काठमाडौं । ठगी तथा अवैध रूपमा सञ्चालनमा रहेका कन्सल्टेन्सीविरुद्ध काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कानुनी कारबाही अघि बढाएको छ।
उच्च शिक्षाका लागि विदेश पठाइदिन्छु भन्दै नेपाली नागरिकहरूलाई ठगी गरेको विषयमा विकासन्युजले समाचार प्रकाशन गरेको थियो । साथै ठगी गरेको आरोपमा कार्यालयमा निरन्तर उजुरी, गुनासो तथा निवेदन प्राप्त भएपछि प्रहरीले उक्त कारबाही थालेको हो ।
यसै क्रममा खटिएको विशेष प्रहरी टोलीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अपरेसन सञ्चालन गर्दै कानुनी मापदण्ड पूरा नगरी अवैध रूपमा सञ्चालन भइरहेका ९५ वटा शैक्षिक परामर्श केन्द्रमा छापा मारेको छ।
ती कन्सल्टेन्सीहरूले शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ तथा शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण निर्देशिका २०७३ अनुसार आवश्यक दर्ता, नवीकरण तथा मापदण्ड पूरा नगरी सेवा सञ्चालन गरिरहेको पाइएको छ।
गैरकानुनी रूपमा ठगी कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ६९ जना कन्सल्टेन्सी सञ्चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीले यस्ता ठगीमा परेका पीडितहरूलाई आवश्यक कानुनी प्रक्रिया तथा न्यायका लागि टेकुस्थित कार्यालयमा सम्पर्क गर्न आग्रह समेत गरेको छ।