प्रधानमन्त्रीले काम गर्नुहुन्छ, अनावश्यक भ्रमण गर्नुहुन्नँ : लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकारको मुख्य प्राथमिकता काम गर्ने रहेको भन्दै प्रधानमन्त्रीले आवश्यक परेमा मात्र विदेश भ्रमण गर्ने बताएका छन् ।

पाँचदिने भारत भ्रमण सम्पन्न गरेर शुक्रबार स्वदेश फर्किएका लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री वालेन्द्र शाहको भूमिका काममुखी हुने र अनावश्यक भ्रमणमा केन्द्रित नहुने बताए ।

'प्रधानमन्त्री वालेन्द्र शाह आवश्यक पर्ने ठाउँमा जानुहुन्छ, नचाहिने ठाउँमा पार्टी सभापति र अन्य साथीहरू जाने सहमति भएको छ, 'उनले भने, सरकारलाई काम गर्न दिऔं ।' 

विमानस्थलमा सञ्चारकर्मीले पछिल्लो समय आफू प्रधानमन्त्री बन्न सक्ने चर्चा चलिरहेको विषयमा प्रश्न गरेपछि लामिछानेले त्यसबारे टिप्पणी गर्न अस्वीकार गरे। उनले निर्वाचनअघि पार्टीले सार्वजनिक गरेको प्रतिबद्धता स्मरण गराउँदै त्यसैमा पार्टी अडिग रहेको बताए ।

'म केही भन्न चाहन्नँ। निर्वाचनअघि हामीले लेखेको कागज एकपटक पढ्न आग्रह गर्न चाहन्छु,' उनले भने ।

लामिछानेले रास्वपा कुनै पनि प्रकारको राजनीतिक अस्थिरताको पक्षमा नरहेको स्पष्ट पार्दै जनताले स्थिर सरकार र स्थिर राजनीतिक वातावरणको अपेक्षासहित आफ्नो पार्टीलाई समर्थन गरेको बताए ।

'हामी अस्थिरताको पक्षमा छैनौं, हामी स्थिरताको पक्षमा छौं,' उनले भने, 'नेपाली जनताले स्थिरताका लागि हामीलाई मतदान गरेका हुन्। हामीले जनतासँग गरेको वाचाप्रति अडिग छौं र रहिरहन्छौं ।' 

उनले सरकारलाई काम गर्ने वातावरण दिनुपर्नेमा जोड दिँदै अहिलेको आवश्यकता राजनीतिक खिचातानीभन्दा पनि सुशासन, विकास र समृद्धिको एजेन्डालाई अघि बढाउनु रहेको बताए ।

Share News