काठमाडौं । सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नेपालले भारतको सीमा मिचेको नभनेको बताएका छन् ।
मंगलबार मन्त्रिपरिषद बैठकपछिको प्रेस ब्रिफिङमा पत्रकारले यो विषयमा सोध्दा उनले भने, ‘हामीले सीमा विवादसम्बन्धी काम अगाडि बढाउने क्रममा अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदाखेरि प्रधानमन्त्रीले आफू अचम्मित परेको भनेर भन्नुभएको हो, सीमा नै मिचेको उहाँ आफैंले भन्नु भएको होइन ।’
यसमा परराष्ट्र मन्त्रालयले पनि स्पष्टीकरण दिइसकेको उनको भनाइ छ । कति ठाउँमा भारतले उपभोग गरिरहेको सीमा नेपालमा पर्न सक्ने र नेपालले उपभोग गरेको पनि भारतमा पर्न सक्ने भन्ने कुरा त्यो संयन्त्रहरूबाट आएको हुँदा दुई देश बसेर त्यसको विवाद चाहिँ मिलाउनुपर्छ भन्ने कुरा प्रधानमन्त्रीको रहेको उनको भनाइ छ ।
संसद बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि थुप्रै ठाउँमा भारतको जग्गा मिचेको कुरा आफूले प्रधानमन्त्री भएपछि थाहा पाएको बताएका थिए । अहिले प्रधानमन्त्री वालेन्द्र शाहको उक्त अभिव्यक्तिका विषयमामा सडकदेखि संसदसम्म आलोचना भइरहेको छ ।
यस्तै, उनले सीमा विवाद लगायतका प्रश्नमा प्रधानमन्त्री बालेन शाह पुन: सदनमा जवाफ दिन तयार रहेको पनि बताएका छन् । उनले त्याे भनाइ सत्य नै भए पनि प्रधानमन्त्रीको आफ्नै भनाइ भने नरहेको बताएका छन् । उनले अरुले भनेको कुुरा संसदमा उल्लेखमात्रै गरेको बताए ।