काठमाडौं । डलर देखाएर सर्वसाधारणलाई ठगी तथा लुटपाट गर्दै आएका एक युवकको साथबाट प्रहरीले नक्कली सुन, डलरको आकारमा तयार पारिएका कागजका बन्डल र ठगीमा प्रयोग हुने विभिन्न सामग्री बरामद गरेको छ ।
प्रहरीले ठगीमा संलग्न रहेको आरोपमा सिन्धुपाल्चोकको बाह्रबिसे गाउँपालिका–३ घर भएका २८ वर्षीय सुजन तामाङलाई बिहीबार पक्राउ गरेको छ ।
उनको साथबाट एक किलोको नक्कली सुनको ढिक्का, अमेरिकी डलरको आकारमा काटिएका सेता कागजका बन्डल र अन्य सामग्री बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
प्रहरीका अनुसार तामाङले काठमाडौं, भक्तपुर, ललितपुर र सिन्धुपाल्चोकमा विभिन्न मितिमा डलर देखाएर ठगी तथा लुटपाट गर्दै आएका थिए । उनीविरुद्ध यी जिल्लामा ठगीसम्बन्धी मुद्दासमेत दर्ता भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई बुधबार साँझ ६ः४५ बजे गोकर्णेश्वर नगरपालिका–३ गाम्चास्थित सडकबाट नियन्त्रणमा लिन खोजेको थियो ।
तर, पक्राउ गर्ने क्रममा तामाङले प्रहरीमाथि नै धारिलो चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट एक प्रहरी घाइते भएका छन् ।
तामाङले निरन्तर आक्रमणको प्रयास गरेपछि प्रहरीले सुरुमा चेतावनीस्वरूप एक राउण्ड हवाई फायर गरेको थियो ।
त्यसपछि पनि आक्रमणको प्रयास नरोकिएपछि प्रहरीले घुँडामुनि लक्षित गरी एक राउण्ड गोली चलाएको जनाएको छ । गोली लागेर घाइते भएका तामाङलाई उपचारका लागि ट्रमा सेन्टर पठाइएको छ ।
प्रहरीले उनको साथबाट ठगीमा प्रयोग गरिएका मोटरसाइकल र नक्कली नम्बर प्लेटसमेत बरामद गरेको छ । त्यस्तै, नेपाली २० रुपैयाँका चार बण्डल र डलरको आकारमा काटेर तयार पारिएका सेता कागजका बण्डल फेला परेका छन् ।
कागजका बण्डलको माथि र तल पाँच–पाँच अमेरिकी डलर राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
यसका अतिरिक्त एक किलोको नक्कली सुनको ढिक्का र विभिन्न कम्पनीका मोबाइलसमेत बरामद गरिएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।