विकासन्युज

पोखरा फाइनान्सले साँढे १३ प्रतिशत बोनस सेयर दिने

काठमाडौं, २३ साउन । पोखरा फाइनान्सले १३ दशमलब ५० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । साथै, फाइनान्सले कर प्रयोजनको लागि शुन्य दशमलब ७१ प्रतिशत नगद लाभांश दिने भएको छ । उक्त निर्णय साउन २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । समितिको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले परित गरेपछि मात्र सेयरधनीले सो लाभांश पाउने छन् ।

बीमा कम्पनीको शाखा विस्तार नीतिः शाखा ३ बर्षमा नाफामा जानै पर्ने

काठमाडौं, २३ साउन । बीमा समितिले बीमा कम्पनीहरुको शाखा विस्तार सम्बन्धि नीतिलाई थप परिमार्जन गरेको छ । समितिले बीमा कम्पनीको कार्यालय स्थापना तथा विस्तार सम्बन्धमा परिपत्र जारी गर्दै प्रदेशस्तरीय कार्यालय खोल्न पाउने, नयाँ शाखा ३ बर्षभित्रमा नाफामा जाने सुनिश्चितता देखिए मात्रै अनुमति माग्नु पर्ने, उपत्यका वाहिर २ ओटा शाखा खोलेपछि मात्रै उपत्यकामा नयाँ शाखा खोल्न पाइने र विदेशमा सम्पर्क तथा प्रतिनिधि कार्यालय खोल्न पाउने गरी नयाँ ब्यवस्था गरिएको जानकारी दिएको छ । बीमा कम्पनीले प्रदेश कार्यालय, शाखा, उप शाखा कार्यालय खोल्नका लागि प्रस्तावित स्थान वित्तीय रुपले सम्भाव्य रहेको स्थलगत सम्भाव्यता अध्ययन प्रतिवेदन बस्तुनिष्ठ रुपमा तयार भएको हुनुपर्र्नेे छ । सम्भाव्यता अध्ययन प्रतिवेदनमा प्रस्तावित क्षेत्रमा कार्यरत अन्य वीमकको अवस्थिति र तिनीहरुसँग व्यवसायमा हुने चुनौति र अवसरका साथै रणनैतिक योजना, शाखा स्थापनाका लागि हुने पुँजीगत तथा अन्य खर्चहरु, तीन वर्ष भित्रमा वीमा कारोबारबाट प्रस्तावित शाखा नाफामा संचालित हुन सक्ने औचित्यपूर्ण आधार समेत समावेश गर्नु पर्ने ब्यवस्था गरिएको छ । नयाँ शाखा स्थापना गर्नको लागि शाखा कार्यालयमा सुचना आदान प्रदान गर्नको लागि नेटवर्किङ गरी वा विद्युतीय माध्यमवाट केन्द्रीय कार्यालयमा सुचना प्रणालीमा तत्काल आवद्ध हुन सक्ने व्यवस्था गरेको हुनुपर्नेछ । समितिले नयाँ शाखा स्थापनको स्वीकृति दिएको मितिले २ महिनाभित्रमा शाखा कार्यालय खोली कारोबार सञ्चालन गरि सक्नु पर्ने बाध्यकारी ब्यवस्था पनि गरिएको छ । बीमा कम्पनीका दुई वा सो भन्दा कम शाखा रहेका काठमाण्डौं उपत्यका बाहेकका नगरपालिका वा गाउँ विकास समिति वा वीमकहरूको उपस्थिति न्युन रहेका र कुनै वीमकको शाखा कार्यालय नरहेको वा कुनै पनि वीमा कारोबार गर्ने इकाई नभएकोे गा.वि.स. वा नगर पालिकामा शाखा विस्तार गर्न प्राथमिकता दिनुपर्ने नयाँ ब्यवस्थामा भनिएको छ । समितिले तोके बमोजिम लघु वीमा, वा कृषि, वाली, पशुपंक्षी वीमा प्रयोजनका लागि खोलिएका शाखा कार्यालयहरु समेतलाई वीमकका शाखाको रुपमा गणना गरिने भएको छ । यस्तै ‘संघीय प्रदेशहरुमा प्रदेश सरकारका नीति र कार्यक्रम अन्तर्गत आफू मातहतका वीमकका शाखा, उप शाखा कार्यालयहरुको अनुगमन, निरीक्षण, सुप्रिवेक्षण तथा समितिसँग समन्वयात्मक रुपमा कार्य गर्ने गरि प्रदेश स्तरीय कार्यालय प्रत्येक प्रदेशमा खोल्न प्राथमिकता दिइनेछ,’ परिपत्रमा उल्लेख गरिएको छ । काठमाडौं उपत्यकामा पॉंच वा सो भन्दा बढी शाखा कार्यालय संचालनमा रहेका वीमकहरुलाई काठमाडौं उपत्यका बाहिर बीमा कम्पनीको उपस्थिति कम रहेको, तोकिएका जिल्लामा वा लघुवीमा वा कृषि, वाली, पशुपंक्षी वीमा सम्बन्धि काम गर्ने कुनै स्थानमा कम्तीमा एक शाखा र, काठमाण्डौ उपत्यका बाहिर अन्यत्र मध्ये जिल्ला सदरमुकाम तथा नगरपालिका भन्दा बाहिर कम्तीमा एक शाखा भएको अवस्थामा त्यस्ता स्थानमा दुईवटा शाखा खोली सञ्चालनमा ल्याए पश्चात मात्र काठमाडौं उपत्यकाभित्र थप एक शाखा खोल्न स्वीकृति प्रदान गर्न सकिने ब्यवस्था समितिले गरेको छ । उपत्यका भित्र शाखा खोल्न निवेदन पेश गर्दा यसरी खोलिने शाखाको लागि बाहिर खोलिएका शाखाहरुको विवरण पेश गर्नुपर्नेछ । साथै, उपत्यकाभित्र शाखा खोल्न स्वीकृति दिँदा चक्रपथ बाहिर तथा नगरपालिकामा खोल्न प्राथमिकता दिइने भनिएको छ । विदेशमा सम्पर्क/प्रतिनिधि कार्यालय खोल्ने ब्यवस्था नयाँ ब्यवस्थामा विदेशमा सम्पर्क वा प्रतिनिधि कार्यालय खोल्न पाउने ब्यवस्था पनि गरिएको छ । यसको लागि समितिले तोकेको न्युनतम चुक्ता पुँजी पुरा गरेको, संस्था र संस्थाका सञ्चालकलाई यस समितिबाट कुनै कारवाही गरिएको भए यस्तो कारवाही भएको ६ महिना पुरा भइसकेको जस्ता मापदण्ड पूरा गरेको हुनुपर्ने समितिले ब्यवस्था गरेको छ ।

ठेक्कापट्टाको राजनीति, गह्रुँगो सुटकेश र सुकुम्बासीको १० वटा घर समस्याका जड हुन्-दीपेन्द्रबहादुर क्षेत्री

राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष र नेपाल राष्ट्र बैंकको पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री राजनीतिक रुपमा कम्यूनिष्ट विचार मान्नुहुन्छ । विचार मात्र होइन, उहाँको व्यवहारमा पनि कम्यूनिष्टपन देख्न सकिन्छ । उहाँलाई सार्वजनिक सवारीमा यात्रा गरिरेको, फुटपाथमा हिडिरहेको, सामान्य पसलमा चिया पिउँदै गरेको अवस्थामा देख्न, भेट्न सकिन्छ । देशको आर्थिक, राजनीतिक र सामाजिक पक्षको बस्तुगत अध्ययनमा रमाउने र आफूलाई सत्य लागेको बोल्ने प्रष्ट वक्ता हुनुहुन्छ उहाँ । अस्थिर राजनीति र त्यसले अर्थतन्त्रमा परेको असरबारे उहाँसँग गरिएको विकास वहस यस अंकमा प्रस्तुत गरिएको छ । दीपेन्द्रबहादुर क्षेत्री, पूर्व उपाध्यक्ष, राष्ट्रिय योजना आयोग पहिलो पटक प्रचण्ड प्रधानमन्त्री भएपछि तपाई राष्ट्र बैंकको गभर्नर बन्नुभयो, बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बन्नुभयो, प्रचण्ड फेरी प्रधानमन्त्रीमा चुनिनु भएको छ, तपाई अब के बन्ने ? फुटपाथमा हिड्ने नेपालीले जे परिकल्पना गरेका छन् त्यसभन्दा बढी मैले पनि परिकल्पना गरेको छैन । तपाईले पुरानो प्रसंग उठाउनु भयो । त्यतिबेला माओवादी सबैभन्दा ठूलो दल थियो । जनताले पत्याएर निर्वाचित भएको सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बनेको थियो । प्रचण्डको करिष्मा र बाबुरामजीको बैचारिक शक्तिको कम्विनेशन थियो । यि दुई पात्रप्रति जनताको पनि विश्वास थियो, मेरो पनि विश्वास थियो । तर उहाँहरुले प्रतिवद्धता अनुसार काम गर्न सक्नुभएन । समाजको रुपान्तरण गर्न सक्नुभएन । बरु उहाँहरुलाई समाजले रुपान्तरण गर्यो । वर्तमान सरकारबाट धेरै अपेक्षा गर्नु झन् गलत हुन्छ । सरकारी नियुक्ती पाए पनि काम गर्ने अवस्था म देख्दिन । र, कुनै पद लिनेतर्फ सोचेको पनि छैन । तपाई माओवादीप्रति राजनीतिक रुपमा प्रतिवद्ध अर्थविद् होइन ? २०५२ सालमा जनयुद्ध शुरु भएपछि माओवादी पार्टीको नाम अगाडि आएको हो । त्यो भन्दा अगाडि कम्यूनिष्ट हो, नाम जे जे भएपनि । म कहिले कम्यूनिष्ट भए भनेर तपाईलाई सुनाउँदा पत्याउन गाह्रो होला । म चिनियाँ सास्कृतिक क्रान्तिबाट प्रभावित भएको २०१९/२० सालतिर । त्यतिबेला चीनमा सांस्कृतिक क्रान्ति उत्सर्गमा थियो । उनीहरुको प्रचार सामाग्रीहरुको ग्राहक नै बनेर पढ्ने मौका पाएँ । त्यतिबेला देखि नै कम्यूष्टिप्रति मेरो झुकाव भयो । जनताको हितमा बोल्नेहरु कुनै न कुनै राजनीतिक दर्शनप्रति विश्वास राखेर, त्यसलाई आधार मानेर काम गर्ने हो । म खान नपाएर पेट दोब्ब्रेका, गाला चाउरी परेको नेपालीको पक्षमा बोल्ने व्यक्ति हुँ म । हिलो र दुलो लागेको नेपालीको पक्षमा बोल्न चाहान्छु । उनीहरुको पक्षमा बोल्ने राजनीतिक दललाई म मान्छु । अहिले पनि माओवादीले पेट दोब्ब्रेका, गाला चाउरी परेका नेपालीको प्रतिनिधित्व गर्छन ? सैद्धान्तिक हिसावले हेर्दा को होइनन् जस्तो देखिन्छ । नेताहरु सत्तामा पुग्ने वित्तीकै राजनीतिक आन्दोलन सकियो, अब आर्थिक क्रान्ति गर्ने बेला आयो भन्छन् । साथ साथै के पनि भन्न थालियो भने ‘राजनीति जोगि बन्नको लागि गरिएको होइन’ । पछिल्लो अवधारणप्रति मेरो पटक्कै सहमति छैन । पैसाको लागि राजनीति गर्ने होइन, व्यापार, ठेक्कापट्टा गर्दा हुन्छ । तर गहिरिएर हेर्यो भने राजनीति ठेक्कापट्टा जस्तो भयो । गहुँगो सुटकेश बोकेर गयो भने सभासद् पनि हुने, सर्वोच्च अदालतको न्यायधिश पनि हुने, संबैधानिक निकायमा नियुक्ती पनि पाउने गरेको देख्न सकिन्छ । यस्तो विकृति झाँगिएर गयो । त्यतिमात्र होइन, राजनीति नेतृत्व र जनताबीचको सम्बन्ध कमजोर बनेको छ । प्रचण्डले नेतृत्व गर्ने माओवादीको संगठनात्मक स्वरुप हेर्नुभयो भने स्थानीय स्तरमा केही पनि छैन । हिजो युद्धमा लडेर, दुनियाँ खेपेर केन्द्रमा आउनु भएका नेताहरुलाई केन्द्रीय नेता प्रमाणित गर्ने हतार छ । विना जनता कुनै पार्टी र नेता दिगो हुन्छ ? केन्द्रीय समितिमा १४९९ जना छन् क्यारे ? रुट (जरो)मा त शून्य देख्छु म । तपाई आफूलाई कम्यूनिष्ट भन्न नै रुचाउनु हुन्छ ? के माओवादी नेताहरुको व्यवहार कम्यूनिष्टको जस्तो छ ? नेपालमा कम्यूनिष्ट नेताहरु छन् ? सिद्धान्तको आधारमा व्यवहार प्रदर्शन गर्नेहरु कम हुँदै गएको छन् । नेताहरुमा जतनाप्रतिको इमान्दारितामा ह्रास हुँदै गएको छ । सँगै जसले सिद्धान्त अनुसार व्यवहारमा उतार्छु भन्छ उसलाई मान्यता नदिने संस्कृतिको विकास हुँदै गएको छ । समाज कस्तो भयो भने पाखुरा बलियो हुने सुकुम्बासीले लाठ्ठी बजारेर १० ठाउँमा घर बनाउने र १० जनालाई दास बनाएर राख्ने प्रवृति हावी हुँदै गयो । जनस्तरमा यस्तै मान्छे स्थापित हुने, अरुले पनि यस्तै प्रवृति अनुसरण गर्ने संस्कृतिको विकास भयो । हिजो पुष्पलाललाई गद्दार भन्नेहरु अहिले उनीहरुलाई नै सम्मान गर्छन । बाबुराम प्रधानमन्त्री भएपछि पहिलो पटक पुष्पलालको शालिकमा माला लगाउन जानुभयो । अहिले प्रचण्डले पनि त्यहि गर्नुभयो । तपाईले मान्ने नेता डा.बाबुराम भट्टराई हो ? बाबुराम भट्टराई मैले आदर्शको रुपमा मान्ने नेता होइन । अरुको तुलनामा उहाँ बेटर लिडर हो । जसले सडकमा हिड्ने, धुलो र हिलोमा काम गर्ने जनताको पक्षमा बोल्छ, काम गर्न प्रयत्न गर्छ म त्यसलाई नेता मान्छु । फेरी पाकेको स्याऊ जस्तो गाला भएको नेपालीलाई नेपाली नै होइन, उनीहरुको कुरै सुन्नु हुन्न भन्ने पक्षमा पनि म छैन । अर्थराजनीतिकै कुरा गरौं । बजेट अन्तरगत विनियोजन विधेयक पास भयो, आश्रित विधेयकहरु फेल भए । नयाँ सरकारको अबको बाटो के हुन सक्छ ? शाही कालमा पनि, राणा कालमा पनि, पञ्चायत कालमा के गर्नु हुन्छ, के गर्नु हुन्न भन्ने निश्चित संस्कार थियो । २०४६ सालपछि राजनीतिक दल मिलेर जे गरे पनि हुने संस्कार विकास भयो । २०४७ सालको अन्तरिम सरकार (मन्त्रिपरिषद्) ले संसदले गर्नु पर्ने निर्णयहरु गर्यो । २०६३ सालमा आएको अन्तरिम संविधान ९ पटक संशोधन भयो । अहिले कै संविधानको कुरा गरौं, यो संविधान आउन खिलराज रेग्मीको नेतृत्वमा सरकार बन्यो । के राजनीतिक दलका नेताहरु झोली बोकेर पहेँलो बस्त्रमा बनारस गएका थिए ? अहिले संविधान आयो । विश्वको उत्कृष्ट संविधान भन्न पनि भ्याए । संविधान आउनुपूर्व विरोध पनि भए । यो संविधानको कमा र पुलिष्टप पनि परिवर्तन हुन सक्दैन भन्ने शक्ति सत्ता बाहिर पुग्यो, संविधान पुनरलेखन गर्नुपर्छ भन्नेहरु सत्तामा जाँदैछन् । अहिले संविधान संशोधनमा नै चित्त बुझाउँछु भनेका छन् क्यारे । बजेटमा भएको पनि यस्तै हो । नीति, नैतिकता र पद्दति नभएपछि यस्तै हुन्छ । जहाँ टेक्दा एकछिन अडिन सकिन्छ, त्यहि टेकेर अगाडि बढ्ने राजनीतिक संस्कार विकास भएको छ । नयाँ सरकारले पूरक बजेट ल्याउन सक्छ वा पुरानै मान्नुपर्छ ? पुरानै बजेटलाई मानेर जान वर्तमान सरकारलाई नैतिक धरातल छ । माओवादीसहितको सरकारले बजेट बनाएको हो, उनीहरुको सहभागिता र समर्थनमा बजेटको विनियोजन विधेयक पारित पनि यो । सरकारले चायो भने पुरक बजेट ल्याउन पनि सक्छ । सरकारको ठूलो दल नेपाली काँग्रेस हो । उसले हिजो पनि बजेटप्रति असन्तुष्टि जनाएकै हो । विष्णु पौडेलले ल्याएको बजेट अर्थतन्त्रको लागि ठिक छ कि छैन ? तपाई आफै भन्नुहोस, गुगलव्याई भन्ने नाम गरेको बालक प्रतिष्ठानलाई एक करोड रुपैयाँ दिन सक्ने अर्थतन्त्र छ नेपालको ? केपी ओलीको साम्राज्य विस्तार हुँदै जान्छे भनेर कसैले भनिदियो भन्दैमा उसलाई करोडौ रुपैयाँ दिने सरकारले कस्तो बजेट बनाउँछ ? बजेठ आफ्नो पकेट क्षेत्रलाई खुशी बनाउने गरि ल्याइएको छ, वितरण मुखी छ । यसले अर्थतन्त्रमा ठूलो योगदान गर्दैन । योजना आयोगले ९ खर्ब ९ अर्बको बजेट सिलिङ त्योक्यो । रिपोटर्स क्लबमा मैले पत्रकारसँग त्यतिबेलै भनेको थिए–सरकारले १० खर्ब ५० अर्बको बजेट ल्याउछ, सरकार ढुकुटीको पैसा बाँडेर जनतालाई खुशी बनाउँन चाहान्छ भनेर । आखिरी सरकारले १० खर्ब ४८ अर्ब ९८ करोडको बजेट ल्यायो । मेरो मुखमा सरस्वती बस्नु भएको रहेछ भन्छु म त । यो सरकारले पूरक बजेट ल्याउँछ वा ल्याउँदैन ? तपाईको भविष्यबाणी के हो ? अहिलेको बजेट छोडेर माओवादीले पाउने के ? नेपाली काँग्रेसले पाउने के ? एउटा राइटिष्ट पार्टी छ, अर्को लेफ्टिष्ट पार्टी छ । उनीहरुको बीचमा पनि मान्य बजेटको खोजी हुनुपर्छ । त्यसकारण अहिलेको बजेट नै मानेर जाने सम्भावना बढी छ । काँग्रेस नेता रामशरण महतले पनि आईसकेको बजेटलाई मान्ने कुरा गरिरहनुभएको छ । नयाँ बजेट ल्याउनको लागि अर्थमन्त्रीलाई सजिलो पनि छैन । बजेट वितरण मुखी आएको कुरा पनि गर्नुभयो । जुनसुकै सरकार पनि जनतालाई पैसा बाँड्ने होडबाजीमा लागेको छ । अहिले कै सरकारले पनि नाकाबन्दी गर्ने आन्दोलनमा मारिएका परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गर्यो ? जबसम्म आर्थिक समृद्धि हुँदैन तबसम्म सरकाले यस्तो फेशन निर्णय गरिरहन्छ । राजश्वले चालु खर्च धान्न नसक्ने अवस्था छ । पूर्वाधार निर्माणमा सरकारले खर्च गर्न सकेको छैन । परनिभरता बढ्दो छ । सरकार क्यास बाँड्न आतुर देखिन्छ । यो संस्कार, प्रवृति अर्थतन्त्रको लागि हानिकारक छ । सीमा पारीबाट वारी ढुंगा हान्ने र नाकाबन्दी गर्ने क्रममा ज्यान गुमाएका परिवारलाई १० लाख, बाढी पहिलोबाट परिवारको ३/४ जना गुमाएको छ भने उनीहरुको परिवारलाई १ लाख रुपैयाँ बाँडिरहेको छ सरकारले । यो कति सहि अभ्यास हो ? यो गलत मानसिकताको उपज हो । कतिसम्म भएको छ भने अपराध गरेर जेझमा परेको व्यक्तिलाई शहिद घोषणा गर भनेर जिल्ला बन्द गर्ने पार्टी अहिले सरकारमा छ । शहिदहरुको उपहास भएको छ । आर्थिक वृद्धि एक प्रतिशतभन्दा कम छ, ९/९ महिनामा सरकार परिवर्तन हुन्छ, नेपाली जनतालाई गणतन्त्रको उपहार यहि हो ? त्यसो पनि नभनौं । राष्ट्रपति महिला हुनुभयो, सभामुख महिला हुनुभयो, प्रधानन्यायधिश महिला हुनुुभयो । प्रधानसेनापति र प्रहरी महानिरीक्षकमा पनि महिलाको अपेक्षा हुन थालेको छ । शान्ता चौधरी जस्ता मान्छेलाई अवसर दिने काम गणतन्त्रले नै दिएको छ । हिलाहरुले यो स्थान पाउनुमा जनयुद्धलाई शाख दिनुपर्छ । त्यसमा पनि महिलाहरु सहभागीता धेरै महत्वपूर्ण छ । माओवादी सेनामा महिलाको प्रयोगले सेना र प्रहरीमा महिलाले प्रवेश पाए । जनचेतना, सामाजिक, सास्कृतिक परिवर्तन धेरै भएको छ । गणतन्त्रपछि पनि सबैभन्दा ठूलो समस्या राजनीतिक अस्थिरता हो । राजनीतिक स्थिरताको लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतिय प्रणाली जरुरी छ ।

सिद्धार्थ डेभलपमेन्ट बैंकको नाफा १३२ प्रतिशतले वृद्धि

काठमाडौं, २३ साउन । सिद्धार्थ डेभलपमेन्ट बैंकको नाफा १३२ दशमलब १६ प्रतिशतले बढेको छ । बैंकले २०७३ असार मसान्तसम्ममा आफ्नो नाफा १३२ दशमलब १६ प्रतिशतले वृद्धि गरेर ३३ करोड १३ लाख पुर्याएको हो । बैंकले २०७२ असार मसान्तसम्म्ममा जम्मा १४ करोड २७ लाख नाफा आर्जन गरेको थियो । बैंकले आर्जन गरेको नाफामा १६ करोड २० लाख रुपैंयाँ भने राइट ब्याकबाट प्राप्त भएको छ । बैंकले आफ्नो खराब कर्जालाई ४ दशमलब शुन्य ४ प्रतिशतबाट घटाएर २ दशमलब ४१ प्रतिशतमा झारेको छ । बैंकले सो अवधीमा १२ अर्ब ३२ करोड निक्षेप संकलन गरेर १० अर्ब ५८ कर्जा तथा सापटी प्रवाह गरेको देखिन्छ ।

सार्वजनिक खरिद एेन विपरित हिमालय एयरलाइन्सलाई एयरपोर्टभित्र जग्गा, विमानस्थलभित्रै कार्यालय

काठमाडौं, २२ साउन । नागरिक उड्डयन प्राधिकरणले अवैधानिक रुपमा हिमालय एयरलाइन्सलाई विमानस्थलभित्र कार्यालय खोल्ने सुविधा दिएको खुलेको छ। यो विमानस्थलभित्रको अति संवेदनशिल क्षेत्र हो। हिमालयलाई यसरी संवेदनशील स्थानमा जग्गा उपलब्ध गराइँदा विमानस्थलको सुरक्षा व्यवस्थामा प्रश्न उठ्नुका साथै सार्वजनिक खरिद ऐनसमेतको उल्लंघन भएको छ । हिमालयले विमानस्थलको सिनामंगलतर्फ नेपाल आयल निगमले हवाई इन्धन भण्डारण गर्ने ट्यांकीनजिक कार्यालयसमेत स्थापना गरिसकेको छ । पुर्ववर्ती सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र पर्यटनमन्त्री आनन्द पोखरेलको निर्देशनमा प्राधिकरणले सरकारी जग्गा निजी क्षेत्रको एयरलाइन्सलाई दिएको हो। हिमालय एयरलाइन्सले कुनै प्रक्रिया पूरा नगरी सो जग्गा पाएको खुलासा भएको हो। एयरलाइन्समा तिब्बत एयरलाइन्स र यती वल्र्ड इन्भेस्टमेन्टको लगानी छ । सिनामंगलमा रहेको विमानस्थल क्षेत्रमा झन्डै १ रोपनी जग्गा थोरै भाडा तिर्ने गरी अनुमति दिइएको पाइएको छ ।   तत्कालीन प्रधानमन्त्री ओलीले चीन भ्रमणमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको विमान प्रयोग नगरेर उडान नै सुरु नगरेको  हिमालयन एयरलाइन्सको जहाज चार्टर गरेर लगेका थिए ।   हिमालयलाई तीन महिना अगाडि नै अनुमति दिइएको पाइएको छ । एयरलाइन्सले अनुमति पाएपछि रातारात भवन बनाएर कार्यालय सञ्चालनमा ल्याइसकेको छ ।  

कुमारी बैंकको नाफा साढे ३४ करोडले बढ्यो

काठमाडौं, २३ साउन । कुमारी बैंक लिमिटेडले आफ्नो नाफा ३४ करोड ५० लाख रुपैंयाँले वृद्धि गरेको छ । २०७२ असार मसान्तमा ३९ करोड ४७ लाख नाफा आर्जन गरेको कुुमारी बैंकले २०७३ असार मसान्तमा ७४ करोड १ लाख नाफा कमाउन सफल भएको हो । यो नाफा अघिल्लो अवधीको भन्दा ८७ दशमलब ५० प्रतिशतले बढि हुन्छ । बैंकले आर्जन गरेको नाफामा ४३ करोड २० लाख राइट ब्याकबाट प्राप्त गरेको देखिन्छ । २ अर्ब ६९ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा एक अर्ब ३८ लाख रुपैंयाँ रहेको छ । बैंकले सो अवधीमा खराब कर्जालाई २ दशमलब ४९ प्रतिशतबाट घटाएर एक दशमलब ११ प्रतिशतमा सिमित गराएको छ । कुमारी बैंकको प्रति सेयर आम्दानी २७ रुपैंयाँ ४२ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १५१ रुपैंयाँ ४३ पैसा रहेको छ । बैंकले ३७ अर्ब ९५ करोड निक्षेप संकलन गरेर ३० अर्ब ११ करोड रुपैंयाँ कर्जा तथा सापटी प्रवाह गरेको छ ।

जनता बैंकको नाफा ११६ प्रतिशतले वृद्धि

काठमाडौं, २३ । जनता बैंकको नाफा ११६ प्रतिशतले बढेको छ । बैंकले २०७३ असार मसान्तसम्ममा आफ्नो नाफा १७ करोड ५० लाखले बढाएर ३२ करोड ५३ लाख पुर्याएको हो । २०७२ असार मसान्तसम्ममा बैंकले जम्मा १५ करोड ३ लाख नाफा कमाउन सफल भएको थियो । एक दशमलब १५ प्रतिशत खराब कर्जा रहेको बैंकले ५ करोड ५४ लाख रुपैंयाँ राइट ब्याकबाट प्राप्त गरेको छ । ४५ करोड ७६ लाख रुपैंयाँ सञ्चालन मुनाफा आर्जन गरेको बैंकले एक अर्ब ७८ करोड ब्याज आम्दानी गरेर एक अर्ब ३ करोड ब्याज खर्च गरेको छ । बैंकको प्रति सेयर आम्दानी १५ रुपैंयाँ ७९ पैसा छ भने प्रति सेयर नेटवर्थ १३० रुपैंयाँ २४ पैसा रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा २ अर्ब ५९ करोड

काठमाडौं, २३ साउन । नेपाल इन्भेष्टमेन्ट बैंकले २०७३ असार मसान्तसम्ममा २ अर्ब ५९ करोड नाफा कमाएको छ । यो नाफा बैंकले २०७२ असार मसान्तममा आर्जन गरेको भन्दा ६३ करोड अर्थात ३२ दशमलब १४ प्रतिशतले बढि हो । २०७२ असार मसान्तसम्ममा बैंकले जम्मा एक अर्ब ९६ करोड नाफा कमाउन सफल भएको थियो । ७ अर्ब २५ करोेड चुक्ता पुँजी रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको जगेडा कोषमा १० अर्ब ६२ करोड रुपैंयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी ३५ रुपैंयाँ ८२ पैसा छ भने प्रति सेयर नेटवर्थ २४६ रुपैंयाँ ३८ पैसा रहेको छ । बैंकले एक खर्ब निक्षेप संकलन गरेर ८७ अर्ब कर्जा तथा सापटी दिएको छ ।