काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले करिब १ अर्ब ९० करोड रुपैयाँ बराबरको हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
सीआईबीका अनुसार गोप्य सूचनाका आधारमा शंकास्पद व्यक्तिहरूको बैंकिङ कारोबार विश्लेषण गर्ने क्रममा धादिङको सत्यदेवी–८ घर भई हाल काठमाडौं महानगरपालिका–नागार्जुन नगरपालिका–८ मा बस्दै आएका ४९ वर्षीय राजेन्द्रप्रसाद रिजालले अन्य व्यक्तिसँगको मिलेमतोमा व्यक्तिगत बैंक खाता प्रयोग गरी १ अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४५४ रुपैयाँ बराबरको हुण्डी कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उक्त आरोपमा काठमाडौं जिल्ला अदालतबाट साउन १२ गते पक्राउ अनुमति लिएपछि सोही दिन नागार्जुन–८ स्थित राधाकृष्ण मन्दिर क्षेत्रबाट उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
प्रहरीले पक्राउ परेका रिजालमाथि हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ ।