काठमाडौं । एमबीबीएस इन्टर्न चिकित्सक डिल्ली हरिजन पुनः आमरण अनशनमा बसेका छन् ।
सहमति भएको दुई महिना बितिसक्दा पनि माग कार्यान्वयन नभएको भन्दै उनी अनसन बसेका हुन् । एमबीबीएसरबीडीएस इन्टर्न चिकित्सकसँग भएको पाँचबुँदे सहमति कार्यान्वयनको माग गर्दै उनले चिकित्सा शिक्षा आयोगको प्रांगणमा आमरण अनशन सुरु गरेका हुन् ।
उनले आन्दोलनरत चिकित्सकले पटक–पटक ध्यानाकर्षण गराउँदा अपेक्षित रूपमा गम्भीर पहल तथा निर्णय नभएको आरोप लगाउँदै आफ्ना जायज मागको सुनुवाइ र कार्यान्वयनका लागि पुनः आमरण अनशन सुरु गर्न बाध्य भएको बताए ।
इन्टर्न चिकित्सकको पारिश्रमिक र श्रमको मूल्यांकन गर्नुपर्नेलगायत माग राखेर उनी गत साउन १९ गते माइतीघरमा आमरण अनशन बसेका थिए । सरकारले साउन २२ गते पाँचबुँदे सहमति गरेपछि अनशन तोडेका थिए । हरिजनले आफ्नो माग व्यक्तिगत नभई हजारौँ एमबीबीएस तथा बीडीएस विद्यार्थी र इन्टर्न चिकित्सकको भविष्यसँग जोडिएको विषय भएको बताए ।
एमबीबीएस, बीडीएसलगायत एकवर्षे इन्टर्नसिपमा स्वास्थ्य सेवाको आठौँ तहको प्रारम्भिक तलबमानको ५० प्रतिशत बराबर निर्वाह भत्ता उपलब्ध गराउने विषयमा छलफल गर्ने, स्वीकृत शुल्कबाहेक अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था गर्ने, एमबीबीएस तथा बीडीएस विद्यार्थीका लागि छात्रावासलाई अनिवार्य नभई वैकल्पिक बनाउने, इन्टर्न तथा आवासीय चिकित्सकको कार्य घण्टा श्रम ऐनअनुसार समान बनाउन समिति गठन गर्ने र मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क छानबिन गरी फिर्ता गराउनेलगायत पाँचबुँदे सहमति भएको थियो ।