नेपाली दूतावासले भन्यो - कम्बोडियामा रहेका नेपाली एक सातामा फर्कनू

काठमाडौं । थाइल्याण्डस्थिन नेपाली दूतावासले कम्बोडियामा रहेका नेपालीलाई एक सातामा फर्कन निर्देशन दिएको छ । 

शुक्रबार दूतावासले विज्ञप्ति जारी गरेर भिसा अवधि समाप्त भइसकेका तर कम्बोडियामा बसिरहेका नेपालीलाई एक हप्ताभित्र अनिवार्य नेपाल फर्कन हार्दिक अनुरोध गरिएको छ । 

तोकिएको अवधिभित्र स्वदेश नफर्किने विदेशी नागरिकहरूलाई कम्बोडियाले नयाँ कानूनी व्यवस्था अनुसार पक्राउ गरी कडा कारवाही गर्ने र जरिवाना तथा कैद सजायसमेत हुने व्यवस्था दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

दूतावासले नेपालीलाई यहीँ सूचनालाई गम्भीरतापूर्वक लिएर यथाशीघ्र नेपाल फर्किन अनुरोध गरेको छ । कम्बोडिया सरकारबाट जरिवाना तथा शुल्क मिनाहा भईसकेका व्यक्तिहरुले हवाई टिकटको व्यवस्था गरेर कम्बोडियाको अध्यागमन विभागमा जानकारी दिनुपर्ने बताइएको छ । 

दूतावासले टिकटको व्यवस्था गर्दा कम्बोडियाबाट नेपाल जाने सिधा उडान नभएकाले आफ्नो टिकट ट्रान्जिट हो की होइन भनेर ख्याल गर्नुपर्ने बताएको छ ।

राहदानी हराएका सम्पूर्ण नेपाली नागरिकहरूका लागि एकतर्फी यात्रा अनुमति पत्र तयार गरी कम्बोडिया पठाइसकेको दूतावासले उल्लेख गरेको छ ।

दूतावासको अनुरोधमा कम्बोडिया सरकारले विभिन्न चरणमा हालसम्म आठौं पटक गरी ६ सय २ जना नेपाली नागरिकहरूको भिसा अवधि नाघेपछि लाग्ने जरिवाना तथा शुल्क मिनाहा गरेको छ । 

Share News