काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले कालिकोटमा निर्माण हुने ४४० मेगावाट क्षमताको तिला-१ जलविद्युत् आयोजनामा २० करोड रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीको असार ३ गते सम्पन्न ११८ औँ सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो ।
कम्पनीका अनुसार, एससि पावर प्रालिले प्रवर्द्धन गरेको सो आयोजनाका लागि रिज लाइन इनर्जीले हकप्रद सेयर निष्कासन गरी रकम सङ्कलन गर्नेछ । सोही रकमबाट एससि पावरको जगेडा सेयरमा २० करोड रुपैयाँ लगानी गरिने कम्पनीले जनाएको छ ।
यस्तै, सोही बैठकले कम्पनीको स्वामित्वमा रहेको काङ हाइड्रोपावर कम्पनी लिमिटेडको १५ लाख कित्ता सेयर रोक्का राख्ने निर्णयसमेत गरेको छ । ललितपुरको कुपण्डोलमा अवस्थित उक्त कम्पनीको प्रतिसेयर अंकित मूल्य १०० रहेको १५ लाख कित्ता सेयर एनएमबी बैंक लिमिटेड (केन्द्रीय कार्यालय) मा खरिद-बिक्री तथा हस्तान्तरण नहुने गरी रोक्का राखिएको कम्पनी सचिव रोशन पौडेलले जानकारी दिए ।