नेपाल राष्ट्र बैंकले देशभरका ७७ वटै जिल्लालाई समेटेर ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण, २०८३’ सुरु गर्ने भएको छ । राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै सो बारे जानकारी दिएको हो ।
वित्तीय सेवाग्राहीहरूको सन्तुष्टिको स्तर मापन गर्ने उद्देश्यले यो सर्वेक्षण सञ्चालन गर्न लागिएको बैंकले जनाएको छ । बैंकका अनुसार यस सर्वेक्षणका लागि ७७ वटै जिल्लाका सबै प्रकारका स्थानीय तहहरूलाई समेटेर ‘र्यान्डम स्याम्पलिङ’ विधिमार्फत वडाहरू छनोट गरी जम्मा १० हजार ४०५ वटा नमुना संकलन गरिने छ ।
सर्वेक्षणका क्रममा वित्तीय सेवाको पहुँच, गुणस्तर, पारदर्शिता, गुनासो व्यवस्थापन, र वित्तीय ग्राहक संरक्षण जस्ता विषयमा ग्राहकहरूको धारणा र अनुभव संकलन गरिने राष्ट्र बैंकले जनाएको छ । यस सर्वेक्षणबाट प्राप्त नतिजाले वित्तीय ग्राहक संरक्षण र वित्तीय सेवाको गुणस्तर अभिवृद्धि गर्न आवश्यक नीति, कार्यक्रम र नियामक व्यवस्थामा सुधार ल्याउन मद्दत पुग्ने अपेक्षा राष्ट्र बैंकको छ ।
संकलित विवरणहरू तथ्याङ्क ऐन, २०७९ अनुसार गोप्य राखिने र केवल सामूहिक तथ्याङ्कीय प्रयोजनका लागि मात्र प्रयोग गरिने बैंकले स्पष्ट पारेको छ । सर्वेक्षणलाई प्रभावकारी र विश्वानसीय बनाउन राष्ट्र बैंकले सम्पूर्ण वित्तीय ग्राहक, बैंक तथा वित्तीय संस्था, र सरोकारवालाहरूलाई यस कार्यमा आवश्यक सहयोग र सहकार्य गर्न अनुरोध समेत गरेको छ ।