उचाइमै पुगेर निम्स दाइ अस्ताए

काठमाडौं । ब्रड पिकको हिमपहिरोपछि सम्पर्कविहीन निर्मल पूर्जाको मृत्यु भएको छ । इलाइट एक्स्पेडले उनको निधन भएको पुष्टि गरेको छ । केही दिन अघिमात्र पाकिस्तान पुगेर ब्रड पिकमा आरोहण गर्न उनी पुगेका थिए ।

पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा बिहीबार मध्याह्नतिर हिमपहिरो जाँदा उनी बेपत्ता भएका थिए ।  टोलीमा ६ जना नेपालीसहित एक अमेरिकी, एक चिनियाँ, एक ओमानी गरी कूल १० जना सहभागी थिए । 

सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिना ६ दिनमा आरोहण गरी विश्व कीर्तिमान उनले बनाएका थिए। करिब डेढ दशकको आरोहण यात्रामा निम्स दाइले व्यक्तिगत साहसको सीमा मात्र तोडेनन् ।  नेपाली आरोहीको पहिचान र नेपालको हिमाल पर्यटनलाई पनि नयाँ उचाइमा पुर्याए।

निम्स दाई हिमाल चढ्दाचढ्दै चिनिएका थिए । उनी कुनै समय ब्रिटिश लाहुरेमा भर्ना भएका थिए । लामो समयसम्म सेवा पनि गरे । तर, उनी हिमाल चढ्न पुगेका निम्स हिमालमै अस्ताए । 

उचाइमा पुगेर चिनिएका थिए निम्सदाइ । उचाइमा पुगेर अस्ताए । जन्मिए नेपालमा मृत्युवरण गरे पाकिस्तानमा ।
निम्सदाइ सामान्य आरोही मात्र थिएनन् । उनी असम्भव ठानिएको योजनालाई सम्भव बनाउँथे ।

विश्व पर्वतारोहणको गति, शैली र नेतृत्वबारे स्थापित मान्यता परिवर्तन गर्ने नेपाली आरोहीको रुपमा परिचय बनाएका थिए।  करिब २९ वर्षसम्म व्यावसायिक पर्वतारोहणको अनुभव नगरेका उनले त्यसपछिको छोटो अवधिमै संसारका अग्ला- अग्ला हिमालमा आरोहण गरी किर्तिमान बनाएका छन् ।

उनले म्याग्दीको एक गाउँबाट जीवन यात्रा सुरु गरेका थिए ।  निम्स दाईको जन्म २५ जुलाई १९८३ मा म्याग्दीको दाना भएको थियो । उनी सानो छँदै परिवार चितवन बसाइँ सरेको थियो। चितवन, ब्रिटिस गोर्खा सेना, बेलायतको विशेष सैन्य इकाइ र संसारका सबैभन्दा अग्ला हिमालसम्म पुगेको अनुभव हासिल गरिसकेका थिए ।

उनका बुबा ब्रिटिस गोर्खा सैनिक थिए। उनका दाजुहरू पनि गोर्खा सेनामा भर्ती थिए। परिवारको यही पृष्ठभूमिका कारण सानैदेखि उनको सपना पनि गोर्खा सैनिक बन्ने थियो।

सन् २००३ मा उनी ब्रिटिस सेनाको ब्रिगेड अफ गोर्खाजमा भर्ती भए। करिब छ वर्ष गोर्खा रेजिमेन्टमा सेवा गरेपछि सन् २००९ मा उनी बेलायतको ‘स्पेसल बोट सर्भिस’ अर्थात एसबीएसमा छनोट भए । एसबीएस बेलायतको रोयल नेभीअन्तर्गतको अत्यन्त विशिष्ट सैन्य इकाइ हो । उनी एसबीएसमा पुग्ने पहिलो गोर्खा भएको उनको आधिकारिक विवरणमा उल्लेख गरिएको छ ।

निम्सदाइको पर्वतारोहण यात्रा बाल्यकालदेखि सुरु भएको थिएन । सन् २०१२ मा सैन्य सेवाबाट बिदामा आएका बेला उनी सगरमाथा आधार शिविरतर्फ पदयात्रामा गएका थिए । त्यही यात्राले हिमालप्रति उनमा रुचि जगाएको थियो ।

आधार शिविरको यात्रापछि उनले साथमा रहेका गाइडलाई आफूलाई वास्तविक आरोहण सिकाउन आग्रह गरे। डिसेम्बर २०१२ मा उनले ६ हजार ११९ मिटर अग्लो लोबुचे इस्ट आरोहण गरे । त्यही नै उनले चढेको पहिलो हिमाल थियो। दुई वर्षपछि १८ मे २०१४ मा उनले आठ हजार १६७ मिटर अग्लो धौलागिरि आरोहण गरे। त्यो उनको पहिलो आठ हजार मिटरभन्दा अग्लो हिमाल थियो।

सन् २०१६ मा उनी पहिलोपटक सगरमाथाको चुचुरोमा पुगे। उनले जागिर छाडेर संसारका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल सात महिनाभित्र आरोहण गर्ने घोषणा गरे। 

२३ अप्रिल २०१९ मा अन्नपूर्ण आरोहण गर्दै सुरु भएको अभियान २९ अक्टोबरमा तिब्बतको सिसापाङ्माको चुचुरोमा पुगेर पूरा भयो। उनले अन्नपूर्ण, धौलागिरि, कञ्चनजङ्घा, सगरमाथा, ल्होत्से, मकालु, नाङ्गा पर्वत, गाशरब्रुम –१, गाशरब्रुम–२, केटु, ब्रड पिक, चोयु, मनास्लु र सिसापाङ्मा गरी १४ हिमाल ६ महिना ६ दिन अर्थात् १८९ दिनमा आरोहण गरे। 

सन् २०१९ मा उनको १८९ दिनको उपलब्धिलाई आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल सबैभन्दा छिटो आरोहण गरेको विश्व कीर्तिमान मानिएको थियो।  सन् २०२३ मा क्रिस्टिन हरिला र तेन्जेन लामा शेर्पाले ९२ दिनमा १४ वटै हिमाल चढेपछि गति कीर्तिमान पनि तोडिएको छ। तर, यसले सन् २०१९ को अभियानको ऐतिहासिक महत्त्व घटाउँदैन। 

निम्सदाइले आठ वर्षको पुरानो समयलाई एकैपटक ६ महिनामा झारेर उच्च हिमाली आरोहणको योजना, गति र परिचालन क्षमतामा नयाँ मानक स्थापित गरेका थिए।

सन् २०२५ मा नाङ्गा पर्वत आरोहणसँगै उनले आठ हजार मिटरभन्दा अग्ला हिमालमा ५० सफल आरोहण पूरा गरेको घोषणा गरे। उनले आठ हजार मिटरमाथिको आरोहण संख्या अझै बढाएका थिए। उनी कीर्तिमान बनाउने मात्र होइन, आफ्नै कीर्तिमानलाई पुनः चुनौती दिने आरोहीका रूपमा परिचित भए।

हिमाली पर्वतारोहणमा गरेको कामका लागि सन् २०१८ मा बेलायती महारानी एलिजाबेथ द्वितीयले निम्स दाईलाई ‘मेम्बर अफ द अर्डर अफ द ब्रिटिस एम्पायर’—एमबीई सम्मान प्रदान गरेकी थिइन् । 

सन् २०२० मा उनले पियोले डी’ओर एसिया सम्मान प्राप्त गरे। सन् २०२३ मा लफबरो विश्वविद्यालयले उनलाई मानार्थ उपाधि प्रदान गर्यो। उनको ‘प्रोजेक्ट पोसिबल’ अभियानमा आधारित वृत्तचित्र ‘१४ पिक्सः नथिङ इज इम्पोसिबल’ सन् २०२१ मा नेटफ्लिक्सबाट सार्वजनिक भयो।

वृत्तचित्रले उनको कीर्तिमानलाई मात्र होइन, नेपाली आरोहीको क्षमता, हिमाली भूगोल, जोखिम र टोलीगत योगदानलाई विश्वका करोडौं दर्शकमाझ पुर्यायो। उनले लेखेको पुस्तक ‘बियोन्ड पोसिबल’ ले सैन्य जीवन, आरोहण यात्रा र असम्भव ठानिएको लक्ष्य पछ्याउने उनको सोचलाई समेटेको छ।

‘सम्भव’ र ‘असम्भव’ बारे उनले निर्माण गरेको भाष्य पर्वतारोहण बाहिरका युवामाझ पनि लोकप्रिय बन्यो।
निम्सदाइको अन्तर्राष्ट्रिय लोकप्रियताले नेपाललाई सगरमाथाको देशका रूपमा मात्र होइन, विश्व कीर्तिमानी आरोही र उच्च हिमाली नेतृत्व जन्माउने देशका रूपमा चिनायो।

नेटफ्ल्क्सि वृत्तचित्र, सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय अन्तर्वार्ताले नेपालको पर्वतारोहण ब्रान्डलाई परम्परागत पर्यटन प्रचारभन्दा फरक दर्शकसम्म पुर्याए।

उनको नेतृत्वमा सञ्चालन हुने अभियानले उच्च खर्च गर्ने अन्तर्राष्ट्रिय आरोहीलाई नेपालतर्फ आकर्षित गरे। यस्ता अभियानले पर्वतारोहण अनुमति, होटल, हेलिकोप्टर, वायुसेवा, गाइड, क्याडी, भरिया, उपकरण, बिमा र स्थानीय सेवासम्म आर्थिक गतिविधि सिर्जना गर्छन्। 

उनले हिमाल आरोहणलाई लामो समय लाग्ने सीमित अभियानको ढाँचाबाट तीव्र योजना, प्रविधि, बलियो टोली र व्यवस्थित परिचालनमा आधारित नयाँ व्यावसायिक मोडलतर्फ लैजान भूमिका खेले। उनको शैलीबारे पर्वतारोहण समुदायमा बहस भए पनि उनले हिमाल पर्यटनमा नेपाली नेतृत्वको व्यावसायिक सम्भावना देखाएको तथ्य अस्वीकार गर्न सकिँदैन।

निम्सदाइ फाउन्डेसनमार्फत उनले हिमाली समुदायमा शिक्षा, आपत्कालीन सहयोग र वातावरण संरक्षणसम्बन्धी कार्यक्रम अगाडि बढाए। ‘बिग माउन्टेन क्लिनअप’ अभियानमार्फत अग्ला हिमालमा थुप्रिएको फोहोर हटाउने प्रयास गरिएको छ। आफ्नो पछिल्लो कीर्तिमानी अभियानमा प्राप्त हुने सहयोग फाउन्डेसनमार्फत समुदायका लागि प्रयोग गर्ने घोषणा पनि उनले गरेका थिए ।

लोबुचे इस्टबाट सुरु भएको उनको यात्रा धौलागिरि, सगरमाथा, केटु र विश्वका सबै १४ अग्ला हिमालसम्म पुग्यो। उनले बनाएका केही कीर्तिमान तोडिए, केही पुनर्वर्गीकृतभए र केही अझै कायम छन् तर उनले विश्व पर्वतारोहणमा छाडेको सबैभन्दा गहिरो छाप संख्याभन्दा ठूलो छ । 

Share News