काठमाडौं । कुमारी बैंक लिमिटेड वित्तीय गतिविधिबाट हुने हरितगृह ग्यास उत्सर्जन मापन तथा व्यवस्थापन गर्ने विश्वव्यापी पहलमा आबद्ध भएको छ ।
बैंक वित्तीय कार्बन लेखांकनका लागि साझेदारी (पीसीएएफ) मा आबद्ध भएको हो । यससँगै बैंकले आफ्ना ऋण तथा लगानीबाट हुने हरितगृह ग्यास उत्सर्जन मापन गरी सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ ।
पीसीएएफ वित्तीय संस्थाहरूको विश्वव्यापी सहकार्य हो । यसले बैंक तथा वित्तीय संस्थालाई ऋण र लगानीबाट हुने कार्बन उत्सर्जन मापन तथा सार्वजनिक गर्न साझा मापदण्ड उपलब्ध गराउँदै आएको छ ।
कुमारी बैंकले पीसीएएफको सदस्य बनेसँगै आफ्ना ऋण तथा लगानीको वातावरणीय प्रभावबारे थप जानकारी प्राप्त गर्ने जनाएको छ । प्राप्त जानकारीलाई आगामी दिनमा वित्तीय निर्णय, जोखिम व्यवस्थापन तथा दिगो वित्तसम्बन्धी योजनामा प्रयोग गरिने बैंकले जनाएको छ ।
बैंकका अनुसार यस पहलले जलवायु परिवर्तनसँग सम्बन्धित जोखिम पहिचान गर्न र त्यसको व्यवस्थापन गर्न सहयोग पुग्नेछ । साथै, बैंकको वित्तीय गतिविधिमा वातावरणीय पक्षलाई थप प्राथमिकता दिनसमेत मद्दत पुग्नेछ ।
कुमारी बैंकका दिगो बैंकिङ विभागका प्रमुख अर्पण पौडेलले पीसीएएफमा आबद्ध हुनु बैंकको दिगोपन यात्राको महत्वपूर्ण कदम भएको बताए ।
उनले वित्तीय गतिविधिबाट हुने उत्सर्जनबारे स्पष्ट जानकारी प्राप्त हुँदा जलवायु रणनीति बलियो बनाउन र पारदर्शिता बढाउन सहयोग पुग्ने बताए ।
कुमारी बैंकले दिगो वित्तका अवसर विस्तार गर्दै आफ्ना बैंकिङ गतिविधिमा वातावरणीय तथा जलवायु सम्बन्धी विषयलाई थप समेट्ने जनाएको छ । साथै, नेपालका दीर्घकालीन जलवायु तथा विकासका लक्ष्यमा योगदान पुर्याउन विभिन्न सरोकारवालासँग सहकार्य गर्ने बैंकले जनाएको छ ।
कुमारी बैंकका देशभर २७९ शाखा, २९६ एटीएम, ४१ विस्तारित काउन्टर, ४० शाखारहित बैंकिङ एकाइ र १ हजार २३३ विद्युतीय भुक्तानी केन्द्र रहेका छन् । बैंकले डिजिटल तथा मोबाइल बैंकिङ सेवासमेत सञ्चालन गर्दै आएको छ ।
वित्तीय कार्बन लेखांकनका लागि साझेदारी सन् २०१९ मा स्थापना भएको विश्वव्यापी पहल हो । हाल ७०० भन्दा बढी वित्तीय संस्था यसमा आबद्ध भइसकेका छन् । सहभागी संस्थाहरूले आफ्ना ऋण तथा लगानीबाट हुने हरितगृह ग्यास उत्सर्जन मापन र सार्वजनिक गर्दै आएका छन्।