काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमण पूरा गरी आज स्वदेश फर्किंदै छन् । जेठ १८ गतेदेखि भारत भ्रमणमा रहेका लामिछाने भ्रमण सम्पन्न गरी स्वदेश फर्किन लागेका हुन् ।
लामिछाने स्वदेश फर्किने दिन नै परराष्ट्रमन्त्री शिशिर खनाल आज भारत भ्रमणमा प्रस्थान गर्न लागेका छन् । भारतीय विदेशमन्त्री डा. एस. जयशंकरको सौहार्दपूर्ण निमन्त्रणामा मन्त्री खनाल भारत जान लागेका हुन् ।
नेपाल र भारतबीच नियमित रूपमा हुने उच्चस्तरीय भ्रमण आदान–प्रदानको सिलसिलाअन्तर्गत हुन लागेको यस भ्रमणले दुई देशबीचको ऐतिहासिक तथा बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ ।
भ्रमणका क्रममा सीमा समस्या लगायत नेपाल–भारतका आपसी सरोकार र प्राथमिकतासँग सम्बन्धित विषयमा छलफल हुने बताइएको छ ।
औपचारिक भ्रमणका सम्पूर्ण कार्यक्रम पूरा गरी परराष्ट्रमन्त्री खनाल जेठ २४ गते काठमाडौं फर्कने तालिका रहेको छ ।