन । युनेस्कोको सांस्कृतिक तथ्याङ्कसम्बन्धी फ्रेमवर्कले संस्कृतिको आर्थिक तथा सामाजिक योगदान मापन गर्न अन्तर्राष्ट्रिय अवधारणात्मक र पद्धतिगत आधार प्रदान गरेको छ । यसले सांस्कृतिक उत्पादन, रोजगारी, खर्च, व्यापार, सांस्कृतिक सहभागिता र डिजिटल गतिविधिसमेतलाई तथ्याङ्कमा समेट्ने दिशालाई स्पष्ट बनाएको छ । संस्कृति : विश्व अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा संस्कृति र अर्थतन्त्रबीचको सम्बन्ध नेपालमा मात्र सीमित छैन । विश्वव्यापी रूपमा सांस्कृतिक तथा सिर्जनशील उद्योगलाई आर्थिक विकास, रोजगारी, नवप्रवर्तन र सामाजिक समावेशीकरणको महत्त्वपूर्ण क्षेत्रका रूपमा स्वीकार गरिएको छ । युनेस्कोको सन् २०२२ मा प्रकाशित संस्कृति तथा सिर्जनशीलतासम्बन्धी विश्वव्यापी प्रतिवेदनअनुसार सांस्कृतिक तथा सिर्जनशील क्षेत्रले विश्वको कुल गार्हस्थ्य उत्पादनमा ३.१ प्रतिशत योगदान गर्छन् । विश्वको कुल रोजगारीमध्ये ६.२ प्रतिशत यस क्षेत्रमा निर्भर छ । यस क्षेत्रले विश्वभर करिब २ खर्ब २५ अर्ब अमेरिकी डलर आम्दानी सिर्जना गर्नुका साथै २ करोड ९५ लाख रोजगारी उपलब्ध गराउँछ । यी तथ्याङ्कले संस्कृति तथा सिर्जनशीलता विश्व अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा भएको देखाउँछन् । सांस्कृतिक तथा सिर्जनशील उद्योगभित्र कला, संगीत, चलचित्र, साहित्य, डिजाइन, वास्तुकला, हस्तकला, प्रकाशन, डिजिटल सामग्री, सांस्कृतिक पर्यटन र सांस्कृतिक सम्पदासँग सम्बन्धित सेवाहरू समेटिन्छन् । यस्ता गतिविधिले सांस्कृतिक अभिव्यक्ति र सिर्जनालाई उत्पादन, सेवा, रोजगारी तथा आयआर्जनसँग जोड्छन् । युनेस्कोको सन् २००५ को सांस्कृतिक अभिव्यक्तिको विविधताको संरक्षण तथा प्रवद्र्धनसम्बन्धी महासन्धिले सांस्कृतिक विविधता र सिर्जनशील क्षेत्रको विकासलाई महत्त्व दिएको छ । त्यस्तै, सन् २०२२ को मोन्डियाकल्ट विश्व सम्मेलनले संस्कृतिलाई विश्वव्यापी सार्वजनिक हितका रूपमा स्वीकार गर्ने अवधारणालाई थप बलियो बनाएको थियो । यस दृष्टिकोणले संस्कृतिलाई मानव अधिकार, सामाजिक समावेशीकरण, दिगो विकास र आर्थिक समृद्धिसँग जोडेर हेर्छ । नेपाली संस्कृति पर्वमा मात्र सीमित छैन सांस्कृतिक अर्थतन्त्रको दायरा दशैँ, तिहार र छठमा हुने खर्चभन्दा निकै व्यापक छ । नेपालमा वर्षभरि हुने धार्मिक गतिविधि, जात्रा, मेला, विवाह, व्रतबन्ध, पास्नी, लोकसंगीत, हस्तकला, सांस्कृतिक पर्यटन, संग्रहालय र सिर्जनशील उद्योगले निरन्तर आर्थिक गतिविधि सिर्जना गरिरहेका हुन्छन् । पशुपतिनाथ, मुक्तिनाथ, लुम्बिनी, जनकपुरधामलगायत धार्मिक तथा सांस्कृतिक स्थलमा हुने दर्शन, पूजा र तीर्थयात्राले यातायात, होटल, भोजनालय, स्थानीय उत्पादन तथा व्यापारलाई सक्रिय बनाउँछन् । इन्द्रजात्रा, बिस्केट जात्रा, गाईजात्रा, विभिन्न मेला तथा महोत्सवले कलाकार, शिल्पकार, बाजागाजा समूह, पोसाक निर्माता र स्थानीय व्यवसायीलाई आर्थिक अवसर प्रदान गर्छन् । नेपालमा संस्कृति र आर्थिक गतिविधिबीचको सम्बन्ध अध्ययन गर्ने प्रयास पनि सुरु भएका छन् । यस सन्दर्भमा युनेस्कोले सन् २०२५ मा काठमाडौं उपत्यकामा गरेको अध्ययन उल्लेखनीय छ । यस अध्ययनले काठमाडौं, ललितपुर र भक्तपुरका सात सिर्जनशील क्षेत्र- हस्तकला तथा लोककला, डिजाइन, चलचित्र, पाककला तथा सांस्कृतिक खानपान, साहित्य, मिडिया कला र संगीतलाई समेटेको थियो । अध्ययनले सांस्कृतिक तथा सिर्जनशील क्षेत्रलाई रोजगारी, उद्यमशीलता, स्थानीय ज्ञान र दिगो आर्थिक विकाससँग जोड्न सकिने सम्भावना औंल्याएको छ । साथै, नीतिगत पहिचान, सीप विकास, संस्थागत सहयोग, व्यवस्थित तथ्याङ्क र श्रमको उचित मूल्याङ्कन आवश्यक रहेको पनि देखाएको छ । तर, काठमाडौं उपत्यकामा केन्द्रित यो अध्ययन नेपालको समग्र सांस्कृतिक अर्थतन्त्रको राष्ट्रिय योगदान, कुल गार्हस्थ्य उत्पादन, रोजगारी, कारोबार तथा सांस्कृतिक गतिविधिको विस्तृत आर्थिक मूल्य मापन गर्ने राष्ट्रिय अध्ययन भने होइन । नेपालका ग्रामीण तथा सहरी क्षेत्र, हिमाल, पहाड र तराईका सांस्कृतिक गतिविधि, स्थानीय उत्पादन, धार्मिक पर्यटन, जात्रा, संग्रहालय र परम्परागत सीपको आर्थिक योगदान अझै व्यवस्थित रूपमा अभिलेखित हुन बाँकी छ । संस्कृति र समृद्धि : परस्पर पूरक सम्बन्ध संस्कृतिको आर्थिक योगदानलाई बजार कारोबार वा पैसाको मूल्यबाट मात्र मापन गर्न सकिँदैन । सामाजिक एकता, पहिचान, ज्ञान हस्तान्तरण, आध्यात्मिकता र सामुदायिक जीवनमा संस्कृतिको महत्त्व आर्थिक मूल्यभन्दा व्यापक छ। संस्कृति मानव जीवनको अर्थ, सम्बन्ध र पहिचानको आधार हो । तर, आर्थिक अवसरले परम्परागत सीप, स्थानीय उत्पादन, सांस्कृतिक सम्पदा र समुदायको जीवनयापनलाई संरक्षण तथा निरन्तरता दिन सहयोग पुर्याउन सक्छ । उचित नीति, लगानी, बजार पहुँच र संस्थागत सहयोग भएमा संस्कृति रोजगारी, उद्यमशीलता र स्थानीय आर्थिक विकासको आधार बन्न सक्छ । नेपालका लागि अबको चुनौती संस्कृति संरक्षण गर्नु मात्र होइन । यसको आर्थिक सम्भावना पहिचान गर्नु, तथ्याङ्कमा स्थापित गर्नु र सांस्कृतिक समृद्धिलाई राष्ट्रिय आर्थिक विकासको अभिन्न हिस्सा बनाउनु पनि हो । हाम्रो संस्कृति हाम्रो पहिचान हो । व्यवस्थित अध्ययन, नीति र लगानीमार्फत यही संस्कृति रोजगारी, सृजनशीलता, उद्यमशीलता र दिगो समृद्धिको आधारसमेत बन्न सक्छ ।