६.२३ अर्बमा २८.३० मेगावाटको मध्य चमेलिया बन्दै, ३ वर्षमा निर्माण सम्पन्न गर्ने

काठमाडौं । सुदूरपश्चिम प्रदेशको जलविद्युत केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा थप अर्को आयोजना निर्माण हुने भएको छ ।

दार्चुला पावर कम्पनी प्रवर्द्धन रहेको २८.३० मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत आयोजना सो नदीमा निर्माण हुन लागेको हो । दार्चुलाको अपी नाम्पा संरक्षण क्षेत्रभित्र पर्ने आयोजना मार्मा गाउँपालिकामा अवस्थित छ ।

नदी प्रवाहमा आधारित परियोजनालाई विद्युत् विकास विभागले २०८१ चैत १३ गते विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको थियो । आयोजनाको सम्पूर्ण संरचना चमेलिया नदीको बायाँ किनारमा रहने गरी प्रस्ताव गरिएको छ । 

सो आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कनका लागि प्रस्ताव भए बमोजिम कृषि, वन तथा पर्यावरण मन्त्रालयले सोमबार सार्वजनिक सूचना सार्वजनिक गरेको छ ।

यसअघि २०८० चैत ७ गते आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तत्कालीन वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरेको थियो ।

यस्तै, २०८२ पुस २१ मा पूरक वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययनका लागि सहमति प्राप्त भएको थियो ।

आयोजनाको डिजाइन परिवर्तन एवं संरचना स्थानान्तरणका कारण उत्पन्न हुन सक्ने वातावरणीय प्रभावको मूल्याङ्कन गर्न उक्त अध्ययन गर्न लागिएको सूचनामा उल्लेख छ ।

नेपाल विद्युत् प्राधिकरण र प्रवर्द्धक चमेलिया पावर लिमिटेडबीच २०८० असोज २९ गते विद्युत् खरिद बिक्री सम्झौता भइसकेको छ । यस्तै, २०८२ जेठ २१ गते आयोजानको वित्तीय व्यवस्थापनसमेत भइसकेको छ ।

प्रस्तावित आयोजना स्थल दार्चुला जिल्लाको गोकुलेश्वरबाट करिब ३० किलोमिटर टाढा उत्तर पश्चिमतर्फ अवस्थित छ । आयोजनाको माथिल्लो तटमा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना रहेको छ । यस्तै, तल्लो तटमा ३० मेगावाट क्षमताको चमेलिया खोला जलविद्युत आयोजना छ ।

उत्पादित बिजुली प्राधिकरणको बलाच सवस्टेशनमा जोडिनेछ । आयोजनाबाट वर्षायाममा ११८.५२ गिगावाट घण्टा र हिउँदमा ६७.१०० गिगावाट घण्टा बराबरको ऊर्जा उत्पादन हुनेछ । आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनाको कुल लागत ६ अर्ब २३ करोड ६२ लाख ६७ हजार ३९० रुपैयाँ रहेको छ । 

Share News