सन् २०३० सम्म रेबिज मृत्यु शून्यमा झार्ने सरकारको लक्ष्य

काठमाडौं । सरकारले सन् २०३० सम्म कुकुरबाट सर्ने रेबिजका कारण हुने मानव मृत्युलाई शून्यमा झार्ने लक्ष्य अघि सारेको छ । 

विश्व रेबिज दिवस २०२६ को अवसरमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले रेबिज नियन्त्रण तथा रोकथामका लागि ‘एक स्वास्थ्य अवधारणा’अनुसार रणनीतिक काम अघि बढाइएको जनाएको हो ।

हरेक वर्ष सेप्टेम्बर २८ मा मनाइने विश्व रेबिज दिवस यस वर्ष ‘एकतामा शक्ति, रेबिजबाट मुक्ति’ भन्ने नाराका साथ मनाइँदैछ । रेबिजविरुद्धको पहिलो खोप विकास गर्ने वैज्ञानिक लुई पास्चरको स्मृतिमा यो दिवस मनाउने गरिन्छ ।

महाशाखाका अनुसार नेपालमा रेबिज अझै गम्भीर जनस्वास्थ्य समस्याका रूपमा रहेको छ । आर्थिक वर्ष २०८१/८२ मा मात्रै देशभर २ लाख ३३ हजार ५१० वटा जनावरको टोकाइका घटना दर्ता भएका छन् ।

दर्ता भएका टोकाइका घटनामध्ये करिब ९६ प्रतिशत कुकुरबाट हुने गरेका छन् । मानिसमा हुने रेबिज संक्रमणका करिब ९९ प्रतिशत घटना पनि कुकुरको टोकाइसँग सम्बन्धित रहेको महाशाखाले जनाएको छ ।

नेपालमा प्रत्येक वर्ष करिब १०० जनाको रेबिजका कारण मृत्यु हुने अनुमान गरिएको छ । देशको करिब आधा जनसंख्या रेबिजको उच्च जोखिम क्षेत्रमा रहेको र बालबालिका विशेष जोखिममा रहेको महाशाखाले जनाएको छ ।

रेबिजविरुद्धको सेवा विस्तार गर्दै सरकारले हाल देशभरका २८६ वटा सेवा केन्द्रबाट खोप सेवा उपलब्ध गराइरहेको छ । सन् २०३० सम्म कुकुरबाट हुने मानव रेबिज मृत्यु शून्यमा झार्न निगरानी तथा प्रयोगशाला प्रणाली सुदृढ गर्ने, कुकुरको सामूहिक खोप तथा जनसंख्या व्यवस्थापन गर्ने र प्रदेशस्तरमा रेबिज निवारण रणनीति तथा रोडम्याप विकास गर्ने काम अघि बढाइएको छ ।

यस्तै, घरपालुवा कुकुर तथा बिरालोलाई नियमित खोप लगाउने र बालबालिकालाई जनावरसँग सुरक्षित व्यवहार गर्न सिकाउने विषयमा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमसमेत सञ्चालन भइरहेको महाशाखाले जनाएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार रेबिज विश्वभरकै गम्भीर जनस्वास्थ्य समस्यामध्ये एक हो । 

विश्वभर हरेक वर्ष करिब ५९ हजार ९१० जनाको रेबिजका कारण मृत्यु हुने अनुमान छ । रेबिजका कारण हुने मृत्युको ठूलो हिस्सा दक्षिणपूर्वी एसिया र अफ्रिकी मुलुकमा हुने गरेको छ । रेबिजबाट ज्यान गुमाउनेमध्ये करिब ४० प्रतिशत १५ वर्षभन्दा कम उमेरका बालबालिका रहेका छन् ।

रेबिज संक्रमण भएपछि लक्षण देखिन थालेको अवस्थामा उपचार प्रभावकारी हुँदैन । तर जनावरले टोकेपछि समयमै उचित सावधानी अपनाएमा रेबिजबाट हुने मृत्यु रोक्न सकिन्छ ।

महाशाखाले कुकुर, बिरालो वा अन्य सम्भावित रेबिज संक्रमित जनावरले टोकेमा वा चिथोरेमा घाउलाई साबुन र बगिरहेको पानीले कम्तीमा १५ मिनेटसम्म राम्ररी धुन आग्रह गरेको छ । घाउमा खुर्सानी, तेल, माटो, जडीबुटी वा अन्य घरेलु पदार्थ नलगाउन पनि महाशाखाले सचेत गराएको छ ।

घाउ सानो भएको भन्दै बेवास्ता नगरी तत्काल नजिकैको स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्यकर्मीको सल्लाहअनुसार रेबिजविरुद्धको खोप तथा आवश्यक उपचार प्रक्रिया पूरा गर्न महाशाखाले आग्रह गरेको छ ।

Share News