काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिने राजकीय भ्रमणमा आज बिहान १० बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँदिल्लीतर्फ प्रस्थान गर्दैछन् ।

भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद डा आरजू राणा देउवाका साथ ५० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै प्रधानमन्त्री देउवा आज भारत भ्रमणमा जान लागेका हुन् ।
भारतको नयाँदिल्लीमा बिहीबार द्विदेशीय उच्चस्तरीय वार्तासहित भेटघाट र अन्य कार्यक्रममा प्रधानमन्त्री देउवा व्यस्त हुनेछन् । भारत भ्रमणको मुख्य काम पनि सोही दिन नै सकिने छ । भ्रमणमा नयाँ भन्दा पनि पुराना सम्झौता कार्यन्वयनमा नेपालले जोड दिने छ । दुई मुलुकबीच आर्थिक एवम अन्य क्षेत्रमा धेरै सम्झौता भएपनि कार्यन्वयन हुन सकेका छैनन् ।
सो अवसरमा ४ विभिन्न क्षेत्रमा ७ समझदारी गर्ने तयारी भएको छ । भूकम्पपछिको पुननिर्माणका लागि सम्झौता हुने बताइएको छ । यसैगरी मेचीमा पुल बनाउने, गुणस्तरमा मान्यता र लागुऔषधी ओसारपसार नियन्त्रयण गर्ने विषयमा समझदारी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । पुननिर्माणमा भारतले दिने प्रतिवद्धता जनाएको २५ अर्ब अनुदान सहयोग परिचालन गर्ने विषयमा समझदारी हुने बुझिएको छ ।
नेपालमा गुणस्तर चिन्ह पाएका उत्पादनले सहज रुपमा भारतमा बजार पाउनका लागि समझदारी हुने बताइएको छ । दुई देशबीच निजगढ विमानस्थल, पुर्वपश्चिम रेल परियोजना र हुलाकी सडक निर्माणका विषयमा पनि थप छलफल हुने कार्यक्रम रहेका छन् ।
]लामो समयदेखि चर्चामा रहेको तर सुस्त गतिमा अघि बढेको ५ हजार मेगावाटको पञ्चेश्वर बहुउद्धेशिय परियोजना अघि बढाउने विषयमा छलफल हुने भएको छ । परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भएपछि यसमा सहमति जुट्न सकेको छैन् ।
प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा यस बिषयमा सहमति जुट्ने अपेक्षा गरिएको छ ।
यस्तै भारतले सीमावर्ति क्षेत्रमा बनाएको बाँधले नेपालको तराई क्षेत्र डुवानमा परेपछि भएको ठुलो धनजनको क्षति र यसको दीर्धकालिन समधानका लागि छलफल हुने कार्यक्रम छ । कोशी गण्डकी र टनकपुरमा पानी प्रावह नियन्त्रण, कोशी बाढीबाट पीडितलाई राहद दिलाउने विषयमा छलफल हुनेछ ।
बिहीबार साँझ नै प्रधानमन्त्रीले भारतका उद्योगी–व्यवसायीको साझा संस्था एशोशिएटेड चेम्बर्स अफ कमर्श एण्ड इण्डस्ट्री अफ इन्डियाले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने छन् ।
बिहीबार बिहान राष्ट्रपति भवनमा प्रधानमन्त्री देवालाई समकक्षी प्रधानमन्त्री मोदीले औपचारिक समारोहबीच स्वागत गर्ने कार्याक्रम तय भएको छ । बिहीबार प्रधानमन्त्री देउवासँग भारतका विदेशमन्त्री सुस्मा स्वराजले शिष्टाचार भेट हुने छ । त्यसपछि हैदरवाद हाउसमा दुवै देशका प्रधानमन्त्रीबीच भेटवार्ता हुनेछ ।
वार्तापछि प्रधानमन्त्रीद्वयको उपस्थितिमा सम्बन्धित अधिकारीले द्विपक्षीय समझदारी र सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ । सो अवसमा नेपाल–भारत अन्र्तगतको कटैया–कुसाह १३२ केभी प्रसारणलाइनको दूरनियन्त्रित यन्त्रबाट प्रधानमन्त्रीले शुभारम्भ गर्ने कार्यक्रम छ । यो लाइनबाट थप ५० मेगावाट बिजुली आयात हुने छ । भ्रमणका क्रममा विद्युत व्यापारको विषयमा पनि छलफ हुने छ ।
प्रधानमन्त्री मोदीले आफ्नो सम्मानमा हैदरावाद हाउसमा आयोजना गर्नुहुने दिवाभोजमा प्रधानमन्त्री देउवा सरिह हुनेछन् ।
सोही दिन अपराह्न राष्ट्रपति भवनमा भारतका राष्ट्रपति रामनाथ कोबिन्द र उपराष्ट्रपति बेंकैया नैडूसँग प्रधानमन्त्री देउवाले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री देउवासंग भारतीय गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेट्ली, भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष तथा सांसद सोनिया गान्धी र पूर्वप्रधानमन्त्री मनमोहन सिंहले छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
सोही दिन साँझ इण्डिया फाउण्डेशनले नेपाल–भारत सम्बन्धबारे आयोजना गर्ने अन्तक्र्रियामा सहभागी भएर प्रधानमन्त्री देउवा आफ्नो सम्मानमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले आयोजना गर्ने रात्रिभोजमा सरिक हुनुहुनेछ ।
शुक्रबार अपराह्न प्रधानमन्त्री विशेष विमानबाट हैदरावादतर्फ प्रस्थान गर्नेछन् । त्यहाँ उहाँले तेलांगना र आन्ध्रप्रदेशका राज्यपाल इएसएल नरसिंहनसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सोही दिन अपराह्न नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रधानमन्त्री साँझ स्वदेश फर्कने कार्यक्रम छ ।
बाँधको विषयमा कुरा उठाउनुस : ओली
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले सीमामा एकतर्फी रुपमा बाँध र तटवन्ध निर्माण गरेका कारण नेपाली भूभाग डुवानमा परेको बताउदै यसको दीर्धकालिन समस्या समधानका लागि भारतीय पक्षसंग कुरा गर्न सुझाएका छन् ।
उनले तटवन्ध संरचना भत्काउन माग गरेका छन् । प्रधानमन्त्री देउवालाई सुझाप पेश गर्दे उनले भारत र चीनबीचको विवादमा तटस्थ रहन सुझाएका छन् । परराष्टविद्ले पनि पुराना सन्धी र समझौता कार्यन्वयनमा जोड दिएका छन् । रासस