सुशासन र पारदर्शितामा नबिल बैंक अब्बल, लगातार तेस्रो पटक जित्यो 'गोल्ड अवार्ड'

काठमाडौं । नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रूपमा प्रदान गरिने विधामा नबिल बैंकले लगातार तेस्रो पटक निजी क्षेत्रको बैंकतर्फको उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्ड हात पारेको हो । 

यसका साथै विधाको इतिहासमै पहिलो पटक थपिएका ‘कर्पोरेट गभर्नेन्स डिस्क्लोजर अवार्ड’ र ‘सस्टेनेबिलिटी रिपोर्टिङ अवार्ड’ दुवैतर्फ पनि बैंकले ‘सर्टिफिकेट अफ मेरिट’ पाएको छ । 

मंगलबार आयोजित एक समारोहबीच आइक्यानका अध्यक्ष सि.ए. निलबहादुर सारु मगरले नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र वित्त प्रमुख सन्दिप बाबु पौडेललाई उक्त अवार्डहरू हस्तान्तरण गरे । 

आइक्यानले आर्थिक वर्ष २०२५ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता, सुशासन र दिगोपना जस्ता कडा मापदण्डहरूमा अब्बल ठहर गर्दै नबिल बैंकलाई यी पुरस्कारहरू प्रदान गरेको हो । 

यसअघि सन् २०२३ र २०२४ को प्रतिवेदनका लागि समेत सोही पुरस्कार पाएको नबिल बैंकको यो पुरस्कृत वार्षिक प्रतिवेदन अब नेपालको तर्फबाट दक्षिण एसियाली स्तरमा आयोजना गरिने ’साफा बिपिए अवार्ड’ का लागिसमेत मनोनित हुने भएको छ । 

४ दशकदेखि गुणस्तरीय र दिगो बैंकिङ सेवा प्रदान गर्दै आएको नबिल बैंकले हाल देशभर २६६ शाखा र ३१८ एटिएममार्फत २५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ भने पछिल्लो समय डिजिटल बैंकिङका लागि ’एनबैंक’ समेत सञ्चालनमा ल्याएको छ ।

Share News