अतिक्रमण हटाउने क्रममा दुर्घटनावश टेम्पो भीरबाट खसेको वन कार्यालयको स्पष्टीकरण

काठमाडौं । कैलालीको गोदावरीमा वन कर्मचारीहरूले सडकमा पार्किङ गरी राखिएको टेम्पो भीरबाट खसालेको भनी सामाजिक सञ्जालमा भएको प्रचारप्रति डिभिजन वन कार्यालय कैलालीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

कार्यालयले आइतबार (आज) प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा आएका समाचारहरू भ्रामक, अतिरञ्जित र अफवाहमात्र भएको स्पष्ट पारेको हो । 

गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित गोदावरी सामुदायिक वनको गाईमारे चुरे वन क्षेत्रमा जेठ २९ गते अतिक्रमण हटाउने सिलसिलामा उक्त घटना भएको वन कार्यालयले जनाएको छ ।

वन कार्यालयका अनुसार उक्त क्षेत्र नेपालकै अत्यन्त संवेदनशील र कमजोर पर्यावरणीय प्रणाली भएको चुरे क्षेत्र अन्तर्गत पर्दछ, जहाँ सडक किनारको सार्वजनिक वन क्षेत्रलाई गैरकानुनी ढंगले भागबण्डा गरी बेचबिखन गर्ने र खोका(छाप्राहरू खडा गरी सरकारी वन जमिन कब्जा गर्ने श्रृंखला विगत लामो समयदेखि चल्दै आएको थियो । 

सोही क्रममा विगत ५ महिना अघिदेखि सो क्षेत्रमा पुनः अवैध छाप्राहरू खडा गरिएपछि वन प्रशासनले अतिक्रमण हटाउने अभियान सुरु गरेको थियो । 

सामाजिक सञ्जालमा प्रचार गरिएजस्तो उक्त टेम्पो कुनै चल्तीको वा गुड्ने सवारीसाधन नभई चक्का र इन्जिन पूर्ण रूपमा बिग्रिएको र धकेलेर सार्न समेत गाह्रो हुने फलामे अस्थिपञ्जर मात्र भएको कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार उक्त टेम्पो केवल वन क्षेत्र अतिक्रमण गर्ने उद्देश्यले पसलको टहरोको रूपमा त्यहाँ स्थापना गरिएको थियो ।

उक्त टहरोलाई एक महिना अगाडि नै हटाउन निर्देशन दिँदा सँगैका अन्य १० वटा छाप्राहरू हटे तापनि सो कथित टेम्पोका सञ्चालक घनश्याम धामीले वन प्रशासनको आदेशलाई पूर्ण रूपमा अटेर गरेको कार्यालयले जनाएको छ ।

सुरुमा वन कर्मचारीहरूले उक्त टेम्पोलाई धकेलेर निजकै घरसम्म पुर्याइदिएको भए तापनि धामीले पुनः सोही ठाउँमा ल्याई पसल सञ्चालन गर्न थालेका थिए ।

यसपटक पनि उक्त टेम्पो हटाउन निर्देशन दिँदा निजले ‘जे गरे गर्नुस्’ भन्दै अटेर गरी गालीगलौजमा उत्रिएपछि शनिबार वन टोलीले सो गुडाउन नमिल्ने टेम्पोको अस्थिपञ्जरलाई बल प्रयोग गरी पन्छाउन खोजेको थियो । 

सोही क्रममा भिरालो भौगोलिक सतह र असन्तुलनका कारण उक्त कवाडी टेम्पो अनियन्त्रित भई दुर्घटनावश भीरबाट खस्न पुगेको वन कार्यालयले स्पष्ट पारेको छ ।

वन कार्यालयले कानुनबमोजिम गरिएको यस संरक्षण कार्यलाई अतिरञ्जित ढङ्गले प्रचारप्रसार नगर्न र सत्यतथ्य बुझिदिन आम नागरिकसँग हार्दिक अनुरोधसमेत गरेको छ ।

null

Share News