देवानगञ्ज घटनामा एमालेको प्रश्न : ‘दंगा नियन्त्रण होइन, त्रास फैलाउन लागेको देखियो’

काठमाडौं । नेकपा एमालेले सुनसरीको देवानगञ्ज गोलीकाण्ड र त्यसपछिको तनाव व्यवस्थापनमा सरकार असफल भएको आरोप लगाएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारले शान्ति सुरक्षा कायम गर्न र सम्भावित दंगा नियन्त्रण गर्न प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै बरु जनतामा त्रास फैलाउने काम गरेको टिप्पणी गरिन् ।

देवानगञ्ज घटनामा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको प्रसंग उल्लेख गर्दै उनले सरकारले नैतिक जिम्मेवारी लिनुपर्ने प्रश्न उठाइन् ।

‘काठमाडौंमा गोली चल्दा र मान्छे मर्दा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ, थुनामा बस्नुपर्छ भन्नेहरू आज सुनसरीमा गोली चल्दा प्रधानमन्त्री र गृहमन्त्रीले पनि नैतिक जिम्मेवारी लिने कि नलिने ? अरूमाथि फौजदारी कसुर थोपर्नेहरू आज आफैं घटनाको जिम्मेवारी लिन तयार छन् कि छैनन् ?’ उनले भनिन् ।

प्रधानमन्त्री संकटका बेला जनतामाझ देखिन नसकेको आरोप लगाउँदै अर्यालले देशमा तनाव बढिरहेका बेला सरकारको नेतृत्व गुमनाम बनेको टिप्पणी गरिन् । 

‘प्रधानमन्त्रीको पद सिंहदरबार सजाउनका लागि होइन । जनतालाई दुःख पर्दा नेतृत्व अग्रपङ्क्तिमा देखिनुपर्छ, जनताका बीचमा पुग्नुपर्छ,’ उनले भनिन् ।

अर्यालले सबै राजनीतिक दल, धार्मिक अभियन्ता तथा सरोकारवालालाई संयम अपनाउन आग्रह गर्दै उत्तेजना, आवेग र प्रतिशोधको बाटो नसमाउन अपिल गरिन् । उनले सामाजिक सद्भाव, शान्ति र कानुनी शासन कायम गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिइन् ।

विगतका टीकापुर, गौर र नेपालगञ्जका घटनाको स्मरण गर्दै उनले यस्ता संवेदनशील घटनालाई एउटै मापदण्डका आधारमा हेर्नुपर्ने बताइन् । सरकार जनतामा विश्वास जगाउने गरी अघि बढे एमालेले आवश्यक सहयोग गर्न तयार रहेको उनको भनाइ थियो । 

Share News