नेपालको अर्थतन्त्रबारे बहस गर्दा हामी प्रायः समस्या र निराशाका तथ्यांक मात्र अगाडि सार्छौं । उद्योग चलेनन्, रोजगारी सिर्जना भएन, व्यापार घाटा बढ्यो, युवाहरू विदेश गए, यी सबै वास्तविकता हुन् । तर अर्थतन्त्रको अर्को तस्बिर पनि छ, जुन त्यति धेरै चर्चामा आउँदैन ।
पछिल्ला तथ्यांक हेर्ने हो भने नेपालभित्र केही महत्त्वपूर्ण संरचनात्मक परिवर्तन भइरहेका छन् । सूचना प्रविधि, जलविद्युत्, विदेशी मुद्रा सञ्चिति, रेमिट्यान्स तथा निर्यातका क्षेत्रमा देखिएका संकेतले नेपाली समाजलाई निराशाभन्दा सम्भावनातर्फ हेर्नुपर्ने आधार दिएका छन् ।
सबैभन्दा पहिले विदेशी मुद्रा सञ्चिति हेर्नुपर्छ । नेपाल राष्ट्र बैंकका अनुसार विदेशी मुद्रा सञ्चिति करिब २५ अर्ब अमेरिकी डलर पुगेको छ । यो सञ्चितिले वस्तु तथा सेवाको झण्डै २० महिनाको सम्भावित आयात धान्न सक्छ ।
३ वर्षअघि हामीसँग ६ महिनाको आयात धान्न पनि नपुग्ने विदेशी मुद्रा सञ्चिति थियो । यो केवल ठूलो रकम सञ्चित भएको तथ्य होइन । नेपालको बाह्य क्षेत्र पहिलेभन्दा बलियो भएको संकेत पनि हो । यसले तत्कालीन बाह्य भुक्तानी संकटको जोखिम निकै कम भएको देखाउँछ ।
यसको मुख्य आधारमध्ये रेमिट्यान्स अझै महत्त्वपूर्ण छ । आर्थिक वर्ष २०८२/८३ मा रेमिट्यान्स ३८ प्रतिशतले बढेर २३ खर्ब नाघेको छ । रेमिट्यान्सलाई यसलाई उत्पादन, उद्यम, ऊर्जा, पर्यटन र प्रविधिमा लगानी गर्ने वातावरण बनाउन सके यही रकम आर्थिक रूपान्तरणको ठूलो पुँजी बन्न सक्छ ।
अर्को आशाजनक क्षेत्र जलविद्युत् हो । केही वर्षअघिसम्म नेपाल विद्युत् अभाव र लोडसेडिङका लागि चिनिन्थ्यो । अहिले तस्वीर बदलिएको छ । नेपाल विद्युत् प्राधिकरणले एक वर्षमा झण्डै ३० अर्ब रुपैयाँ बराबर बिजुली भारत निर्यात गरेको छ । आगामी दिनमा यो उच्च दरमा वृद्धि हुने सम्भावना छ ।
भारतसँगको ऊर्जा व्यापार र बंगलादेशसम्म विद्युत् निर्यातको सुरुवातले नेपालको जलविद्युतलाई घरेलु उत्पादनबाट क्षेत्रीय व्यापारको वस्तु बनाउने बाटो खोलेको छ ।
त्यसैगरी, सूचना प्रविधि नेपालका लागि अर्को मौन क्रान्ति हो । २०२२ को अध्ययनले नेपालको आइटी सेवा निर्यात करिब ६७.९३ अर्ब रुपैयाँ अर्थात् ५१५ मिलियन डलर अनुमान गरेको थियो । यस क्षेत्रबाट निकट भविष्यमा नेपालले वार्षिक ५०० अर्ब रुपैयाँ आर्जन गर्न सक्ने विश्लेषण भइरहेको छ । यो क्षेत्र नेपालको आर्थिक भविष्यका लागि विशेष महत्त्वपूर्ण छ ।
जलविद्युत् बेच्न ठूलो पूर्वाधार चाहिन्छ, तर सफ्टवेयर, डिजाइन, डिजिटल मार्केटिङ, एआई तथा अन्य आइटी सेवा निर्यात गर्न नेपालबाट विश्व बजारमा काम गर्न सकिन्छ । यसको अर्थ नेपालको सबैभन्दा ठूलो प्राकृतिक स्रोत अब पानी मात्र होइन, प्रतिभा र ज्ञान पनि हो ।
वैदेशिक व्यापारमा पनि तस्वीर पूर्ण निराशाजनक छैन । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा आयात र निर्यात दुवै वृद्धि भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८३ साउनमा कुल वैदेशिक व्यापार ३५.४४ प्रतिशतले वृद्धि भई २ खर्ब २६ अर्ब १४ करोड रुपैयाँ बराबर पुगेको छ । गत आवको सोही महिनामा वैदेशिक व्यापारको आकार १ खर्ब ६६ अर्ब ९७ करोड थियो ।
तथ्यांकअनुसार २०८३ साउनम १ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जुन अघिल्लो आवको साउनको तुलनामा ३१.०४ प्रतिशतले वृद्धि भएको छ ।
अघिल्लो आवको साउनमा १ खर्ब ४३ अर्ब रुपैयाँको वस्तु निर्यात भएको थियो । त्यस्तै साउनमा ३८ अर्ब ७० करोडको वस्तु निर्यात भएको छ छ । जुन अघिल्लो आवको तुलनामा ६१.७२ प्रतिशत धेरै हो ।
यसले चालु आर्थिक वर्षमा नेपालको निर्यात ५०० अर्ब नाघ्ने संकेत देखिएको छ । कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १७ नाघेको छ । जुन केही वर्षअघि ८ प्रतिशतमा सीमित भएको थियो ।
निर्यात ८ प्रतिशतबाट बढेर १७ प्रतिशत नाघ्नु र आयात ९२ प्रतिशतबाट घटेर ८२.८९ प्रतिशतमा आउनु पनि नेपालको लागि सुखद पक्ष हो । भलै यसको दिगोपनबारे आशंकाहरू कायमै छन् ।
नेपालको आर्थिक कथा अहिले एउटा महत्त्वपूर्ण मोडमा छ । विदेशी मुद्रा सञ्चिति बलियो छ, रेमिट्यान्स बढिरहेको छ, जलविद्युत् निर्यातको ढोका खुलेको छ, आईटी सेवा विश्व बजारमा पुगिरहेको छ र वस्तु निर्यात पनि बढ्दैछ । अब राज्यको मुख्य काम यी सकारात्मक प्रवृत्तिलाई दीर्घकालीन आर्थिक संरचनामा बदल्नु हो ।
नेपालको अर्थतन्त्र अझै कमजोर छ, तर कमजोर अर्थतन्त्रभित्रै बलियो भविष्यका बीउहरू उम्रिन थालेका छन् । ती बीउलाई नीति, लगानी, सुशासन र उद्यमशीलताले हुर्काउन सक्यौं भने आजको विदेशी मुद्रा सञ्चिति भोलिको उत्पादनमा, आजको जलविद्युत् भोलिको उद्योगमा र आजको एआई प्रतिभा भोलिको विश्व बजारमा नेपालको परिचय बन्न सक्छ ।
अर्थतन्त्रमा उत्साह भाषणबाट होइन, तथ्यांकबाट निर्माण हुन्छ । अहिलेका तथ्यांकले नेपालीलाई एउटा सन्देश दिइरहेका छन्, नेपालमा सम्भावना सकिएको छैन, बरु सम्भावनाको स्वरूप बदलिँदैछ ।
तर सरकारले लगानीको वातावरण सुधार्नुपर्छ । निजी क्षेत्रलाई विश्वास गर्नुपर्छ । लगानीकर्ताको मनोबल घटाउने गतिविधि बन्द हुनुपर्छ । आशा जगाउने नीति र कर्म दुबै सरकारबाट जरुर छ । पुँजी र पुजीपति पलायन रोक्न सरकारबाट प्रभावकारी कदम चालिनुपर्छ ।