काठमाडौं । ‘ओल्ड दरबार’ ह्विस्की र ‘८८४८’ भोड्का उत्पादन तथा बिक्री गर्दै आएको यती डिस्टिलरी प्राइभेट लिमिटेडले एक वर्षमा पौने ६ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा ५ अर्ब ८५ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको हो । कम्पनीको उक्त आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा १.१० प्रतिशत अर्थात् ६ करोड ४० लाख रुपैयाँले घटेको हो । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ५ अर्ब ९१ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
यसअघि कम्पनीले आव २०८०/८१ मा ४ अर्ब ७३ करोड ५० लाख रुपैयाँ, आव २०७९/८० मा ५ अर्ब १७ करोड ५० लाख रुपैयाँ, आव २०७८/७९ मा ५ अर्ब ७२ करोड २० लाख रुपैयाँ, आव २०७७/७८ मा ४ अर्ब ३३ करोड ८० लाख रुपैयाँ, आव २०७६/७७ मा ३ अर्ब ५८ करोड ६० लाख रुपैयाँ, आव २०७५/७६ मा ४ अर्ब ५० करोड ४० लाख रुपैयाँ, आव २०७४/७५ मा ३ अर्ब २६ करोड ८९ लाख रुपैयाँ, आव २०७३/७४ मा १ अर्ब ९१ करोड ३४ लाख रुपैयाँ र आव २०७२/७३ मा ४६ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
यती डिस्टिलरीका प्रमुख उत्पादन ‘ओल्ड दरबार’ ह्विस्की र ‘८८४८’ भोड्का हुन् । कम्पनीले भोड्का, ह्विस्की, जिन तथा ७० युपी श्रेणीका मदिरासहित ६ देखि ७ वटा विभिन्न ब्रान्ड उत्पादन गर्दै आए पनि आम्दानीको ठूलो हिस्सा दुई प्रिमियम उत्पादनमै केन्द्रित छ । कम्पनीको कुल आम्दानीमा ‘८८४८’ भोड्का र ‘ओल्ड दरबार’ ह्विस्कीको हिस्सा करिब ९१ प्रतिशत रहेको छ । बाँकी आम्दानी मुख्यतः ७० युपी श्रेणीका अन्य उत्पादनबाट हुने गरेको छ ।
मदिरा उद्योगमा उच्च प्रतिस्पर्धा रहेकाले यी दुई प्रमुख उत्पादनमध्ये कुनै एकको बिक्री वा बजार हिस्सामा प्रतिकूल असर परेमा त्यसले कम्पनीको समग्र वित्तीय अवस्थामा प्रभाव पार्न सक्ने जोखिम रहेको छ । त्यसैले अन्य उत्पादनको बजार विस्तारमार्फत आम्दानीको स्रोत विविधीकरण गर्नु कम्पनीका लागि महत्वपूर्ण हुने देखिन्छ ।
आम्दानीमा सामान्य कमी आए पनि कम्पनीको सञ्चालन नाफा मार्जिन भने सुधारिएको छ । आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको सञ्चालन नाफा मार्जिन करिब ३० प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो मार्जिन २८ प्रतिशत र त्यसअघि २२ प्रतिशत रहेको थियो ।
यती डिस्टिलरीको कार्यशील पुँजीमा निर्भरता भने अझै उच्च रहेको छ । आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन आम्दानीको तुलनामा कम्पनीको कार्यशील पुँजीको अनुपात करिब ३१ प्रतिशत रहेको छ । मदिरा उत्पादनका लागि लामो समयसम्म मौज्दात राख्नुपर्ने भएकाले कम्पनीको कार्यशील पुँजी आवश्यकता उच्च रहेको हो । विशेषगरी पुरानो ह्विस्की उत्पादनका लागि कच्चा पदार्थ तथा तयार उत्पादन लामो समयसम्म भण्डारण गर्नुपर्ने भएकाले मौज्दात अवधि लामो हुने गरेको छ ।
त्यस्तै, ग्राहकबाट उठाउनुपर्ने रकम पनि उच्च रहेको छ । तयार मदिराको बिक्रीमा लाग्ने करसहितको कुल आम्दानीमा उधारो अवधि लागू हुने भएकाले ग्राहकबाट उठाउनुपर्ने रकम बढ्ने गरेको हो । लामो समयसम्म मौज्दातमा रहने उत्पादनका लागि आपूर्तिकर्ताबाट प्राप्त हुने उधारो सुविधाले कार्यशील पुँजीको दबाब केही हदसम्म व्यवस्थापन गरेको छ । यसका कारण कम्पनीको कुल बाह्य दायित्व र कुल खुद सम्पत्तिबीचको अनुपात करिब २.७ गुणामा सीमित रहेको छ ।
कम्पनीले पछिल्ला वर्षमा लाभांश वितरणमा समेत कमी ल्याएको छ । आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को नाफाबाट औसत ४३ प्रतिशत लाभांश वितरण गरिएको थियो । जबकि आर्थिक वर्ष २०७९/८० को नाफाबाट करिब १६८ प्रतिशत लाभांश वितरण गरिएको थियो । आगामी अवधिमा कम्पनीले नाफाको करिब ६० देखि ६५ प्रतिशतसम्म लाभांश वितरण गर्ने अनुमान गरिएको छ ।
कम्पनीले कच्चा पदार्थ आयात गर्दा विदेशी मुद्रा जोखिमसमेत बेहोर्दै आएको छ । कच्चा पदार्थ खरिदका लागि कम्पनीले तुलनात्मक रूपमा लामो अवधिका तथा विदेशी मुद्रा जोखिमबाट सुरक्षित नगरिएका उधारो प्रतितपत्र प्रयोग गर्ने गरेको छ । यस्ता प्रतितपत्र सामान्यतः युरोमा आधारित हुने भएकाले पछिल्ला वर्षमा कम्पनीले उल्लेख्य विदेशी मुद्रा नोक्सानी बेहोरेको जनाएको छ ।
तयारी मदिरामा लाग्ने उच्च आयात शुल्कले स्वदेशी मदिरा उत्पादकलाई संरक्षण प्रदान गर्दै आएको छ । घरेलु मदिरा उद्योगमा प्रवेशका लागि तुलनात्मक रूपमा उच्च अवरोध रहेकाले स्थापित उत्पादकलाई आफ्नो बजार हिस्सा कायम राख्नसमेत सहयोग पुगेको छ । तर, सरकारले तयारी मदिरामा लाग्ने आयात शुल्क वा भन्सार दर घटाएमा वा हटाएमा कम्पनीको आम्दानी, नाफा मार्जिन तथा ऋण भुक्तानी क्षमतामा उल्लेखनीय असर पर्न सक्ने जोखिम रहेको कम्पनीको भनाइ छ ।
नेपालमा मदिरा उच्च कर लाग्ने वस्तुमध्ये एक हो । मदिरामा लाग्ने अन्तःशुल्क दरसमेत वर्षेनी बढ्दै आएको छ । कर तथा शुल्कमा निरन्तर वृद्धि हुनुका साथै बजारमा प्रतिस्पर्धा बढ्दै जाँदा त्यसबाट उत्पन्न अतिरिक्त लागत उपभोक्तामा हस्तान्तरण गर्ने कम्पनीको क्षमता कमजोर हुन सक्छ । यसले कम्पनीको नाफा मार्जिनमा दबाब पार्न सक्ने देखिन्छ। यसका अतिरिक्त, नियामक निकायले मदिराको प्रवद्र्धन, बिक्री तथा वितरणमा थप प्रतिबन्ध लगाएमा त्यसको प्रत्यक्ष प्रभाव कम्पनीको व्यवसायमा पर्न सक्ने जनाएको छ ।
यती डिस्टिलरीको ५० प्रतिशत स्वामित्व रवि केसीसँग तथा बाँकी ५० प्रतिशत अभिषेक श्रेष्ठ र उनका परिवारका सदस्यसँग रहेको छ । श्रेष्ठ आफ्नो परिवारबाट व्यवसायमा प्रवेश गर्ने दोस्रो पुस्ताका उद्यमी हुन् । उनलाई मदिरा उत्पादन तथा होटल व्यवसायमा अनुभव छ । आतिथ्य, मदिरा उत्पादन तथा व्यवस्थापन क्षेत्रमा पृष्ठभूमि भएका श्रेष्ठले कम्पनीको प्राविधिक पक्ष हेर्दै आएका छन् ।
त्यस्तै, रवि केसीसँग सुर्य टोबाको कम्पनी प्राइभेट लिमिटेडमा वरिष्ठ कार्यकारीका रूपमा लामो समय काम गरेको अनुभव रहेको छ । सुर्य टोबाको कम्पनी अन्तर्राष्ट्रिय कम्पनी समूह आइटिसीअन्तर्गतको कम्पनी हो । केसीले यती डिस्टिलरीको बजार तथा बजारीकरणसम्बन्धी पक्ष सम्हाल्दै आएका छन् ।
यती डिस्टिलरीसँग मदिराको मिश्रण तथा बोतलबन्दी गर्ने उत्पादन केन्द्र रहेको छ । उक्त कारखानामा विभिन्न प्रकारका उत्पादन तयार गर्न पाँचवटा प्रशोधन तथा बोतलबन्दी उत्पादन लाइन सञ्चालनमा छन् । यी पाँचवटा उत्पादन लाइनको संयुक्त बोतलबन्दी क्षमता दैनिक करिब ९ हजार पेटी रहेको छ । कम्पनीले यही उत्पादन क्षमतामार्फत विभिन्न प्रकारका मदिरा उत्पादन तथा बजारमा आपूर्ति गर्दै आएको छ ।
यती डिस्टिलरीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल ५ अर्ब ७२ करोड ४० लाख रुपैयाँ ऋण लिएको छ । यसमध्ये ७२ करोड ९९ लाख रुपैयाँ दीर्घकालीन र ४ अर्ब ९९ करोड ४० लाख रुपैयाँ अल्पकालीन ऋण रहेको कम्पनीले जनाएको छ ।