विकासन्युज

डिसहोम इन्टरनेटको २०० र ३०० एमबीपीएस प्याकेजमा सुविधा

काठमाडौं । डिसहोम इन्टरनेटले भ्यालेन्टाइन डेको अवसरमा आफ्ना ग्राहकलाई लक्षित गर्दै अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘भ्यालेन्टाइन डे स्पेसल अफर’ अन्तर्गत उच्च गतिको इन्टरनेट सेवामा आकर्षक सुविधा उपलब्ध गराएको हो । यस अफर अन्तर्गत २०० एमबीपीएस र ३०० एमबीपीएस इन्टरनेट प्याकेजको एक वर्षको नयाँ जडान तथा रिन्यु (नविकरण) गर्ने ग्राहकलाई निःशुल्क फ्री फोके स्ट्रिमर उपलब्ध गराइनेछ । त्यसैगरी, १००, २०० तथा ३०० एमबीपीएस स्पिडका नियमित वार्षिक प्याकेज रिचार्ज गर्ने ग्राहकलाई थप एक महिनाको इन्टरनेट सेवा निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस अफरमार्फत ग्राहकलाई उच्च गतिको इन्टरनेटसँगै डिजिटल मनोरञ्जनमा समेत सहज पहुँच उपलब्ध गराउने उद्देश्य राखिएको छ । भ्यालेन्टाइन डेको अवसरमा ल्याइएको यो अफर सीमित समयका लागि लागू हुने बताइएको छ ।

स्वस्तिक आयलको आम्दानीमा १३० प्रतिशतले उछाल, निर्यात मात्रै ६.९० अर्ब

काठमाडौं । स्वस्तिक आयल इन्डस्ट्रिजले एक वर्षमै साढे १४ अर्ब रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ । कम्पनीले सन् २०२५ मा १४ अर्ब ३६ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको हो, जुन अघिल्लो वर्षको तुलनामा १३०.३८ प्रतिशत अर्थात् ८ अर्ब १२ करोड ८० लाख रुपैयाँले बढी हो । कम्पनीले सन् २०२४ मा ६ अर्ब २३ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनीले मुख्य रूपमा सनफ्लावर तेल, सोयाबिन तेल, तोरीको तेल, पाम आयल तथा वनस्पति घ्यू बिक्रीमार्फत आम्दानी गर्दै आएको छ । सन् २०२५ मा सञ्चालन आम्दानी उल्लेखनीय रूपमा बढ्नुको प्रमुख कारण भारतले खाद्य तेलमा आयात महसुल बढाएपछि नेपालको प्रतिस्पर्धात्मक क्षमता वृद्धि हुनु र भारततर्फ निर्यात बढ्नु रहेको कम्पनीले जनाएको छ । कम्पनीको निर्यात बिक्री सन् २०२५ मा ६ अर्ब ९२ करोड ५० लाख रुपैयाँ पुगेको छ, जुन सन् २०२४ मा ३५ करोड ८० लाख रुपैयाँ र सन् २०२३ मा ६२ करोड ७० लाख रुपैयाँ थियो । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामै कम्पनीले ६ अर्ब १५ करोड १० लाख रुपैयाँ आम्दानी बुक गरिसकेको छ, जसले कुल निर्यात बिक्रीको करिब ४७ प्रतिशत हिस्सा ओगटेको कम्पनीको दाबी छ । उत्पादन क्षमताको उपयोग सन् २०२५ मा ३६ प्रतिशत पुगेको छ, जुन सन् २०२४ मा १८ प्रतिशत मात्र थियो। यसले कम्पनीको सञ्चालन दक्षतामा उल्लेखनीय सुधार आएको संकेत गर्दछ । स्वस्तिक आयल इन्डस्ट्रिज सन् १९८४ डिसेम्बरमा स्थापना भएको हो । यसको उत्पादन प्लान्ट विराटनगर–९ मोरङमा सञ्चालनमा छ । कम्पनीको कुल स्थापित उत्पादन क्षमता वार्षिक १ लाख ३५ हजार मेट्रिक टन रहेको छ । यसका अतिरिक्त तोरीको तेल उत्पादनका लागि वार्षिक १० हजार मेट्रिक टन क्षमता समेत रहेको छ ।  स्वस्तिक आयल इन्डस्ट्रिज केएल दुगड ग्रुपद्वारा प्रवर्द्धित उद्योग हो । समूहले खाद्यान्न, प्याकेजिङ, जडीबुटी प्रशोधन, जलविद्युत्, सिमेन्ट, निर्माण तथा बैंकिङ तथा वित्तीय सेवा जस्ता विभिन्न क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि व्यवसाय गर्दै आएको छ । समूहको औद्योगिक अनुभव र व्यवस्थापन क्षमताले स्वस्तिक आयललाई खाद्यतेल उद्योगको एक महत्त्वपूर्ण उत्पादकका रूपमा स्थापित गरेको छ । कम्पनीका अध्यक्ष विकास दुगडसँग व्यापार तथा उद्योग क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव रहेको छ । उनी केएल दुगड ग्रुपका प्रबन्ध निर्देशकसमेत हुन् र अन्य विभिन्न कम्पनीहरूमा निर्देशकको भूमिकामा संलग्न छन् ।  केएल दुगड समूहले आफ्ना सहायक कम्पनीहरूमार्फत १८० भन्दा बढी उत्पादनहरू बजारमा आपूर्ति गर्दै आएको छ । यसमा चामल, दाल, अन्न, शिशु आहार, मसला, चिया, पीठो, खाद्यतेल तथा अन्य खाद्यान्न सामग्रीहरू समावेश छन्। समूहका बिक्री डिपोहरू देशका विभिन्न भौगोलिक क्षेत्रमा सञ्चालनमा छन् । स्वस्तिक आयल इन्डस्ट्रिजले आफ्ना खाद्यतेल उत्पादनहरू स्वस्तिक, धारा, सनफ्लो, संगम र बिगुल ब्रान्डमार्फत आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको छ ।  खाद्यतेलको बढ्दो आन्तरिक मागलाई सम्बोधन गर्दै स्वस्तिक आयल इन्डस्ट्रिजले स्वदेशी उत्पादन प्रवर्द्धन तथा आयात प्रतिस्थापनमा योगदान पुर्याउँदै आएको छ । कम्पनीले सन् २०२३ मा ७ अर्ब २ करोड ३० लाख, सन् २०२२ मा १२ अर्ब ५१ करोड २० लाख, सन् २०२१ मा ११ अर्ब १० करोड र सन् २०२० मा ८ अर्ब २ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनी कच्चा खाद्य तेल तथा तोरीजस्ता कच्चा पदार्थका लागि अन्तर्राष्ट्रिय बजारमा निर्भर रहनुका साथै खाद्यतेल कच्चा पदार्थहरू कृषिजन्य तथा मौसमी उत्पादन भएकाले मूल्यमा उच्च उतारचढाव हुने जोखिम कायमै रहेको कम्पनीले जनाएको छ । साथै संगठित र असंगठित धेरै कम्पनीहरूको उपस्थितिका कारण उद्योग अत्यन्त प्रतिस्पर्धी रहेको बताइएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १० अर्ब ६ करोड रुपैयाँ ऋण लिएको छ । जसमा १ अर्ब ४५ करोड ४१ लाख रुपैयाँ दीर्घकालीन र ८ अर्ब ६० करोड ६ लाख रुपैयाँ अल्पकालीन ऋण रहेको कम्पनीले जनाएको छ ।

शीर्ष १० धनाढ्यमा वाल्टन परिवारका ३ जनाको इन्ट्री, एलिस बनिन् विश्वकै धनी महिला

काठमाडौं । दुनियाँका शीर्ष धनीहरूको सूचीमा हालै उल्लेखनीय फेरबदल देखिएको छ । वारेन बफेट र स्टिभ बाल्मरजस्ता दिग्गजहरू शीर्ष १० बाट बाहिरिएका छन् भने एउटै परिवारका तीन दाजुभाइ–दिदीबहिनीले सूचीमा स्थान बनाएका छन् । यी हुन्– जिम वाल्टन, उनका भाइ रोब वाल्टन र बहिनी एलिस वाल्टन ।  ब्लूमबर्ग बिलिनेयर इन्डेक्समा जिम आठौं, रोब नवौं र एलिस दशौं स्थानमा रहेका छन् ।  एलिस वाल्टन विश्वकै सबैभन्दा धनी महिला अर्बपति हुन् । यी तीनै जना वाल्टन परिवारसँग सम्बन्धित छन्, जुन राजस्वका आधारमा विश्वकै सबैभन्दा ठूलो कम्पनी वालमार्टको प्रवर्द्धक (प्रमोटर) परिवार हो । यस परिवारका अन्य दुई सदस्य पनि विश्वका शीर्ष १०० धनीहरूको सूचीमा परेका छन् । एलिस वाल्टन । वाल्टन परिवारलाई विश्वकै सबैभन्दा धनी परिवार मानिन्छ । वालमार्टमा वाल्टन परिवारको ४७ प्रतिशत हिस्सेदारी छ । यस कम्पनीको स्थापना सन् १९६२ मा साम वाल्टनले गरेका थिए ।  ब्लूमबर्ग बिलिनेयर इन्डेक्सअनुसार साम वाल्टनका छोरा जिम वाल्टन १५८ अर्ब डलर नेटवर्थसहित विश्वका धनीहरूको सूचीमा आठौं स्थानमा छन् । यस वर्ष उनको नेटवर्थमा २१.३ अर्ब डलरले वृद्धि भएको छ । उनका भाइ रोब वाल्टन १५४ अर्ब डलर नेटवर्थसहित नवौं स्थानमा छन्, जसको नेटवर्थ यस वर्ष २०.७ अर्ब डलरले बढेको छ । जिम र रोबकी बहिनी एलिस वाल्टन १५४ अर्ब डलर नेटवर्थसहित विश्वका धनीहरूको सूचीमा दशौं स्थानमा छन् । यस वर्ष उनको नेटवर्थमा २१ अर्ब डलरले वृद्धि भएको छ । साम वाल्टनका एक छोरा जोन वाल्टनको निधन भइसकेको छ । उनका छोरा लुकास वाल्टन ५३।९ अर्ब डलर नेटवर्थसहित सूचीको ३३औं स्थानमा छन्। जोन वाल्टनकी विधवा क्रिस्टी वाल्टन २५.४ अर्ब डलर नेटवर्थसहित सूचीको १००औं स्थानमा छन् । जोन वाल्टनको सन् २००५ मा हवाई दुर्घटनामा मृत्यु भएको थियो, जसपछि क्रिस्टी वाल्टनले वालमार्टमा करिब २ प्रतिशत हिस्सेदारी पाएकी थिइन् । शीर्ष १०० धनीहरूमा परेका वाल्टन परिवारका पाँच सदस्यहरूको कुल नेटवर्थ ५४५ अर्ब डलर पुगेको छ, जुन ग्रीस, हंगेरी र इरानजस्ता धेरै देशहरूको जीडीपीभन्दा बढी हो । वालमार्टका विश्वका १९ देशमा १० हजार ५०० भन्दा बढी स्टोर सञ्चालनमा छन् ।  वाल्टनको व्यवसाय पूर्ण रूपमा ‘डिस्काउन्ट कल्चर’मा आधारित थियो, जसका कारण मन्दीका समयमा पनि यसको सेयर सधैं मजबुत देखिएको छ । राजस्वका आधारमा वालमार्ट विश्वकै सबैभन्दा ठूलो कम्पनी हो ।  गत वर्ष कम्पनीको राजस्व ७०३.०६ अर्ब डलर रहेको थियो । बजार पूँजीकरणका हिसाबले भने १.०६७ ट्रिलियन डलरसहित यो विश्वमा १२औं स्थानमा रहेको छ ।

रौतहटमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

वीरगन्ज । रौतहटको दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गङ्गापिपरा सडकखण्डको झाझपुल नजिकै आइतबार बिहान मोटरसाइकल दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ ।  रौतहट जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीे विष्णुप्रदीप बस्यालका अनुसार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा  मृत्यु भएको छ । गङ्गापिपराबाट गौर आइरहेको बिआर३०यु १३७१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर सिसौको रुखमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक जितेन्द्र साह र मोटरसाइकल पछाडि पर्ने यमुनामाई गाउँपालिका–४ सरुअठा बस्ने २२ वर्र्षे पुनमदेवी साहको मृत्यु भएको हो । गम्भीर घाइते भएका दुवै जनालाई गौर प्रादेशिक अस्पताल उपचार गर्नका लागि पठाइएको थियो । प्रहरीका अनुसार चालक जितेन्द्र साहको टाउको, मुख र शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर भएर अचेत अवस्थामा अस्पताल पुर्याइएको थियो । त्यस्तै, पछाडि बस्ने पुनमदेवीको पनि टाउको, मुख र शरीरका विभिन्न भागमा चोट लागेको थियो ।    

मुस्ताङबाट ६ महिनामा चार हजार चार सय ९१ केजी फोहर निकासी

मुस्ताङ । मुस्ताङबाट चालु आर्थिक वर्षको छ महिनामा चार हजार ३९१ केजी फोहरमैला जिल्ला बाहिर निकासी गरिएको छ । यहाँस्थित वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा सङ्कलित फोहरमैलालाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जिल्ला बाहिर पठाएको हो । धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला मुस्ताङलाई स्वच्छ, सफा र वातावरणमैत्री तुल्याउने उद्देश्यले एक्यापले गत आर्थिक वर्षदेखि यहाँका समुदायले सङ्कलन गरेको फोहरमैलालाई ट्रकमार्फत ढुवानी गरी पोखरा पठाउन थालेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेशप्रसाद गुप्ताले जानकारी दिए। एक्यापले मुस्ताङको तल्लो क्षेत्रमा समुदायले सङ्कलन गरेको नकुहिने प्लास्टिकजन्य फोहरमैला उठाएर पुनः प्रयोगका लागि पोखरास्थित ग्रीन वेस्ट मेनेजमेन्ट प्रालिमा निकासी गरेको कार्यालय प्रमुख गुप्ताले उल्लेख गरे। चालु वर्षको पुससम्म यहाँ सङ्कलित फोहर चारपटक ट्रकमा ढुवानी गरी पोखरा पठाइएको प्रमुख गुप्ताको भनाइ छ । मुस्ताङमा पर्यटन व्यवसायी तथा स्थानीय समुदायस्तरबाट सङ्कलन भएको नकुहिने फोहरलाई एक्याप जोमसोमले ट्रकको ढुवानी गरिएको भाडा आफ्नै आर्थिक खर्च व्यवस्थापन गरी पोखरास्थित प्रशोधन केन्द्रमा पठाउने गरेको प्रमुख गुप्ताले जानकारी दिए । यस वर्ष पहिलो चरणमा गत भदौ ११ गते १७६ बोरा अर्थात् ५४४ केजी, दोस्रो चरणमा कात्तिक १९ गते १५४ बोरा अर्थात् ८६० केजी, तेस्रो चरणमा मङ्सिर ७ गते २४२ बोरा अर्थात् १५३ केजी र चौथो चरणमा पुस ९ गते १७२ बोरा अर्थात् एक हजार ३५१ केजी फोहर पोखरामा निकासी गरिएको हो । यसैगरी गतवर्ष एक्याप जोमसोमले यहाँको तीन पालिकामा पर्यटन व्यवसायी तथा समुदायले सङ्कलन गरेको दश हजार १९० केजी फोहर ट्रकमा ढुवानी गरी पोखरास्थित ग्रीन वेस्ट मेनेजमेन्ट प्रशोधन केन्द्रमा पठाएको थियो । यसअघि मुस्ताङमा सङ्कलन हुने नकुहिने प्लास्टिकजन्य फोहर व्यवस्थापनका लागि एक्याप र ग्रीन वेस्ट मेनेजमेन्ट प्रालिबीच फोहर व्यवस्थापन गर्नेसम्बन्धी सहमति गरेको थियो । एक्याप प्रमुख गुप्ताका अनुसार मुस्ताङमा सङ्कलन हुने फोहरलाई सम्बन्धित स्थानमा पुर्याउन ढुवानीको साधन व्यवस्थापन गर्नमा समस्या परिरहेको बताए। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको स्वामित्वमा रहेको मुस्ताङमा यहाँको वातावरणलाई चुस्त राख्ने उद्देश्यले फोहरमैला व्यवस्थापन गर्नका लागि चालु आवमा यहाँका तीन पालिकाले रु पाँच–पाँच लाख बजेट विनियोजन गरिएको प्रमुख गुप्ताले बताए। एक्यापले दिएको फोहरमैला व्यवस्थापन शीर्षकको बजेटमा रहेर यहाँको घरपझोङ गाउँपालिकाले ट्याम्पो खरिद गरेको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले सङ्कलित फोहरलाई थिच्ने कम्प्रेसर मेसिन खरिद गरेको छ भने थासाङ गाउँपालिकाले फोहरमैला शीर्षकमा छलफलको चरणमा रहेको एक्यापले जनाएको छ । त्यसैगरी, जिल्लामा पर्यटक तथा स्थानीय नागरिकबाट हुने फोहरमैलाको समुचित व्यवस्थापनका लागि यहाँका तीन पालिकामा एक्याप फोहर सङ्कलन केन्द्र पूर्वाधार निर्माण गरेको जनाएको छ । एक्यापले यहाँको थासाङ–४ घाँसा, थासाङ–३ लेते र धम्पु, थासाङ–२ कोवाङ, थासाङ–१ टुकुचे, घरपझोङ–३ स्याङ, घरपझाङ–१ छैरो, वारागुङ मुक्तिक्षेत्र–४ कागबेनी र वारागुङ मुक्तिक्षेत्र–४ मुक्तिनाथमा फोहरमैला सङ्कलन केन्द्र पूर्वाधार निर्माण गरेको जनाएको छ ।

यस्तो छ आइतबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९७ रुपैयाँ ७७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०२ रुपैयाँ ४८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ २६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ७० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९६ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ९५ पैसा र बिक्रीदर २१ रुपैयाँ ०३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ८७ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६५ पैसा र बिक्रीदर चार रुपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ४० पैसा र बिक्रीदर ३९ रुपैयाँ ५६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रुपैयाँ १९ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १६ पैसा र बिक्रीदर १६ रुपैयाँ २३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९७ पैसा र बिक्रीदर २३ रुपैयाँ ०७ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १८ रुपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपैयाँ २६ पैसा र बिक्रीदर ४७६ रुपैयाँ २२ पैसा, बहराइन दिनार एकको खरिददर ३८३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ४४ पैसा, ओमनी रियाल एकको खरिददर ३७५ रुपैयाँ ९२ र बिक्रीदर ३७७ रुपैयाँ ४८ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

केरा दर्जनको १९० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु २८, आलु रातो (भारतीय) प्रतिकिलो रु २६ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ५०, बन्दा (लोकल) प्रतिकिलो रु ५५, बन्दा (तराई) प्रतिकिलो रु ३०, बन्दा (नरिबल) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु २५, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रु ५०, काउली तराई प्रतिकिलो रु २५, रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला (लोकल) प्रतिकिलो रु १६, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ५५ र भन्टा डल्लो प्रतिकिलो रु ६५ कायम भएको छ । त्यसैगरी, मटरकोसा प्रतिकिलो रु ६५, घिउ सिमी (लोकल) प्रतिकिलो रु १२०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १००, घिउ सिमी (राजमा) प्रतिकिलो रु १२०, टाटे सिमी प्रतिकिलो रु ७५, तिते करेला प्रतिकिलो रु २००, घिरौँला प्रतिकिलो रु १४०, लौका प्रतिकिलो रु ७५, फर्सी पाकेको प्रतिकिलो रु ५५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु २५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, सलगम प्रतिकिलो ५०, भिन्डी प्रतिकिलो १२०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ७५, पिँडालु प्रतिकिलो रु ६५ र स्कुस प्रतिकिलो रु ७० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु २५, पालुङ्गो प्रतिकेजी रु ३५, चमसुर प्रतिकिलो रु ३०, तोरीसाग प्रतिकिलो रु २५, मेथी प्रतिकिलो रु ४०, हरियो प्याज प्रतिकिलो रु ४५, बकुला प्रतिकिलो रु ६०, तरुल प्रतिकिलो रु ६०, च्याउ (कन्य) प्रतिकिलो रु ९०, च्याउ (डल्ले) प्रतिकिलो रु ३८०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु ५०, चुकुन्दर प्रतिकिलो रु ६५, सजीवन प्रतिकेजी रु २८०, रातो बन्दा प्रतिकिलो रु १००, जिरीको साग प्रतिकिलो रु ६०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १८०, पार्सले प्रतिकिलो रु ४००, सौफको साग प्रतिकिलो रु ४०, पुदिना प्रतिकिलो रु ३५०, गान्टे मूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ३०० र रूखटमाटर प्रतिकेजी रु २६० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३२०, केरा (दर्जन) रु १९०, कागती प्रतिकिलो रु १९०, अनार प्रतिकिलो रु ३३०, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, अङ्गुर (कालो) प्रतिकिलो रु ४००, सुन्तला (नेपाली) प्रतिकिलो रु १८०, तरबुजा हरियो प्रतिकिलो रु ९०, मौसम प्रतिकिलो रु १३०, जुनार प्रतिकिलो रु १३०, भुइँकटहर प्रतिगोटा रु १४०, काँक्रो (लोकल) प्रतिकिलो रु १७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ६०, रुखकटहर प्रतिकिलो रु १२०, निबुवा प्रतिकिलो रु ६५, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १३०, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ५५०, किबी प्रतिकिलो रु २६० र एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ । यसैगरी, अमला प्रतिकिलो रु १००, अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु १९०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १६०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ५५०, भेडे खुर्सानी प्रतिकिलो रु ७०, हरियो लसुन प्रतिकिलो रु ६०, हरियो धनियाँ प्रतिकिलो रु ४५, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २५०, छ्यापी सुकेको प्रतिकिलो रु १५०, छ्यापी हरियो प्रतिकिलो रु १६०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।

विश्व शान्तिमा नेपाली सेनाको गर्व लायक उपस्थिति...

नारायण न्यौपाने काठमाडौं । विश्व शान्तिमा नेपाली शान्ति सैनिक आफूलाई साहसिक, अनुशासित एवं व्यावसायिक परिचय दिलाउन सफल भएका छन् । सन् १९५८ मा लेबनानमा पाँच सैनिक पर्यवेक्षक खटाइ संयुक्त राष्ट्र सङ्घको विश्व शान्ति अभियानमा सहकार्य सुरु गरेको नेपाली सेना अहिले उक्त विश्व मञ्चको दह्रो सहयात्री बनेको छ । राष्ट्र सङ्घको छातामुनि रही नेपाली सेनाले जोखिमयुक्त कार्य र जिम्मेवारीलाई समेत सहजै स्वीकार गरी इमान्दार, व्यावसायिक र आदेशपालक ‘च्याम्पियन’ सैनिकको परिचय दिलाउन सफल रहेको सिरियास्थित युएन शान्ति मिसनका पूर्वफोर्स कमाण्डर ईश्वर हमाल बताउँछन् ।  पूर्वरथी हमाल भन्छन्, ‘नेपाली शान्ति सैनिक अनुभवी, अनुशासित, तटस्थ, व्यावसायिक, आदेशपालक र भरपर्दो सैनिकका रूपमा परिचित छ । जोखिम अवस्थामा पनि तत्कालै परिचालित हुने भएकाले पनि नेपाली शान्ति सैनिकलाई सबैले मन पराउँछन् ।’ विश्व शान्ति, सुरक्षा, समानता र परस्पर सम्मानको साझा उद्देश्यका साथ स्थापना भएको विश्व मञ्चमा नेपालको प्रवेश भने सन् १९५५ डिसेम्बर १४ मा भएको थियो । नेपालले सन् १९६९-७० र सन् १९८८-१९८९ मा दुईपटक राष्ट्र सङ्घको सुरक्षा परिषदको अस्थायी सदस्यको भूमिकासमेत सफलतापूर्वक निर्वाह गरिसकेको छ । त्यसो त नेपालको परराष्ट्र नीतिमै पनि राष्ट्र सङ्घकै बडापत्रको सिद्धान्तलाई सर्वाधिक प्राथमिकता दिइएको छ । द्वन्द्व ग्रस्त मुलुकमा शान्ति सैनिक पठाइने सिलसिलामा युएनको झण्डामुनि मात्र जाने नेपालले राष्ट्रिय नीति अवलम्बन गरेको छ । राष्ट्रको आव्हानमा पुरानो गोरख गण सन् १९७४ मा इजिप्टमा पहिलोपटक तैनाथ भएको थियो । त्यस समयदेखि सङ्घका अधिकांश शान्ति ‘मिसन’मा सक्रिय सहभागी हुँदै आएको छ । यस अवधिमा ४४ मिसनमा १ लाख ६२ हजार ४९६ ‘ब्लु हेल्मेट धारी’ शान्तिकामी नेपाली सैनिकले योगदान पुर्याइसकेका छन् । त्यसबापत सोही सङ्ख्यामा ‘राष्ट्रसङ्घीय शान्ति पदक’ प्राप्त गरिसकेका छन् । विश्व शान्ति अभियानमा तीन हजार ६६६ बढी नेपाली महिला शान्ति सैनिकको योगदान छ । यसबीचमा सेनाले इन्जिनियर, मेडिकल र विशेष फौजको टुकडीजस्ता विशिष्ट क्षमताको फौज सहभागी गराएर राष्ट्र सङ्घको शान्ति कार्यमा महत्त्वपूर्ण योगदान दिइरहेको छ । साइप्रस मिसनमा खटिएका नेपाली सेनाका पूर्वफोर्स कमान्डर रथी भिक्ट्रीशम्सेर जवरा (अप्रा) अन्तर्राष्ट्रिय जगत्मा मिसन हाक्ने गरी द्वन्द्वरत मुलुकमा फोर्स कमान्डर भएर जान पाउनु देश र सङ्गठनका लागि ठूलो अवसर भएको प्रतिक्रिया दिन्छन् ।  उनले भने, ‘त्यसबेला त्यहाँ युरोप, अष्ट्रेलिया, अर्जेन्टिना लगायत १५ मुलुकका करिब १ हजार ७०० जति शान्ति सैनिक परिचालित थिए । फोर्स कमान्डरका हैसियतले त्यसको नेतृत्वको जिम्मेवारी थियो ।’ नेपाली शान्ति सैनिकको कर्तव्यप्रति निष्ठा र उत्कृष्ट कार्यसम्पादनको राष्ट्र सङ्घलगायत निकायबाट उच्च प्रशंसा हुँदै आएको छ । विश्व शान्ति स्थापना कार्यमा परिचालित हुँदा हालसम्म ७४ नेपाली शान्ति सैनिकको वीरगति प्राप्त गरेका छन् भने ७७ जना गम्भीर घाइते भएका छन् । पछिल्लो समय युएनमा आर्थिक अभावका कारण द्वन्द्वरत मुलुकमा स्थापना भएका मिसनमा परिचालित हुने शान्ति सैनिकको सङ्ख्यामा कटौती गरिएको छ । विसं २०७९ मङ्सिरमा सेन्ट्रल अफ्रिकन रिपब्लिकमा शान्ति सैनिक तैनाथीसँगै मिसनमा सैनिक खटाउने मुलुकको सूचीमा नेपाल पहिलो वरियतामा पुगेको थियो । त्यसबेला नेपाली शान्ति सैनिकको सङ्ख्या सबैभन्दा बढी ६ हजार १६ पुगेको थियो । विश्वका १० मिसनमा हाल ३९१ महिलासहित चार हजार ३०२ नेपाली शान्ति सैनिक परिचालित छन् । महिला सैनिक खटाउने देशको सूचीमा पनि नेपाल अग्रस्थानमै छ । राष्ट्र सङ्घले विश्व शान्ति कार्यका लागि नोबेल पुरस्कार प्राप्त गर्नुमा नेपाली शान्ति सैनिकको पनि ठूलो योगदान छ । नेपालले अन्तर्राष्ट्रिय मञ्चमा शान्ति र समानताका लागि सदैव जोड दिँदै आएको छ । नेपाल सधैँ विश्व शान्ति र सद्भावका लागि प्रतिबद्ध छ । राष्ट्र सङ्घबाट नेपाललाई अनुरोध भइआएमा ६० दिनभित्र मिसनमा तैनाथ गराउन सक्ने गरी उपकरण र आवश्यक थप जनशक्ति तयारी अवस्थामा रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रलाई ‘सेन्टर अफ एक्सेलेन्स’ बनाउने लक्ष्य अनुरूप भौतिक पूर्वाधार स्तरोन्नतिको काम भइरहेको छ । त्यस स्थानमा शान्ति स्थापना कार्यमा बहुराष्ट्रिय शान्ति सैनिकबीच अन्तरसम्बन्ध र साझेदारी बढाउन संयुक्त राष्ट्र सङ्घको शान्ति अभियानसँग सम्बन्धित विभिन्न अभ्यासहरू सञ्चालन हुँदै आएको छ । जसअनुसार एक वर्षमा विदेशी ३१ र स्वदेशी ६४ जनाको सहभागितासहित चारवटा युएनसम्बन्धी विशिष्टिकृत तालिम सञ्चालन भयो । सोही अवधिमा उक्त केन्द्रमा १२ वटा शान्ति सेनाका युनिटका तीन हजार ५३१ जनालाई ‘प्रिडिप्लोयमेन्ट’ तालिम दिइयो । अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको कूटनीतिक सम्बन्ध हासिल गर्ने एक महत्त्वपूर्ण उपाय र संयन्त्रका रूपमा नेपाली शान्ति सैनिक रहेको छ । राष्ट्र सङ्घमा फौज उपलब्ध गराए बापत नेपाललाई प्राप्त हुने रकम विदेशी मुद्रा आर्जन गर्ने महत्त्वपूर्ण स्रोत हो । शान्ति मिसनमा काम गर्ने सिलसिलामा नेपाली शान्ति सैनिकले नेपालको मूल्य, मान्यता, संस्कृति, भाषा र जीवनशैलीलाई विश्वमाझ परिचित गराएका छन् । त्योसँगै विश्वका विभिन्न प्रणाली, प्रविधि र असल अभ्यासबारे जानकारी लिने अवसर प्राप्त भएको छ । परराष्ट्र सम्बन्ध विस्तारका हिसाबले दूतावास नभएका ठाउँमा खटिएका शान्ति सैनिकबाट प्रत्यक्ष नभए पनि परोक्ष रूपमा सम्बन्ध विस्तारमा सहयोग पुग्दै आएको छ । उदाहरणका लागि राष्ट्र सङ्घको शान्ति कार्यलाई सवलीकरण गर्ने उद्देश्यले शान्ति स्थापनासम्बन्धी विविध विषयमा छलफल गर्न संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रका परराष्ट्र र रक्षामन्त्रीको सहभागितामा प्रत्येक दुई वर्षमा मन्त्रीस्तरीय बैठक बस्दै आएको छ । जुन बैठकले विश्वका विभिन्न देशसँग नेपालको सम्बन्ध विस्तारमा सहयोग पुगिरहेको छ । सन् १९४५ अक्टोबर २४ मा संयुक्त राष्ट्र सङ्घको वडापत्र लागू भएको दिनको सम्झना स्वरूप संयुक्त राष्ट्र सङ्घले प्रत्येक वर्ष उक्त दिनलाई संयुक्त राष्ट्र सङ्घ दिवसका रूपमा मनाउँदै आइरहेको छ । सोही सिलसिलामा नेपाली सेनाले पनि वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा विविध कार्यक्रम आयोजना गरी ‘संयुक्त राष्ट्र सङ्घ दिवस’ मनाउँदै आएको छ । नेपाली सेनाको शान्ति मिसन यात्रा सुरु भएयता राष्ट्र सङ्घीय शान्ति मिसनमा रही नेपाली सेनाका उच्च अधिकृतले सेक्टर र फोर्स कमान्डरका रूपमा जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । यसअघि तत्कालीन रथी कृष्णनारायण सिंह थापा (कुवेत), रथी भिक्ट्रीशम्शेर जबरा (साइप्रस), उपरथी बालानन्द शर्मा (इजरायल/सिरिया), उपरथी पवनजङ्ग थापा (दक्षिण सुडान), उपरथी पूर्णचन्द्र थापा, रथी ईश्वर हमाल र रथी निर्मलकुमार थापाले (सिरिया) मिसनमा फोर्स कमान्डरको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरे । हाल दक्षिण सुडानमा बलाध्यक्ष रथी गणेशकुमार श्रेष्ठ कार्यरत छन् ।  राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहबाट दिव्योपदेशमा उल्लेख गरेअनुरूप ‘सिपाही भन्या तिषारी राख्न हुन’ भन्ने पक्षलाई अनुशरण गर्दै नेपाली सेनाले व्यावसायिक सीप र दक्षताका आधारमा विश्वका उत्कृष्ट सेनाको पङ्क्तिमा आफूलाई अब्बल सावित गरिरहेको छ । संयुक्त अधिराज्य बेलायतको वेल्सस्थित बे्रकनमा वार्षिक रूपमा आयोजना हुने अत्यन्तै कठिन र जोखिमयुक्त अभ्यास क्याम्ब्रियन र पाकिस्तानमा हुँदै आएका गस्तीमा नेपाली सेना तीनपटक सर्वोत्कृष्ट भई स्वर्ण पदक जित्न सफल भएको छ । बेलायतमा भएको प्रतियोगितामा ३७ राष्ट्रका १२१ अन्तर्राष्ट्रिय सैनिक टोलीलाई र पाकिस्तानमा भएको प्रतियोगितामा १७ राष्ट्रका ३८ सैनिक टोलीलाई पछि पार्दै नेपाली सेनाले प्राप्त गरेको नतिजाले नेपाली सेना एक कुशल, व्यावसायिक र लगनशील सैनिकका रूपमा विश्वभर स्थापित भएको छ । अत्यन्तै कठिन गस्तीका रूपमा रहेको उक्त अभ्यासमा जटिल परिस्थितिमा पनि आफ्नो फौजलाई जोगाएर मिसन पूरा गर्ने, खबर सङ्कलन गर्ने, अरूको हतियार नष्ट गर्ने, घाइते तथा बिरामीलाई उपचार गर्ने, विरोधीलाई पक्रने तथा रात्रिकालीन आक्रमण गर्ने कार्यमा नेपाली सेनाले आफ्नो गोर्खाली फौजको वीरता, साहस र व्यावसायिकता प्रदर्शन उजागर गरेको छ । विश्वका विभिन्न द्वन्द्वरत राष्ट्रमा खटिएको नेपाली शान्ति सैनिकले राष्ट्र सङ्घ र नेपालको मान, प्रतिष्ठा र इज्जत अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान गरिरहेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेत बताउँछन् । यस परिप्रेक्ष्यमा २६३औँ वार्षिकोत्सव मनाइरहँदा नेपाली सेनाले विश्व समुदायमाझ अनुशासित, विश्वसनीय र भरपर्दो शान्ति सैनिकको पहिचान बनाउन सफल भएको छ । रासस