काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक क्षेत्रमा हिलो र माटो खसालेर फोहोर गर्ने एक व्यक्तिलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।
महानगरका अनुसार काठमाडौं महानगर- १, नक्साल सडक क्षेत्रमा निर्माण सामग्री ढुवानी गर्ने क्रममा सडक फोहोर गरिएको हो ।
ना २ ख ४२८ नम्बरको गाडीबाट निर्माण सामग्री ओसारपसार गर्दा सडकभरि माटो र हिलो खसालेर सार्वजनिक संरचना र थलो फोहोर पारेको भन्दै महानगरले कडा कदम चालेको हो ।
सडक क्षेत्र प्रदूषित बनाएको कसुरमा महानगरले कविन्द्र झालाई नगद ५० हजार रुपैयाँ जरिवाना गरेको जानकारी दिएको छ ।
महानगरले पछिल्लो समय सडक, फुटपाथ र सार्वजनिक स्थानमा फोहोर गर्ने, निर्माण सामग्री जथाभाती राख्ने तथा ढुवानीका क्रममा सडक हिलाम्मे वा धुलाम्मे बनाउनेहरूमाथि कडा निगरानी राख्दै तत्कालै कारबाही प्रक्रिया अगाडि बढाउँदै आएको छ ।
